‘नोबडीज गर्ल’ समीक्षा: धनी र शक्तिशालीहरूबाट भएको यौन दुर्व्यवहारविरुद्धको लडाइँको दस्तावेज

November 9, 2025

बेलायतका राजकुमार एन्ड्रुले यौन अपराधी जेफ्री एप्स्टीनसँग मित्रता कायम गर्दै बालिका तथा किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनको राजकीय उपाधि खोसिएको छ । उनले दरबार पनि छोड्नुपर्ने भएको छ ।

लामो समयदेखि यस विषयमा विवाद चलिरहेको थियो । विशेषगरी एन्ड्रुमाथि बलात्कार तथा यौन दुर्व्यवहारको आरोप लगाएकी महिला भर्जिनिया रोबर्ट्स जोफ्रेको पुस्तक प्रकाशन भएपछि बेलायती राजकुमारलाई राजपरिवारबाट बेदखल गर्नका लागि दबाब परेको थियो ।

यही सन्दर्भमा भर्जिनियाको ‘नोबडीज गर्ल: ए मेमोआर अफ सर्भाइभिङ एब्युज एन्ड फाइटिङ फर जस्टिस’ नामक संस्मरणको समीक्षाको प्रयास गरिएको छ । संस्मरणमा बालिका हुँदादेखि नै किशोरावस्थासम्म भर्जिनियाले बेहोरेको यौन दुर्व्यवहारको दुर्दान्त कथा छ ।

यौन अपराधीहरूको शिकार बनेकी भर्जिनिया पछि पीडितहरूका लागि संघर्ष गर्ने निडर अभियन्तामा रूपान्तरण भएको घटनाक्रम पुस्तकमा समेटिएको छ । केही समयअघि उनले आत्महत्या गरेकी थिइन् । यो पुस्तक उनको मृत्युपछि गत अक्टोबर महिनाको तेस्रो हप्तामा प्रकाशित भएको हो ।

भर्जिनियालाई बालिका हुँदादेखि नै यौनको नमीठो अनुभव भएको थियो । स्वयम् उनका पिताले उनीमाथि दुर्व्यवहार गर्ने गरेका थिए । पिताले आफ्नै छोरीसँग हाडनाता करणी गरेको कुरा पुस्तकमा उल्लेख गरिएको छ । अझ त्यतिले नपुगेर पिताले आफ्ना साथीलाई समेत छोरीको बलात्कार गर्न दिएका थिए । पछि पिता र उनको बलात्कारी साथीले आफूहरूलाई खराब कर्ममा उद्यत गराएको भन्दै उल्टै भर्जिनियालाई दोषी देखाएका थिए । यसरी बाल्यकालमै आफ्ना संरक्षकबाट बलात्कृत भएकी भर्जिनियाको मनोविज्ञानमा नराम्रो असर परेर उनी अन्य यौन शिकारीहरूको चंगुलमा पर्न थालिन् ।

रोन एपिंगर नामक धनाढ्य व्यक्तिले पनि भर्जिनियाको यौन शोषण गरेका थिए । भर्जिनियालाई बालसुधार केन्द्रमा पनि राखियो । त्यहाँको अवस्था निकै खराब थियो र त्यहाँ पर्याप्त हेरचाह पनि हुँदैनथियो । पछि उनी आफ्ना पिताको सिफारिसमा डोनल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो महलमा काम गर्न पुगिन् । त्यहाँ उनको भेट गिलेन म्याक्सवेलसँग भयो । उनी धनाढ्य अपराधी जेफ्री एप्सटीनकी प्रेमिका हुन् । उनैले भर्जिनियालाई एप्सटीनकोमा मसाज गर्न लगिन् । मसाज गराएसँगै एप्सटीनले भर्जिनियासँग बलात्कार गरे । त्यसपछि उनी एप्सटीनको आपराधिक संसारमा फसिन् ।

एप्सटीन र म्याक्सवेलले जानिबुझिकन भर्जिनिया जस्ता जोखिममा परेका किशोरीहरूलाई फसाउने गरेका थिए । गरीब वा घरबारविहीन किशोरीहरूलाई मसाजको तालिम दिने वा करियर अगाडि बढाउनका लागि सहयोग गर्ने वाचासहित एप्सटीन र म्याक्सवेलले यौनधन्धामा लगाउने गरेका थिए ।

