आणविक परीक्षण गर्ने ट्रम्पको उद्घोष: विश्व शीतयुद्धतर्फ फर्किन लागेको हो ?

November 9, 2025

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता विरोधी शक्तिहरूकै स्तरमा आणविक परीक्षण गर्न युद्ध मन्त्रालय पेन्टागनलाई निर्देशन दिएको उद्घोष गरेपछि शीतयुद्धकालीन डर फर्केर आएको छ ।

रुसले आणविक शक्तिबाट चल्ने र आणविक वारहेड समेत राख्न मिल्ने बुरेभेस्तनिक क्रुज क्षेप्यास्त्रको सफल परीक्षण गरिएको र यसको दायरा असीमित भएको घोषणा गरेपछि ट्रम्पको भनाइ सार्वजनिक भएको हो । उनको यस भनाइले विगत तीन दशकदेखि शक्तिराष्ट्रहरूले कायम गरेको संयम भत्किन थालेको संकेत पाइन्छ । यसलाई प्रतिस्पर्धात्मक भूराजनीतिक अभिव्यक्ति मान्ने कि विश्व आणविक विस्फोटको जोखिममा पर्न लागेको मान्ने विषयमा विश्लेषकहरूले तर्कवितर्क गरिरहेका छन् ।

तर, संसार धेरैजनाले कल्पना गरेभन्दा बढी खतरनाक स्थितिमा पुगेको छ । ट्रम्पका अभिव्यक्तिहरू अमेरिकाका मतदातासमक्ष उनको निर्णायक नेताको छवि निर्माणको प्रयास मात्र नभई अमेरिकाका प्रतिस्पर्धीहरूलाई कठोर सन्देश दिनका लागि आइरहेको हुन सक्छ । तथापि, यस परीक्षणले ल्याउने शृंखलाबद्ध परिणामले अकल्पनीय क्षति गर्नेछ ।

सन् १९९० को दशकयता आणविक हतियार भएका मुलुकहरूले त्यसको परीक्षण गरेका छैनन् । अमेरिकाले पछिल्लोपटक सन् १९९२ मा डिभाइडर नाम दिएर आणविक परीक्षण गरेको थियो । सोभियत संघले सन् १९९० मा त्यस्तो परीक्षण गरेकोमा त्यसको पतनपछि रुसले आणविक परीक्षण गरेकै छैन । सन् १९९१ मा बेलायतले आणविक परीक्षण गरेको थियो भने चीनले सन् १९९६ को जुलाईमा अन्तिमपटक आणविक परीक्षण गरेको थियो । यस सहस्राब्दीमा उत्तर कोरियाले सन् २०१७ को सेप्टेम्बर महिनामा आणविक परीक्षण गरेको थियो र त्यसका लागि संयुक्त राष्ट्रसंघले उसमाथि कठोर प्रतिबन्ध लगाएको छ ।

तर, ट्रम्पले अहिले आएर आणविक परीक्षणको कुरा झिकेर विश्व व्यवस्थाको सञ्चालनलाई जोखिममा पारेका छन् । उनको यस अभिव्यक्तिले आणविक हतियार भएका मुलुकका युद्धसमर्थकहरूलाई प्रोत्साहन मिलेको छ । आणविक शक्तिसम्पन्न मुलुकहरू आणविक परीक्षण र क्षेप्यास्त्र निर्माणको होडबाजीमा लाग्न थाल्ने सम्भावना बढेको छ ।

यस आणविक प्रतिस्पर्धाले शीतयुद्धको आरम्भिक वर्षहरूको झझल्को दिएको छ । त्यतिखेर अमेरिका र तत्कालीन सोभियत संघले रक्षात्मक प्रयोजनका लागि भनेर आणविक हतियारको परीक्षण गरेका थिए । अर्को पक्षले देखाएको उत्तेजनात्मक व्यवहारको जवाफमा परीक्षण गरेको जिकिर लिने मुलुकले आणविक हतियारबाट हुने ठूलो मानवीय क्षतिलाई समेत अवमूल्यन गर्ने गरेका थिए । तर, त्यतिखेर कूटनीतिले आणविक युद्ध हुनबाट रोकेको थियो ।

तर, अहिले प्रविधि र राजनीतिले कूटनीतिलाई पछि पारिरहेको देखिएको छ । साइबर युद्ध, मिथ्या सूचना दिने अभियान र कमजोर अन्तर्राष्ट्रिय निकायका कारण संकट टार्न कठिन हुन थालेको छ । मुलुकहरूले गोप्य रूपमा के योजना बनाइरहेका छन् भन्ने कुरा थाहा हुन छोडेको छ ।

