भारतीय सेनाले मंगलबार राति पाकिस्तान अधीनस्थ कश्मीर र मुख्य भूभागमा आक्रमण गरेको छ। अपरेसन सिन्दूर नाम दिइएको उक्त कारबाहीका क्रममा कुल नौ स्थानमा आक्रमण गरिएको हो र ती ठाउँहरूमा आतंकवादीहरूको बाक्लो गतिविधि हुने गरेको भारतीयहरूको दाबी छ। गत अप्रिल महिनामा भारतको जम्मु कश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा ‘द रेजिस्टेन्स फ्रन्ट’ नामक आतंकवादी समूहको आक्रमणमा एक नेपाली सहित २६ जनाको हत्या गरेको प्रतिशोधमा भारतले उक्त कारबाही गरेको हो।
पाकिस्तानी सेनाका अनुसार, भारतीय सेनाले उसकै भूभागबाट उक्त आक्रमण गरेको हो र त्यसमा परी २६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। पाकिस्तानी सेनाले प्रतिकारात्मक कारबाहीमा पाँच वटा भारतीय सैन्य विमान खसाएको दाबी गरेको छ।
दक्षिण एशियाका दुई ठूला शक्तिबीचको दशकौँदेखिको तनाव पुनः एकपटक चर्किने स्थितिमा पुगेको छ। आणविक हतियार भएका मुलुकहरूबीच युद्ध चर्किएमा त्यसले सम्पूर्ण दक्षिण एशियाली क्षेत्रलाई नकारात्मक असर पार्ने निश्चित छ। तर अहिलेको तनाव युद्धमै परिणत होला भनी ठोकुवा गर्न सकिने स्थिति छैन।
कश्मीरलाई विशेष अधिकार दिने संविधानको धारा ३७० लाई भारतले खारेज गरी जम्मु कश्मीरलाई केन्द्रशासित प्रदेश बनाएपछि उक्त क्षेत्रमा तुलनात्मक शान्ति रहँदै आएको थियो। बीचमा छिटपुट घटना भए पनि ठूलो संख्यामा हत्याहिंसा नभएकाले पर्यटकहरू त्यहाँ जान थालेका थिए। तर त्यो संवेदनशील क्षेत्र भएकाले शान्तिबहाली भए पनि कुनै पनि बेलामा अप्रिय घटना हुन सक्ने सम्भावनालाई भारतीय सुरक्षा संयन्त्रले विचार नगरेको देखिन्छ। आतंकवादीहरूले पर्यटकहरूको हत्या गरेपछि तत्कालै सीमा पार गरी पाकिस्तान पुगेको देखिएकाले उनीहरूलाई स्थानीयको सहयोग पनि प्राप्त भएको आशंका गरिएको छ र यसले कश्मीरीहरूमा वास्तविक शान्ति बहालीको अनुभव नदिलाएको प्रमाणित गरेको छ।
अझ, त्यसमाथि पाकिस्तानका सेनाप्रमुख जनरल असिम मुनिरले तीन साताअघि इस्लामाबादमा प्रवासी पाकिस्तानीहरूको भेलालाई सम्बोधन गर्दै हिन्दू र मुसलमानबीच नितान्त भिन्नता रहेको एवम् भारत र पाकिस्तान बन्नका लागि उपयोग भएको द्विराष्ट्रिय नीतिलाई पाकिस्तानीहरूले कहिल्यै भुल्न नहुने भनी गरेको उद्घोषलाई भारतले गम्भीरतापूर्वक नलिएको देखियो। स्मरणीय छ, आतंकवादीहरूले पहलगाममा पर्यटकहरूको धर्म सोधीसोधी हिन्दू भन्ने थाहा पाएपछि निर्मम हत्या गरेका थिए। यद्यपि, आतंककारीकाे प्रतिराेधमा एक काश्मिरी मुसलमान पनि मारिएका थिए। हमलामा मर्नेमा एक क्रिश्चियन मतावलम्बी पनि थिए।
