आफ्टर नेशन्स: राष्ट्र–राज्यको सान्दर्भिकता सकिएको बेलामा के हुन् विकल्प ?

May 23, 2026
Featured image for “आफ्टर नेशन्स: राष्ट्र–राज्यको सान्दर्भिकता सकिएको बेलामा के हुन् विकल्प ?”

आधुनिक विश्व व्यवस्थामा राष्ट्र–राज्यलाई अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत इकाइ मानिन्छ । राष्ट्र–राज्य भनेको निश्चित भूभाग, सार्वभौमसत्ता, साझा राष्ट्रिय पहिचान र प्रभावकारी शासन प्रणाली भएको राजनीतिक संरचना हो । यसमा बसोबास गर्ने नागरिकहरू भाषा, संस्कृति, इतिहास वा राष्ट्रिय भावनाबाट एकताबद्ध हुन्छन् ।

तर, राष्ट्र–राज्यको सान्दर्भिकता सकिँदै गएको तर्क गरेर हालै एक पुस्तक प्रकाशन भएको छ । भारतीय मूलका अमेरिकी लेखक राना दासगुप्ताको पछिल्लो कृति ‘आफ्टर नेशन्सः द मेकिङ एन्ड अनमेकिङ अफ ए वर्ल्ड अर्डर’ ले राष्ट्र–राज्यको भविष्य र यसको वर्तमान संकटमाथि विवेचना गर्दै पुस्तक प्रकाशन गरेका हुन् ।

लेखकले यस पुस्तकमा मानव इतिहासको लामो कालखण्डलाई केलाउँदै राष्ट्र–राज्यको उदय, यसको उत्कर्ष र अहिले भइरहेको यसको पतनको विस्तृत खाका प्रस्तुत गरेका छन् ।

हामीले आज जुन राजनीतिक स्वरूपलाई मानव सभ्यताको अनिवार्य र स्थायी अंग मानिरहेका छौं, त्यो वास्तवमा लगभग २५० वर्षअघि मात्र सुरु भएको एउटा विशेष ऐतिहासिक प्रयोग हो भनी उनी तर्क गर्छन् । तर, राष्ट्र–राज्य अहिले अहिले विश्वव्यापी चुनौतीहरूका सामु असफल साबित भइरहेको छ ।

दासगुप्ताले यस पुस्तकलाई चारवटा मुख्य खण्डमा विभाजन गरेका छन्: ईश्वर, पैसा, कानुन र प्रकृति । तिनको माध्यमबाट उनले क्रमशः फ्रान्स, बेलायत, अमेरिका र चीनको ऐतिहासिक उदाहरण दिँदै राष्ट्र–राज्यको विकासक्रमलाई बुझाउने प्रयास गरेका छन् ।

राष्ट्र–राज्य व्यापारिक इन्जिनको रूपमा जन्मिएको र त्यसको प्राथमिक काम पुँजीको सुरक्षा र विस्तार गर्नु थियो भनी पुस्तकमा तर्क गरिएको छ । लेखकका अनुसार, सन् १९४५ देखि १९७५ सम्मको अवधिलाई धेरैले राष्ट्र–राज्यको स्वर्ण युग मान्छन् तर त्यो वास्तवमा ऐतिहासिक अपवाद मात्र थियो ।

त्यस समयमा विश्वका धेरै भागहरूमा लोकतन्त्र, सामाजिक सुरक्षा र आर्थिक समानता जस्ता जुन उपलब्धिहरू देखिए, ती असाधारण परिस्थितिहरूको उपज थिए । तर, सन् १९७० को दशकदेखि सुरु भएको नवउदारवादी क्रान्ति र विश्वव्यापीकरणले राज्यको त्यस भूमिकालाई क्रमशः कमजोर बनाउँदै लगेको छ ।

आजको युगमा पुँजी र प्रविधि राष्ट्रिय सीमाभन्दा निकै शक्तिशाली र गतिशील भइसकेका छन् । यसले गर्दा राष्ट्र–राज्यहरू आफ्ना नागरिकलाई सुरक्षा, न्याय र कल्याण (वेलफेयर) प्रदान गर्न असमर्थ भइरहेका छन् । इटालेली विद्वान् एन्टोनियो ग्राम्चीको शब्द सापटी लिँदै ‘हामी अहिले एउटा यस्तो संक्रमणकालमा छौं जहाँ पुरानो व्यवस्था मर्दैछ तर नयाँ व्यवस्थाले अझै पूर्ण आकार ग्रहण गरिसकेको छैन’ भनी दासगुप्ता तर्क गर्छन् ।

