
जेनजी आन्दोलनपछिको आम निर्वाचनमा रास्वपाको ऐतिहासिक विजयपश्चात् सभापति रवि लामिछाने, सह–महामन्त्री विपिन कुमार आचार्य र सचिवालय सदस्य दीपक बोहरासहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले जेठ १८ गतेदेखि थालेको भारतको पाँच दिने औपचारिक भ्रमणले दक्षिण एसियाली कूटनीतिमा नयाँ तरंग ल्याएको छ ।
नेपालमा नयाँ राजनीतिक शक्तिको उदय भइसकेको अवस्थामा छिमेकी भारतले त्यसलाई कुन रूपमा हेर्छ भन्ने विश्वव्यापी चासोका बीच भारतीय जनता पार्टी (भाजपा)ले लामिछानेलाई गरेको भव्य स्वागतले नेपाल–भारत सम्बन्धको भविष्यका विषयमा प्रस्ट चित्र कोरेको छ ।
हुन त भारतले प्रधानमन्त्री वालेन्द्र शाहबाट नयाँ दिल्ली भ्रमण होला भन्ने अपेक्षा गरेको थियो तर शाहले निश्चित समयका लागि विदेश भ्रमण नगर्ने अडान लिएपछि सभापति लामिछानेलाई निमन्त्रण पठाएको हो ।
रास्वपाको नीति र चिन्तन प्रक्रिया बुझ्नका लागि लामिछानेको भ्रमणले सहयोग गर्ने त्यहाँको सत्तारूढ दल भाजपाले विश्वास गरेको देखिन्छ ।
सोमबार नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएदेखि नै लामिछानेका लागि बिछ्याइएको स्वागतको रातो कार्पेट, प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्चस्तरीय नेताहरूसँगको भेटवार्ताले धेरै कूटनीतिक सन्देशहरू प्रवाहित गरेको छ।
भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले विमानस्थलमै पुगेर लामिछानेलाई स्वागत गर्नुले भारतले रास्वपालाई एउटा सामान्य राजनीतिक दलको रूपमा मात्र नभई नेपालको भावी सत्ताको निर्विकल्प नेतृत्वको रूपमा स्वीकार गरेको संकेत गर्छ ।
मंगलबार बिहान लामिछाने भाजपाको केन्द्रीय मुख्यालय रहेको दीनदयाल उपाध्याय मार्ग पुग्दा त्यहाँको दृश्य कुनै भव्य कूटनीतिक उत्सवभन्दा कम थिएन । पुष्पवृष्टि र कन्फेटी तथा राष्ट्रिय संस्कृति झल्काउने नृत्य र गायनका साथ लामिछानेलाई स्वागत गरिएको थियो।

भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नबिनले लामिछानेलाई पुष्पगुच्छा र खादाले स्वागत गर्दै ‘नो भाजपा’ (भाजपालाई चिन्नुहोस्) अभियानअन्तर्गत विशेष ब्रिफिङको आयोजना गरेका थिए ।
दुई देशका उदीयमान र स्थापित शक्तिबीच सांगठनिक र वैचारिक पुल निर्माण गर्नु लामिछानेको भ्रमणको उद्देश्य रहेको भाजपाले उल्लेख गरेको थियो ।
भ्रमणको सबैभन्दा शक्तिशाली र अर्थपूर्ण पक्ष भारतका गृहमन्त्री अमित शाहसँगको भेटवार्ता बन्यो । भारतीय राजनीतिको ‘चाणक्य’ मानिने र निकै प्रभावशाली छविका अमित शाह विदेशी नेताहरूसँगको भेटघाटमा निकै छनोटपूर्ण र कठोर मानिन्छन्।
रोचक तथ्य त के भने शाहले विगत सात वर्षदेखि गृहमन्त्री र त्यसअघि भाजपाको राष्ट्रिय अध्यक्ष रहँदा समेत विरलै मात्र कुनै विदेशी राजनीतिक दलका अध्यक्षलाई भेट्ने समय दिएका छन् ।
अझ, शाहले अहिलेसम्म आफ्नो नाममा पासपोर्ट समेत नबनाएको र कहिल्यै विदेश भ्रमण नगरेको सन्दर्भमा लामिछानेलाई आफ्नै कार्यकक्षमा स्वागत गर्नु र रास्वपाको जीतलाई ऐतिहासिक एवम् अभूतपूर्व भन्दै बधाई दिनुले कूटनीतिक वृत्तमा हलचल ल्याएको छ ।

