हर्मुजमा पैसा तिरेर जहाजको आवागमन गराउने इरानको कदम, अमेरिकी प्रभुत्वमाथिको कठोर प्रहार

April 5, 2026
Featured image for “हर्मुजमा पैसा तिरेर जहाजको आवागमन गराउने इरानको कदम, अमेरिकी प्रभुत्वमाथिको कठोर प्रहार”

इरानले हर्मुज जलयोजकको नाकाबन्दी गरेपछि विश्वव्यापी ऊर्जा बजारमा तेलको सुरक्षाका लागि गम्भीर संकट सामना गरिरहेको देखिन्छ । तर, तथ्यांकहरूको सूक्ष्म अध्ययनले संकट भन्दा पनि व्यावहारिक र व्यवस्थापन गर्न सकिने वास्तविकतालाई संकेत गरेको विश्लेषकहरू बताउँछन् ।

मूलधारे सञ्चारमाध्यम र अर्थविद्हरूले तेल आपूर्तिका अवरोधलाई विनाशकारी रूपमा चित्रण गर्ने गरेको भए पनि यो महँगो तर व्यवस्थापन गर्न सकिने ऊर्जा मोडलमा परिणत हुँदै गइरहेको देखिन्छ । पहिलेको जस्तो गरी निर्बाध रूपमा तेलको प्रवाह नभई चोकपोइन्टमा पैसा तिरेर (सब्सक्रिप्शन बेस्ड सर्भिस) तेलको कारोबार हुने देखिँदैछ । यस परिवर्तनलाई एक प्रकारको ‘टोल प्रणाली’ (आवागमन शुल्क) को रूपमा बुझ्न सकिन्छ ।

पश्चिम एसियामा विकसित भूराजनीतिक संघर्षलाई पैसा कमाउने माध्यममा रूपान्तरण गरिँदैछ । यस प्रणालीले तेललाई निश्चित प्रिमियम वा शुल्कको बदलामा प्रवाह हुन अनुमति दिन्छ । यसरी टोल तिरेर तेल लिँदा महँगो पर्ने भए पनि यसका लागि विश्वव्यापी आर्थिक क्षमता कायम छ ।

बजारको यस लचिलोपनलाई अभूतपूर्व द्विपक्षीय ऊर्जा सम्झौताहरूले थप बल पुर्याएका छन् । ती सम्झौताहरूले जानाजान परम्परागत पश्चिमी कूटनीतिक च्यानलहरूलाई बाइपास गरिरहेका छन् । यस घटनाले अमेरिकी एकध्रुवीय व्यवस्थाको अन्त्यपछि विश्वव्यापी ऊर्जा सुरक्षा कसरी कायम राखिन्छ भन्ने कुरामा आधारभूत परिवर्तनको संकेत गर्छ ।

अमेरिकाले लामो समयदेखि विश्वव्यापी तेल व्यापारलाई नियन्त्रण गर्दै आएको थियो तर अब त्यो युग सकिन लागेको देखिएको छ

हर्मुज जलयोजकमा भइरहेका पछिल्ला घटनाक्रमहरूले आपूर्ति संकुचनको सबैभन्दा खराब समय बितिसकेको संकेत दिएका छन् ।

अमेरिकाको मध्यस्थता बिना विभिन्न देशले इरानसँग रणनीतिक सम्झौता गरेका छन् । पाकिस्तानले आठवटा जहाजको सम्झौता गरेको छ भने साउदीको कच्चा तेल बोकेका र ओमानको झण्डा भएका ट्यांकरहरू हर्मुजबाट प्रस्थान गरेका छन् ।

यी घटनाहरूलाई बेग्लाबेग्लै गरी हेर्न मिल्दैन । यसले क्षेत्रीय सहयोगको प्रवृत्तिमा वृद्धि भइरहेको देखाउँछ । यस प्रवृत्तिमा इरानले हर्मुज जलयोजकलाई पूर्ण रूपमा बन्द गर्नुको साटो टोल प्रणालीमार्फत आफ्नो भौगोलिक प्रभावलाई राजस्व र अन्तर्राष्ट्रिय सान्दर्भिकताको स्रोतको रूपमा प्रयोग गरिरहेको छ ।

इरानी शासनले तत्कालका लागि आणविक हतियार बनाउने महत्त्वाकांक्षा पूरा हुन नसक्ने कुरा बुझेपछि यस जलमार्गलाई रणनीतिक रूपमा प्रयोग गर्ने नीति अपनाएको देखिन्छ । यस जलयोजक रणनीतिले विनाशकारी आणविक जोखिमलाई व्यवस्थापन गर्न सकिने ‘लजिस्टिक प्रिमियम’ मार्फत प्रतिस्थापन गरेको छ ।

