संसारभरिका मानिसलाई जोड्ने उद्देश्यले खोलिएको कम्पनीले एकपछि अर्को नैतिकताविहीन नीति अपनाएर कर्मचारी तथा प्रयोगकर्ताहरूको शोषण गरिरहेको तथ्यको खुलासा गर्ने पुस्तक हालै सार्वजनिक भएको छ । साराह विन–विलियम्सको संस्मरण “केयरलेस पिपुल” ले विश्वव्यापी प्रभुत्वको खोजीमा रहेको फेसबूकको विषाक्त नीतिहरूको भण्डाफोर गरी रोमाञ्चक अध्ययनको अवसर जुराएको छ ।
विन–विलियम्स फेसबूकमा सन् २०११ देखि २०१७ सम्म उच्च ओहदामा रहेर कम्पनीले अँगालेका गलत नीतिहरूको साक्षी बनेकी थिइन् । फेसबूकले नैतिकताको धरातललाई बेवास्ता गरेर विश्वव्यापी विस्तार र मुनाफामा मात्र आफूलाई केन्द्रित गरेको कटु यथार्थलाई उनले आफ्नो व्यक्तिगत अनुभवका आधारमा चित्रित गरेकी हुन् । प्रयोगकर्ताहरूको सुरक्षा र आफ्ना कर्मचारीहरूको उचित संरक्षणलाई पनि फेसबूकले महत्त्व नदिएको कुरा पुस्तकमा पढ्न पाइन्छ ।
आफ्नो बाल्यकालमै न्युजील्यान्डको समुद्री तटमा शार्कको आक्रमणमा परी झण्डै ज्यान गुमाएकी लेखिकाले त्यसपछि पनि जीवनमा धेरै हण्डर खानुपरेको थियो । संयुक्त राष्ट्रसंघ तथा अमेरिकास्थित न्युजील्यान्ड दूतावासमा काम गर्दा संसार बदल्न नसकिने निष्कर्ष निकालेर उनी फेसबूकमा काम गर्न इच्छुक भएकी थिइन् । फेसबूकले मानिसहरूलाई एकअर्कासँग सम्पर्क कायम गर्न राम्रो भूमिका खेलेको अनि विपतको समयमा आफन्तजनलाई आडभरोसा दिने बलियो माध्यम बनेको तथ्यले उनलाई फेसबूकतर्फ आकर्षित गरेको थियो ।
त्यसैले उनी फेसबूकमा त्यतिखेरसम्म अस्तित्वमै नरहेको विश्वव्यापी सार्वजनिक नीति व्यवस्थापकको पद सिर्जना गर्नका लागि प्रमुख व्यवस्थापक अधिकृत मार्ने लिभाइनसँग पैरवी गर्न थाल्छिन् । शुरूमा लिभाइनले उनलाई खासै महत्त्व नदिएकी भए पनि फेसबूक विश्व राजनीतिमा हस्तक्षेप गर्न सक्ने मुख्य खेलाडी हो भनी विन–विलियम्सले विश्वस्त तुल्याएपछि उनलाई नियुक्त गर्छिन् ।
फेसबूकले विश्व्यापी विस्तार गर्ने क्रममा विभिन्न मुलुकका कार्यकारी प्रमुखहरूसँग भेटघाट गर्नुपर्ने हुन्थ्यो र लेखिकाले नै मार्क जकबरर्ग र शेरिल स्यान्डबर्ग जस्ता उच्च अधिकृतलाई विश्वका नेताहरूसँग भेटघाट गराउँथिन् । तर जकरबर्गलाई नेताहरूसँग भेट्न मन नलाग्ने, भेटे पनि उचित शिष्टाचार देखाउन नजान्ने अनि स्यान्डबर्गलाई आफ्नो स्वार्थपूर्ति गर्नमा मात्र चासो रहने कुरालाई विन–विलियम्सले वर्णन गरेकी छन् ।
काम गर्दै जाँदा फेसबूकले चीन जस्तो निरंकुश बजारमा प्रवेश गर्नका लागि आफ्नो नैतिकतालाई तिलाञ्जलि दिएको उनले वर्णन गरेकी छन् । अभिव्यक्तिमाथि प्रतिबन्ध लगाउने प्रविधिको विकास, फर्जी कम्पनीको गठन र चिनियाँ सरकारले प्रयोगकर्ताको डेटामाथि गर्ने नियन्त्रणमा सहमति जस्ता काम फेसबूकको खुला उदारवादी नीतिविपरीत भए पनि त्यसलाई अघि बढाएको भनी विन–विलियम्सले आलोचना गरेकी छन् । अरू देशका प्रयोगकर्ताको डेटा आफ्नो सर्भरमा राख्ने फेसबूकले चीनलाई चाहिँ त्यसमा छुट दिएको थियो । उक्त डेटा चीन सरकारले आफ्ना नागरिकहरूमाथि निगरानीका लागि राख्ने गरेको र फेसबूकले चीनमा प्रतिबन्धका बावजूद विज्ञापनबाट पैसा कमाउनलाई डेटाको विषयमा सम्झौता गरेकोमा लेखिकाले असन्तुष्टि व्यक्त गरेकी हुन् ।
