
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प विश्व राजनीतिका विचित्र पात्र हुन् । सन् २०१६ मा धेरैको अपेक्षाविपरीत राष्ट्रपति निर्वाचित भएका ट्रम्पले कार्यकालभरि आलोचना खेपेका थिए । सन् २०२० मा भएको निर्वाचनमा पराजय बेहोरे पनि आफूलाई विजेता घोषणा गरेर आफ्ना समर्थकहरूलाई संसद् भवनमा विध्वंस मच्चाउन उनले प्रेरित गरेका थिए । त्यसपछि उनको राजनीतिक करियर अन्त्य भएको भनी विश्लेषकहरूले अनुमान गरेको भए पनि सन् २०२४ को निर्वाचनमा विजयी भएर उनी अहिले दोस्रो कार्यकाल चलाइरहेका छन् ।
यी अनौठा पात्रका विषयमा अमेरिकाको राजनीतिक पत्रकारितामा लामो समयदेसखि काम गरिरहेका म्यागी हेबरम्यान र जोनाथन स्वानले केही महिनाअघि ‘रेजिम चेन्जः इनसाइड द इम्पेरियल प्रेसिडेन्सी अफ डोनल्ड ट्रम्प’ शीर्षकको पुस्तक प्रकाशन गरेका छन् । ट्रम्पको राजनीतिक उदय, उनको पहिलो कार्यकालको उथलपुथल र उनी सत्ताबाहिर रहँदाको अवधिलाई लेखकद्वयले अत्यन्तै नजिकबाट नियालेकाले रोचक पुस्तकको सिर्जना भएको छ ।
पुस्तकले ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्ष अर्थात् सन् २०२५ को जनवरीदेखि २०२६ को सुरुवाती महिनाहरूसम्मको भित्री सत्ता सञ्चालनलाई मुख्य विषय बनाएको छ । चार प्रमुख खण्डहरू ‘ह्वर्लविन्ड’, ‘रेट्रिब्युसन’, ‘द एनिमी विथइन’ र ‘प्लन्डर’ मा विभाजित यस कृतिले पहिलो कार्यकालका संस्थागत र कानुनी बन्धनहरूबाट मुक्त भएर ‘सम्राटसदृश राष्ट्रपति’ (इम्पिरियल प्रेसिडेन्ट) का रूपमा आफूलाई उभ्याउन सफल ट्रम्पको शासकीय शैली, मनोवृत्ति र त्यसबाट सिर्जित अन्तर्राष्ट्रिय तथा घरेलु संकटहरूको शल्यक्रिया गरेको छ ।
पुस्तकले अमेरिकी लोकतन्त्रको परम्परागत शक्ति पृथकीकरण र संस्थागत सन्तुलनको विघटनको सजीव चित्र कोरेको छ । लेखकद्वयले देखाएअनुसार, सन् २०२० को चुनावी पराजय, चारवटा फौजदारी अभियोग, दोषी ठहर र दुईपटकको ज्यान मार्ने प्रयासबाट जोगिएर ह्वाइट हाउस फर्केका ट्रम्प पहिलेभन्दा निकै शक्तिशाली, आत्मविश्वासी र कठोर रूपमा प्रस्तुत भएका छन् ।
पहिलो कार्यकालमा ट्रम्पलाई रोक्न खोज्ने परम्परागत सैन्य जनरल, कूटनीतिज्ञ र कानुनी सल्लाहकारहरू यसपटक सत्ताको परिदृश्यबाट पूर्णतया बाहिरिएका छन् । सर्वोच्च अदालतले ‘ट्रम्प भर्सेस युनाइटेड स्टेट्स’ मुद्दामार्फत राष्ट्रपतिलाई दिएको व्यापक कानुनी उन्मुक्तिलाई ट्रम्पले आफ्नो स्वेच्छाचारी शक्तिको अचुक हतियार बनाएका छन् ।
