‘द ग्रेट टेकिङ’ समीक्षा : के तपाईंको व्यक्तिगत सम्पत्ति सुरक्षित छ ?

August 9, 2026
Featured image for “‘द ग्रेट टेकिङ’ समीक्षा : के तपाईंको व्यक्तिगत सम्पत्ति सुरक्षित छ ?”

सम्पत्तिको अधिकार मौलिक हकअन्तर्गत पर्छ । राज्यले सार्वजनिक हितका लागि बाहेक व्यक्तिको सम्पत्ति हरण गर्न नपाउने व्यवस्था संसारका सबै संविधानले सुनिश्चित गरेका छन् ।

तर, सरकारले आर्थिक संकटको समयमा व्यक्तिको सम्पत्ति जफत गरिदिन सक्ने प्रक्षेपण गरिएको पुस्तक सार्वजनिक भएको छ । हेज फन्ड म्यानेजरका रूपमा अमेरिकी अर्थतन्त्र र बजारको भित्री अनुभव बटुलेका डेभिड रोजर्स वेबले सन् २०२३ मा प्रकाशन गरेको सानो आकारको पुस्तक ‘द ग्रेट टेकिङ’ आधुनिक आर्थिक प्रणालीको जग हल्लाउने गम्भीर र चिन्ताजनक विश्लेषण हो ।

यस पुस्तकले परम्परागत रूपमा हामीले बुझ्दै आएको व्यक्तिगत सम्पत्ति र स्वामित्वको अवधारणामाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ । लेखकले यो पुस्तक कुनै काल्पनिक कथा वा अड्कलबाजीका आधारमा नभई आधिकारिक कानुनी दस्तावेज, केन्द्रीय बैंकका श्वेतपत्रहरू र अन्तर्राष्ट्रिय सम्झौताहरूको गहिरो अध्ययन गरेर तयार पारेका छन् ।

विश्वव्यापी अभिजात वर्गले यस्तो कानुनी संयन्त्र तयार पारेका छन् जसले आगामी महासंकटको समयमा विश्वभरका सर्वसाधारणको सम्पूर्ण धितो, निक्षेप, सेयर र ऋणपत्रहरूलाई वैधानिक रूपमै जफत गर्न सक्छन् । यही नै पुस्तकको मूल विषयवस्तु हो ।

वेबका अनुसार, विश्वव्यापी रूपमा रहेका सम्पूर्ण धितोलाई जफत गर्नका लागि लामो समयदेखि योजनाबद्ध खाका तयार पारिएको छ । त्यसमा सबै वित्तीय सम्पत्तिहरू, बैंकहरूमा निक्षेप गरिएको रकम, सेयर, ऋणपत्र र सबै सार्वजनिक निगमहरूको अन्तर्निहित सम्पत्तिहरू समावेश छन् ।

यस योजनाले एउटा यस्तो हाइब्रिड युद्धलाई प्रतिनिधित्व गर्छ जुन राष्ट्र–राज्यहरूका विरुद्ध निर्देशित नभई सम्पूर्ण मानवता विरुद्ध लक्षित छ । धितोपत्रको वास्तविक स्वामित्वलाई ‘सेक्युरिटी इन्टाइटलमेन्ट’ भनिने कानुनी अवधारणाद्वारा प्रतिस्थापन गर्नु यसको सबैभन्दा महत्त्वपूर्ण संयन्त्र हो । यसले धितोपत्रहरूलाई व्यक्तिगत सम्पत्तिबाट परिवर्तन गरेर एक सम्झौतागत दाबीमा सीमित गरिदिएको छ ।

फलस्वरूप, कुनै खाता प्रदायक (जस्तै, ब्रोकर वा संरक्षक बैंक) टाट पल्टियो भने सम्पत्तिको वास्तविक ‘मालिक’ लाई कुनै सुरक्षित आधार नभएको ऋणदाताको रूपमा व्यवहार गरिन्छ । उसलाई आफ्नो विशिष्ट सम्पत्ति फिर्ता माग्ने वा कानुनी रूपमा ‘पुनः प्राप्त गर्ने’ कुनै अधिकार हुँदैन ।

