टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच सोमवार (जुन २) भएको शान्तिवार्ताको पूर्वसन्ध्यामा युक्रेनले आइतवार रुसी हवाईअड्डाहरूमा गरेको व्यापक ड्रोन आक्रमणले युद्ध थप खतरनाक दिशामा अघि बढिरहेको संकेत दिएको छ ।
रुसको रक्षा मन्त्रालयले देशका पाँचवटा हवाईअड्डामा आक्रमण भएको पुष्टि गरेको छ । मुर्मान्स्क, इर्कुत्स्क, इभानाभो, रायाजान र आमुर क्षेत्रमा रहेको हवाईअड्डाहरू तारोमा परेका हुन् । तर कतिवटा विमानलाई क्षति पुगेको हो भनी उसले खुलाएको छैन ।
युक्रेनको सुरक्षा निकायलाई उद्धृत गर्दै एपी समाचार संस्थाले उक्त आक्रमणमा ४० वटा रुसी आणविक बमवर्षक विमानहरू ध्वस्त भएको खबर दिएको छ । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले उक्त कारवाहीमा ११७ वटा ड्रोन उपयोग गरिएको बताएका छन् ।
विगत डेढ वर्षदेखि योजना बनाएर कार्यान्वयनको प्रयास गरिएको र अपरेशन स्पाइडरवेब नाम दिइएको यस जटिल कारवाहीलाई सफल बनाउनका लागि युक्रेनीहरूले पहिला रुसका विभिन्न स्थानमा गोप्य रूपमा ड्रोन भित्र्याएका थिए । त्यसमा उनीहरूलाई रुसभित्रकै देशद्रोहीहरूले सहयोग गरेको देखिन्छ । यताउता सार्न मिल्ने काठका घरहरूमा (मोबाइल होम) ती ड्रोनहरू लुकाएर राखिएको थियो ।
रुसीहरूले कन्टेनरमा ती घरहरू बोकेर हवाईअड्डातिर लगेका थिए । उनीहरूलाई ती घरमा ड्रोन राखिएको कुरा थाहै थिएन । हवाईअड्डामा पुग्नेबित्तिकै ती घरका छानालाई टाढाबाट सञ्चालन गरी खोलिएको थियो र ती ड्रोनहरू उडेर रुसी बमवर्षक विमानमा बज्रिएका थिए । सामाजिक सञ्जालमा आएका भिडियो हेर्दा ड्रोनहरू कन्टेनरबाट निस्किएको देखिन्छ ।
यस कारवाहीलाई सफल बनाउन युक्रेनीहरूलाई पश्चिमको भरमग्दूर सहयोग रहेको प्रस्ट हुन्छ । पश्चिमी गुप्तचर निकायले आफ्ना भूउपग्रहहरूमार्फत मोबाइल होममा लुकाएर राखिएका ड्रोनलाई एक्टिभेट गरेका हुन सक्छन् । ती ड्रोनलाई लक्षित हवाईअड्डासम्म पुर्याउनका लागि पश्चिमी भूउपग्रह प्रणालीको हात छ किनकि युक्रेन आफैंसँग त्यो प्रविधि छैन ।
त्यसो त युक्रेनको यस कारवाहीका बारेमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई कुनै पूर्वजानकारी नदिइएको ट्रम्प प्रशासनका अधिकारीले न्युजनेशन नामक मिडियालाई बताएका छन् । त्यो साँचो हो भने ट्रम्प प्रशासनमा रहेका रुसविरोधी अधिकारीहरूले ट्रम्पलाई खबर नगरिकनै यस कारवाहीको स्वीकृति दिएका हुन सक्छन् । विदेशमन्त्री मार्को रुबियो र युक्रेन तथा रुसका लागि ट्रम्पका विशेषदूत किथ केलोग रुसविरोधी मानिन्छन् ।
तर ट्रम्पले गत मे २७ मा ट्रुथ सोसलमा गरेको पोस्टमा आफू नभएको भए रुसमा निकै नराम्रा घटनाहरू हुने थिए भनी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिएको चेतावनीलाई विचार गर्दा यस कारवाहीमा ट्रम्पको स्वीकृति रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ । छिटो यो युद्ध सकेर आफ्नो ध्यान चीनविरुद्ध लगाउन चाहेका ट्रम्पलाई पुटिनको धैर्यता पचिरहेको छैन ।
इस्तानबुलमा सोमवारको शान्तिवार्ताअघि रुसलाई दबाब दिनका लागि युक्रेनले यो कारवाही चलाएको स्पष्ट छ । रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्लादिमिर मेडीन्स्की इस्तानबुल पुगिसकेका छन् । उनी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विश्वासपात्र मानिन्छन् । पत्रकारहरूले उनलाई युक्रेनी आक्रमणको बारेमा सोध्दा उनले ‘भोलि हेरौंला’ भनेका थिए । त्यसको अर्थ रुसले युक्रेनका विरुद्ध कठोर जवाफी कारवाही गर्ने हुन सक्छ ।