पुस्तकको पहिलो खण्ड ‘ईश्वर’ मा दासगुप्ताले राष्ट्र–राज्यको धर्मशास्त्रीय आधारको चर्चा गरेका छन् । ज्ञानप्रकाश काल (इनलाइटनमेन्ट) का विचारकहरूले संसारलाई धर्मनिरपेक्ष बनाएको दाबी गरे पनि उनीहरूले वास्तवमा ईश्वरका गुणहरूलाई राज्यमा सारेका मात्र थिए भनी उनी तर्क गर्छन् ।

थोमस हब्स र जोन लक जस्ता दार्शनिकहरूले राज्यलाई एक ‘मरणशील ईश्वर’ को रूपमा परिकल्पना गरेका थिए । त्यस ईश्वरले नागरिकको पूर्ण निष्ठाको बदलामा उनीहरूलाई पृथ्वीमै सुख र प्रगतिको प्रत्याभूति दिने वाचा गरेको थियो ।

फ्रान्सका राजा लुई नवौंले जिससले मृत्युदण्डका समयमा लगाएको भनिएको काँडे मुकुट किनेर आफ्नो राज्यलाई कसरी पवित्र बनाए भन्ने उदाहरण दिँदै दासगुप्ताले राज्यको शक्ति र पवित्रताको सम्बन्धलाई प्रस्ट पारेका छन् । तर, वर्तमान समयमा यो ‘राज्य–धर्म’ संकटमा छ ।

डोनल्ड ट्रम्प, भिक्टर ओर्बान र नरेन्द्र मोदी जस्ता दक्षिणपन्थी नेताहरूको उदयले विगतमा राज्यले गरेको पुरानो धर्मनिरपेक्षताको वाचा असफल भएको र मानिसहरू फेरि पुरानो धार्मिक वा जातीय पहिचानमा फर्किन थालेको संकेत गर्छ । लेखक यसलाई राष्ट्र–राज्यको वैधानिकतामा आएको ठूलो संकटको रूपमा व्याख्या गर्छन् ।

दोस्रो खण्ड ‘पैसा’ मा बेलायतको औद्योगिक र आर्थिक इतिहासको माध्यमबाट राज्यको आर्थिक चरित्रको चिरफार गरिएको छ। लेखकका अनुसार, १८औं शताब्दीको बेलायत वास्तवमा ‘सम्पत्ति निरंकुशता’ (प्रोपर्टी डेस्पोटिजम) थियो जहाँ कानुन र राज्यको शक्ति सम्भ्रान्त वर्गको सम्पत्ति रक्षा गर्न प्रयोग गरिन्थ्यो ।

तर, औद्योगिक क्रान्तिले श्रमको महत्त्व बढायो र २०औं शताब्दीमा आइपुग्दा राज्यले श्रमिक वर्गको कल्याणलाई आफ्नो प्राथमिकता बनाउन बाध्य भयो । यसैबाट लोकतन्त्र र कल्याणकारी राज्यको अवधारणा विकास भयो ।

सन् १९७० पछि पुँजीको गतिशीलता बढेसँगै राज्य फेरि १८औं शताब्दीको जस्तै सम्पत्तिको संरक्षक बन्न पुगेको दासगुप्ता तर्क गर्छन् । आज पुँजी विश्वव्यापी छ तर श्रम स्थानीय सीमामा कैद छ । यसले गर्दा मध्यम र निम्न वर्गको आर्थिक अवस्था कमजोर हुँदै गएको छ र समाजमा चरम असमानता बढेको छ ।

दासगुप्ता यसलाई ‘टेक्नो–फ्युडलिजम’ वा प्राविधिक सामन्तवादको सुरुवात मान्छन् जहाँ औंलामा गन्न सकिने प्रविधि कम्पनीहरूले राज्यभन्दा बढी शक्ति अभ्यास गरिरहेका छन् ।