मन्त्रिपरिषद्का सदस्यहरू राष्ट्रपतिका नीतिलाई सच्याउने वा चुनौती दिने सल्लाहकार हैनन् । तिनीहरू त ट्रम्पका आकस्मिक र व्यक्तिगत आवेगमूलक आदेशहरूलाई कार्यान्वयन गर्ने वफादार सेवकमा रूपान्तरित भएका छन् ।
पुस्तकले ट्रम्पको दोस्रो कार्यकालमा संविधानका नियमको साटो राष्ट्रपतिको व्यक्तिगत इच्छा र ‘गट इन्स्टिंक्ट’ नै राज्यको सर्वोच्च कानुन बन्न पुगेको यथार्थलाई चित्रण गरेको छ ।
ट्रम्पले आफ्ना शत्रुहरूका विरुद्ध लिएको प्रतिशोध र त्यसक्रममा राज्य संयन्त्रलाई हतियार बनाउने काम गरेको विषयलाई गम्भीरतापूर्वक केलाइएको छ । उनीविरुद्ध विगतमा छानबिन गर्ने, महाभियोग लगाउने र मुद्दा चलाउनेहरूमाथि निर्मम प्रतिशोध लिनु ट्रम्पको दोस्रो कार्यकालको प्रमुख सञ्चालक शक्ति थियो भनी लेखकद्वयले स्पष्ट पारेका छन् ।
न्याय मन्त्रालय (डीओजे) लाई ट्रम्पले आफ्नो व्यक्तिगत कानुनी फर्म जस्तै प्रयोग गर्न खोजेको तथ्यलाई पुस्तकले सप्रमाण प्रस्तुत गरेको छ । पूर्व एफबीआई निर्देशक जेम्स कोमी, न्युयोर्ककी महान्यायाधिवक्ता लेटिसिया जेम्स, सैन्य जनरल मार्क मिलीजस्ता व्यक्तित्वहरूमाथि राज्य संयन्त्र परिचालन गरेर मुद्दा चलाउने प्रयास यसका उदाहरण हुन् ।
यसबाहेक ट्रम्पविरुद्धका कानुनी प्रक्रियामा सहयोग गर्ने कभिङटन एन्ड बर्लिङ र पल वाइसजस्ता ऐतिहासिक र प्रतिष्ठित कानुन व्यवसायी फर्महरूलाई कार्यकारी आदेशमार्फत व्यवसायबाट वञ्चित गर्ने धम्की दिएर घुँडा टेक्न बाध्य पारिएको घटना पुस्तकमा निकै नाटकीय रूपमा उजागर भएको छ । त्यस्तै, हार्भर्ड र कोलम्बियाजस्ता शीर्ष विश्वविद्यालयहरूले पाउँदै आएको सरकारी अनुदान रोक्का गर्ने र स्वायत्तता खोस्ने प्रयास गरेर शैक्षिक तथा बौद्धिक संस्थाहरूलाई समेत वैचारिक रूपमा आफ्नो वशमा पार्न खोजिएको भयानक यथार्थलाई लेखकहरूले मसिनो गरी उतारेका छन् ।
शासन सञ्चालनमा गैर–निर्वाचित धनाढ्यहरूको प्रभाव र प्रशासनिक अस्थिरता ट्रम्पको दोस्रो कार्यकालको अर्को चिन्ताजनक पाटो हो जसलाई पुस्तकमा चर्चा गरिएको छ । इलोन मस्क र उनको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सीको उदय र पतनको कथा पुस्तकमा विशद रूपमा आएको छ । मस्कले ह्वाइट हाउसमा प्राप्त गरेको अभूतपूर्व शक्ति, कर्मचारीतन्त्रमाथि गरेको निर्मम प्रहार र बजेट प्रणाली भताभुंग पारेर यूएसएड जस्ता महत्त्वपूर्ण निकायलाई पंगु बनाएको विवरण निकै त्रासद छ ।
