मंसिरमा विस्तृत शान्ति सम्झौताको १८ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने अवसर जुरेको थियो। शान्ति र मानव अधिकारका लागि काम गर्ने संस्थाको उक्त सम्मेलनमा भोजन गर्दै गर्दा एक जना महानुभावले भन्नुभएको कुराले मलाई विचलित बनायो।
उहाँले कार्यक्रमका सत्रहरू सञ्चालन गर्दैगर्दा समाजमा शान्ति बहाली गर्ने विभिन्न उपाय सुझाउनुभयो। तर खाने बेलाचाहिँ उहाँले मांसभोजनको स्वादिष्टताको बखान गर्न थाल्नुभयो। सिरहाबाट सहभागी हुनुभएका एक अर्का सहभागीसँग कुरा गर्दै उहाँले ‘तपाईंको लहानमा त परेवाको मासु खुबै स्वादिलो गरी बनाउँछन् है, म त प्रत्येक पटक त्यहाँ पुग्दा त्यो मासु चाख्छु’ भन्नुभयो। सिरहावासी मित्रले हाँस्दै ‘परेवा त सरको जिभ्रोमै झुन्डेछ’ भने। अनि दुवै जनाले अट्टहास गरे।
कार्यक्रमको दिवा खानामा पनि ती सहभागी मांसभोजन नै गरिरहेका थिए। म चुपचाप उहाँहरूको कुरा सुनिरहेको थिएँ। तर ती शान्ति अभियन्ताको कुराले मलाई बिझायो। पंक्तिकार स्वयं मानव अधिकार अभियानमा लागेको शाकाहारी (दुग्धजन्य) व्यक्ति भएकाले पनि होला, ती मांसाहारी महानुभावको कुराले विचलित बनाइदियो।
शान्ति भनेको मानवका लागि मात्र हो? के यो संसारमा मानवको मात्र अधिकार छ? मानवीय समाजमा शान्ति खोज्नेहरू पशुप्रति चाहिँ संवेदनशील भइरहेका छैनन्? कम्तीमा शान्ति र मानव अधिकार अभियानमा लागेकाहरू त हिंसारहित शाकाहारी भोजनमा प्रवृत्त हुनुपर्ने हैन? यस्ता प्रश्नहरू मनमा उठे।
एक पटक शान्तिकर्मी संस्थाले दिएको तालिममा सहभागी हुन जर्मनी भ्रमण गर्ने अवसर पंक्तिकारले पाएको थियो। उक्त अवसरमा सबै शाकाहारी भोजन मात्र ‘सर्भ’ गरिएको थियो। संस्थाका प्रतिनिधिले शान्तिको क्षेत्रमा काम गर्ने मानिसको भोजन पनि हिंसारहित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ भन्दा हर्ष विभोर भइएको थियो।
तर नेपालमा शान्तिको अभियान चलाइरहेका अनि मानवअधिकारको चर्को कुरा गर्नेहरू नै कार्यक्रमहरूमा मासुको परिकार र मद्यपानको व्यवस्था नभए आयोजकसँग असन्तुष्ट बनेको विद्रूप परिस्थितिको सामना गर्नुपर्छ। यस्तो दोहोरो र अमिल्दो आचरण बोकेकाहरूले गरेको शान्ति अभियानलाई इमानदार प्रयास भन्न सकिएला?
छान्दोग्य उपनिषद्मा उल्लेख छ: “आहारशुद्धौ सत्त्वशुद्धिः सत्त्वशुद्धौ ध्रुवा स्मृति:। स्मृतिलम्भे सर्वग्रन्थीनां विप्रमोक्षः। (आहार वा भोजन शुद्ध भएमा मात्र सत्त्व अर्थात् अन्तस्करण शुद्ध हुन्छ। अन्तस्करण शुद्ध भएमा विवेक र बुद्धिले सही काम गर्छ। त्यही शुद्ध विवेकले अज्ञानजन्य बन्धन ग्रन्थिहरू खोलिदिन्छ।) महान् भावका लागि शुद्ध सात्त्विक भोजन आवश्यक हुन्छ भन्ने यस मन्त्रको निहितार्थ हो।
त्यस्तै, श्रीमद्भागवत गीताको १७औँ अध्यायको १०औँ श्लोकमा “…चामेध्यं भोजनं तामसप्रियम्” अर्थात् तामसिक मनोवृत्ति भएका मानिसलाई अपवित्र (मृत शरीरबाट बनेको भोजन) मन पर्छ भनी उल्लेख छ। तामसिक व्यक्तिले शान्तिजस्तो सात्त्विक विचार कसरी वहन गर्न सक्छ? हिंसाद्वारा मात्र माछामासु प्राप्त हुन्छ। त्यस्तो भोजन ग्रहण गरेर हामी कसरी अहिंसा र शान्तिवादी विचार समाजमा फैलाउन सक्छौँ?
