पालको परराष्ट्रनीति विशिष्ट भौगोलिक अवस्थितिबाट निर्देशित रहिआएको छ । दुई विशाल छिमेकीहरू चीन र भारतको बीचमा रहेको भूरपरिवेष्ठित मुलुक नेपालले दुवै शक्तिलाई सन्तुलनमा राख्नका लागि सदैव प्रयत्न गर्दै आइरहेको छ । त्यसक्रममा कुनै एक छिमेकी र नेपाल स्वयंको महत्त्वाकांक्षाका कारण नेपालले भूगोल र राजनीतिमा दूरगामी परिणाम बेहोर्नुपरेको इतिहास छ ।
दुई छिमेकीसँग नेपालको यही जीवन्त सम्बन्धलाई ऐतिहासिक दृष्टिकोणबाट सूक्ष्म रूपमा हेर्ने पुस्तक हो “महाराजाज, एम्परर्स, भाइरोयज, बोर्डर्स: नेपाल्स रिलेशन्स नर्थ यान्ड साउथ” । सन् २०२४ मा प्रकाशित यस अंग्रेजी पुस्तकका लेखक हुन् साम कावन । बेलायती सेनाका सेवानिवृत्त सैनिक कावन नेपालप्रति अगाध स्नेह राख्ने व्यक्ति हुन् ।
पुस्तकमा उनले कालापानी–लिपुलेक–लिम्पियाधुरा विवाद, चीनका छिङ राजवंशीय राजासँग नेपाली शासकहरूको हारगुहार, राजा महेन्द्रले राजतन्त्रलाई केन्द्रमा राख्ने गरी संविधान तयार पार्न गरेको कसरत अनि राणाहरूले बेलायती उपाधि प्राप्त गर्नका लागि गरेको होडका विषयमा मसिनो विश्लेषण गरेका छन् । अंग्रेजी समाचार वेबसाइट द रेकर्डमा प्रकाशित लामा निबन्धहरूलाई केही परिमार्जन गरी पुस्तकको रूप दिइएको हो ।
शुरूका तीन अध्यायमा लिपुलेक विवादको चर्चा गरिएको छ । नेपाल र भारत दुवैले स्वामित्वको दाबी गरिरहेको यो भूखण्डका ऐतिहासिक, भूराजनीतिक एवं कूटनीतिक जटिलताहरूलाई कावनले केलाएका छन् ।
बेलायती साम्राज्यवादीहरूसँगको युद्ध हारेपछि गरिएको सुगौली सन्धिका कारण नेपालले महत्त्वपूर्ण भूभाग गुमाउनुपरेको थियो । त्यसक्रममा लिपुलेकलाई बेलायती अधिकारीहरूले तिब्बतसँगको व्यापारका लागि महत्त्वपूर्ण नाकाका रूपमा लिएकाले उक्त सन्धिमा काली नदीको मुहानका विषयमा अस्पष्ट भाषा उपयोग गरेका थिए । त्यसका साथै उक्त भूक्षेत्रको सिमानाका विषयमा नेपाल र बेलायती साम्राज्यका फरकफरक व्याख्याका कारण विवाद उठेको हो ।
वास्तवमा नेपाललाई लिपुलेकको स्वामित्वबाट बेदखल गर्न बेलायती अधिकारीहरूले गरेका प्रयासहरूलाई कावनले विभिन्न ऐतिहासिक दस्तावेजको रौंचिरा विश्लेषणमार्फत उजागर गरेका छन् । त्यसक्रममा उनले सन्धिका पाठहरूदेखि लिएर बेलायती अधिकारीहरूका आधिकारिक पत्र एवं डायरीका साथै तत्कालीन र समकालीन विभिन्न पुस्तकहरूलाई उद्धृत गरेका छन् ।
नेपाल, भारत र तिब्बत (चीन) को त्रिदेशीय विन्दुका रूपमा रहेको लिपुलेक रणनीतिक रूपमा महत्त्वपूर्ण भूमि हो किनकि यो ऐतिहासिक कालदेखि नै व्यापार र मानसरोवर तीर्थयात्रा मार्गका रूपमा रहेको थियो । नेपालले तिब्बतसँगको व्यापारका लागि लिपुलेकमा नियन्त्रण तथा त्यसको उपयोग गर्दै आएको थियो । त्यहाँका बासिन्दाहरूले नेपाल सरकारलाई कर पनि तिर्दै आएका थिए ।