मस्कको स्वेच्छाचारिताका कारण क्याबिनेट मन्त्रीहरू विशेषगरी विदेशमन्त्री मार्को रुबियो र यातायातमन्त्री सीन डफीसँगको चर्काचर्की र अर्थमन्त्री स्कट बेसेन्टसँग ओभल अफिस बाहिर भएको हात हालाहालको दृश्यले ह्वाइट हाउसभित्रको अव्यवस्थालाई छर्लंग पार्छ ।
तर, मस्कको यस्तो हस्तक्षेपले राजनीतिक रूपमा क्षति गर्न थालेपछि ट्रम्पले उनलाई कुनै संकोचविना किनारा लगाए । यसले ट्रम्पको दरबारमा जस्तोसुकै शक्तिशाली अर्बपति पनि प्रयोगको साधन मात्र हुन सक्छ भन्ने देखाउँछ ।
विदेशनीतिको सन्दर्भमा पुस्तकले ट्रम्पको चरम लेनदेनवादी र आवेगात्मक चरित्रलाई पर्दाफास गरेको छ । लेखकहरूले ट्रम्पको कुनै सुसंगत वा दीर्घकालीन कूटनीतिक दर्शन नभएको बरु क्षणिक लाभ र हेडलाइन बनाउने लालसा मात्र रहेको प्रस्ट पारेका छन् ।
भेनेजुएलाको तेल कब्जा गर्ने धुनमा क्यारिबियन सागरमा डुंगाहरूमाथि मिसाइल प्रहार गर्ने अभियान अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन थियो । काराकासमा मध्यरातमा डेल्टा फोर्स पठाएर राष्ट्रपति निकोलस मदुरोलाई अपहरण शैलीमा पक्राउ गरी न्युयोर्क पु¥याइनु शीतयुद्धकालीन साम्राज्यवादी हस्तक्षेपको पुनरावृत्ति थियो ।
त्यस्तै, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको प्रभावमा परेर इरानविरुद्ध सुरु गरिएको अपरेसन एपिक फ्युरी र आयातोल्लाह अली खामेनीको हत्याले अमेरिकालाई कसरी अर्को भयानक युद्धको दलदलमा धकेल्यो भन्ने तथ्यलाई पुस्तकले सिचुएसन रुमका गोप्य बैठकहरूको आधारमा सिलसिलेवार रूपमा प्रस्तुत गरेको छ ।
युक्रेनसँगको सम्बन्धमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ह्वाइट हाउसको ओभल अफिसमै बोलाएर खनिज सम्झौताका लागि गरिएको अपमानजनक दबाब र सार्वजनिक वादविवादले अमेरिकी विदेशनीति कति अशिष्ट र मर्यादाहीन बन्न पुग्यो भन्ने देखाउँछ ।
पुस्तकको चौथो खण्ड प्लन्डरमा ट्रम्पले सत्ताको दुरुपयोग गरेर कसरी व्यक्तिगत र पारिवारिक सम्पत्ति आर्जन गरे भन्ने विषयको भयावह चित्र कोरिएको छ । ह्वाइट हाउसलाई व्यापारिक केन्द्रमा बदल्दै ट्रम्पका छोराहरूले सञ्चालन गरेको वर्ल्ड लिबर्टी फाइनान्सियल नामक क्रिप्टोकरेन्सी परियोजनामा यूएईको सार्वभौम कोषबाट अर्बौं डलर भित्र्याइएको, बिनान्सका संस्थापक चाङपेङ चाओलाई सजाय माफी दिएर क्रिप्टो उद्योगसँग मिलेमतो गरिएको र कतारबाट ‘उड्ने दरबार’ का रूपमा ४० करोड डलरको विलासी विमान उपहार लिइएको घटनाहरूले अमेरिकी राष्ट्रपतिको इतिहासमै नदेखिएको आर्थिक स्वार्थको द्वन्द्वलाई प्रमाणित गर्छन् ।
