ट्रम्प र मस्कबीच विवादको खास कारण के हो ? अब के हुन्छ ?

गत साता अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका पूर्वमित्र अर्बपति इलोन मस्कबीचको झगडा सामाजिक सञ्जालमा छताछुल्ल भएपछि त्यसको वास्तविक कारणका विषयमा सोधीखोजी भइरहेको छ ।

ट्रम्प प्रशासनमा सरकारी अपव्ययलाई नियन्त्रण गर्नका लागि बनाइएको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी (डोज) को जिम्मेवारीबाट हटेलगत्तै मस्क र ट्रम्पबीच विवाद चर्किएको हो । विशेषगरी, मस्कले ट्रम्पको महत्त्वाकांक्षी विधेयकविरुद्ध लगातार आलोचना गरेपछि ट्रम्प रिसाएका हुन् ।

त्यसो त मस्कले ह्वाइट हाउस छोड्नुअघि नै अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पारित विधेयकप्रति निराशा व्यक्त गर्दै आइरहेका थिए । तर, अहिले त्यहाँबाट निस्केपछि उनले विधेयकको विरोध थप चर्काएका हुन् ।

मस्कले यसरी विधेयकको धुँवाधार विरोध गरेपछि ट्रम्पले आफू मस्कसित निराश बनेको प्रतिक्रिया दिए । अब आफूहरूको सम्बन्ध सुध्रिन सक्ने विषयमा निश्चित नरहेको पनि उनले बताए ।

विवाद बढ्दै गएपछि मस्कले सरकारबाट पाइरहेको मालदार ठेक्का पनि रोकिदिने चेतावनी ट्रम्पले दिएका छन् । उता मस्कले पनि मध्यमार्गी ८० प्रतिशत अमेरिकीको प्रतिनिधित्व गर्ने एउटा बेग्लै नयाँ पार्टी खोल्ने बताउँदै किशोरीहरूलाई धनीमानीको यौन इच्छा पूरा गराउनका लागि दुरुपयोग गर्ने कुख्यात व्यक्ति जेफ्री इपस्टाइन सम्बन्धी फाइलहरूमा ट्रम्पको पनि नाम भएकाले त्यसलाई सार्वजनिक नगरिएको गम्भीर आरोप लगाए । अझ, उनले त ट्रम्पविरुद्ध महाभियोग समेत लगाउनुपर्ने बताए ।

मस्कले चर्को आलोचना गरेको विधेयकमा खास त्यस्तो के छ त ? उक्त विधेयकमा करछुटका साथै मेडिकएड तथा अन्य सरकारी सुविधामा कटौतीको व्यवस्था छ भने ट्रम्पले सीमाको सुरक्षाका लागि व्यक्तिलाई देशनिकाला गर्ने र सीमारक्षकहरूको संख्या बढाउने काममा हुने खर्चमा लगानी गर्ने प्रावधानहरू रहेका छन् । त्यसले गर्दा अमेरिकाको ऋण र बजेटघाटा ह्वात्तै बढ्ने मस्क लगायतका विरोधीहरूको तर्क छ ।

तटस्थ विश्लेषकहरूले ट्रम्पको यस विधेयकका कारण अमेरिकाको विद्यमान ३६२ खर्ब डलर बराबरको ऋणमा २४ खर्बदेखि ५० खर्ब डलरसम्म थपिन सक्ने सम्भावना रहेको बताएका छन् ।

तर स्वच्छ ऊर्जामा लगाइएको करछुट (ट्याक्स क्रेडिट) लाई निरन्तरता नदिने निर्णय नै ट्रम्पसँग मस्क रिसाउनुको खास कारण हो । तेल र ग्यासमा करछुटको व्यवस्थालाई नचलाइएको तर विद्युतीय गाडी वा सौर्य ऊर्जाबाट चल्ने गाडीलाई मात्र करछुटको दायराबाट बाहिर राखिएको भन्दै मस्कले चित्त दुखाएका हुन् । उनको यस चिन्तालाई माथिल्लोे सदन सिनेटका कतिपय सदस्यहरूले पनि साझा गरेका छन् ।

