सुनको महत्त्व बढेसँगै डलर युगको अन्त्य हुन लागेको संकेत, चीनको भूमिका महत्त्वपूर्ण

February 25, 2026
Featured image for “सुनको महत्त्व बढेसँगै डलर युगको अन्त्य हुन लागेको संकेत, चीनको भूमिका महत्त्वपूर्ण”

विगत ५० वर्षदेखि विश्वव्यापी आर्थिक प्रणाली अमेरिकी डलरको वरिपरि घुमिरहेको छ । सन् १९७१ मा अमेरिकाका तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनको आदेशमा ब्रेटन वुड्स प्रणालीको पतन गराउने गरी सुन र डलरलाई छुट्याइएपछि विश्वभरिका केन्द्रीय बैंकहरूले सुनबाट टाढिएर अमेरिकाको पूर्ण विश्वास र प्रतिष्ठामा आधारित डलर प्रणाली अपनाए । सुनलाई बहुमूल्य वस्तु मात्र मानेर बेवास्ता गरियो ।

तर, विश्व अर्थतन्त्रमा अहिले ठूलो परिवर्तन भइरहेको छ । यो परिवर्तन सुनको आक्रामक सञ्चिति, अन्तर्राष्ट्रिय पारदर्शितामा आएको कमी र पश्चिमको आर्थिक नियन्त्रणलाई छल्नका लागि बनाइएको नयाँ डिजिटल पूर्वाधारबाट परिभाषित छ ।

विश्व ऐतिहासिक मोडमा उभिएको छ । सुनको मूल्य निर्णायक विन्दुमा पुग्दै गर्दा अहिले समानान्तर मौद्रिक व्यवस्थाको जन्म भइरहेको देखिन्छ । त्यसमा सुन मुख्य आधार हो र डिजिटल मुद्राहरू यसलाई चलाउने माध्यम हुन्।

यस रूपान्तरणको आरम्भ पिपुल्स बैंक अफ चाइनाबाट भइरहेको छ । आधिकारिक रूपमा चीनले लगभग २३ सय ८ टन सुनको सञ्चिति रहेको रिपोर्ट गरेको छ । सामान्य पर्यवेक्षकका लागि यस्तो सञ्चितिले चीनलाई महत्त्वपूर्ण आर्थिक खेलाडी बनाउँछ तर अझै पनि अमेरिका (जससँग आधिकारिक रूपमा ८१ सय टनभन्दा बढी सुन छ) भन्दा चीन धेरै पछाडि छ ।

तर, यी आधिकारिक तथ्यांकहरू भ्रम मात्र भएको विश्वका प्रमुख आर्थिक संस्थाहरू विश्वास गर्छन् । सोसिटे जेनेरल कमोडिटीज रिसर्चको ‘चाइनाज श्याडो गोल्ड फ्लोज’ मा उल्लेख भएअनुसार, चीनको वास्तविक सञ्चिति ५४ सय टनभन्दा बढी हुन सक्छ । व्यापार प्रवाह, खानी तथ्यांक र आन्तरिक खपतको स्वतन्त्र विश्लेषण गरी यो अनुमान गरिएको हो ।

यो भिन्नता हिसाबको गडबडी नभई रणनीतिक छनोटकै एक अंग हो । वर्ल्ड गोल्ड काउन्सिलक अनुसार, सन् २०२५ मा चीनको केन्द्रीय बैंकले आधिकारिक रूपमा २७ टन सुन किनेको रिपोर्ट गरेको थियो । तर, सोसिटे जेनेरलको विश्लेषणले वास्तविक कारोबार २५० टनको हाराहारीमा भएको देखाएको छ ।

यसले समानान्तर वासलातको अस्तित्वलाई संकेत गर्छ । अर्थात्, राष्ट्रिय सम्पत्तिको एउटा ठूलो हिस्सा लुकाएर राखिएको छ । सम्भवतः विश्वव्यापी मूल्य बढ्न नदिन वा कूटनीतिक दबाबबाट बच्न चीनले विभिन्न सरकारी बैंक र निकायहरूमार्फत यो सुन छरेर राखेको छ ।

आफ्नो सुनको सञ्चितिलाई कम देखाएर चीनले ‘रणनीतिक अस्पष्टता’ कायम गरेको छ । यसले आफ्ना प्रतिद्वन्द्वीहरूलाई सतर्क नगराइकनै महाशक्ति बन्ने ठोस आधार निर्माण गरिरहेको छ ।

पारदर्शिताको यस्तो अभाव चीनमा मात्र सीमित छैन । यो विश्वभरका केन्द्रीय बैंकहरूको लागि नयाँ मानक बन्दै गएको छ ।

