
सन् १९९० को दशकमा शीतयुद्धको अन्त्य भएपछि पश्चिमा जगतमा आत्ममुग्धता र विजयोन्माद मौलाएको थियो । त्यसलाई फ्रान्सिस फुकुयामाले ‘इतिहासको अन्त्य’ अर्थात् उदार लोकतन्त्र र खुला बजार पुँजीवादको अन्तिम विजयका रूपमा व्याख्या गरेका थिए । तर, सोभियत संघको विघटन भएको साढे तीन दशक नपुग्दै विश्व व्यवस्था त्यस्तो सरल र एकध्रुवीय रेखामा अघि बढ्न नसकेको तथ्य प्रमाणित भइसकेको छ ।
फिनल्यान्डका १३औं राष्ट्रपति, पूर्वप्रधानमन्त्री तथा अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता अलेक्जेन्डर स्टबको पछिल्लो कृति ‘द ट्रायंगल अफ पावरः रिब्यालेन्सिङ द न्यु वर्ल्ड अर्डर’ ले यही भत्किँदै गएको विश्व व्यवस्था, नयाँ शक्ति सन्तुलनको खोजी र वर्तमान वैश्विक अन्योलको गहन चिरफार गर्ने प्रयास गरेको छ ।
एकैसाथ प्राज्ञिक विश्लेषक र व्यावहारिक कूटनीतिज्ञको भूमिका निर्वाह गरिसकेका लेखकले यस पुस्तकमा सन् १९८९ को बर्लिन पर्खाल ढलेपछिको आशावाद, सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणपछि भएका अफगानिस्तान र इराक युद्ध, सन् २००८ को आर्थिक संकट, सन् २०२२ मा युक्रेनमाथि रुसको आक्रमण र त्यसपछिका वैश्विक कम्पनहरूलाई जोडेर समकालीन विश्वको चित्र उतारेका छन् ।
पुस्तकको मूल कथ्य वर्तमान विश्व व्यवस्थाको संरचनात्मक पुनःसंरचनाको वरिपरि घुमेको छ । लेखक स्टबका अनुसार, हामी अहिले सन् १९१८, १९४५ वा १९८९ जस्तै एउटा युगान्तकारी ऐतिहासिक संक्रमणकालीन मोडमा उभिएका छौं ।
दोस्रो विश्वयुद्धपछि अमेरिका र युरोपको नेतृत्वमा निर्मित नियममा आधारित उदार अन्तर्राष्ट्रिय व्यवस्था अहिले छिन्नभिन्न भएको छ । तर, त्यसको ठाउँमा कुनै नयाँ स्पष्ट व्यवस्था स्थापित भइसकेको छैन ।
यस तरल अवस्थालाई इटालेली चिन्तक एन्टोनियो ग्राम्सीको शब्दावली सापटी लिँदै स्टबले ‘इन्टररेग्नम’ अर्थात् पुरानो मरिसकेको र नयाँ जन्मन नसकेको संक्रमणकाल भनेका छन् ।
यस संक्रमणकालीन विश्वलाई बुझ्न लेखकले तीनवटा मुख्य शक्ति केन्द्रहरूको परिकल्पना गरेका छन् । त्यसलाई उनले ‘शक्तिको त्रिकोण’ (द ट्रायंगल अफ पावर) को संज्ञा दिएका छन्।
यस त्रिकोणमा पश्चिमा विश्व (ग्लोबल वेस्ट), पूर्वेली विश्व (ग्लोबल ईस्ट) र दक्षिणी विश्व (ग्लोबल साउथ) समाविष्ट छन् ।
पहिलो ध्रुव ‘ग्लोबल वेस्ट’ मा अमेरिका, युरोपेली संघ र तिनीहरूका प्रजातान्त्रिक साझेदारहरू जस्तै जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र क्यानडा पर्छन् ।
विश्व जनसंख्याको करिब १५ प्रतिशत ओगटेको तर विश्व अर्थतन्त्रको आधाभन्दा बढी हिस्सा ओगट्ने (आईएमएफका अनुसार, ५८.४४ प्रतिशत) यो समूह ऐतिहासिक रूपमा नियममा आधारित उदार व्यवस्था, लोकतन्त्र र बजार पुँजीवादको संरक्षक रहँदै आएको छ । तर, वर्तमान समयमा यो समूह भित्रैबाट चरम ध्रुवीकरण, लोकप्रियतावाद (पपुलिजम) र ‘अमेरिका फर्स्ट’ जस्ता नीतिहरूका कारण धर्मराउन पुगेको छ ।