उनीहरूले फ्लोरिडास्थित ३५८ एल ब्रिलो वेमा भव्य महल बनाएर भर्जिनिया लगायतका किशोरीहरूलाई यौनदासीका रूपमा राखेका थिए । शारीरिक मात्र नभई मनोवैज्ञानिक दुर्व्यवहार पनि किशोरीहरूमाथि हुने गरेको थियो ।

भर्जिनियाको पुस्तक पढ्दै गर्दा पाठकलाई फ्रान्सेली लेखक मार्की द सादको उपन्यास ‘जस्टिन’को याद आउँछ । यौन अपराधको बारेमा लेख्ने द सादकै नाममा अंग्रेजी शब्द सेडिजम अर्थात् परपीडन बनेको हो ।

जस्टिन उपन्यासकी प्रमुख पात्र १२ वर्षीया किशोरीलाई मोनास्ट्रीमा तपस्वीहरूले सामूहिक बलात्कार गर्दै यौनदासी बनाएको वीभत्स वर्णन गरिएको छ । त्यसैगरी भर्जिनियालाई एप्सटीन र म्याक्सवेलले स्वयं बलात्कारपछि अरूलाई पनि बलात्कार गर्न दिएको प्रसंगहरूको उल्लेख भएको छ । यौनकर्म गराउनका लागि उनीहरूले भर्जिनियालाई अमेरिकाबाट बाहिर पनि लगेका थिए ।

त्यही क्रममा भर्जिनियाले राजकुमार एन्ड्रुलाई लन्डनमा भेटेकी थिइन् । एन्ड्रुले भर्जिनियासँग यौन सम्बन्ध कायम गर्नु आफ्नो जन्मसिद्ध अधिकार भएको जस्तो बेहोरा देखाएको पुस्तकमा उल्लेख छ । एन्ड्रु र म्याक्सवेलसँग भर्जिनियाले खिचेको तस्बिर (जसमा एन्ड्रुले भर्जिनियाको कम्मरमा हात राखेका छन्) नै पछि गएर एन्ड्रुलाई अभियोजन गर्ने बलियो प्रमाण बन्न पुग्यो ।

नोबडीज गर्लमा शक्ति सन्तुलनको असमानताको झल्को पाइनुका साथै अपराधीहरूले आफूलाई कानूनभन्दा माथि रहेको विश्वास गर्ने गरेको कुराको सटीक उदाहरण प्रस्तुत गरिएको छ ।

एप्सटीनले शक्तिशाली व्यक्तिहरू सम्बन्ध रहेको कुरामा अभिमान गर्ने गरेका थिए । उनले राजनीतिकर्मी, वैज्ञानिक र एन्ड्रु जस्ता राजपरिवारका सदस्य लगायत व्यक्तिहरूको ठूलो सञ्जाल बनाएका थिए । ती व्यक्तिहरूलाई भविष्यमा ब्ल्याकमेल गर्ने उद्देश्यले एप्सटीनले यौनकर्मका तस्बिर र भिडियो बनाएर राखेका थिए ।

यौन सेवा नलिएका शक्तिशाली पुरुषहरूले पनि भर्जिनियामाथि भइरहेको दुर्व्यवहार हेरेर पनि रोक्नका लागि प्रयास नगरेको पुस्तकमा उल्लेख गरिएको छ । शक्तिशाली व्यक्तिहरूले आफूलाई कानूनभन्दा माथि रहेको विश्वास गर्ने गरेको कुरालाई यसले प्रमाणित गर्छ ।

कानूनी र सामाजिक स्तरमा यस पुस्तकले एप्सटीनका गतिविधिहरू सम्भव बनाउन सहयोग गर्ने प्रणालीगत असफलताहरूको आलोचना गरेको छ । भर्जिनियाले कानूनी प्रणालीका झन्झटिला सीमाहरूतर्फ ध्यानाकर्षण गराएकी छन् । जस्तै, हदम्यादको प्रावधानले धेरैजसो पीडितहरूलाई वर्षौंपछि आफूमाथिको दुर्व्यवहारको बारेमा बोल्न तयार भएको अवस्थामा न्यायप्राप्तिमा रोक लगाउन खोजेको थियो ।

एप्सटीनसँग सन् २००८ मा अमेरिकी सरकारले गोप्य रूपमा अभियोजन नगर्ने सहमति गरेर उनी र उनका मतियारहरूलाई फौजदारी दायित्वबाट जोगाएको थियो । यसले भर्जिनियालाई आक्रोशित बनायो र उनले अझ दृढ भएर अन्यायका विरुद्ध लड्ने प्रतिबद्धता गरिन् । सीमापार हुने मानव तस्करीलाई सम्भव बनाउने प्रणालीगत असफलताहरूमा प्रकाश आफ्नो पार्नु अभियानको उद्देश्य रहेको भर्जिनिया लेख्छिन् ।