सजिलो गरी भन्दा, विगतमा मानिसहरूले सेयर वा ऋणपत्र किन्दा त्यसको भौतिक प्रमाणपत्र पाउँथे र उनीहरू त्यसका वास्तविक मालिक हुन्थे । तर, अभौतिकीकरणको नाममा यी सबै कुराहरू डिजिटल बनेपछि स्वामित्वको प्रकृति नै बदलिएको छ । अब तपाईंसँग सेयरको स्वामित्व छैन, त्यसको दाबी वा अधिकार मात्र छ । तपाईंको ब्रोकर वा कस्टडियन बस्ने बैंक टाट पल्टियो भने तपाईंको सम्पत्ति पहिले ती बैंकका ठूला साहुहरूलाई भुक्तानी गर्न प्रयोग गरिनेछ ।

ऋणदाताहरूलाई ‘संरक्षित वर्ग’ बनाइनु अर्को डरलाग्दो कुरा हो । अमेरिकाको युनिफर्म कमर्सियल कोड (यूसीसी) मा गरिएको परिवर्तन र विश्वभरका कानुनहरूको यस्तै प्रकारको ‘तादात्म्यीकरण’ (हार्मोनाइजेशन) ले सुरक्षित ऋणदाताहरूको संरक्षित वर्ग (सबैभन्दा ठूला वित्तीय संस्थाहरू) सँग संकटको अवस्थामा ग्राहकका सामूहिक सम्पत्तिहरू तुरुन्तै र न्यायिक समीक्षा बिना नै कब्जा गर्ने पूर्ण प्राथमिकताको अधिकार रहने व्यवस्था स्थापित गरेको छ ।

यूसीसीको धारा ८ मा गरिएको सूक्ष्म परिवर्तनले कसरी लगानीकर्ताको सम्पत्तिलाई वित्तीय संस्थाहरूको सम्पत्तिको रूपमा परिभाषित गरिदिएको छ भन्ने कुरा वेबले दस्तावेजसहित देखाएका छन् । यो कानुनी प्रपञ्च यसरी मिलाइएको छ कि महासंकटको बेला अदालतले समेत सर्वसाधारणको पक्षमा फैसला गर्न नसक्ने गरी कानुनहरूलाई एकरूपता दिइएको छ ।

‘एभ्रिथिङ बबल’ वा सबै क्षेत्रमा आएको अत्यधिक मूल्यवृद्धिको बबल अनिवार्य रूपमा फुट्दा सबै धितोहरूलाई स्वचालित रूपमा सेन्ट्रल क्लियरिङ काउन्टरपार्टीहरू र केन्द्रीय बैंकहरूमा खिच्नका लागि विस्तृत कोल्याटरल म्यानेजमेन्ट प्रणालीहरू अहिले नै लागू भइसकेको भनी वेबले चेतावनी दिएका छन् । यिनीहरू जानाजानी कम पुँजीकृत गरिएका छन् र तिनीहरू असफल हुनका लागि नै बनाइएका छन् । त्यसले गर्दा ती धितोहरू अन्ततः केन्द्रीय बैंकहरूको पूर्ण कब्जामा पुग्ने कुरा सुनिश्चित हुन्छ ।

वर्तमान बैंकिङ र भुक्तानी प्रणालीहरूलाई पतन हुन दिएपछि मानिसहरूलाई केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) स्वीकार गर्न बाध्य पारिने भनी वेबले चेतावनी दिएका छन् । यस नयाँ प्रणालीले केन्द्रीय बैंकहरूलाई पैसा कसरी प्रयोग गरिन्छ भन्ने कुरामा पूर्ण र निरपेक्ष नियन्त्रण प्रदान गर्नेछ । त्यसलाई प्रविधिमार्फत कडाइका साथ लागू गरिनेछ ।

पुस्तकको बलियो पक्ष यसको ऐतिहासिक सन्दर्भ हो । वेबले सन् १९३३ को बैंक होलिडे र सुन जफतको घटनालाई उदाहरणको रूपमा प्रस्तुत गर्दै कसरी अमेरिकी सरकार र फेडरल रिजर्भले जनताको सम्पत्ति खोसेका थिए भन्ने देखाएका छन् ।
पुस्तकले पाठकलाई वर्तमानको सबै कुरा ठीक छ भन्ने भ्रमबाट मुक्त गराएर कठोर वास्तविकताको सामना गर्न बाध्य पार्छ । वेबको व्यक्तिगत जीवनका अनुभव र उनका पुर्खाहरूले भोगेको आर्थिक मन्दीको कथाले पुस्तकलाई थप मानवीय र विश्वसनीय बनाएको छ ।