वाशिङटनलाई बाइपास गर्ने हालको कूटनीतिक प्रयास शायद सन् १९७० को दशक पछिको ऊर्जा परिदृश्यमा सबैभन्दा महत्त्वपूर्ण संरचनात्मक परिवर्तन हो । युरोप, भारत, चीन र अस्ट्रेलिया जस्ता प्रमुख मुलुकहरूले आफ्नो ऊर्जा प्रवाह सुरक्षित गर्न स्वतन्त्र निर्णयहरू लिइरहेका छन् । यसले पर्सियाली खाडीमा अमेरिकाको सफ्ट पावरमा आएको तीव्र गिरावटलाई झल्काउँछ ।

ऐतिहासिक रूपमा अमेरिका यी जलमार्गहरूमा समुद्री सुरक्षाको प्राथमिक ग्यारेन्टरको रूपमा रहेको थियो । तर, विश्वले अब क्षेत्रीय शक्तिहरूसँग सीधै वार्ता गर्न बढी सहज मानेको वर्तमान वातावरणले देखाउँछ ।

यस परिवर्तनले ऊर्जा बजारमा अमेरिकी डलरको प्रभुत्वमा गहिरो असर पार्न सक्छ किनकि यी द्विपक्षीय सम्झौताहरू स्थानीय मुद्रा वा वस्तु विनिमय प्रणाली मार्फत तय हुने सम्भावना बढ्दो छ । पेट्रोयुआन कारोबारलाई गम्भीर रूपमा अघि बढाइँदैछ ।
यसले अमेरिकाको आर्थिक प्रभुत्वमा रणनीतिक घाटा गराइरहेको संकेत गर्छ । अमेरिकाले लामो समयदेखि विश्वव्यापी तेल व्यापारलाई नियन्त्रण गर्दै आएको थियो तर अब त्यो युग सकिन लागेको देखिएको छ ।

गणितीय दृष्टिकोणबाट हेर्दा तेल आपूर्तिको स्थिति धेरै भयावह देखिँदैन । विश्वव्यापी तेल प्रणालीले परिस्थिति मुताबिक अनुकूलन गर्ने अद्भुत क्षमता प्रदर्शन गरेको छ । यसले गर्दा हर्मुज जलयोजकबाट हुने दुई तिहाइ तेलको गुमेको प्रवाहलाई एक महिनाभन्दा कम समयमै वैकल्पिक तरिकाले पुनर्जीवित गरिएको छ ।

यो सफलता पाइपलाइनहरू मार्फत कच्चा तेलको मार्ग परिवर्तन गरेर, रणनीतिक भण्डारहरूको प्रयोग गरेर र फ्लोटिङ भण्डारण परिचालन गरेर हासिल गरिएको हो । उदाहरणका लागि, साउदी अरबको यान्बुसम्म जाने पूर्व–पश्चिम पाइपलाइन र संयुक्त अरब अमिरातको हबशान–फुजैराह पाइपलाइनले आफ्नो प्रवाह उल्लेखनीय रूपमा बढाएका छन् ।

विश्व अब भौतिक अवरोधहरूलाई बाइपास गर्ने कलामा निपुण हुँदै गइरहेको यसले प्रमाणित गर्छ । यो लचिलोपन सन् २०२२ को युरोपेली ऊर्जा संकटसँग मिल्दोजुल्दो छ । त्यतिबेला बजारले रुसी ग्यासलाई विश्वव्यापी एलएनजीमार्फत प्रतिस्थापन गरेको थियो । त्यसले धेरैजसो विज्ञहरूको अनुमानलाई गलत साबित गरिदिएको थियो ।

विश्वले अहिले विभिन्न वैकल्पिक च्यानलहरू र वार्ताद्वारा खुलाइएका मार्गहरूमार्फत प्रतिदिन लगभग १ करोड ३० लाखदेखि १ करोड ४० लाख ब्यारल तेल ओसारपसार गरिरहेको तथ्यांकले संकेत गर्छ ।

चीन र भारत जस्ता राष्ट्रहरूले यी जहाजहरूका लागि सरकारी बिमा ग्यारेन्टीहरू प्रदान गरिरहेका छन् । यसले गर्दा पश्चिमी बिमकहरूको युद्ध जोखिम प्रिमियमको अत्यधिक महँगो शुल्कलाई बाइपास गरिएको छ