भर्जिनियाको जीवनयात्रा चार चरणमा विभाजित छ । संस्मरणलाई पनि भाग १ः छोरी, भाग २ः बन्दी, भाग ३ः उत्तरजीवी (सर्भाइभर) र भाग ४ः योद्धा भनेर विभाजन गरिएको छ ।

पीडा कम गराउनका लागि लठ्याउने पदार्थ खाएर निष्क्रिय बसेकी पीडितबाट आफ्नो पीडाको कथा संसारलाई सुनाउन सक्ने हिम्मतिली योद्धामा परिणत भएको भर्जिनियाको जीवनयात्रा आत्मबोध र परिवारप्रतिको समर्पणबाट प्रेरित छ ।

एप्सटीन र म्याक्सवेलले उनलाई आफ्ना लागि बच्चा जन्माउने साधनको रूपमा प्रयोग गर्न खोजेको थाहा पाएपछि भर्जिनियाको जीवनमा निर्णायक मोड आएको थियो । त्यसरी बच्चा पाएको भए उनी सदाका लागि एप्सटीनको दासी भएर बस्नुपर्ने हुन्थ्यो । त्यसपछि उनले थाइल्यान्ड भाग्ने योजना बनाइन् ।

मसाज तालिम लिने बहानामा थाइल्यान्ड पुगेकी भर्जिनियाले रोबी जोफ्रीलाई भेटेपछि स्वतन्त्रताको जीवन सुरु गरिन् । इटालियन मूलका अस्ट्रेलियाली रोबीसँगको प्रेममा परी थाइल्यान्डमा विवाह गरेकी भर्जिनिया अस्ट्रेलियामा बस्न थालेकी थिइन् ।

पति रोबीसँग दुईवटा छोरापछि एली नाम गरेकी छोरी जन्माएकी भर्जिनियाले छोरीलाई आफूले भोगेको पीडाबाट जोगाउनका लागि योद्धा बन्ने निर्णय लिइन् । छोरीको आमा बनेपछि मातृत्व प्रवृत्ति हावी भएर भर्जिनियालाई मौनता र निष्क्रियता त्याग्न प्रेरित ग‍रेको थियो । आफूलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकारबाट कसैले वञ्चित गर्न नसक्ने भनी उनले प्रण गरिन् ।

तर, यो वाचा पूरा गर्नका लागि साहसको ठूलो आवश्यकता थियो । सार्वजनिक गवाही दिनु, शक्तिशाली अपराधीहरूको पहिचान गर्नु र बारम्बार आफ्ना दुःखद स्मृतिहरू दोहो‍र्याएर बयान दिनु उनका लागि निकै कठिन काम थियो । उनले कठोर संघर्षबाट पाएको आन्तरिक शक्ति उपयोग गरी आफूमाथि दुव्र्यवहार भएका स्थानहरू (जस्तै, लुभ्र संग्रहालयको कोठा) को पुनः भ्रमण गरिन् । उनको आत्मकथा नै उनको रूपान्तरणको प्रतिफल हो किनकि उनले लामो मौनतापछि आफ्नो आवाज फिर्ता पाएकी हुन् ।

भर्जिनियाको दृढता उनको बाल्यकालदेखि नै देखिन्छ । ‘म पनि बलियो थिएँ, नत्र भने म अहिले यहाँ हुने थिइनँ,’ उनी लेख्छिन् । शक्तिशालीसँगको डर, आतंक र हीन भावनासँग जुधिरहन सक्नु वास्तविक दृढता हो ।

यो दृढता हासिल गर्नका लागि परिवारको साथ अपरिहार्य हुन्छ । उनका पति रोबी जोफ्रे शक्तिशाली उपचारको स्रोत भएको पुस्तकले स्पष्ट पार्छ । रोबीले भर्जिनियालाई स्वार्थरहित प्रेम र सुरक्षाको अनुभूति दिएका थिए । त्यस्तो प्रेम उनले बाल्यकालपछि कहिल्यै पाएकी थिइनन् ।

रोबीले आफूलाई थिचोमिचो गर्नेहरूलाई ध्वस्त पार्ने व्यक्ति (बुली ब्याशर) को रूपमा वर्णन गर्थे । उनले भर्जिनियाको अतीतका भयानक विवरणहरू सुनेर द्रवित हुँदै उनलाई अटुट साथ दिए र निरन्तर उनलाई ढाडस दिइरहे । उनले भर्जिनियालाई भावनामा नियन्त्रण गर्न सिकाए र सम्बन्धको सुमधुर पक्ष पनि प्रस्तुत गरे ।