त्यसैगरी अतिवादी बौद्धहरूले अल्पसंख्यक रोहिंग्या मुसलमानहरूका विरुद्ध घृणास्पद अभिव्यक्ति र हिंसाको आह्वान गर्ने पोस्ट फेसबूकमा राख्दा त्यसलाई तत्कालै हटाउन फेसबूकका उच्च अधिकृतहरूले देखाएको उदासीनतालाई पनि लेखिकाले उजागर गरेकी छन् । बर्मेली भाषामा भएका पोस्टका विषयवस्तुको निगरानी नगरिएको, उक्त भाषाको युनिकोड सपोर्टको व्यवस्था नगरिएको र आयरल्यान्डमा रहेका बर्मेलीभाषी कन्टेन्ट मोडरेटर स्वयं बौद्ध अतिवादीहरूप्रति सहानुभूतिशील रहेको भए पनि उनलाई हटाउनका लागि चासो नदेखाइएको कुरा उनले बेलीविस्तार लगाएकी छन् । अतिवादीहरूको पोस्टका कारण हजारौं रोहिंग्याहरू हत्या, बलात्कार र विस्थापनको शिकार बनेको अवस्थामा तिनको पीडाका लागि फेसबूक पनि जिम्मेवार ठहर्ने लेखिकाको भनाइ छ ।
यस्तो मानवीय त्रासदीको स्थितिमा पनि उदासीनता देखाउनुले फेसबूकका निर्णाक अधिकृतहरू अनुत्तरदायी मानिस भन्ने पुस्तकको शीर्षकलाई सार्थक बनाएको छ । यो शीर्षक उनले महान् अमेरिकी उपन्यासकार एफ स्कट फिटजराल्डको उपन्यास “द ग्रेट ग्याट्सबी” बाट लिएकी हुन् जसका प्रमुख पात्रहरू टम र डेजी बुकानन अर्काको जिन्दगी बर्बाद भएको पनि परवाह गर्ने चिसा मानिस हुन् ।
अन्य मुलुकका मानिसको वेदनाप्रति उदासीन फेसबूकका निर्णायक तहका अधिकृतहरू आफ्नै कर्मचारीको पीडालाई पनि बेवास्ता गर्ने रहेछन् । जकरबर्गलाई आफ्नो कम्पनीको अनैतिक क्रियाकलापप्रति कुनै वास्ता छैन, उनी त जसरी हुन्छ फेसबूकको विश्वव्यापी प्रभाव कायम होस् भन्नेमा केन्द्रित छन् । कर्मचारीहरूको शारीरिक र मानसिक स्वास्थ्यको चिन्ता भन्दा पनि कसरी हुन्छ प्रयोगकर्ताहरूलाई फेसबूकमा लामो समयसम्म भुलाउन सकिन्छ भन्नेमा उनी घोत्लिरहेका हुन्छन् । ब्राजिल सरकारले फेसबूकका कर्मचारीलाई पक्राउ गरी जेलमा हाल्दा पनि उनी छुटाउने प्रयास गर्नुको साटो पोस्ट गरेर बस्छन् ।
त्यस्तै स्यान्डबर्ग प्रमुख सञ्चालन अधिकृतको भूमिका निर्वाह गर्नु भन्दा पनि आफ्नो पुस्तक “लीन इन” को प्रचारप्रसारमा व्यस्त हुने गरेको अनि महिला कर्मचारीहरूको यौन र श्रम शोषण (आफ्नो पुस्तकको बारेमा राम्रो कुरा लेख्न कर्मचारीलाई बाध्य बनाउने) मा व्यस्त रहेको लेखिकाले वर्णन गरेकी छन् । महिलालाई कार्यस्थलमा आफ्नो सशक्त उपस्थिति दर्ज गराउनका लागि पुस्तकमार्फत प्रेरित गरे पनि वास्तवमा स्यान्डबर्गले फेसबूक कार्यालयमा आफ्नो विरुद्धको कुनै पनि आवाजलाई दबाउने गरेकी थिइन् । स्यान्डबर्गको भनाइ र गराइमा रहेको विशाल अन्तरका साथै नैतिक पतन हुने गरी उनले राखेका यौन सम्बन्धहरू पुस्तकमा छताछुल्ल छन् । अनि फेसबूकको शक्तिको आडमा आफ्नो लीन इन फाउन्डेशन नामक संस्थाका लागि पैसा जुटाउने उनको प्रयास नै पछि फेसबूकबाट हट्ने कारण बन्न पुगेको थियो । आफूमुनिका कर्मचारीलाई दबाएर राख्ने अनि उनीहरूको जायज मागको सुनुवाइ नगर्ने स्यान्डवर्गको चरित्रले पाठकमा उनीप्रति वितृष्णा उत्पन्न गराउँछ ।
