
क्यास्पियन सागरमा हालै भएका सैन्य गतिविधिहरू र युक्रेनी नेतृत्वले चालेका रणनीतिक कदमहरूका कारण विश्व राजनीतिमा अत्यन्तै गम्भीर र खतरनाक घटनाक्रम विकसित भएको देखिन्छ । यसबाट युरोपमा चलिरहेको युक्रेन युद्ध र पश्चिम एसियामा चलिरहेको इरान–इजरायल तनाव एउटै विशाल रणभूमिमा समाहित हुने संकेतहरू देखिएका छन् ।
लामो समयदेखि अलग–अलग रहेका यी दुई युद्धक्षेत्रहरू अब एकअर्कासँग मिसिन थालेका छन् । त्यसले विश्वलाई तेस्रो विश्वयुद्धको सँघारमा पुर्याउन सक्ने जोखिम बढाएको छ । विशेषगरी युक्रेनले क्यास्पियन सागरमा आक्रमण गरी आफूलाई अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको इरान केन्द्रित एजेन्डासँग जोड्दै आफ्नो अस्तित्व रक्षाको नयाँ बाटो खोजिरहेको देखिन्छ ।
अमेरिकाको ध्यान इरान युद्धमा पूर्ण रूपमा केन्द्रित रहेको अवस्थामा युक्रेनका लागि अमेरिकी सहायता घट्न सक्ने चिन्ताका बीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले इरानविरुद्धको मोर्चा खोलेर आफूलाई सान्दर्भिक बनाउन खोजेको देखिन्छ ।
पश्चिम एसियामा इरानलाई कमजोर बनाउने ट्रम्पको मुख्य प्राथमिकता रहेको बुझेका जेलेन्स्कीले क्यास्पियन सागरमा इरानी सैन्य सामग्री बोकेका भनिएका जहाजहरूमाथि आक्रमण गराएर ट्रम्पलाई युक्रेन रुससँग मात्र लडिरहेको नभई अमेरिकाको कट्टर शत्रु इरानको सैन्य क्षमतालाई पनि घटाइरहेको सन्देश दिन खोजेका छन् । यसरी आफूलाई ट्रम्पको इरानविरोधी मिशनको सहयोगीका रूपमा प्रस्तुत गरेर जेलेन्स्कीले वाशिङटनबाट निरन्तर हतियार, गोप्य जानकारी र राजनीतिक समर्थन प्राप्त गर्ने दाउ खेलिरहेका छन् ।
अमेरिकी सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टि समारोहमा सहभागी हुन वाशिङटन पुगेका जेलेन्स्कीले यही कुरा गरेका छन् (पेट्रियट मिसाइल उपलब्ध गराउन उनले ट्रम्पलाई अनुनयविनय गरेको समाचार बाहिरिएको छ) । यही समयमा ट्रम्पकी सल्लाहकार लाउरा लूमरले आफ्नो धारणा परिवर्तन गर्दै युक्रेनप्रति सदाशय व्यक्त गर्दा जेलेन्स्कीलाई फाइदै भएको छ ।
यो रणनीतिको अर्को पाटो भनेको इरान र रुसबीचको बढ्दो सैन्य साझेदारी हो । सन् २०२२ देखि नै इरानले रुसलाई ‘शाहेद’ जस्ता आत्मघाती ड्रोनहरू आपूर्ति गर्दै आएको छ । तिनले युक्रेनी पूर्वाधारहरूमा ठूलो क्षति पुर्याएका छन् । युक्रेनले क्यास्पियन सागरमा आक्रमणमार्फत त्यसको प्रतिशोध लिन पनि खोजेको हुन सक्छ ।
पछिल्लो समयमा रुसले इरानलाई अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गर्न उपग्रहबाट प्राप्त तथ्यांक र गुप्तचरी जानकारी उपलब्ध गराइरहेको दाबी युक्रेनले गरेको छ । रुस र इरान एउटै सिक्काका दुई पाटा हुन् र रुसलाई हराउनु भनेको इरानलाई कमजोर बनाउनु पनि हो भनी जेलेन्स्कीले ट्रम्पलाई बुझाउन खोजिरहेका छन् ।
यस खतरनाक तर्कका साथ अमेरिकालाई युक्रेन युद्धमा थप संलग्न हुन बाध्य पार्ने जेलेन्स्कीको योजना देखिन्छ । तर, यो खेलमा ठूलो जोखिम लुकेको छ । इरानले युक्रेनी आक्रमणलाई अमेरिकी र युरोपेली उक्साहटको रूपमा बुझ्यो भने उसले आफ्नो प्रतिशोधको दायरा युक्रेनभन्दा बाहिर विस्तार गर्न सक्छ ।