कश्मीरमा हुने आतंकवादी आक्रमणहरूमा पाकिस्तानको हात रहने गरेको आरोप भारतले पहिल्यैदेखि लगाउँदै आएको हो। उता पाकिस्तानले चाहिँ भारतको आरोप आधारहीन रहेको र पाकिस्तान स्वयं नै आतंकवादी आक्रमणको शिकार भइरहेको दाबी गरेको छ। कश्मीर समस्याको स्थायी समाधानका लागि भारत र पाकिस्तान दुवैले आआफ्नो अडान नत्याग्दा यो बल्झिरहने घाउ बनिरहेको छ। तर अहिले भारत र पाकिस्तानबीचको तनाव नयाँ ढंगले चर्किनुमा यी दुई मुलुकको राष्ट्रिय अडान मात्र जिम्मेवार छैन। यसमा भूराजनीतिक कारकतत्त्वहरू पनि जिम्मेवार छन्।
अमेरिकाका सन्काहा राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशमा चर्को आयातकर लगाएर चिढ्याइरहेको बेलामा भारत र चीनबीच आर्थिक निकटता थप बढ्दै गएको छ। स्मार्टफोनका पाटपुर्जा र लत्ताकपडाको व्यापारमा भारतीय र चिनियाँ कम्पनीहरूका बीच साझेदारी बनेको छ।
यस्तो अवस्थामा पाकिस्तानले नयाँ दिल्ली र बेइजिङबीच फाटो ल्याउन खोजेको देखिन्छ। अमेरिकाले परम्परागत रूपमा भारतलाई चीनका विरुद्ध उपयोग गर्नका लागि रणनीतिक साझेदारका रूपमा हेर्ने गरेको भए पनि ट्रम्पको बहुलट्ठीपूर्ण नीति र व्यापारयुद्धका कारण अमेरिकाप्रति भारत निर्भर रहन सक्ने स्थिति छैन। अमेरिकाको भर नभएकैले गर्दा भारतले गलवान काण्डपछि चीनसँग कायम रहेको तनावलाई मत्थर पार्ने कोसिस गरेको हो।
यस्तो स्थितिमा चीनको अग्रणी रणनीतिक साझेदारका रूपमा रहेको पाकिस्तानले चीन र भारतलाई नजिक हुन नदिनका लागि भरमग्दुर प्रयास गरिरहेको छ। चीनले पाकिस्तानमा रहेका आतंकवादी समूहका नेताहरूलाई प्रतिरक्षा गरेको विगतको उदाहरण हेर्दा पहलगाममा भएको आक्रमणमा संलग्न पाकिस्तानी आतंकवादीहरूलाई संयुक्त राष्ट्रसंघको मञ्चमा चीनले प्रतिरक्षा गरेको खण्डमा चिनियाँहरूप्रति भारतीयहरूको आक्रोश पुनः चर्किनेछ।
हुन त चीन र अमेरिका लगायतका महाशक्तिले भारत र पाकिस्तानलाई तनाव नचर्काउनका लागि निरन्तर अपिल गरिरहेका छन्। तर पाकिस्तानलाई ‘आइरन ब्रदर’ मान्ने चीनले उसलाई रणनीतिक ढाडस दिनका लागि कश्मीरस्थित काराकोरम र हिमालय क्षेत्रमा वायुसेना विमानहरू उडाएको छ। हिजैको प्रत्याक्रमणमा पनि पाकिस्तानको जे–१० लडाकु विमानले भारतको राफेल विमानहरू खसाएको बताइएको छ र त्यो जे–१० विमान चीनले उपलब्ध गराएको हो।
