इतिहासकै सबभन्दा ठूलो ऊर्जा संकटको सामना गर्दै विश्व, तथ्यांकले देखायो डरलाग्दो चित्र

April 30, 2026
Featured image for “इतिहासकै सबभन्दा ठूलो ऊर्जा संकटको सामना गर्दै विश्व, तथ्यांकले देखायो डरलाग्दो चित्र”

बुधबार (२९ अप्रिलमा) विश्वको आर्थिक परिदृश्य सामान्य चिन्ताको अवस्थाबाट उच्च सतर्कताको अवस्थामा परिणत भएको छ । २४ घण्टाको अवधिमा विश्वका तीन सबैभन्दा प्रभावशाली आर्थिक तथा ऊर्जा संस्थाहरूले ऊर्जाका विषयमा गम्भीर चेतावनी जारी गरेका छन् ।

विश्व बैंक, अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए), र एस एन्ड पी ग्लोबलले जारी गरेका तथ्यांकहरूले सामूहिक रूपमा गम्भीर वास्तविकतालाई पुष्टि गरेका छन् । अहिले संसारले सामान्य बजार उतारचढावको स्थिति भन्दा पनि हालसम्मकै सबैभन्दा ठूलो ऊर्जा र उपभोग्य वस्तुको अवरोधको सामना गरिरहेका छ ।

यी उच्चस्तरीय संस्थाहरूले आफ्नो प्रतिवेदनमा ‘इतिहासकै सबैभन्दा ठूलो’ र ‘अभूतपूर्व’ जस्ता शब्दहरू प्रयोग गरेका छन् । यस्तो अवस्थामा विश्वव्यापी बजारले अनुमानभन्दा माथि उठेर सोच्न जरुरी हुन्छ ।

विश्व बैंकले २९ अप्रिलमा जारी गरेको प्रतिवेदन ‘कमोडिटी मार्केट्स आउटलूक’ ले वर्तमान संकटको तथ्यांकीय आधार प्रदान गरेको छ । पछिल्लो तथ्यांकअनुसार, सन् २०२६ को पहिलो चार महिनामा मात्र ऊर्जाको मूल्य २४ प्रतिशतले वृद्धि भएको छ । ऊर्जाको मूल्यवृद्धि यातायात र उत्पादन क्षेत्रका लागि विनाशकारी त छँदैछ तर कृषि सामग्रीमा विश्व बैंकको तथ्यांकले ठूलो मानवीय संकटको संकेत गरेको छ ।

विश्वव्यापी आपूर्तिको १३ प्रतिशत हिस्सा तत्काल गुमाउनु भनेको बजारका लागि संरचनात्मक पतन बिना सहन असम्भव गणितीय कुरा हो

प्रतिवेदनले रासायनिक मलको समग्र मूल्यमा ३१ प्रतिशत वृद्धि भएको देखाएको छ । यो मुख्यतया युरियाको मूल्यमा भएको ६० प्रतिशतको वृद्धिले गर्दा भएको हो । युरिया विश्वव्यापी नाइट्रोजनमा आधारित मलको मेरुदण्ड हो ।

ऐतिहासिक कृषि अध्ययनहरूले देखाएअनुसार, नाइट्रोजन मलले विश्वव्यापी खाद्य उत्पादनको झण्डै ५० प्रतिशत हिस्सा ओगट्छ । युरियाको मूल्यमा ६० प्रतिशतको वृद्धिले खाद्यान्न महँगो हुने मात्र नभई यसले सन् २०२६–२०२७ को फसल काट्ने सिजनमा विश्वव्यापी उत्पादनमा ठूलो गिरावट आउने संकेत गर्छ ।

विश्व बैंकको सन्देशमा सबैभन्दा डरलाग्दो पक्ष ‘आधारभूत तुलना’ हो । उसले सन् २०२६ का लागि देखाएको ‘गम्भीर परिदृश्य’ को प्रक्षेपणले तेलको औसत मूल्य ११५ डलर प्रति ब्यारल हुन अनुमान गरेको थियो । तर, आज मात्र ब्रेन्ट क्रुडको कारोबार १२५ डलरमा भइरहेको ओयलप्राइस डट्कमले देखाएको छ।

