‘इन द रेल्म अफ द लास्ट म्यान’ समीक्षा : उदारवादका समस्याहरूको शल्यक्रिया

September 26, 2026
Featured image for “‘इन द रेल्म अफ द लास्ट म्यान’ समीक्षा : उदारवादका समस्याहरूको शल्यक्रिया”

सन् १९८९ मा बर्लिनको पर्खाल ढल्नुअघि प्रकाशित फ्रान्सिस फुकुयामाको चर्चित शोधनिबन्ध ‘द इन्ड अफ हिस्ट्री ?’ ले फुकुयामालाई पश्चिमको विजयोन्मादको पर्यायका रूपमा स्थापित गरिदिएको थियो । त्यही निबन्धको विस्तारित रूपमा उनले सन् १९९२ मा ‘द इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’ प्रकाशित गरी सोभियत संघको पतनसँगै पश्चिमा उदारवादी प्रणाली हावी भएको र अब कुनै द्वन्द्व नहुने उद्घोष गरेका थिए ।

अमेरिकाको एकध्रुवीयता कायम भएको समयमा देखाइएको यो उन्माद सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमण र त्यसपछिका अफगानिस्तान र इराक युद्धले ध्वस्त पारिदियो । फुकुयामालाई धेरैजनाले आलोचना गरे र आफ्नो निष्कर्ष फिर्ता लिनुहुन्छ कि भनेर सोध्न थाले ।

हालै प्रकाशित संस्मरण ‘इन द रेल्म अफ द लास्ट म्यान’ मा उनले आफ्ना आलोचकहरूलाई जवाफ दिएका छन् । पुस्तकका पछिल्ला पाँच अध्याय नपढिकन आलोचना गरिएको र आफूले ती अध्यायामा भविष्यमा द्वन्द्व हुन सक्ने आधार प्रस्तुत गरेको फुकुयामाको तर्क छ । त्यसका साथै उनले आफ्ना पूर्ववर्ती धारणाहरूको पुनर्मूल्यांकन गर्दै विगत तीन दशकका आफ्ना वैचारिक मोडहरूलाई इमानदारीपूर्वक प्रस्तुत गरेका छन् ।

यसमा फुकुयामाले व्यक्तिगत संस्मरण, दर्शनशास्त्र, समाजशास्त्र, सुरक्षा अध्ययन र प्रविधि चिन्तनलाई एउटै धागोमा उनेर उदारवादी व्यवस्थाभित्र सञ्चित आत्मघाती तत्त्वहरूको सूक्ष्म शल्यक्रिया गरेका छन् । पुस्तकको सुरुआत नै सन् २०२५ मा डोनल्ड ट्रम्पको दोस्रो राष्ट्रपतीय कार्यकालको उदय, अमेरिकी संस्थागत व्यवस्थामाथिको प्रहार र विश्वव्यापी लोकतान्त्रिक क्षयीकरणको भयावह यथार्थबाट हुन्छ ।

यो पुस्तक फुकुयामाको बौद्धिक यात्रा र उनका वैचारिक परिवर्तनहरूको पारदर्शी अभिलेखीकरण हो । कर्नेल विश्वविद्यालयमा एलन ब्लुम र हार्वर्डमा हार्भे म्यान्सफिल्ड तथा सामुएल हन्टिङ्टनजस्ता महारथीहरूसँगको संगतले उनलाई राजनीतिक दर्शन र अन्तर्राष्ट्रिय सम्बन्धको आधार प्रदान गरेको थियो ।

उनले फ्रान्सेली उत्तरआधुनिकतावाद (डेरिडा, बार्थ्स र क्रिस्टेभा) को संसर्गबाट आफ्नो अध्ययन सुरु गरे पनि त्यसको भाषिक क्लिष्टता र पाखण्डपूर्ण शून्यवादबाट विरक्तिएर राजनीतिशास्त्रतर्फ मोडिएको कथा रोचक ढंगले प्रस्तुत गरेका छन् । सन् १९७० को दशकको अन्त्यतिर र्‍यान्ड कर्पोरेसनमा प्रवेश गरेपछि उनी पल वुल्फोविट्ज, रिचर्ड पर्ल र अल्बर्ट वोह्लस्टेटरजस्ता कट्टरपन्थी नवअनुदारवादी (नियोकन्जर्भेटिभ) हरूको संगतमा पुगेका थिए ।

तर, सन् २००३ मा थालिएको इराक युद्धको भीषण असफलताले उनको आँखा खोलिदियो । आफ्ना पुराना मित्रहरूसँगको सम्बन्ध विच्छेद गर्दै उनले इराक युद्धको खुलेर विरोध गरे । फुकुयामाले बौद्धिक वृत्तमा आफ्नै गल्ती स्वीकार्नु कति कठिन हुन्छ भन्ने सामाजिक–मनोवैज्ञानिक यथार्थलाई यस पुस्तकमा जसरी प्रस्तुत गरेका छन्, त्यसले पुस्तकलाई आत्मश्लाघाबाट मुक्त गरी उच्च प्राज्ञिक विश्वसनीयता प्रदान गरेको छ ।