शाहले लामिछानेलाई समय दिनुको अर्थ भारत सरकारले नेपालको नयाँ राजनीतिक नेतृत्वसँग उच्च तहको विश्वासिलो सम्बन्ध निर्माण गर्न चाहेको बुझ्न सकिन्छ । शाह र लामिछानेबीचको संवादमा सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण र सुरक्षा चासोका विषयमा गहन छलफल हुनुले भारतले रास्वपालाई एक भरपर्दो सुरक्षा साझेदारको रूपमा समेत हेर्न थालेको पुष्टि गर्छ।
भ्रमणकै क्रममा लामिछानेले नेपाल भारत सम्बन्धका आयामहरूको चर्चा गर्दै हिन्दुस्तान टाइम्समा आलेख समेत छपाएका थिए। त्यसमा रास्वपाको परराष्ट्र नीतिको चर्चा गर्दै लामिछानेले अतीतको बोझबाट मुक्त हुनु आफ्नो दलको सबल पक्ष रहेको उल्लेख गरेका छन् । पुराना राजनीतिक दलहरूले बोकेको ऐतिहासिक पूर्वाग्रह, गोप्य सहमति र कूटनीतिक जटिलताहरूबाट यो नयाँ नेतृत्व टाढा रहेको उनको भनाइ छ ।
भारतसँगको सम्बन्धलाई भूराजनीतिक तनाव र सुरक्षा चिन्ताको साँघुरो घेराबाट निकालेर विकास कूटनीतिको बृहत्तर मञ्चमा पुर्याउन खोजेको लामिछानेले लेखमा दाबी गरेका छन् । नेपालले अब भारतलाई छिमेकीको रूपमा मात्र नभई आफ्नो आर्थिक रूपान्तरणको मुख्य साझेदारका रूपमा हेरेको उनको भनाइ छ ।
आर्थिक एकीकरणका सवालमा लामिछानेले सीमा जोडिने मात्र होइन, अर्थतन्त्र जोडिने अवधारणा अघि सारेका छन् । रक्सौल–काठमाडौं रेलमार्ग, काठमाडौं–बेंगलुरु डिजिटल करिडोर र नेपालमा आईआईटी वा एम्स जस्ता भारतीय प्राविधिक संस्थाहरूको मागले नेपालले अब प्राविधिक र औद्योगिक साझेदारी खोजेको पुष्टि गर्छ । लामिछानेको यस दृष्टिकोणले नेपालको जलविद्युतलाई भारतको औद्योगिक इन्जिन र नेपालको युवा प्रतिभालाई भारतको प्रविधि क्षेत्रसँग जोड्ने रणनीतिक महत्त्व राख्छ ।
लामिछानेको विश्लेषणले के संकेत गर्छ भने रास्वपाको नेतृत्वमा नेपाल–भारत सम्बन्ध अब परम्परागत सन्धि–सम्झौतामा मात्र सीमित नरही वास्तविक कार्यान्वयन, पारदर्शिता र साझा समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि लामिछानेले भेटवार्ता गरेका छन् । उक्त भेटमा लामिछानेले साझा र समृद्ध भविष्यका लागि नजिक रहेर दुवै देश सँगै बसेर काम गर्ने चाहना व्यक्त गरेका थिए । उनको यस चाहनालाई आफूले स्वागत गरेको र त्यसमा पूर्ण समर्थन रहेको मोदीले बताएका छन् ।
मोदीले भारतको छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता प्राप्त साझेदार भएको र दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन नेपाल सरकारसँग सहकार्य गर्न उत्सुक रहेको समेत बताए ।
विदेशमन्त्री एस. जयशंकरसँग लामिछानेको भेटवार्ताले कूटनीतिक सम्बन्धलाई विकास र आर्थिक समृद्धिसँग जोड्ने काम गरेको छ । जयशंकरले लामिछानेसँगको छलफलमा विकास साझेदारी र जनस्तरीय सम्बन्धमा वार्ता केन्द्रित भएको जानकारी दिए । आर्थिक वृद्धि र समृद्धिलाई साकार पार्न यिनले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
लामिछानेले पनि सामाजिक सञ्जाल एक्स मार्फत जयशंकरसँगको भेटमा द्विदेशीय सम्बन्धको सुदृढीकरण, विकास साझेदारी र बहुआयामिक सम्पर्कका विषयमा रचनात्मक र बहुआयामिक वार्ता भएको जानकारी दिएका छन् ।
जयशंकर जस्ता बौद्धिक र कडा कूटनीतिज्ञले लामिछानेको विकास साझेदारी भिजनलाई महत्त्व दिनुले रास्वपाको ‘विकासमुखी राजनीति’ को एजेन्डालाई भारतले सकारात्मक रूपमा लिएको बुझिन्छ । यस भेटमा दुई देशका जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन ‘पिपल टु पिपल टाइज’ मा जोड दिइएको थियो । त्यसले कूटनीतिलाई सरकारी फाइलमा मात्र सीमित नराखी आम नागरिकको जीवनस्तर सुधारसँग जोड्ने लक्ष्य राखेको छ ।
