परम्परागत लगानीबाट प्रविधिमुखी निर्याततर्फ चीनको यात्रा, सुस्त वृद्धिभित्र लुकेको बलियो आधार

August 3, 2026
Featured image for “परम्परागत लगानीबाट प्रविधिमुखी निर्याततर्फ चीनको यात्रा, सुस्त वृद्धिभित्र लुकेको बलियो आधार”

लामो समयसम्म दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गरेर विश्वलाई चकित पारेको चीनको प्रगति सुस्त भइरहेको देखिन्छ । सन् २०२६ को दोस्रो त्रैमासिकको तथ्यांकले चीनको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको तुलनामा ४.३ प्रतिशतले मात्र बढेको देखाएको छ ।

कोरोना महामारीको असामान्य समयलाई छाड्ने हो भने यो सन् १९९० को दशकयताकै दोस्रो सबैभन्दा सुस्त वृद्धिदर हो (कोभिडको बेलामा सन् २०२० मा २.३ र सन् २०२२ मा ३.१ प्रतिशत आर्थिक वृद्धिदर रहेको विश्व बैंकको तथ्यांक छ) । बाहिरी संसारका लागि ४.३ प्रतिशतको वृद्धिदर लोभलाग्दो सुनिए तापनि चीन जस्तो विशाल र महत्त्वाकांक्षी मुलुकका लागि यो सुस्त प्रगति हो ।

चीनको अहिलेको आर्थिक अवस्थालाई बुझ्न सबैभन्दा पहिले त्यहाँको घरजग्गा (रियल इस्टेट) बजारलाई हेर्नुपर्ने हुन्छ । चिनियाँ अर्थतन्त्रको करिब २५ देखि ३० प्रतिशत हिस्सा ओगट्ने यो क्षेत्र केही समययता गम्भीर संकटबाट गुज्रिरहेको छ । चीनको राष्ट्रिय तथ्यांक ब्यूरोका अनुसार, सन् २०२६ को पहिलो ६ महिनामा घरजग्गा क्षेत्रको लगानीमा १८ प्रतिशतको भारी गिरावट आएको छ।

विगतमा चिनियाँ नागरिकहरूका लागि सम्पत्ति जोड्ने सबैभन्दा सुरक्षित र भरपर्दो माध्यम घरजग्गा नै थियो । तर, ठूला हाउजिङ कम्पनीहरू टाट पल्टिनु र नयाँ परियोजनाहरू अलपत्र पर्नुले आम जनताको विश्वास डगमगाएको छ । मानिसको मुख्य सम्पत्तिको मूल्य घट्दा वा जोखिममा पर्दा उनीहरूले अन्य क्षेत्रमा गर्ने खर्चमा स्वतः कटौती गर्छन् । यही वेल्थ इफेक्ट (सम्पत्ति प्रभाव) का कारण चीनको आन्तरिक बजारमा माग निकै कमजोर बनेको छ ।

आन्तरिक मागको यो कमजोरी खुद्रा व्यापारको तथ्यांकमा स्पष्टै झल्किन्छ । चीनको राष्ट्रिय तथ्यांक ब्यूरोको आँकडा अनुसार, सन् २०२६ को जुन महिनामा खुद्रा बिक्री अघिल्लो वर्षको तुलनामा मात्र १ प्रतिशतले बढेको छ । अप्रिल र मे महिनाको अत्यन्तै निराशाजनक अवस्थापछि जुनमा देखिएको यो सामान्य सुधार हो ।

रोचक कुरा के छ भने चिनियाँ उपभोक्ताहरू सञ्चार उपकरण र ग्याजेटहरूमा खर्च गरिरहेका छन् । त्यसमा १६.५ प्रतिशतको वृद्धि देखिएको छ । तर, ठूला र महँगा सामानहरू खरिद गर्न भने उनीहरू डराइरहेका छन् ।

तथ्यांक अनुसार, सवारी साधनको बिक्रीमा १६.१ प्रतिशत, घरेलु उपकरणमा ८.७ प्रतिशत र फर्निचरमा ६.६ प्रतिशतको गिरावट आएको छ । यसले चिनियाँ सर्वसाधारणहरू भविष्यप्रति चिन्तित रहेको र उनीहरू ठूलो लगानी गर्नुभन्दा पैसा जोगाउनेतर्फ केन्द्रित रहेको देखाउँछ ।

यस आर्थिक सुस्तताको अर्को पाटो भनेको स्थिर पुँजी लगानीमा आएको ह्रास हो । सन् २०२६ को पूर्वार्धमा यस्तो लगानी ५.७ प्रतिशतले घटेको छ । घरजग्गा क्षेत्रलाई बाहेक गर्ने हो भने पनि लगानी २.७ प्रतिशतले घटेको देखिन्छ ।