पुस्तकमा फुकुयामाले नवशास्त्रीय अर्थशास्त्र (नियोक्लासिकल इकोनोमिक्स) र तर्कसंगत छनोट सिद्धान्त (र्‍यासनल च्वाइस थ्योरी) माथि प्रहार गरेका छन् । फुकुयामाका अनुसार, समकालीन अर्थशास्त्रीहरूले मानवलाई ‘तर्कसंगत उपयोगिता अधिकतम गर्ने’ (र्‍यासनल युटिलिटी म्याक्सिमाइजर) स्वार्थी प्राणीका रूपमा मात्र बुझ्ने गम्भीर भूल गरेका छन् ।

प्लेटोको ‘द रिपब्लिक’ मा वर्णित आत्माको तीन भाग विवेक (रिजन), इच्छा (डिजायर) र आत्मगौरव वा साहस (थाइमस) लाई उद्धृत गर्दै फुकुयामा मानिस भौतिक वस्तु र आर्थिक नाफाको पछाडि मात्र दौडिँदैन भनी तर्क गरेका छन् । मानिसभित्र अरूबाट सम्मान र मान्यता पाउने अदम्य तिर्खा हुन्छ ।

अर्थशास्त्रले ‘थाइमस’ लाई आफ्नो हिसाबकिताबबाट बाहिर राखेका कारण नै आज विश्वभर पहिचानको राजनीति, उग्रराष्ट्रवाद र पपुलिजम किन बढिरहेको छ भन्ने कुरा व्याख्या गर्न नसकेको फुकुयामा लेख्छन् । कुनै समाज वा वर्गले आफू अपमानित भएको महसुस गरेपछि उसले आफ्नै आर्थिक हितविरुद्ध गएर पनि राजनीतिक विद्रोह गर्छ । यसको ज्वलन्त उदाहरण अमेरिकाको मेक अमेरिका ग्रेट अगेन (मागा) आन्दोलन र युरोपको दक्षिणपन्थी उभार हो ।

यससँगै फुकुयामाले पुस्तकमा ‘राज्यको क्षमता’ र ‘भिटोक्रेसी’ बीचको द्वन्द्वलाई उठाएका छन् । सन् १९८० को दशकमा वाशिङटन सहमतिले राज्यको भूमिकालाई खुम्च्याउने र खुला बजारलाई सर्वशक्तिमान मान्ने नवउदारवादी नीति लियो । तर, इराक, अफगानिस्तान र मेलनेसियाका अविकसित समाजहरूको अध्ययनपछि फुकुयामा लोकतन्त्रभन्दा अगाडि राज्यको आधारभूत शान्तिसुरक्षा र सेवा प्रवाह गर्ने संस्थागत क्षमता चाहिने निष्कर्षमा पुग्छन् ।

आधुनिक राज्य भनेको कुनै क्रूर राक्षस (कोल्ड मोन्स्टर) मात्र होइन, यो नागरिकलाई सार्वजनिक वस्तुहरू उपलब्ध गराउने अपरिहार्य माध्यम हो । तर, अमेरिका जस्ता विकसित लोकतन्त्रहरूमा राज्यप्रतिको अतिशय अविश्वासले गर्दा अनगिन्ती प्रक्रियागत नियमहरू, कानुनी झमेलाहरू र संस्थागत अवरोधहरू खडा गरिएका छन् । यसलाई फुकुयामाले ‘भिटोक्रेसी’ (निषेधाधिकारको शासन) भनेका छन् ।

क्यालिफोर्नियामा वर्षौंसम्म पनि एउटा द्रुत गतिको रेल बनाउन नसक्नु वा सडक विस्तार दशकौंसम्म रोकिनु यही भिटोक्रेसीको नतिजा हो । जनता लोकतान्त्रिक सरकारहरूको ढिलासुस्ती र अक्षमताबाट दिक्क भएपछि नियमकानुन कुल्चेर काम गर्ने ट्रम्प वा एल साल्भाडोरका बुकेले जस्ता निरंकुश शासकहरूको शरणमा पुग्छन् ।

फुकुयामाले चर्चा गरेको ‘अन्तिम मानव’ (द लास्ट म्यान) को अवधारणा र उदारवादसँग यसको अन्तर्निहित द्वन्द्व पुस्तकको प्रमुख आकर्षणका रूपमा रहेको छ । फुकुयामाले यो शब्दावली उन्नाईसौं शताब्दीका जर्मन दार्शनिक फ्रेडरिक नित्सेबाट साभार उद्धृत गरेका हुन् । अलेक्जेन्डर कोजेभले गरेको जर्मन दार्शनिक हेगेलको व्याख्यासँग जोडेर त्यसलाई फुकुयामाले प्रस्तुत गरेका छन् ।

