
गत बुधबार (३० सेप्टेम्बर) संयुक्त अरब अमिरात (यूएई) को दुबईबाट इजरायलको राजधानी तेल अभिभका लागि उडेको फ्लाईदुबईको उडान संख्या एफजेड १०७३ मा भएको अकल्पनीय र भयानक घटनाले उड्डयन सुरक्षाका आधारभूत मान्यताहरूलाई हल्लाइदिएको छ । त्यसका साथै यसले जटिल बन्दै गएको पश्चिम एसियाको भूराजनीतिक शक्ति सन्तुलनमा पनि गम्भीर तरंग पैदा गरेको छ ।
उडानका क्रममा ३३ हजार फिटको उचाइमा कोपाइलटले क्याप्टेनमाथि आपतकालीन अवस्थाका लागि उपयोग गर्न राखिएको बन्चरो प्रहार गरी विमानलाई तीव्र गतिमा तल झारेर दुर्घटनाग्रस्त बनाउने प्रयास गर्नु सामान्य प्राविधिक वा व्यक्तिगत विवादको विषय मात्र थिएन ।
उक्त विमानमा सवार १७४ जना यात्रुमध्ये अधिकांश इजरायली नागरिक थिए । उनीहरू चमत्कारिक रूपमा बाँच्न सफल भए तापनि यस घटनाले क्षेत्रीय सुरक्षा, कूटनीतिक सम्बन्ध र आन्तरिक चुनावी राजनीतिलाई एकैपटक सतहमा ल्याइदिएको छ ।
यस घटनालाई इजरायलले तत्कालै आतंकवादी आक्रमण र सम्भावित ‘अर्को ९/११’ को संज्ञा दियो भने यूएईले पनि कोपाइलट उग्रवादी विचारधाराबाट प्रभावित भएको घोषणा गर्यो । यूएईले यसलाई आतंकवादी प्रकृतिको कार्य मान्नुपर्ने निष्कर्ष निकालेको छ ।
तर, यस घटनाको अन्तर्य विमानभित्र भएको झडपमा सीमित छैन । यो घटना इजरायलको आसन्न संसदीय निर्वाचनको पूर्वसन्ध्यामा हुनु र प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई तीव्र राजनीतिक हतियार बनाउन खोज्नुले गम्भीर भूराजनीतिक प्रश्नहरू उब्जाएको छ ।
घटनाको पृष्ठभूमि र विमानभित्रको भयावह अवस्थालाई नियाल्दा यो आधुनिक उड्डयन इतिहासकै दुर्लभ र खतरनाक इन्साइडर थ्रेटको नमूना बनेको छ । २९ वर्षीय ओमानी नागरिक तथा को–पाइलट हम्माम अल–हम्मामीले उडानकै बीचमा भारतीय मूलका क्याप्टेन स्मित मच्छरमाथि ककपिटभित्रै रहेको आपतकालीन बन्चरो प्रहार गरेका थिए ।
गम्भीर घाइते भएका क्याप्टेनले रगतपच्छे अवस्थामै अदम्य साहस देखाएर ककपिटको ढोका खोलिदिएपछि विमानमा सवार यात्रुहरू र ड्युटी बाहिर रहेका अतिरिक्त विमान चालकहरू भित्र प्रवेश गरी आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भएका थिए । करिब एक मिनेटभित्रै विमान ३३ हजार फिटबाट १७ हजार फिट तल झरिसकेको अवस्थामा यात्रु र रिजर्भ चालकहरूको तत्परताले गर्दा विमानलाई साउदी अरबको ताबुकस्थित प्रिन्स सुल्तान बिन अब्दुलअजिज अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गराइयो ।
ककपिटको ढोका समयमै नखुलेको भए वा चालकदल र यात्रुहरूले प्रतिकार नगरेको भए यो घटना सयौं मानिसको ज्यान लिने र पश्चिम एसियालाई थप भयानक युद्धमा धकेल्ने विनाशकारी विपत्तिमा परिणत हुने निश्चित थियो ।
तर, यस घटनामा कैयौं अनुत्तरित प्रश्न रहेका छन् । पहिलो कुरा त, अतिवादी विचारधारा राख्ने भनिएका कोपाइलटले कसरी त्यो विमान उडाउन पाए ? पाइलटहरूको सामयिक परीक्षण गरिने गरेकोमा उनी कसरी रेडारबाट बचे ? ओमान एयरले उनको उग्रवादी विचारधाराका उनलाई निकालेको भनिएको छ । यस्तो मानिसलाई यूएईले किन नियुक्ति गरेको हो ?