यसरी विद्युतीय गाडीलाई करछुटको दायराबाट अलग्याउँदा मस्कको टेस्ला कम्पनीलाई निकै घाटा लाग्छ । गत साता जेपीमोर्गन कम्पनीले प्रकाशन गरेको अनुमान अनुसार, ईभीमा ट्याक्स क्रेडिटको व्यवस्था हट्दा टेस्लाले वार्षिक रूपमा लगभग १.२ अर्ब डलर गुमाउनुपर्ने हुन्छ । त्यसो त यसरी ईभीमा ट्याक्स क्रेडिट हटाइदिँदा टेस्ला बाहेकका अन्य ईभी उत्पादक कम्पनीहरूलाई पनि घाटा लाग्छ । अझ, उनीहरूले टेस्लासँग प्रतिस्पर्धा गर्न नसक्दा अहिले ईभीमा गरेको लगानी नै घाटाको सौदा भइरहेको छ ।

तर विधेयकले टेस्लालाई थप क्षति किन पनि पुर्‍याउँछ भने ट्रम्पका लागि चुनाव प्रचार गर्नेदेखि ट्रम्प प्रशासनमा खर्चकटौती गर्ने कामसम्ममा मस्क संलग्न हुँदा टेस्ला कम्पनीविरुद्ध अमेरिकाभरि अभियान नै चलेको छ ।

टेस्ला किनेका मानिसले पनि आफ्नो गाडीमा मस्कविरोधी नारा कोतरेका छन् भने विश्वका अन्य मुलुकमा पनि टेस्लाको बिक्री निकै घटेको छ ।

यस्तो प्रतिकूल परिस्थितिमा ट्रम्पले ल्याएको विधेयकले पनि टेस्लालाई राहत दिनुको साटो आहत गरेकाले मस्क बढी रिसाएका हुन् । त्यो कुरा ट्रम्पले पनि बुझेका छन् । त्यसैले आफ्नो ट्रुथ सोसल सामाजिक सञ्जाल अकाउन्टमा गत बिहीवार पोस्ट गर्दै उनले विद्युतीय गाडी किन्नका लागि बाध्य बनाउने ईभी म्यान्डेट हटाएकाले मस्क आफूसँग रिसाएको उनले लेखेका थिए ।

तर ट्रम्प र मस्कबीचको विवाद विद्युतीय गाडीमा मात्र सीमित छैन । डोजले अपेक्षाकृत काम गर्न नसकेको ट्रम्पको धारणा, अमेरिकी अन्तरिक्ष एजेन्सी नासामा मस्कले चाहेको व्यक्ति ज्यारेड आइज्याकम्यानलाई प्रमुख बनाउन ट्रम्पले देखाएको अनिच्छा र मस्कले ट्रम्पको टोलीलाई मध्यावधि निर्वाचनअघि दिने भनेको १० करोड डलरको अहिलेसम्म सुरसार नदेखिएकोले पनि यी दुईबीच तिक्तता बढेको हो । अब त झन् मस्कले त्यो रकम दिने सम्भावना न्यून छ ।

ट्रम्पलाई राष्ट्रपति निर्वाचित गराउनका लागि २७ करोड डलरभन्दा बढी रकम खर्च गरेका मस्कले ट्रम्पबाट अपेक्षाकृत लाभ उठाउन सकेका छैनन् । आफूले ट्रम्पका लागि रकम खर्च गरेको र प्रचारप्रसार गरेकोले नै ट्रम्पले चुनाव जितेको मस्कको दाबी छ

चुनाव जित्नका लागि मस्कको सहयोग महत्त्वपूर्ण रहेको कुरालाई स्वीकार गर्दै ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा मस्कलाई संघीय सरकारमा शक्ति अभ्यास गर्न लगाएर कर्मचारी निकाल्न वा बेतलबी बिदामा जान र ठेक्का सम्झौताहरू रद्द गर्न अनुमति दिएका थिए । मस्कले शक्तिको बढी नै उपयोग गरेको विषयमा ट्रम्पका मन्त्रीहरूले नै गुनासो गरेपछि ट्रम्पले मस्कलाई बढी उत्तेजित नहुन आग्रह गरेका थिए ।

