
अमेरिकी समयअनुसार बुधबार साँझ मेरिल्यान्डस्थित जोइन्ट बेस एण्ड्रुजको सैन्य धावनमार्गमा देखिएको दृश्य असाधारण रह्यो । यो विश्व भूराजनीतिको बदलिँदो दिशाको नाटकीय बिम्ब पनि थियो ।
विगत लामो समयदेखि चीनलाई अमेरिकाको सबैभन्दा ठूलो रणनीतिक, आर्थिक र प्रविधिगत शत्रुको रूपमा चित्रण गर्दै कटु आलोचना गर्दै आएका अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनपिङलाई वाशिङटनमा जुन भव्यताका साथ स्वागत गरे, त्यसले कूटनीतिक वृत्तलाई चकित तुल्याएको छ ।
संयुक्त राष्ट्रसंघ महासभाको पहिलो दिनको सम्बोधनमा आफ्नो शत्रु इरानलाई पूर्ण तहसनहस बनाइदिने र नर्कमा पुर्याइदिने भनी धम्की दिएका ट्रम्पले आफ्नो समकक्षी प्रतिस्पर्धी चीनलाई मित्रवत् व्यवहार गर्दा कूटनीतिक विश्लेषकहरू चकित भएका हुन् ।
सन् २०१५ पछि पहिलोपटक अमेरिकाको औपचारिक भ्रमणमा पुगेका चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न ट्रम्प ह्वाइट हाउसको परम्परागत मर्यादा र प्रोटोकल तोड्दै आफैं सैन्य विमानस्थलको धावनमार्गमा पुगेका थिए । सन् १९६२ पछि पहिलोपटक यसरी अमेरिकी राष्ट्रपति विदेशी राष्ट्रप्रमुखकोे स्वागत गर्न विमानस्थल पुगेका हुन् ।
यो घटना औपचारिक शिष्टाचार मात्र नभई गहन रणनीतिक, आर्थिक र व्यक्तिगत कूटनीतिक स्वार्थको बृहत् जोडघटाउको परिणाम हो ।
विमानस्थलमा आयोजना गरिएको स्वागत समारोह कुनै सामान्य कूटनीतिक औपचारिकतामा मात्र सीमित थिएन । यो शक्ति र सम्मानको अभूतपूर्व प्रदर्शन थियो । स्थानीय समय अनुसार, साँझ ५ः३९ बजे सी सवार एयर चाइनाको बोइङ विमान जोइन्ट बेस एन्ड्रुनजमा अवतरण भएको थियो ।

साँझ ६ः०२ बजे राष्ट्रपति सी र उनकी धर्मपत्नी पङ लियुआन विमानको सिँढीबाट ओर्लिंदा ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प उनीहरूको स्वागतका लागि १०० फिट लामो रातो कार्पेटको छेउमा तम्तयार अवस्थामा उभिएका थिए ।
अमेरिकी सेवा दलका जवानहरूले दुवैतर्फबाट रातो कार्पेटलाई घेरेर कडा र अनुशासित सुरक्षा घेरा बनाएका थिए । दुवै देशका राष्ट्रप्रमुख र प्रथम महिलाहरूले मुस्कुराउँदै हात मिलाए र दोभाषेमार्फत केही मिनेट संक्षिप्त कुराकानी गरे । त्यस क्रममा राष्ट्रपति सीलाई एउटा पुष्पगुच्छा प्रदान गरिएको थियो जसलाई उनले तुरुन्तै आफ्ना सहयोगीलाई हस्तान्तरण गरेका थिए ।
त्यसपछि सुरु भएको औपचारिक सैन्य सम्मान अत्यन्तै भव्य र दुर्लभ प्रकृतिको थियो। समारोहमा औपचारिक तोपको सलामी दिइएको थियो भने २१ सदस्यीय अनर कर्डन र अमेरिका तथा चीनका राष्ट्रिय झण्डाहरू बोकेका दुईवटा तीन–तीन सदस्यीय कलर टोलीहरू तैनाथ थिए । अमेरिकी वायुसेनाको ब्यान्डले अमेरिका र जनवादी गणतन्त्र चीन दुवै देशका राष्ट्रिय धुनहरू बजाउँदा वातावरण अत्यन्तै गम्भीर र औपचारिक बनेको थियो ।
समारोहको सबैभन्दा नाटकीय र शक्तिशाली क्षण तब आयो जब अमेरिकी वायुसेनाको रणनीतिक लडाकु क्षमताको मेरुदण्ड मानिने दुईवटा सुपरसोनिक बी–१ लामो दूरीका रणनीतिक बमवर्षक विमानहरूले आकाशबाट गर्जनसहित ‘फ्लाईओभर’ गरे । ती विमान उड्दा कानै फुट्ला जस्तो गर्जन आएपछि रातो कार्पेटमा उभिएका ट्रम्प मुख बिगारेर केही असहज देखिँदै पछाडि सरेका थिए भने सी र दुवै प्रथम महिलाहरू पूर्णतया शान्त र अविचलित मुद्रामा उभिएका थिए ।