नित्सेका अनुसार, ‘अन्तिम मानव’ त्यस्तो प्राणी हो जो इतिहासको अन्त्यमा अर्थात् उदारवादी लोकतन्त्रको पूर्ण विजयपछि अस्तित्वमा आउँछ । यो मानव कुनै ठूला आदर्श, जोखिम, त्याग वा महानताको खोजी गर्दैन । ऊ केवल भौतिक सुखसुविधा, व्यक्तिगत सुरक्षा, उपभोक्तावादी विलास र स्वास्थ्यको सानो परिधिभित्र सन्तुष्ट रहन्छ । नित्सेले यस्तो मानवलाई घृणापूर्वक लिँदै ऊ महान् आकांक्षाविहीन, निष्प्राण र आत्मसन्तुष्ट गाईवस्तु जस्तै हो र आँखा झिम्क्याउँदै चपाएर मात्र बस्छ भनेका छन् ।

फुकुयामाले यस ‘अन्तिम मानव’ लाई उदारवादको संरचनाभित्र अत्यन्त सूक्ष्म र चिन्ताजनक ढंगले सन्दर्भित गरेका छन् । उदारवादको मूल उद्देश्य नै समाजमा व्याप्त धार्मिक युद्ध, रक्तपात र हिंसालाई रोकेर शान्ति, सहिष्णुता र कानुनको शासन स्थापना गर्नु थियो । उदारवादले सबै मानिसलाई समान अधिकार र मान्यता दिएर मानव इतिहासको मालिक–दास द्वन्द्वलाई समाधान गर्ने दाबी गर्छ ।

सबैलाई समान सम्मान दिने यस चाहनालाई फुकुयामा ‘आइसोथाइमिया’ भन्छन् । तर, फुकुयामाको मौलिक प्रश्न यहीँनेर खडा हुन्छः के मानिस सबैको समान भएर मात्र सधैंभरि सन्तुष्ट रहन सक्छ ? मानव स्वभावको अर्को पाटो हो ‘मेगालोथाइमिया’ अर्थात् अरूभन्दा श्रेष्ठ, भिन्न र विशिष्ट देखिने तीव्र तिर्खा । यो तिर्खा तानाशाह र तानाशाह बन्न खोज्नेहरूमा मात्र हुँदैन । यो महान् खेलाडी, कलाकार, वैज्ञानिक र सामाजिक न्यायका अभियन्ताहरूमा पनि हुन्छ ।

उदारवादले शान्ति र समृद्धि त दियो तर यसले मानव जीवनबाट महान् संघर्षको अवसर खोसिदियो र मानवीय क्षितिजलाई सपाट बनाइदियो । कुनै समाजमा लड्नका लागि कुनै वास्तविक अन्याय वा ठूला कारणहरू बाँकी नरहँदा मानिसहरू ‘संघर्षकै लागि संघर्ष’ गर्न थाल्ने कुरा फुकुयामा औंल्याउँछन् । उनीहरू आफ्नो जीवनको निरसता, शून्यता र बोरडमबाट भाग्नका लागि उदारवादी लोकतन्त्रका स्थापित संस्थाहरूमाथि नै आक्रमण गर्न पुग्छन् ।

यसैले गर्दा आज पश्चिमा विश्वका सम्पन्न विश्वविद्यालयहरूमा अध्ययनरत कुलीन विद्यार्थीहरू वा सुखसयलमा बाँचेका मध्यमवर्गीय नागरिकहरू उग्रदक्षिणपन्थी वा उग्रवामपन्थी आन्दोलनहरूमा सामेल भइरहेका छन् । उनीहरू ‘अन्तिम मानव’ बनेर बाँच्न चाहँदैनन् । उनीहरू खतरा मोल्न र इतिहास रच्न चाहन्छन्, चाहे त्यसका लागि लोकतन्त्रलाई नै किन भत्काउनु नपरोस् ।

उदारवादको सफलताले शान्तिपूर्ण ‘अन्तिम मानव’ जन्माउँछ र त्यही अन्तिम मानवलाई लागेको बोरडमले फेरि इतिहासको हिंसात्मक पांग्रालाई घुमाउन सुरु गर्छ । यो नै उदारवादको त्रासदी हो ।

पुस्तकमा असाधारण बौद्धिक दायरा, वैचारिक सन्तुलन र अन्तरविषयक दृष्टिकोण प्रशंसनीय छ । काठको काम गर्ने औजारहरूको धार लगाउने प्रविधिदेखि लिएर कम्प्युटर कोडिङ, आर्टिफिसियल इन्टेलिजेन्सको स्वायत्तता र प्राचीन चिनियाँ प्रशासनिक इतिहाससम्मका विषयहरूलाई फुकुयामाले आधुनिक राज्य सञ्चालनको सिद्धान्तसँग कुशलतापूर्वक जोडेका छन् ।