तेस्रो खण्ड ‘कानुन’ मा अमेरिकी साम्राज्यको भूमिका र यसले निर्माण गरेको विश्व व्यवस्थाको चर्चा छ । अमेरिकाले बेलायती साम्राज्य जस्तो प्रत्यक्ष भूमि कब्जा गर्नुको सट्टा कानुनी जालको माध्यमबाट विश्वलाई नियन्त्रण गरेको लेखक तर्क गर्छन् ।

अमेरिकाले करिब दुई सयवटा स्वतन्त्र देखिने राष्ट्र–राज्यहरूको एउटा यस्तो संरचना तयार गरेको छ जुन संयुक्त राष्ट्रसंघ र विश्व बैंक जस्ता संस्थाहरूको कानुनी परिधिमा छन् । यस प्रणालीले वास्तवमा मानवअधिकारभन्दा पुँजी र व्यापारिक सम्झौताहरूको सुरक्षालाई बढी प्राथमिकता दिएको छ ।

‘डिस्कभरी डक्ट्रिन’ जस्ता कानुनी अवधारणाहरू कसरी आदिवासीहरूको भूमि हडप्न उपयोग गरिए भन्ने कुराले राष्ट्र–राज्यको हिंसात्मक जगलाई उजागर गर्छ । आज यो कानुनी व्यवस्था पनि खण्डित भइरहेको छ र राज्यहरू बिस्तारै ‘ग्याङस्टर’ शैलीको राजनीतिमा फर्कन थालेका छन् ।

चौथो खण्ड ‘प्रकृति’ मा चीनको उदय र यसले निम्त्याएको पारिस्थितिक (इकोलोजिकल) संकटको विश्लेषण गरिएको छ । लेखकका अनुसार, चीनको इतिहास प्रकृतिलाई नियन्त्रण र दोहन गर्ने ‘हाइड्रोलिक इन्जिनियरिङ’ मा आधारित छ । चिनियाँ मोडलले राज्यलाई प्रकृतिको मालिकको रूपमा खडा गर्छ ।

आज चीनले आफ्नो यही मोडललाई बेल्ट एन्ड रोड इनिसिएटिभको नाममा विश्वभरि विस्तार गरिरहेको छ । यसले पृथ्वीको प्राकृतिक स्रोतमाथि अभूतपूर्व दबाब सिर्जना गरेको छ ।

हामीले अहिले जुन पारिस्थितिक संकट बेहोरिरहेका छौं, त्यो राष्ट्र–राज्यहरूको असीमित विकासको चाहनाको परिणाम हो भनी दासगुप्ता चेतावनी दिन्छन् । पृथ्वीले अब २०० वटा प्रतिस्पर्धात्मक र स्रोत दोहन गर्ने राष्ट्रिय इन्जिनहरूलाई धान्न सक्दैन । त्यसैले राष्ट्र–राज्यको अन्त्य अब राजनीतिक इच्छाको कुरा मात्र रहेन, यो एक पर्यावरणीय आवश्यकता पनि बनिसकेको छ ।

लेखकले प्रस्ताव गरेका विकल्पहरू पुस्तकको सबैभन्दा महत्त्वपूर्ण र रचनात्मक पक्ष हुन् । दासगुप्ता समस्याको मात्र चर्चा गर्दैनन् । बरु राष्ट्र–राज्य पछिको संसार कस्तो हुनुपर्छ भन्ने एउटा काल्पनिक तर सम्भावित खाका पनि प्रस्तुत गर्छन् ।

उनी कुनै एक ‘विश्व सरकार’ (वर्ल्ड गभर्नमेन्ट) को पक्षमा छैनन् किनकि त्यस्तो संरचना झनै निरंकुश र भयावह हुन सक्छ । बरु, उनी राष्ट्र–राज्यसँगै समानान्तर रूपमा चल्ने विभिन्न ‘पूरक प्रणाली’ हरूको निर्माण गर्नुपर्ने प्रस्ताव गर्छन् ।

उनको पहिलो प्रस्ताव ‘ग्रहीय धर्मशास्त्र’ (प्लानेटरी थियोलोजी) हो । यसको अर्थ हुन्छ, कुनै विशेष राष्ट्रलाई विशेष मान्नुको सट्टा सिंगो पृथ्वीलाई नै पवित्र र साझा घरको रूपमा स्वीकार गर्नुपर्छ । यस्तो सोचले नदी, वनस्पति र अन्य जीवजन्तुलाई पनि कानुनी व्यक्तित्व र अधिकार प्रदान गर्छ । यसले गर्दा मानव जातिलाई प्रकृतिको संरक्षकको रूपमा काम गर्न बाध्य बनाउँछ ।

दोस्रो प्रस्तावका रूपमा दासगुप्ताले ‘विश्वव्यापी डिजिटल नागरिकता’ को अवधारणा अघि सारेका छन् । आजको संसारमा नागरिकता व्यक्तिको भाग्य र अधिकारको सबैभन्दा ठूलो निर्धारक बनेको छ । धनी देशमा जन्मेकै भरमा कसैले सबै सुखसुविधा पाउने र गरिब देशमा जन्मेका कारण कसैले बाँच्ने अधिकार पनि नपाउने वर्तमान अवस्थालाई उनी स्वाभाविक रूपमा अन्यायपूर्ण मान्छन् ।

ब्लकचेन प्रविधिमा आधारित डिजिटल पहिचानले मानिसलाई भूगोल र राष्ट्रिय सीमाभन्दा माथि उठाएर अधिकार प्रदान गरोस् भन्ने उनको चाहना छ । यसले विशेषगरी शरणार्थी र राज्यविहीन मानिसहरूलाई ठूलो सुरक्षा दिनेछ ।

तेस्रो प्रस्तावका रूपमा उनी ‘पूरक मुद्रा’ (कम्प्लिमेन्टरी करेन्सीज) र ब्याजविहीन ऋण प्रणालीको वकालत गर्छन् । वर्तमान आर्थिक प्रणालीले गरिबलाई झनै ऋणमा डुबाउने काम गरेकाले स्थानीय स्तरमा मानिसहरूले आफ्नै मुद्रा र विश्वासका आधारमा कारोबार गर्न सक्ने प्रणाली विकास गर्नुपर्ने उनी उल्लेख गर्छन् ।

लेखकको अर्को चाखलाग्दो प्रस्ताव ‘सर्टिशन’ र एआईमा आधारित सामूहिक विमर्श हो । वर्तमान निर्वाचन प्रणाली पैसा र प्रचारको प्रभावमा परेकाले यसले वास्तविक जनभावनाको प्रतिनिधित्व गर्न सक्दैन भनी उनी तर्क गर्छन् । यसको सट्टा गोलाप्रथाद्वारा छानिएका नागरिकहरूको समूह र कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा गरिने सामूहिक निर्णय प्रक्रियाले राजनीतिलाई बढी प्रभावकारी र न्यायपूर्ण बनाउन सक्ने उनको भनाइ छ ।

यसैगरी उनले ‘विश्वव्यापी साझा क्षेत्र’ (ग्लोबल कमन्स) को रक्षाका लागि एउटा छुट्टै कानुनी निकायको परिकल्पना गरेका छन् । त्यसले राष्ट्रिय स्वार्थभन्दा माथि उठेर वर्षावन, समुद्र र जलवायु जस्ता साझा स्रोतहरूको व्यवस्थापन गरोस् भन्ने दासगुप्ताको भिजन रहेको छ ।

अन्त्यमा, जलवायु परिवर्तनका कारण हुने ठूलो मात्राको बसाइँसराइलाई व्यवस्थापन गर्न उनी ‘प्रवासी करिडोर’ को अवधारणा ल्याउँछन् जहाँ मानिसहरू कानुनी अवरोधविना एक ठाउँबाट अर्को ठाउँमा जान र नयाँ जीवन सुरु गर्न सकून् ।

दासगुप्ताको यो पुस्तक अत्यन्तै निराशावादी र आशावादी दुवै लाग्न सक्छ । उनले वर्तमान विश्व व्यवस्थाको कठोर सत्यलाई उदांगो पारेका छन् र त्यसले पाठकलाई चिन्तित तुल्याउँछ ।

