
ब्राजिलमा आइतबार (अक्टोबर २५) भएको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरण (रनअफ) मा वामपन्थी दिग्गज नेता लुइज इनासियो लुला दा सिल्भाले आफ्ना कट्टर दक्षिणपन्थी प्रतिद्वन्द्वी तथा पूर्वराष्ट्रपति जाइर बोल्जोनारोका छोरा सिनेटर फ्लाभियो बोल्सोनारोलाई अत्यन्तै कडा प्रतिस्पर्धाका बीच पराजित गरेका छन् । यससँगै उनले आफ्नो चौथो ऐतिहासिक कार्यकाल सुरक्षित गरेका छन् ।
ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले घोषणा गरेको अन्तिम परिणामअनुसार, लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दा बोल्जोनारोले ४८.२१ प्रतिशत मतमा चित्त बुझाउनुपरेको छ । पहिलो चरणको निर्वाचनमा २२ लाखभन्दा बढी मतले पछि परेका लुलाले तीन हप्ताको छोटो अवधिमा जसरी परिणाम उल्ट्याउन सफलता हासिल गरे, त्यो ब्राजिलमा प्रत्यक्ष राष्ट्रपतीय निर्वाचन पुनर्बहाली भएको सन् १९८९ यताकै अभूतपूर्व पुनरागमन हो । यसअघि पहिलो चरणमा पराजित भएको उम्मेदवारले राष्ट्रपति चुनाव जितेको इतिहास थिएन ।
पराजित उम्मेदवार फ्लाभियो बोल्जोनारोले मतदान समय दुई घण्टा थप गरिएको सर्वोच्च अदालतको निर्णयलाई कारण देखाउँदै निर्वाचन रद्द गर्न माग गरेर कानुनी चुनौती दिने चेतावनी दिएका छन् । यसले ब्राजिलको आन्तरिक राजनीति अझै पनि गहिरो ध्रुवीकरण र अस्थिरताको जोखिममा रहेको प्रस्ट पार्छ ।
यस निर्वाचनको परिणामलाई राजनीतिक कोणबाट मात्र हेर्न मिल्दैन । यसको भित्री तहमा गहिरो आर्थिक आयाम लुकेको छ । चुनावी प्रचारप्रसारको केन्द्रमा नागरिकहरूको दैनिक जीवनयापनको संकट, मुद्रास्फीति, महँगी, रोजगारीको गुणस्तर र समग्र अर्थतन्त्रको दिशा प्रमुख विषय बनेका थिए ।
लुलाले सन् २००३ देखि २०१० सम्मका आफ्ना अघिल्ला कार्यकालहरूमा विश्वव्यापी कमोडिटी बूमको फाइदा उठाउँदै करोडौं ब्राजिली जनतालाई गरिबीको रेखाबाट बाहिर निकालेर मध्यम वर्गमा उकासेका थिए । तर, अहिलेको ब्राजिलको आर्थिक परिदृश्य त्यतिबेलाको जस्तो सहज छैन ।
वर्तमान कार्यकालमा आधिकारिक आर्थिक सूचकांकहरूले बेरोजगारी दर घटेको र मुद्रास्फीति केही हदसम्म नियन्त्रणमा आएको देखाए तापनि आम नागरिकको भान्सा र दैनिक खर्चमा त्यसको प्रत्यक्ष राहत महसुस हुन सकेको थिएन । बजारमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिका कारण निम्न र मध्यम वर्गीय परिवारहरूमा चरम आर्थिक तनाव व्याप्त थियो ।
आर्थिक कठिनाइ, अपराध र सार्वजनिक सुरक्षाप्रतिको जनआक्रोशलाई उपयोग गरेर देशको दक्षिणपन्थी खेमाले सत्ताविरोधी भावनालाई व्यापक रूपमा भड्काउन खोजेको थियो ।
ब्राजिलका अधिकांश मतदाताहरू बेरोजगारीको अनिश्चितता, कमजोर क्रयशक्ति र आर्थिक शिथिलताका कारण लुला प्रशासनसँग असन्तुष्ट र चिन्तित थिए । चुनावी सर्वेक्षणहरूले पनि ठूलो संख्यामा मतदाताहरूले आर्थिक समस्या, हिंसा र भ्रष्टाचारलाई देशको प्रमुख चुनौतीका रूपमा औंल्याएको देखाएका थिए ।