आफ्ना पूर्व गुरुहरू (ब्लुम, म्यान्सफिल्ड, हन्टिङ्टन) का विचारहरूको आदर गर्दै उनीहरूका सीमाहरूलाई केलाउने उनको शैली अत्यन्त बौद्धिक र प्राज्ञिक छ । चीनका पूर्व नेता वाङ छिसानसँगको संवादमार्फत उनले चिनियाँ मेरिटोक्रेसी र आधुनिक अधिनायकवादको गहिराइ नापेका छन् भने गद्दाफीको लिबियामार्फत संस्थाविहीन राज्यको पतनशीलता देखाएका छन् ।

जटिल दार्शनिक अवधारणाहरूलाई समसामयिक घटनाक्रमहरूसँग जोडेर सरल र पठनीय भाषामा प्रस्तुत गर्नु फुकुयामाको पुरानै खुबी हो । यो यस पुस्तकमा अझ परिपक्व बनेर प्रकट भएको छ ।

ऐतिहासिक रूपमा उत्पीडित समुदायहरूले आफ्नो अस्तित्व र आत्मसम्मानका लागि गरेको लडाइँलाई कतिपय ठाउँमा फुकुयामाले ‘कुलीनहरूको कृत्रिम असन्तुष्टि’ वा ‘बोरडमको उपज’ का रूपमा अति सरलीकरण गरिदिएका छन् र यो उनको कमजोरी हो । यसले उनको दृष्टिकोण अझै पनि अमेरिकी श्वेत पुरुष प्राज्ञिक वर्गको विशेषाधिकारयुक्त आँखीझ्यालबाट धेरै टाढा जान नसकेको भान गराउँछ ।

फुकुयामाले समस्याको निदान अत्यन्त सटीक रूपमा गरेका छन् तर त्यसको समाधानमा उनी स्वयं निरुत्तर देखिन्छन् । ‘अन्तिम मानव’ को मेगालोथाइमिया नै उदारवादको विनाशको कारण हो भने त्यसलाई सम्बोधन गर्ने लोकतान्त्रिक उपाय के हुन सक्छ ?

वास्तविक संस्थागत सुधार ‘बोरिङ र ढिलो’ हुन्छ तर मानिसहरू बोरडमबाटै भाग्नका लागि उग्रवादतर्फ लागिरहेका छन् भनी उनी आफैं बताउँछन् । यो दुष्चक्रबाट बाहिर निस्कने कुनै नयाँ संस्थागत संरचना वा विश्व व्यवस्थाको ठोस खाका प्रस्तुत गर्न उनी असफल हुन्छन् ।

उनी राष्ट्रिय पहिचानलाई उदारवादी मूल्यहरूमा आधारित ‘संवैधानिक देशभक्ति’ मार्फत पुनर्जीवित गर्नुपर्ने अमूर्त सुझाव दिन्छन् तर आधुनिक डिजिटल प्रविधि र सामाजिक सञ्जालले टुक्रा–टुक्रा पारेको समाजमा त्यो कसरी सम्भव छ भन्ने प्रश्न अनुत्तरित नै रहन्छ ।

फ्रान्सिस फुकुयामाको ‘इन द रेल्म अफ द लास्ट म्यान’ समकालीन युगको सबैभन्दा गम्भीर राजनीतिक संकटलाई बुझ्नका लागि अपरिहार्य ग्रन्थ हो । इतिहास वास्तवमै कुनै सरल, सिधा रेखामा अघि बढ्दैन भन्ने कुरा यसले पुष्टि गर्छ ।

उदारवादी लोकतन्त्रलाई बाह्य शत्रुहरूबाट भन्दा आफ्नै आन्तरिक विरोधाभास, संस्थागत पक्षाघात र मानव स्वभावको अतृप्त गौरवबाट बढी खतरा छ । स्रोतसाधनको पुनर्वितरण गर्न सजिलो होला, तर मानिसको आत्मसम्मान र श्रेष्ठताको भोकलाई लोकतान्त्रिक दायराभित्र व्यवस्थापन गर्नु आधुनिक राजनीतिको सबैभन्दा ठूलो चुनौती हो ।

फुकुयामाले देखाएको यो बौद्धिक ऐना आजका नीति निर्माता, राजनीतिक विश्लेषक र लोकतन्त्रका पक्षधरहरू सबैका लागि आफ्ना पूर्वाग्रहहरू तोडेर वास्तविकताको सामना गर्न बाध्य पार्ने सशक्त चेतावनी हो ।

This review was first published on Clickmandu.


Share:

Leave a Reply