दोस्रो ध्रुव ‘ग्लोबल ईस्ट’ को नेतृत्व चीनले गरेको छ र यसलाई रुस तथा इरान, उत्तर कोरिया र बेलारुसजस्ता अधिनायकवादी शासनहरूले साथ दिएका छन् ।
यस समूहले पश्चिमा आधिपत्य र उदारवादी मूल्यमान्यताहरूलाई ठाडो चुनौती दिँदै सार्वभौमसत्ताको निरपेक्ष सम्मान, आन्तरिक मामिलामा अहस्तक्षेप र राज्य–नियन्त्रित पुँजीवादको वकालत गर्छ । स्टबका अनुसार, यो समूह नियममा आधारित व्यवस्थालाई भत्काएर शक्तिको आधारमा प्रभाव क्षेत्र निर्धारण गर्ने प्रणाली पुनःस्थापना गर्न चाहन्छ ।
यस त्रिकोणको तेस्रो र सबैभन्दा निर्णायक कोण ‘ग्लोबल साउथ’ हो । त्यसमा एसिया, अफ्रिका, मध्यपूर्व र ल्याटिन अमेरिकाका विकासशील तथा उदीयमान राष्ट्रहरू पर्छन् । विश्वको आधाभन्दा बढी जनसंख्या र राष्ट्रहरू समेटेको यो समूह आर्थिक र जनसांख्यिक दृष्टिले तीव्र गतिमा अघि बढिरहेको छ ।
विश्वको भावी स्वरूप कस्तो हुनेछ भन्ने कुरा ग्लोबल वेस्ट वा ग्लोबल ईस्टले मात्र तय गर्न नसक्ने र बीचमा रहेको ग्लोबल साउथले कुन दिशा लिन्छ भन्ने कुराले निर्धारण गर्ने स्टबको केन्द्रीय तर्क छ । ग्लोबल साउथ कुनै एक ढिक्का वा विचारधारात्मक समूह होइन । यसमा भारत र ब्राजिलजस्ता लोकतन्त्रदेखि साउदी अरबजस्ता राजतन्त्रहरू समावेश छन् ।
तर, उनीहरूको एउटा साझा मनोविज्ञान छ । उनीहरू पश्चिमाहरूको दोहोरो मापदण्ड र नैतिक उपदेशबाट आजित भइसकेका छन् । वास्तवमा उनीहरू अन्तर्राष्ट्रिय संस्थाहरूमा समान प्रतिनिधित्व चाहन्छन् र कुनै पनि शक्ति समूहको पक्ष नलिई आफ्नो राष्ट्रिय स्वार्थ अनुकूल ‘रणनीतिक असंलग्नता’ वा ‘बहु–संलग्नता’ (मल्टी–एलाइनमेन्ट) अभ्यास गरिरहेका छन् ।
यी तीन शक्तिहरूबीचको अन्तर्क्रियालाई स्टबले तीनवटा गतिशीलता अर्थात् प्रतिस्पर्धा, द्वन्द्व र सहकार्य मार्फत व्याख्या गरेका छन् । उनका अनुसार, प्रतिस्पर्धा अपरिहार्य छ र त्यो राजनीति, अर्थतन्त्र, प्रविधि वा भूराजनीतिमा भइरहेको छ । तर, यो प्रतिस्पर्धा द्वन्द्वमा रूपान्तरण नहोस् भन्नका लागि जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय व्यापार, प्रविधि नियमन र आणविक अप्रसार लगायतका विश्वव्यापी साझा हितका मुद्दाहरूमा सहकार्य अनिवार्य हुन्छ ।
यसै सन्दर्भमा स्टबले पश्चिमा जगतका लागि नयाँ कूटनीतिक दर्शन प्रस्ताव गरेका छन् । त्यसलाई उनले ‘मूल्यमान्यतामा आधारित यथार्थवाद’ (भ्यालुज–बेस्ड रियालिजम) वा ‘हेलसिन्की यथार्थवाद’ भनेका छन् । यसको अर्थ, पश्चिमाहरूले आफ्ना लोकतान्त्रिक मूल्यमान्यताहरू त्याग्नु हुँदैन तर ती मूल्यमान्यताहरू विश्वका अरू देशमाथि जबर्जस्ती लाद्ने धृष्टता पनि गर्नु हुँदैन । उनीहरूले भिन्न राजनीतिक प्रणाली भएका देशहरूसँग पनि साझा स्वार्थका आधारमा मर्यादित, व्यावहारिक र सम्मानजनक संवाद गर्नुपर्छ ।
