फोर्ट नक्सको सुनको अडिटका लागि ट्रम्पको माग, अमेरिकी डलरको जग हल्लिएको हो ?

June 3, 2026
Featured image for “फोर्ट नक्सको सुनको अडिटका लागि ट्रम्पको माग, अमेरिकी डलरको जग हल्लिएको हो ?”

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत अमेरिकाको सबैभन्दा ठूलो सुन भण्डार मानिने फोर्ट नक्समा रहेको सुनको भौतिक रूपमै गणना वा फिजिकल अडिट गरिनुपर्ने कुरा उठाएका छन् ।

यो राजनीतिक टिप्पणी मात्र नभएर दशकौंदेखि लुकाइएको ठूलो आर्थिक रहस्यको विस्फोट पनि हो ।

हालै मात्र अमेरिकी गुप्तचर निकाय सीआईएका एक उच्च अधिकारी डेभिड रसको घरबाट करिब ४ करोड डलर बराबरको सुनका बिस्कुट र विलासी घडीहरू बरामद गरिएको पृष्ठभूमिमा ट्रम्पको टिप्पणी आएको हो ।

एकजना सरकारी अधिकारीले त्यति ठूलो परिमाणमा सुन व्यक्तिगत प्रयोजनका लागि कसरी लुकाउन सफल भए भन्ने समाचारले आम अमेरिकी नागरिक र विश्व समुदायलाई नै सशंकित बनाएको छ ।

दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले यसै भवनमा आफ्नो सुन मात्र नभई संविधानका सक्कल प्रतिहरू समेत सुरक्षित राखेको थियो । आजको समयमा यो भवन सुनको भण्डार मात्र नभएर अमेरिकी डलरको साखको प्रतीक बनेको छ

रसमाथि सरकारी कोषको दुरुपयोग गरी व्यक्तिगत लाभका लागि सुन र नगद जम्मा गरेको आरोप लागेको छ । यस घटनाले सरकारी संयन्त्रभित्रको पारदर्शितामाथि पनि गम्भीर प्रश्न उठाएको छ ।

डेभिड रसको घटनाले ट्रम्पलाई फोर्ट नक्सको मुद्दा उठाउन बलियो आधार प्रदान गरेको देखिन्छ । रसले सीआईएमा रहँदा कामसँग सम्बन्धित खर्च भन्दै करोडौं डलरका सुनका बिस्कुट र विदेशी मुद्रा माग गरेका थिए । त्यो सुन पछि उनले आफ्नै घरमा लुकाएको भेटियो ।

एफबीआईको अनुसन्धानले उनी विगत दुई दशकदेखि आफ्नो पृष्ठभूमि र योग्यताका बारेमा झूटो बोलेर सरकारी सेवामा प्रवेश गरेको समेत खुलासा गरेको छ । यति उच्च सुरक्षा घेराभित्र रहेको निकायका अधिकारीले सुन लुकाउन सक्छन् भने देशको मुख्य भण्डार फोर्ट नक्समा रहेको सुनको अवस्था के होला भन्ने चिन्ता ट्रम्पले व्यक्त गरेका हुन् ।

फोर्ट नक्सलाई आधिकारिक रूपमा युनाइटेड स्टेट्स बुलियन डिपोजिटरी भनिन्छ । यो केन्टकी राज्यमा रहेको अभेद्य किल्ला मानिन्छ । यहाँ करिब १४ करोड ७० लाख औंस सुन रहेको दाबी गरिन्छ । यो अमेरिकाको कुल सुन भण्डारको आधा हिस्सा हो।

अचम्मको कुरा के भने सन् १९७४ पछि कुनै पनि बाह्य वा स्वतन्त्र निकायले यस सुनको भौतिक निरीक्षण गरेको छैन । फोर्ट नक्सको निर्माण सन् १९३६ मा गरिएको थियो । देशको सुनलाई तटीय सहरहरूबाट टाढा सुरक्षित ठाउँमा राख्नु त्यसको मुख्य उद्देश्य थियो ।

