‘द न्यु डार्क एजेज’ समीक्षा : पुस्तक पढ्न छोडेर स्मार्टफोनमा रमाउने उत्तर–साक्षर समाजको विभीषिका

October 17, 2026
Featured image for “‘द न्यु डार्क एजेज’ समीक्षा : पुस्तक पढ्न छोडेर स्मार्टफोनमा रमाउने उत्तर–साक्षर समाजको विभीषिका”

केही समययता संसारभरिका मानिस स्मार्टफोनका लती हुन थालेका छन् । पुस्तक पढ्न मन नगर्ने तर दिनरातभरि फोनमा झुण्डिने मानिसको संख्या बढिरहेको छ ।

यसले उत्तर–साक्षर समाजको जन्म गराइरहेको बेलायती लेखक तथा स्तम्भकार जेम्स म्यारियटको हालै प्रकाशित पुस्तक ‘द न्यु डार्क एजेजः द डेथ अफ रिडिङ एन्ड द डन अफ द पोस्ट–लिटरेट सोसाइटी’ ले तर्क गरेको छ ।

यो पुस्तक आधुनिक मानव सभ्यताका सामु उभिएको गम्भीर सांस्कृतिक र बौद्धिक संकटमाथिको गहन विमर्श हो । लेखकले यस कृतिमा छापाखानाको आविष्कारपश्चात् विकसित भएको साक्षरताको गौरवमय परम्परा कसरी द्रुत गतिमा क्षय भइरहेको छ र त्यसको स्थान स्मार्टफोन, सामाजिक सञ्जाल तथा छोटो भिडियोको संस्कृतिले कसरी लिँदैछ भन्ने कटु यथार्थलाई प्रस्तुत गरेका छन् ।

मुद्रण संस्कृतिको अवसान पढ्ने बानीको अन्त्य मात्र होइन । त्यसले आधुनिक लोकतन्त्र, वैज्ञानिक चेतना, विवेक र प्रबुद्धताको जग नै भत्काइरहेको दाबी म्यारियटले गरेका छन् । इतिहास, स्नायुविज्ञान, सञ्चार सिद्धान्त र समकालीन राजनीतिक घटनाक्रमलाई एउटै कसीमा राखेर म्यारियटले पाठकलाई नयाँ ‘अन्धकार युग’ को चित्र प्रस्तुत गरेका छन् । समाज अहिले पुनः पूर्व–साक्षर युगको जस्तै संवेगात्मक र अधिनायकवादी प्रवृत्तितर्फ फर्कन थालेको लेखकको तर्क छ ।

मानव मस्तिष्कको बनावट र साक्षरताको जैविक सम्बन्धबाट पुस्तकको वैचारिक विमर्श सुरु हुन्छ । म्यारियटले स्नायुवैज्ञानिक तथा समाजशास्त्रीय अध्ययनहरूलाई उद्धृत गर्दै बोल्ने कला मानवका लागि प्राकृतिक भए पनि पढ्ने र लेख्ने क्षमता पूर्णतया कृत्रिम प्रविधि भएको स्पष्ट पारेका छन् ।

हजारौं वर्ष लगाएर मानिसले आफ्नो मस्तिष्कलाई अक्षरहरू डिकोड गर्न र त्यसबाट अमूर्त विचार निर्माण गर्न प्रशिक्षित गरेको थियो । वाल्टर ओङ र मारियान वुल्फजस्ता चिन्तकहरूको विचारलाई अघि सार्दै लेखक गहन पठनले मस्तिष्कका दुई गोलार्धलाई जोड्ने ‘कर्पस क्यालोसम’ लाई बाक्लो बनाउने र मानिसमा विश्लेषणात्मक तथा तार्किक क्षमताको विकास गर्ने तर्क गर्छन् ।