ह्वाइट हाउसको प्रत्यक्ष प्रसारणमा देखिएको यो क्षण सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको थियो । करिब दश मिनेटको यो अभूतपूर्व स्वागतपछि दुवै नेताहरू आ–आफ्ना छुट्टाछुट्टै लिमोजिन गाडीमा चढेर राजधानी वाशिङटनतर्फ प्रस्थान गरेका थिए । सी यसपालि ह्वाइट हाउसको अतिथिगृहमा नभई वाल्डोर्फ एस्टोरिया होटल (विगतमा ट्रम्प होटल) मा बसेका छन् ।
अमेरिकी कूटनीतिक इतिहासलाई पल्टाएर हेर्ने हो भने राष्ट्रपति ट्रम्पको यो कदम अपवाद मानिन्छ । सामान्यतया विदेशी राष्ट्रप्रमुखहरूलाई वाशिङटन आगमनका क्रममा ह्वाइट हाउसको साउथ लनमा मात्र औपचारिक स्वागत गर्ने परम्परा रहिआएको छ ।

अमेरिकी राष्ट्रपति आफैं राजधानी बाहिरको सैन्य बेसमा पुगेर कुनै विदेशी पाहुनालाई स्वागत गरेको यो घटना सन् १९६२ पछिकै पहिलो हो । तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सन् १९६२ मा बेलायती प्रधानमन्त्री हेरोल्ड म्याकमिलनलाई विमानस्थलमै पुगेर स्वागत गरेयता कुनै पनि अमेरिकी राष्ट्रपतिले विदेशी नेताका लागि यस्तो सम्मान देखाएका थिएनन् ।
यसले ट्रम्प प्रशासनले सीसँगको तीनदिने शिखर सम्मेलनलाई कति उच्च प्राथमिकता र गम्भीर महत्त्व दिएको छ भन्ने कुराको पुष्टि गर्छ । प्रथम महिला मेलानिया ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै आफ्ना पतिले विमानस्थलमै गएर व्यक्तिगत रूपमा स्वागत गर्ने निर्णय गर्नुको पछाडि दुई नेताबीचको उत्कृष्ट व्यक्तिगत सम्बन्ध मुख्य कारण रहेको स्पष्ट पारेकी थिइन् ।
यस तीनदिने शिखर सम्मेलनको कार्यतालिका समेत उत्तिकै भव्य र सघन रूपमा तय गरिएको छ । विमानस्थलको भव्य स्वागतपछि ह्वाइट हाउसको साउथ लनमा औपचारिक राजकीय सम्मान, दुई राष्ट्रपति र प्रथम महिलाहरूबीच निजी चियापान र बन्दकोठाभित्र हुने द्विपक्षीय वार्ताहरू समावेश छन् । सांस्कृतिक कूटनीतिलाई प्रवर्धन गर्ने उद्देश्यले मेलानिया ट्रम्पले आफ्नी चिनियाँ समकक्षी पेङ लियुआनलाई स्मिथसोनियन नेसनल म्युजियम अफ एसियन आर्टको भ्रमण गराउने योजना बनाएकी छन् । त्यहाँ दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई उजागर गरिनेछ ।
त्यसैगरी भ्रमणको अन्त्य नेसनल आर्काइभ्स भवनमा ऐतिहासिक दस्तावेजहरूको अवलोकन गरेर हुनेछ । त्यसमा अमेरिका र चीनको कूटनीतिक सम्बन्धसँग जोडिएका महत्त्वपूर्ण दस्तावेजहरू समावेश छन् । यस ऐतिहासिक भ्रमणमा राष्ट्रपति सीसँग उनका विश्वासपात्र तथा पार्टी पोलिटब्युरो स्थायी समितिका सदस्य काई ची, उपप्रधानमन्त्री ह लिफङ र विदेशमन्त्री वाङ यीसहित बेइजिङको उच्चस्तरीय टोली सहभागी छ ।
यस भव्यताको पृष्ठभूमिमा प्रश्न उठ्छः हिजोसम्म चीनलाई अमेरिकी अर्थतन्त्रलाई खोक्रो बनाउने रक्तपिपासु, रोजगारी खोस्ने चोर, मुद्रा हेरफेरकर्ता (करेन्सी म्यानिपुलेटर) र कोभिड जस्तो वैश्विक महामारी फैलाउने खलनायकको रूपमा दिनरात गाली गर्ने ट्रम्प आज किन सी चिनपिङका सामु यसरी रातो कार्पेट बिछ्याएर नतमस्तक जस्तै देखिँदैछन् ?
