अमेरिकाले मदुरोलाई पक्राउ गरेपछि टेक्नेटको चर्चा, सम्पूर्ण महादेश चलाउने आकांक्षा

January 8, 2026
Featured image for “अमेरिकाले मदुरोलाई पक्राउ गरेपछि टेक्नेटको चर्चा, सम्पूर्ण महादेश चलाउने आकांक्षा”

गत शनिबार (३ जनवरी) अमेरिकी सेनाको विशेष बलले भेनेजुएलाको राजधानी काराकासमा राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको खबरले विश्वलाई स्तब्ध बनाएको छ ।

मदुरोलाई लागूऔषध ओसारपसार र नार्को–आतंकवादको मुद्दा लगाएर न्युयोर्कस्थित अदालतमा पेश गरिएको छ । त्यस घटनासँगै सामाजिक सञ्जाल एक्स लगायतका प्लेटफर्महरूमा ‘टेक्नेट’ भनिने एउटा अनौठो र पुरानो शब्द ट्रेन्डिङ हुन थालेको छ ।

टेक्नेट झण्डै एक शताब्दीपहिले तयार पारिएको एउटा नयाँ विश्व व्यवस्थाको खाका हो । त्यसमा विश्वकै सबभन्दा धनी व्यक्ति इलोन मस्क र भेनेजुएला समेत समावेश भएको सन् १९४० को एउटा दुर्लभ नक्सा जोडिएको छ ।

यसको बारेमा किन चर्चा चलिरहेको छ भन्ने कुरा बुझ्नका लागि सन् १९३० को दशकमा अमेरिकामा देखिएको ग्रेट डिप्रेसन (महामन्दी) को समयमा थालिएको अभियानलाई विचार गर्नुपर्ने हुन्छ ।

प्रस्तावकहरूले टेक्नेटलाई एउटा देश मात्र नभई उच्च–प्राविधिक दक्षतामार्फत आफ्ना नागरिकलाई आवश्यक पर्ने सबै कुरा प्रदान गर्न डिजाइन गरिएको आत्मनिर्भर भौगोलिक क्षेत्रका रूपमा हेरेका थिए

सन् १९३० को दशकमा अमेरिकाका इन्जिनियर र वैज्ञानिकहरूको एउटा समूहले टेक्नोक्रेसी इन्क नामक संस्था गठन गरेका थिए । राजनीतिकर्मी र मूल्य प्रणाली (पैसा) गरिबी र अराजकताको मुख्य कारण हुन् भन्ने उनीहरूको विश्वास थियो । यस समस्याको समाधानका लागि उनीहरूले सरल तर कट्टरपन्थी अवधारणा अघि सारेका थिए ।

राजनीतिकर्मीहरूलाई इन्जिनियर, वैज्ञानिक र प्राविधिक जस्ता विज्ञहरूद्वारा विस्थापित गर्ने र पैसालाई ऊर्जा प्रमाणपत्र (इनर्जी सर्टिफिकेट्स) ले विस्थापन गर्ने उनीहरूको प्रस्ताव थियो ।

प्रस्तावकहरूले टेक्नेटलाई एउटा देश मात्र नभई उच्च–प्राविधिक दक्षतामार्फत आफ्ना नागरिकलाई आवश्यक पर्ने सबै कुरा प्रदान गर्न डिजाइन गरिएको आत्मनिर्भर भौगोलिक क्षेत्रका रूपमा हेरेका थिए ।

उनीहरूको परिकल्पनामा जनताले नेता छान्नका लागि मतदान गर्न पर्दैन । सबैभन्दा सक्षम विज्ञहरूले नै शासन प्रणालीहरू सञ्चालन गर्नेछन् । त्यहाँ कुनै ऋण, कर र गरिबीको सम्भावना छैन किनभने उत्तर र दक्षिण अमेरिकी महादेशमा उपलब्ध कुल ऊर्जाको आधारमा स्रोतहरू वितरण गरिनेछ ।

मदुरोको पक्राउसँगै टेक्नेट चर्चामा किन आयो त ? खासमा सन् १९४० मा टेक्नोक्रेसी इन्कले प्रकाशन गरेको विशेष नक्साका कारण अहिले यसको परिचर्चा भइरहेको हो । त्यस नक्सामा सम्पूर्ण उत्तर अमेरिका (क्यानडा र अमेरिका), मध्य अमेरिका र मेक्सिको, क्यारिबियाली टापुहरू, भेनेजुएला, कोलम्बिया र गायाना सहितका दक्षिण अमेरिकाका उत्तरी भागहरू पर्छन् ।

