
लामो समयसम्म दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गरेर विश्वलाई चकित पारेको चीनको प्रगति सुस्त भइरहेको देखिन्छ । सन् २०२६ को दोस्रो त्रैमासिकको तथ्यांकले चीनको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको तुलनामा ४.३ प्रतिशतले मात्र बढेको देखाएको छ ।
कोरोना महामारीको असामान्य समयलाई छाड्ने हो भने यो सन् १९९० को दशकयताकै दोस्रो सबैभन्दा सुस्त वृद्धिदर हो (कोभिडको बेलामा सन् २०२० मा २.३ र सन् २०२२ मा ३.१ प्रतिशत आर्थिक वृद्धिदर रहेको विश्व बैंकको तथ्यांक छ) । बाहिरी संसारका लागि ४.३ प्रतिशतको वृद्धिदर लोभलाग्दो सुनिए तापनि चीन जस्तो विशाल र महत्त्वाकांक्षी मुलुकका लागि यो सुस्त प्रगति हो ।
चीनको अहिलेको आर्थिक अवस्थालाई बुझ्न सबैभन्दा पहिले त्यहाँको घरजग्गा (रियल इस्टेट) बजारलाई हेर्नुपर्ने हुन्छ । चिनियाँ अर्थतन्त्रको करिब २५ देखि ३० प्रतिशत हिस्सा ओगट्ने यो क्षेत्र केही समययता गम्भीर संकटबाट गुज्रिरहेको छ । चीनको राष्ट्रिय तथ्यांक ब्यूरोका अनुसार, सन् २०२६ को पहिलो ६ महिनामा घरजग्गा क्षेत्रको लगानीमा १८ प्रतिशतको भारी गिरावट आएको छ।
विगतमा चिनियाँ नागरिकहरूका लागि सम्पत्ति जोड्ने सबैभन्दा सुरक्षित र भरपर्दो माध्यम घरजग्गा नै थियो । तर, ठूला हाउजिङ कम्पनीहरू टाट पल्टिनु र नयाँ परियोजनाहरू अलपत्र पर्नुले आम जनताको विश्वास डगमगाएको छ । मानिसको मुख्य सम्पत्तिको मूल्य घट्दा वा जोखिममा पर्दा उनीहरूले अन्य क्षेत्रमा गर्ने खर्चमा स्वतः कटौती गर्छन् । यही वेल्थ इफेक्ट (सम्पत्ति प्रभाव) का कारण चीनको आन्तरिक बजारमा माग निकै कमजोर बनेको छ ।
आन्तरिक मागको यो कमजोरी खुद्रा व्यापारको तथ्यांकमा स्पष्टै झल्किन्छ । चीनको राष्ट्रिय तथ्यांक ब्यूरोको आँकडा अनुसार, सन् २०२६ को जुन महिनामा खुद्रा बिक्री अघिल्लो वर्षको तुलनामा मात्र १ प्रतिशतले बढेको छ । अप्रिल र मे महिनाको अत्यन्तै निराशाजनक अवस्थापछि जुनमा देखिएको यो सामान्य सुधार हो ।
रोचक कुरा के छ भने चिनियाँ उपभोक्ताहरू सञ्चार उपकरण र ग्याजेटहरूमा खर्च गरिरहेका छन् । त्यसमा १६.५ प्रतिशतको वृद्धि देखिएको छ । तर, ठूला र महँगा सामानहरू खरिद गर्न भने उनीहरू डराइरहेका छन् ।
तथ्यांक अनुसार, सवारी साधनको बिक्रीमा १६.१ प्रतिशत, घरेलु उपकरणमा ८.७ प्रतिशत र फर्निचरमा ६.६ प्रतिशतको गिरावट आएको छ । यसले चिनियाँ सर्वसाधारणहरू भविष्यप्रति चिन्तित रहेको र उनीहरू ठूलो लगानी गर्नुभन्दा पैसा जोगाउनेतर्फ केन्द्रित रहेको देखाउँछ ।
यस आर्थिक सुस्तताको अर्को पाटो भनेको स्थिर पुँजी लगानीमा आएको ह्रास हो । सन् २०२६ को पूर्वार्धमा यस्तो लगानी ५.७ प्रतिशतले घटेको छ । घरजग्गा क्षेत्रलाई बाहेक गर्ने हो भने पनि लगानी २.७ प्रतिशतले घटेको देखिन्छ ।