ऐतिहासिक रूपमा केन्द्रीय बैंकहरूले आफ्ना सुनको कारोबारबारे अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई जानकारी दिने गर्थे । चार वर्ष अघिसम्म केन्द्रीय बैंकले किन्ने कुल सुनको लगभग ९० प्रतिशत सार्वजनिक रूपमा रिपोर्ट गरिन्थ्यो । यसले विश्वव्यापी बजारलाई पारदर्शी र अनुमानयोग्य बनाउँथ्यो ।

आज त्यो तथ्यांक घटेर जम्मा ३३ प्रतिशतमा झरेको छ । ४८ महिनाभन्दा कम समयमा, विश्वव्यापी मौद्रिक प्रणालीको पारदर्शिताको संरचना पूर्ण रूपमा ध्वस्त भएको छ । केन्द्रीय बैंकले किन्ने दुईतिहाइ सुनको हैसियत अहिले अस्पष्ट छ । निजी च्यानलहरू, अदृश्य सम्झौताहरू वा रिपोर्ट नगरिएका राष्ट्रिय कोषहरू मार्फत सुन किन्ने गरिन्छ ।

यस्तो गोपनीयता किन अपनाइएको हो त ? केन्द्रीय बैंकहरूले अब सुनलाई लगानीको रूपमा मात्र नभई रणनीतिक हतियारको रूपमा हेरिरहेको यसले संकेत गर्छ भनी गोल्डम्यान स्याक्सको विश्वव्यापी लगानी अनुसन्धान ‘द स्ट्रक्चरल केस फर गोल्ड’ ले उल्लेख गरेको छ । आर्थिक प्रतिबन्ध र भूराजनीतिक जोखिमको युगमा राष्ट्रहरूले आफ्नो सम्पत्तिलाई यस्तो भौतिक वस्तुमा सारिरहेका छन् जसलाई अमेरिका वा युरोपेली संघले कीबोर्डको बटन थिचेको भरमा रोक्का गर्न सक्दैनन् ।

वर्ल्ड गोल्ड काउन्सिलले उल्लेख गरेअनुसार, सन् २०२२ र २०२३ मा सुनको माग कीर्तिमान स्तरमा पुगेको थियो । यसमा रिपोर्ट नगरिएका खरिदकर्ताहरूको मुख्य भूमिका थियो ।

विश्वले सेयर बजारको दैनिक उतारचढावलाई हेरिरहँदा महत्त्वपूर्ण गणितीय विन्दु नजिकिँदै गरेको विश्लेषकहरू बताउँछन् ।

जर्मनीको डोयच बैंकले गरेको गणना (द म्याक्रो पर्स्पेक्टिभ अन गोल्ड भर्सेस रिजर्भ्स) अनुसार, सुनको मूल्य प्रतिऔंस ५७ सय ९० डलर पुग्यो भने त्यो एउटा ऐतिहासिक घटना हुनेछ । त्यस अवस्थामा विश्वका केन्द्रीय बैंकहरूको कुल सुन सञ्चितिको मूल्य उनीहरूको कुल अमेरिकी डलर सञ्चितिभन्दा बढी हुनेछ । सन् १९७१ मा ब्रेटन वुड्स युगको अन्त्य भएदेखि यस्तो भएको छैन ।

हाल सुनको मूल्य ५१ सय ६० डलरको आसपास रहँदा संसार यस विन्दुबाट १२ प्रतिशत मात्र टाढा छ । यो मूल्यको लक्ष्य मात्र नभई व्यवस्था परिवर्तन हो । यस विन्दुमा पुग्नुको अर्थ हुन्छ: आधा शताब्दीमा पहिलोपटक, डलर जस्तो कागजी मुद्रा (फियाट करेन्सी) लाई उछिनेर सुन जस्तो ठोस सम्पत्तिले राष्ट्रिय सञ्चितिमा शीर्ष स्थान ओगट्नेछ ।

सुन फेरि केन्द्रीय बैंकहरूको प्राथमिक सञ्चिति सम्पत्ति बनेमा विश्वव्यापी आर्थिक प्रणालीको आधारभूत तर्क नै परिवर्तन हुनेछ । अमेरिकी डलरको अत्यधिक विशेषाधिकारको बलमा अमेरिकाले जति पनि ऋण लिन सक्छ किनभने विश्वले डलर नै राख्नुपर्ने बाध्यता छ । सुनको सञ्चिति बढेसँगै त्यसमाथि ठूलो प्रश्नचिह्न खडा हुनेछ । संसार यस्तो अवस्थाबाट १२ प्रतिशत मात्रा टाढा छ जहाँ डलर अब विश्वव्यापी स्थिरताको निर्विवाद आधार रहनेछैन ।