विश्वव्यापी अर्थव्यवस्थाले विश्व बैंकको सबैभन्दा खराब अवस्थाको पूर्वानुमानलाई पनि उछिनेको यसले संकेत गर्छ । अहिले यो यस्तो क्षेत्रमा प्रवेश गरेको छ जसको पूर्ण मोडल तयार गर्न बाँकी छ । समग्र उपभोग्य वस्तुको मूल्य १६ प्रतिशतले बढेसँगै मुद्रास्फीतिको चाप अब कुनै एक क्षेत्रमा मात्र सीमित नभई प्रणालीगत भएको छ ।

विश्व बैंकले मूल्यको तथ्यांक उपलब्ध गराउँदा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को प्रतिवेदन ‘स्पेशल स्टेटमेन्ट अन ग्लोबल ओयल सप्लाई’ परिमाणको तथ्यांक दिएको छ । यसले मूल्य किन बढिरहेको छ भनेर स्पष्ट पार्छ । आईईएका कार्यकारी निर्देशक फातिह बिरोलको भनाइ स्पष्ट छ, ‘हामीले दैनिक १ करोड ३० लाख ब्यारल तेल गुमाइरहेका छौं ।’

यस संख्याको गम्भीरता बुझ्नका लागि ऐतिहासिक उदाहरणहरू हेर्नुपर्छ । सन् १९७३ को विशाल ऊर्जा संकट र सन् १९७९ को अवरोधहरूलाई ऊर्जा महाविपत्तिको मानक मानिन्छ । तर, ती दुवै संकटलाई जोड्दा पनि दैनिक करिब ५० लाख ब्यारलको मात्र क्षति भएको थियो । उता रुस–युक्रेन संघर्षपछि सन् २०२२ मा भएको अवरोधले विश्व बजारबाट करिब ३० लाख ब्यारल हटाएको थियो ।

तर, सन् २०२६ को हर्मुज संकटका कारण १ करोड ३० लाख ब्यारलको क्षति भएको छ र त्यो सन् २०२२ को धक्काभन्दा चार गुणा ठूलो हो । सन् १९७० को दशकको संयुक्त प्रभावभन्दा यो दोब्बर हो । तेलको विश्वव्यापी दैनिक माग सामान्यतया १० करोड ब्यारलको आसपास हुन्छ ।

विश्वव्यापी आपूर्तिको १३ प्रतिशत हिस्सा तत्काल गुमाउनु भनेको बजारका लागि संरचनात्मक पतन बिना सहन असम्भव गणितीय कुरा हो । आईईएको ग्लोबल इनर्जी रिभ्युले उल्लेख गरेअनुसार, साउदी अरब वा यूएईमा यस्तो कुनै अतिरिक्त क्षमता छैन जसले विश्वव्यापी आपूर्तिको यस दोहोरो अंकको क्षतिलाई पूर्ति गर्न सकोस् ।

उता, एस एन्ड पी ग्लोबलका उपाध्यक्ष तथा प्रख्यात ऊर्जा इतिहासकार ड्यानियल येर्गिनले यस स्थितिलाई तेल संकटको रूपमा मात्र नभई समग्र आपूर्ति श्रृंखलाको असफलताको रूपमा चित्रण गरेका छन् । एस एन्ड पी ग्लोबलको ग्लोबल मार्केट इन्टेलिजेन्सले प्रकाशन गरेको प्रतिवेदन ‘द ग्रेट डिसरप्सन: इनर्जी एन्ड मिनरल फ्लोज थ्रु हर्मुज’ का अनुसार, यो अवरोध पेट्रोल पम्पभन्दा धेरै टाढासम्म फैलिएको छ ।