स्टबले पुस्तकमा बहुपक्षीयता (मल्टिल्याटरलिजम) र बहुध्रुवीयता (मल्टिपोलारिटी) बीच अत्यन्त स्पष्ट तर वैचारिक रूपमा गहिरो विभाजन रेखा कोरेका छन् । धेरैजसो समकालीन भूराजनीतिक विमर्शमा यी दुई शब्दावलीहरूलाई प्रायः एकअर्काको पूरक वा पर्यायवाची जस्तै गरी प्रयोग गरिन्छ । तर, स्टबले यसलाई पूर्णतया विपरीत र परस्पर विरोधी अवधारणाहरूका रूपमा प्रस्तुत गरेका छन् ।
यस भिन्नतालाई बुझाउन उनले बीसौं शताब्दीका दुई ऐतिहासिक कूटनीतिक कोशेढुंगाहरूको रूपक प्रयोग गरेका छन्ः सन् १९४५ को याल्टा सम्मेलन र सन् १९७५ को हेलसिन्की सम्मेलन ।
स्टबका अनुसार, सन् १९४५ मा क्राइमियाको याल्टामा फ्य्रांकलिन रुजवेल्ट, विन्स्टन चर्चिल र जोसेफ स्टालिनबीच भएको समझदारी ‘बहुध्रुवीयता’ को निकृष्ट उदाहरण थियो । याल्टामा ठूला महाशक्तिहरूले साना र मध्यम राष्ट्रहरूको अस्तित्व र सार्वभौमसत्तालाई लत्याउँदै विश्वलाई आफ्ना ‘प्रभावक्षेत्र’ (स्फेयर्स अफ इन्फ्लुएन्स) मा भागबन्डा गरेका थिए ।
स्टबको व्याख्यामा बहुध्रुवीयता भनेको शक्तिको कुलीनतन्त्र (ओलिगोपोली अफ पावर) हो । यस्तो व्यवस्थामा अन्तर्राष्ट्रिय राजनीति केही सीमित ध्रुवहरूको शक्तिसंघर्ष, तात्कालिक स्वार्थ र अवसरवादी गठबन्धनहरूमा आधारित हुन्छ ।
उनका अनुसार, बहुध्रुवीय प्रणालीमा साझा नियमहरूको कुनै सम्मान हुँदैन । त्यहाँ ‘जसको शक्ति, उसको भक्ति’ अर्थात् शक्तिको बलमा निर्णयहरू लादिन्छन् । यसले गर्दा साना देशहरू ठूला शक्तिहरूको चेपुवामा पर्छन् र अन्ततः यो व्यवस्था अराजकता, अस्थिरता र विनाशकारी द्वन्द्वतर्फ उन्मुख हुन्छ ।
यसको ठीक विपरीत, स्टबले सन् १९७५ को हेलसिन्की सम्मेलनलाई ‘बहुपक्षीयता’ को आदर्श नमूना मानेका छन् । हेलसिन्कीमा ३३ युरोपेली राष्ट्रहरू, अमेरिका र क्यानडाले एकै ठाउँमा बसेर सबैका लागि समान रूपमा लागू हुने सुरक्षा र मानवअधिकारका नियमहरू निर्माण गरेका थिए । त्यहाँ ठूला र साना सबै राष्ट्रहरूलाई समान मताधिकार र प्रभावको अवसर दिइएको थियो ।
स्टबको दृष्टिमा बहुपक्षीयता भनेको साझा संस्था, अन्तर्राष्ट्रिय कानुन र सर्वसम्मत नियमहरूमा आधारित सहकार्यात्मक प्रणाली हो जसको केन्द्रमा संयुक्त राष्ट्रसंघ जस्ता संस्थाहरू रहन्छन् ।
उनका अनुसार, बहुपक्षीयताले सबै राष्ट्रहरूलाई आकार र शक्तिको परवाह नगरी सार्वभौम समानता प्रदान गर्छ र व्यक्तिगत स्वार्थलाई सामूहिक स्वार्थसँग जोड्छ । बहुपक्षीयताले स्थिरता र व्यवस्था सिर्जना गर्छ भने बहुध्रुवीयताले अव्यवस्था र अराजकता निम्त्याउँछ । त्यसैले विश्वले आज याल्टाको बहुध्रुवीय बाटो नभई हेलसिन्कीको बहुपक्षीय बाटो रोज्नुपर्छ भन्ने स्टबको निष्कर्ष छ ।
