ब्रिक्समा सी चिनपिङले ‘गाला डिनर’ बहिष्कार गर्नुको कारण तिब्बती प्रदर्शन हो ?

September 14, 2026
Featured image for “ब्रिक्समा सी चिनपिङले ‘गाला डिनर’ बहिष्कार गर्नुको कारण तिब्बती प्रदर्शन हो ?”

भारतको राजधानी नयाँ दिल्लीस्थित अत्याधुनिक भारत मण्डपममा सम्पन्न ब्रिक्स शिखर सम्मेलनको माहोल कूटनीतिक दृष्टिकोणले निकै भव्य र ऐतिहासिक रह्यो ।

विश्वका प्रमुख उदीयमान अर्थतन्त्रहरूका शीर्ष नेताहरू उपस्थित यस मञ्चमा बहुपक्षीय सहकार्य र नयाँ विश्व व्यवस्थाका विषयमा गम्भीर मन्थन भयो । सम्मेलनको पहिलो दिनको औपचारिक बैठक, गहन कूटनीतिक छलफल र द्विपक्षीय वार्तापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका नेताहरू तथा विशिष्ट पाहुनाहरूका लागि एक भव्य ‘गाला डिनर’ अर्थात् रात्रिभोजको आयोजना गरेका थिए ।

उक्त रात्रिभोजमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, अन्य ब्रिक्स राष्ट्रका सरकार प्रमुखहरू, भारतका शीर्ष केन्द्रीय मन्त्रीहरू र विभिन्न राज्यका मुख्यमन्त्रीहरूको बाक्लो उपस्थिति थियो ।

तर, त्यस भव्य कूटनीतिक जमघटमा चीनका राष्ट्रपति सी चिनपिङ अनुपस्थित रहे ।

प्रधानमन्त्री मोदीले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति सी सहभागी नभई आफ्नो होटलतर्फ लागेपछि कूटनीतिक वृत्तमा तीव्र तरंग पैदा भयो । सम्मेलनका दौरान अबु धाबीका क्राउन प्रिन्स शेख खालिद बिन मोहम्मद पनि दिउँसोको बैठक सम्पन्न गरी स्वदेश फर्किएकाले रात्रिभोजमा उपस्थित थिएनन् ।

तर, चिनियाँ राष्ट्रपतिको अनुपस्थितिले भने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र भूराजनीतिक विश्लेषकहरूमाझ ठूलो बहस जन्मायो । औपचारिक रूपमा भारतीय समाचार संस्था पीटीआई तथा घटनाक्रमसँग जानकार स्रोतहरूले लामो हवाई यात्रा, समयको भिन्नता अर्थात् ‘जेट ल्याग’ र दिनभरिको व्यस्त कूटनीतिक तालिकाका कारण राष्ट्रपति सी अत्यधिक थकित भएकाले आराम गर्न होटल फर्किएको बताए ।

दिउँसो प्रधानमन्त्री मोदीसँग महत्त्वपूर्ण द्विपक्षीय वार्ता लगायत धेरै व्यस्त कार्यक्रमहरूमा सहभागी भएकाले उनी थकित हुनु स्वाभाविक थियो । मोदीले सम्बोधन गरिरहँदा सीलाई असहज भएको देखेर ‘सबै ठीक छ ?’ भनेर सोधेका पनि थिए । तर, विश्लेषकहरूका अनुसार, सीको थकान मात्र रात्रिभोजमा अनुपस्थित हुनुको कारण देखिँदैन ।

चिनियाँ नेतृत्वको कूटनीतिक इतिहासलाई हेर्दा यस्ता उच्चस्तरीय रात्रिभोज बहिष्कार गर्नुको पछाडि सधैं कुनै न कुनै गम्भीर कूटनीतिक असन्तुष्टि लुकेको हुन्छ ।

यस रहस्यको चुरो खोतल्दा शिखर सम्मेलनको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपतिविरुद्ध तिब्बती अधिकारकर्मीहरूले गरेको विरोध प्रदर्शन र त्यस्तो प्रदर्शन गर्न भारत सरकारले दिएको अनुमति नै सीको असन्तुष्टिको मुख्य कारण रहेको देखिन्छ । सम्मेलन स्थल भारत मण्डपमको कडा सुरक्षा घेरालाई तोडेर चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रपति सीविरुद्ध चर्को नाराबाजी गरिनुलाई सामान्य घटनाका रूपमा लिन मिल्दैन ।