भर्जिनियाको मनोवैज्ञानिक उपचार प्रक्रिया कठिन थियो । सुरक्षाको वातावरणले पनि उनलाई कहिलेकाहीँ उल्टो प्रभाव पारिदिन्थ्यो । आघातका सम्झनाहरू मनमा बाढीझैं आएर पीडा दिन्थे । त्यसपछि उनले व्यावसायिक थेरापिस्ट जुडिथ लाइटफुटको सहयोग लिइन् । जुडिथले उनलाई पीटीएसडी र हीन भावनाको सामना गर्न सिकाइन् । भर्जिनियाले विगतमा जबर्जस्ती गराइएका लज्जास्पद कामहरूका लागि (जस्तै, यौ अपराधीको मनोरञ्जनका लागि अरू किशोरीहरू ल्याइलिने काम) आफैंलाई माफ गर्न सिकिन् ।

उनले प्रतीकात्मक रूपमा आत्मनियन्त्रण फिर्ता लिनका लागि दुःस्वप्नहरूलाई कागजमा लेखेर जलाउने विधि अपनाइन् । त्यसो गर्दा उनको मनमस्तिष्कबाट अपराधीहरूको प्रभुत्व हट्न मद्दत पुगेको थियो ।

असाधारण व्यक्तिगत प्रगति र सार्वजनिक सफलताका बावजुद भर्जिनियाले गम्भीर स्वास्थ्य संकटहरू भोग्नुपरेको थियो । मेनिन्जाइटिस, गर्दन भाँचिएको स्थिति, फाइब्रोमायल्जिया र अन्ततः मानसिक स्वास्थ्य बिग्रँदै गएर सन् २०२२ मा आत्महत्याको प्रयाससम्म पुग्दा उनले बेहोरेको पीडाले पाठकलाई उद्वेलित गराउँछ ।

उनले यी अनुभवहरूलाई आफ्नो न्यायको यात्रामा निरन्तर आघात सम्झनुपरेको भावनात्मक थकानसँग जोडेकी छन् । अन्ततोगत्वा आफ्ना छोराछोरी र पतिको प्रेमले उनलाई फेरि उठ्न प्रेरित ग‍रेको थियो । उनले व्यक्तिगत स्वास्थ्य र परिवारमा केन्द्रित रही सन्तुलित जीवन बाँच्ने संकल्प गरिन् ।

भर्जिनियाको संस्मरण अन्य पीडितहरूका लागि प्रेरणाको स्रोतका रूपमा रहेको छ । उनीहरूले यो पुस्तकको अध्ययन गरी आफूलाई एक्लो नरहेको अनुभव गर्न सक्छन् । भर्जिनियालेसर्भाइभर सिस्टर्स र यौन दुव्र्यवहारका सबै पीडितहरूलाई आफ्नो पुस्तक समर्पण गरेकी छन् ।

आफ्ना तमाम कमजोरी र आत्महानिका क्षणहरू समेत उल्लेख गर्दै सम्पूर्ण जीवनकथा बताएर भर्जिनियाले पीडितको अनुभवबाट लज्जाको कलंक मेट्ने प्रयास गरेकी छन् । यौन आघात अपराध हो र यो लुकाएर राख्नुपर्ने कुरा होइन भनी उनले पुस्तकमा देखाएकी छन् ।

भर्जिनियाको संघर्षले कानूनमा परिवर्तनका लागि महत्त्वपूर्ण गति समेत दिएको छ । उदाहरणका लागि, न्युयोर्कमा देवानी मुद्दा दर्ता गर्नका लागि समयसीमा अर्थात् लुकब्याक विन्डो बढाउने कानूनहरू भर्जिनिया र अन्य उत्तरजीवीहरूकै पहलमा सम्भव भएको हो ।