रुसले बुरेभेस्तनिकको परीक्षण गरेर माथिको कुरालाई पुष्टि गरेको छ । रुसले त्यति खतरनाक हतियार बनाइरहेको कुरा अमेरिकाले थाहै पाएन । यो हतियारको असीमित दायरा र गोप्य रूपमा उडाउन सकिने क्षमताका विषयमा रुसले दाबी गरेको भए पनि विज्ञहरूले त्यसमा शंका व्यक्त गरेका छन् । तर, हतियारको प्राविधिक क्षमता यहाँ असान्दर्भिक छ ।

यस परीक्षणमार्फत रुसले अमेरिकालाई आणविक हतियारमा नवप्रवर्तन गर्न चुनौती दिएको हो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका लागि यो हतियार निवारण (डिटरेन्स) को राम्रो माध्यम हो । यसमार्फत उनले संसारलाई रुसको शक्तिलाई कम नआँक्न सन्देश दिएका छन् ।

रुसले दिएको चुनौतीको जालोमा फसेर ट्रम्पले पेन्टागनलाई आणविक परीक्षण गर्ने निर्देशन दिएका हुन् । तर, यसले सन् १९९२ देखि अमेरिकाले अपनाउँदै आएको नीतिको उल्लंघन गर्नेछ । विगत ३३ वर्षमा अमेरिकाले अत्याधुनिक कम्प्युटर सिमुलेशन र न्युक्लियर चेन रियाक्शन नहुने गरी रासायनिक विस्फोटन गराउने सबक्रिटिकल परीक्षणहरू मात्र गर्दै आइरहेको छ । यी विकल्पहरूले अमेरिकालाई आणविक विस्फोट नगराइकनै विश्वसनीयता कायम गर्न सहयोग गरिरहेका छन् ।

त्यसो त अमेरिकाका ऊर्जामन्त्री क्रिस राइटले परीक्षणका क्रममा आणविक विस्फोट नगरिने र यसमा आणविक हतियारका अन्य अंशहरू संलग्न हुने भनी स्पष्ट पारेका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले ननक्रिटिकल परीक्षण गर्ने बताएका छन्।

तर, अमेरिकाले आणविक परीक्षण गरेपछि त्यसको शृंखलाबद्ध परिणामहरू देखिनेछन् । रुस, चीन र उत्तर कोरिया पनि परीक्षण गर्नका लागि उत्प्रेरित हुनेछन् । वर्षौंदेखि कूटनीतिक पहलमार्फत रोकिएका परीक्षणहरू फेरि सुरु गर्दा खुला आणविक प्रतिस्पर्धा हुन थाल्नेछ ।

यस्तो अवस्थामा आणविक खतराका विषयमा प्रकाशित प्रसारित सामग्रीहरूको महत्त्व बढेर जान्छ । पंक्तिकारले हालै नेटफ्लिक्सबाट प्रसारित फिल्म ‘ए हाउस अफ डाइनामाइट’ हेर्ने अवसर पाएको थियो । त्यस फिल्ममा रेडारबाट प्राप्त चेतावनीलाई बेवास्ता गरेर ढिलो सञ्चार हुँदा आइलाग्ने आणविक खतरालाई रोमाञ्चक रूपमा प्रस्तुत गरिएको छ ।

अमेरिकामाथि भएको आणविक हतियारको आक्रमणलाई सामना गर्ने सन्दर्भमा सेनाले प्रिएम्पटिभ स्ट्राइकका लागि राष्ट्रपतिलाई दिएको दबाब, आफ्ना गुप्तचर निकायको सूचनाप्रति राष्ट्रपतिले देखाएको संशय र रुससँगको तनावपूर्ण कूटनीतिक संवादका कारण उत्पन्न स्ट्रेसलाई फिल्मले रोचक तरिकाले देखाएको छ । आणविक हतियार गर्वको विषय भन्दा पनि मानवतालाई नष्ट गर्ने साधन हो भन्ने कटु यथार्थलाई फिल्मको काल्पनिक परिदृश्यले चित्रित गरेको छ ।

उक्त फिल्मको कथा एन्नी जेकबसेनको पुस्तक ‘न्युक्लियर वार: ए सिनारियो’ बाट प्रेरित छ । पत्रकार जेकबसेनले आणविक हतियार विस्फोट भएमा १० वर्षसम्म केही पनि उब्जनी नहुने गरी न्युक्लियर विन्टर आउने, त्यसले विश्वव्यापी खडेरी ल्याएर पाँच अर्ब मानिसको मृत्यु हुने र सभ्यता नै ध्वस्त हुने परिदृश्यको सम्भावनालाई पुस्तकमा औंल्याएकी छन् ।

यो किताब र यससँग प्रेरित फिल्मको चर्चा अपरिहार्य छ किनकि आणविक हतियारका विषयमा सतही चर्चा हुने गरेका छन् । लामो समयदेखि आणविक परीक्षण नगरिएकाले मानिसहरूमा यसको गम्भीरताका विषयमा ज्ञानको अभाव छ । त्यसको साटो व्यापारयुद्ध, आतंकवाद वा जलवायु परिवर्तनले ल्याएको विनाशका विषयहरूको बाक्लो चर्चा भइरहेको छ ।