लिखित शब्दले विचारलाई बाह्य रूपमा स्थिर गरेर त्यसको वस्तुगत परीक्षण गर्ने सुविधा प्रदान गरेकाले ग्रिसेली दर्शनदेखि कान्टको दर्शनसम्मको अमूर्त चिन्तन सम्भव भयो । तर, आज स्क्रिन र सामाजिक सञ्जालको आगमनले हाम्रो मस्तिष्कलाई पुनः टुक्रा–टुक्रा सूचनाहरूमा मात्र ध्यान दिने गरी पुनःसंरचना गरिरहेको छ । त्यसले गर्दा गम्भीर पुस्तक पढ्ने क्षमता नै गुम्दै गएको छ ।

पुस्तकमा ‘पठन क्रान्ति’ र प्रबुद्धताको उदयको ऐतिहासिक रेखांकन पनि गरिएको छ । ईसाको अठारौं शताब्दीको मध्यतिर युरोपमा सर्वसाधारणमा पढ्ने लहर फैलिएपछि त्यसलाई तत्कालीन रूढिवादीहरूले ‘महामारी’ वा ‘पागलपन’ को संज्ञा दिएका थिए । जोहानेस गुटेनबर्गको छापाखाना र मार्टिन लुथरको प्रोटेस्टेन्ट धर्मसुधार आन्दोलनले सुरु गरेको यस लहरले अन्ततः ज्ञानमाथिको कुलीन वर्गको एकाधिकारलाई तोडेको थियो ।

लेखकले फ्रान्सेली दार्शनिक भोल्तेयरले जाँ कालाको मुद्दामा चलाएको अभियानलाई स्मरण गर्दै कसरी मुद्रणले निरंकुश सत्ताविरुद्ध जनमत सिर्जना गरेको थियो भनी देखाएका छन् । युर्गेन हाबरमासको ‘सार्वजनिक वृत्त’ (पब्लिक स्फियर) को अवधारणालाई जोड्दै म्यारियटले मुद्रण संस्कृतिले ‘उत्कृष्ट तर्कको प्राधिकार’ स्थापित गरेको देखाएका छन् ।

राजा–महाराजाहरूको भव्य तडकभडकलाई चुनौती दिँदै तर्क, तथ्यांक र प्रमाणका आधारमा बहस गर्ने लोकतान्त्रिक संस्कार यही पठन संस्कृतिको उपज थियो । त्यसले उन्नाईसौं र बीसौं शताब्दीमा श्रमिक वर्गको बौद्धिक मुक्ति र सार्वभौमिक मताधिकारको आन्दोलनलाई सम्भव तुल्यायो ।

तर, स्क्रिनको उदय र त्यसले निम्त्याएको ‘महान् सरलीकरण’ (द ग्रेट सिम्प्लीफिकेशन अर्थात् दिमागै नलगाइकन बुझ्न सकिने सस्तो सामग्रीको बाढी) त्रासदीका रूपमा आएको छ । लेखकका अनुसार, यो प्रक्रिया स्मार्टफोनबाट मात्र सुरु भएको हैन । बीसौं शताब्दीको मध्यमा टेलिभिजनको प्रवेशसँगै यसको बीजारोपण भएको थियो ।

निल पोस्टम्यानको प्रसिद्ध पुस्तक ‘अम्युजिङ आवरसेल्भ्स टु डेथ’ को स्मरण गर्दै म्यारियट टिभीले गम्भीर विचारलाई सतही मनोरञ्जनमा परिणत गरिदिएको उल्लेख गर्छन् । सन् २००७ मा स्टिभ जब्सले आईफोन सार्वजनिक गरेपछि भने यस समस्याले अनियन्त्रित रूप लियो ।

अहिले टिकटक, इन्स्टाग्राम र युट्युबजस्ता मञ्चहरूले मानिसको सम्पूर्ण ध्यान कब्जा गरेका छन् । मिस्टरबिस्टजस्ता युट्युबरको आन्तरिक कार्यविधि वा एल्गोरिदमको विश्लेषण गर्दै लेखकले कसरी गुणस्तरलाई पन्छाएर दर्शकलाई अल्झाइराख्ने ‘संवेगात्मक उत्तेजना’ लाई प्राथमिकता दिइन्छ भनी देखाएका छन् ।

