अमेरिकी विदेशमन्त्री मार्क रुबियोको भारत भ्रमण, द्विदेशीय सम्बन्ध सुधारको पहल

May 27, 2026
Featured image for “अमेरिकी विदेशमन्त्री मार्क रुबियोको भारत भ्रमण, द्विदेशीय सम्बन्ध सुधारको पहल”

गत शनिबारदेखि मंगलबार (मे २३ देखि २६ सम्म) अमेरिकाका विदेशमन्त्री मार्क रुबियोले गरेको चार दिने भारत भ्रमण द्विदेशीय सम्बन्धको सुधारको पहल मानिएको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका फर्स्ट नीतिले पुनः गति लिएपछि वाशिङटन र नयाँ दिल्लीबीचको सम्बन्धमा केही चिसोपन आएको थियो । विशेषगरी, भन्सार महसुल (ट्यारिफ) मा वृद्धि, भारतले गरिरहेको रुसी तेलको खरिदमा अमेरिकाको आपत्ति र अमेरिकामा भारतीय मूलका व्यक्तिहरूमाथि रोक लगाउने प्रयास जस्ता विषयले दुई देशबीचको दुई दशक लामो सुमधुर सम्बन्धलाई लेनदेनमुखी र प्रतिस्पर्धात्मक बनाएको छ ।

यस्तो पृष्ठभूमिमा विदेशमन्त्री रुबियोको यस भ्रमणलाई विश्लेषकहरूले बिग्रँदो सम्बन्धलाई सुधार्ने मर्मत कार्यका रूपमा हेरेका छन् । यस भ्रमणले सरकारी स्तरमा वार्ता गर्नुका अतिरिक्त भारत र अमेरिकाबीचको भविष्यको रणनीतिक आधार कस्तो हुनेछ भन्ने कुराको संकेत पनि दिएको छ ।

रुबियोको भ्रमणको सबैभन्दा ठोस उपलब्धि महत्त्वपूर्ण खनिज (क्रिटिकल मिनरल्स) र दुर्लभ खनिज पदार्थ (रेयर अर्थ्स) सम्बन्धी द्विपक्षीय फ्रेमवर्क सम्झौता हो । भारतका विदेशमन्त्री एस. जयशंकर र रुबियोबीच नयाँ दिल्लीमा भएको यस सहमतिले दुई देशबीचको प्राविधिक र ऊर्जा सुरक्षाको क्षेत्रमा एउटा नयाँ अध्याय सुरु गरेको छ ।

यो सम्झौता केवल व्यापारिक मात्र नभई चीनको रेयर अर्थ्समा विश्वव्यापी एकाधिकारलाई तोड्ने ठूलो रणनीतिक कदम हो । वर्तमान विश्वमा लिथियम, कोबाल्ट, निकेल र दुर्लभ खनिज पदार्थ बिना स्मार्टफोन, विद्युतीय सवारीसाधन, सेमिकन्डक्टर र आधुनिक सैन्य उपकरणहरूको निर्माण असम्भव छ ।

हाल यी खनिजहरूको आपूर्ति र प्रशोधनमा चीनले करिब ९० प्रतिशत नियन्त्रण राखेको छ । अमेरिका र भारत दुवैले यस निर्भरतालाई जोखिमपूर्ण ठानेका छन् । यस सम्झौताले उत्खनन, प्रशोधन र पुनः प्रयोग (रिसाइक्लिङ) को क्षेत्रमा संयुक्त लगानी र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्नेछ । यसले दुवै देशको आपूर्ति शृंखलालाई सुरक्षित गर्ने लक्ष्य राखेको छ ।

यही सिलसिलामा रुबियोको भ्रमणको अन्तिम दिन क्वाड विदेशमन्त्रीहरूको ११औं बैठक पनि नयाँ दिल्लीमा सम्पन्न भएको छ । अमेरिका, भारत, जापान र अस्ट्रेलिया सम्मिलित यस समूहले महत्त्वपूर्ण खनिज आपूर्ति शृंखलालाई बलियो बनाउन २० अर्ब डलरसम्मको कोष परिचालन गर्ने घोषणा गरेको छ ।