फ्लाभियो बोल्जोनारोले यही आर्थिक निराशा र असुरक्षाको भावनालाई आफ्नो पक्षमा पार्न कडा कानुनी शासन, आर्थिक उदारीकरण र विगतको नोस्टाल्जियालाई अघि सारेका थिए । यस्तो प्रतिकूल आर्थिक मनोविज्ञान र गहिरो जनगुनासाका बाबजुद लुलाले अन्ततः विजय हासिल गर्नु पछाडिको सबैभन्दा निर्णायक र शक्तिशाली शक्ति महिला मतदाताहरूको अभूतपूर्व समर्थन थियो ।
ब्राजिलको कुल मतदाताको करिब ५३ प्रतिशत हिस्सा ओगट्ने महिलाहरूले यस निर्वाचनमा वामपन्थी दलमाथि ऐतिहासिक भरोसा देखाएका छन् । यसले आर्थिक असन्तुष्टिका बाबजुद चुनावी परिणामलाई लुलाको पक्षमा ढल्काउन मुख्य प्रेरणाको काम गरेको छ ।
महिला मतदाताहरूले लुलालाई यसरी एकमुष्ट साथ दिनुमा आर्थिक दृष्टिकोणका साथै उनीहरूको सामाजिक सुरक्षा, आत्मसम्मान र लोकतान्त्रिक अधिकारको रक्षासँग जोडिएको भय पनि प्रमुख कारण थियो । ब्राजिलमा पछिल्ला वर्षहरूमा महिलाविरुद्ध हुने हिंसा र विशेषगरी फेमिसाइड (स्त्री हत्या) का घटनाहरू ऐतिहासिक रूपमा बढेका थिए ।
सन् २०२५ मा मात्रै ब्राजिलमा १५ सय ७१ जना महिलाको हत्या भएको तथ्यांक सार्वजनिक भएको थियो । त्यसले महिला समुदायमा चरम असुरक्षा जन्माएको थियो । दक्षिणपन्थी उम्मेदवार बोल्जोनारोले अपराध नियन्त्रणका नाममा जेल विस्तार गर्ने, सजायको उमेर घटाउने र हतियार खरिदलाई खुकुलो बनाउने आक्रामक नीति लिएका थिए । त्यसलाई धेरैजसो महिलाले थप सामाजिक हिंसा निम्त्याउने नीतिका रूपमा बुझे ।
अर्कोतर्फ, लुलाले पीडित महिलाहरूका लागि आश्रयस्थल, विशेष कानुनी तथा सामाजिक सेवा र कल्याणकारी राज्यका व्यवस्थाहरूको ग्यारेन्टी गरे । बोल्जोनारो परिवारको अति–रूढिवादी र पितृसत्तात्मक बयानबाजीले सिर्जना गरेको लैंगिक खाडलका कारण महिलाहरूले आर्थिक तनाव सहेरै भए पनि सामाजिक सुरक्षा र समानताका लागि लुलालाई मतदान गरे । त्यसले सर्वेक्षणहरूमा देखापरेको ४९ विरुद्ध ४० प्रतिशतको विशाल लैंगिक अग्रतालाई निर्वाचन परिणाममा रूपान्तरण गरिदियो ।
यस निर्वाचनको नतिजा ब्राजिलको सिमानामा मात्र सीमित नभई समग्र ल्याटिन अमेरिकी भूराजनीतिको वर्तमान प्रवृत्तिको कोणबाट अत्यन्तै महत्त्वपूर्ण छ । पछिल्ला केही वर्षमा ल्याटिन अमेरिकाभर वामपन्थी सत्ताहरूप्रति चरम असन्तुष्टि पैदा भई मतदाताहरू दक्षिणपन्थतर्फ ढल्किएको स्पष्ट लहर देखिएको छ ।
सन् २०२५ पछि इक्वेडर, बोलिभिया, होन्डुरस, पेरु र कोस्टारिकादेखि लिएर अर्जेन्टिना, चिली र कोलम्बिया जस्ता ठूला र प्रभावशाली मुलुकहरूमा समेत दक्षिणपन्थी वा मध्यमार्गी–दक्षिणपन्थी नेताहरूले सत्ता कब्जा गरेका छन् । आर्थिक मन्दी, महामारीपछिको महँगी र कमजोर सार्वजनिक सेवाका कारण ल्याटिन अमेरिकामा सत्तारूढ दलहरूलाई दण्डित गर्ने व्यापक चुनावी लहर चलेको थियो ।
लुलाको जीतले दक्षिणपन्थी प्रवाहलाई ब्राजिलको सिमानामा रोकेर यस क्षेत्रमा राजनीतिक र वैचारिक सन्तुलन कायम राख्ने काम गरेको छ