अनि इजरायल र ओमानबीच औपचारिक कूटनीतिक सम्बन्ध छैन । यस्तो अवस्थामा इजरायल जाने विमान उडाउन ओमानी सम्भावित जोखिमको कारक हो भन्ने जान्दाजान्दै को–पाइलटलाई किन मौका दिइयो ? घटनाको केही घन्टापछि ओमानी पाइलटको लिंक्डइन अकाउन्टमा अतिवादी सामग्री अप्लोड भएको भनिएको छ । त्यो कसले अप्लोड गरेको हो ?
फ्लाईदुबईको विमान १७ हजार फिट तल झर्दा जी–फोर्सका कारण यात्रु र क्याबिन क्रु सबैको बिजोक बनाउनुपर्ने हो । तर, पाइलटले ककपिटको ढोका खोल्न सफल हुँदा यात्रुहरू सामान्य अवस्थामा देखिएका थिए । त्यो कसरी सम्भव छ ? आकस्मिक अवस्थामा अक्सिजन मास्क सिटहरूमा किन नखसेको हो ? अनि टीभीमा विमानसम्बन्धी रियालिटी शो हेरेको ज्ञानका भरमा प्लम्बरले कसरी विमानलाई नियन्त्रण र व्यवस्थापन गर्न सके ? यी अनुत्तरित प्रश्नका कारण कतिपयले यस घटनालाई षड्यन्त्र सिद्धान्त र इजरायलले बनाएको नाटकको अभिनय समेत भनेका छन् ।
तर, यसमा प्रतिप्रश्न उठ्छन् । त्यत्तिका धेरै यात्रु सबैले अभिनय नै गरिरहेका थिए त ? यहुदीहरूको ज्यान जानसक्ने गरी इजरायलले फल्स फ्ल्याग गराएको हुन सक्ला र ? क्याप्टेन स्मित मच्छर रक्ताम्मे हुने गरी घाइते हुनु पनि अभिनय नै हो त ? यसलाई षड्यन्त्र सिद्धान्त भन्नु एन्टी–सेमिटिजम त हैन ?
घटना सार्वजनिक भएलगत्तै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको प्रतिक्रिया अत्यन्त आक्रामक र रणनीतिक देखियो । उनले यस घटनालाई अमेरिकी भूमिमा भएको सेप्टेम्बर ११ को विनाशकारी आतंकवादी हमलासँग तुलना गर्दै आक्रमणकारीले विमानलाई ध्वस्त पार्ने स्पष्ट योजना बनाएको दाबी गरे ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले पनि यसलाई जिहादी आतंकवादी हमला भन्दै प्रचार गरे । नेतन्याहूले आक्रमणकारी कोपाइलट इस्लामी कट्टरपन्थी विचारधाराबाट ग्रस्त रहेको र इजरायललाई लक्षित गरेरै यो कृत्य गरिएको ठोकुवा गरे ।
तर, अनुसन्धान पूर्ण रूपमा नसकिँदै कुनै संगठित आतंकवादी समूहले जिम्मेवारी नलिइसकेको र प्रारम्भिक छानबिन जारी रहेको अवस्थामै इजरायली नेतृत्वले घटनालाई अति–राजनीतीकरण गर्नुको पछाडि इजरायलको आन्तरिक चुनावी समीकरण मुख्य कारकका रूपमा देखा पर्छ ।
इजरायलमा यही अक्टोबर महिनामा संसदीय निर्वाचन हुँदैछ र नेतन्याहू हालसम्मकै सबैभन्दा जटिल राजनीतिक तथा व्यक्तिगत संकटको सामना गरिरहेका छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणलाई रोक्न नसकेको गुप्तचर तथा सुरक्षा असफलताको दाग नेतन्याहूमाथि कायम छ ।