यस कोषले खनन र प्रशोधनका क्षेत्रमा निजी क्षेत्रलाई पनि आकर्षित गर्नेछ । भारतका लागि यो सम्झौता झन् बढी महत्त्वपूर्ण छ किनभने भारतले आफ्नो आर्थिक वर्ष २०२६–२०२७ को बजेटमा उडिसा, केरला, आन्ध्र प्रदेश र तमिलनाडुमा दुर्लभ खनिज करिडोर निर्माण गर्ने योजना अघि सारेको छ ।

भारतसँग ठूलो मात्रामा मोनाजाइट खनिज भए पनि प्रविधिको अभावमा यसको प्रशोधन हुन सकेको थिएन । अब अमेरिकी प्रविधिको सहयोगमा भारत यी खनिजहरूको विश्वव्यापी केन्द्र बन्न सक्ने बाटो खुलेको छ । यसले भारतको घरेलु उत्पादन र मेक इन इन्डिया अभियानलाई ठूलो बल पुर्याउने अपेक्षा गरिएको छ ।

भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष सामुद्रिक सुरक्षा र प्रविधिमा गरिएको नयाँ पहल हो । क्वाड देशहरूले इन्डो–प्यासिफिक मेरिटाइम सर्भेलान्स कोल्याबोरेशन (आईपीएमएससी) सुरु गरेका छन् । यसले हिन्द महासागर क्षेत्रमा गैरकानुनी गतिविधिहरूको निगरानी गर्न र सूचना आदानप्रदान गर्न मद्दत गर्नेछ ।

यसका साथै अन्डरसी केबल (समुद्रमुनिको तार) को सुरक्षा र ६जी दूरसञ्चार मानकहरूमा सहकार्य गर्ने निर्णय पनि भएको छ ।

यी प्रयासहरूले हिन्द–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलित गर्ने लक्ष्य राखेका छन् । अमेरिकाले भारतलाई आफ्नो रणनीतिक साझेदार मात्र नभई विश्वव्यापी सुरक्षाको प्रमुख स्तम्भका रूपमा हेरेको रुबियोले आफ्नो भ्रमणका क्रममा पटक–पटक यो दोहोर्याए ।

तर, यी सकारात्मक कुराहरूका बीच केही गम्भीर चुनौतीहरू पनि सतहमा आएका छन् । त्यसले गर्दा भारत–अमेरिका सम्बन्धको भविष्यलाई लिएर धेरै प्रश्नहरू उठेका छन् । व्यापारिक तनाव रुबियो भ्रमणको सबैभन्दा विवादास्पद र कठिन विषय रह्यो । राष्ट्रपति ट्रम्पले भारतीय निर्यातमा ५० प्रतिशतसम्मको दण्डात्मक शुल्क लगाएकाले भारतीय उद्योगहरूलाई ठूलो चोट पुर्याएको छ, भलै अमेरिकाको सर्वोच्च अदालतले अहिले त्यस्तो ट्यारिफ अवैध भएको निर्णय सुनाएको छ ।

रुबियोले नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा यो शुल्क भारतलाई मात्र लक्षित नभई अमेरिकी व्यापारलाई सन्तुलित गर्ने विश्वव्यापी प्रयास भएको भन्दै बचाउ गरे । उनले भारतलाई भन्सार महसुल व्यक्तिगत रूपमा नलिन आग्रह गरे पनि भारतीय पक्षका लागि यो आश्वासन पर्याप्त देखिएन ।

भारतका विदेशमन्त्री जयशंकरले स्पष्ट शब्दमा अमेरिकाको अमेरिका फर्स्ट नीति छ भने भारतको पनि इन्डिया फर्स्ट नीति रहेको बताए । यसले दुई देशबीचको आर्थिक सम्बन्धमा बढ्दै गएको प्रतिस्पर्धा र अविश्वासलाई प्रस्ट पारेको छ । दुवै पक्षले छिट्टै एउटा अन्तरिम व्यापार सम्झौता गर्ने सहमति जनाएका छन् तर यसको कार्यान्वयनमा अझै धेरै बाधा अड्चनहरू छन् ।