यसका साथै, वाशिङटन डीसीमा आफ्नै नाममा नेपोलियनको जस्तै २५० फिट अग्लो आर्क डे ट्रम्प बनाउने चाहना, केनेडी सेन्टरको नाम फेरेर ट्रम्पको नाम जोड्ने निर्णय र ह्वाइट हाउसको ऐतिहासिक इस्ट विङ भत्काएर आफ्नै लागि भव्य बलरुम बनाउने जिद्दीले उनको चरम आत्ममोह र व्यक्तित्वपूजाको विकृत रूपलाई उजागर गर्छ ।
लेखकद्वयले सूचनामा पाएको अभूतपूर्व पहुँच र गहन रिपोर्टिङ शैली पुस्तकको सबल पक्ष हो । हेबरम्यान र स्वानले ह्वाइट हाउसका सयौं भित्री स्रोतहरू, बैठकका टिपोटहरू र प्रत्यक्षदर्शीहरूको बयान संकलन गरेर पुस्तकलाई अत्यन्तै प्रामाणिक बनाएका छन् । उनीहरूले गरेको वर्णन कतिपय अवस्थामा त काल्पनिक लाग्न सक्छन् तर स्रोतहरूमा राम्रो पकड बनाएकाले ती यथार्थ नै भएको मान्न कर लाग्छ, नत्र त ट्रम्प प्रशासनले उनीहरूका विरुद्ध मुद्दा दायर गरिसक्थ्यो ।
उनीहरूले घटनाको बाहिरी विवरण मात्र दिएका छैनन् । निर्णय प्रक्रियाका पछाडि रहेका मनोवैज्ञानिक आवेग, भय, चाकरी र गुटगत द्वन्द्वलाई समेत उनीहरूले जीवन्त संवादहरूमार्फत उतारेका छन् । विशेषगरी, पुस्तकको अन्त्यतिर मार्च २०२६ मा ओभल अफिसमा लेखकहरूले ट्रम्पसँग लिएको एक घण्टा लामो प्रत्यक्ष अन्तर्वार्ता यस कृतिको उत्कृष्ट अंश हो ।
उक्त अन्तर्वार्तामा ट्रम्पले आफ्ना गल्फ क्याडीले लेखेको पत्र देखाउँदै आफूलाई अलेक्जेन्डर महान्, जुलियस सिजर, नेपोलियन, हिटलर, माओ र स्टालिनभन्दा पनि शक्तिशाली ठानेको आत्मस्वीकृतिले पुस्तकलाई अद्वितीय मनोवैज्ञानिक दस्तावेजको उचाइ प्रदान गरेको छ ।
लेखकहरूको आख्यानात्मक शिल्प पनि उत्तिकै प्रशंसनीय छ । जटिल प्रशासनिक प्रक्रिया, बजेटरी प्रावधान, ट्यारिफका प्राविधिक पक्ष र कानुनी बहसलगायतका विषयलाई पनि उनीहरूले कुनै राजनीतिक थ्रिलर उपन्यास जत्तिकै रोचक र कौतूहलपूर्ण बनाएर प्रस्तुत गरेका छन् ।
ट्रम्पको भाषा, उनले दिएका उपनामहरू, ओभल अफिसमा क्यान्डी बाँड्दै सहयोगीहरूलाई गिज्याउने बानी र रातभर टीभी हेरेर बिहान अचानक सामाजिक सञ्जालमार्फत देशको नीति उल्टाइदिने व्यवहारलाई लेखकहरूले अत्यन्तै सूक्ष्म अवलोकनका साथ लिपिबद्ध गरेका छन् ।
पुस्तकले ट्रम्पलाई एकपक्षीय चित्रण गर्नुको साटो उनको आकर्षण, मानिसहरूको कमजोरी पहिल्याउने तीक्ष्ण क्षमता, अप्रत्याशित लचकता र कहिल्यै लज्जाबोध नहुने उनको अनौठो राजनीतिक शक्तिलाई निष्पक्ष रूपमा स्वीकार गरेको छ ।