भारत र चीनबीच फाटो ल्याउने उद्देश्यसँगै पाकिस्तानी सेनाले देशमा विद्यमान अस्थिरता तथा सेनाको लोकप्रियतामा कमीजस्ता चुनौतीलाई पन्छाउनका लागि पनि कश्मीर विवाद चर्काउनु लाभदायक हुने कुरा बुझेको छ। बलोचिस्तान र खैबर पख्तुनख्वामा चलिरहेको हिंस्रक पृथक्तावादी संघर्ष, लोकप्रिय प्रधानमन्त्री इमरान खानलाई कैद गरेर जनतामाझ जन्माएको आक्रोश र निरन्तर आर्थिक कठिनाइका कारण जनतामा बढ्दो असन्तुष्टिलाई भारतसँगको सम्भावित संघर्षले ध्यान भड्काउन सहयोग गर्छ। यसरी विचार गर्दा पाकिस्तानले कश्मीरमा आतंकवादी आक्रमणलाई दुरुत्साहन गर्दै आन्तरिक राजनीतिको व्यवस्थापनका साथै महाशक्ति राष्ट्रहरूसँग भारतको सम्बन्धमा दरार ल्याउनका लागि प्रयास गरेको देखिन्छ।
त्यसो त पाकिस्तान भन्दा भारत आकारमा निकै ठूलो मुलुक हो। पाकिस्तानको तुलनामा उसको भूरणनीतिक अवस्थिति अनुकूल किसिमकै छ किनकि पाकिस्तानका छिमेकी अफगानिस्तान र इरानसँग भारतको सुमधुर सम्बन्ध कायम छ। त्यसमाथि विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भएको नाताले एवं विश्व व्यवस्था परिवर्तनको क्याटलिस्टका रूपमा रहेको रुस–युक्रेन युद्धमा भारतले तटस्थताको नीति अपनाएकाले भारतको कूटनीतिक स्थिति बलियो छ। यावत कारणले भारतलाई दक्षिण एशिया क्षेत्रमा रोकेर राख्नका लागि पाकिस्तानले आतंकवादी आक्रमणको दुरुत्साहन र युद्धको सम्भाव्यतालाई कायम राख्ने गरेको छ।
तर भारतले पाकिस्तानी सेनाका अड्डाहरूमा आक्रमण नगरी आतंकवादीहरूका मुख्यालय भनिएका ठाउँमा मात्र आक्रमण गरी युद्ध नचर्काउने संकेत दिएको छ। यसलाई भारतले पहलगाम आक्रमणको प्रतिशोधका रूपमा मात्र सीमित गर्न खोजेको देखिन्छ। तर पाकिस्तानले आफ्नो भूमिमा भएको आक्रमणलाई देशको अस्मितामाथिको प्रहारका रूपमा लिएर प्रत्याक्रमण गरेछ भने युद्ध चर्किन पनि सक्छ।
भारत र पाकिस्तानबीच युद्ध चर्किएको खण्डमा नेपाल लगायत दक्षिण एशियाली मुलुकहरूलाई असहज स्थिति आउनेछ। नेपालको अर्थतन्त्र भारतसँग घनीभूत रूपमा जोडिएको छ र भारतीय नाका भएर देशको ६० प्रतिशतभन्दा बढी व्यापार हुन्छ। युद्धको अवस्थामा ओसारपसारमा अवरोध आउन सक्छ जसका कारण वस्तुको अभाव हुने र मूल्यवृद्धि हुने सम्भावना बढ्छ। युद्ध भएको खण्डमा भारतसँगको सीमामा सुरक्षा कडा पारिने भएकाले सीमामा आवागमन र व्यापार पनि घट्ने स्थिति आउन सक्छ।
नेपाललाई आफ्नो पक्षमा उभिनका लागि भारतले दबाब दिनेछ जसको झल्को भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले हालै नेपाल भ्रमणका क्रममा शीर्ष नेताहरूसँग गरेको कुराकानीले पनि देखाइसकेको छ।
This article was first published on Ukaalo
Leave a Reply