रुबियोको भ्रमणको समयमा रुसी तेलको खरिद र इरानसँग भारतको सम्बन्ध पनि एउटा अर्को प्रमुख विषय रह्यो । अमेरिकाले भारतलाई रुसी तेल खरिद नगर्न निरन्तर दबाब दिँदै आएको छ । तर, भारतले आफ्नो ऊर्जा सुरक्षाका लागि सस्तो रुसी तेल अनिवार्य रहेको अडान राख्दै आएको छ ।

इरानसँग अमेरिका–इजरायलको युद्ध र हर्मुज जलयोजकमा भएको अवरोधले गर्दा भारतमा इन्धन र मलको संकट चुलिएको छ । यस्तो अवस्थामा अमेरिकाले भारतलाई आफ्नै देशबाट वा भेनेजुएलाबाट ऊर्जा खरिद गर्न विकल्पहरू त दिएको छ तर ती विकल्पहरू रुसी तेल जत्तिकै सस्तो र सहज छैनन् ।

भारतीय किसानहरू मलको अभावमा छट्पटाइरहेको समयमा अमेरिकाको दबाबले नयाँ दिल्लीमा असन्तुष्टि बढाएको छ । रुबियोले यी मुद्दाहरूमा भारतलाई केही सहुलियत दिने संकेत त गरेका छन् तर वाशिङटनको दीर्घकालीन नीति भारतलाई रुसबाट टाढा लैजाने नै देखिन्छ ।भूराजनीतिक दृष्टिकोणले हेर्दा ट्रम्प र चीनका राष्ट्रपति सी चिनपिङबीच बेइजिङमा भएको हालैको शिखर सम्मेलनले भारतलाई झन् बढी चिन्तित बनाएको छ । उक्त सम्मेलनमा अमेरिका र चीनले रणनीतिक स्थिरताको नयाँ सम्बन्ध निर्माण गर्ने घोषणा गरेका छन् ।

विगत दुई दशकदेखि अमेरिकाले भारतलाई चीनको विकल्पका रूपमा प्रयोग गर्दै आएको थियो । तर, वाशिङटन र बेइजिङबीच नयाँ किसिमको समझदारी (जी–२) बन्यो भने भारतको रणनीतिक महत्त्व घट्न सक्ने विश्लेषकहरूको ठम्याइ छ । चीनले आफ्नो कृषि र खनिज निर्यातको शक्ति प्रयोग गरेर अमेरिकालाई आफूसँग नरम हुन बाध्य पारेको देखिन्छ । यसले गर्दा आफूलाई केवल अमेरिकाको ‘चीन विरोधी’ रणनीतिको हिस्सा मात्र नभई स्वतन्त्र शक्तिका रूपमा स्थापित गर्नुपर्ने भारतसामु चुनौती थपिएको छ ।

यसैगरी, पाकिस्तानसँग अमेरिकाको बढ्दो निकटताले भारतमा नयाँ संशय पैदा गरेको छ । ट्रम्पले पाकिस्तानी सेना प्रमुख असिम मुनिरलाई आफ्नो मनपर्ने फिल्ड मार्शल भन्नु र पाकिस्तानलाई इरान युद्ध अन्त्यको महत्त्वपूर्ण मध्यस्थकर्ताका रूपमा चित्रण गर्नुले भारतलाई सशंकित बनाएको छ । सन् २०२५ को सुरुतिर मोदीलाई ह्वाइट हाउसमा न्यानो स्वागत गरिएको थियो तर वर्षको अन्त्यसम्म आइपुग्दा अमेरिकाले पाकिस्तानलाई प्राथमिकता दिन थालेको देखिन्छ ।

रुबियोले यसबारे स्पष्टीकरण दिँदै पाकिस्तानसँग अमेरिकाको सम्बन्धले भारतलाई किनारीकृत नगर्ने बताए पनि नयाँ दिल्लीले वाशिङटनको यो लेनदेनमुखी व्यवहारलाई नजिकबाट नियालिरहेको छ । अमेरिकाको यो बदलिँदो नीतिले दक्षिण एसियाको शक्ति सन्तुलनमा नयाँ तरंग पैदा गरेको छ । रुबियोको भ्रमणका क्रममा भारतमा सामाजिक र कूटनीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