ब्राजिलमा पनि पहिलो चरणमा बोल्जोनारोले अग्रता लिँदा यो क्षेत्र पूर्ण रूपमा दक्षिणपन्थी चक्रमा फस्ने निश्चितप्रायः देखिएको थियो । यस्तो क्षेत्रीय दक्षिणपन्थी उभारका कारण परम्परागत वामपन्थी किल्लाहरू एकपछि अर्को ढलिरहेका थिए । त्यसको विपरीत, लुलाले ब्राजिलमा वामपन्थी सत्ता जोगाउन सफल हुनुले ल्याटिन अमेरिकामा प्रगतिशील राजनीति अझै जीवित छ भन्ने सन्देश दिएको छ ।
दक्षिण अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र र आधाभन्दा बढी जनसंख्या ओगटेको ब्राजिल दक्षिणपन्थी धारमा समाहित भएको भए समग्र क्षेत्र अमेरिकाको नवउदारवादी प्रभाव र रूढिवादी विदेशनीतिको छातामुनि धकेलिने थियो । अर्जेन्टिनामा हाभियर मिलेई जस्ता उग्रदक्षिणपन्थी नेताहरूको उदयपछि क्षेत्रीय सहकार्यका संयन्त्रहरू कमजोर बनिरहेको अवस्थामा ब्राजिल दक्षिणपन्थी बनेको भए ल्याटिन अमेरिकी क्षेत्रीय एकता र सार्वभौमिकताको आन्दोलनले अपूरणीय क्षति बेहोर्नुपर्ने थियो ।
लुलाको जीतले दक्षिणपन्थी प्रवाहलाई ब्राजिलको सिमानामा रोकेर यस क्षेत्रमा राजनीतिक र वैचारिक सन्तुलन कायम राख्ने काम गरेको छ । यसले कोलम्बिया र चिली जस्ता छिमेकी देशहरूमा दबाबमा रहेका प्रगतिशील शक्तिहरूलाई मनोवैज्ञानिक ढाडस दिएको छ भने ल्याटिन अमेरिका पूर्ण रूपमा वाशिङटनको प्रभावक्षेत्र बन्नबाट जोगिएको छ ।
लुला दा सिल्भाको विजय विश्व भूराजनीति र विशेषगरी ब्रिक्स गठबन्धनका लागि ठूलो रणनीतिक विजय साबित भएको छ । ब्राजिल ब्रिक्सको संस्थापक सदस्य हो । साथै, यस गठबन्धनलाई बहुध्रुवीय विश्व व्यवस्थाको औजार बनाउन लुलाको व्यक्तिगत भूमिका ऐतिहासिक रहँदै आएको छ ।
फ्लाभियो बोल्जोनारोले निर्वाचन जितेको भए आफ्ना पिताको बाटो पछ्याउँदै ब्राजिललाई अमेरिकी विदेशनीतिको छायामा राख्ने, ब्रिक्सभित्रको चिनियाँ र रुसी प्रभावलाई कमजोर पार्ने र सम्भवतः यस गठबन्धनको प्रभावकारितालाई नै निस्तेज बनाउने नीति लिने पक्का थियो । बोल्जोनारोले प्रचार अभियानका क्रममा वाशिङटनसँगको निकटतालाई प्राथमिकता दिने र अमेरिकाको संरक्षणमा सुरक्षा रणनीति निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यसको विपरीत, लुलाले सुरुदेखि नै राष्ट्रिय सार्वभौमिकता, बहुपक्षीयता र ग्लोबल साउथको सशक्तीकरणमा जोड दिँदै आएका छन् । उनको विजयले ब्रिक्सलाई अमेरिकी डलरको एकाधिकार तोड्न र वैकल्पिक वित्तीय संरचनाहरू मजबुत बनाउन निरन्तरता दिने बलियो आधार प्रदान गरेको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पुनरागमन र उनको आक्रामक व्यापारिक नीति तथा ट्यारिफको दबाबका बीच लुलाको विजयले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा ठूलो अर्थ राख्छ । ट्रम्प प्रशासनले ल्याटिन अमेरिकालाई आफ्नो ब्याकयार्डका रूपमा पुनः परिभाषित गरेको र यस क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न कडा रणनीति अख्तियार गरिरहेको बेला लुलाले ब्राजिल कसैको करेसाबारी नहुने प्रस्ट घोषणा गरेका छन् ।