यस नयाँ व्यवस्थाको जगमा सुन छ तर जग मात्र पर्याप्त हुँदैन । यसलाई विश्वव्यापी कारोबार बनाउनका लागि एउटा माध्यम पनि चाहिन्छ । दशकौंदेखि स्विफ्ट प्रणाली हो त्यो माध्यमका रूपमा रहेको छ र त्यो मुख्य रूपमा डलरमा आधारित छ ।

एमब्रिजको महत्त्व यहाँ सान्दर्भिक हुन्छ । यो चीन, संयुक्त अरब अमिरात (यूएई), साउदी अरब, थाइल्यान्ड र हङकङ संलग्न भएको सीमापार डिजिटल मुद्रा (सेन्ट्रल बैंक डिजिटल करेन्सी–सीबीडीसी) प्लेटफर्म हो । यो राष्ट्रहरूलाई अमेरिकी बैंकिङ प्रणाली र डलरलाई पूर्ण रूपमा छलेर सिधै आफ्नै मुद्रामा व्यापार गर्न अनुमति दिन डिजाइन गरिएको हो ।

सीबीडीसीको वृद्धि द्रुत गतिमा भइरहेको छ । बैंक अफ इन्टरनेशनल सेटलमेन्ट्सको प्रतिवेदन ‘प्रोजेक्ट एमब्रिज: कनेक्टिङ इकोनोमिज थ्रु सीबीडीसी’ मा उल्लेख भएअनुसार, सन् २०२२ देखि यसको कारोबारको मात्रा २५ सय गुणाले बढेको छ । यसले ५५ अर्ब डलरभन्दा बढीको कारोबार गरिसकेको छ जसमध्ये ९५ प्रतिशत डिजिटल युआन (ई–सीएनवाई) मा फर्छ्यौट गरिएको छ ।

एमब्रिज त्यो माध्यम हो जसमार्फत नयाँ प्रणाली सञ्चालन हुन्छ । सुनलाई सम्पत्तिको आधार र डिजिटल मुद्रालाई तीव्र गतिको भुक्तानी प्रणालीको रूपमा मिलाएर चीन र उसका साझेदारहरूले डलरमा आधारित विश्व अर्थतन्त्रको विकल्प तयार पारिरहेका छन् । यो अब सैद्धान्तिक खतरा मात्र रहेन । यो कीर्तिमानी गतिमा फैलिरहेको सक्रिय तथा क्रियाशील पूर्वाधार हो ।

एक सय वर्षभन्दा बढी समयदेखि लन्डन विश्वको सुनको ढुकुटीका रूपमा रहेको छ । लन्डन बुलियन मार्केट एसोसिएसनले सुनको व्यापारको मापदण्ड तय गरेको छ र राष्ट्रिय सुनको मुख्य संरक्षकको रूपमा काम गरेको छ । कुनै पनि देशले आफ्नो सुन सुरक्षित राख्नका लागि लन्डन पठाउने गरेको थियो । भेनेजुएला जस्तो पश्चिमविरोधी देशले पनि आफ्नो सुन लन्डनमा राखेको थियो ।

अब त्यस एकाधिकारलाई चुनौती दिइँदैछ । चिनियाँ केन्द्रीय बैंकले मित्रराष्ट्रहरूलाई उनीहरूको राष्ट्रिय सुन शाङ्हाईमा राख्न सक्रिय रूपमा प्रोत्साहित गरिरहेको छ । विश्वस्तरीय सुरक्षा सेवा प्रदान गरी त्यसलाई शाङ्हाई गोल्ड एक्सचेन्जसँग जोडेर चीनले आफूलाई विश्वव्यापी सुन व्यापारको नयाँ केन्द्रको रूपमा स्थापित गर्दैछ ।

शाङ्हाई ग्लोबल साउथका लागि प्राथमिक संरक्षक बन्न सफल भएमा यसले सम्पत्ति अर्थात् गोप्य रूपमा र ठूलो मात्रामा राखिएको भौतिक सुनका साथै प्रणाली अर्थात् तुरुन्तै भुक्तानी हुने माध्यम एमब्रिज र डिजिटल युआन तथा संरक्षण अर्थात् भण्डारण र भौतिक नियन्त्रण उपलब्ध गराउँछ ।

यसले आर्थिक प्रणालीको ठूलो हिस्सा पश्चिमबाट पूर्वतर्फ सर्दै गरेको संकेत गर्छ ।

औसत लगानीकर्ताका लागि यी घटनाक्रमहरूले जोखिम र विविधीकरणको परिभाषालाई पूर्ण रूपमा पुनर्विचार गर्न लगाउँछन्।