‘भारत मण्डपम्’ मा अमेरिकी स्वतन्त्रताको २५०औं वर्षगाँठ मनाउँदै गर्दा राष्ट्रपति डोनल्ड ट्रम्पले भिडियो सन्देशमार्फत प्रधानमन्त्री मोदीलाई ‘मित्र’ भनेर सम्बोधन गरे र भारतलाई आफ्नो शतप्रतिशत सहयोग रहने आश्वासन दिए ।

यस्तो पर्फर्मेटिभ कूटनीतिले झट्ट हेर्दा सम्बन्ध निकै गाढा देखिए पनि भित्री तहमा भने अविश्वासको खाडल गहिरिँदै गएको विज्ञहरू बताउँछन् । भारतका विदेशसचिव विक्रम मिस्रीले पाइन्टको एउटा गोजीमा देब्रे हात राखेर अमेरिकी अधिकारीहरूसँग दाहिने हात मिलाएको दृश्यले दुई देशबीचको चिसो सम्बन्धलाई उजागर गरेको छ ।

सम्बन्ध सामान्यीकरणको पहलका बावजुद अहिले भारत र अमेरिकाबीच विश्वासको संकट छ र स्वार्थहरू बाझिएका छन् । अमेरिकाको अनिश्चित नीतिले व्यापार, ऊर्जा र अध्यागमनमा भारतलाई गहिरो असर पारेको छ । त्यसैले एउटा भ्रमण वा केही मीठा शब्दहरूले मात्र यो विश्वासलाई पुनः स्थापना गर्न सक्दैनन् ।

भ्रमणको अर्को पाटो रुबियोको व्यक्तिगत सक्रियता पनि रह्यो । उनले कोलकाताको मिसनरी अफ च्यारिटी, आगराको ताजमहल र जयपुरको भ्रमण गरेर भारतको सांस्कृतिक विविधतासँग जोडिने प्रयास गरे । कोलकाताबाट भ्रमण सुरु गर्नुलाई धेरैले ‘सौम्य कूटनीति’ को रूपमा लिएका छन् । त्यसले कठोर राजनीतिक वार्ताहरूअघि वातावरणलाई केही सहज बनाउन मद्दत गरेको थियो ।

दिल्लीको प्रचण्ड गर्मीमा रुबियोले गरेको दौडधुपले के संकेत गर्छ भने अमेरिका अहिले भारतलाई आफ्नो पक्षमा राखिराख्न चाहन्छ । तर, ऊ आफ्ना शर्तहरूमा मात्र त्यसो गर्न तयार छ । भारतले पनि आफ्नो रणनीतिक स्वायत्ततालाई त्याग्न तयार नभएको सन्देश दिएको छ । भारत अब पश्चिमा शक्तिको दबाबमा परेर आफ्नो राष्ट्रिय हितसँग सम्झौता गर्ने अवस्थामा छैन ।

भारतले ५०० अर्ब डलरको अमेरिकी सामान खरिद गर्ने प्रतिबद्धता आर्थिक पक्षमा अर्को महत्त्वपूर्ण कुरा हो । यो प्रतिबद्धता भारतले ट्रम्पलाई खुशी बनाउनका लागि गरेको रणनीतिक कदमका रूपमा हेरिएको छ । तर, भारतको अर्थतन्त्र आफैंमा दबाबमा रहेको र विदेशी मुद्रा सञ्चिति घटिरहेको बेला यो प्रतिबद्धता पूरा गर्न निकै कठिन हुने देखिन्छ । अमेरिकी सामान खरिद गर्दा भारतको घरेलु उद्योगहरूलाई पर्न सक्ने असरबारे पनि प्रश्नहरू उठेका छन् ।

यसले के देखाउँछ भने भारत र अमेरिकाबीचको साझेदारी अब सुरक्षामा मात्र सीमित नभई गहिरो आर्थिक लेनदेनमा आधारित हुँदै गएको छ । त्यहाँ सानो गल्तीले पनि ठूलो संकट ल्याउन सक्छ ।