तर टेस्ला, स्पेसएक्स, द बोरिङ कम्पनी लगायतका आफ्ना कम्पनीहरूमा शक्तिको चरम उपयोग गरिरहेका मस्कलाई ट्रम्पको नियन्त्रण सह्य भइरहेको थिएन । मस्कले लगभग साढे २ करोड डलर खर्च गरेर पनि विस्कन्सन राज्यको सर्वोच्च अदालतको चुनावमा आफ्नो रोज्जाका उम्मेदवारलाई जिताउन नसक्दा ठूलै अपमान बेहोर्नुपरेको थियो । त्यसमाथि उनले ट्रम्प प्रशासनमा क्रमशः प्रभाव गुमाउँदै गएका थिए ।

मस्कले सरकारको विशेष कर्मचारीका रूपमा १२० दिनको अवधिपछि आफ्नो भूमिका कायम रहने कि नरहने भनी बारम्बार सोध्ने गरेका थिए । तर, उनलाई अवधि नबढाइने कुरा आएपछि ह्वाइट हाउसमा उनको पछिल्लो समय तिक्ततापूर्ण बन्न पुगेको थियो ।

ट्रम्पले मे महिनामा पश्चिम एसियाको भ्रमणका क्रममा घोषणा गरेको एआई लगानी सम्झौतालाई पनि मस्कले कार्यान्वयन हुनबाट रोक्न खोजेका थिए किनकि त्यस सम्झौताले मस्कका प्रतिस्पर्धी ओपनएआईका सीईओ साम अल्टम्यानलाई फाइदा पुग्थ्यो ।

सरकारमा हुँदा नै मस्कले ट्रम्पको ‘विशाल सुन्दर विधेयक’ प्रति निराशा व्यक्त गरेको भए पनि ह्वाइट हाउसले खासै आपत्ति उठाएको थिएन । उनलाई सरकारबाट बिदाइ गर्दा पनि सौहार्द्रपूर्ण माहौल नै थियो । तर मस्क बिदा भएलगत्तै ट्रम्पले नासाको प्रमुख पदमा मस्कका साथी ज्यारेड आइज्याकम्यानको उम्मेदवारी खारेज गरिदिएपछि मस्कको पारा चढ्यो । अमेरिकाले बनाउने अन्तरिक्ष सम्बन्धी नीति (स्पेस पोलिसी) मस्कका लागि अत्यन्तै महत्त्वपूर्ण छ किनकि स्पेसएक्सको सीईओका रूपमा मस्कले अन्तरिक्षयात्रादेखि अन्य ग्रहमा बस्ती बसाल्नेसम्मका लागि महत्त्वाकांक्षी परियोजनाहरू बनाएका छन् ।

मस्कसँग रिसाएका ट्रम्पले त अमेरिकी बजेटमा अर्बौं डलर बचाउने हो भने मस्कले सरकारबाट पाइरहेको छुट र सम्झौताहरू रद्द गरे हुन्छ समेत भन्न भ्याए । बाइडनले नै त्यो काम नगरेको देख्दा आफूलाई आश्चर्य लागेको पनि उनले बताए । त्यो पढेपछि मस्कको पारा तात्यो अनि उनले आफ्नो कम्पनी स्पेसएक्सबाट नासालाई उपलब्ध हुँदै आएको ड्रागन अन्तरिक्षयान नदिने धम्की दिए । नासाले ड्रागन स्पेसक्राफ्टबाट नै अन्तरिक्षयात्रीहरूका लागि इन्टरनेसनल स्पेस स्टेसनमा खाद्यवस्तु र अन्य बन्दोबस्तीका सरसामान पु¥याउने गरेको छ । तर पछि अलि शान्त हुँदै मस्कले ड्रागन फिर्ता लिने काम नगर्ने बताए ।