बजारमा सामानको माग नहुनु र उद्योगहरूको उत्पादन क्षमता बढी हुनुले नयाँ लगानीको बाटो छेकेको छ । जबसम्म लगानीकर्ताहरूले आफ्नो उत्पादन बिक्री हुने सुनिश्चितता देख्दैनन्, तबसम्म उनीहरूले नयाँ कारखाना खोल्ने वा प्रविधिमा लगानी गर्ने आँट गर्दैनन् ।

चीनमा विरोधाभासपूर्ण दृश्य देखिन्छ । एकातिर आन्तरिक माग र लगानी कमजोर छ, अर्कोतिर उत्पादन र निर्यात भने निकै बलियो देखिएको छ । चीनको भन्सार सामान्य प्रशासनको आँकडा अनुसार, जुन महिनामा औद्योगिक उत्पादन ५.३ प्रतिशतले बढेको छ जुन पछिल्लो तीन महिनाकै उच्च हो ।

विशेषगरी कम्प्युटर, सञ्चार प्रविधि, रेलमार्ग, जहाज निर्माण र सवारी साधन उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । सरकारले उद्योगहरूलाई दिइरहेको सहुलियत र प्रोत्साहनका कारण कलकारखानाहरू पूर्ण क्षमतामा चलिरहेका छन् ।

तर, यी उद्योगले उत्पादन गरेका सामानहरू खरिद गर्ने चिनियाँ ग्राहकहरू पर्याप्त नहुनु समस्याका रूपमा रहेको छ । त्यसैले चीनले आफ्नो यो अतिरिक्त उत्पादन विश्व बजारमा पठाउन जोड दिइरहेको छ ।

निर्यातको तथ्यांक हेर्दा चीनले कृत्रिम बुद्धिमत्ता (एआई) र विद्युतीय सवारी साधन (ईभी) को क्षेत्रमा विश्वभर आफ्नो प्रभुत्व जमाउन खोजेको देखिन्छ । जुन महिनामा चीनको निर्यात २७ प्रतिशतले बढेको छ । यसमा सेमिकन्डक्टर (चिप) को निर्यातमा १२२ प्रतिशत र विद्युतीय सवारी साधनको निर्यातमा ७० प्रतिशतको विशाल वृद्धि भएको छ । यसले के संकेत गर्छ भने चीनले आफ्नो आर्थिक वृद्धिको इन्जिनलाई घरजग्गा जस्ता जोखिमपूर्ण क्षेत्रबाट आधुनिक प्रविधि र दिगो ऊर्जातर्फ सफलतापूर्वक रूपान्तरण गरिरहेको छ ।

यस वृद्धिले चीनको प्रविधिप्रतिको फड्कोलाई त देखाउँछ तर यसले विश्व बजारमा नयाँ व्यापारिक युद्धको खतरा पनि निम्त्याएको छ । चीनले सस्तो मूल्यमा सामानहरू ‘डम्पिङ’ गरेको आरोप लगाउँदै अमेरिकाले १२ दशमलब ५ प्रतिशत भन्सार शुल्क लगाउनुका साथै थप शुल्क थोपर्ने तयारी गरिरहेको छ । युरोपेली संघले चिनियाँ विद्युतीय सवारी साधनमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाएको छ । यसले चीनको आपूर्तिमा आधारित अर्थतन्त्रको मोडललाई संकटमा पार्न सक्छ ।

अर्कोतर्फ, चीनको आयातमा पनि ३६ प्रतिशतको ठूलो वृद्धि देखिएको छ । यो वृद्धि उपभोग्य वस्तुको आयातका कारण नभई निर्यात गरिने सामानका लागि चाहिने कच्चा पदार्थ र पाटपुर्जाका कारण भएको हो । ताइवानबाट ४१.१ प्रतिशत, दक्षिण कोरियाबाट ८५ प्रतिशत र जापानबाट ३३.९ प्रतिशतले आयात बढ्नुले चीन अझै पनि उच्च प्रविधिका पाटपुर्जाका लागि आफ्ना छिमेकीहरूमा निर्भर छ भन्ने देखाउँछ ।

यसले चीनको अर्थतन्त्र बाह्य जगतसँग कति गहिरोसँग जोडिएको छ भन्ने पनि प्रस्ट पार्छ । तर, यस निर्भरताले चीनको आन्तरिक अर्थतन्त्रलाई कति फाइदा पुर्याइरहेको छ भन्ने प्रश्न भने अनुत्तरित नै छ ।