तथ्यांकले भयानक भौगोलिक अवरोधलाई उजागर गरेको छ । येर्गिनका अनुसार, खाडी मुलुकको ८० प्रतिशत तेल र ९० प्रतिशत तरल प्राकृतिक ग्यास (एलएनजी) एसियाली बजारका लागि लक्षित थियो । चीन, जापान र दक्षिण कोरिया जस्ता देशहरू ऊर्जा–सघन उत्पादनका लागि समयमै सामान उपलब्ध गराउने काम (जस्ट–इन–टाइम डेलिभरी) मा निर्भर छन् । उनीहरू अहिले यस धक्काको सबैभन्दा गम्भीर प्रभाव झेलिरहेका छन् ।

विकासोन्मुख देशका किसानहरू पहिले नै १६ प्रतिशतको समग्र मूल्यवृद्धिबाट थिचिएका छन् । उनीहरूले मलको प्रयोग घटाउने सम्भावना छ

एस एन्ड पी ग्लोबलको प्रतिवेदनले हर्मुज जलयोजक तेलको धमनी मात्र नभई रसायन र खनिजको पनि धमनी भएको कुरामा जोड दिएको छ । अवरुद्ध भएका वस्तुहरूको सूचीमा एयरोस्पेस र अटोमोटिभ उद्योगका लागि महत्त्वपूर्ण आल्मुनियम, सेमिकन्डक्टर उत्पादन र मेडिकल एमआरआई मशिनका लागि आवश्यक हिलियम तथा प्लास्टिक, चिकित्सा सामग्री, र उपभोक्ता वस्तुहरूको आधारभूत तत्त्वका रूपमा रहेको पेट्रोकेमिकल्स पनि छन् ।

यी विशिष्ट प्रवाहहरू अवरुद्ध भएपछि सन् २०२६ को संकटले पूर्वी एसियामा रहेको ‘विश्वको कारखाना’ लाई प्रभावकारी रूपमा ठप्प पारेको छ । यी उत्पादन केन्द्रहरूमा कच्चा पदार्थको अभाव हुँदै जाँदा सन् २०२६ को तेस्रो त्रैमासिकसम्ममा आपूर्ति धक्का पश्चिमी उपभोक्ताहरूका लागि वस्तु अभावको धक्कामा परिणत हुनेछ ।

हाल ब्रेन्ट क्रुडको १२५ डलर मूल्य उच्च भए पनि तथ्यांकले यो अझै पनि कृत्रिम रूपमा कम रहेको संकेत दिन्छ । बजारलाई हाल ‘अन–वाटर’ मौज्दातले धानेको छ । अन–वाटर भन्नाले त्यो तेल र ग्यास हो जुन हर्मुज अवरोध आउनुअघि नै ट्यांकर र ट्रान्जिटमा थियो ।

प्रत्येक ऊर्जा प्रणालीको एउटा ट्यांक बटम वा न्यूनतम सञ्चालन सीमा हुन्छ । यो पाइपलाइनमा दबाब कायम राख्न र रिफाइनरीहरू चलाइराख्न आवश्यक पर्ने मौज्दातको स्तर हो । माथि उल्लिखित तीनवटै संस्थाहरूले तय गरेको समयरेखा अनुसार विश्वव्यापी मौज्दात ९ मे देखि ३० मे को बीचमा न्यूनतम सीमामा पुग्ने अपेक्षा गरिएको छ ।

विश्व यो न्यूनतम सीमामा पुगेपछि बजार मूल्य निर्धारणबाट भौतिक राशनिङ (कोटा) तर्फ मोडिनेछ । त्यस विन्दुमा तेलको मूल्य भन्दा पनि त्यसको भौतिक उपलब्धता मुख्य कुरा हुनेछ । जुन महिनासम्म मौज्दात पूर्ति गरिएन भने विश्व बैंकले गरेको वार्षिक औसत ११५ डलरको अनुमान स्थिर युगको पुरानो सम्झना जस्तो मात्र हुनेछ ।

अघिल्ला संकटहरूमा विश्वसँग एउटा सुरक्षाकवच हुन्थ्यो । सन् १९७३ मा उत्तरी सागर र अलास्कामा तेलको खोज गरिएको थियो र संकटलाई विपत्ति बन्नबाट जोगाइएको थियो । सन् २०२२ मा अमेरिकाको संरक्षित रणनीतिक पेट्रोलियमबाट गरिएको ठूलो मात्राको निष्काशनले संकट टारेको थियो । तर, सन् २०२६ मा ती कवचहरू उपलब्ध छैनन् ।