बजारमा सामानको माग नहुनु र उद्योगहरूको उत्पादन क्षमता बढी हुनुले नयाँ लगानीको बाटो छेकेको छ । जबसम्म लगानीकर्ताहरूले आफ्नो उत्पादन बिक्री हुने सुनिश्चितता देख्दैनन्, तबसम्म उनीहरूले नयाँ कारखाना खोल्ने वा प्रविधिमा लगानी गर्ने आँट गर्दैनन् ।
चीनमा विरोधाभासपूर्ण दृश्य देखिन्छ । एकातिर आन्तरिक माग र लगानी कमजोर छ, अर्कोतिर उत्पादन र निर्यात भने निकै बलियो देखिएको छ । चीनको भन्सार सामान्य प्रशासनको आँकडा अनुसार, जुन महिनामा औद्योगिक उत्पादन ५.३ प्रतिशतले बढेको छ जुन पछिल्लो तीन महिनाकै उच्च हो ।
विशेषगरी कम्प्युटर, सञ्चार प्रविधि, रेलमार्ग, जहाज निर्माण र सवारी साधन उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । सरकारले उद्योगहरूलाई दिइरहेको सहुलियत र प्रोत्साहनका कारण कलकारखानाहरू पूर्ण क्षमतामा चलिरहेका छन् ।
तर, यी उद्योगले उत्पादन गरेका सामानहरू खरिद गर्ने चिनियाँ ग्राहकहरू पर्याप्त नहुनु समस्याका रूपमा रहेको छ । त्यसैले चीनले आफ्नो यो अतिरिक्त उत्पादन विश्व बजारमा पठाउन जोड दिइरहेको छ ।
निर्यातको तथ्यांक हेर्दा चीनले कृत्रिम बुद्धिमत्ता (एआई) र विद्युतीय सवारी साधन (ईभी) को क्षेत्रमा विश्वभर आफ्नो प्रभुत्व जमाउन खोजेको देखिन्छ । जुन महिनामा चीनको निर्यात २७ प्रतिशतले बढेको छ । यसमा सेमिकन्डक्टर (चिप) को निर्यातमा १२२ प्रतिशत र विद्युतीय सवारी साधनको निर्यातमा ७० प्रतिशतको विशाल वृद्धि भएको छ । यसले के संकेत गर्छ भने चीनले आफ्नो आर्थिक वृद्धिको इन्जिनलाई घरजग्गा जस्ता जोखिमपूर्ण क्षेत्रबाट आधुनिक प्रविधि र दिगो ऊर्जातर्फ सफलतापूर्वक रूपान्तरण गरिरहेको छ ।
यस वृद्धिले चीनको प्रविधिप्रतिको फड्कोलाई त देखाउँछ तर यसले विश्व बजारमा नयाँ व्यापारिक युद्धको खतरा पनि निम्त्याएको छ । चीनले सस्तो मूल्यमा सामानहरू ‘डम्पिङ’ गरेको आरोप लगाउँदै अमेरिकाले १२ दशमलब ५ प्रतिशत भन्सार शुल्क लगाउनुका साथै थप शुल्क थोपर्ने तयारी गरिरहेको छ । युरोपेली संघले चिनियाँ विद्युतीय सवारी साधनमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाएको छ । यसले चीनको आपूर्तिमा आधारित अर्थतन्त्रको मोडललाई संकटमा पार्न सक्छ ।
अर्कोतर्फ, चीनको आयातमा पनि ३६ प्रतिशतको ठूलो वृद्धि देखिएको छ । यो वृद्धि उपभोग्य वस्तुको आयातका कारण नभई निर्यात गरिने सामानका लागि चाहिने कच्चा पदार्थ र पाटपुर्जाका कारण भएको हो । ताइवानबाट ४१.१ प्रतिशत, दक्षिण कोरियाबाट ८५ प्रतिशत र जापानबाट ३३.९ प्रतिशतले आयात बढ्नुले चीन अझै पनि उच्च प्रविधिका पाटपुर्जाका लागि आफ्ना छिमेकीहरूमा निर्भर छ भन्ने देखाउँछ ।
यसले चीनको अर्थतन्त्र बाह्य जगतसँग कति गहिरोसँग जोडिएको छ भन्ने पनि प्रस्ट पार्छ । तर, यस निर्भरताले चीनको आन्तरिक अर्थतन्त्रलाई कति फाइदा पुर्याइरहेको छ भन्ने प्रश्न भने अनुत्तरित नै छ ।
चीनको अर्थतन्त्रमा देखिएको यो असन्तुलन अर्थात् बलियो आपूर्ति र कमजोर माग यसको सबैभन्दा ठूलो टाउकोदुखाइ बनेको छ । चीन सरकारले अहिलेको अवस्थालाई माग र आपूर्तिबीचको अन्तर्विरोध भनेर स्वीकार गरेको छ ।