तर, पुस्तकका केही कमजोर पक्षहरू पनि छन् । पहिलो त, यसको भाषा निकै प्राविधिक र कानुनी शब्दजालले भरिएको छ । यसकारण सामान्य पाठकलाई यसको गहिराइ बुझ्न कठिन हुन सक्छ । दोस्रो, लेखकले कतिपय ठाउँमा षड्यन्त्र सिद्धान्ततिर बढी झुकाव राखेको भान हुन्छ ।

हुन त उनले आफ्ना दाबीका लागि प्रमाणहरू त दिएका छन् तर विश्वका सबै सरकार र नियामक निकायहरू एउटै गोप्य एजेन्डामा पूर्ण रूपमा सहमत छन् भन्ने कुरा अलि अतिरञ्जित लाग्न सक्छ ।

अनि उनले सम्भावित समाधानका उपायहरूका बारेमा निकै कम चर्चा गरेका छन् । त्यसले पाठकमा निराशा र डर मात्र पैदा गर्न सक्छ ।

तैपनि उनले प्रस्तुत गरेका कानुनी दस्तावेजहरूलाई कसैले पनि अस्वीकार गर्न सक्ने अवस्था छैन । यस पुस्तकले प्रणालीको जटिलतालाई नग्न रूपमा प्रस्तुत गरेकाले विश्वको वर्तमान आर्थिक सन्तुलनमाथि नै ठूलो प्रश्न उठाउँछ ।

नेपालको अर्थतन्त्रको सन्दर्भमा यस पुस्तकका निष्कर्षहरू झनै डरलाग्दा र सान्दर्भिक देखिन्छन् । नेपाल अहिले डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत तीव्र रूपमा आर्थिक प्रणालीको अभौतिकीकरण गइरहेको छ । सीडीएस एन्ड क्लियरिङ मार्फत नेपालको सेयर बजार पूर्ण रूपमा डिजिटल भइसकेको छ र हालैका वर्षहरूमा जग्गाधनी पुर्जालाई समेत डिजिटल बनाउने काम सुरु भएको छ ।

वेबले भनेझैं विश्वव्यापी आर्थिक प्रणालीमा संकट आयो र सेक्युरिटी इन्टाइटलमेन्टको कानुन सक्रिय भयो भने नेपालका लाखौं सेयर लगानीकर्ताहरूको पैसा एकै रातमा रित्तो हुन सक्छन् ।

नेपालको बैंकिङ क्षेत्रमा रहेको अत्यधिक तरलताको समस्या, घरजग्गा बजारमा आएको सुस्तता र मुठ्ठीभर व्यापारिक घरानाहरूको बैंकहरूमा रहेको वर्चस्वले नेपाललाई पनि वेबले औंल्याएको जोखिमको नजिक पुर्याएको छ । नेपालजस्तो सानो र आयातमा आधारित अर्थतन्त्र भएको देशले विश्वव्यापी ग्रेट रिसेटको लहरलाई थेग्न निकै गाह्रो हुनेछ ।

नेपालमा सहकारी संकटले जसरी निक्षेपकर्ताको अर्बौं रुपैयाँ डुबेको छ, त्यसलाई ‘द ग्रेट टेकिङ’ को सानो स्वरूपको रूपमा हेर्न सकिन्छ । त्यहाँ धितो र निक्षेपमाथिको स्वामित्व वास्तविक नभएर कागजमा मात्र सीमित देखियो ।

यसरी ‘द ग्रेट टेकिङ’ मार्फत वेबले विश्वभरका मानिसहरूलाई आफ्नो आर्थिक भविष्यप्रति सचेत हुन आह्वान गरेका छन् । आगामी दिनमा सम्पत्तिको रक्षा गर्नु भनेको पैसा कमाउनु मात्र नभई कुनै पनि बेला हाम्रो सबै कुरा खोस्न सक्ने अदृश्य कानुनी पासोहरूबाट बच्नु पनि हो भनी वेबले बुझाउने प्रयास गरेका छन् । तसर्थ यो प्रत्येक सचेत नागरिक, अर्थशास्त्री र नीतिनिर्माताले पढ्नैपर्ने कृति हो ।

This review was first published on Clickmandu.


Share:

Leave a Reply