त्यसयता गाजापट्टीमा भएको अमानवीय सैन्य कारबाही, हजारौं प्यालेस्टिनी नागरिकको ज्यान गएको विषय, बन्धकहरूको रिहाइमा भएको ढिलाइ र लेबनन तथा इरानसँग चर्किएको द्वन्द्वका कारण इजरायली समाजभित्रै नेतन्याहूविरुद्ध चर्को असन्तुष्टि छ । उनका कट्टर दक्षिणपन्थी मन्त्रीहरू इतमार बेन–गभिर र बेजालेल स्मोट्रिचको दबाब एकातिर छ भने अर्कोतिर अन्तर्राष्ट्रिय समुदायमा इजरायलको एक्लोपन बढ्दो छ ।
यस्तो संवेदनशील घडीमा फ्लाईदुबईको घटना नेतन्याहूका लागि राजनीतिक अस्त्र बनेको छ । त्यसलाई देखाएर उनी पुनः आफूलाई इजरायलको एकमात्र र अपरिहार्य रक्षकका रूपमा पुनःस्थापित गर्न चाहन्छन् ।
नेतन्याहूको चुनावी राजनीति सधैं नै अस्तित्वको संकट र सुरक्षा भयको दोहनमा टिकेको छ । इजरायली मतदाताहरूमा सुरक्षालाई लिएर गहिरो त्रास पैदा भएको अवस्थामा उग्र राष्ट्रवाद र कठोर सैन्यवादी नीतिको पक्षमा जनमत गोलबद्ध हुने गर्छ । फ्लाईदुबईको घटनालाई ‘९÷११ जस्तै भयानक त्रासदी हुनबाट जोगिएको’ भनी प्रचार गरेर नेतन्याहूले इजरायली जनतालाई इजरायलीहरू जहाँसुकै र जुनकुनै रूपमा पनि कट्टरपन्थीहरूको निसानामा छन्, त्यसैले देशलाई आफ्नो कठोर र सम्झौताहीन नेतृत्वको आवश्यकता रहेको भन्ने सन्देश दिन खोजेका छन् ।
यस घटनाले नेतन्याहूलाई गाजामा भएको नरसंहार र आफूविरुद्ध चलिरहेका भ्रष्टाचारका मुद्दाहरूबाट आम नागरिकको ध्यान अन्यत्र मोड्ने स्वर्ण अवसर प्रदान गरेको छ । चुनावी लाभका लागि विमानको संकटलाई हतियार बनाउनु नेतन्याहूको चिरपरिचित रणनीतिक शैलीकै निरन्तरता हो भन्नुमा कुनै अतिशयोक्ति हुँदैन ।
तर, यस घटनाको अर्को महत्त्वपूर्ण पाटो भनेको सन् २०२० मा ऐतिहासिक मानिएको अब्राहम सम्झौता र यूएईसँगको सम्बन्ध हो । फ्लाईदुबई सामान्य वायुसेवा कम्पनी मात्र होइन । यो अब्राहम सम्झौतापछि इजरायल र खाडी मुलुकहरूबीच स्थापित भएको नयाँ आर्थिक तथा कूटनीतिक सम्बन्धको प्रमुख प्रतीक हो ।
दुबई र तेल अभिभबीच दैनिक हुने दर्जनौं उडानहरूले दुई देशबीचको सामान्यीकृत सम्बन्ध, व्यापार र पर्यटनलाई प्रतिनिधित्व गर्छन् । यस्तो अवस्थामा सोही उडानभित्र इजरायली नागरिकलाई लक्षित गरी गरिएको सांघातिक आक्रमणले अब्राहम सम्झौताको सुरक्षा जगमाथि नै ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ ।
सामान्य व्यावसायिक उडानहरू नै असुरक्षित बन्ने हो भने इजरायली नागरिकहरूले खाडी क्षेत्रमा यात्रा गर्न हिचकिचाउनेछन् । यसले सम्झौताको व्यावसायिक तथा जनस्तरको भावनालाई गम्भीर चोट दिन सक्छ ।