सन् २०२० को दशकको सुरुमा गरिएका हस्तक्षेपहरू पछि धेरै मुलुकका राष्ट्रिय रणनीतिक भण्डारहरू ४० वर्षयताकै न्यून स्तरमा छन् । १ करोड ३० लाख ब्यारलको धक्का सहनका लागि अब कुनै उल्लेख्य बफर बाँकी छैन ।

थप रूपमा, नवीकरणीय ऊर्जातर्फको संक्रमण भइरहेको भए पनि यो अझै पनि विश्वव्यापी आपूर्तिको खाडललाई पूर्ति गर्न सक्ने स्तरमा पुगेको छैन । आईईएका फातिह बिरोलले उल्लेख गरेझैं, यो इतिहासकै सबैभन्दा ठूलो ऊर्जा संकट हो किनभने हाम्रा विकल्पहरू अझै पनि यस स्तरको क्षतिलाई प्रतिस्थापन गर्न सक्षम छैनन् ।

युरिया र विश्वव्यापी स्थिरता बीचको सम्बन्ध चिन्ताको सबैभन्दा ठूलो विषय हो । विश्व बैंकले उल्लेख गरेको युरियाको मूल्यमा ६० प्रतिशतको वृद्धि खाद्य सुरक्षा संकटको एउटा संकेत हो ।

इतिहासकै सबैभन्दा ठूलो ऊर्जा आपूर्ति धक्का अब भविष्यवाणी मात्र नभई हाम्रो वर्तमान वास्तविकता बनेको कुरालाई तथ्यांकले स्पष्ट पारेको छ

ऊर्जाको मूल्य बढेपछि नाइट्रोजनमा आधारित मल उत्पादन गर्ने लागत (जसले प्राकृतिक ग्यासलाई मुख्य कच्चा पदार्थको रूपमा प्रयोग गर्छ) आकाशिन्छ । विकासोन्मुख देशका किसानहरू पहिले नै १६ प्रतिशतको समग्र मूल्यवृद्धिबाट थिचिएका छन् । उनीहरूले मलको प्रयोग घटाउने सम्भावना छ ।

यस अवस्थामा बालीको उत्पादन घट्छ । त्यसपछि खानेकुराका लागि हारालुछ हुने र राजनीतिक अस्थिरता निम्तिने सम्भावना छ । त्यसैले, सन् २०२६ को ऊर्जा संकट वास्तवमा निकट भविष्यको सामाजिक स्थिरताको संकट हो ।

यसरी २९ अप्रिल मा विश्व बैंक, आईईए, र एस एन्ड पी ग्लोबलबाट एकैसाथ आएका चेतावनीहरूलाई गम्भीरताका साथ हेरिनुपर्छ किनकि यिनीहरू बढाइचढाइ कुरा गर्ने अनुत्तरदायी संस्था होइनन् । यी तथ्यांकमा आधारित कुरा गर्ने संस्थाहरू हुन् र यिनीहरूले बजारको स्थिरतालाई प्राथमिकता दिन्छन् ।

उनीहरूको पूर्वानुमानले महाविपत्तिको संकेत गरेको छ । ९ देखि ३० मे को मौज्दात प्रक्षेपण सत्य साबित भयो भने विश्व आर्थिक संकटबाट भौतिक संकटतर्फ धकेलिनेछ । लगानीकर्ता, सरकार र नागरिकहरूले यी प्रतिवेदनहरूलाई विश्वव्यापी अर्थव्यवस्थाको आधारभूत पुनर्गठन हुनुअघिको अन्तिम चेतावनीको रूपमा लिनुपर्छ ।

इतिहासकै सबैभन्दा ठूलो ऊर्जा आपूर्ति धक्का अब भविष्यवाणी मात्र नभई हाम्रो वर्तमान वास्तविकता बनेको कुरालाई तथ्यांकले स्पष्ट पारेको छ ।

This article was first published on Clickmandu.


Share:

Leave a Reply