चीनको अर्थतन्त्रमा देखिएको यो असन्तुलन अर्थात् बलियो आपूर्ति र कमजोर माग यसको सबैभन्दा ठूलो टाउकोदुखाइ बनेको छ । चीन सरकारले अहिलेको अवस्थालाई माग र आपूर्तिबीचको अन्तर्विरोध भनेर स्वीकार गरेको छ ।

विगतमा चीनले पूर्वाधार र घरजग्गामा लगानी गरेर आर्थिक वृद्धिलाई गति दिन्थ्यो । तर, अब त्यस मोडलले काम गर्न छाडेको छ । अहिले चीनसँग विश्वकै उत्कृष्ट पूर्वाधार र धेरै खाली अपार्टमेन्टहरू छन् तर तिनको उपभोग गर्ने जनसंख्या भने घट्दो छ । चीनको जनसंख्या वृद्ध हुँदै जानु र जन्मदर घट्नुले पनि भविष्यको श्रम शक्ति र उपभोक्ता बजारमा ठूलो धक्का पुर्याइरहेको विश्लेषण भइरहेको छ ।

यसका साथै युवा बेरोजगारीको समस्याले पनि अर्थतन्त्रलाई सुस्त बनाउन भूमिका खेलेको छ । चीनको तथ्यांक ब्यूरोको आँकडा अनुसार, जुन महिनामा युवा बेरोजगारी दर १४.९ प्रतिशत छ । विश्वविद्यालयबाट दीक्षित भएका लाखौं युवाहरूले आफ्नो योग्यता अनुसारको रोजगारी पाइरहेका छैनन् । जब युवा वर्गसँग आम्दानीको निश्चित स्रोत हुँदैन, तब बजारमा उपभोगको चक्र सुरु हुन सक्दैन ।

चीनले उच्च प्रविधि र निर्यातमा देखाएको आक्रामक वृद्धिले नेपाललाई केही अवसर पनि प्रदान गर्छ । चीनले ईभी र सञ्चार उपकरणको निर्यातमा जोड दिँदा नेपालमा सस्तो र आधुनिक प्रविधिको पहुँच सहज हुनेछ । त्यसले नेपालको हरित ऊर्जा रूपान्तरणमा सहयोग पुर्याउन सक्छ

चिनियाँ सरकारले प्रविधि र नयाँ गुणस्तरीय उत्पादक शक्तिमा जोड दिए पनि त्यसले तत्कालै ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकेको छैन । यसले गर्दा समाजमा एक प्रकारको निराशा र अनिश्चितता छाएको छ जसले मानिसहरूलाई पैसा खर्च गर्नुभन्दा बचत गर्न प्रेरित गरिरहेको छ ।

यसरी चिनियाँ अर्थतन्त्रले केही आन्तरिक संरचनात्मक चुनौतीहरूको सामना गरिरहेको भए तापनि यसको औद्योगिक उत्पादन र निर्यात क्षेत्रमा देखिएको वृद्धि निकै उत्साहजनक र आशालाग्दो छ । सन् २०२६ को जुन महिनाको तथ्यांक अनुसार, चीनको औद्योगिक उत्पादन अघिल्लो वर्षको तुलनामा ५.३ प्रतिशतले बढेको छ । यो पछिल्लो तीन महिनाकै उत्कृष्ट प्रदर्शन हो ।

विशेषगरी उत्पादनमूलक क्षेत्रमा मात्रै ६ प्रतिशतको वृद्धि हुनुले चीन अझै पनि विश्वको कारखानाको रूपमा आफ्नो बलियो आधार कायम राख्न सफल भएको देखाउँछ । अझ चिनियाँ उद्योगहरूले गरेको नाफा सन् २०२६ को पूर्वार्धमा अघिल्लो वर्षको त्यही अवधिको तुलनामा १८.७ प्रतिशतले बढेकोे छ । जुन महिनाको मात्र नाफा हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा १५.१ प्रतिशतले बढेको छ ।

क्षेत्रगत रूपमा हेर्दा, रेलमार्ग र जहाज निर्माण क्षेत्रमा १८.२ प्रतिशत तथा कम्प्युटर र सञ्चार प्रविधि क्षेत्रमा १५.७ प्रतिशतको उच्च वृद्धि हुनुले चीनले परम्परागत उद्योगबाट माथि उठेर उच्च प्रविधिमा आधारित अर्थतन्त्रतर्फ ठूलो फड्को मारिरहेको पुष्टि गर्छ ।