पुस्तक रोचक र जानकारीमूलक हुँदाहुँदै पनि केही कमजोरीहरूबाट भने मुक्त छैन । अत्यधिक मात्रामा दरबारिया षड्यन्त्र, व्यक्तिगत कलह र ह्वाइट हाउसको भित्री कोठाका गफगाफमा केन्द्रित हुनु पुस्तकको सीमा हो ।
ट्रम्प, उनका सल्लाहकारहरू, मस्क र अन्य अर्बपतिहरूबीचको सम्बन्धको उतारचढावलाई यति चाहिने भन्दा बढी ठाउँ दिइएको छ । उनीहरूले गरेका विनाशकारी निर्णयहरूले सामान्य अमेरिकी नागरिकको दैनिक जीवनमा पारेको वास्तविक असरको गहिरो सामाजिक तथा आर्थिक विश्लेषण कताकता ओझेलमा परेको छ ।
ट्यारिफका कारण बढेको महँगी वा आप्रवासी धरपकडले समुदायहरूमा पारेको मानवीय संकटलाई केही प्रतिनिधि घटनाहरूमा मात्र सीमित गरिएको छ । यसले गर्दा पुस्तक कहिलेकाहीँ नीतिगत प्रभावको गम्भीर ग्रन्थभन्दा पनि उच्चपदस्थहरूको गसिपको सँगालो जस्तो देखिन पुग्छ ।
पुस्तकमा अज्ञात स्रोतहरूको अत्यधिक उपयोग पनि पाठकलाई अपाच्य हुन सक्छ । स्रोत नखुलाउने पत्रकारिताको बाध्यता भए तापनि पुस्तकमा प्रयोग गरिएका अधिकांश महत्त्वपूर्ण र स्तब्ध बनाउने दाबीहरू ‘एक वरिष्ठ अधिकारी’, ‘ट्रम्पका नजिकका सहयोगी’ वा ‘बैठकमा उपस्थित एक सहभागी’ जस्ता अज्ञात स्रोतहरूमा निर्भर छन् ।
ट्रम्प प्रशासनजस्तो अति–ध्रुवीकृत र आरोप–प्रत्यारोपले भरिएको परिवेशमा अज्ञात स्रोतहरूको अत्यधिक उपयोगले गर्दा कतिपय आलोचकहरूलाई यसका दाबीहरूको निष्पक्षतामाथि प्रश्न उठाउने ठाउँ मिल्छ ।
यसका अतिरिक्त, पुस्तकको संरचनामा केही हदसम्म घटनाहरूको पुनरावृत्ति भेटिन्छ । ट्रम्पले अचानक कुनै अनौठो घोषणा गर्नु, सहयोगीहरू आत्तिनु, बजार वा अदालतले धक्का दिनु, ट्रम्पले आफ्नै मान्छेलाई दोष दिएर पछि हट्नु र फेरि अर्को नयाँ बबन्डर सुरु हुनु—यो चक्र पुस्तकभरि बारम्बार दोहोरिँदा पाठकलाई झिँझो लाग्न सक्छ ।
जे होस्, ‘रेजिम चेन्ज’ समकालीन इतिहास र राजनीतिक पत्रकारिताको महत्त्वपूर्ण कृति हो । म्यागी हेबरम्यान र जोनाथन स्वानले अमेरिकी गणतन्त्र कसरी एक व्यक्तिको नियन्त्रणविहीन अहंकार, प्रतिशोधको भोक र अधिनायकवादी आकांक्षामुन्तिर निरीह बन्दै गयो भन्ने कठोर सत्यलाई निर्भीकतापूर्वक बाहिर ल्याएका छन् ।
यो पुस्तक ट्रम्पको कार्यकालको विवरण मात्र होइन । यो त लोकतान्त्रिक संस्थाहरू कति नाजुक हुन्छन् र बलियो भनिएको प्रणाली पनि कति छिटो भत्किन सक्छ भन्ने कुराको चेतावनीपूर्ण अभिलेख हो ।
शक्ति, अहंकार र लोकतन्त्रको क्षयीकरणलाई बुझ्न चाहने जोकोही अध्येता, राजनीतिक विश्लेषक र सचेत नागरिकका लागि यस पुस्तकको पठन अपरिहार्य छ ।
This review was first published on Clickmandu.