तर बेलायतीहरूले तयार पारेका तत्कालीन नक्साहरू लिपुलेक क्षेत्रको वास्तविक भौगोलिक अवस्थितिमा भन्दा पनि बेलायती शासकको भूराजनीतिक आकांक्षाबमोजिम तयार पारिएकाले अन्योलको स्थिति आएको कावनको दाबी छ । त्यही अन्योलका कारण नेपाल र भारत दुवैले उक्त क्षेत्रमा दाबी गर्नका लागि विभिन्न ऐतिहासिक दस्तावेजलाई उद्धृत गर्ने गरेका छन् ।
नेपालले सुगौली सन्धिलगत्तैको समयमा लिपुलेक क्षेत्रको दाबीलाई जोडका साथ उठाएको भए पनि त्यसपछिको लामो समयसम्म लगभग मौन नै बसेकाले अहिले नेपालको दाबी कमजोर भएको कावनको तर्क छ । पृष्ठ ७४ मा रहेको खण्ड ४ को उपशीर्षक ‘ऐतिहासिक त्रुटिलाई सच्याउनका लागि गुमेको अवसर’मा राजा महेन्द्रले चीनसँग सन् १९६१ मा गरेको सीमा सम्झौतामा लिपुलेकको कुनै उल्लेख नहुनुले नेपालको वर्तमान दाबीलाई दह्रो नबनाउने कावनले उल्लेख गरेका छन् । कावनको यो यथार्थवादी टिप्पणीले नेपाली राष्ट्रवादीको मन कुँडिन्छ र शासकहरूको अकर्मण्यताप्रति आक्रोश उत्पन्न हुन्छ ।
तर भौगोलिक अखण्डताप्रतिको नेपालीको दृढ आस्थालाई कसैले दमन गर्न सक्दैन । सन् २०२० मा भारतले लिपुलेक क्षेत्र हुँदै सडक निर्माण गरेपछि नेपालले त्यसलाई आफ्नो भौगोलिक अखण्डतामाथिको धावाका रूपमा लिएर विरोध गरेको थियो । पछि नेपालले संविधान संशोधन गरी लिम्पियाधुरासम्मको भूभागलाई समेट्ने गरी चुच्चे नक्सा सार्वजनिक गरेको थियो भने त्यसलाई भारतले मान्यता दिएको छैन ।
दुःखको कुरा त, नेपालीहरू चीनप्रति नतमस्तक हुने गरेको भए पनि चीनले यस विवादमा कुनै हस्तक्षेप नगरी नेपाल र भारतलाई आपसी संवादमार्फत विवाद टुंग्याउन सुझाव दिएको छ जबकि भारतीय सेनाका तत्कालीन सेनाप्रमुखले यो विवाद नेपालले चीनको आडमा उचालेको भनी मिथ्या आरोप लगाएका थिए । चीनको यो उदासीनताको ऐतिहासिक पाटोलाई कावनले पुस्तकमा उधिनेका छन् ।
लामो समयसम्म मौन रहेर नेपालले लिपुलेक क्षेत्रको दाबीलाई कमजोर बनाएको भए पनि यसले दुई देशबीचको सम्बन्धमा कटुता ल्याउन नहुने कावनको सुझाव छ । यस विषयलाई राजनीतीकरण नगरी ऐतिहासिक सन्दर्भ, स्थानीय समुदायको अधिकार तथा दुवै मुलुकको रणनीतिक हितलाई विचार गर्दै संयमतापूर्वक समाधान गर्नुपर्ने उनी लेख्छन् । वास्तवमा भारतसँग नेपालको कूटनीतिक प्रभाव क्षीण भएको वर्तमान अवस्थामा लिपुलेक विवादले भारतीय मनोविज्ञानलाई दबाबमा राख्ने काम गरिरहन्छ ।
सीमाविवादका अतिरिक्त कावनले अन्य अध्यायहरूमा बेलायती साम्राज्यको नियन्त्रणमा रहेको भारत र छिङ राजवंशको शासनमा रहेको चीनसँग नेपालले गरेको कूटनीतिक पहलको चर्चा गरेका छन् । आफ्नो रणनीतिक अवस्थाको उपयोग गरी नेपालले विशाल छिमेकीहरूलाई एकअर्काका विरुद्ध उपयोग गर्न खोजेको थियो ।