क्यास्पियन सागर लामो समयदेखि तुलनात्मक रूपमा शान्त र सुरक्षित व्यापारिक मार्गको रूपमा रहेको थियो । तर, अहिले यो नयाँ द्वन्द्वको केन्द्र बन्न खोजेको छ । रुस र इरानका लागि क्यास्पियन सागर अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट बच्ने र सैन्य सामग्री ओसारपसार गर्ने सुरक्षित करिडोर हो । इरानका उत्तरी बन्दरगाहहरू र रुसको अस्त्राखान बन्दरगाहलाई जोड्ने यस मार्गमा हुने अवरोधले दुवै देशको युद्ध क्षमतामा ठूलो असर पार्छ ।
युक्रेनी ड्रोनहरूले त्यहाँका जहाजहरूलाई निशाना बनाउनुले इरानलाई आक्रोशित तुल्याएको छ । इरानी विदेशमन्त्री अब्बास अराक्चीले युक्रेनको यो कार्यलाई खतरनाक दुस्साहस भन्दै यसको कडा प्रतिवाद गर्ने चेतावनी दिइसकेका छन् ।
हुन त युक्रेनले इरानसँगको द्वन्द्व चर्काउन नचाहेको भन्दै थामथुमको प्रयास गरेको छ । तर, भविष्यमा कुरा चर्किंदै गए इरानले सैन्य प्रतिशोध लिने निर्णय गरेमा युक्रेनलाई मात्र निशाना बनाउने छैन । युक्रेनलाई हतियार र आर्थिक सहयोग उपलब्ध गराइरहेका युरोपेली राष्ट्रहरूका हतियार कारखाना र सैन्य पूर्वाधारहरू पनि इरानको निशानामा पर्न सक्छन् ।
इरान, रुस र उत्तर कोरिया जस्ता शक्तिहरूको बढ्दो ध्रुवीकरण र उनीहरूबीचको सैन्य समन्वयले पश्चिमका लागि एउटा नयाँ चुनौती खडा गरिरहेको छ । अमेरिका र युरोपले समयमै यो जोखिमलाई बुझेर युद्धको विस्तारलाई रोक्न कूटनीतिक पहल गरेनन् भने क्यास्पियन सागरबाट सुरु भएको सानो झिल्कोले सम्पूर्ण युरेसियालाई खरानी बनाउन सक्नेछ
युक्रेनको यस रणनीतिले युरोपलाई इरानसँगको प्रत्यक्ष युद्धमा धकेल्न सक्ने अर्थशास्त्री फिलिप पिलकिङ्टनले सामाजिक सञ्जाल एक्समा सबभन्दा ठूलो शो चलाउने मारियो नावफालसँगको कुराकानीमा चेतावनी दिएका छन् ।
हुन पनि इरानी जहाजहरूमाथि युक्रेनको आक्रमणलाई न्यायोचित मानिन्छ भने युक्रेनलाई हतियार आपूर्ति गर्ने युरोपेली कारखानाहरूमाथिको आक्रमण पनि उत्तिकै जायज हुनेछ भनी इरानले तर्क गर्न सक्छ ।
रुसले प्रत्यक्ष रूपमा नेटो राष्ट्रहरूमा आक्रमण गर्दा आणविक युद्धको जोखिम हुन्छ तर इरानको हकमा यो हिसाब फरक हुन सक्छ । अमेरिकाले पहिले नै इरानमाथि विभिन्न प्रकारका आक्रमण गरिरहेको अवस्थामा इरानले युरोपलाई दबाबमा राख्नका लागि नयाँ रणनीतिक मोर्चा खोल्न सक्छ ।
यसरी जेलेन्स्कीले ट्रम्पको समर्थन पाउन चालेको कदमले अन्ततः सम्पूर्ण युरोपेली महादेशलाई नै क्षेत्रीय युद्धको आगोमा झोस्न सक्छ । यसको अन्त्य कसैले पनि अनुमान गर्न सक्दैन ।
यस परिस्थितिमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण र रोचक छ । नेतन्याहूका लागि युक्रेन र इरान युद्धको मिलन एउटा ठूलो अवसर हो । इरानसँगको युद्धलाई युक्रेनको रक्षासँग जोड्न सकियो भने अमेरिकी मतदाता र विशेषगरी ट्रम्प समर्थकहरूका बीचमा इरानमाथिको सैन्य कारबाहीको लोकप्रियता बढ्नेछ ।
नेतन्याहूले यसलाई इजरायलको रक्षा भन्दा पनि विश्व लोकतन्त्र र युक्रेनको रक्षाको रूपमा व्याख्या गरेर युरोपेली राष्ट्रहरूलाई पनि इरानविरोधी मोर्चामा सामेल गराउन सक्नेछन् ।