सुन्दा यो कुरो धेरैलाई असहज लाग्ला, तर मृत्यु र तडपबाट भाग्ने प्राणीलाई बलजफ्ती तानेर पशुवध गरिने सत्य हो। त्यही वधबाट मासु आउने हो। आजको युगमा पशुपक्षीको भोजनविना सहज र स्वस्थ जीवन बाँच्न सकिने कुरा उत्तिकै सत्य पनि हो। अतः मासु खाँदै शान्तिको कुरा गर्दा त्यो ढोँग ठहरिन्छ। एउटै जाति (मानवजाति) को मात्र शान्ति महत्त्वपूर्ण हो भन्ने ठहरिन्छ।
शान्तिकर्मी मात्र नभई वातावरण संरक्षणका साथै जलवायु परिवर्तनको रोकका लागि काम गरिरहेका अभियन्ताले पनि शाकाहार अपनाउनु जरुरी छ। वातावरण विनाशका अनेकौँ कारणमध्ये मांसाहार/पशु उद्योग पनि प्रमुख कारणमै पर्छ। आधुनिक युगमा मासु/अण्डा र दुग्धजन्य पदार्थका लागि पशुपालन गर्ने कार्य उद्योगकै रूपमा विकसित हुँदा त्यसले पर्यावरणमा अभूतपूर्व दबाब दिइरहेको छ।
वर्ल्ड इकोनोमिक फोरमको आँकडाअनुसार, विश्वमा उत्पादित खाद्यान्नमध्ये एक तिहाइ मासुका लागि हुर्काइएका पशु (लाइभस्टक) लाई खुवाउन मात्र खर्च भइरहेको छ। (मारिने कैयौँ पशुलाई पहिले दुग्ध र अण्डाका लागि प्रयोग गरिएको हुन्छ।) एकातिर कतिपय अफ्रिकी मुलुकमा खाद्यान्नको अभावका कारण मानिसहरूको अकालमै मृत्यु भइरहेको छ भने अर्कातिर लाइभ स्टकका लागि अन्न खपत भइरहेको छ। खाद्यान्न मात्र नभएर पानी पनि विशाल मात्रामा लाइभ स्टकका लागि खर्च भइरहँदा संसारका विभिन्न भागमा सुक्खाको समस्यामा वृद्धि भइरहेको छ।
विज्ञहरूका अनुसार, लाइभ स्टकले विश्वमा प्रत्येक वर्ष हुने हरित गृह उत्सर्जनको १४.५ प्रतिशत ओगटेको छ जुन कार, ट्रक, विमान र जहाजहरूबाट भएको उत्सर्जनकै हाराहारी हुन आउँछ। विश्वका लगभग डेढ अर्ब लाइभ स्टकले पर्यावरणमा टनका टक मिथेन फाल्ने गरेका छन् भने लाइभ स्टकका लागि भनेर वन फडानी गर्ने क्रममा आगजनी गर्दा करोडौँ टन कार्बन डाइअक्साइड उत्पन्न भइरहेको छ।
यसलाई रोक्न मांसाहार/पशुजन्य उत्पादनमा कटौती वा पूर्ण रोक जरुरी छ। शुरूमा वातावरण अभियन्ताहरूले नै यसका लागि पहल गर्नुपर्छ। त्यसो नगर्दा उनीहरूले अरूलाई शाकाहारको महत्त्व बुझाउने हैसियत राख्दैनन्।