त्यसबेलाका राष्ट्रपति फ्य्रांकलिन डी. रूजबेल्टले गोल्ड रिजर्भ एक्ट १९३४ मार्फत अमेरिकी नागरिकहरूबाट सुन जफत गरेर सरकारी ढुकुटीमा जम्मा गरेका थिए । तत्कालीन समयमा नागरिकले घरमा सुन राख्नु गैरकानुनी बनाइएको थियो र सरकारले मानिसहरूलाई कागजी डलर दिएर उनीहरूको सुन आफैंले लिएको थियो ।

यसरी जम्मा भएको सुनको सुरक्षाका लागि फोर्ट नक्स जस्तो अति सुरक्षित भवन बनाइयो । त्यहाँको मुख्य ढोका नै २० टनभन्दा बढी वजनको छ र कुनै पनि एक व्यक्तिलाई यसको पूर्ण कम्बिनेसन थाहा हुँदैन ।

दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले यसै भवनमा आफ्नो सुन मात्र नभई संविधानका सक्कल प्रतिहरू समेत सुरक्षित राखेको थियो । आजको समयमा यो भवन सुनको भण्डार मात्र नभएर अमेरिकी डलरको साखको प्रतीक बनेको छ ।

ट्रम्पले उठाएको अडिटको मागले एउटा पुरानो र तीतो यथार्थलाई फेरि सतहमा ल्याइदिएको छ । सन् १९४४ मा भएको ब्रेटन वुड्स सम्झौताले डलरलाई विश्वको साझा मुद्रा बनायो र डलरको मूल्य सुनसँग जोडिएको थियो ।

त्यसबेला ४४ राष्ट्रहरूले डलरमा विश्वास गर्नुको एउटै कारण थियो । डलर ल्याएबापत अमेरिकाले जतिसुकै बेला सुन दिने ग्यारेन्टी गरेको थियो । तर, सन् १९६० को दशकमा अमेरिकाले भियतनाम युद्ध र अन्य सामाजिक कार्यक्रमका लागि आफ्नो ढुकुटीमा भएको सुनको तुलनामा कैयौं गुणा बढी डलर छाप्न थाल्यो ।

त्यतिखेर फ्रान्स जस्ता देशहरूले डलरको सट्टामा सुन माग्न थालेपछि अमेरिकाको ढुकुटीबाट सुन तीव्र गतिमा बाहिरिन थाल्यो । अन्ततः १५ अगस्ट १९७१ मा राष्ट्रपति रिचर्ड निक्सनले एउटा ऐतिहासिक घोषणा गर्दै डलरलाई सुनमा परिवर्तन गर्न सकिने व्यवस्थाको अन्त्य गरिदिए । यसलाई ‘निक्सन शक’ भनिन्छ । त्यसले डलरको पछाडि रहेको सुनको ग्यारेन्टी सधैंका लागि हटाइदियो ।

निक्सनले त्यसबेला यो ‘अस्थायी कदम’ भएको बताएका थिए । तर ५५ वर्ष बितिसक्दा पनि डलर र सुनको त्यो सम्बन्ध पुनर्जीवित भएको छैन । ट्रम्पले अहिले सुन गणना गर्नुपर्ने माग राख्दा यसले डलरको यही रित्तिँदै गएको मूल्यलाई संकेत गर्छ ।

सरकारी कागजातमा अझै पनि फोर्ट नक्सको सुनको मूल्य प्रति औंस ४२.२२ डलर मात्र देखाइन्छ । त्यो सन् १९७३ मा तोकिएको मूल्य हो । तर, आजको खुला बजारमा सुनको मूल्य प्रति औंस ४५ सय डलर नाघिसकेको छ ।

फोर्ट नक्समा रहेको सुनको अडिट गर्नु भनेको बिस्कुट गणना गर्नु मात्र होइन । यो अमेरिकी डलरको भविष्य र विश्व आर्थिक प्रणालीको स्थायित्वसँग जोडिएको विषय हो