विगतमा चीनले पूर्वाधार र घरजग्गामा लगानी गरेर आर्थिक वृद्धिलाई गति दिन्थ्यो । तर, अब त्यस मोडलले काम गर्न छाडेको छ । अहिले चीनसँग विश्वकै उत्कृष्ट पूर्वाधार र धेरै खाली अपार्टमेन्टहरू छन् तर तिनको उपभोग गर्ने जनसंख्या भने घट्दो छ । चीनको जनसंख्या वृद्ध हुँदै जानु र जन्मदर घट्नुले पनि भविष्यको श्रम शक्ति र उपभोक्ता बजारमा ठूलो धक्का पुर्याइरहेको विश्लेषण भइरहेको छ ।
यसका साथै युवा बेरोजगारीको समस्याले पनि अर्थतन्त्रलाई सुस्त बनाउन भूमिका खेलेको छ । चीनको तथ्यांक ब्यूरोको आँकडा अनुसार, जुन महिनामा युवा बेरोजगारी दर १४.९ प्रतिशत छ । विश्वविद्यालयबाट दीक्षित भएका लाखौं युवाहरूले आफ्नो योग्यता अनुसारको रोजगारी पाइरहेका छैनन् । जब युवा वर्गसँग आम्दानीको निश्चित स्रोत हुँदैन, तब बजारमा उपभोगको चक्र सुरु हुन सक्दैन ।
चीनले उच्च प्रविधि र निर्यातमा देखाएको आक्रामक वृद्धिले नेपाललाई केही अवसर पनि प्रदान गर्छ । चीनले ईभी र सञ्चार उपकरणको निर्यातमा जोड दिँदा नेपालमा सस्तो र आधुनिक प्रविधिको पहुँच सहज हुनेछ । त्यसले नेपालको हरित ऊर्जा रूपान्तरणमा सहयोग पुर्याउन सक्छ
चिनियाँ सरकारले प्रविधि र नयाँ गुणस्तरीय उत्पादक शक्तिमा जोड दिए पनि त्यसले तत्कालै ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकेको छैन । यसले गर्दा समाजमा एक प्रकारको निराशा र अनिश्चितता छाएको छ जसले मानिसहरूलाई पैसा खर्च गर्नुभन्दा बचत गर्न प्रेरित गरिरहेको छ ।
यसरी चिनियाँ अर्थतन्त्रले केही आन्तरिक संरचनात्मक चुनौतीहरूको सामना गरिरहेको भए तापनि यसको औद्योगिक उत्पादन र निर्यात क्षेत्रमा देखिएको वृद्धि निकै उत्साहजनक र आशालाग्दो छ । सन् २०२६ को जुन महिनाको तथ्यांक अनुसार, चीनको औद्योगिक उत्पादन अघिल्लो वर्षको तुलनामा ५.३ प्रतिशतले बढेको छ । यो पछिल्लो तीन महिनाकै उत्कृष्ट प्रदर्शन हो ।
विशेषगरी उत्पादनमूलक क्षेत्रमा मात्रै ६ प्रतिशतको वृद्धि हुनुले चीन अझै पनि विश्वको कारखानाको रूपमा आफ्नो बलियो आधार कायम राख्न सफल भएको देखाउँछ । अझ चिनियाँ उद्योगहरूले गरेको नाफा सन् २०२६ को पूर्वार्धमा अघिल्लो वर्षको त्यही अवधिको तुलनामा १८.७ प्रतिशतले बढेकोे छ । जुन महिनाको मात्र नाफा हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा १५.१ प्रतिशतले बढेको छ ।
क्षेत्रगत रूपमा हेर्दा, रेलमार्ग र जहाज निर्माण क्षेत्रमा १८.२ प्रतिशत तथा कम्प्युटर र सञ्चार प्रविधि क्षेत्रमा १५.७ प्रतिशतको उच्च वृद्धि हुनुले चीनले परम्परागत उद्योगबाट माथि उठेर उच्च प्रविधिमा आधारित अर्थतन्त्रतर्फ ठूलो फड्को मारिरहेको पुष्टि गर्छ ।
वास्तवमा चिनियाँ अर्थतन्त्रको सबैभन्दा बलियो कडी अहिले यसको निर्यात क्षेत्र बनेको छ । सन् २०२६ को जुनमा चीनको निर्यातमा २७ प्रतिशतको भारी वृद्धि देखिएको छ । त्यसलाई मुख्यतया कृत्रिम बुद्धिमत्ता (एआई) र नवीकरणीय ऊर्जासँग सम्बन्धित उत्पादनहरूले डोहो¥याएका छन् ।