भिसा र अध्यागमनको मुद्दाले पनि भारतीयहरूमा ठूलो चिन्ता पैदा गरेको छ । ट्रम्प प्रशासनले ग्रीन कार्ड निवेदकहरूलाई अमेरिका छाडेर आफ्नो देशबाट प्रक्रिया अगाडि बढाउनुपर्ने नयाँ नियम ल्याउने तयारी गरेको छ । यसले अमेरिकामा कार्यरत लाखौं भारतीयहरूलाई प्रत्यक्ष असर पार्नेछ । रुबियोले यसलाई अमेरिकाको आन्तरिक अध्यागमन प्रणालीको आधुनिकीकरणका रूपमा व्याख्या गरे पनि यसले भारतको प्रविधि क्षेत्र र मानव पुँजीमा ठूलो चोट पुर्याउने निश्चित छ । भारतले यस विषयमा अमेरिकालाई पुनर्विचार गर्न आग्रह गरे पनि अमेरिकाले आफ्नो राष्ट्रिय हितलाई नै प्राथमिकता दिने स्पष्ट पारेको छ ।

क्वाडको भविष्यलाई लिएर पनि रुबियोको भ्रमणमा गम्भीर छलफल भएको छ । विश्लेषकहरूका अनुसार, अमेरिकाले चीनसँग सम्बन्ध सुधार्न थालेपछि क्वाडको सान्दर्भिकतामा प्रश्न उठेको छ । अमेरिकाले चीनलाई शत्रु भन्दा पनि प्रतिस्पर्धीको रूपमा हेर्न थालेकाले क्वाड औपचारिक समूहमा मात्र सीमित हुने सम्भावना छ ।

अर्कोतर्फ, अमेरिकाले अस्ट्रेलिया, जापान र फिलिपिन्ससँग मिलेर स्कवाड नामक अर्को सैन्य गठबन्धन बनाएको छ र त्यसमा भारत छैन । रुबियोले भारतलाई क्वाडको मुटु भनेर फुर्क्याए पनि व्यवहारमा भने भारतलाई केही हदसम्म एक्ल्याउन खोजिएको महसुस गरिएको छ ।

मार्को रुबियोको भारत भ्रमण ‘ड्यामेज कन्ट्रोल’ का लागि गरिएको भए पनि यसले दीर्घकालीन समस्याहरूको पूर्ण समाधान भने निकाल्न सकेन । शायद एउटा भ्रमण मात्रले त्यो समाधान आउँदैन पनि होला । तर, महत्त्वपूर्ण खनिजमा भएको सम्झौता र प्रविधिमा सहकार्यका कुराहरू सकारात्मक उपलब्धि हुन् । यसले भारतलाई भविष्यको प्रविधिमा एक महत्त्वपूर्ण खेलाडी बनाउने अवसर दिएको छ ।

तर, भन्सार महसुल, ऊर्जा संकट र पाकिस्तान तथा चीनसँगको अमेरिकी सम्बन्धको बदलिँदो स्वरूपले भारतलाई सधैं सशंकित बनाइराख्नेछ । भारतले बुझ्नुपर्ने कुरा के छ भने अमेरिका अब एक भरपर्दो आदर्शवादी मित्र होइन, व्यापारिक साझेदार मात्र हो । दुवै देशले एकअर्काको आवश्यकतालाई बुझेका छन्, तर कसैले पनि आफ्नो स्वार्थ त्याग्न चाहेका छैनन् ।

रुबियोको यस भ्रमणले दुई देशबीचको संवादलाई जीवित राखेको छ र सम्भावित ठूलो संकटलाई तत्कालका लागि टारेको छ । तर, आगामी दिनहरूमा ट्रम्प प्रशासनको नीति कता मोडिन्छ र विश्व राजनीतिमा कस्ता नयाँ समीकरणहरू बन्छन्, त्यसैले नै भारत र अमेरिकाबीचको सम्बन्ध कति दिगो हुन्छ भन्ने कुराको निर्धारण गर्नेछ ।

This article was first published on Clickmandu.


Share:

Leave a Reply