यस घटनापछि यूएईले अपनाएको कूटनीतिक र कानुनी बाटो अत्यन्तै संवेदनशील देखिन्छ । यूएईका महान्यायाधिवक्ताले घटनालाई ‘आतंकवादी कृत्य’ ठहर गर्दै कडा न्यायिक अनुसन्धान अघि बढाएका छन् । यूएईको उच्च नेतृत्वले घाइते भारतीय क्याप्टेनलाई अस्पतालमै पुगेर भेट्नु र उड्डयन सुरक्षामा कुनै सम्झौता नहुने स्पष्ट सन्देश दिनुले अबुधाबी यो घटनाबाट आफ्नो छवि र अब्राहम सम्झौताको भविष्यमा कुनै आँच आउन नदिन कति सचेत छ भन्ने देखाउँछ ।
यूएईका राष्ट्रपतीय सल्लाहकार अनवर गर्गसले अतिवादविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता दोहोर्याएका छन् । आफूलाई सुरक्षित, आधुनिक र अन्तर्राष्ट्रिय व्यापार तथा उड्डयनको विश्वसनीय केन्द्रका रूपमा कायम राख्नु यूएईको प्राथमिकता हो । इजरायलले यस घटनालाई अतिवादी समूह वा कुनै बाह्य प्रायोजक राष्ट्रसँग जोड्न चाहे पनि यूएईले भने यसलाई अतिवादी सोचबाट प्रेरित व्यक्तिको गैरकानुनी हर्कतका रूपमा हेरेर थप क्षेत्रीय तनाव नबढोस् भन्ने चाहेको देखिन्छ ।
यस घटनाले अन्तर्राष्ट्रिय र क्षेत्रीय गुप्तचर संयन्त्रको चरम असफलता र उड्डयन क्षेत्रको लापरबाहीलाई पनि उदांगो पारेको छ । को–पाइलट हम्माम अल–हम्मामीको विगतलाई केलाउँदा उनी यसअघि ओमान एयरमा कार्यरत रहँदा नै कट्टरपन्थी सामग्री राखेको र अतिवादी वेबसाइटहरू हेर्ने गरेको आरोपमा उडान सेवाबाट हटाइएर प्रशासनिक काममा सारिएको तथ्य बाहिर आएको छ ।
ओमानमा सुरक्षा जोखिमका रूपमा पहिचान भइसकेको व्यक्ति कसरी फ्लाईदुबईजस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय वायुसेवामा भर्ना हुन सफल भयो र बोइङ ७३७ म्याक्स जस्तो अत्याधुनिक विमानको ककपिटसम्म पुग्यो भन्ने प्रश्न अत्यन्त गम्भीर छ ।
अझ अचम्मको कुरा त, ओमान र इजरायलबीच कुनै औपचारिक कूटनीतिक सम्बन्ध छैन, र इजरायल जाने उडानहरूमा सामान्यतया कडा सुरक्षा जाँच हुने गर्छ । यस्तो अवस्थामा सुरक्षा जोखिम मानिएको व्यक्तिलाई इजरायलतर्फकै संवेदनशील उडानमा खटाइने विषयले खाडी मुलुकहरूबीच गुप्तचर सूचनाको आदानप्रदानमा रहेको ठूलो खाडललाई छर्लंग पारेको छ ।
उड्डयन सुरक्षाको इतिहास हेर्ने हो भने ९/११ पछि यात्रुहरूको सुरक्षा जाँच, ब्यागेज स्क्यानिङ र ककपिटका ढोकाहरू बुलेटप्रुफ बनाउने विषयमा विश्वव्यापी रूपमा ठूलो लगानी गरिएको थियो । तर, विमान उडाउने मुख्य व्यक्ति नै वैचारिक रूपमा कट्टरपन्थी बन्छ र हतियारका रूपमा विमानलाई नै प्रयोग गर्न खोज्छ भने त्यसलाई रोक्ने संयन्त्र के त ?