यसको अर्थ हुन्छ, सरकारी खातामा करिब ६ अर्ब डलर देखिने त्यस सुनको वास्तविक बजार मूल्य ५९० अर्ब डलरभन्दा बढी छ । यस विशाल अन्तरले नै अमेरिकी डलरको क्रयशक्ति कति धेरै ह्रास भइसकेको छ भन्ने प्रस्ट पार्छ । ट्रम्पले सुन गणना गर्ने कुरा झिकेर वास्तवमा ५० वर्षअघि टुटिसकेको त्यही वाचाको अवशेष खोजिरहेका छन् ।

फोर्ट नक्समा रहेको सुनको शुद्धताका बारेमा गम्भीर रहस्य विद्यमान छ । मनी मेटल्स एक्सचेन्ज नामक संस्थाका प्रमुख कार्यकारी अधिकारी स्टेफन ग्लिसनका अनुसार, अमेरिकाको ढुकुटीमा रहेको करिब ८ हजार टन सुनमध्ये अधिकांश आधुनिक विश्व बजारको मापदण्ड अनुसारको शुद्ध छैन ।

अहिलेको अन्तर्राष्ट्रिय बजारमा ९९.९९ प्रतिशत शुद्धता भएको सुनलाई मानक मानिन्छ, तर अमेरिकामा रहेको ठूलो हिस्साको सुन ९० प्रतिशत मात्र शुद्ध छ । यो सुन सन् १९३० को दशकमा नागरिकहरूबाट संकलन गरिएका पुराना सिक्का र गहनाहरू पगालेर बनाइएको हो ।

कुनै ठूलो आर्थिक संकटको समयमा अमेरिकाले यो सुन तुरुन्तै बेच्न वा परिचालन गर्न चाह्यो भने पनि त्यसलाई आधुनिक शुद्धतामा लैजान २० देखि ३० वर्ष लाग्न सक्छ । अमेरिकासँग अहिले आफ्नै प्रशोधन क्षमता निकै कम छ र धेरैजसो क्षमता चीन वा अन्य विदेशी कम्पनीहरूको हातमा छ । यसले भूराजनीतिक जोखिम निम्त्याउन सक्छ ।

जर्मनी र फ्रान्स जस्ता देशहरूले हालैका वर्षहरूमा अमेरिकामा राखेको आफ्नो सुन फिर्ता लगेर उच्च शुद्धतामा परिवर्तन गरिसकेका छन् । यसले के देखाउँछ भने विश्वका अन्य शक्तिशाली देशहरूले अब डलरमा मात्र भर पर्नुको साटो आफ्नै ढुकुटीमा भौतिक सुन राख्न प्राथमिकता दिइरहेका छन् ।

एसियाली देशहरू, विशेषगरी चीन र भारतका केन्द्रीय बैंकहरू, ले विगत केही वर्षदेखि आक्रामक रूपमा सुन खरिद गरिरहेका छन् । यो डिडलराइजेसनको एउटा हिस्सा हो जहाँ विश्वका देशहरू अब कुनै एक देशको कागजको नोटमा मात्र निर्भर रहन चाहँदैनन् ।

फोर्ट नक्सको सुन अडिट गर्नुपर्ने ट्रम्पको मागले यही विश्वव्यापी अविश्वासलाई प्रतिध्वनित गरेको छ । अमेरिकाका राष्ट्रपतिले आफ्नो ढुकुटीमा रहेको सुनमाथि शंका गर्छन् भने बाँकी विश्वले डलरमा कसरी विश्वास गर्ने ?

ट्रम्पको यो अडिट मागलाई प्रविधिले एउटा समाधान पनि सुझाएको छ । अहिलेको डिजिटल युगमा टोकनाइज्ड गोल्डको अवधारणा लोकप्रिय भइरहेको छ । प्याक्स गोल्ड र टेथर गोल्ड जस्ता डिजिटल टोकनहरूले ब्लकचेन प्रविधिमार्फत आफूसँग भएको सुनको मात्रा र शुद्धतालाई वास्तविक समयमै जोसुकैले पनि जाँच गर्न सक्ने व्यवस्था गरेका छन् । यी कम्पनीहरूले हरेक महिना वा त्रैमासिक रूपमा स्वतन्त्र अडिट रिपोर्ट सार्वजनिक गर्छन् ।

