आफूलाई फाइदा नहुने युद्धविराम चाहँदैन रुस

दुई हप्ताअघि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपनि जेडी भान्सले युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई ओभल अफिसमा हप्काएपछिको घटनाक्रमले नाटकीय मोड लिएको छ ।

जेलेन्स्की शान्ति प्रक्रियाका लागि तयार नरहेको भन्दै ट्रम्पले युक्रेनलाई दिइँदै आएको सबै सहयोग कटौती गरेका थिए । तर जेलेन्स्कीले पत्र लेखेरै माफी मागे अनि रुस तयार भएमा आफू अस्थायी युद्धविरामका लागि सहमत रहेको सार्वजनिक गरे ।

उक्त एक महिने युद्धविरामको खाका बेलायत र फ्रान्सले कोरेका थिए । त्यसपछि ट्रम्पले रोक्का गरिएको सहयोग फुकाइदिए अनि अमेरिकी अधिकारीहरूले रुसलाई युद्धविरामका लागि दबाब दिए । तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना शर्तहरू पूरा नहुन्जेलसम्म युद्धविराम सम्भव नरहेको स्पष्ट पारेका छन् ।

अमेरिकी सैन्य सहयोग तत्काल रोक्नुपर्ने र युक्रेनमा सैन्य परिचालन पनि बन्द गर्नुपर्ने शर्त उनले तेर्स्याएका छन् । त्यसका साथै आफूले नियन्त्रणमा लिएका युक्रेनी भूभागलाई रुसी भूमिका रूपमा मान्यता दिनुपर्ने रुसीहरूको माग लामो समयदेखि कायम नै छ ।

यी शर्त पूरा नभइकन युद्धविराम गर्दा युक्रेनले रणनीतिक विश्रामको अवसर पाउने र पुनः फौजी कारवाही चलाउनका लागि षड्यन्त्र रच्ने पुटिनको आकलन छ । त्यही युद्धविरामलाई आधार बनाएर युक्रेनले सार्थक शान्ति सम्झौताका वार्ताहरूलाई अनन्तकालसम्म लम्ब्याउने अनि पश्चिमी सहयोगको आडमा आफ्नो सैन्यबल बढाउने सम्भावना पुटिनले देखिरहेका छन् ।

युक्रेनका तर्फबाट शान्ति प्रक्रियाका लागि ठोस र विश्वसनीय प्रस्ताव नआएसम्म पुटिन उसको जालमा पर्ने भूल गर्ने छैनन् ।

विगतमा पूर्वी युक्रेनको द्वन्द्व रोक्नका लागि गरिएको मिन्स्क सम्झौतालाई युक्रेन सरकारले अनादर गरेको अनि रुसविरुद्ध सुरक्षा जोखिम बढाउनका लागि उक्त सम्झौताको दुरुपयोग गरेको तीतो इतिहासलाई पुटिनले बिर्सेका छैनन् ।

त्यससँगै अहिले कुर्स्कमा रुसी सेनाले युक्रेनी सेनालाई पूरै तहसनहस बनाएर आफ्नो भूभागमा पुनः नियन्त्रण कायम गरिसकेको अवस्था अनि युक्रेनी भूमिमा रुसी सेना क्रमिक रूपमा अघि बढिरहेको अवस्था रहेकाले यो गतिलाई युद्धविराममार्फत पुटिन गुमाउन चाहँदैनन् ।

युद्धविरामका लागि पुटिनले सारेका दुई शर्तमध्ये पहिलो सहज नै छ । विगतको बाइडन प्रशासनले युक्रेनलाई दिने भनिएको हतियार नै अहिले अमेरिकाले पठाइरहेको हो, ट्रम्प प्रशासनले नयाँ हतियार पठाउन कुनै तदारुकता देखाएको छैन । दोस्रो शर्तको कुरा गर्दा, युक्रेनले सैन्य परिचालन रोक्नुपर्ने पुटिनको माग जेलेन्स्कीलाई अप्ठ्यारो स्थितिमा पुर्‍याउनका लागि गरिएको देखिन्छ ।

पुटिनको शर्त मान्दा जेलेन्स्कीलाई युद्ध अघि बढाउन मुश्किल पर्छ । नमान्दा चाहिँ शान्तिमा अवरोध गरेको भनेर ट्रम्प फेरि जेलेन्स्कीसँग रिसाउनेछन् । त्यसैले जेलेन्स्कीले युद्धविराममा सहमति जनाएर पुटिनलाई अप्ठ्यारोमा पारेको भनी दंग परेका पश्चिमाहरूको यो खुशी पुटिन जस्ता चतुर राजनीतिकर्मीको चालको सामु धेरै बेर टिक्न सकेन ।

तेस्रो शर्त चाहिँ जेलेन्स्कीले कुनै पनि हालतमा मान्ने स्थिति छैन । रुसको कब्जामा रहेका सबै युक्रेनी भूभाग फिर्ता गर्नुपर्ने उनको भनाइ छ । उनलाई साथ दिइरहेका युरोपेली नेताहरूले पनि युक्रेनको सैन्य क्षमतामा अभिवृद्धि गरी सम्झौता वार्तामा युक्रेनको हैसियत बलियो बनाउने कुरा गरिरहेका छन् । उक्त सम्झौताले युक्रेनको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने युरोपेलीहरूको भनाइ छ । ट्रम्प प्रशासनका अधिकारीहरूले सम्झौताको सफलताका लागि युक्रेनले आफ्नो भूभागमाथिको दाबी परित्याग गर्नुपर्ने संकेत दिइरहेको भए पनि युरोपेलीहरूले त्यसमा विमति जनाउँदा कुरा नमिल्ने देखिएको छ ।