स्टबले बहुपक्षीयता र बहुध्रुवीयताबीच गरेको यो विभाजन सुन्दा आकर्षक र नैतिक रूपमा उच्च लागे तापनि अन्तर्राष्ट्रिय सम्बन्धको यथार्थवादी सिद्धान्त र गैरपश्चिमा दृष्टिकोणबाट हेर्दा यो अत्यन्त त्रुटिपूर्ण, पूर्वाग्रही र एकांकी छ । लेखकले बहुध्रुवीयतालाई जसरी नकारात्मक, द्वन्द्व निम्त्याउने र अधिनायकवादीहरूको औजारका रूपमा चित्रित गरेका छन्, त्यसमा धेरै गम्भीर सैद्धान्तिक र ऐतिहासिक विचलनहरू स्पष्ट देखिन्छन् ।
पहिलो र सबैभन्दा ठूलो त्रुटि के हो भने स्टबले बहुध्रुवीयतालाई ‘आदर्श’ वा ‘नैतिक छनोट’ का रूपमा बुझेका छन् जबकि अन्तर्राष्ट्रिय सम्बन्धको यथार्थवादी सिद्धान्त (स्ट्रक्चरल रियालिजम) अनुसार बहुध्रुवीयता कुनै छनोट वा विचारधारा होइन । यो त अन्तर्राष्ट्रिय प्रणालीमा भौतिक शक्तिको वस्तुगत वितरण (अब्जेक्टिभ डिस्ट्रिब्युसन अफ पावर) को अवस्था मात्र हो ।
विश्व राजनीतिमा धेरै राष्ट्रहरू आर्थिक, सैन्य र प्रविधिगत रूपमा शक्तिशाली बन्दै गएपछि प्रणाली स्वतः बहुध्रुवीय बन्छ । चीन, भारत, ब्राजिलजस्ता देशहरूको आर्थिक उदय पश्चिमाहरूको अनुमति वा स्वेच्छामा भर पर्ने कुरा होइन । यो ऐतिहासिक विकासक्रमको स्वाभाविक परिणाम हो ।
स्टबले बहुध्रुवीयतालाई रुस र चीनले पश्चिमा प्रभुत्व ढाल्न रचेको षड्यन्त्र जस्तो गरी प्रस्तुत गरेर यसको संरचनात्मक यथार्थलाई नजरअन्दाज गरेका छन् । बहुध्रुवीयता हुनु वा नहुनु मानवीय इच्छाको विषय होइन । यो एक अकाट्य वस्तुगत यथार्थ हो ।
दोस्रो, स्टबले बहुपक्षीयता र बहुध्रुवीयताबीच कृत्रिम र असत्य द्वन्द्व (फल्स डाइकोटोमी) खडा गरेका छन् । बहुध्रुवीयताले बहुपक्षीयतालाई नष्ट गर्छ भन्ने उनको तर्क छ । तर, ऐतिहासिक र व्यावहारिक रूपमा हेर्दा वास्तविक र सन्तुलित बहुपक्षीयता बहुध्रुवीय विश्वमा मात्र सम्भव हुन्छ ।
शीतयुद्धपछि अमेरिकाको एकल वर्चस्वको समयमा विश्व एकध्रुवीय थियो । त्यतिबेला बहुपक्षीयता शक्तिशालीको इच्छा पूरा गर्ने आवरण बन्न पुग्यो । सन् २००३ मा अमेरिकाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई लत्याएर इराकमाथि आक्रमण गरेको स्टब आफैंले स्वीकार गरेका छन् । त्यो आक्रमण एकध्रुवीय शक्तिको अहंकारको परिणाम थियो, बहुध्रुवीयताको होइन ।
शक्ति एउटै केन्द्रमा सीमित भएपछि बहुपक्षीय संस्थाहरू त्यस महाशक्तिको भूराजनीतिक औजार बन्न पुग्छन् । बहुध्रुवीयताले कुनै पनि एउटा शक्तिलाई एकलौटी मनपरी गर्नबाट रोक्छ र त्यसले गर्दा नै सबै पक्ष मिलेर नियम बनाउनुपर्ने बाध्यता अर्थात् वास्तविक बहुपक्षीयताको जन्म हुन्छ । तसर्थ, बहुध्रुवीयता बहुपक्षीयताको शत्रु होइन । यो त लोकतान्त्रिक बहुपक्षीयताको अनिवार्य पूर्वशर्त हो ।