विशेषगरी बेलायतीहरूसँगको संघर्षमा चीनको सहयोग पाउनका लागि तत्कालीन नेपाली शासकहरूले गरेको असफल प्रयासको कावनले मिहिन विश्लेषण गरेका छन् । तिब्बतमाथि धावा बोलेर छिङ राजालाई बिच्क्याएकाले गर्दा नेपालले बेलायतसँगको लडाइँमा चीनको साथ पाएन । इतिहासका पुस्तकहरूमा नेपाली शासकको बिन्तीलाई छिङ राजाका तिब्बतस्थित प्रतिनिधि (अम्बान) ले राजासम्म नपु-याएर नेपालीहरूलाई हप्काएर पठाइदिएको पढिएको थियो भने कावनले यो हप्काइ छिङ राजाको इशारामा नै गरिएको हो भनी टिप्पणी गरेका छन् ।
अर्को अध्यायमा कावनले राजा महेन्द्रको पालामा नेपालको आन्तरिक राजनीतिक दाउपेचको चर्चा गरेका छन् । विशेषगरी २०१५ सालको संविधानको मस्यौदा तयार पार्ने क्रममा बेलायती संविधानविद् सर आइभर जेनिङ्सले राजा महेन्द्रको आकांक्षालाई समेट्नका लागि गरेको संघर्ष, राजालाई तीनपटक मस्यौदा बुझाउँदा पनि चित्त बुझाउन नसकेपछि उनी यहाँबाट हिँडेको, राजा महेन्द्रले बीपी कोइरालाको व्यक्तित्वसँग ईर्ष्या गरेको तथ्यहरूलाई कावनले केलाएका छन् ।
जेनिङ्सले तयार पारेको मस्यौदामा राजाको कार्यकारी भूमिका नहुनाले राजा महेन्द्रले २०१७ सालमा शासन हातमा लिई आफूलाई केन्द्रमा राखेर २०१९ सालमा नयाँ संविधान जारी गरी पञ्चायती शासन शुरू गरेका थिए । राजा महेन्द्र र बीपी कोइरालाबीचको विवादको मुख्य जडका रूपमा भूमिसुधार रहेको भारतका लागि तत्कालीन स्विस राजदूत ज्याक अल्बर्ट कटाटको भनाइलाई कावनले उद्धृत गरेका छन् । बेलायतीहरूले राजा महेन्द्रलाई नेपालमा चीनको बढ्दो प्रभावका बारेमा सचेत गराएको तथ्यलाई पनि कावनले उल्लेख गरेका छन् ।
अन्तिमका तीन अध्यायमा कावनले बेलायती पदवी पाउनका लागि राणाहरूले गरेको मरिहत्तेका विषयमा वर्णन गरेका छन् । बेलायतले नेपालको आन्तरिक र बाह्य नीतिहरूमा प्रभाव पार्नका लागि यस्ता पदवीहरूको उपयोग गरेको उनी उल्लेख गर्छन् । समीक्षकलाई यी अध्यायहरू अन्य अध्यायको तुलनामा रुचिकर लागेनन् ।
कावनको पुस्तक मिहिन अनुसन्धानको उम्दा नमूनाका रूपमा रहेको छ । आफ्ना तर्कहरू प्रमाणित गर्नका लागि कावनले पुराना नक्सा, ऐतिहासिक दस्तावेज, आधिकारिक पत्र तथा निजी डायरीहरूको अध्ययन र उद्धरण गरेका छन् भने समकालीन पुस्तकहरूलाई पनि सन्दर्भ बनाएका छन् । यसले उनको अनुसन्धानात्मक गहिराइलाई उजागर गरेको छ र उनको विश्लेषणलाई विश्वासयोग्य बनाएको छ । त्यसमाथि सरल सहज भाषामा लेखिएकाले पुस्तक बोधगम्य छ ।
नेपालको कूटनीति, भूराजनीति र इतिहासको क्षेत्रमा कावनको यो पुस्तकले महत्त्वपूर्ण योगदान गरेको छ । पुस्तकमा सन्तुलित दृष्टिकोण अपनाएर गरिएको विस्तृत ऐतिहासिक विश्लेषणले इतिहासविद् र सामान्य पाठक दुवैलाई उत्तिकै मुग्ध बनाउँछ । नेपालको वर्तमान भूराजनीतिक जटिलतालाई बुझ्नका लागि कावनले गरेको इतिहासको यस्तो अध्ययन जरूरी पनि थियो । यस्तो संग्रहणीय पुस्तकलाई यथाशीघ्र नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्नुपर्छ ।
This review was first published on Sahityapost
Leave a Reply