शक्तिशाली प्रतिवादीहरूको डरलाई सामना गर्दै उनले निरन्तर कानूनी लडाइँ लडिन् । प्रतिवादीहरूले चरित्रहत्या गर्ने, इन्टरनेट ट्रोल लगाएर सामाजिक सञ्जालमा सताउने, रातिराति घरअगाडि गाडी पठाएर मूल ढोकामा बत्ती बालेर तर्साउने लगायतका काम गरेका थिए । कानूनी लडाइँमा डेभिड बोइस र सिग्रिड मककली जस्ता कानूनव्यवसायीहरूले उनलाई भरपूर साथ दिए । उनीहरूको अथक प्रयासले गर्दा राजकुमार एन्ड्रु र गिलेन म्याक्सवेलजस्ता अपराधीहरू कसुरदार ठहर भए । म्याक्सवेललाई २० वर्षको जेल सजाय सुनाइयो र उनी अहिले पनि कारागारमा छिन् । जेफ्री एप्सटीनले जेलमै सन् २०१९ मा आत्महत्या गरेका थिए यद्यपि कतिपयले हत्या भएको हुन सक्ने बताएका छन् ।

एप्सटीनले पीडित बनाएका महिलाहरूको समूह सर्भाइभर सिस्टर्सको गठन व्यक्तिगत डरलाई सामूहिक शक्तिमा रूपान्तरण गर्ने उम्दा प्रयास हो । यस्तो समूहमार्फत भर्जिनियाले पीडितहरूलाई एक हुन आग्रह गर्दै सँगै लड्दा सधैं बलियो भइने सन्देश दिएकी छन् ।

अदालती लडाइँसँगै भर्जिनियाले ‘स्पीक आउट, एक्ट, रिक्लेम’ (सोर) नामक गैरनाफामूलक संस्था पनि स्थापना गरिन् । यसले राजकुमार एन्ड्रु जस्ता पीडकहरूबाट प्राप्त क्षतिपूर्ति रकम मानव तस्करीका पीडितहरूको मुद्दा लड्न, पीडितहरूलाई सुरक्षा दिन र तस्करी रोकथाममा काम गर्ने संस्थाहरूलाई वितरण गर्ने प्रणाली बनाएको छ । यस संस्थामार्फत भर्जिनियाको व्यक्तिगत संघर्ष दीर्घकालीन समाजसेवामा रूपान्तरण भएको छ ।

भर्जिनिया रोबर्ट्स जोफ्रेको संस्मरण यौन शोषणको दीर्घकालीन विनाशकारी प्रभाव र त्यसविरुद्ध लड्नका लागि जुटाइएको अद्भुत साहसको जीवित प्रमाण हो । आतंकवादी समूह आईसिसको कब्जामा परी यौनदासी बन्न बाध्य महिला नादिया मुरादको पुस्तक ‘द लास्ट गर्ल: माई स्टोरी अफ क्याप्टिभिटी, एन्ड माई फाइट अगेन्स्ट दी इस्लामिक स्टेट’ पछिको सशक्त पुस्तक भर्जिनियाको नोबडीज गर्ल नै भएको समीक्षकको निष्कर्ष छ ।

धेरै अपेक्षा गरेविपरीत पुस्तकमा डोनल्ड ट्रम्पका बारेमा नकारात्मक चित्रण छैन । ट्रम्पले भर्जिनियासँग एकपटक कुराकानी हुँदा आत्मीयता नै देखाएको उल्लेख छ ।

एप्सटीन फाइल्समा ट्रम्पको पनि नाम छ भनी अमेरिकाका विवाद भइरहेको सन्दर्भमा भर्जिनियाको हकमा चाहिँ ट्रम्प यौन दुराचारी देखिँदैनन् । तर, एप्सटीनसँग उनको सम्बन्ध रहेकाले उनले भर्जिनियाबाहेकका अन्य किशोरीमाथि दुर्व्यवहार गरेका हुन सक्छन् । ट्रम्प प्रशासनले एप्सटीन फाइल्स सार्वजनिक नगरेर थप शंका जन्माएको छ ।

नेपालमा पनि सशस्त्र द्वन्द्वको समयमा भएका यौन हिंसाका जघन्य घटनाहरूमा पीडितले न्याय पाएका छैनन् । सत्यनिरूपण तथा मेलमिलाप आयोगमा विशिष्ट इकाइ बनाएर द्वन्द्वकालीन यौन हिंसाका घटनाको छानबिन गरी दोषीलाई कारवाहीको सिफारिस गर्ने भनिएको भए पनि हालसम्म आयोगले काम गरेको छैन । पीडितहलाई न्यायका दिलाउनका लागि भर्जिनिया र सर्भाइभर सिस्टर्सहरूले गरेको संघर्षले नेपालका यौनहिंसाका पीडितहरूलाई पनि न्यायको लडाइँमा हौसला दिन सक्छ ।

This review was first published on Clickmandu.


Share:

Leave a Reply