६ अर्ब डलरको निजी टोकन बजारले आफ्नो सुनको एक–एक ग्रामको हिसाब विश्वलाई देखाउन सक्छ भने विश्वको सबैभन्दा ठूलो शक्ति भनिने अमेरिकाले ५० वर्षदेखि फोर्ट नक्सको ढोका किन बन्द राखेको छ ? ट्रम्पको प्रश्न यहीँनिर आएर गम्भीर बन्छ।

अमेरिकाको त्यो ढुकुटीमा साँच्चै सुन छ कि छैन भन्ने कुराले मात्र नभई त्यस सुनले अबको विश्व आर्थिक व्यवस्थामा कस्तो भूमिका खेल्छ भन्ने कुराले आगामी दशकको अर्थतन्त्र निर्धारण गर्नेछ

पारदर्शिताको अभावले नै विभिन्न षड्यन्त्र सिद्धान्तहरूलाई जन्म दिएको छ । जस्तै, कतै त्यो सुन सरकारी अधिकारीहरूले बेचिसकेका त छैनन् ? वा कतै त्यो सुन अन्य वित्तीय कारोबारका लागि धितो राखिएको त छैन ?

फोर्ट नक्समा रहेको सुनको अडिट गर्नु भनेको बिस्कुट गणना गर्नु मात्र होइन । यो अमेरिकी डलरको भविष्य र विश्व आर्थिक प्रणालीको स्थायित्वसँग जोडिएको विषय हो ।

विगतमा पनि धेरैपटक सुनको अडिट गर्ने प्रयासहरू भएका थिए तर ती सबै कागजी प्रक्रियामा मात्र सीमित रहे । विगतमा भएका अडिटहरूमा भल्टको सिल लगाइएको छ कि छैन भनेर हेर्ने काम मात्र भयो । तर, भल्टभित्र रहेको सुनको शुद्धता र तौलको भौतिक परीक्षण भएन ।

एकपटक सिल तोडिएपछि त्यसको वैधानिकता समाप्त हुन्छ तर अमेरिकामा सिल तोडिएका भल्टहरूलाई पनि पुनः पूर्ण परीक्षण नगरिकन सिल गरिएको रेकर्डहरू भेटिएका छन् । सरकारी संयन्त्रले सुनको वास्तविक अवस्था लुकाउन खोजेको आशंकालाई यसले थप बल पुर्याउँछ ।

ट्रम्पले उठाएको फोर्ट नक्सको विषयले विश्व अर्थतन्त्रको ठूलो सत्यलाई उजागर गरेको छ । त्यो के भने पैसा भनेको कागज वा डिजिटल अंक मात्र नभई गहिरो विश्वास पनि हो । मानिसहरूलाई डलरको पछाडि केही ठोस र मूल्यवान सम्पत्ति छ भन्ने लागुन्जेलसम्म डलरको मूल्य रहन्छ ।

तर, यो विश्वास हल्लिएपछि डलरको साम्राज्य पनि संकटमा पर्न सक्छ । ट्रम्पको अडिट मागले अमेरिकालाई यस्तो मोडमा उभ्याइदिएको छ जहाँ उसले कि त पूर्ण पारदर्शिता देखाएर डलरको साख जोगाउनुपर्नेछ कि त आफ्नो सुनको रहस्यलाई अझै गोप्य राखेर विश्वको अविश्वासको सामना गर्नुपर्नेछ ।

ट्रम्पले सुरु गरेको यस बहसले अमेरिकी डलरको ५० वर्ष पुरानो गोप्य कथाको नयाँ र निर्णायक अध्याय सुरु गरिदिएको छ । अमेरिकाको त्यो ढुकुटीमा साँच्चै सुन छ कि छैन भन्ने कुराले मात्र नभई त्यस सुनले अबको विश्व आर्थिक व्यवस्थामा कस्तो भूमिका खेल्छ भन्ने कुराले आगामी दशकको अर्थतन्त्र निर्धारण गर्नेछ ।

This article was first published on Clickmandu.


Share:

Leave a Reply