
अमेरिका र इरानले बुधबार (अप्रिल ८) मा दुई हप्ते युद्धविरामको घोषणा गरेका छन् । यससँगै फेब्रुअरी २८ बाट सुरु भएको युद्ध ४० दिन चलेर तत्कालका लागि अन्त्य भएको छ ।
युद्धका क्रममा इरानले विश्वको २० प्रतिशत तेल ढुवानी हुने हर्मुज जलयोजकमा नाकाबन्दी र टोल प्रणाली स्थापित गरेपछि विश्वभरि तेलको हाहाकार भएको थियो । अस्थायी युद्धविरामले ऊर्जा बजारलाई राहत दिनेछ ।
युद्धविराम गराउन पाकिस्तानको भूमिका निर्णायक रहेको देखिन्छ । इरानको छिमेकी र अमेरिकाको लामो समयदेखिको साझेदार हुनुको नाताले इस्लामाबादले दुई प्रतिद्वन्द्वी शक्तिहरूबीच महत्त्वपूर्ण सञ्चार सेतुको रूपमा काम गरेको थियो ।
इरानसँगको साझा सीमा र ऐतिहासिक सम्बन्धका कारण पाकिस्तानले तेहरानको विश्वास जित्न सफलता पाएको थियो भने अर्कोतर्फ अमेरिकाको ट्रम्प प्रशासनसँगको गहिरो सम्बन्धलाई प्रयोग गर्दै दुवै देशबीच सहमतिका लागि महत्त्वपूर्ण भूमिका खेल्यो ।
पाकिस्तानले वाशिङटन र तेहरानका उच्च अधिकारीहरूबीच धेरै चरणका गोप्य ब्याक–च्यानल वार्ताहरूको आयोजना गरेको थियो । दुवै पक्षले एकअर्कासमक्ष राखेको शान्ति प्रस्तावलाई पाकिस्तानले नै आदानप्रदान गराएको थियो । त्यसो त युद्धविराममा ओमानी र स्विसहरूले पनि भूमिका खेलेको कुरा सार्वजनिक भएको छ ।
युद्धविराम हुन्छ भन्नेमा कोही पनि ढुक्क थिएन । यसको घोषणा हुनुअघिका दिनहरूमा ट्रम्पले इरानी सभ्यताको पूर्ण विनाश गर्ने धम्की दिइरहेका थिए
ट्रम्प प्रशासनको अधिकतम दबाब र इरानको रणनीतिक धैर्यताबीचको द्वन्द्व लामो समयसम्म जान सक्ने सम्भावना थियो । तर, इरानलाई जतिसुकै प्रहार गरे पनि झुकाउन नसकिने कुरा बुझेर अमेरिकाले निकासका उपायहरू पनि सँगसँगै खोजिरहेको थियो ।
हर्मुज जलयोजकबाट पार हुने तेल ट्यांकरहरूको बिमा प्रिमियममा भएको उल्लेख्य वृद्धिले पश्चिमी अर्थतन्त्रलाई अस्थिर बनाउनुका साथै ब्रेन्ट क्रुडको मूल्य बढ्दा अमेरिकामा समेत महँगीको असर पर्न थालेपछि ट्रम्प यो युद्धबाट हात झिक्न चाहन्थे । दुई हप्ताका लागि युद्धविराम गराएर प्रशासनले व्यापारिक ढुवानीको चापलाई सुरक्षित रूपमा पार गराउने र अस्थिर ऊर्जा बजारलाई शान्त पार्ने रणनीति अँगालेको छ ।
युद्धविराम हुन्छ भन्नेमा कोही पनि ढुक्क थिएन । यसको घोषणा हुनुअघिका दिनहरूमा ट्रम्पले इरानी सभ्यताको पूर्ण विनाश गर्ने धम्की दिइरहेका थिए । साथसाथै, उनले इरानका कट्टरपन्थी शासकहरूलाई अमेरिका र इजरायलले सिध्याइदिएको अनि नयाँ शासकहरू तार्किक मानिस भएकाले उनीहरूसँग कुरा गर्न सहज रहेको भनी दोधारे कुरा गरिरहेका थिए ।
जे भए पनि अस्थायी युद्धविराम महत्त्वपूर्ण छ किनकि यसले कुनै पनि पक्षलाई आणविक कार्यक्रम वा क्षेत्रीय प्रभाव जस्ता दीर्घकालीन रणनीतिक लक्ष्यहरूमा स्थायी सम्झौता गर्न बाध्य नपारी शान्ति कायम गर्ने अवसर दिएको छ ।
इरानी दृष्टिकोणबाट हेर्दा यस युद्धविरामले आफ्नो स्थलगत र समुद्री पूर्वाधारमा हुन सक्ने सम्भावित विशाल आक्रमणको खतराबाट आवश्यक राहत प्रदान गर्छ । इरानी नेतृत्वले हर्मुज जलयोजकमा नियन्त्रण कायम राखेकैले वाशिङटनलाई वार्ताको टेबुलमा फर्काउन पर्याप्त दबाब परेको रूपमा लिएको थियो ।
इरानले अमेरिका जस्तो महाशक्तिसँग डटेर सामना गर्न सक्छ भन्ने कुरा प्रमाणित गर्दै कूटनीतिक विजयको दाबी गर्न पाएको छ । साथै, उसले आफ्नो घरेलु तेल प्रशोधन केन्द्र र जलसैनिक सम्पत्तिहरूलाई ध्वस्त पार्न सक्ने तत्कालको सैन्य खतरालाई पनि टारेको छ ।
हुन त इरानले अमेरिकासमक्ष राखेको शान्ति प्रस्तावमा भविष्यमा कुनै आक्रमण नहुने सुनिश्चितता खोजेको थियो । त्यस्तो ग्यारेन्टी नपाए पनि इरानले थप क्षतिबाट बच्नका लागि अस्थायी युद्धविराम स्वीकार गरेको हो ।
तर, युद्धमा होमिएका दुवै पक्षहरू पर्ख र हेरको रणनीति अँगालिरहेका छन् । युद्धको अर्को घटकका रूपमा रहेको इजरायलले इरानविरुद्ध आक्रमण नगर्ने सहमति गरेको भए पनि लेबननमा इरानको सहयोगीका रूपमा रहेको हेज्बोल्लाहमाथिको प्रहार जारी राख्ने बताएको छ ।
यस युद्धविरामले अमेरिकाका खाडी साझेदारहरू साउदी अरब, कतार र संयुक्त अरब अमिरात (यूएई) लाई समेत राहत दिएको छ । इरानले लगातार उनीहरूमाथि ड्रोन र मिसाइल प्रहार गरेर हायलकायल बनाइरहेको थियो । लडाइँ लम्बिइरहेको भए उनीहरू क्षेत्रीय युद्धमा होमिनुपर्ने हुन्थ्यो ।
इरानले गोप्य रूपमा आणविक कार्यक्रम सञ्चालन गर्न वा छिमेकी देशहरूमा प्रोक्सी सेनाहरूलाई बलियो बनाउन र अमेरिकाले इरानमा स्थलगत आक्रमणका लागि तयारी गर्न दुरुपयोग गरेमा युद्धविरामलाई रणनीतिक छल मात्र मानिनेछ
तर, खाडी मुलुकहरूले राहतका साथै शंकाको पनि अनुभव गरिरहेका छन् । अस्थायी युद्धविरामले इरानद्वारा क्षेत्रीय प्रोक्सीहरूको समर्थन जस्ता आधारभूत समस्याहरूलाई सम्बोधन नगरी इरानको क्षेत्रीय महत्त्वाकांक्षालाई स्थायी रूपमा स्वीकार गर्ने बाटो खोल्न सक्ने आशंका उनीहरूले गरिरहेका छन् ।
विश्वव्यापी आर्थिक प्रभावहरू नै शायद युद्धविराम कायम राख्ने सबैभन्दा बलिया ग्यारेन्टर हुन् । तेलको मूल्य प्रति ब्यारल दुई सय डलर पुग्ने खतरा बढेसँगै विश्वव्यापी मुद्रास्फीतिको दबाब अमेरिकी उपभोक्ताका लागि असह्य हुँदै गएको थियो ।
अमेरिकामा तेलको मूल्य ४ डलर प्रति ग्यालन पुगेसँगै ट्रम्पको समर्थन सूचकांक स्वाट्टै घटेर ३१ प्रतिशतमा झरेको सीएनएनले गरेको सर्वेक्षणमा देखिएको थियो । हर्मुज जलमार्गलाई छोटो समयको लागि भए पनि स्थिर बनाएर ट्रम्प प्रशासनले कूटनीतिलाई घरेलु आर्थिक नीतिको औजारको रूपमा प्रभावकारी रूपमा उपयोग गरिरहेको छ ।
युद्धविराम कायम रह्यो भने तेलको मूल्यमा हुने अचानक गिरावटले राष्ट्रपति ट्रम्पका लागि सन् २०२६ को मध्यावधि निर्वाचनमा महत्त्वपूर्ण राजनीतिक अग्रता प्रदान गर्नेछ । ऊर्जाको मूल्यलाई स्थिर बनाउने कूटनीतिले भूराजनीतिक तनावहरू बजारको अस्थिरता र व्यापार प्रवाहको माध्यमबाट व्यवस्थित गरिन्छ भन्ने कुरा प्रमाणित गरेको छ ।
तर, युद्धविरामको दुई हप्ता सकिएपछि के हुन्छ भन्ने कुरामा विश्लेषकहरूको मत विभाजित छ । युद्धविरामले दुवै पक्षलाई विजयको घोषणा गर्न पर्याप्त समय दिन्छ तर स्थायी शान्तिका लागि विस्तृत सन्धि मस्यौदा तयार गर्न समुचित समय दिँदैन ।
