जापानी येनको संकट समाधान गर्न अमेरिकाको हस्तक्षेप, कस्तो हुन्छ विश्वव्यापी असर ?

August 2, 2026
Featured image for “जापानी येनको संकट समाधान गर्न अमेरिकाको हस्तक्षेप, कस्तो हुन्छ विश्वव्यापी असर ?”

दशकौंदेखि शिथिल बनेको जापानी मुद्रा येनलाई बचाउन गत साता अमेरिकाले ठूलो रणनीतिक कदम चालेको छ । ट्रम्प प्रशासनको निर्देशनपछि अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले गोल्डम्यान स्याक्स र मोर्गन स्टेनलीमार्फत आफूसँग भएको युरो बेचेर येन किन्न थालेको छ ।

विगत २० वर्षमा अमेरिकाले यसरी सिधै मुद्रा बजारमा हस्तक्षेप गरेको यो पहिलोपटक हो । यो हस्तक्षेप किन गरियो, यसका पछाडि अमेरिकाको के स्वार्थ थियो र यसले विश्व अर्थतन्त्रमा कस्तो असर पार्छ ? यस विषयमा चर्चा गरौं ।

जापानी येन विगत लामो समयदेखि डलरको तुलनामा इतिहासकै कमजोर अवस्थामा पुगेको थियो । कुनै समयमा १ डलर बराबर १६४ येन पुगेर समेत कारोबार भइरहेको थियो । जापान सरकार र बैंक अफ जापानले आफ्नो मुद्रालाई जोगाउन ठूलै संघर्ष गर्नुपरेको थियो ।

उनीहरूले अर्बौं डलर खर्च गरेर बजारबाट येन किनिरहेका थिए तर त्यो बालुवामा पानी हाले सरह भइरहेको थियो । केही दिन येनको भाउ बढ्थ्यो र फेरि पुरानै ठाउँमा पुग्थ्यो । जापानले झण्डै ६० अर्ब डलर बराबरको हस्तक्षेप गर्दा पनि बजारले त्यसलाई खासै वास्ता गरेको थिएन ।

तर अमेरिकाले ‘रेट चेक’ सुरु गरेपछि खेलको नियम नै परिवर्तन भयो । रेट चेक भनेको केन्द्रीय बैंकले ठूला बैंकहरूलाई फोन गरेर डलर र येनको विनिमय दर सोध्ने प्रक्रिया हो । यो सरकारी हस्तक्षेपको संकेत हो ।

अमेरिकाले येन किन्नुको अर्थ थियो– अब येनको विरुद्धमा सट्टेबाजी गर्नेहरूले जापानसँग मात्र नभई विश्वकै शक्तिशाली अर्थतन्त्र अमेरिकासँग पनि लड्नुपर्नेछ ।

यहाँ एउटा प्रश्न उठ्छ । अमेरिकाले जापानको मुद्रा बचाउन किन यति धेरै चासो देखायो ? कूटनीतिक मित्रता मात्र यसको कारण हो ? पक्कै पनि होइन । अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्ट बजारका पुराना खेलाडी हुन् । सन् १९९२ मा अर्बपति जर्ज सोरोसको टोलीमा रहँदा उनले बेलायती पाउन्डलाई धराशायी बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

त्यतिबेला उनले केन्द्रीय बैंक कसरी हार्छ भन्ने कुरा नजिकबाट देखेका थिए । आज उनी त्यही अनुभवलाई अमेरिकाको रक्षाका लागि प्रयोग गर्दैछन् । अमेरिकाले येन बचाउनुको मुख्य कारण जापानको माया लागेर भन्दा पनि अमेरिकी बन्ड (ऋणपत्र) बजारलाई ध्वस्त हुनबाट जोगाउनका लागि हो ।

जापान विश्वकै सबैभन्दा धेरै ऋणी देश हो । उसको ऋण कुल गार्हस्थ्य उत्पादनको २५६ प्रतिशतभन्दा बढी छ । विगत ३० वर्षदेखि जापानले शून्य वा न्यून ब्याजदरको नीति अपनाउँदै आएको छ । यसले गर्दा विश्वभरका लगानीकर्ताहरूले जापानबाट सस्तोमा ऋण लिएर डलर वा अन्य उच्च प्रतिफल दिने ठाउँमा लगानी गर्ने गरेका छन् जसलाई येन क्यारी ट्रेड भनिन्छ ।