मस्कले ट्रम्पको विधेयकका सम्बन्धमा असन्तुष्ट रिपब्लिक पार्टीका सांसदहरूलाई विरोधका लागि भड्काउन गरेको प्रयास शक्तिप्रदर्शनको नमूना थियो । आफू पनि ट्रम्पलाई घात गर्न सक्ने स्थितिमा रहेको सन्देश उनले दिन खोजेका थिए । त्यसले ट्रम्पलाई केही हच्काएको भए पनि खासै असर पार्ने छैन किनकि अहिले रिपब्लिकन पार्टीमा ट्रम्पको विरोध गरेर आफ्नो राजनीति जोगाउन निकै कठिन हुने कुरा सांसदहरूले बुझेका छन् । माथि पनि उल्लेख भएअनुसार, मस्कले विस्कन्सिनको सर्वोच्च अदालतको निर्वाचन आफ्नो पक्षमा पार्न असफलता बेहोरेको दृष्टान्तबाट नै राजनीतिमा मस्कको पकड नै नरहेको स्पष्ट हुन्छ । तर ट्रम्प अहिले रिपब्लिकन पार्टीमा सर्वेसर्वा बनेका छन् र मेक अमेरिका ग्रेट अगेन (मागा) आन्दोलनमा उनी मसिहाका रूपमा पुजिने गरेका छन् ।

खासमा यो लडाइँ दुई अभिमानी व्यक्तिको अहंको टकराव हो । दुवैले एकअर्कालाई चोट पु¥याउन सक्ने कतिपय क्षेत्रहरू छन् । जस्तै, ट्रम्पले मस्कलाई सरकारी ठेक्कापट्टाबाट बेदखल गर्न सक्छन्, मस्कले लागूपदार्थ सेवन गर्ने गरेको विषयमा अनुसन्धान गराउन सक्छन्, (उग्रदक्षिणपन्थी स्टिभ ब्याननको भनाइ पत्याएर) मस्कको आप्रवासी हैसियतमा प्रश्न उठाउन सक्छन्, संसारभरि फैलिएका मस्कका व्यापारमा चोट पुर्‍याउन सक्छन् र राष्ट्रपतीय अधिकार दुरुपयोग गरेर दुःख दिन सक्छन् । उता मस्कले चाहिँ आफ्नो सामाजिक सञ्जाल एक्सको उपयोग गरी ट्रम्पको बाँकी कार्यकालमा चर्को आलोचनाको वातावरण निर्माण गर्न सक्छन्, नयाँ राजनीतिक दलमा लगानी गरेर रिपब्लिकन पार्टीको जनाधार कमजोर बनाउन सक्छन्, नासालाई आफ्नो अन्तरिक्षयान नदिएर असहयोग गर्न सक्छन् र ट्रम्पको गोप्य कुराहरू सार्वजनिक गरिदिएर अप्ठ्यारोमा पार्न सक्छन् ।

हुन त मस्कले ट्रम्पसँग शान्ति कायम गर्नका लागि प्रयास गरिरहेका छन् तर ट्रम्प त्यसमा अनिच्छुक रहेको बताइएको छ । यी दुवैका प्रतिनिधिमण्डलले एकअर्कासँग कुराकानी गरेको पोलिटिको सञ्चारमाध्यमले खबर दिएको छ । तर उनीहरूले सम्झौता गर्ने सम्भावना न्यून छ ।

शक्तिशाली देशको राष्ट्रपति भएको हैसियतमा मस्कभन्दा ट्रम्प नै बलिया छन् तर रिपब्लिकन पार्टीसँग संसद्का दुवै सदनमा झिनो बहुमत मात्र रहेकाले आगामी मध्यावधि निर्वाचन र त्यसपछिको राष्ट्रपति निर्वाचनमा मस्कले आफ्नो सामाजिक सञ्जाल उपयोग गरी ट्रम्पलाई अप्ठ्यारोमा पार्न सक्ने सम्भावना छ ।

This article was first published on Clickmandu


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *