ट्रम्प-पुटिन शिखरवार्ता: शान्तिपक्षधरको जीत, जेलेन्स्कीमाथि दबाब

November 9, 2025

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बहुप्रतीक्षित शिखरवार्तालाई युक्रेनमा शान्तितर्फको पाइलाका रूपमा लिन सकिन्छ । यस वार्तालगत्तै युद्धविराम हुने अपेक्षा थिएन किनकि युक्रेन युद्धका मूल कारणको सम्बोधन नभइकन युद्धविराम वा स्थायी शान्ति आउने कुनै सम्भावना छैन ।

पश्चिमा सञ्चारमाध्यमहरूले यस शिखरवार्तामा ट्रम्पले केही पनि उपलब्धि हासिल गर्न नसकेको र पुटिनलाई विशाल लाभ भएको विश्लेषणहरू पस्किरहेका छन् ।

वार्ता सात घन्टा चल्ने भनिएको थियो तर करिब तीन घन्टा मात्र चल्यो । पुटिन अलास्काको एन्कोरेजमा ओर्लनेबित्तिकै वार्तास्थल जोइन्ट बेस एल्मेनडोर्फ–रिचार्डसनतर्फ गइहाले ।

अमेरिका र रुसका प्रतिनिधिमण्डल तत्कालै वार्तामा जुटिहाले । लगभग तीन घन्टापछि ट्रम्प र पुटिनले पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति पढेर सुनाए । त्यसमा उनीहरूले कुनै पनि पत्रकारलाई प्रश्न सोध्ने अवसर दिएनन् । त्यसलगत्तै पुटिनले दोस्रो विश्वयुद्धमा मारिएका सोभियत वायुसेवाका पाइलटको सम्झनामा माल्यार्पण गरेर रुसतर्फ उडिहाले ।

ट्रम्प र पुटिनबीच एक्लाएक्लै हुने भनिएको वार्ता भएन । प्रतिनिधिमण्डलका सबै सदस्य वार्तामा बसे । बैठकपछि दुई राष्ट्रपतिले दिवाभोज गर्ने कुरा थियो तर त्यसलाई पनि स्थगन गरियो ।

पत्रकार सम्मेलनमा पुटिन र ट्रम्पले दिएको बयान पनि स्पष्ट थिएन । उनीहरूले एकअर्काको प्रशंसा गरे तर ठोस कुरा बताएनन्। सन् २०२२ मा ट्रम्प राष्ट्रपति भएको भए यो युद्ध सुरु नै हुँदैनथियो भनी पुटिनले ट्रम्पको दाबीलाई ‘भ्यालिडेट’ गरिदिए। दुवै राष्ट्रपतिले यो बैठक अत्यन्तै सफल भएको यसलाई १० मा पूर्णांक दिन सकिने भने तर ठोस कुन कुरामा सहमति बनेको भनी खुलाएनन् ।

यस्तो हतारो अनि वार्तापछि ट्रम्पको हाउभाउ हेर्दा यसबाट केही उपलब्धि हासिल हुन नसकेको पश्चिमा सञ्चारमाध्यमले निष्कर्ष निकालेका हुन् ।

युद्ध अन्त्य गराउनका लागि हतारो देखाएका ट्रम्पले वार्ताको विधि प्रक्रिया मिचेर स्वेच्छाचारी रूपमा बैठक राखेकाले पनि अपेक्षित सफलता हासिल नगरेको कतिपयको दाबी छ ।

दुई देशका अधिकारीहरूले गाँठो फुकाउनका लागि बुँदा बुँदामा गहन वार्ता गरेर सहमति जुटाएपछि बल्ल राष्ट्रपतिको तहमा भेटघाट हुनुपर्थ्यो । तर, आफू राष्ट्रपति भएको २४ घन्टाभित्र युक्रेन युद्ध अन्त्य गर्ने भनी आधारहीन दाबी गरेका ट्रम्पले सबै कुरा छिटोछिटो गर्न लगाए ।

यति हुँदाहुँदै पनि सन् २०२२ मा युद्ध सुरु भएयता अमेरिका र रुसबीच पटक्कै वार्ता नभएको र युद्ध टुंगिने कुनै पनि लक्षण नदेखिएको अवस्थामा शीर्ष तहमा वार्ता हुनु आफैंमा सुखद संकेत हो ।

पुटिनका लागि भने यो शिखरवार्ता ठूलो सफलताका रूपमा लिन सकिन्छ । अलास्कामा ट्रम्पले पुटिनलाई रातो कार्पेट बिछ्याएर न्यानो स्वागत गरे । पुटिनको सम्मानमा उनले अमेरिकी लडाकू विमानको फ्लाईओभर समेत गराए (यद्यपि कतिपयले अमेरिकी बी–२ बमवर्षक विमान उडाउनुलाई ट्रम्पको शक्तिप्रदर्शनका रूपमा पनि अर्थ्याएका छन्) ।

ट्रम्पले पुटिनलाई आफ्नो आधिकारिक कार द बीस्टमा राखेर वार्तास्थलसम्म लगे । त्यस कारमा लगभग १० मिनेटसम्म उनीहरू एक्लाएक्लै रहेको स्थितिमा महत्त्वपूर्ण कुराकानी भएको अनुमान गरिएको छ ।

औपचारिक वार्तापछि उनीहरू दुईका बीच अनौपचारिक रूपमा सौहार्द्रपूर्ण कुराकानी भएको भिडियो समेत सार्वजनिक भयो । पत्रकार सम्मेलनमा आयोजक राष्ट्रको प्रमुखले पहिले बोल्ने परम्परालाई तोड्दै ट्रम्पले पुटिनलाई बोल्ने मौका दिए ।

यसरी हेर्दा यो शिखरवार्ता पुटिनका लागि ठूलो विजय साबित भयो किनकि युक्रेन युद्ध आरम्भ भएपछि पश्चिमले एक्ल्याइरहेको बेलामा पश्चिमको सबभन्दा शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपतिबाट उनले उचित सम्मान हासिल गरे ।

ट्रम्प र पुटिनबीचको वार्तामा के सहमति भयो भन्ने विषयको झलक ट्रम्पले युरोपेली नेताहरूसँग गरेको फोनवार्ताबाट अलिकति भए पनि पाइएको छ । द न्युयोर्क टाइम्सको ‘आफ्टर मिटिङ पुटिन, ट्रम्प रिभर्ट्स टु ल्यान्ड स्वाप्स फर पीस इन युक्रेन’ शीर्षकको समाचारमा उल्लेख भएअनुसार, युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले डोनबास क्षेत्र पूरै रुसलाई सुम्पेको खण्डमा शान्ति सम्झौता सम्भव हुने भनी ट्रम्पले युरोपेली नेताहरूलाई बताएका छन् ।

उता द गार्डियन पत्रिकाले ‘ट्रम्प रिपोर्टेड्ली टु ब्याक सिडिङ अफ युक्रेनियन टेरिटोरी टु रसिया’ शीर्षकमा प्रकाशन गरेको समाचारमा उल्लेख भएअनुसार, अलास्कामा पुटिनले ट्रम्पलाई डोनबास क्षेत्रबाट युक्रेन पूरै पछि हटेमा युद्ध रोकिने अनि त्यसको बदलामा अन्य क्षेत्रमा अहिले रुसले नियन्त्रण गरेको भूभाग मात्र दाबी गर्ने आश्वासन दिएका छन् । अर्थात्, डोनबास क्षेत्रको दोनेत्स्क र लुगान्स्क रुसलाई सुम्पेमा रुसले जापोरिजा र खर्सनको पूरै क्षेत्रमा दाबी गर्ने छैन, अहिले नियन्त्रणमा लिएको भूमि मात्र राख्नेछ ।

तत्कालको अवस्थामा लगभग पूरा लुगान्स्क क्षेत्र रुसको नियन्त्रणमा छ भने युक्रेनले दोनेत्स्कका महत्त्वपूर्ण भूभागहरूमाथि नियन्त्रण कायमै राखेको छ । डोनबास क्षेत्र प्रशस्त खनिज पदार्थहरू भएको क्षेत्र हो र रुसले कुनै पनि हालतमा त्यसमाथिको नियन्त्रण छोड्न खोजेको छैन । युक्रेनले त झन् आफ्नो भौगोलिक अखण्डतालाई परित्याग गर्ने कुरै भएन । त्यसैले कुरा यहाँ गएर अड्केको छ ।

तर, ट्रम्पले पुटिनको प्रस्ताव मानिसकेको र जेलेन्स्की एवं युरोपेली मुलुकहरूलाई त्यो कुरा मान्नका लागि दबाब दिन खोजिएको संकेत पाइएको छ ।

सोमवार जेलेन्स्कीलाई ह्वाइट हाउसमा बोलाएर ट्रम्पले पुटिनको प्रस्ताव मान्नका लागि जोड दिने सम्भावना छ । पुटिनकै बोलीमा लोली मिलाउँदै ट्रम्पले अब युद्धविराम नभई सिधै शान्ति सम्झौता गर्नुपर्ने बताएका छन् ।

विगतमा रुस र युक्रेनबीच दुईपटक युद्धविराम भएर मिन्स्क सम्झौता हुँदा युक्रेन र उसका समर्थक युरोपेलीहरूले त्यसलाई शक्तिसञ्चय गर्ने र पुनः युद्ध चर्काउनका लागि दुरुपयोग गरेको तीतो यथार्थका कारण रुसले युद्धविरामप्रति संशय देखाएको हो र ट्रम्पले पनि युद्धविरामको साटो शान्ति सम्झौताको कुरा झिकेका हुन् ।

जेलेन्स्की र युरोपेलीहरूलाई युक्रेनी भूमि परित्यागका लागि मनाउन ट्रम्पलाई निकै गाह्रो छ । त्यसो गर्दा भविष्यमा शक्तिशाली मुलुकले कमजोर मुलुकमाथि धावा बोलेर जमिन हडपिदिनका लागि नजिर बस्ने भनी युरोपेलीहरू तर्क गर्छन् । तर, युद्ध गरेर रुसलाई युक्रेनको भूभागबाट पछि हटाउन नसकिने यथार्थलाई युरोपेलीहरूले मनन गर्नुपर्ने हुन्छ । जेलेन्स्कीले गुमेको भूमि फिर्ता पाउनुपर्ने अडान राखिरहेमा ट्रम्पले रिसाएर युक्रेनलाई दिइरहेको सबै सहयोग बन्द गर्ने सम्भावना पनि रहन्छ । त्यस्तो अवस्था आएमा युक्रेनले अहिले नियन्त्रणमा राखेको भूभाग समेत गुमाउनेछ ।

युक्रेन ट्रम्पका लागि घाँडो बन्दै गएकाले पनि ट्रम्पले शान्ति सम्झौतामा हतार गरेका हुन् । अमेरिकाले रुसविरुद्ध आणविक युद्ध गरेमा मात्र युक्रेनबाट रुस पछि हट्ने सम्भावना छ । अमेरिकाका परम्परागत हतियार सहयोगले रुसलाई युक्रेनी भूमिबाट पछि हटाउन सकेको छैन र भविष्यमा पनि सक्ने छैन ।

युक्रेनका युरोपेली साझेदारहरूसँग पनि युक्रेनलाई युद्ध जिताउनका लागि सहयोग गर्ने शक्ति छैन । उनीहरू स्वयं नै यस युद्धमा सहभागी भए पनि यो युद्ध जित्न गाह्रै देखिन्छ । उनीहरू अमेरिका यस युद्धमा प्रत्यक्ष रूपमा सहभागी भइदेओस् भन्ने इच्छा राख्छन् तर शान्तिको वाचा गरेर राष्ट्रपति बनेका ट्रम्पले अमेरिकालाई युक्रेन युद्धमा झोसेर आफ्नो बाँकी कार्यकालमा समर्थकहरूको विरोध झेलेर बस्ने सोच बनाएका छैनन् । त्यसो गर्दा उनले आकांक्षा गरेको नोबेल शान्ति पुरस्कार पनि फुत्किनेछ ।

युद्ध अन्त्य गराउनका लागि (र इप्सटाइन फाइल्स सार्वजनिक गर्नका लागि) ट्रम्पको मेक अमेरिका ग्रेट अगेन भोटर बेसले निरन्तर दबाब दिइरहेको बेलामा रुसले अमेरिकासँग वार्ता प्रस्तावलाई स्वीकार गरिदिएर ट्रम्पमाथि ठूलो गुण लगाइदिएको देखिन्छ । अलास्कामा रुसका राष्ट्रपति पुटिनले युक्रेन युद्ध सुरु हुनुमा बाइडन प्रशासन दोषी रहेको बताइदिए । ट्रम्पले युद्ध रोक्नका लागि हरसम्भव प्रयास गरेको पनि पुटिनले भनिदिए । युरोपेलीहरूलाई संकेत गर्दै शान्ति प्रयासलाई बिथोल्ने तत्त्वहरू सक्रिय रहेको भनी उनले ट्रम्पको बोझ हलुका गरिदिए ।

यसले गर्दा ट्रम्पलाई फाइदा भयो । ट्रम्पले आफ्ना मतदाताहरूलाई आफूले शान्तिको प्रयास गरिरहेको भए पनि विभिन्न तत्त्वहरूले शान्तिलाई रोकिरहेको भनी विश्वस्त गराउन सके । पुटिनसँगको शिखरवार्तापछि उनले फक्स न्युजसँगको अन्तर्वार्तामा शान्तिका लागि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पहल गर्नुपर्ने भनी बोझ सारिदिए । अब पनि शान्ति सम्झौता हुन सकेन भने त्यसको दोष जेलेन्स्की र र युरोपेलीहरूले बोक्नुपर्ने ट्रम्पको आशय हो ।

रुसलाई दबाब दिनका लागि भारतमाथि सेकेन्डरी स्यांक्सन्सका रूपमा अतिरिक्त २५ प्रतिशत भन्सार शुल्क लगाएका ट्रम्पले त्यो अब आवश्यक नरहेको भनी सञ्चारकर्मीलाई बताएका छन् । उनले त्यही दबाबका कारण रुस वार्ताका लागि तयार भएको भनेर आफ्ना मतदातालाई भन्ने अवसर पाएका छन् । यसले गर्दा उनका मतदाता पनि सन्तुष्ट हुनेछन् र ट्रम्पलाई आलोचना गरिरहेका विदेशी शक्तिहरू शान्तिविरोधी देखिएकाले स्वतः कमजोर हुनेछन् । दुवैतिरबाट ट्रम्पलाई नै फाइदा पुगेको छ ।

ट्रम्पको दबाबमा जेलेन्स्कीले पुटिनको प्रस्ताव मान्ने हो भने युद्ध अन्त्य हुन सक्छ । डोनबास क्षेत्र र जापोरिजा तथा खर्सनमा रुसअधीनस्थ भूभाग रुसलाई सुम्पँदा पुटिनले गैरसैन्यीकरण र गैरनाजीकरणको मागलाई परित्याग गर्ने संकेत देखिन्छ ।

त्यस अवस्थामा युक्रेनले सन् २०२२ को मे महिनामा सहमति जनाएको तर पछि पश्चिमको भड्काउमा आएर परित्याग गरेको शान्ति सम्झौतामा उल्लेख गरिएभन्दा बढी संख्यामा सैनिकहरू राख्न पाउँछ अर्थात् पूर्ण असैन्यीकरण हुँदैन ।

रुसले गैरनाजीकरणलाई स्थगित गर्नेछ र युक्रेनी समाजमा नाजी विचारधारालाई निमिट्यान्न पार्न नसकिने यथार्थलाई स्वीकार गर्नेछ ।

नेटोको सदस्य नबने पनि नेटो सदस्य राष्ट्रहरूसँग द्विपक्षीय सम्बन्ध कायम राख्न र युरोपेली संघको सदस्य बन्न पनि रुसले युक्रेनलाई रोक नलगाउने अपेक्षा छ । त्यसका साथै, थप भूभाग कब्जा गर्ने रणनीतिलाई पनि रुसले स्थगित गर्ने अपेक्षा छ यद्यपि रुसका उग्रराष्ट्रवादीहरू ओडेसा र निकोलाएभ पनि नियन्त्रणमा लिएर युक्रेनलाई कृष्ण सागरबाट पहुँचविहीन तुल्याउँदै भूपरिवेष्ठित राज्य बनाउनुपर्ने माग गर्छन् ।

जेलेन्स्कीलाई दबाब दिए पनि उनी भूमि परित्याग गर्न नमान्ने सम्भावना छ । त्यससँगै युक्रेनले सन् २०२२ मा बुचा शहरमा आफैंले नरसंहार गरेर रुसमाथि त्यसको दोषारोपण गरे जस्तो कुनै ‘फल्स फ्ल्याग’ कारवाही चलाएर युद्धलाई जारी राख्नका लागि हतियार सहयोग गर्न अमेरिकालाई बाध्य बनाउने सम्भावना पनि छ । तर, अलास्कामा पुटिनसँगको न्यानोपनलाई हेर्दा ट्रम्प युक्रेन र युरोपेलीहरूको भड्काउमा नपर्ने देखिन्छ ।

This article was first published on Clickmandu.


Share:

Leave a Reply