येन धेरै कमजोर हुँदै गयो भने जापानमा आयातित वस्तुहरू, विशेषगरी ऊर्जा र इन्धन, अत्यधिक महँगो हुन्छन् । यसले जापानमा महँगी बढाउँछ र अन्ततः बैंक अफ जापानले ब्याजदर बढाउन बाध्य हुन्छ । जापानले ब्याजदर बढाउने बित्तिकै विश्वभर फैलिएको त्यो सस्तो ऋण (येन) फिर्ता हुन थाल्छ । लगानीकर्ताहरूले अमेरिकामा किनेका ऋणपत्रहरू बेचेर येन फिर्ता गर्नुपर्ने हुन्छ ।

जापान आफैं पनि अमेरिकी ऋणपत्रको सबैभन्दा ठूलो विदेशी खरिदकर्ता हो । उसले झण्डै १२ खर्ब डलरको अमेरिकी बन्ड होल्ड गरेको छ । यसै वर्ष अमेरिकाले आफ्नो १०० खर्ब डलरको ऋण नवीकरण गर्नुपर्नेछ । यस्तो अवस्थामा उसको सबैभन्दा ठूलो ग्राहक (जापान) ले नै आफ्नो बन्ड बेच्न थाल्यो भने अमेरिकाको ऋण संकट गहिरिन्छ ।

त्यस अवस्थामा अमेरिकी ब्याजदर अझै बढ्छ र उसले ऋणको ब्याज तिर्न मात्रै वर्षको २० खर्ब डलरभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ । त्यसैले जापानलाई ब्याजदर बढाउन नपर्ने स्थिति सिर्जना गर्न अमेरिकाले येनलाई बलियो बनाउन हस्तक्षेप गरेको हो ।

यस हस्तक्षेपको अर्को पाटो भनेको विश्वव्यापी आर्थिक प्रणालीको जटिलता हो । विगत तीन दशकदेखि जापानले विश्वलाई निःशुल्क जस्तै गरी पैसा उपलब्ध गराइरहेको थियो । जापानको यो सस्तो पैसाले नै नास्डकका सेयरहरू, उदीयमान बजारका ऋणहरू र मेक्सिकन पेसो जस्ता मुद्राहरूमा लगानी भइरहेको थियो ।

धेरैलाई यो ‘क्यारी ट्रेड’ को आकार कति ठूलो छ भन्ने समेत थाहा छैन । केही अनुमानका अनुसार, यो १०० खर्ब डलरभन्दा बढी हुन सक्छ । अगस्ट २०२४ मा बैंक अफ जापानले ब्याजदरमा सामान्य १५ बेसिस प्वाइन्ट (०.१५ प्रतिशत) मात्र वृद्धि गर्दा विश्व सेयर बजारमा ठूलो पहिरो गएको थियो । त्यतिखेर जापानको निक्केई सूचकांक १२ प्रतिशतले घटेको थियो । यो त ट्रेलर मात्र थियो ।

जापानले बाध्य भएर ब्याजदर अझै बढायो भने त्यसले विश्व अर्थतन्त्रमा कस्तो भूकम्प ल्याउला भन्ने डरले अमेरिकालाई तर्साएको छ । त्यसो त अमेरिकाले युरो बेचेर येन किन्नु भनेको आफ्नो घरमा लाग्न लागेको डढेलो निभाउन छिमेकीको आँगनमा पानी छर्किए जस्तै हो ।

जापान अहिले एउटा यस्तो चक्रव्यूहमा फसेको छ जहाँबाट निस्कन निकै कठिन छ। एकातिर उसको विशाल सार्वजनिक ऋण छ जसले गर्दा उसले ब्याजदर बढाउन सक्दैन । उसले ब्याजदर १ प्रतिशत मात्र बढायो भने पनि उसको ऋणको किस्ता तिर्ने क्षमता समाप्त हुन्छ ।

अर्कोतिर, ब्याजदर नबढाउँदा येनको मूल्य लगातार घटिरहेको छ । त्यसले जापानका सर्वसाधारणको जीवनयापनको लागत बढाइरहेको छ ।

जापानले आफ्नो ऊर्जाको ठूलो हिस्सा आयात गर्छ र त्यसको भुक्तानी उसले डलरमा गर्नुपर्छ । येन कमजोर हुँदा जापानले उही तेल र ग्यासका लागि धेरै येन खर्च गर्नुपर्ने हुन्छ । यस अवस्थाले जापानलाई दोसाँधमा पारेको छ ।

अमेरिकाले गरेको हस्तक्षेपले जापानलाई केही समयका लागि राहत त दिएको छ तर यो स्थायी समाधान होइन । हस्तक्षेप गरेर मुद्राको मूल्य केही समयका लागि स्थिर राख्न सकिएला दुई देशबीचको ब्याजदरको अन्तर कम नभएसम्म येनमाथिको दबाब कायमै रहन्छ ।

यस सम्पूर्ण घटनाक्रमले विश्वको आर्थिक प्रणालीको तीतो यथार्थलाई उजागर गरेको छ । कुनै पनि देशको ब्याजदर र मुद्राको निर्णय अब उसको आन्तरिक मामिला मात्र रहेन । ऋणको आकार अर्थतन्त्रभन्दा ठूलो भएपछि त्यो निर्णय अरूको चासोको विषय बन्छ ।

अमेरिकाले जापानलाई बचाउन खोज्नुमा उदारता नभई आफ्नो अस्तित्व रक्षाको स्वार्थ लुकेको छ । अमेरिकी ऋणपत्रको बजारमा उथलपुथल आयो भने अमेरिकी डलरको वर्चस्व र उसको अर्थव्यवस्था नै धराशायी हुन सक्छ । त्यसैले विगतमा केन्द्रीय बैंकहरूलाई हराएर पैसा कमाउने गरेका स्कट बेसेन्ट जस्ता व्यक्तिहरू तिनै केन्द्रीय बैंकहरूलाई जोगाउन राज्यको ढुकुटी प्रयोग गरिरहेका छन् । यो एउटा विडम्बनापूर्ण स्थिति हो जहाँ हिजोका शिकारी नै आज रक्षक बनेका छन् ।

तर, यस हस्तक्षेपको मूल्य कसले चुकाउँदैछ ? यसको प्रत्यक्ष असर वर्षौंदेखि बचत गरिरहेका मानिसहरूमा पर्छ । केन्द्रीय बैंकहरूले कृत्रिम रूपमा ब्याजदर कम राखेर मुद्राको मूल्य नियन्त्रण गरेपछि मुद्रास्फीति बढ्छ । मानिसले बैंकमा राखेको पैसाको क्रयशक्ति बिस्तारै घट्दै जान्छ ।

यो एक प्रकारको अदृश्य कर हो जसले बचतकर्ताको सम्पत्ति ऋणीहरू (विशेषगरी सरकार) तर्फ हस्तान्तरण गर्छ ।

अमेरिकाको कुल ऋण ३९० खर्ब डलर पुगिसकेको छ र उसले हरेक चार डलर राजस्वमध्ये एक डलर ब्याज तिर्नमै खर्च गरिरहेको छ । यस्तो अवस्थामा उसले ब्याजदर घटाउन वा स्थिर राख्न जे पनि गर्न सक्छ ।

जापान र अमेरिका दुवै अहिले एउटै डुंगामा सवार छन् जहाँ उनीहरूले आफ्नो ऋणको बोझ घटाउन मुद्राको अवमूल्यन र न्यून ब्याजदरको सहारा लिइरहेका छन् ।

जापानले विगत ३० वर्षदेखि खनेको यो खाडलमा अब ऊ आफैं खस्ने जोखिम बढेको छ । जापानका बिमा कम्पनी र पेन्सन फन्डहरूले अब अमेरिकी बन्डभन्दा आफ्नै देशको बन्डमा लगानी गर्न थालेका छन् ।