दुवै पक्षले वार्ता सफल नभएमा अझ तीव्र लडाइँका लागि आफ्ना हतियारहरू व्यवस्थित गर्नका लागि अस्थायी युद्धविरामको समय उपयोग गर्न सक्छन् भन्ने चिन्ता पनि छ । अमेरिकाले खाडी क्षेत्रमा आफ्नो क्यारियर स्ट्राइक ग्रुपको तैनाथी घटाएको छैन । त्यसले के संकेत गर्छ भने शान्तिको प्रस्तावसँगै अमेरिकाले सैन्य शक्ति पनि प्रदर्शन गरिरहेकै छ । वार्ता र हतियार प्रदर्शनको यो दोहोरो रणनीतिले अमेरिका र इरानबीचको सम्बन्धको जटिल वर्तमान अवस्थालाई परिभाषित गर्छ ।
कतिपय आलोचकहरूले यसलाई टाको युद्धविराम नाम दिएका छन् । ट्रम्प जहिल्यै पछि हट्छन् (ट्रम्प अल्वेज चिकन्स आउट–टाको) भनी अमेरिकी राष्ट्रपतिको आलोचना हुने गरेको छ ।
विगतमा लिबरेशन डे ट्यारिफबाट पछि हटेका ट्रम्प अहिले इरानमा सत्ता परिवर्तन गर्नेदेखि लिएर इरानलाई ध्वस्त बनाइदिने धम्कीबाट पछि हटेर युद्धविरामका लागि सहमत भएको विषयलाई लिएर टाको भनिएको हो । तर, युद्धविरामका कारण विश्व अर्थतन्त्रलाई राहत हुँदा टाको पनि स्वागतयोग्य ठहर्छ ।
आगामी दुई साताले पश्चिम एसियाली कूटनीतिको नयाँ र व्यावहारिक युगको उदय भइरहेको हो कि ठूलो आँधी आउनुअघिको शान्ति हो भन्ने कुराको निर्धारण गर्नेछ
अस्थायी युद्धविरामको सफलता थप ठोस वार्ताका लागि रूपरेखा बन्छ कि बन्दैन भन्ने आधारमा मापन गरिनेछ । यस दुई हप्ते अवधिमा निरीक्षण खण्ड समावेश छ जहाँ दुवै पक्षले खाडीमा उनीहरूको जलसैनिक गतिविधिहरूको बारेमा निश्चित स्तरको पारदर्शिता कायम गर्नेछन् । यो पारदर्शिता स्थापित हुन सक्यो भने यसले भविष्यका सम्झौताहरूका लागि विश्वास निर्माण गर्ने उपायको रूपमा काम गर्न सक्छ ।
तर, इरानले गोप्य रूपमा आणविक कार्यक्रम सञ्चालन गर्न वा छिमेकी देशहरूमा प्रोक्सी सेनाहरूलाई बलियो बनाउन र अमेरिकाले इरानमा स्थलगत आक्रमणका लागि तयारी गर्न दुरुपयोग गरेमा युद्धविरामलाई रणनीतिक छल मात्र मानिनेछ ।
जे होस्, युद्धविरामका कारण हर्मुज जलयोजक तत्कालका लागि शान्त छ । समुद्रमा रहेका नाविकहरू र पम्पमा लाइन लागेर पेट्रोलियम पदार्थ लिइरहेका उपभोक्ताहरूका लागि यो दुई हप्ते अवधि स्वागतयोग्य राहत हो ।
तैपनि इरानको आणविक महत्त्वाकांक्षा, अमेरिकाको आर्थिक नाकाबन्दी नीति र क्षेत्रीय प्रभुत्वका लागि भइरहेको संघर्ष जस्ता आधारभूत तनावहरू पूर्ण रूपमा समाधान हुन बाँकी नै छन् । युद्धविरामले रक्तस्राव रोकेको छ, तर घाउ निको पारेको छैन ।
अमेरिका र इरानबीचको युद्धविराम सफल भएमा आर्थिक र सैन्य लागत धेरै उच्च हुँदा सबैभन्दा कट्टर शत्रुहरूले पनि साझा आधार फेला पार्न सक्छन् भन्ने कुरा प्रमाणित गर्नेछ । यो असफल भयो भने सम्भवतः यस्तो तनाव निम्त्याउनेछ जसलाई दुवै पक्षलाई भारी नोक्सानी गर्नेछ ।
आगामी दुई साताले पश्चिम एसियाली कूटनीतिको नयाँ र व्यावहारिक युगको उदय भइरहेको हो कि ठूलो आँधी आउनुअघिको शान्ति हो भन्ने कुराको निर्धारण गर्नेछ ।
This article was first published on Clickmandu.