वास्तवमा चिनियाँ अर्थतन्त्रको सबैभन्दा बलियो कडी अहिले यसको निर्यात क्षेत्र बनेको छ । सन् २०२६ को जुनमा चीनको निर्यातमा २७ प्रतिशतको भारी वृद्धि देखिएको छ । त्यसलाई मुख्यतया कृत्रिम बुद्धिमत्ता (एआई) र नवीकरणीय ऊर्जासँग सम्बन्धित उत्पादनहरूले डोहो¥याएका छन् ।

यसका साथै सवारी साधन उत्पादनमा ८.७ प्रतिशतको वृद्धिले चीनको औद्योगिक क्षमता अझै सुदृढ रहेको देखाउँछ । बलियो बाह्य माग र निर्यातलाई सघाउन चीनको आयातमा पनि ३६ प्रतिशतको वृद्धि भएको छ । त्यसले ताइवान, दक्षिण कोरिया र जापान जस्ता छिमेकी देशहरूको अर्थतन्त्रलाई समेत उल्लेख्य गति प्रदान गरिरहेको छ ।

त्यसबाहेक चीनका प्रान्तीय सरकारहरूले सन् २०२६ को पूर्वार्धमा ४.५ प्रतिशतको सकारात्मक वृद्धि देखिएको सीजीटीएनले लेखेको छ ।

समग्रमा, चीनले आफ्नो आन्तरिक मागलाई बिस्तारै व्यवस्थित गर्दै लगेमा यसको उच्च प्रविधिमा आधारित उत्पादन क्षमता र विश्व बजारमा बढ्दो प्रतिस्पर्धात्मकताले चिनियाँ अर्थतन्त्रको लचिलोपन र दीर्घकालीन सकारात्मक भविष्यलाई नै पुष्टि गर्छ ।

चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार र प्रमुख वैदेशिक लगानीकर्ता भएकाले त्यहाँको अर्थतन्त्रमा आउने सानो फेरबदलले पनि नेपालमा प्रत्यक्ष असर पार्छ । चीनको आर्थिक वृद्धि सुस्त हुनु र त्यहाँको आन्तरिक माग कमजोर हुनु नेपालका लागि चुनौतीपूर्ण हुन सक्छ ।

चीनको प्रविधिमुखी फड्कोबाट लाभ लिँदै गर्दा त्यहाँको आन्तरिक आर्थिक सुस्तताको परिणामबाट जोगिन नेपालले आफ्नो व्यापारिक र पर्यटकीय रणनीतिलाई थप लचिलो र विविधीकृत बनाउनु आवश्यक छ

विशेषगरी चिनियाँ नागरिकको खर्च गर्ने क्षमता र आत्मविश्वास घटेमा नेपालको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्न सक्छ किनकि चीन नेपालका लागि पर्यटकको प्रमुख स्रोत मुलुक हो ।

साथै, चीनको घरजग्गा क्षेत्रमा देखिएको संकट र लगानीमा आएको गिरावटले नेपालका पूर्वाधार र जलविद्युत् क्षेत्रमा आउने चिनियाँ वैदेशिक लगानी तथा विकास आयोजनाहरूको गतिलाई सुस्त बनाउन सक्छ ।

अर्कोतर्फ, चीनले उच्च प्रविधि र निर्यातमा देखाएको आक्रामक वृद्धिले नेपाललाई केही अवसर पनि प्रदान गर्छ । चीनले ईभी र सञ्चार उपकरणको निर्यातमा जोड दिँदा नेपालमा सस्तो र आधुनिक प्रविधिको पहुँच सहज हुनेछ । त्यसले नेपालको हरित ऊर्जा रूपान्तरणमा सहयोग पुर्याउन सक्छ ।

तर, चीनबाट हुने आयात उच्च रहने र नेपालबाट हुने निर्यात नगण्य हुँदा दुई देशबीचको व्यापार घाटा अझै चुलिने जोखिम रहन्छ।

चीनको औद्योगिक उत्पादन बलियो रहँदा नेपालमा चिनियाँ सामानको आपूर्ति त सहज हुनेछ तर त्यहाँको आर्थिक सुस्तताले समग्र विश्व बजारमा पार्ने असरका कारण नेपालमा महँगी र रेमिट्यान्समा समेत अप्रत्यक्ष प्रभाव पर्न सक्छ ।

त्यसैले चीनको प्रविधिमुखी फड्कोबाट लाभ लिँदै गर्दा त्यहाँको आन्तरिक आर्थिक सुस्तताको परिणामबाट जोगिन नेपालले आफ्नो व्यापारिक र पर्यटकीय रणनीतिलाई थप लचिलो र विविधीकृत बनाउनु आवश्यक छ ।

This article was first published on Clickmandu.


Share:

Leave a Reply