फेसबूकमा काम गर्दा बेहोर्नुपरेको सास्तीलाई लेखिकाले कारुणिक रूपमा प्रस्तुत गरेकी छन् । गर्भवती भएर बच्चा पाउनै लागेको बेलामा पनि उनलाई अस्पतालको शय्याबाटै प्रेजेन्टेशन बनाउन लगाउने, स्वास्थ्य नाजुक भएको अवस्थामा समेत प्लेनको लामो यात्रा गर्दै विदेशमा गएर काम गर्न बाध्य बनाउने, जोएल काप्लान नामक अधिकृतले यौनशोषणको कुचेष्टा गर्दा पनि उसलाई कारवाही नगरी उल्टै लेखिकालाई र्याखर्याखती पार्ने र अन्तिममा निकै क्रूरता देखाएर जागिरबाट निकालिदिने लगायतका अन्यायका अनेकौं उदाहरणहरू लेखिकाले प्रस्तुत गरेकी छन् । त्यसका अतिरिक्त, संसारभरि अभिव्यक्ति स्वतन्त्रताको दुहाइ दिँदै हिँड्ने कम्पनीले आफ्नै कार्यालयमा चाहिँ विमतिका स्वरहरूलाई दबाउने गरेको तथ्य पुस्तकमा पढ्दा पाठकको मनमा फेसबूकका उच्च अधिकृतहरूप्रति घृणा जागेर आउँछ ।
यो पुस्तकको एउटा थिम यौन पनि हो । कोलम्बियामा हिलारी क्लिन्टनले गिगोलो होटल मालिकसँग सम्बन्ध राख्ने गरेको कुरालाई संकेतमै लेखिकाले उजागर गरेकी छन् । जोएल काप्लान त पुस्तकमा सेक्सुअल प्रिडेटर अर्थात् यौन शिकारीकै रूपमा देखिन्छन् । शेरिल स्यान्डबर्ग पनि महिला र पुरुष दुवैसँग यौनसम्बन्ध राख्ने महिलाका रूपमा चित्रित छिन् ।
तर यो पुस्तक लेखिकाको संस्मरण भएकाले यसमा कतिपय सीमा वा पूर्वाग्रहहरू हुन सक्ने तथ्यलाई पाठकले विचार गर्नुपर्ने हुन्छ । लेखकको तीतो अनुभवले जन्माएको एकांगी दृष्टिकोणलाई सांगोपांग ग्रहण गर्न मिल्दैैन होला । सन्तुलनका लागि कम्पनीका अन्य कर्मचारीहरूको दृष्टिकोणलाई पनि हेर्नुपर्ने हुन्छ । त्यसका बावजूद लेखिकाले प्रमाणसहित लगाएको बेलीविस्तारलाई शंका गर्नुपर्ने देखिँदैन । फेसबूकले ‘ग्याग अर्डर’ मार्फत यस पुस्तकलाई प्रवर्धन गर्नबाट रोकेको छ र उसको यो कदम आफ्नो दोष लुकाउने कुप्रयास हो भन्न सकिन्छ । ग्याग अर्डरका कारण नै यो पुस्तक अहिले बेस्ट सेलरको सूचीमा दरिएको छ ।
जे होस्, पुस्तकले सामाजिक सञ्जालहरूको शक्ति र जिम्मेवारीका विषयमा भइरहेका बहसमा एउटा नयाँ आयाम थपेको छ । लेखिकाको कूटनीतिक तथा कानूनी क्षेत्रको पृष्ठभूमिको साथै फेसबूकमा माथिल्लो तहमा बसेर काम गरेको अनुभवले उनको विश्लेषणलाई विश्वसनीयता प्रदान गर्छ ।
चरम पूँजीवादको वकालत गर्ने रुसी–अमेरिकी लेखिका आइन रान्डको पुस्तक “एटलस श्रग्ड”लाई उद्धृत गर्दै लेखिका विन–विलियम्सले फेसबूकका निर्णायक अधिकृतहरू नैतिकतालाई बलिदान दिँदै नाफाखोरीलाई प्रोत्साहन गर्ने स्वार्थीहरूको समूहका रूपमा गरेको चित्रण सही लाग्छ । व्यक्ति व्यक्तिबीचको सम्पर्क बढाउने पवित्र उद्देश्यका साथ खोलिएको कम्पनीमा अनियन्त्रित महत्त्वाकांक्षा र नैतिक सुपरीवेक्षणको अभावका कारण सिर्जित हानिकारक परिणामको गतिलो उदाहरण फेसबूक हो भनी पुस्तकले प्रमाणित गरेको छ ।
This review was first published on Sahityapost
Leave a Reply