मक्का गठबन्धनसँग इरानको वार्ता, तेहरानको शक्ति स्थापित

October 27, 2026
Featured image for “मक्का गठबन्धनसँग इरानको वार्ता, तेहरानको शक्ति स्थापित”

पश्चिम एसियाको आकाशमा युद्धको कालो बादल मडारिइरहेको र अमेरिका तथा इजरायलसँगको द्वन्द्व कुनै पनि क्षण पुनः चर्कनसक्ने संवेदनशील घडीमा सोमबार (२६ अक्टोबर) तेहरानमा सम्पन्न बहुपक्षीय संवाद महत्त्वपूर्ण छ ।

साउदी अरब, टर्की र पाकिस्तान सम्मिलित ‘मक्का रक्षा गठबन्धन’ का उच्चस्तरीय अधिकारीहरू इरानको राजधानी पुगेर गरेको यस वार्ताले वाशिङटनसँग कुनै ठोस वा अनुकूल सम्झौता गराउन नसके पनि र क्षेत्रीय युद्धको सम्भावनालाई पूर्ण रूपमा टार्न नसके पनि यो घटना कूटनीतिक औपचारिकतामा मात्र सीमित छैन ।

यो इरानले दशकौंदेखि अगाडि सार्दै आएको क्षेत्रीय सुरक्षा सिद्धान्त, आक्रामक प्रतिरोध नीति र सत्ताको आन्तरिक तथा बाह्य वैधता स्थापित गर्ने दीर्घकालीन रणनीतिको बलियो कडी हो ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि तेहरानको विदेशनीतिको प्रमुख मेरुदण्ड भनेकै पश्चिम एसियाबाट अमेरिकी सैन्य उपस्थिति र हस्तक्षेपलाई पूर्ण रूपमा निष्काशन गर्नु र इजरायललाई यस क्षेत्रमा रणनीतिक रूपमा एक्ल्याउनु हो । यस क्षेत्रको सुरक्षा व्यवस्था बाह्य शक्तिहरूको उपस्थितिबिना यसै क्षेत्रका राष्ट्रहरू मिलेर निर्धारण गर्नुपर्ने इरानले बारम्बार भन्दै आएको छ ।

सोमबार तेहरानमा भएको बैठक सोही लक्ष्यतर्फको महत्त्वपूर्ण र सानो भए तापनि अर्थपूर्ण कदमका रूपमा हेरेको छ ।

साउदी अरबजस्तो ऐतिहासिक रूपमा अमेरिकी सुरक्षा छातामा निर्भर रहँदै आएको राष्ट्र, नेटो सदस्य टर्की र आणविक शक्तिसम्पन्न पाकिस्तानका प्रतिनिधिहरू एकैसाथ तेहरान आउनु आफैंमा एउटा शक्तिशाली सन्देश हो । यसले पश्चिम एसियाका प्रमुख सुन्नी बाहुल्य राष्ट्रहरूले आफ्नो अस्तित्व र सुरक्षाका लागि गैर–क्षेत्रीय शक्ति वाशिङटनमा मात्र भर पर्न नसक्ने निष्कर्ष निकालेको संकेत गर्छ ।

इरानका लागि यो बैठक आफ्नो पुरानो दाबीलाई पुष्टि गर्ने अवसर बनेको छ । पश्चिम एसियाको कुनै पनि दिगो सुरक्षा संयन्त्र तेहरानलाई सामेल नगरी वा तेहरानलाई पाखा लगाएर निर्माण हुन सक्दैन । अमेरिकाको सैन्य प्रभाव क्षयीकरण भइरहेको भाष्यलाई स्थापित गर्न इरानले यस कूटनीतिक संवादलाई रणनीतिक अस्त्रका रूपमा उपयोग गरेको छ ।

यस सम्मेलनको सबैभन्दा महत्त्वपूर्ण र निर्मम पाटो यसको पृष्ठभूमि हो । मक्का गठबन्धनका साझेदारहरू इरानप्रतिको कुनै विशेष सद्भाव, वैचारिक निकटता वा भ्रातृत्व भाव जागेर तेहरान पुगेका होइनन् । उनीहरूको यो भ्रमण इरानसँग नजिकिने उत्कट चाहनाभन्दा पनि इरानको आक्रामक क्षमताको त्रासबाट प्रेरित छ ।

पछिल्लो समय अमेरिका वा इजरायलले इरानमाथि आक्रमण गरेमा त्यसको प्रत्युत्तर अमेरिकामाथि मात्र नभई सम्पूर्ण खाडी क्षेत्र र अमेरिकाका सहयोगी राष्ट्रहरूमाथि समेत सोझ्याउने चेतावनी तेहरानले दिँदै आएको छ ।

इरानसमर्थित हुती विद्रोहीहरूले साउदी अरबका विमानस्थल, तेल पूर्वाधार र ढुवानी मार्गहरूमा निरन्तर गरिरहेका प्रहारहरू तथा हर्मुज जलयोजकमा इरानले देखाएको सैन्य दबदबाले यस क्षेत्रका राष्ट्रहरूलाई गम्भीर रूपमा त्रसित बनाएको छ ।

यही ‘सामूहिक विनाशको डर’ ले मक्का गठबन्धनका राष्ट्रहरूलाई तेहरानसँग प्रत्यक्ष सम्झौता खोज्न बाध्य बनाएको हो । इरानका लागि यी तीन देशका शीर्ष प्रतिनिधिहरूको आगमनले उसको ‘प्रतिरोधको सिद्धान्त’ पूर्ण रूपमा सही साबित भएको देखाउँछ ।