विशेषगरी, तिब्बती युथ कंग्रेसका ६४ जनाभन्दा बढी सदस्यहरूले भारत मण्डपमनजिकै रहेको भैरों मार्गमा आकस्मिक प्रदर्शन गर्दै सम्मेलन स्थलतर्फ अघि बढ्ने प्रयास गरेका थिए । तिब्बती राष्ट्रिय झण्डा बोकेर दौडिरहेका प्रदर्शनकारीहरूलाई दिल्ली प्रहरीले बल प्रयोग गरी रोकेको थियो र कतिपयलाई घिसारेर नियन्त्रणमा लिएको दृश्य सञ्चारमाध्यमहरूमा व्यापक रूपमा प्रसारित भएको थियो ।

त्यसैगरी, ‘स्टुडेन्ट्स फर अ फ्रि तिब्बत’ (एसएफटी) का पाँचजना कार्यकर्तालाई दिल्लीको प्रगति मैदान सुरुङ क्षेत्रबाट ब्यानर फहराउँदै प्रदर्शन गरेको आरोपमा पक्राउ गरिएको थियो । तीमध्ये एसएफटीको इन्डिया च्याप्टरका तीनजना कर्मा डोल्मा, तेन्जिङ नोर्दोन र तेन्जिङ चेफेलको नाम सार्वजनिक भएको छ । सम्मेलन सुरु हुनुभन्दा अघिल्लो दिन नै सोही संगठनका तीनजना विद्यार्थीहरूले प्रगति मैदान नजिकैको अन्डरपासमा रहेका पोलहरूमा चढेर सी चिनपिङको विरोधमा झण्डा र ब्यानरहरू फहराएका थिए ।

ती तीन विद्यार्थीहरूलाई म्याजिस्ट्रेटको आदेशपछि निवारक थुनाका रूपमा सेप्टेम्बर १४ सम्मका लागि दिल्लीको तिहाड जेल चलान गरिएको थियो । प्रहरीले भैरों मार्गबाट पक्राउ परेका प्रदर्शनकारीहरूलाई मण्डावली, अशोक विहार, मधु विहार र गाजीपुर गरी चार फरक–फरक प्रहरी चौकीमा राखेको थियो ।

भारतले आयोजना गरेको ब्रिक्स सम्मेलनको विरोध आफूहरूले नगरेको तर सी चिनपिङको भारत भ्रमणको अवसर पारेर चिनियाँ कम्युनिस्ट पार्टीले तिब्बतमा गरिरहेको मानवअधिकार उल्लंघन र दमनलाई विश्वसामु उजागर गर्न चाहेको तिब्बती अधिकारकर्मीहरूले स्पष्ट पारेका थिए । चीनले तिब्बती भाषा, धर्म, संस्कृति र पर्यावरणको क्रमिक विनाश गरिरहेको आरोप लगाउँदै तिब्बती युथ कंग्रेसका महासचिव तेन्जिन लोबसाङले चीनमा रहेका तिब्बती राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गरिनुपर्ने माग गरेका थिए ।

उनले तिब्बती पठारमा चीनद्वारा भइरहेको अन्धाधुन्ध निर्माण कार्य रोकिनुपर्ने र दलाई लामाको उत्तराधिकारी छनोट लगायत तिब्बतको धार्मिक मामिलामा बेइजिङको हस्तक्षेप बन्द हुनुपर्ने अडान राखेका थिए । सबैभन्दा महत्त्वपूर्ण कुरा, लोबसाङले तिब्बतको प्रश्न तिब्बती जनताको मात्र नभई भारतको आफ्नै राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थायित्वसँग प्रत्यक्ष रूपमा जोडिएको भनेका थिए ।

चिनियाँ नेतृत्वका लागि तिब्बत सधैं नै अत्यन्तै संवेदनशील विषय रहँदै आएको छ । चीनभित्र कुनै पनि प्रकारको राजनीतिक असहमति वा विरोधलाई पूर्ण रूपमा दबाएर राख्ने बानी परेका सी चिनपिङका लागि आफू उपस्थित भएको अन्तर्राष्ट्रिय मञ्चको ढोकैमा आफ्नै विरुद्धमा तिब्बती झण्डा फहराइनु र चर्को विरोध हुनु गम्भीर अपमानको विषय थियो ।