यो मात्रा युद्धपूर्वको कुल तेल प्रवाहको लगभग ६५ प्रतिशत हो । यसले गर्दा आपूर्ति सन्तुलनमा ल्याउन प्रतिदिन थप ५० लाखदेखि ६० लाख ब्यारलको अन्तर मात्र बाँकी रहन्छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) सँग आपतकालीन तेल प्रवाह गर्ने क्षमता रहेको र रुसी तथा अन्य फ्लोटिङ भण्डारहरूबाट ठूलो मात्रामा तेल उपलब्ध हुन सक्ने कुरालाई ध्यानमा राख्दा यो अन्तरलाई अझ बढी व्यवस्थापन गर्न सकिने देखिन्छ ।

प्रतिदिन थप ५ देखि ६ वटा ट्यांकरहरूको सुरक्षित मार्गका लागि वार्ता गर्नमा लजिस्टिक चुनौती केन्द्रित छ । क्षेत्रीय मुलुकहरूबाट प्रोत्साहन मिलेसँगै यो झन् झन् सम्भव देखिँदै गएको छ ।

यस अवस्थाका लागि विश्वव्यापी ढुवानीमा व्यावहारिक मध्यम वर्ग (प्राग्मेटिक मिडल) को भूमिका महत्त्वपूर्ण छ । पश्चिमको बिमा बजारले द्वन्द्वको समयमा सेवा रोक्ने गरेका छन् तर विश्वव्यापी ट्यांकर फ्लीट एकनासको छैन । युद्ध सुरु हुनुअघि तेल ढुवानीका लागि लगभग ४२ प्रतिशत लाइबेरिया वा मार्शल आइल्यान्ड्स जस्ता मुलुकहरूमा दर्ता गरिएका जहाजहरू उपलब्ध थिए । तिनलाई अहिले सार्वभौम क्षतिपूर्ति (सोभरेन इन्डेमनिटी) अन्तर्गत समेटिएको छ ।

चीन र भारत जस्ता राष्ट्रहरूले यी जहाजहरूका लागि सरकारी बिमा ग्यारेन्टीहरू प्रदान गरिरहेका छन् । यसले गर्दा पश्चिमी बिमकहरूको युद्ध जोखिम प्रिमियमको अत्यधिक महँगो शुल्कलाई बाइपास गरिएको छ ।

यस राज्य–स्तरको हस्तक्षेपले ऊर्जा सुरक्षालाई व्यापारिक बिमा जोखिमको साटो राष्ट्रिय अस्तित्वको विषयको रूपमा व्यवहार गर्छ । यसले लन्डनस्थित बिमा कम्पनीहरूको अनुपस्थितिमा पनि तेलको भौतिक प्रवाहलाई निरन्तरता दिन्छ ।

यसबाहेक रुसी र इरानी तेलमाथिको पश्चिमी प्रतिबन्धका कारण विकसित भएका छायाँ (श्याडो) र ग्रे फ्लीटहरूले उच्च जोखिमपूर्ण वातावरणमा ढुवानी गर्न तयार भएका पूर्वाधार प्रदान गर्छन् । यी जहाजहरू जी–७ र ईयूको नियामक संरचना बाहिर सञ्चालन हुन्छन् । यिनीहरू ओमान जस्ता संवेदनशील क्षेत्रमा जहाज–देखि–जहाज तेल स्थानान्तरण गर्न इच्छुक छन् ।

अटोमेटिक आइडेन्टिफिकेशन सिस्टममा चिनियाँ मालिक वा इरानको लागि खाद्यान्न जस्ता पहिचानकर्ताहरू प्रयोग गरेर यी ट्यांकरहरूले क्षेत्रीय मुलुकहरूलाई आफ्नो तटस्थ स्थितिका विषयमा संकेत गर्छन् । यसले गर्दा ‘ह्वाइट लिस्ट प्रोटोकल’ सिर्जना हुन्छ ।

यस समानान्तर समुद्री अर्थतन्त्रले चरम द्वन्द्वको स्थितिमा पनि आवश्यक वस्तुहरूको प्रवाह ब्याक–च्यानल वार्ता र विशेष लजिस्टिक मार्फत कायम राख्न सकिन्छ भन्ने कुरा सुनिश्चित गर्छ ।

यस संकटको राजनीतिक आयामले पश्चिमी नेताहरूका लागि, विशेषगरी अमेरिकाको सन्दर्भमा, प्रतिबद्धताको वृद्धिको जाल (एस्कलेशन अफ कमिटमेन्ट ट्रय्राप) सिर्जना गरेको छ । अमेरिकाले सैन्य हस्तक्षेपलाई एक मात्र विकल्पको रूपमा चित्रण गरेको भए पनि स्वतन्त्र द्विपक्षीय सम्झौताहरूको बढ्दो वास्तविकताले सुरक्षित निकासको बाटो प्रदान गर्छ ।