आफ्नो राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न छिमेकीहरू इरानसँग संवाद गर्न विवश छन् र त्यो पनि इरानकै भूमिमा र इरानकै शर्तमा । संकटको घडीमा वाशिङटनको सुरक्षा ग्यारेन्टीले खाडीका तेल पूर्वाधार र क्षेत्रीय शहरहरूलाई जोगाउन सक्दैन र त्यसका लागि तेहरानसँगै प्रत्यक्ष समन्वय अनिवार्य छ भन्ने तथ्यलाई यसले स्थापित गरेको छ ।

यस भ्रमणको सांकेतिक तथा दृश्यमान पक्ष इरानी शासनका लागि असाधारण रूपमा लाभदायक छ । मक्का गठबन्धनका नेताहरू तेहरानमा ‘बोलावट’ भएर हाजिर हुन आइपुगेको देखिन्थ्यो । यही कारण इरानको सरकारी सञ्चारमाध्यम, टेलिभिजन र राज्य नियन्त्रित प्रचार संयन्त्रहरूले यस घटनालाई निकै ठूलो उत्सवका रूपमा प्रस्तुत गरे ।

यो दृश्य त्यस्तो संवेदनशील समयमा रचिएको छ जब वाशिङटन र तेल अभिभका कतिपय नीतिनिर्माताहरू सैन्य आक्रमणमार्फत इरानमा ‘सत्ता परिवर्तन’ गर्ने पुराना सोचहरूलाई फेरि ब्युँताउने प्रयास गरिरहेका छन् । इजरायलमा आज भइरहेको निर्वाचन र अमेरिकाको राजनीतिक संक्रमणका बीच इरानी शासन कमजोर भइसकेको र पतनको डिलमा पुगेको दाबी पश्चिमा वृत्तमा गरिँदै आएको थियो ।

यस्तो पृष्ठभूमिमा साउदी अरबका रक्षामन्त्री राजकुमार खालिद बिन सलमान, पाकिस्तानी सेनाप्रमुख जनरल असिम मुनिर र टर्कीका गुप्तचर प्रमुख इब्राहिम कालिनजस्ता शक्तिशाली व्यक्तिहरू तेहरान पुगेर इरानी राष्ट्रपति र सुरक्षा प्रमुखहरूसँग हात मिलाउनुले इस्लामिक गणतन्त्रको अन्तर्राष्ट्रिय वैधतालाई पुनःस्थापित गर्न ठूलो मद्दत गरेको छ ।

इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसिन रेजाईजस्ता कट्टरपन्थी रणनीतिकारहरूले यस बैठकलाई ‘क्षेत्रमा नयाँ सकारात्मक वातावरणको उदय’ भन्दै व्यापक प्रचार गर्नुको कारण पनि यही हो । यो प्रचार बाह्य जगतलाई मात्र लक्षित नभई घरेलु रूपमा आर्थिक मन्दी र असन्तोष झेलिरहेका इरानी जनतालाई ‘हाम्रो सत्ता विश्व र क्षेत्रमा अझै शक्तिशाली र अपरिहार्य छ’ भनी देखाउने आन्तरिक राजनीतिक औजारसमेत थियो ।

सन् २०२६ इरानी सत्ताका लागि इतिहासकै सबैभन्दा कठिन परीक्षाको वर्ष रहेको छ । उच्चपदस्थ सैन्य कमान्डरहरूको हत्या, गाजा र लेबननमा आफ्ना प्रोक्सी नेटवर्कहरूमाथि इजरायलको भीषण प्रहार, गहिरिँदो आर्थिक प्रतिबन्ध र प्रत्यक्ष सैन्य आक्रमणको निरन्तर खतराबीच शासनको मुख्य प्राथमिकता सत्ताको अस्तित्व रक्षामा मात्र केन्द्रित रह्यो ।

तर, अमेरिकालाई आच्छुआच्छु पार्ने इरानको क्षमताका कारण मक्का गठबन्धनका साझेदारहरूले तेहरानको स्थायित्वलाई अकाट्य वास्तविकताका रूपमा स्वीकार गरेको स्पष्ट भएको छ । अमेरिकी दबाब जतिसुकै चर्को भए पनि, आर्थिक प्रतिबन्धले जतिसुकै घाँटी निमोठे पनि वा आगामी दिनमा सैन्य मुठभेड जतिसुकै भयानक भए पनि इरानको इस्लामिक सत्ता तत्काल ढल्नेवाला छैन भन्ने यथार्थ छिमेकीहरूले आत्मसात गरिसकेका छन् ।

इरानी नेतृत्वको बुझाइमा यस क्षेत्रका मुलुकहरूले इरानलाई चाहे जतिसुकै घृणा गरून् वा इरानको शक्तिसँग जतिसुकै डराऊन्, उनीहरूसँग इरानको उपस्थितिलाई जीवनको एक अनिवार्य सत्यका रूपमा स्वीकार्नुबाहेक अर्को कुनै व्यावहारिक विकल्प छैन । यस सम्मेलनले इरानलाई नष्ट गर्न वा पूर्ण रूपमा अलग्याउन असम्भव छ भन्ने मान्यतालाई क्षेत्रीय स्तरमै संस्थागत गरिदिएको छ ।


Share:

Leave a Reply