अभियानका नेताहरूका अनुसार, टेक्नेटले काम गर्नका लागि भौगोलिक एकाइ आवश्यक पर्छ । त्यस एकाइमा आत्मनिर्भर हुनका लागि आवश्यक पर्ने सबै प्राकृतिक स्रोतहरू हुनु जरुरी छ । भेनेजुएलामा भएको विशाल ऊर्जा भण्डारका कारण त्यो देश पनि टेक्नेक नक्सामा परेको हो । ऊर्जामा आधारित अर्थतन्त्र टिकाउनका लागि भेनेजुएलाको ओरिनोको बेसिनमा रहेको विशाल तेल भण्डारमाथिको नियन्त्रण आवश्यक रहेको कुरा सन् १९४० मै टेक्नोक्रेटहरूलाई थाहा थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अहिले यही नक्सालाई औंल्याउँदै भेनेजुएलामा अमेरिकी हस्तक्षेप लोकतन्त्रका लागि नभई सन् १९४० को नक्साले गरेको परिकल्पना पूरा गर्नका लागि भएको दाबी गरेका छन् । अर्थात्, भेनेजुएलाका ऊर्जा स्रोतहरूलाई उत्तर अमेरिकी टेक्नेटमा गाभ्नका लागि अमेरिकाले कारवाही अघि बढाएको दाबी उनीहरू गरिरहेका छन् ।

इलोन मस्कको पारिवारिक इतिहास हेर्ने हो भने टेक्नेटको कथाले व्यक्तिगत मोड लिन्छ । मस्कका मावली हजुरबुबा जोशुआ हाल्डेम्यान सन् १९३० र ४० को दशकमा क्यानडामा टेक्नोक्रेसी अभियानका प्रमुख नेता थिए । हाल्डेम्यान त्यस अभियानका सामान्य सदस्य मात्र थिएनन् । उनी क्यानाडामा टेक्नोक्रेसी इन्कका अनुसन्धान निर्देशक थिए ।

मस्कले थालेका डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डोगे) मार्फत दक्षतामा जोडदेखि मानवलाई अन्य ग्रहमा सेटल गराउनेसम्मका काम उनका हजुरबुवाको टेक्नोक्रेटिक सपनाको अत्याधुनिक संस्करण भएको कतिपयको विश्वास छ

त्यस समयमा यो अभियान निकै विवादास्पद थियो । उनीहरूले सरकारमा सांगोपांग परिवर्तनको पैरवी गरेकाले, युद्धविरोधी देखिएकाले र उत्तर अमेरिकी टेक्नेट दोस्रो विश्वयुद्धमा तटस्थ रहनुपर्छ र आफ्नै स्रोतहरूमा ध्यान दिनुपर्छ भन्ने तर्क गरेकाले क्यानडाको सरकार सशंकित भयो ।

सन् १९४० मा डिफेन्स अफ क्यानडा रेगुलेशन अन्तर्गत क्यानडामा टेक्नोक्रेसी अभियानलाई प्रतिबन्ध लगाइयो । जोशुआ हाल्डेम्यानलाई उक्त संस्थामा संलग्न भएको आरोपमा पक्राउ गरी जरिवाना गरियो । पछि क्यानडा सरकारबाट निराश भएर उनी आफ्नो परिवारसहित दक्षिण अफ्रिका बसाइँ सरे । इलोन मस्क दक्षिण अफ्रिकामा जन्मे ।

मस्कले थालेका डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डोगे) मार्फत दक्षतामा जोडदेखि मानवलाई अन्य ग्रहमा सेटल गराउनेसम्मका काम उनका हजुरबुवाको टेक्नोक्रेटिक सपनाको अत्याधुनिक संस्करण भएको कतिपयको विश्वास छ ।

उनीहरूले अमेरिकी सरकारमाथि मस्कको प्रभावलाई राजनीतिकर्मीहरूको शासनको साटो विज्ञहरूको शासनको सुरुवातका रूपमा हेर्छन् ।