तेस्रो, स्टबले ग्लोबल साउथका देशहरूको बहुध्रुवीयताप्रतिको चाहनालाई गलत ढंगले अर्थ्याएका छन् । उनले याल्टाको रूपक प्रयोग गर्दै बहुध्रुवीयताले साना देशहरूलाई प्रभावक्षेत्रको बन्दी बनाउँछ भन्ने दाबी गरेका छन् । तर, भारत, दक्षिण अफ्रिका वा इन्डोनेसिया जस्ता ग्लोबल साउथका राष्ट्रहरू बहुध्रुवीयतालाई शक्तिको भागबन्डाका रूपमा नभई अन्तर्राष्ट्रिय सम्बन्धको लोकतान्त्रीकरणका रूपमा हेर्छन् ।
पश्चिमा एकाधिकार रहेको विश्व व्यवस्थामा ग्लोबल साउथका देशहरूले सधैं दोस्रो दर्जाको नागरिकको नियति भोग्नुपरेको थियो । उनीहरूका लागि बहुध्रुवीयता भनेको विकल्पहरूको उपलब्धता हो ।
आज ग्लोबल साउथका देशहरूले पूर्वाधार विकासका लागि पश्चिमा हालीमुहाली रहेको विश्व बैंकमा मात्र भर पर्नु पर्दैन, उनीहरूसँग एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक वा ब्रिक्सको न्यु डेभलपमेन्ट बैंकको विकल्प छ ।
बहुध्रुवीयताले नै साना र विकासशील देशहरूलाई महाशक्तिहरूको दबाब झेल्न सक्ने बार्गेनिङ पावर र रणनीतिक स्वायत्तता दिएको छ ।
चौथो, स्टबले युरोपेली दृष्टिकोणलाई नै सार्वभौमिक सत्य मान्ने गल्ती गरेका छन् । फिनल्यान्डको ऐतिहासिक पृष्ठभूमि (जहाँ रुसको निरन्तरको धम्की र हस्तक्षेपको त्रास छ) बाट हेर्दा ठूला छिमेकीहरूको ‘प्रभावक्षेत्र’ खतरनाक लाग्नु स्वाभाविक हो । तर, ल्याटिन अमेरिका, अफ्रिका वा एसियाका लागि अमेरिकी एकध्रुवीयता पनि कम हिंस्रक र अन्यायपूर्ण थिएन ।
शीतयुद्धका दौरान वा त्यसपछि पनि पश्चिमाहरूले गरेका सैन्य हस्तक्षेप, सत्ता परिवर्तनका खेल र आर्थिक नाकाबन्दीहरूको मार यही तथाकथित ‘उदार नियममा आधारित व्यवस्था’ भित्रै ग्लोबल साउथले भोगेको थियो । त्यसैले, बहुध्रुवीयतालाई ‘अराजकता र युद्धको स्रोत’ भनेर चित्रण गर्नु पश्चिमकेन्द्रित संकीर्णता हो । यसले गैरपश्चिमा विश्वको मुक्ति, स्वायत्तता र न्यायको आकांक्षालाई देख्न अस्वीकार गर्छ ।
यति हुँदाहुँदै पनि अलेक्जेन्डर स्टबको यो कृति समकालीन अन्तर्राष्ट्रिय सम्बन्धको साहित्यमा पठनीय र विचारोत्तेजक योगदान हो । लेखकको विशिष्ट पृष्ठभूमिले पुस्तकलाई गरिमा प्रदान गरेको छ ।
स्टब विश्वविद्यालयको कोठामा बसेर सिद्धान्त कोर्ने प्राज्ञ मात्र होइनन्, उनी प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय कूटनीतिको मन्थनमा सहभागी भएका राष्ट्रप्रमुख हुन् । उनले भ्लादिमिर पुटिन, सी चिनपिङ, डोनल्ड ट्रम्प, सर्गेई लाभरोभ र भोलोदिमिर जेलेन्स्कीसँग गरेका प्रत्यक्ष भेटघाट र संवादका जीवन्त प्रसंगहरूले पुस्तकलाई प्रामाणिक, रोचक र व्यावहारिक बनाएका छन् ।