वास्तवमा भन्ने हो भने यो युद्ध निष्फल वार्ता भन्दा पनि रणभूमिमै टुंगो लाग्ने रुसीहरूको सोच छ । यस युद्धका कारण रुसीहरूले युक्रेनको २० प्रतिशत भूमिमा नियन्त्रण कायम गरिसकेका छन् र कुर्स्कमा पसेका युक्रेनीहरूलाई पनि भगाइसकेका छन् । लामो समयसम्म युद्ध गर्ने क्षमता रुसीहरूसँग छ भने युक्रेनलाई पश्चिमीहरूले अनन्तकालसम्म सहयोग गर्ने सामर्थ्य राख्दैनन् । त्यसैले युद्ध जति लम्बिँदै गयो, युक्रेनलाई त्यति बढी घाटा लाग्ने रुसीहरूको आकलन छ ।

तर अहिले युद्ध रोकिएको खण्डमा युक्रेनले पश्चिमबाट सैन्य संरक्षण पाउने सम्भावना रहन्छ । त्यसो त पश्चिमाहरूले युक्रेनलाई नेटोको सदस्य नबनाइने भनिरहेका छन् तर विशेषगरी युरोपेलीहरूले आफ्ना सैनिक युक्रेनमा तैनाथ गरी प्रकारान्तरले युक्रेनी भूमिमा नेटोको उपस्थिति कायम गर्ने र त्यसले रुसलाई थप आक्रमण गर्नबाट रोक्ने भनिरहेका छन् । त्यस प्रस्तावलाई रुसले विरोध गरिरहेको छ । ट्रम्पको अनुरोधमा अहिले युद्धविरामका लागि रुसले सहमति जनाएर पश्चिमी सैनिकहरूलाई युक्रेनमा भित्र्याउन दिने हो भने पछि उसलाई सैन्य कारवाही गर्न निकै अप्ठ्यारो पर्नेछ । अनि युक्रेन सधैंभरि रुसका लागि सुरक्षा खतराका रूपमा पनि कायम रहनेछ ।

त्यसैले युद्धभूमिमा लगातार विजय प्राप्त गरी युक्रेनलाई पूर्ण रूपमा आत्मसमर्पण गर्न बाध्य बनाउँदा मात्र रुस सन्तुष्ट हुने देखिन्छ । अहिलेकै गतिमा युद्ध अघि बढिरहने हो भने रुसले त्यो लक्ष्य हासिल गर्न सक्छ ।

तर ट्रम्पलाई यो युद्ध जसरी भए पनि अन्त्य गर्नुपर्नेछ किनकि उनी आफ्नो ध्यान चीनलाई रोक्नमा केन्द्रित गर्न चाहन्छन् । त्यसैले रुस युद्धविरामका लागि तयार नहुँदा ट्रम्पको धैर्यको बाँध टुट्न सक्छ र उनले रुसलाई धम्क्याउन पनि सक्छन् । तर ट्रम्पको धम्कीले रुस विचलित हुने सम्भावना देखिँदैन ।

यी सबै कुरालाई विचार गर्दा अहिलेको स्थितिमा युद्ध जारी रहने नै देखिन्छ । युद्ध जारी रहँदा युक्रेनलाई थप घाटा लाग्दै जानेछ किनकि उसले थप भूमि र सैनिकहरू गुमाउनेछ । अनि भविष्यमा हुने शान्ति सम्झौतामा युक्रेनको हैसियत झन् खुम्चिनेछ । तर जेलेन्स्कीका लागि अहिलेको स्थिति वाञ्छनीय छ किनकि युद्ध टुंगिएको अवस्थामा उनको राजनीति अन्त्य हुनेछ र ज्यान समेत खतरामा पर्नेछ । जेलेन्स्कीलाई समर्थन गरिरहेका युक्रेनी उग्रराष्ट्रवादीहरूले कुनै हालतमा पनि युद्ध अन्त्य गर्न दिने छैनन् ।

यसरी हेर्दा रुस र (पूरा युक्रेन नभए पनि) जेलेन्स्की युद्धलाई लम्ब्याइरहन चाहन्छन् । रुसले आफू युद्धविरामका लागि तयार रहेको भनेर ट्रम्पलाई बताए पनि आफूलाई अनुकूल हुने सम्झौतामा टुंगिने गरी सार्थक युद्धविराम सुनिश्चित नहुन्जेलसम्म युद्ध अघि बढाइरहनेछ ।

उता जेलेन्स्की पनि आफ्नो जीवन र राजनीति जोगाउनका लागि पनि युद्ध कायम राख्न चाहन्छन् अनि उनको यस चाहनालाई युरोपेलीहरूले समर्थन गरिरहनेछन् ।

त्यसैले झट्टै युद्धविराम गराएर दीर्घकालीन शान्तिको बाटोमा लैजाने ट्रम्पको इच्छा साकार हुने देखिँदैन । तर रुससँग सम्बन्ध सुधारेर आफ्नो ध्यान चीन तथा एसिया प्रशान्त क्षेत्रमा केन्द्रित गर्ने अनि युक्रेनी समस्यालाई युरोपेलीहरूको पोल्टामा राखिदिने योजना ट्रम्प प्रशासनले बनाएको हुन सक्छ ।

This article was first published on Clickmandu


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *