लामो समयदेखि पश्चिम एसियामा चलिरहेको तनावलाई थप चर्काउने गरी इजरायल र र इरानले तीन दिनयता आक्रमण र प्रत्याक्रमणको सिलसिला चलाएका छन् ।
अमेरिका र इरानबीच आणविक कार्यक्रममा रोक तथा आर्थिक प्रतिबन्धमा फुकुवा विषयमा हुन लागेको निर्णायक वार्ताको पूर्वसन्ध्यामा गत शुक्रवार (१३ जुन) मा इजरायलले इरानमाथि हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणमा परि इरानी सेनाका प्रधानसेनापति जनरल मोहम्मद बाघेरी सहित शीर्ष अधिकृतहरूका साथै इरानका आणविक वैज्ञानिकहरूको मृत्यु भएको छ । इजरायली आक्रमणका कारण हालसम्म ७८ जना इरानीले ज्यान गुमाएको र सयौंजना घाइते भएको इरानी अधिकारीहरूले पुष्टि गरेका छन् ।
उता इरानले पनि जवाफी आक्रमण गर्दा ४ जना इजरायलीको ज्यान गएको र कैयौं घाइते भएको बताइएको छ । इजरायलले इरानका आणविक भट्टी र क्षेप्यास्त्र राखिएका स्थानहरूलाई ताकेर आक्रमण गरिरहँदा इरानले तेल अभिभ, जेरुसेलम लगायतका प्रमुख इजरायली शहरलाई तारो बनाएको छ ।
इजरायलले विगत केही समययता आफ्नो दुश्मनको ‘टाउको काट्ने’ कारवाही चलाउने गरेको छ । त्यो भनेको शत्रुदेशका उच्च अधिकारीहरूलाई लक्षित गरी चलाइएको कारवाही हो । पोहोर साल इजरायलले हमास र हेजबोल्लाहका शीर्ष नेताहरूको हत्या गरेको थियो भने यो वर्ष उसले इरानको शीर्ष नेतृत्वलाई तारो बनाइरहेको देखिन्छ ।
इरानमा आयातोल्लाहको नेतृत्वमा रहेको इस्लामी शासकहरूलाई सिध्याएर आफूअनुकूलका उदारवादीहरूलाई सत्तामा ल्याउने इजरायल (र उसको कट्टर समर्थक अमेरिका) को ध्याउन्न देखिन्छ । त्यसैले उसले पछिल्लो कारवाहीलाई ‘राइजिङ लायन’ नाम दिएको छ । इरानमा सन् १९७९ मा इस्लामी क्रान्ति हुनुअघि राजाको शासन हुँदा देशको झण्डामा सूर्य र सिंह अंकित थिए । इस्लामी क्रान्तिको बलमा सत्तामा आएका आयातोल्लाहका विरुद्ध इरानीहरू जागून् र सत्तापलट गरिदिऊन् भन्ने उद्देश्यले इजरायलले यो कारवाही चलाएको हो ।
अहिलेको कारवाहीमा आयातोल्लाह अली खमेनीलाई समेत इजरायलले सिध्याउन खोजेको भए पनि उनलाई बाक्लो सुरक्षा घेरामा राखिएकाले उनी बचेका छन् । तर इरानमा सक्रिय इजरायली गुप्तचर निकाय मोसादका एजेन्टहरूले दिएको सूचनाका आधारमा इजरायलले सेनाका शीर्ष अधिकृतहरूको हत्या गरेको छ, भलै इरानले तत्कालै उनीहरूको उत्तराधिकारी नियुक्त गरिसकेको छ ।
इरानको आणविक हतियार कार्यक्रमबाट जोखिम उत्पन्न हुनुपूर्व नै पूर्वनिवारण (प्रिएम्पटिभ) आक्रमण गरेको भन्दै इजरायलले आफ्नो फौजी कारवाहीलाई जायज ठहर्याउने प्रयास गरेको छ । तर इरानसँग आणविक हतियार रहेको भन्ने कुनै पनि प्रमाण अहिलेसम्म फेला परेको छैन । इरानले आफ्ना आणविक भट्टीहरूमा युरेनियम संवर्धन त गरिरहेको छ तर त्यसलाई बिजुली निकाल्ने जस्ता गैरसैन्य प्रयोजनका लागि उपयोग गर्ने भनिरहेको छ । इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सीले गत साता इरानलाई आणविक अप्रसारको नीतिलाई उल्लंघन गर्ने गरी युरेनियम संवर्धन गरिरहेको भनी आलोचना गरेको भए पनि इरानले त्यसको कुनै प्राविधिक र कानुनी आधार नरहेको बताएको छ ।
अमेरिकीहरूले इरानलाई आणविक हतियार बनाउनका लागि युरेनियम संवर्धन रोकेको खण्डमा उसमाथिको कठोर आर्थिक प्रतिबन्ध फुकुवा गर्ने भनी आइतवार (१५ जुन) वार्ता गर्न खोजेका थिए । तर इजरायलले त्यो वार्ता हुनुअघि नै इरानमाथि आक्रमण गरेर त्यसलाई भताभुंग बनाइदिएको छ ।
इरानले आणविक हतियार बनाउन खोजेको नै हो भने पनि उसमाथि आक्रमण गर्ने वैधता इजरायलसँग छैन । आफैं आणविक हतियार राख्ने अनि आणविक अप्रसार सन्धिमा हस्ताक्षर नगर्ने इजरायलले इरान लगायतका क्षेत्रीय शक्तिलाई आणविक शक्तिसम्पन्न बनाउनबाट रोक्नका लागि कुन चाहिँ कानुनी वा नैतिक आधार राख्छ ?
इरानले आणविक हतियार बनाएमा पश्चिम एसियामा अस्थिरता छाउँछ भन्ने भाष्य नै आफैंमा गलत देखिन्छ । राजनीतिशास्त्री जोन मियर्सहाइमरको तर्क अनुसार त आणविक शक्तिसम्पन्न इरानले पश्चिम एसियामा स्थिरता ल्याउँछ किनकि आणविक हतियारले निवारण (डिटरेन्स) को काम गर्छ । ती हतियार अरूमाथि आक्रमण गर्नका लागि भन्दा पनि अरूले आफूमाथि आक्रमण नगरून् भनी सुरक्षाकवचका रूपमा रहन्छन् ।
इरानसँग आणविक हतियार हुन्थ्यो भने इजरायलले उसमाथि आक्रमण गर्ने आँटै गर्दैनथियो । इतिहासकै उदाहरण हेर्दा, इराकमा सद्दाम हुसेनले र लिबियामा मुअम्मार गद्दाफीले आणविक हतियार नत्यागेको भए अमेरिकाले ती देशमा आक्रमण गरेर ती नेताहरूलाई अपमाजनक मृत्युवरण गर्न बाध्य बनाउँदैनथियो । त्यही आणविक हतियारको कवचका कारण अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्न नसकेको पनि आफैंमा बलियो प्रमाण हो । त्यसैले इरानसँग आणविक हतियार हुँदा पो क्षेत्रीय स्थिरता कायम हुन्छ किनकि त्यस्तो स्थितिमा इजरायल र इरान दुवैले एकअर्कालाई आक्रमण गर्दैनन् ।
तर इजरायल पश्चिम एसियामा शान्ति र स्थिरता कायम भएको देख्नै चाहँदैन । अझ त्यसमाथि बेन्जामिन नेतान्याहु त आफ्नो सत्ता जोगाउनका लागि युद्ध र अस्थिरता चर्काइरहन चाहन्छन् । अहिले इजरायलले जानीजानी नै इरानमाथि आक्रमण गरेको हो किनकि इरानले त्यसको प्रत्याक्रमण गर्छ अनि क्षेत्रीय द्वन्द्व मच्चिन्छ र आफ्नो शासनसत्ता कायम रहन्छ भनी नेतान्याहुले दाउ खेलेका हुन् ।
इरानसँगको तनाव चर्काउँदा इजरायललाई गाजामा गरिरहेको नरसंहार र पश्चिम किनारमा गरिरहेको जातिसफायाबाट विश्वको ध्यान हटाउन पनि सहयोग पुग्छ । लामो समयदेखि गाजामा कत्लेआम गरिरहेको इजरायलले पश्चिमाहरूलाई आफ्नो पक्षमा उभ्याइरहेको भए पनि अहिले अमेरिका बाहेकका पश्चिमाहरू विरक्तिन थालेका छन् । विशेषगरी युरोपमा प्यालेस्टाइन पक्षधरहरूको प्रदर्शन दिनदिनै भइरहेको छ र इजरायलप्रति युरोपेलीहरूको धारणा बदलिन थालेको छ । त्यसैक्रममा वातावरण अभियन्ता ग्रेटा थनबर्ग र अन्य अधिकारकर्मीहरूले गाजामा खाद्यान्न पुर्याउनका लागि गरेको फ्रीडम फ्लोटिला अभियानले पनि गाजा नरसंहारका विषयमा विश्वको ध्यान खिच्न सफलता पाएको थियो ।
युरोपेली मुलुकहरू बेलायत र नर्वेका साथै क्यानडा, अस्ट्रेलिया र न्युजील्यान्डले इजरायली सरकारका उग्रदक्षिणपन्थी मन्त्रीहरू इटामार बेन–ग्विर र बेजालेल स्मोत्रिचमाथि प्रतिबन्ध लगाउने भएका छन् । अनि पश्चिमी मिडियामा पनि पहिलाको जस्तो गरी प्यालेस्टाइनीहरूमाथि इजरायलको अत्याचारलाई ‘ह्वाइटवाश’ गर्ने सामग्री पातलिन थालेका छन् । त्यसबाट आत्तिएको इजरायली सरकारले भाष्यमा पुनः नियन्त्रण कायम गर्न र पश्चिमाहरूको अक्षुण्ण सहयोग प्राप्त गरिरहनका लागि इरानविरुद्ध युद्ध लम्ब्याउने हिसाबले आक्रमण गरेको स्पष्ट छ ।
यहाँ एउटा प्रश्न उठ्छ : अहिले यो द्वन्द्व चर्काउन अमेरिकाले कस्तो भूमिका खेलेको छ ? यो प्रश्न किन सोधिएको हो भने अमेरिकाको संकेतविना इजरायल एक्लैले इरानविरुद्ध कारवाही अगाडि बढाउन सक्दैन । हुन त अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले आफूहरू इरानविरुद्धको आक्रमणमा संलग्न नरहेको र इजरायलले इरानविरुद्ध एकपक्षीय कारवाही गरेको बताएका छन् । आत्मरक्षाका लागि यो कारवाही जरूरी रहेको भनी इजरायलले बताएको पनि रुबियोले जानकारी दिए ।
रुबियोको भनाइले पनि अमेरिकालाई इजरायलले आक्रमणअघि सूचना दिएको कुरा खुलाउँछ । त्यसो हो भने इजरायललाई आक्रमणका लागि अमेरिकाले नै स्वीकृति दिएको हुनुपर्छ । अझ, इरानको कुन कुन ठाउँमा आक्रमण गर्ने भनी लक्ष्य निर्धारण नै अमेरिकाले गरेको हुन सक्छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई सम्झौताका लागि दिएको ६० दिन सकिएर ६१औं दिन भएको र इरानी सेनाका कमान्डरहरू सबै मरिसकेको भनी दम्भ गरेको देख्दा वाशिङटनले नै इरानको शीर्ष नेतृत्व सिध्याउनका लागि इजरायललाई सहयोग गरेको हुन सक्ने देखिन्छ । अमेरिकाविरुद्ध कठोर रवैया अपनाउने सैन्य अधिकृतहरूलाई पन्छाएर उदारवादीहरूलाई शक्तिमा ल्याउन पाए अमेरिकाले भने जस्तो सम्झौता इरानले गर्ने अपेक्षा ट्रम्प प्रशासनले राखेको हुन सक्छ ।
इरानलाई तत्कालै उसमाथि आक्रमण नहुने भनी अमेरिकाले झुक्याएको द टाइम्स अफ इजरायलले लेखेको छ । इरानलाई वार्ताको प्रलोभनमा भुलाएर भयानक आक्रमण गरी झुकाउने रणनीति अमेरिकाले बनाएको हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।
अहिले चर्केको द्वन्द्वको रणनीतिक कार्ययोजना कसले निर्धारण गरिरहेको छ ? इजरायललाई उपयोग गरेर पश्चिम एसियाको नक्सा बदल्ने र इरानी शासन ढाल्ने नवअनुदारवादीहरूको मनसुबा रहिआएकोमा ट्रम्पको शान्तिवादी अडानले बाधा गरेको भए पनि ट्रम्पलाई छलेर उनीहरू अघि बढेका हुन् त ? कि इरानलाई पटक्कै मन नपराउने ट्रम्प स्वयं पनि यस योजनामा संलग्न छन् ? कि ट्रम्पको इच्छा नभएपनि अमेरिकामा शक्तिशाली रहिआएको इजरायली खेमाले अमेरिकालाई पश्चिम एसियाको द्वन्द्वमा धकेल्न खोजिरहेको छ ? यो अन्तिमको कुरा साँचो हो भने ट्रम्पले जतिसुकै फुइँ लगाएपनि शासनसत्ता उनको हातमा छैन र उनी शान्तिवादी नेता पनि हैनन् ।
इजरायल (र अमेरिका) को यो पछिल्लो कदमले विश्वलाई विनाशकारी युद्धको डिलमा ल्याइदिएको छ । विश्व व्यापारको प्रमुख नाकाका रूपमा रहेको होर्मुज जलसंयोजकलाई इरानले बन्द गरिदियो भने विश्वको अर्थतन्त्र पनि अस्तव्यस्त हुनेछ ।
This article was first published on Clickmandu
Leave a Reply