सन् २००८ को जर्जिया युद्धका बेला युद्धविराम गराउन उनले खेलेको भूमिका वा हालै फ्लोरिडामा ट्रम्पसँग गल्फ खेल्दै गरेका वार्ताका सन्दर्भहरूले पुस्तकलाई कूटनीतिको वास्तविक दस्तावेज बनाएका छन् ।
पश्चिमा कमजोरी, दम्भ र दोहोरो मापदण्डप्रति लेखकले देखाएको असाधारण आत्मस्वीकारोक्ति प्रशंसनीय छ । धेरैजसो पश्चिमा नेता र विश्लेषकहरू आफ्ना त्रुटिहरू ढाकछोप गर्न रुचाउँछन् तर स्टबले निर्धक्क भएर सन् २००१ को सेप्टेम्बर ११ पछि पश्चिमाहरूले स्वतन्त्रताभन्दा सुरक्षालाई माथि राखेर र अरू देशहरूलाई शक्ति हस्तान्तरण गर्न नमानेर ऐतिहासिक ‘दोहोरो गल्ती’ गरेको लेखेका छन् ।
उनले इराक युद्धको गैरकानुनी चरित्र, सन् २००८ को आर्थिक संकटले पुँजीवादमा पारेको धक्का र गाजामा भएको युद्धमा अमेरिकाले इजरायललाई दिएको अन्धसमर्थनले गर्दा पश्चिमाहरूको नैतिक धरातल कसरी भत्कियो भन्ने कुरालाई खुलेर स्वीकार गरेका छन् ।
उनले भारतका विदेशमन्त्री एस. जयशंकरको चर्चित भनाइ ‘युरोपले आफ्ना समस्या विश्वका समस्या हुन् तर विश्वका समस्या युरोपका समस्या होइनन् भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ’ लाई उद्धृत गर्दै उक्त भनाइ पूर्णतया सही भएको स्वीकारेर बौद्धिक इमानदारीको प्रमाण प्रस्तुत गरेका छन् ।
पुस्तकले ग्लोबल साउथको शक्ति र भूमिकालाई दिएको केन्द्रीयता अर्को तारिफयोग्य पक्ष हो । स्टबले आफ्ना पश्चिमा सहकर्मीहरूलाई चेतावनी दिँदै ग्लोबल साउथलाई उपेक्षा गर्नु नैतिक दृष्टिले मात्र नभई रणनीतिक दृष्टिले पनि महाभूल हुने भनेका छन् । अबको विश्वको शक्ति सन्तुलन यही समूहको हातमा छ भन्ने उनको विश्लेषणले पश्चिमा कूटनीतिलाई नयाँ शिराबाट सोच्न बाध्य पार्नेछ । उनले अफ्रिका र एसियाका देशहरूको जनसांख्यिक लाभांश, प्रविधिमा भइरहेको प्रगति (जस्तै केन्याको एम–पेसा) र उनीहरूको रणनीतिक असंलग्नताको यथार्थपरक विश्लेषण गरेका छन् ।
पुस्तक वर्तमान युगका बहुआयामिक चुनौतीहरूको विश्लेषणमा सान्दर्भिक छ । लेखकले परम्परागत सैन्य द्वन्द्वमा मात्र आफूलाई सीमित नराखी प्रविधि, साइबर युद्ध, डेटा सार्वभौमसत्ता, आपूर्ति शृंखलालाई हतियार बनाउने काम र जलवायु परिवर्तनजस्ता गैर–परम्परागत सुरक्षा चुनौतीहरूलाई भूराजनीतिको केन्द्रमा राखेर हेरेका छन् ।
सन् २०२४ को क्रिसमसको दिन फिनल्यान्ड र एस्टोनिया जोड्ने समुद्री केबुल काटिएको घटनाबाट सुरु गरेर हाइब्रिड युद्ध कसरी आधुनिक समाजको दैनिक जीवनमा प्रवेश गरिसकेको छ भन्ने उनको चित्रण निकै सटीक छ ।
पुस्तक निराशा बाँड्ने वा समस्या मात्र देखाउने काममा सीमित छैन । यसले सुधारका ठोस र व्यावहारिक उपायहरू पनि अघि सारेको छ । विशेषगरी, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को सुधारका लागि स्टबले महासभामा आफैंले तीन बुँदे प्रस्तावहरू प्रस्तुत गरेका थिए ।