जापानको ३० वर्षे सरकारी बन्डको ब्याजदर ४ प्रतिशत पुग्नुले अब जापानी पैसा घर फर्कंदैछ भनी संकेत गर्छ । यो विशाल पुँजी अमेरिकाबाट जापान फर्कन थालेपछि अमेरिकी बजारमा तरलताको संकट आउन सक्छ । यसले गर्दा फेडरल रिजर्भले फेरि पैसा छापेर सरकारी ऋणपत्र किन्नुपर्ने स्थिति आउन सक्छ र त्यसले महँगी अझै बढाउनेछ । यो एक यस्तो दुष्चक्र हो जहाँबाट निस्कने कुनै स्पष्ट बाटो देखिँदैन ।

यस घटनाक्रमले विश्व बजार अब स्वतन्त्र नरहेको सन्देश दिन्छ । यो ठूला शक्ति राष्ट्रहरूको स्वार्थ र रणनीतिक हस्तक्षेपको खेल मैदान बनेको छ । साधारण मानिसले बुझ्नुपर्ने कुरा के हो भने सेयर बजारको गिरावट वा मुद्राको उतारचढाव प्राविधिक कुरा मात्र होइनन् । यसका पछाडि गहिरो राजनीतिक र आर्थिक स्वार्थहरू हुन्छन् ।

जापान र अमेरिकाको यो संयुक्त हस्तक्षेपले केही समयका लागि येनलाई थाम्ला तर यसले सिर्जना गरेको दीर्घकालीन जोखिम भने अझै टरेको छैन । आगामी दशकमा नाम मात्रको प्रतिफल हुने तर मुद्राको वास्तविक मूल्य भने कम हुँदै जाने स्थिति आउन सक्छ ।

यस आर्थिक संकटले बिस्तारै मानिसको बचत र भविष्यलाई खोक्रो बनाउँदै लैजान्छ ।

जापानी येनलाई जोगाउन चालिएको अमेरिकी कदम र विश्वव्यापी वित्तीय उथलपुथलले नेपालको अर्थतन्त्रमा पनि बहुआयामिक असर पार्न सक्छ । यसको प्रभावलाई मुख्य दुई पक्षबाट हेर्न सकिन्छ ।

पहिलो र सकारात्मक पक्ष भनेको अमेरिकी र जापानी हस्तक्षेपले येनको अवमूल्यन रोकिएर यो बलियो भयो भने जापानमा कार्यरत हजारौं नेपालीहरूले पठाउने विप्रेषणको मूल्य बढ्नेछ । यसले नेपालको वैदेशिक मुद्रा सञ्चितिमा थप टेवा पुर्याई देशको शोधनान्तर स्थितिलाई बलियो बनाउन मद्दत गर्छ ।

दोस्रो र चुनौतीपूर्ण पक्ष भनेको यस हस्तक्षेपले विश्वव्यापी बजारमा ल्याउने अस्थिरता हो । येन क्यारी ट्रेड बन्द भएर विश्वव्यापी सेयर र बन्ड बजारमा मन्दी आयो भने त्यसको प्रत्यक्ष असर भारतीय अर्थतन्त्रमा पर्नेछ । नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग स्थिर विनिमय दरमा रहेकाले भारतमा पर्ने आर्थिक दबाब स्वतः नेपालमा सर्नेछ ।

डलर बलियो भइरहेमा नेपालको आयात (विशेषगरी इन्धन र कच्चा पदार्थ) महँगो हुनेछ । त्यसले आन्तरिक बजारमा मूल्यवृद्धि बढाउनेछ ।

ठूला अर्थतन्त्रहरू बीचको यो लुकामारीले वैदेशिक सहायता र प्रत्यक्ष वैदेशिक लगानीमा पनि संकुचन ल्याउन सक्छ । त्यसैले येन बलियो हुँदा रेमिट्यान्समा केही राहत मिले पनि विश्वव्यापी वित्तीय अस्थिरताले नेपालको समग्र महँगी र वैदेशिक व्यापारमा दीर्घकालीन चुनौती थप्ने देखिन्छ ।

This article was first published on Clickmandu.


Share:

Leave a Reply