तर, उनले मानव जातिलाई ‘राजनीतिक रचनात्मकता’ उपयोग गर्न र नयाँ संसारको डिजाइन गर्न जुन आह्वान गरेका छन्, त्यसले एउटा नयाँ आशा पनि जगाउँछ ।

दासगुप्ताको लेखन शैली अत्यन्तै प्रभावशाली र तर्कहरू अकाट्य छन् । इतिहास, दर्शन, अर्थशास्त्र र प्रविधिलाई एउटै सूत्रमा उनेर उनले राष्ट्र–राज्यको विरलै मात्र देखिने तस्बिर खिचेका छन् ।

उनका कतिपय प्रस्तावहरू, विशेषगरी प्रविधिको प्रयोग र डिजिटल नागरिकताका कुराहरू, अहिलेको सन्दर्भमा अलि बढी काल्पनिक र कार्यान्वयन गर्न कठिन जस्तो पनि देखिन्छन् । तर, नयाँ कुरा सधैं चमत्कार जस्तै देखिन्छ र भविष्य ती मानिसहरूको हातमा हुन्छ जसले परिवर्तनको संकेतलाई समयमै बुझेर नयाँ संरचनाको कल्पना गर्न सक्छन् भनी पुस्तकमा लेखकले उल्लेख गरेका छन् ।

यो पुस्तक आफ्नो भविष्यको बारेमा चिन्तित हरेक सचेत नागरिकका लागि पठनीय छ । यसले हामीलाई पुरानो व्यवस्थाको अन्त्यमा विलाप गर्नुको सट्टा नयाँ र न्यायपूर्ण संसारको निर्माणका लागि आफ्नो रचनात्मकता र साहस उपयोग गर्नका लागि प्रोत्साहन गर्छ

प्रविधिप्रति दासगुप्ताको मोह कतिपय ठाउँमा विरोधाभासी लाग्न सक्छ । एकातर्फ उनले सिलिकन भ्यालीका कम्पनीहरूले लोकतन्त्रलाई ध्वस्त बनाउँदै गरेको आरोप लगाएका छन् भने अर्कातर्फ उनले राष्ट्र–राज्यको निरंकुशताबाट मुक्तिका लागि तिनै डिजिटल प्रविधिहरूलाई हतियारको रूपमा अगाडि सारेका छन् ।

प्रविधिको पूर्वाधार जसको नियन्त्रणमा हुन्छ, उसैले शक्ति अभ्यास गर्ने भएकाले डिजिटल नागरिकता कतिसम्म स्वतन्त्र रहला भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । साथै, राष्ट्र–राज्यहरूले सजिलै आफ्नो सम्प्रभुता र स्रोतमाथिको नियन्त्रण त्याग्ने छैनन् भन्ने कुरामा लेखकले पर्याप्त स्पष्टीकरण दिएका छैनन् ।

तैपनि यस पुस्तकले वर्तमान विश्व राजनीतिमा व्याप्त अनिश्चिततालाई बुझ्नका लागि एउटा नयाँ र शक्तिशाली दृष्टिकोण प्रदान गरेको छ ।

‘आफ्टर नेशन्स’ वर्तमान समयको अत्यन्तै महत्त्वपूर्ण दस्तावेज हो । कुनै पनि राजनीतिक व्यवस्था सधैंभरि रहँदैन र कुनै व्यवस्थाले आफ्ना नागरिकको रक्षा गर्न छाडेपछि नयाँ व्यवस्थाको उदय अनिवार्य हुन्छ भन्ने कुरा यस पुस्तकले हामीलाई सिकाउँछ ।

दासगुप्ताले पाठकलाई राष्ट्रिय संकीर्णताबाट बाहिर निस्केर ग्रहीय नागरिकको रूपमा सोच्न र व्यवहार गर्न उत्प्रेरित गरेका छन्। यो पुस्तक आफ्नो भविष्यको बारेमा चिन्तित हरेक सचेत नागरिकका लागि पठनीय छ । यसले हामीलाई पुरानो व्यवस्थाको अन्त्यमा विलाप गर्नुको सट्टा नयाँ र न्यायपूर्ण संसारको निर्माणका लागि आफ्नो रचनात्मकता र साहस उपयोग गर्नका लागि प्रोत्साहन गर्छ ।

This review was first published on Clickmandu.


Share:

Leave a Reply