त्यसअन्तर्गत सुरक्षा परिषद्का स्थायी सदस्य संख्या दोब्बर बनाएर १० पुर्याउने (जसमा ल्याटिन अमेरिकाबाट एक, अफ्रिकाबाट दुई र एसियाबाट दुई थप्ने), एकल राष्ट्रको भिटो अधिकार पूर्ण रूपमा खारेज गर्ने र राष्ट्रसंघको बडापत्र उल्लंघन गर्ने सदस्यको मताधिकार निलम्बन गर्ने प्रस्ताव थियो । यो अन्तर्राष्ट्रिय संस्थागत सुधारका लागि निकै क्रान्तिकारी र ठोस प्रस्ताव हो ।
पुस्तक केही गम्भीर वैचारिक र व्यावहारिक सीमाहरूबाट मुक्त हुन भने सकेको देखिँदैन । लेखकले अघि सारेको ‘मूल्यमा आधारित यथार्थवाद’ (भ्यालुज–बेस्ड रियालिजम) को अवधारणात्मक रूपमा अस्पष्ट लाग्छ । यथार्थवाद (रियालिजम) ले शक्ति, राष्ट्रिय स्वार्थ र अस्तित्वलाई केन्द्रमा राख्छ भने उदारवादले मूल्य, आदर्श र कानुनलाई प्राथमिकता दिन्छ ।
यी दुई परस्परविरोधी सिद्धान्तहरूलाई जोडेर बनाइएको यो अवधारणा व्यवहारमा कसरी लागू हुन्छ भन्नेमा स्टब अल्मलिएका देखिन्छन् । पश्चिमा मूल्य (मानवअधिकार र लोकतन्त्र) र रणनीतिक स्वार्थ (जस्तै, तेल आपूर्तिका लागि साउदी अरबसँगको सम्झौता वा भूराजनीतिक सन्तुलनका लागि भारतसँगको निकटता) बीच प्रत्यक्ष टकराव आउँदा कुन कुराले प्राथमिकता पाउँछ भन्ने प्रश्नको प्रस्ट उत्तर लेखकसँग छैन । वास्तवमा यो अवधारणा पश्चिमाहरूको सुविधाजनक दोहोरो चरित्रलाई नै नयाँ भाषामा वैधता दिने प्रयास जस्तो देखिन पुग्छ ।
त्यसैगरी लेखकले गरेका प्रस्तावहरूको चरम आदर्शवाद र अव्यावहारिकता पाठकलाई खट्किन्छ । उनले सुरक्षा परिषद्को स्थायी सदस्य संख्या बढाउने र भिटो अधिकार खारेज गर्ने प्रस्ताव गरेको भए पनि विद्यमान पाँच स्थायी सदस्यहरू (अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स) ले आफ्नो भिटो विशेषाधिकार आफैं त्याग्ने कुनै सम्भावना छैन । बडापत्र संशोधन गर्न नै ती पाँचै देशको सहमति चाहिन्छ ।
आफ्नो यस प्रस्तावमा राष्ट्रसंघका १८८ देशले ताली बजाए पनि पाँच स्थायी सदस्यहरू मौन बसेको भनी स्वयं स्टबले नै स्वीकार गरेका छन् । यसरी कार्यान्वयन नै हुन नसक्ने प्रस्तावहरू अघि सार्नुले उनको ‘यथार्थवाद’ माथि नै प्रश्नचिह्न खडा गर्छ ।
पश्चिमा उदार लोकतन्त्रप्रतिको लेखकको गहिरो पूर्वाग्रह र अधिनायकवाद सम्बन्धी सपाट वर्णन पनि चित्तबुझ्दो छैन । लोकतन्त्र नै निर्विकल्प रूपमा उत्कृष्ट शासन व्यवस्था हो र जेलमा, निर्वासनमा वा कफिनमा गरी अधिनायकवादी शासकहरूको अन्त्य तीन तरिकाले हुन्छ भनी स्टबले स्पष्ट रूपमा लेखेका छन् ।
यस दृष्टिकोणले चीनजस्तो विशाल देशको विशिष्ट ऐतिहासिक, सांस्कृतिक र संस्थागत निरन्तरतालाई बुझ्न सक्दैन । चीनको कम्युनिस्ट पार्टीको शासन कुनै एकल तानाशाहको सनकमा मात्र टिकेको छैन । त्यो एउटा जटिल, प्राविधिक र कार्यसम्पादनमा आधारित विशाल प्रणाली हो जसले करोडौं जनतालाई गरिबीबाट मुक्त गरेको छ ।