सन् २०२६ मा आएर टेक्नेट अचानक सान्दर्भिक हुनुका तीन मुख्य कारणहरू छन् । पहिलो, ऊर्जाको आधिपत्य । मौलिक टेक्नोक्रेसी अभियान ऊर्जामा अत्यधिक केन्द्रित थियो । अहिले विश्व एआई, विद्युतीय गाडीहरू र विशाल डेटा केन्द्रहरूतर्फ अघि बढ्दै गर्दा ऊर्जा पुनः सबैभन्दा मूल्यवान मुद्रा बनेको छ । डलरमा आधारित वित्तीय प्रणालीबाट ऊर्जामा (कतिपयले डिजिटल ऊर्जा पनि भनिरहेका छन्) आधारित प्रणालीमा जाने प्रस्तावहरू पनि देखिन थालेका छन् । त्यो साकार भएमा सन् १९३० को दशकमा वर्णन गरिएको टेक्नेट जस्तै देखिनेछ ।

दोस्रो, परम्परागत राजनीतिको असफलता । विश्वका धेरै भागमा मानिस राजनीतिकर्मीहरूको अकर्मण्यताबाट थाकिसकेका छन् । विज्ञहरूलाई नै शासन प्रणाली सुधार गर्न दिने अवधारणा लोकप्रिय बन्दै गएको छ । इलोन मस्क वा अन्य प्राविधिक क्षेत्रका अग्रणीहरूले फजुल खर्च कटौती गर्न र राज्यको पुनःसंरचना गर्न सरकारसँग प्रत्यक्ष काम गरिरहेको देख्दा टेक्नेट वास्तवमै निर्माण भइरहेको जस्तो अनुभव हुन्छ ।

तेस्रो, अमेरिकाको ट्रम्प प्रशासनले ल्याएको राष्ट्रिय सुरक्षा रणनीतिमा पश्चिमी गोलार्ध (दक्षिण र उत्तर अमेरिका दुवै समेटिएको आधा विश्व) मा अमेरिकाको मात्र प्रभाव हुनुपर्ने अडान लिएको छ । विगतको मोनरो डक्ट्रिनलाई ट्रम्पले नयाँ संस्करणका साथ जगाएका छन् । त्यस रणनीतिले अमेरिकाका प्रतिस्पर्धी शक्ति चीन र रुसलाई पश्चिमी गोलार्धमा प्रभाव जमाउन रोक्ने भनेको छ । भेनेजुएलाका मदुरोले चीन, रुस र इरानलाई आफ्नो भूमि उपयोग गर्न दिएकाले पनि अमेरिकाले उनीमाथि कारवाही गरेको हो।

यस पृष्ठभूमिमा मदुरोको पक्राउ र भेनेजुएलामा अमेरिकाको समर्थनप्राप्त सरकार बन्ने सम्भावनालाई कतिपयले सन् १९४० को नक्साले माग गरेको ऊर्जा एकाइ सुरक्षित गर्ने अन्तिम कदमको रूपमा हेरेका छन् । भेनेजुएलाको तेल र दुर्लभ खनिज पदार्थहरूलाई अमेरिकाको व्यवस्थापन अन्तर्गत ल्याइएमा टेक्नेटका लागि आवश्यक भौगोलिक शर्तहरू आधिकारिक रूपमा पूरा हुनेछन् ।

त्यसोभए टेक्नेट कार्यान्वयन भइरहेको वास्तविक योजना हो कि एक षड्यन्त्र सिद्धान्त मात्र हो ? टेक्नोक्रेसी अभियान वास्तविक थियो । भेनेजुएला समेत समावेश भएको सन् १९४० को नक्सा वास्तविक हो । टेक्नोक्रेट भएकाले जोशुआ हाल्डेम्यान पक्राउ परेको कुरा प्रमाणित ऐतिहासिक तथ्य हो । त्यसमाथि इलोन मस्कले प्रणालीहरू सञ्चालन गर्ने उत्तम तरिकाका रूपमा भौतिकशास्त्रका आधारभूत सिद्धान्तहरू र दक्षताको बारेमा कुरा गर्ने गरेको पनि सत्य हो ।

ट्रम्प र इलोन मस्क (तथा प्रविधि क्षेत्रका अन्य अर्बपतिहरू) बीचको बढ्दो सामीप्यले पनि टेक्नेट कार्यान्वयनको सोच बनिरहेको छ कि जस्तो देखिन्छ । विगतमा सिलिकन भ्यालीप्रति कठोर देखिएका ट्रम्प अहिले प्रविधि क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूको मुख्य रोजाइ बनेका छन् ।