परिणामस्वरूप, समाजमा ‘बोधोपन’ बढेको छ । पप संगीतका शब्दहरू सरल बन्दै जानु, चलचित्रहरू पुरानै कथाका सिक्वेल वा रिमेकमा सीमित हुनु र बेस्टसेलर पुस्तकका वाक्यहरू सन् १९३० को तुलनामा एक तिहाइले छोटिनु यसै महान् सरलीकरणका प्रमाण हुन् । फिल्म हेर्दाहेर्दै मोबाइल चलाउने मानिसको ध्यान फिल्ममा राखिराख्न नेटफ्लिक्सले स्क्रिनप्ले लेख्नेहरूलाई अति सरल पटकथा लेख्न लगाउन थालेको प्रसंग रोचक छ ।

म्यारियटले पुस्तकको चौथो खण्डमा ‘अज्ञान’ (डिसइन्लाइटनमेन्ट) को त्रासदीपूर्ण यथार्थ केलाएका छन् । बीसौं शताब्दीभरि बढ्दो क्रममा रहेको मानव बौद्धिकता (आईक्यू) अहिले पढ्ने बानी कम हुँदै जाँदा विकसित देशहरूमा घट्न थालेको छ । त्यसलाई ‘रिभर्स फ्लिन इफेक्ट’ भनिएको छ ।

विद्यालय र विश्वविद्यालयहरूमा विद्यार्थीहरूको ध्यान केन्द्रित गर्ने र लामा ग्रन्थ बुझ्ने क्षमता ध्वस्त भएको छ । यस बौद्धिक शून्यताको ठाउँ पुनः आदिम अन्धविश्वास र षड्यन्त्र सिद्धान्तहरूले लिन थालेका छन् ।

प्रभावशाली अमेरिकी सञ्चारकर्मी टकर कार्लसनले आफूलाई ओछ्यानमै ‘राक्षसले आक्रमण गरेको’ दाबी गर्नु, पिटर थिलजस्ता प्रविधि क्षेत्रका अर्बपतिहरूले ‘एन्टीक्राइस्ट’ को आगमनको भविष्यवाणी गर्नु र वैज्ञानिक तथ्यहरूलाई नकारेका खोपविरोधी आन्दोलनहरू चर्कनु यसै अज्ञानका उपज हुन् ।

समाज लिखित शब्दको तार्किक अनुशासनबाट मुक्त भएपछि त्यो पुनः मौखिक युगको जस्तै काल्पनिक, डरलाग्दो र विचित्र कथाहरूको पछि लाग्न पुग्ने लेखकले तर्क गरेका छन् ।

यस पतनको सबैभन्दा भयानक प्रभाव लोकतन्त्रमाथि परिरहेको लेखकको विश्लेषण छ । मुद्रणको युगमा राजनीतिज्ञहरू आफ्ना नीति र विचारलाई विस्तृत रूपमा लेखेर वा बोलेर पुष्टि गर्थे भनी छैटौं अध्यायमा म्यारियटले देखाएका छन् । ह्यारी ट्रुम्यान, विन्स्टन चर्चिल र जोन एफ. केनेडीजस्ता नेताहरू गम्भीर पाठक थिए र उनीहरूको बोलीमा पनि पुस्तकको गाढा प्रभाव हुन्थ्यो ।

तर, न्युट गिंग्रिचले सुरु गरेको टेलिभिजन–केन्द्रित द्वन्द्वको राजनीति हुँदै अहिले डोनल्ड ट्रम्प र नयाब बुकेलेजस्ता नेताहरूको युग आइपुगेको छ । आधुनिक राजनीति नीतिगत बहसबाट च्युत भएर छोटो भिडियो, चर्को नारा र भद्दा तमासामा रूपान्तरित भएको छ । लेखकले केनेडी र ट्रम्पका भाषणहरूको तुलना गरेर यस क्षयीकरणको राम्रो उदाहरण प्रस्तुत गरेका छन् ।