भाजपा मुख्यालयमा भएको अन्तर्क्रियामा रास्वपा टोलीले भाजपाको सांगठनिक सञ्जालका बारेमा निकै चासो दिएर अध्ययन गरेको थियो । विशेषगरी भाजपाले कसरी बुथ तहसम्म आफ्नो संगठन विस्तार गर्छ, उम्मेदवार छनोटको वैज्ञानिक प्रक्रिया के हो र सामान्य कार्यकर्तालाई कसरी उच्च नेतृत्वसँग जोडिन्छ भन्ने विषयमा लामिछानेले जिज्ञासा राखेका थिए ।
भाजपा अध्यक्ष नितिन नबिनले भाजपाको ‘पन्ना प्रमुख’ देखि राष्ट्रिय अध्यक्षसम्मको संरचनाका बारेमा जानकारी गराउँदै संगठन नै शक्तिको मुख्य स्रोत भएको अनुभव बाँडेका थिए । रास्वपा जस्तो प्रविधिमैत्री र युवाहरूले भरिएको पार्टीका लागि भाजपाको यो सांगठनिक अनुभव आगामी दिनमा नेपालमा संगठन विस्तारका लागि एउटा मोडल हुन सक्छ ।
भाजपाले पनि रास्वपाको नवीन शैली र छोटो समयमा प्राप्त गरेको जनविश्वासलाई सम्मान गर्दै दुई पार्टीबीचको सम्बन्धलाई संस्थागत गर्ने घोषणा गरेको छ ।
भ्रमणका क्रममा लामिछानेले भाजपा नेतृत्वलाई प्रदान गरेका उपहारहरूले सांस्कृतिक कूटनीतिको उत्कृष्ट नमूना प्रस्तुत गरेका छन् । उनले पशुपतिनाथ मन्दिरको कलात्मक सुन र चाँदी जडित चित्र, हिन्दू धर्मका ‘अष्ट चिरञ्जीवी’ को वर्णन गरिएको चित्र र पशुपतिनाथको गर्भगृहको पवित्र चन्दन उपहार दिएका थिए ।

यी उपहारहरूले नेपाल र भारतबीचको सम्बन्ध आधुनिक व्यापारमा मात्र नभई हजारौं वर्ष पुरानो साझा सभ्यता र सांस्कृतिक विरासतमा अडिएको छ भन्ने सन्देश दिएका छन् । भाजपा जस्तो सांस्कृतिक र धार्मिक पहिचानलाई प्राथमिकता दिने पार्टीका लागि लामिछानेको यस कदमले भावनात्मक निकटता बढाउन ठूलो भूमिका खेलेको छ ।
यसले रास्वपालाई पश्चिमा शैलीको उदारवादी पार्टी मात्र ठान्नेहरूका लागि यो पार्टी नेपाली माटोको मौलिकता र सांस्कृतिक गौरवप्रति पनि उत्तिकै सचेत छ भन्ने प्रमाण दिएको छ ।
भ्रमणका क्रममा भाजपाको मिडिया सेल र केन्द्रीय पुस्तकालयको अवलोकन गर्दै लामिछानेले आधुनिक राजनीतिमा सूचना र प्रविधिको प्रयोग कसरी गर्ने भन्नेबारे प्रत्यक्ष जानकारी लिएका थिए । भाजपाका राष्ट्रिय प्रवक्ता प्रदीप भण्डारीले मिडिया व्यवस्थापन र जनमत निर्माणका प्राविधिक पक्षबारे लामिछानेलाई ब्रिफिङ गर्नुले रास्वपाले आगामी दिनमा नेपालमा आफ्नो सञ्चार रणनीतिलाई अझ आक्रामक र प्रभावकारी बनाउने संकेत गर्छ ।
त्यसपछि दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले लामिछाने र नेपाली टोलीको सम्मानमा आयोजना गरेको दिवाभोजमा भाजपाका प्रभावशाली नेताहरू मनोज तिवारी, बाँसुरी स्वराज, हर्ष मल्होत्रा र प्रवीण खण्डेलवालको उपस्थिति थियो । यस सम्मानले लामिछानेको भ्रमणलाई भारतले राष्ट्रिय स्तरको महत्त्व दिएको देखिन्छ ।

विशेषगरी युवा पुस्ता र जेनजीको राजनीतिमा भूमिकाका बारेमा भएको छलफलले दुवै देशमा भविष्यको नेतृत्व कस्तो हुनुपर्छ भन्ने साझा धारणा तय गरेको छ । लामिछानेले नयाँ पुस्ताको नेतृत्वले मात्र परम्परागत समस्याहरूको नयाँ समाधान खोज्न सक्ने विचार राख्दा भारतीय नेताहरूले त्यसलाई समर्थन जनाएका थिए । यसले नेपाल र भारत दुवैतर्फ युवा राजनीतिकर्मीहरूबीच एउटा नयाँ नेटवर्क निर्माण हुने सम्भावनालाई बलियो बनाएको छ ।