फ्लाईदुबईको घटनाले ‘भित्री खतरा’ कति घातक हुन सक्छ भन्ने पाठ सिकाएको छ । ओमान, मोरक्को र बेलायतमा अध्ययन तथा तालिम लिएका हम्मामीले गराएको घटनाले चालकदलका सदस्यहरूको प्राविधिक दक्षता र शारीरिक स्वास्थ्य मात्र नभई उनीहरूको गहिरो वैचारिक पृष्ठभूमि र मनोवैज्ञानिक अवस्थाको निरन्तर अनुगमन हुनुपर्ने खाँचो औंल्याएको छ ।
भूराजनीतिक दृष्टिकोणबाट हेर्दा यो घटना पश्चिम एसियामा फैलिँदै गएको व्यापक ध्रुवीकरण र उग्रताको विषाक्त उत्पादन पनि हो । गाजापट्टीमा इजरायलले गरेको व्यापक सैन्य कारवाही, वेस्ट बैंकमा यहूदी बस्तीको विस्तार र हिंसा तथा निरन्तरको युद्धले सम्पूर्ण अरब र मुस्लिम जगतमा गहिरो आक्रोश र बदलाको भावना जन्माएको छ ।
राज्यहरूबीचको युद्ध अनियन्त्रित बनेर नागरिकहरूको संहार सामान्य मानिन थालिएपछि त्यसले समाजका विभिन्न तहमा रहेका व्यक्तिहरूलाई हिंसात्मक बाटो रोज्न प्रेरित गर्छ । को–पाइलटको सामाजिक सञ्जालमा देखिएका अल–कायदाका नेता अयमान अल–जवाहिरी र जोर्डनका आत्मघाती आक्रमणकारी अल–बलावीका तस्बिरहरू तथा जेरुसेलम र मक्कासँग जोडिएका प्रतीकात्मक भिडियोहरूले उनीभित्र हुर्कंदै गरेको बदला र अतिवादको भावनालाई प्रस्ट पार्छन् ।
तर, यस्ता जघन्य आक्रमणलाई कुनै पनि राजनीतिक वा मानवीय आधारमा जायज ठहराउन सकिँदैन । त्यसका साथै पश्चिम एसियामा अन्यायको अनुभूति जति गहिरिन्छ, त्यस्ता ‘लोन वुल्फ’ प्रकृतिका आत्मघाती तत्त्वहरू जन्मिने सम्भावना उत्तिकै बढ्छ।
यस घटनामा साउदी अरबको भूमिका पनि भूराजनीतिक रूपमा निकै अर्थपूर्ण छ । विमानलाई आपतकालीन अवतरणको अनुमति दिनु, घाइतेहरूको तत्काल उद्धार गर्नु र इजरायली यात्रुहरू सम्मिलित विमानलाई मानवीय आधारमा आफ्नो भूमिमा सुरक्षित अवतरण गराउनुले साउदी अरबको परिपक्व कूटनीतिक चरित्रलाई उजागर गरेको छ ।
इजरायल र साउदी अरबबीच औपचारिक सम्बन्ध नभए तापनि संकटको घडीमा रियादले देखाएको व्यावहारिकताले पर्दा पछाडिको क्षेत्रीय सुरक्षा समन्वय अझै जीवित रहेको प्रमाणित गर्छ । साउदी अरबले प्रारम्भिक अनुसन्धान गरेर आरोपित को–पाइलटलाई यूएईको जिम्मा लगाउनुले पनि खाडी मुलुकहरू संकट समाधानमा सहकार्य गर्न सक्षम छन् भन्ने सन्देश दिएको छ।
यस घटनामा इरानको कुनै प्रत्यक्ष संलग्नता रहेको प्रमाण हालसम्म फेला परेको छैन । इजरायली गुप्तचर निकायहरू र अमेरिकी अधिकारीहरूले पनि इरानको प्रत्यक्ष हात रहेको दाबी गर्न सकेका छैनन् । तर, पश्चिम एसियामा अहिले चलिरहेको शक्ति संघर्षको छाया भने यसमा स्पष्ट देखिन्छ ।
ओमानी को–पाइलट सफल भएको भए र सयौं इजरायली नागरिकको ज्यान गएको भए त्यसले इरान–इजरायल तनावलाई क्षेत्रीय स्तरमा सल्काउने सम्भावना थियो । यसले अमेरिकालाई समेत सिधै युद्धमा तान्न सक्थ्यो । सौभाग्यवश, त्यो भयानक परिदृश्य टरेको छ । तर, यसले क्षेत्रीय स्थिरता कति कमजोर छ भन्ने तीतो यथार्थलाई पुनः उजागर गरेको छ ।
यसरी फ्लाईदुबईको उडान एफजेड १०७३ मा घटेको घटना आधुनिक उड्डयन सुरक्षा र पश्चिम एसियाको जटिल भूराजनीतिको भयानक संगम हो । यस घटनाले एकातिर उड्डयन क्षेत्रमा उग्रवादी घुसपैठ र गुप्तचर विफलताको गम्भीर संकटलाई देखाएको छ भने अर्कोतिर क्षेत्रीय शान्तिको संवेदनशीलतालाई छर्लंग पारेको छ ।
This article was first published on Clickmandu.