स्थानीय पत्रपत्रिकाहरू बन्द हुनुले नागरिकहरूलाई स्थानीय र राष्ट्रिय मुद्दाहरूबाट बेखबर बनाएको छ । युट्युबको ‘सराउन्डेड’ जस्ता कार्यक्रमहरूमा हुने झैझगडाले वर्तमान राजनीतिको स्तरलाई देखाउँछ ।

एल साल्भाडोरका राष्ट्रपति बुकेलेले टिकटकको उपयोग गरेर कसरी एउटा नयाँ प्रकारको अधिनायकवादलाई आकर्षक बनाएका छन् भन्ने उदाहरण दिँदै म्यारियट अब लोकतन्त्र विस्तारै नव–सामन्तवादमा परिणत हुँदै गइरहेको चेतावनी दिन्छन् । यसमा प्रविधिबाट आफ्ना सन्तानलाई टाढा राख्न सक्ने सम्पन्न वर्ग मात्र ‘पठनशील वर्ग’ बन्नेछ र बाँकी विशाल जनसमुदाय भने स्क्रिनको लतमा परेर राजनीतिक गोटीमा परिणत हुनेछ ।

पुस्तकको संरचनात्मक र वैचारिक सबलताको पाटो निकै लोभलाग्दो छ । म्यारियटको लेखनशैली प्रवाहपूर्ण, धारिलो र बौद्धिक रूपमा उत्तेजक छ । उनले जटिल समाजशास्त्रीय र दार्शनिक विषयलाई आम पाठकले सहजै बुझ्न सक्ने गरी व्यक्तिगत संस्मरणहरूसँग जोडेका छन् ।

आफ्ना पुस्तकप्रेमी पिताको प्रभाव, लन्डनको पुरानो पुस्तक पसलमा काम गर्दाको अनुभव र स्मार्टफोनको कुलत छुटाउन आफूले गरेका संघर्षहरूले पुस्तकलाई प्राज्ञिक शुष्कताबाट जोगाएर मानवीय संवेदना प्रदान गरेका छन् । यसका साथै लेखकले आफ्नो दाबी पुष्टि गर्न अघि सारेका पुरातन इजिप्टको लेखक ‘दुआ–खेती’ को प्रसंग होस् वा भिक्टर ह्युगोको अन्त्येष्टिमा उर्लिएको जनसागर लगायतका ऐतिहासिक दृष्टान्तहरू जीवन्त छन् ।

समकालीन सन्दर्भमा जेनजीमा विद्यमान अध्ययन समस्या, एआईको प्रभाव र राजनीतिक विमर्शको स्तरमा आएको गिरावटलाई इतिहासका कालखण्डसँग तुलना गर्ने उनको सामर्थ्य यस पुस्तकको प्रमुख शक्ति हो ।

पुस्तकको अन्तिम निष्कर्ष पनि प्रशंसनीय छ । म्यारियटले पुस्तकको बचाउमा सस्तो भावुकता पोखेका छैनन् । उनले ‘मनोरञ्जनका लागि पढौं’ भन्ने अभियानहरूको आलोचना गर्दै भिडियो गेम र टिकटकको युगमा पुस्तकले सतही मनोरञ्जनको प्रतिस्पर्धा जित्न सक्दैन भनी स्पष्ट पारेका छन् ।

उनले पुस्तकको वास्तविक मूल्य त्यसको जटिलतामा निहित रहेको बताएका छन् । पुस्तक पढ्नु परिश्रमको काम हो र यही परिश्रमले मानिसलाई सोच्न, प्रश्न गर्न र संसारलाई अर्थपूर्ण एकाइका रूपमा बुझ्न सिकाउँछ । यस यथार्थपरक दृष्टिले पुस्तकलाई सस्तो उपदेशमा सीमित हुनबाट बचाएको छ ।