यसैबीच रुसले युक्रेनको खार्कोभ क्षेत्रमा रहेको एक सैन्य केन्द्रमा आक्रमण गरेको छ । लामो दूरीको ड्रोन उडाउने केन्द्रमा आक्रमण गरी ३० वटा कामिकाजे ड्रोनहरु ध्वस्त बनाएको रुसको रक्षा मन्त्रालयले दाबी गरेको छ । त्यससँगै रुसले जापोरिजा र सुमी क्षेत्रमा हवाई आक्रमण गरेको छ ।
जे होस्, युक्रेनले यस किसिमको अभूतपूर्व कारवाही गरेर युद्धको तरिका नै बदलेको छ र यसलाई थप खतरनाक मोड दिएको छ । यसलाई फौजी भाषामा एसिमेट्रिकल वारफेयर भनिन्छ जसमा गैरसैन्य व्यक्ति वा उपकरण उपयोग गरी सैन्य कारवाही गरिन्छ ।
पोहोर साल इजरायलले पेजरलाई हतियार बनाएर लेबननस्थित हेज्बोल्लाह समूहका नेताहरूको हत्या गरेको कारवाही यस्तै एसिमेट्रिकल थियो । त्यसले जुनसुकै गैरसैन्य वस्तुलाई पनि हतियार बनाएर शंकाको घेरामा पारिदिने जोखिमको अभिवृद्धि गरेको छ । रुसले पनि यसै किसिमको कारवाही नगर्ला भन्न सकिँदैन । सैन्य वृत्तभन्दा बाहिर गएर गैरसैन्य वृत्तमा यसरी युद्ध प्रवेश गर्दा सर्वसाधारण सधैं त्रासको वातावरणमा बस्न बाध्य हुनेछन् ।
त्यसमाथि रुसको आणविक बमवर्षक विमानमाथि प्रहार गरेर युक्रेनले एकप्रकारले लक्ष्मणरेखा नाघेको छ किनकि रुसलाई पनि अब युक्रेनमाथि आणविक हतियार प्रहार गर्ने कारण प्राप्त भएको छ ।
रुसी भूमिमा आक्रमण गर्न सक्ने आफ्नो क्षमता कायम रहेको र आफूलाई थप हातहतियारले सुसज्जित गरेमा रुसलाई वार्तामा लचिलो बन्नका लागि बाध्य बनाउन सकिने युक्रेनले साबित गर्न खोजेको हो । तर तत्कालका लागि युक्रेनले रुसलाई असहज स्थितिमा पुर्याएको भए पनि रुसले युक्रेनका थप भूभाग आफ्नो नियन्त्रणमा नआउन्जेल रोकिने लक्षण देखाएको छैन ।
हुन पनि युक्रेनले रुसी पुल, ट्रेन र हवाईअड्डामा गरेका आक्रमणले युद्धको मोर्चामा रुसलाई पछि हट्न बाध्य बनाएको देखिँदैन । युक्रेनी सञ्चारमाध्यममा प्रकाशित युद्ध सामग्री हेर्दा नै पनि रुसले युक्रेनको थप भूभाग कब्जा गर्दै लगेको र युक्रेनी सैनिकहरू विशाल संख्यामा हताहत भइरहेको देखिएको छ । युक्रेनी सेनामा हताशा बढ्दै गएको खबरहरू पनि आइरहेका छन् ।
द न्यु भोइस अफ युक्रेनमा प्रकाशित खबरअनुसार, गत साता रुसी सेनाले युक्रेनको १८ वटा बस्ती र २०० वर्गकिलोमिटरभन्दा बढीको क्षेत्र नियन्त्रणमा लिएको छ । युक्रेनी सेनाले आफ्नो प्रतिरक्षा स्थितिलाई जोगाइराख्न सकेको छैन ।
गत आइतवार (जुन १) मात्र रुसले युक्रेनको सैन्य तालिम केन्द्रमा क्षेप्यास्त्र आक्रमण गर्दा १२ सैनिकको मृत्यु भएको छ भने ६० सैनिक घाइते भएका छन् । त्यसको ठीकअघि सुमी क्षेत्रमा रुसको आक्रमणमा परी ६ जना युक्रेनी सैनिकको ज्यान गएको थियो । यसरी युक्रेनले लगातार आफ्ना सैनिकहरू गुमाइरहेको छ । ती सैनिकहरू रुसी क्षेप्यास्त्रको लगातार तारो बनिरहेका छन् ।
यसैबीच रुसका विदेशमन्त्री सर्गे लाभरोभले आफ्ना अमेरिकी समकक्षी मार्को रुबियोसँग जुन १ मा टेलिफोन वार्ता गरेका छन् । रुसको परराष्ट्र मन्त्रालयले जारी गरेको रीडआउटमा रुबियोले लाभरोभसँग रुसको ब्रियान्स्क र कुर्स्क क्षेत्रमा भएका विस्फोटका घटनाका कारण सर्वसाधारण हताहत भएको विषयमा समवेदना प्रकट गरेका छन् ।
लाभरोभले यी घटनाहरूलाई सम्बन्धित अधिकारीहरूले सांगोपांग अनुसन्धान गरिरहेको र यसको नतिजा चाँडै प्रकाशित गरिने बताए । अनुसन्धानबाट दोषीहरूको पहिचान खुल्ने र तिनले यथोचित सजाय पाउने पनि उनले बताए । उनको यस भनाइबाट नै रुसले पछिल्ला घटनाहरूलाई निकै गम्भीरताका साथ लिएको प्रस्ट हुन्छ । यसै साता युक्रेनमा रुसको निकै ठूलो आक्रमणको अपेक्षा गर्न सकिन्छ ।
This article was first published on Clickmandu
Leave a Reply