ट्रम्प र ठूला प्रविधि कम्पनीका सीईओहरूको सम्बन्धको गहिरो व्यापारिक स्वार्थ लुकेको छ । मस्क जस्ता व्यक्तित्वले डोगेमार्फत सरकारी संयन्त्रलाई कर्पोरेट शैलीमा ढाल्न खोजेका थिए, भलै त्यसमा आशान्वित सफलता हासिल भएन । तैपनि मस्क लगायतका सीईओहरू ट्रम्पमार्फत कर्मचारीतन्त्रको झन्झटिलो प्रक्रिया हटाएर आफ्ना परियोजनाहरूका लागि द्रुत गतिमा मार्गप्रशस्त गर्न चाहन्छन् । उनीहरूकै सल्लाहमा ट्रम्प अहिले प्रविधि क्षेत्रका लागि आवश्यक दुर्लभ खनिज पदार्थहरू सुरक्षित गर्न लागिपरेका छन् । भेनेजुएला र ग्रीनल्यान्डमाथि अमेरिकी आधिपत्यको चाहना त्यसैले प्रेरित गरेको हो ।

यसरी ट्रम्प र प्रविधि क्षेत्रका सीईओहरूको साँठगाँठले अमेरिकाको राज्य सञ्चालनमा विज्ञ र धनाढ्यहरूको प्रत्यक्ष शासन चलाउने आकांक्षाको छनक दिन्छ । तर, यसले शक्ति र सम्पत्तिको केन्द्रीकरणलाई थप संस्थागत गर्ने जोखिम रहेकाले अमेरिकामा यसको व्यापक प्रतिकार भएको छ ।

हुन त संसार अहिले ठ्याक्कै टेक्नोक्रेटहरूले भविष्यवाणी गरे जस्तै देखिन थालेको छ । अहिलेको युगमा परम्परागत सिमानाहरूभन्दा डेटा र ऊर्जा बढी महत्त्वपूर्ण छन् । अहिले प्रविधि क्षेत्रका अर्बपतिहरूसँग राष्ट्रपतिको जत्तिकै शक्ति छ

मदुरोलाई पक्राउ गरेर सन् १९४० को दशकको नक्सा साकार पार्ने गोप्य योजना चाहिँ अहिलेसम्मका लागि षड्यन्त्र सिद्धान्त नै मान्नुपर्छ । मदुरोलाई सन् १९३० को दशकको कुनै गोप्य योजनाअन्तर्गत नभई दशकौंदेखि अमेरिका र भेनेजुएलाबीचको कूटनीतिक तनाव, आर्थिक प्रतिबन्ध र फौजदारी अनुसन्धानको परिणाम भएको प्रमुख सञ्चारमाध्यमहरूको सामग्री अध्ययन गर्दा थाहा हुन्छ ।

त्यसमाथि मौलिक टेक्नोक्रेटहरू वास्तवमा साम्राज्यवादविरोधी थिए । उनीहरू अन्य देश जित्न चाहँदैनथे । उनीहरू त अस्तित्व रक्षाका लागि दुई महादेशलाई एउटै कार्यमूलक एकाइमा गाभ्न चाहन्थे ।

हुन त संसार अहिले ठ्याक्कै टेक्नोक्रेटहरूले भविष्यवाणी गरे जस्तै देखिन थालेको छ । अहिलेको युगमा परम्परागत सिमानाहरूभन्दा डेटा र ऊर्जा बढी महत्त्वपूर्ण छन् । अहिले प्रविधि क्षेत्रका अर्बपतिहरूसँग राष्ट्रपतिको जत्तिकै शक्ति छ ।

त्यसैले सामाजिक सञ्जालमा टेक्नेट ट्रेन्ड पछ्याइरहेका व्यक्तिहरूका लागि सम्पूर्ण अमेरिकी महादेश (अमेरिकाज) लाई एउटै स्रोत–सम्पन्न र विज्ञहरूको नेतृत्वमा रहेको ब्लकमा एकीकृत गर्ने सम्भावना बढेको अनुभूति भइरहेको छ ।

This article was first published on Clickmandu.


Share:

Leave a Reply