यस पुस्तकका केही सीमाहरू पनि छन् । प्रविधिका विषयमा अत्यधिक निराशावादी र विगतको समाजप्रतिको नोस्टाल्जिक दृष्टिकोण लेखकको कमजोरीका रूपमा देखा पर्छ । म्यारियटले डिजिटल प्रविधि र इन्टरनेटलाई विनाशको कारकका रूपमा मात्र चित्रण गरेका छन् । इन्टरनेटले ज्ञानको लोकतन्त्रीकरणमा पुर्‍याएको अभूतपूर्व योगदान, विश्वभरका दुर्लभ ग्रन्थहरूमा सर्वसाधारणको सहज पहुँच, अडियोबूक र डिजिटल अनुसन्धानका सम्भावनाहरूलाई उनले लगभग पूर्णतः बेवास्ता गरेका छन् । नयाँ सञ्चारमाध्यम आउँदा पुरानो पुस्ताले सधैं सभ्यताको अन्त्य देख्ने ऐतिहासिक पूर्वाग्रहबाट लेखक पनि मुक्त हुन सकेका छैनन् ।

पुस्तकको पश्चिमा–केन्द्रित दृष्टिकोण अर्को कमजोरी हो । लेखकले उठाएका ऐतिहासिक र समकालीन उदाहरणहरू प्रायः बेलायत, फ्रान्स र अमेरिकामा मात्र सीमित छन् । साक्षरता भर्खरै विस्तार हुँदै गरेको र डिजिटल माध्यमले आवाजविहीनहरूलाई नयाँ राजनीतिक शक्ति दिएको विश्वका अन्य भागहरूतर्फ पुस्तकले दृष्टि पुर्‍याउन सकेको छैन ।

यसका अतिरिक्त, म्यारियटले विगतको मुद्रण युगलाई आवश्यकताभन्दा बढी आदर्शवादी बनाएका छन् । छापाखानाकै युगमा पनि प्रोपागान्डा, नश्लवादी साहित्य, पीत पत्रकारिता र फासीवादी आन्दोलनहरू उत्कर्षमा पुगेका थिए भन्ने तथ्यलाई उनले स्वीकार गरे पनि त्यसको गहिराइलाई स्क्रिनको तुलनामा निकै कम आँकेका छन् ।

विगतका सबै मानिसहरू गम्भीर पाठक थिए र अहिलेका सबै मानिसहरू विवेकहीन भएका छन् भन्ने किसिमको विभाजन पनि ऐतिहासिक रूपमा सत्य ठहरिँदैन ।

केही पूर्वाग्रह र सीमाहरूका बाबजुद जेम्स म्यारियटको ‘द न्यु डार्क एजेज’ महत्त्वपूर्ण र समयसापेक्ष कृति हो । यसले हामी बाँचिरहेको डिजिटल संसारको चमकधमकका पछाडि लुकेको भयावह शून्यतालाई निर्भीकतापूर्वक उजागर गरिदिएको छ ।

अहिले मानिसहरू आफ्नै ध्यानको एकाग्रता गुमाउँदै गइरहेका छन् र राजनीति तर्कबाट संवेगमा झरिसकेको छ । यस्तो अवस्थामा यस पुस्तकले गम्भीर चेतावनीको घण्टी बजाउँछ ।

पुस्तकहरू मानव चेतना र लोकतन्त्रको रक्षाका लागि कति अपरिहार्य छन् भन्ने कुरा म्यारियटले प्रमाणित गरेका छन् । बौद्धिक आलस्य र डिजिटल कोलाहलको यस युगमा आफ्नो चेतनालाई जोगाइराख्न चाहने पाठकका लागि यो पुस्तकको अध्ययन सार्थक हुनेछ ।

This review was first published on Clickmandu.


Share:

Leave a Reply