यसका साथै सवारी साधन उत्पादनमा ८.७ प्रतिशतको वृद्धिले चीनको औद्योगिक क्षमता अझै सुदृढ रहेको देखाउँछ । बलियो बाह्य माग र निर्यातलाई सघाउन चीनको आयातमा पनि ३६ प्रतिशतको वृद्धि भएको छ । त्यसले ताइवान, दक्षिण कोरिया र जापान जस्ता छिमेकी देशहरूको अर्थतन्त्रलाई समेत उल्लेख्य गति प्रदान गरिरहेको छ ।
त्यसबाहेक चीनका प्रान्तीय सरकारहरूले सन् २०२६ को पूर्वार्धमा ४.५ प्रतिशतको सकारात्मक वृद्धि देखिएको सीजीटीएनले लेखेको छ ।
समग्रमा, चीनले आफ्नो आन्तरिक मागलाई बिस्तारै व्यवस्थित गर्दै लगेमा यसको उच्च प्रविधिमा आधारित उत्पादन क्षमता र विश्व बजारमा बढ्दो प्रतिस्पर्धात्मकताले चिनियाँ अर्थतन्त्रको लचिलोपन र दीर्घकालीन सकारात्मक भविष्यलाई नै पुष्टि गर्छ ।
चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार र प्रमुख वैदेशिक लगानीकर्ता भएकाले त्यहाँको अर्थतन्त्रमा आउने सानो फेरबदलले पनि नेपालमा प्रत्यक्ष असर पार्छ । चीनको आर्थिक वृद्धि सुस्त हुनु र त्यहाँको आन्तरिक माग कमजोर हुनु नेपालका लागि चुनौतीपूर्ण हुन सक्छ ।
चीनको प्रविधिमुखी फड्कोबाट लाभ लिँदै गर्दा त्यहाँको आन्तरिक आर्थिक सुस्तताको परिणामबाट जोगिन नेपालले आफ्नो व्यापारिक र पर्यटकीय रणनीतिलाई थप लचिलो र विविधीकृत बनाउनु आवश्यक छ
विशेषगरी चिनियाँ नागरिकको खर्च गर्ने क्षमता र आत्मविश्वास घटेमा नेपालको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्न सक्छ किनकि चीन नेपालका लागि पर्यटकको प्रमुख स्रोत मुलुक हो ।
साथै, चीनको घरजग्गा क्षेत्रमा देखिएको संकट र लगानीमा आएको गिरावटले नेपालका पूर्वाधार र जलविद्युत् क्षेत्रमा आउने चिनियाँ वैदेशिक लगानी तथा विकास आयोजनाहरूको गतिलाई सुस्त बनाउन सक्छ ।
अर्कोतर्फ, चीनले उच्च प्रविधि र निर्यातमा देखाएको आक्रामक वृद्धिले नेपाललाई केही अवसर पनि प्रदान गर्छ । चीनले ईभी र सञ्चार उपकरणको निर्यातमा जोड दिँदा नेपालमा सस्तो र आधुनिक प्रविधिको पहुँच सहज हुनेछ । त्यसले नेपालको हरित ऊर्जा रूपान्तरणमा सहयोग पुर्याउन सक्छ ।
तर, चीनबाट हुने आयात उच्च रहने र नेपालबाट हुने निर्यात नगण्य हुँदा दुई देशबीचको व्यापार घाटा अझै चुलिने जोखिम रहन्छ।
चीनको औद्योगिक उत्पादन बलियो रहँदा नेपालमा चिनियाँ सामानको आपूर्ति त सहज हुनेछ तर त्यहाँको आर्थिक सुस्तताले समग्र विश्व बजारमा पार्ने असरका कारण नेपालमा महँगी र रेमिट्यान्समा समेत अप्रत्यक्ष प्रभाव पर्न सक्छ ।
त्यसैले चीनको प्रविधिमुखी फड्कोबाट लाभ लिँदै गर्दा त्यहाँको आन्तरिक आर्थिक सुस्तताको परिणामबाट जोगिन नेपालले आफ्नो व्यापारिक र पर्यटकीय रणनीतिलाई थप लचिलो र विविधीकृत बनाउनु आवश्यक छ ।
This article was first published on Clickmandu.