यसरी युक्रेन, इजरायल र केही अमेरिकी कट्टरपन्थीहरूको स्वार्थ मिल्दा विश्व ठूलो सैन्य मुठभेडतर्फ अघि बढिरहेको देखिन्छ । दुई फरक क्षेत्रका युद्धहरूलाई एउटै बनाउने यस प्रयासले कूटनीतिक समाधानका सबै बाटाहरू बन्द गर्दै लैजाने खतरा छ ।
क्यास्पियन सागरको असुरक्षाले ऊर्जा सुरक्षामा पनि ठूलो असर पार्ने निश्चित छ । युरोपले रुसी ग्यासको विकल्पका रूपमा अजरबैजान र मध्य एसियाली राष्ट्रहरूबाट ग्यास आयात गर्ने योजना बनाइरहेको छ । त्यसका लागि क्यास्पियन क्षेत्र स्थिर रहनु अनिवार्य छ । यो क्षेत्र युद्धको मैदान बन्यो भने युरोपको ऊर्जा संकट थप गहिरिनेछ र विश्वव्यापी व्यापारिक मार्गहरूमा अवरोध सिर्जना हुनेछ ।
विशेषगरी, पेट्रोलियम पदार्थ र युरेसियाबाट आयात हुने खाद्यान्न तथा रासायनिक मलको मूल्य अत्यधिक बढ्दा नेपालको कृषि र औद्योगिक क्षेत्र प्रत्यक्ष प्रभावित हुनेछन् । यसले सर्वसाधारणको क्रयशक्ति घटाउने र राष्ट्रिय अर्थतन्त्रमा मन्दीको जोखिम निम्त्याउने देखिन्छ
भारतदेखि रुससम्म जोड्ने इन्टरनेशनल नर्थ–साउथ ट्रान्सपोर्ट करिडोर र ट्रान्स–क्यास्पियन इन्टरनेशनल ट्रान्सपोर्ट रूट (मिडल करिडोर) दुवैमा यसले गम्भीर धक्का पुर्याउनेछ । यसरी हेर्दा एउटा सानो भौगोलिक क्षेत्रमा सुरु भएको सैन्य टकरावले विश्वका प्रमुख अर्थतन्त्रहरूलाई प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।
यसरी युक्रेनी नेतृत्वले इरानलाई यस द्वन्द्वमा तानेर जुन दाउ खेलेको छ, त्यो दुईधारे तरबार जस्तै हो । यसले तत्कालका लागि ट्रम्प प्रशासनको ध्यान तान्न र सैन्य सहयोग सुनिश्चित गर्न मद्दत गर्ला तर यसले निम्त्याउने दीर्घकालीन परिणामहरू निकै भयावह हुन सक्छन् ।
इरान, रुस र उत्तर कोरिया जस्ता शक्तिहरूको बढ्दो ध्रुवीकरण र उनीहरूबीचको सैन्य समन्वयले पश्चिमका लागि एउटा नयाँ चुनौती खडा गरिरहेको छ । अमेरिका र युरोपले समयमै यो जोखिमलाई बुझेर युद्धको विस्तारलाई रोक्न कूटनीतिक पहल गरेनन् भने क्यास्पियन सागरबाट सुरु भएको सानो झिल्कोले सम्पूर्ण युरेसियालाई खरानी बनाउन सक्नेछ ।
युक्रेन र इरान द्वन्द्वको बढ्दो विस्तारले नेपाल जस्तो आयातमा आधारित र भूपरिवेष्ठित अर्थतन्त्र भएको देशलाई बहुआयामिक संकटमा धकेल्ने निश्चित छ । क्यास्पियन सागर र इरानको संवेदनशीलता बढ्दा विश्वव्यापी आपूर्ति श्रृंखला खलबलिनेछ । त्यसको पहिलो प्रहार नेपालको उपभोग्य बजार र मुद्रास्फीतिमा पर्नेछ ।
विशेषगरी, पेट्रोलियम पदार्थ र युरेसियाबाट आयात हुने खाद्यान्न तथा रासायनिक मलको मूल्य अत्यधिक बढ्दा नेपालको कृषि र औद्योगिक क्षेत्र प्रत्यक्ष प्रभावित हुनेछन् । यसले सर्वसाधारणको क्रयशक्ति घटाउने र राष्ट्रिय अर्थतन्त्रमा मन्दीको जोखिम निम्त्याउने देखिन्छ ।
यस सम्भावित संकटको सामना गर्न नेपालले आफ्नो परराष्ट्रनीति र आर्थिक सुरक्षाका रणनीतिहरूमा बेलैमा पुनरवलोकन गर्न आवश्यक देखिन्छ ।
This article was first published on Clickmandu.