तर, अन्तर्राष्ट्रिय राजनीतिमा आणविक परीक्षणको चर्चा चल्न थालेपछि त्यसले ल्याउने विनाश कति दूरगामी हुन्छ भन्ने विषयमा विश्वभरका मानिस सचेत हुनु जरूरी छ ।

आधुनिक हतियारमा भएका वारहेडहरूको विनाशकारी शक्ति अकल्पनीय छ । जम्मा एउटा आणविक वारहेडले पनि अनेकौं शहरहरूलाई ध्वस्त बनाइदिन सक्छ । त्यसले पुस्तौंपुस्तासम्म रोगव्याधि ल्याइदिन्छ ।

दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको हिरोशिमा र नागासाकीमा अणुबम प्रहार गर्दा त्यहाँका निवासीहरूको नाति पुस्तासम्मलाई क्यान्सर लागेको विभिन्न अध्ययनहरूले देखाएका छन् । त्यसैले रुस र चीनको बराबरी गर्नका लागि अमेरिकाले पनि समान स्तरमा आणविक परीक्षण गर्नुपर्छ भनी ट्रम्पले गरेको घोषणाले खतरनाक तथ्यलाई बेवास्ता गरेको देखिन्छ । त्यो के भने, कुनै पनि देशले आणविक युद्ध जित्न सक्दैन । यसमा संसारकै हार हुन्छ ।

जति धेरैपटक आणविक शक्तिहरूले परीक्षण र तैनाथी गर्छन्, त्यति नै तिनीहरूको प्रणाली जटिल बन्दै जान्छ । प्राविधिक गल्ती वा गलत बुझाइको जोखिम अझ बढी हुन्छ । इतिहासले यस विषयमा डरलाग्दा पाठहरू पढाएको छ ।

सन् १९८३ मा स्टानिस्लाभ पेत्रोभ नामक एक सोभियत अधिकारीले सम्भावित आणविक युद्ध रोक्न सफलता पाएका थिए । त्यतिखेर अमेरिकाबाट भएको भनिएको क्षेप्यास्त्र आक्रमणको सूचना वास्तवमा कम्प्युटरको गल्ती थियो भनी उनले बुझेका थिए र सोभियतलाई प्रत्याक्रमण गर्नबाट रोकेका थिए ।

शीतयुद्धको समयमा यस्ता घटनाहरू भइरहन्थे । आजको समयमा द्रुत गतिका हतियार, स्वचालित रक्षा प्रणाली र साइबर कमजोरीहरूका कारण त्यस्तै गलत चेतावनीले सोच्नका लागि अझै कम समय दिन सक्छ ।

यस पृष्ठभूमिमा अमेरिकाले रुसको नक्कल गर्नु भन्दा पनि संयम देखाएर नेतृत्व गर्नु जरूरी छ । विस्फोटक परीक्षणमाथि लगाइएको रोक कायम राख्नु, आणविक परीक्षण प्रतिबन्ध सन्धि अन्तर्गत जाँच प्रणाली बलियो बनाउनु र गलत निर्णयको जोखिम घटाउनका लागि मस्को र बेइजिङसँग प्रत्यक्ष संवाद पुनः सुरु गर्नु वाञ्छनीय छ । यी कदमहरू साना देखिन सक्छन् तर तिनीहरूले अनियन्त्रित तनावको अवसर आउन दिँदैनन् । शक्तिराष्ट्रहरूले धम्की दिँदै हिँड्ने भन्दा पनि विपत रोक्ने नियमहरूलाई दृढतापूर्वक पालना गर्नुपर्छ ।

यसलाई शीतयुद्धको पुनरागमन भन्न मिल्छ त ? यो शीतयुद्ध नै त हैन होला । तर, यसको प्रतिध्वनि सुन्न थालिएको छ । प्रतिस्पर्धाको भाषामा, परीक्षणको धम्कीमा र हतियार नियन्त्रणका नियमहरूको क्षयीकरणमा शीतयुद्धका प्रतिध्वनिहरू सुनिएकोमा ती अझै ठूलो हुने कि होइनन् भन्ने कुरा नेताहरूका निर्णयमा निर्भर छ ।

विश्व अहिले एउटा दोबाटोमा उभिएको छ । एउटा बाटो भिडन्ततर्फ जान्छ भने अर्को संयम र सहकार्यतर्फ । आणविक हतियारलाई शक्तिप्रदर्शनको साधनको रूपमा हेरिन्छ कि डिटरेन्सको माध्यमका रूपमा मात्र लिएर अन्य कुरामा ध्यान दिइन्छ भन्ने कुराले निकट भविष्यलाई निर्धारण गर्नेछ ।

This article was first published on Clickmandu.


Share:

Leave a Reply