ब्राजिल तेलको धनी राष्ट्र हुनुका साथै दुर्लभ खनिजहरूको विश्वकै दोस्रो ठूलो भण्डार भएको मुलुक हो । ब्राजिलको सबैभन्दा ठूलो निर्यात बजार चीन हो र लुला प्रशासनले बेइजिङसँगको आर्थिक र रणनीतिक साझेदारीलाई अझ उचाइमा लग्ने नीति लिएको छ ।
लुलाको पुनरागमनले ब्रिक्सको विस्तार, स्थानीय मुद्रामा व्यापार प्रवर्धन र पश्चिमी प्रभुत्वलाई चुनौती दिने विश्वव्यापी एजेन्डालाई ब्राजिलको तर्फबाट पूर्ण राजनीतिक स्वामित्व प्राप्त हुने सुनिश्चित गरेको छ ।
यसका साथै लुलाको विजय विश्वव्यापी पर्यावरण र जलवायु परिवर्तनको संघर्षका लागि पनि जीवनदान समान बनेको छ । बोल्जोनारो विजयी भएको भए ब्राजिलको शक्तिशाली कृषि व्यवसाय (एग्रिबिजनेस) र खानी माफियाहरूले अमेजन वर्षावनमा पुनः विध्वंस मच्चाउने जोखिम थियो ।
जाइर बोल्जोनारोको अघिल्लो कार्यकालमा अमेजनमा भएको व्यापक वन विनाश र डढेलोको इतिहासलाई स्मरण गर्दै पर्यावरणविद्हरूले पहिलो चरणमा फ्लाभियोको जीतलाई पृथ्वीकै लागि विनाशकारी ठहर गरेका थिए । लुलाले अमेजनको संरक्षण, शून्य वन विनाशको नीति र जलवायु न्यायलाई आफ्नो राजनीतिको केन्द्रमा राखेका छन् । त्यसले ब्राजिललाई विश्व मञ्चमा जिम्मेवार वातावरणीय शक्तिका रूपमा पुनःस्थापित गर्नेछ ।
तर, यस ऐतिहासिक विजयका बाबजुद लुलाको आगामी चौथो कार्यकाल अत्यन्तै जटिल र चुनौतीपूर्ण हुने निश्चित छ । ८० वर्षको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न लागेका लुलाले सन् २०२७ जनवरीदेखि ब्राजिलको लोकतान्त्रिक इतिहासकै सबैभन्दा दक्षिणपन्थी संसद्को सामना गर्नुपर्नेछ ।
बोल्जोनारोको लिबरल पार्टीले संसदमा ठूलो संख्यामा सिट जितेको छ । त्यसले गर्दा लुलालाई आफ्ना कल्याणकारी नीति, कर सुधार र बजेट पारित गर्न निरन्तर राजनीतिक सम्झौताहरू गर्न बाध्य पार्नेछ । आर्थिक स्रोतहरूको सीमितता, अमेरिकी ट्यारिफको सम्भावित दबाब र ४८ प्रतिशतभन्दा बढी मतदाताको कट्टर विरोधका बीच देशलाई एकताबद्ध राख्नु लुलाका लागि फलामको चिउरा चपाउनु सरह हुनेछ ।
जे होस्, आइतबारको निर्वाचनले ब्राजिललाई लोकतान्त्रिक संस्थाको क्षयीकरण र अधिनायकवादी पुनरागमनको मुखबाट जोगाएको छ । बेरोजगारी र आर्थिक कठिनाइको वास्तविक दबाबका बीच पनि ब्राजिली जनता, विशेषगरी महिलाहरू, ले दक्षिणपन्थी उग्रवादभन्दा सामाजिक न्याय र लोकतान्त्रिक स्थायित्वलाई रोजेका छन् ।
यस विजयले ल्याटिन अमेरिकामा दक्षिणपन्थतर्फको यात्रालाई ब्रेक लगाएको छ भने बहुध्रुवीय विश्व निर्माणको अभियानमा ब्रिक्स गठबन्धनलाई अविचल नेतृत्व प्रदान गरेको छ ।
विभाजित देशको आर्थिक समस्याहरूलाई लुलाले कसरी सम्बोधन गर्छन् र संसद्को कडा अवरोधका बीच आम जनताको जीवनस्तर उकास्ने आफ्ना वाचाहरूलाई कसरी साकार पार्छन् भन्ने कुरा पर्यवेक्षकहरूले नियाल्नेछन् ।
This article was first published on Clickmandu.