वास्तवमा पश्चिमा उदार लोकतन्त्र नै मानव इतिहासको अन्तिम सत्य हो भन्ने फुकुयामावादी धङधङीबाट लेखक अझै पूर्ण रूपमा मुक्त हुन सकेका छैनन् यद्यपि उनी पुस्तकभरि आफू यथार्थवादी भएको दाबी गरिरहन्छन् ।
पुस्तक अत्यधिक युरोप–केन्द्रित र वर्तमान राजनीतिक घटनाक्रमहरू (विशेषगरी ट्रम्पको पुनरागमन र युक्रेन युद्ध) द्वारा अत्यधिक प्रभावित छ । पुस्तक पढ्दा कतैकतै यस्तो लाग्छ, विश्वको सम्पूर्ण संकट युक्रेन युद्ध र रुसी आक्रामकताका कारण मात्र सिर्जना भएको हो ।
लेखकले गाजा र सुडानको चर्चा गरेका त छन् तर पुस्तकको अधिकांश ऊर्जा रुसको निन्दा गर्न र युरोपको सुरक्षा कसरी जोगाउने भन्ने चिन्तामै खर्चिएको छ ।
अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको जीतपछि उत्पन्न भएको ट्रान्स–एट्लान्टिक सम्बन्धको भयले लेखकलाई धेरै सताएकाले गर्दा पुस्तकले दीर्घकालीन ऐतिहासिक विश्लेषणको गहिराइ गुमाएर कतिपय ठाउँमा समसामयिक पत्रिकाको लामो स्तम्भ जस्तो रूप लिएको भान हुन्छ ।
यसका बावजुद यो पुस्तक वर्तमान युगको जटिल, तरल र दिशाहीन भूराजनीतिक यथार्थलाई बुझ्नका लागि महत्त्वपूर्ण कृति हो । यसले शीतयुद्धपछिको एकध्रुवीय विश्वको अन्त्य भइसकेको र अबको भविष्य पश्चिमा, पूर्व र दक्षिणबीचको त्रिकोणात्मक शक्ति सन्तुलनले तय गर्नेछ भन्ने तथ्यलाई निकै सशक्त रूपमा स्थापित गरेको छ ।
लेखकले बहुध्रुवीयतालाई अनावश्यक रूपमा नकारात्मक रंग दिएर र त्यसलाई बहुपक्षीयताको विरोधीका रूपमा चित्रित गरेर सैद्धान्तिक त्रुटि गरेको भए तापनि पश्चिमा दम्भको खण्डन गर्दै ग्लोबल साउथलाई विश्व व्यवस्थाको मञ्चमा सम्मानजनक स्थान दिनुपर्छ भन्ने उनको आह्वान अत्यन्त सान्दर्भिक, प्रगतिशील र स्वागतयोग्य छ ।
यो पुस्तक अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थी, कूटनीतिज्ञ र नीति निर्माताहरूका लागि पनि मूल्यवान् छ किनकि यसले प्राज्ञिक बौद्धिकता मात्र प्रस्तुत गर्दैन । यसले विश्व राजनीतिलाई प्रत्यक्ष सञ्चालन गरिरहेका नेतृत्वहरूको मनोविज्ञान र व्यावहारिक बाध्यताहरूलाई पनि उजागर गर्छ ।
पश्चिमा जगतले समयमै आफ्ना गल्तीहरू सच्याएर अन्तर्राष्ट्रिय संस्थाहरूमा विकासशील विश्वलाई न्यायोचित स्थान दिँदै समावेशी बहुपक्षीय व्यवस्था निर्माण गर्न सकेन भने विश्व क्रमशः द्वन्द्व, विभाजन र विनाशकारी अराजकतातर्फ धकेलिनेछ भन्ने स्टबको निष्कर्ष निर्विवाद छ । त्यसैले केही सैद्धान्तिक सीमा र पश्चिमा केन्द्रीयताका बावजुद बदलिँदो विश्व व्यवस्थाको अन्तरकुन्तर नियाल्न चाहने जोकोहीका लागि यो पुस्तक अपरिहार्य बौद्धिक खुराक हो ।
This review was first published on Clickmandu.