अमेरिकाले इरानविरुद्ध आणविक हतियारको जोखिमबाट अहिलेको ‘टोल’ मा आधारित सामुिद्रक कारोबारतर्फको संक्रमणलाई क्षेत्रीय स्थिरताको लागि रणनीतिक विजयको रूपमा व्याख्या गर्न सक्छ । यसले हर्मुज जलयोजकलाई क्रमशः खोल्न अनुमति दिन्छ । यस अन्तर्गत देशहरूले हर्मुज जलमार्ग प्रयोग गरेबापत सामान्य शुल्क तिर्छन् र साथसाथै यस क्षेत्रलाई पूर्ण रूपमा बाइपास गर्ने दीर्घकालीन पूर्वाधार आयोजनाहरूमा काम गर्छन् ।

कोभिड–१९ महामारीको समयमा देखिएका विश्लेषणात्मक त्रुटिहरू जस्तै अहिले पनि उच्च सतर्कताको अवस्था कायम राख्ने प्रवृत्ति छ किनकि यसले मिडियाको ध्यान आकर्षित गर्छ र कट्टरपन्थी नीतिगत हस्तक्षेपहरूलाई जायज ठहराउँछ ।

तर, सन्तुलन खोज्ने बजारको क्षमतालाई अक्सर कम आकलन गरिन्छ भन्ने कुरा तथ्यांकमा आधारित दृष्टिकोणले देखाउँछ । पर्सियाली खाडीको वर्तमान अवस्था सन् १९७३ को तेल प्रतिबन्धको पुनरावृत्ति होइन । यो परिष्कृत लजिस्टिक र बहुध्रुवीय कूटनीतिक वातावरण समावेश भएको २१औं शताब्दीको जटिल नेगोसिएसन हो ।

पश्चिम एसियामा अमेरिकी प्रभावको ह्रास गम्भीर भूराजनीतिक परिवर्तन हो । यसले क्षेत्रीय व्यावहारिकतामा आधारित नयाँ विकेन्द्रीकृत ऊर्जा सुरक्षाको स्वरूप विकास गरेको छ

इरानले हर्मुजमा वास्तविक प्रभाव कायम गरेको छ तर बिस्तारै यसको सान्दर्भिकता समाप्त हुँदै गइरहेको छ किनभने विश्वले यस्ता अवरोधहरूलाई अर्थहीन बनाउन तीव्र गतिमा पूर्वाधार र कानुनी संरचनाहरू निर्माण गरिरहेको छ ।

बजार संकट व्यवस्थापनबाट बचत व्यवस्थापनतर्फ लाग्दै गर्दा अबको ध्यान तेलको अभावबाट हटेर ट्यांकरहरूको चापको लजिस्टिक व्यवस्थापनमा केन्द्रित हुनेछ । आपूर्ति सन्तुलन कायम गर्न भौतिक जहाजहरूको संख्या प्रतिदिन लगभग ९ देखि १० ट्यांकरमा पुग्नुपर्छ ।

यो क्षमता गैरपश्चिमी ग्रे फ्लीट र सार्वभौम क्षतिपूर्ति अन्तर्गत सञ्चालित जहाजहरूको पहुँचभित्रै छ । पाकिस्तान र ओमानका प्रारम्भिक सम्झौताहरूले व्यापक पुनरुत्थानको लागि खाका तयार पारेका छन् । ब्रिक्स प्लस राष्ट्रहरूको झण्डा र सरकारी बिमाको उपयोग गरेर विश्व अर्थतन्त्रले औपचारिक शान्ति सन्धि बिना नै आपूर्तिको खाडल सफलतापूर्वक पूर्ति गर्न सक्छ ।

पश्चिम एसियामा अमेरिकी प्रभावको ह्रास गम्भीर भूराजनीतिक परिवर्तन हो । यसले क्षेत्रीय व्यावहारिकतामा आधारित नयाँ विकेन्द्रीकृत ऊर्जा सुरक्षाको स्वरूप विकास गरेको छ । तेलको गणितमा सुधार आउँदै जाँदा आपूर्तिको सन्तुलन तर्फको बाटो थप स्पष्ट हुँदै गइरहेको छ ।

विश्व अर्थतन्त्र धेरैले अनुमान गरेभन्दा चाँडो र बलियो रूपमा यस संकटबाट बाहिर निस्कने यसले संकेत गर्छ । बहुध्रुवीय विश्वमा ढुवानीको निरन्तरताको चाहनाले परम्परागत कूटनीतिको सीमालाई उछिनेर अगाडि बढ्ने पाठ यसबाट पढ्न सकिन्छ ।

This article was first published on Clickmandu.


Share:

Leave a Reply