शाकाहारी जीवनशैली अपनाउँदा शरीरमा आवश्यक मात्रामा प्रोटिन पाइँदैन भन्ने तर्क कतिपय मांसाहारीले गर्ने गर्छन्। तर सन् १९७१ मै अमेरिकी अनुसन्धानकर्ता फ्रान्सेस मूर लाप्पेले आफ्नो चर्चित पुस्तक ‘डायट फर ए स्मल प्लानेट’ मा चामल, मकै, गहुँ लगायतका खाद्यान्न, दाल र मटरका विभिन्न प्रकार, दुग्ध पदार्थ तथा फर्सीको बियाँ र ड्राई फ्रुट लगायतका खानेकुरा मात्रा मिलाएर खाने हो भने मासुबाट पाइनेजत्तिकै प्रोटिन शरीरले प्राप्त गर्ने उल्लेख गरेकी थिइन्। पछि सन् १९७५ मा अमेरिकन जर्नल अफ नर्सिङले विभिन्न लेखमा प्रोटिन सम्मिश्रण (कम्बाइनिङ) को महत्त्वलाई उजागर गरेको थियो। तर वनस्पतिबाट नै प्रशस्त प्रोटिन पाइने हुँदा कम्बाइनिङ गरिरहनु पनि नपर्ने भनी पछिल्ला अनुसन्धानले देखाएका छन्।
त्यसैले शारीरिक स्वास्थ्यलाई शाकाहारी भोजन शैलीले नकारात्मक असर पार्छ भन्ने धारणा नै भ्रमपूर्ण छ। पर्यावरण संरक्षण तथा शान्ति निर्माणका लागि शाकाहारी भोजनको महत्त्व सर्वोपरि देखिन्छ।
यसका साथै कतिपय धर्मभीरु स्वयं शाकाहारी भए पनि बलिप्रथालाई प्रोत्साहन गरिरहेका भेटिन्छन्। विशेष गरी दशैँ आउने बेला बलिप्रथाको विरोध हुने गर्छ। आफैँ रमाइरमाई मासु खानेहरू बलिप्रथाको विरोध गरिरहेका हुन्छन् भने यस्तो विरोधलाई हिन्दू धर्म मास्ने षड्यन्त्र भनी अर्को पक्षले आरोप लगाइरहेको हुन्छ।
तर शाकाहारीले धार्मिक परम्परा मान्ने नाममा बलिप्रथालाई समर्थन गरेको सुहाउँदैन। कतिपय परम्परा युगअनुरूप परिवर्तन गर्नुपर्ने हुन्छ, तब मात्र त्यसले धर्म संस्कृतिलाई गतिमान तुल्याउँछ। मन्दिरको प्रांगण रातै हुनेगरी पशुको रगत बगाउने प्रचलनलाई त्याग्दै लैजानका लागि शाकाहारीले परम्परावादीलाई सम्झाउने सामर्थ्य राख्नुपर्दछ।
त्यस क्रममा ‘परधर्मीको पछि लागेर हिन्दू धर्ममाथि प्रहार गर्न आएको’ भन्ने मिथ्या आक्षेपलाई पनि काट्न सक्नुपर्छ। इस्लाम धर्ममा ईदुल अजहामा दिइने बोकोको बलि र अमेरिकामा थ्यांक्स गिभिङका अवसरमा दिइने टर्की चराको बलिलाई पनि उत्तिकै विरोध गर्नु जरुरी छ। अचेल भिगन (पूर्ण वनस्पतिजन्य भोजन खाने व्यक्ति) अभियन्ताले त्यो गरी पनि रहेका छन्।
शान्त, स्वस्थ र समुन्नत विश्वको परिकल्पना गर्ने जोसुकैले पनि प्रथमतः मांसाहार त्याग्न आवश्यक हुन्छ। मासुको स्वाद परित्याग गर्न नसक्ने तर शान्ति र वातावरण संरक्षण कुरा गर्ने मानिसलाई गम्भीरतासाथ लिन सकिँदैन। कमसेकम यस युगका अधिकारकर्मीलाई ‘खाने कुरा’ नितान्त व्यक्तिगत मामला हो भन्दै तर्कने सुविधा छैन।
This article was first published on Ukaalo
Leave a Reply