भारतले १० देशका पाहुनालाई स्वागत गरिरहँदा बाहिर सडकमा ‘सी चिनपिङलाई यहाँ स्वागत छैन’ भन्ने नारा लाग्नु र त्यो विश्वभरका क्यामराहरूमा कैद हुनुले बेइजिङको अन्तर्राष्ट्रिय प्रतिष्ठामा ठेस पुर्याएको थियो । चिनियाँ प्रतिनिधिमण्डलले दिल्लीको सुरक्षा संयन्त्रले यस्ता प्रदर्शनहरूलाई पूर्ण रूपमा रोक्न नसकेको वा रोक्न नचाहेको रूपमा व्याख्या गरेको बुझ्न गाह्रो छैन । यही आक्रोश र असन्तुष्टिलाई सांकेतिक रूपमा व्यक्त गर्न राष्ट्रपति सीले मोदीको गाला डिनर बहिष्कार गर्ने बाटो रोजेको विश्लेषण कूटनीतिक वृत्तमा गरिएको छ ।

यस घटनाक्रमलाई भारतको दीर्घकालीन ‘तिब्बत कार्ड’ को रणनीतिक प्रयोगका रूपमा पनि हेरिएको छ । सन् १९५९ मा दलाई लामा र हजारौं तिब्बती शरणार्थीहरूलाई शरण दिएदेखि नै भारतले तिब्बत मामिलालाई चीनविरुद्ध कूटनीतिक हतियारका रूपमा राख्दै आएको छ ।

गलवान उपत्यकामा भएको हिंस्रक सैन्य झडप र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा जारी गतिरोधपछि भारतले बेइजिङलाई सन्देश दिन विभिन्न रणनीतिक उपायहरू खोजिरहेको छ । सम्मेलनको बेला तिब्बती अधिकारकर्मीहरूलाई प्रदर्शन गर्ने स्पेस दिएर भारतले चीनलाई उसको संवेदनशील कमजोरी सम्झाइदिएको देखिन्छ । बेइजिङले भारतको सार्वभौमसत्ता र सीमा सुरक्षाका विषयमा चासो नदेखाउँदा भारतसँग पनि चीनलाई असहज बनाउने कूटनीतिक औजारहरू छन् भन्ने यो धारिलो सन्देश थियो ।

हुन त भारत चीनसँगको सम्बन्धमा यदाकदा ‘तिब्बत कार्ड’ प्रयोग गर्छ तर सम्बन्धलाई पूर्ण रूपमा दुर्घटनामा पार्ने गरी बेइजिङलाई उत्तेजित बनाउन चाहँदैन । भारत सरकार साँच्चिकै चीनसँगको सम्बन्ध बिगार्न चाहन्थ्यो भने उसले प्रदर्शनकारीहरूलाई सम्मेलन स्थल नजिकै जानबाट रोक्ने थिएन वा उनीहरूलाई पक्राउ गरी जेल पठाउने थिएन ।

दिल्ली प्रहरीले ६४ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु, चारवटा थानामा बाँडेर राख्नु, एसएफटीका निर्देशकलाई नजरबन्द गर्नु र तीन विद्यार्थीहरूलाई तिहाड जेल पठाउनुले भारत सरकार ब्रिक्स सम्मेलनको सुरक्षा र मर्यादाप्रति पूर्ण सचेत रहेको पुष्टि गर्छ । भारतले एकातर्फ लोकतान्त्रिक अधिकारको प्रदर्शन हुन दिएर चीनलाई आफ्नो कूटनीतिक सामर्थ्य देखायो भने अर्कातर्फ कानुनी कारबाहीमार्फत स्थितिलाई नियन्त्रणबाहिर जान नदिई द्विपक्षीय सम्बन्धको धागो चुँडिनबाट बचायो ।

रुसका राष्ट्रपति पुटिनसँग मोदीको हार्दिकता र भारतका विभिन्न राज्यका मुख्यमन्त्रीहरू सहितको यस विशाल जमघटले भारत मण्डपमको रात्रिभोजलाई भव्य बनाएको थियो । तर, चीनका राष्ट्रपतिको अनुपस्थितिले यसमा भूराजनीतिक आयाम दिएको छ ।

This article was first published on Clickmandu.


Share:

Leave a Reply