यस भ्रमणले नेपाली राजनीतिमा केही गम्भीर र दूरगामी संकेतहरू दिएको छ । पहिलो कुरा, भारतले नेपालका पुराना र स्थापित दलहरू (नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र) को विकल्पमा नयाँ र शक्तिशाली दलको उदयलाई स्वीकार गरिसकेको छ ।
विगतमा भारतले पुराना दलहरूका नेतालाई दिने जत्तिकै वा त्यसभन्दा बढी महत्त्व लामिछानेलाई दिनुले दिल्लीको नेपाल नीतिमा एउटा ठूलो शिफ्ट आएको देखिन्छ ।
नेपालमा विगतमा विभिन्न दलको गठबन्धन सरकार बन्ने गरेकोमा त्यो अस्थिर र विभाजित किसिमको हुने गर्नाले त्यससँगको इन्गेजमेन्टमा भारतलाई असहजता हुने गरेको थियो । तर, अहिले एउटा दलको करिब दुईतिहाइ नजिकको बहुमत रहेकाले स्थिर सरकारसँग सम्पर्क बढाउन भारत इच्छुक रहेको स्पष्ट छ ।
त्यससँगै पुराना दलले भारतविरोधलाई नेपाली राष्ट्रवादको पर्याय बनाएकोमा नयाँ दिल्लीले सधैं चित्त दुखाउँदै आएको छ र रास्वपाले त्यो गल्ती नदोहोर्याउला भनी आशा गरेको देखिन्छ । लामिछानेको लेखले पनि त्यसतर्फ संकेत गरेको छ ।
दोस्रो, लामिछानेको यस भ्रमणले उनको अन्तर्राष्ट्रिय छवि र कूटनीतिक परिपक्वतालाई प्रमाणित गरिदिएको छ । सञ्चारकर्मीबाट राजनीतिमा आएका लामिछानेले कसरी जटिल कूटनीतिक सन्तुलन कायम राख्न सक्छन् भन्ने संशयलाई यस भ्रमणले चिर्न थोरबहुत सफलता पाएको देखिन्छ ।
लामिछानेले दिल्लीमा दिएका अभिव्यक्तिहरूमा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै छिमेकीसँग सम्मानजनक र पारस्परिक लाभको सम्बन्ध गाँस्नु नै आफ्नो प्राथमिकता रहेको बताएका छन् । यसले लामिछानेको राष्ट्रवाद नारामा मात्र सीमित नभई व्यावहारिक कूटनीतिमा आधारित छ भन्ने देखाउँछ ।

पाँच दिने भ्रमणका क्रममा रवि लामिछानेले भारतीय नेतृत्वको मन जित्न र नेपालको नयाँ राजनीतिक शक्तिको प्रभावलाई स्थापित गर्न सफलता प्राप्त गरेका हुन् भने त्यसले आगामी दिनमा दुई देशबीचको सहकार्यलाई अझ सघन बनाउनेछ । हुन त भारतले पनि नेपालमा देखिएको यस परिवर्तनलाई सकारात्मक रूपमा लिँदै नयाँ पुस्ताको नेतृत्वसँग हात मिलाउन तयार रहेको सन्देश दिएको छ ।
अमित शाहसँगको दुर्लभ भेटदेखि भाजपा मुख्यालयको भव्य स्वागतसम्मका घटनाक्रमहरूले लामिछानेलाई दक्षिण एसियाको एउटा प्रभावशाली र भविष्यमुखी नेताको रूपमा उभ्याएको छ । विश्वका शक्तिशाली मध्येका एक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लामिछानेलाई दिएको समयले पनि भारत नेपालमा नयाँ राजनीतिक शक्तिसँग सम्बन्ध थप बढाउन चाहन्छ भन्ने बुझ्न सकिन्छ ।
प्रधानमन्त्री मोदीले यसअघि तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई भाजपाले बोलाएको बेला भेटका लागि समय दिएका थिएनन् । २०७९ भदौको अन्तिम साता प्रचण्ड भाजपाको निमन्त्रणामा भारत गएको बेला अन्तिम समयमा आएर मोदीसँगको भेटवार्ता सम्बन्धी कार्यक्रम स्थगित भएको थियो । तर, लामिछानेसँग गरेको भेटवार्ताले मोदीले नेपालमा नयाँ शक्तिको रुपमा विकास भएको रास्वपासँग आगामी दिनमा नजिकको सम्बन्ध हुनसक्ने जनाउ दिएका छन् ।
यस भ्रमणले आगामी दिनमा नेपालको समृद्धि र क्षेत्रीय स्थिरतामा महत्त्वपूर्ण भूमिका खेल्ने आशा नेपाली जनताले गरेका छन् ।
This article was first published on Clickmandu.