दशकौंसम्म ६०/४० लगानी मोडल (६० प्रतिशत सेयर, ४० प्रतिशत ऋणपत्र वा बोन्ड) लाई सुरक्षाको मापदण्ड मानिन्थ्यो । ऋणपत्रलाई सुरक्षित मानिन्थ्यो किनभने ती अमेरिकी सरकारको भरोसामा आधारित थिए । तर, केन्द्रीय बैंकहरूले नै डलर त्यागेर सुन रोजिरहेको युगमा सुरक्षित लगानीको परिभाषा बदलिँदैछ ।

सुनको सञ्चितिको मूल्य डलर सञ्चितिभन्दा बढी भएमा सुनलाई अनुमानित लगानी (स्पेकुलेटिभ हेज) को रूपमा नहेरी फेरि मूल्यको प्राथमिक मापदण्ड (प्राइमरी बेन्चमार्क अफ भ्याल्यु) मानिनेछ । यसको अर्थ सुनको मूल्य बढिरहेको नभई कागजी मुद्राहरूको मूल्य घटिरहेको बुझिनेछ ।

संस्थागत लगानीकर्ताहरू, जस्तै पेन्सन फन्ड र बिमा कम्पनीहरू, ले ऐतिहासिक रूपमा आफ्नो सम्पत्तिको १ प्रतिशतभन्दा कम मात्र सुन राख्ने गरेका छन् । विश्वको १०० ट्रिलियन डलर संस्थागत सम्पत्तिको सानो अंश मात्र पनि केन्द्रीय बैंकहरूको सिको गर्दै सुनतर्फ मोडियो भने सुनको मूल्यमा आउने वृद्धि इतिहासमा कहिल्यै नदेखिएको स्तरको हुने विश्लेषकहरू बताउँछन् ।

यसरी पारदर्शिता घटाएर, खरिदको विवरण लुकाएर र समानान्तर डिजिटल प्रणालीहरू निर्माण गरेर चीन र उसका सहयोगीहरूले पुरानो व्यवस्थाको विस्थापन सुनिश्चित गरिरहेका छन् ।

यो आर्थिक विविधीकरणको मात्र प्रयास नभई डलरपछिको संसारमा फस्टाउनको लागि बनाइएको समानान्तर मौद्रिक व्यवस्था हो ।

विश्वव्यापी रूपमा भइरहेको यस मौद्रिक परिवर्तनले नेपालजस्तो आयातमा आधारित र रेमिट्यान्समा निर्भर अर्थतन्त्रमा गहिरो प्रभाव पार्न सक्छ ।

नेपाल राष्ट्र बैंकको सञ्चितिमा हाल अमेरिकी डलरको बाहुल्य छ । विश्वका केन्द्रीय बैंकहरूले डलरको साटो सुनलाई प्राथमिकता दिन थाले भने नेपालले पनि आफ्नो राष्ट्रिय सम्पत्तिको मूल्य जोगाउन डलरमा मात्र निर्भर नभई सुनको सञ्चिति बढाउनुपर्ने हुन्छ । राष्ट्र बैंकले सुनको सञ्चिति बढाउँदै लगेको पछिल्ला तथ्यांकहरूले देखाउँछन् ।

चीन नेपालको प्रमुख व्यापारिक साझेदार हो । चीनले अघि सारेको एमब्रिज जस्ता डिजिटल भुक्तानी प्रणाली र डिजिटल युआनले भविष्यमा नेपाललाई डलर बिना नै चीनसँग सिधै व्यापार गर्ने विकल्प दिन सक्छ । यसले अन्तर्राष्ट्रिय कारोबार शुल्क घटाउन सक्छ तर त्यसका साथै चिनियाँ मौद्रिक प्रणालीमा नेपालको निर्भरता र प्रभाव पनि बढाउन सक्छ ।

सुनको मूल्यमा हुने भारी वृद्धिले नेपाली बजारमा सुन मात्र महँगो बनाउने नभई डलर कमजोर भएमा डलरमा भुक्तानी गर्नुपर्ने आयातित सामानहरूको मूल्य पनि बढ्न सक्छ । यसले नेपालको मुद्रास्फीतिमा दबाब पार्न सक्छ ।

विश्वव्यापी आर्थिक प्रणालीमा भइरहेको यस परिवर्तनबाट लाभ लिन नेपालले आफ्नो मौद्रिक नीतिमा विविधीकरण गर्नुका साथै डिजिटल मुद्राको बढ्दो उपयोगलाई ध्यानपूर्वक आत्मसात गर्न आवश्यक छ । नेपालले समयमै आफ्नो सञ्चिति रणनीति परिवर्तन गर्नु बुद्धिमानी हुनेछ ।

This article was first published on Clickmandu.


Share:

Leave a Reply