ट्रम्पको यो नाटकीय रूपान्तरण कुनै रातारात पलाएको आदर्शवादी सद्भाव होइन । यसका पछाडि जटिल आर्थिक बाध्यता, व्यक्तिगत कूटनीतिक अहम्, प्रविधि युद्ध र वैश्विक भूराजनीतिको सूक्ष्म गणित लुकेको छ ।

पहिलो र प्रमुख कारण ट्रम्पको लेनदेनमा आधारित कूटनीतिक दर्शन र व्यक्तिगत सम्बन्धको रणनीति हो । ट्रम्प परम्परागत संस्थागत कूटनीति वा बहुपक्षीय गठबन्धनमा भन्दा दुई शक्तिशाली नेताहरूबीचको व्यक्तिगत ‘केमिस्ट्री’ र प्रत्यक्ष सौदाबाजीमा विश्वास गर्छन् । उनी विश्वका बलिया र एकाधिकारवादी नेताहरूसँग आफूलाई जोड्न र उनीहरूबाट व्यक्तिगत सम्मान पाउन लालायित रहन्छन् ।
गत मे महिनामा ट्रम्पले बेइजिङको भ्रमण गर्दा राष्ट्रपति सीले उनलाई स्टेट भिजिट प्लसको नाममा बेइजिङको फर्बिडन सिटीभित्र अभूतपूर्व र शाही स्वागत गरेका थिए । ट्रम्प त्यतिबेला पाएको सम्मानबाट निकै प्रभावित भएका थिए । त्यसैले अहिले वाशिङटनमा सीलाई दशकौंयताको दुर्लभ सम्मान दिनु भनेको सीले देखाएको आतिथ्यको सम्मानजनक प्रत्युत्तर र चिनियाँ राष्ट्रपतिको अहमलाई सन्तुष्ट पारेर वार्ताको टेबुलमा आफ्नो पक्षमा ठूला सम्झौताहरू गराउने ट्रम्पको मनोवैज्ञानिक दाउपेच भएको विश्लेषकहरू बताउँछन् ।
दोस्रो महत्त्वपूर्ण पक्ष, अमेरिकाको तत्कालीन आर्थिक बाध्यता र व्यापार युद्धको व्यवस्थापन हो । सीको आगमनकै दिन अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले चीनसँगको अस्थायी व्यापार युद्धविरामलाई आगामी जनवरी १० सम्म विस्तार गर्ने घोषणा गरेका छन् । यसअघि नोभेम्बर १० मा सकिन लागेको यो म्याद थपिनुले दुई देशबीच तत्कालका लागि पूर्ण आर्थिक टकराव टरेको सन्देश दिएको छ ।
अमेरिका यतिबेला आन्तरिक रूपमा उच्च मुद्रास्फीति, महँगी र आर्थिक अनिश्चितताको दबाबमा छ । चीनसँगको व्यापार युद्ध फेरि चर्किएर अतिरिक्त भन्सार शुल्क (ट्यारिफ) थपिएको भए त्यसले अमेरिकी उपभोक्ता र किसानहरूलाई प्रत्यक्ष असर पार्ने थियो ।
ट्रम्पले केही चिनियाँ वस्तुहरूमा भन्सार दर घटाउने सहुलियत दिएका छन् भने बदलामा चीनबाट दुर्लभ खनिज पदार्थको आपूर्ति सहज बनाउन खोजेका छन् । अमेरिकी रक्षा उद्योग, विद्युतीय गाडी र उच्च प्रविधिका लागि यी खनिजहरू अपरिहार्य छन् । यिनमा चीनको विश्वव्यापी एकाधिकार छ ।
साथै, ट्रम्प आफ्ना मतदाता रहेका अमेरिकी किसानहरूका कृषि उत्पादन चीनमा ठूलो परिमाणमा निर्यात गर्न चाहन्छन् । त्यसका लागि सीलाई चिढ्याएर होइन, फकाएर मात्र काम निकाल्न सकिन्छ भन्ने यथार्थ उनले बुझेका छन् ।
तेस्रो कारण, कृत्रिम बुद्धिमत्ता (एआई) र प्रविधि क्षेत्रको वैश्विक वर्चस्वको लडाइँ हो । अमेरिका र चीन यतिबेला चौथो औद्योगिक क्रान्तिको केन्द्र मानिएको एआई प्रविधिमा विश्व विजेता बन्ने होडमा छन् । जसले एआई जित्छ, उसैले विश्व जित्छ भनी ट्रम्पले खुला रूपमै भन्ने गरेका छन् ।
बिहीबार ह्वाइट हाउसमा आयोजना हुन लागेको भव्य राजकीय भोजमा ओपनएआई, एप्पल, माइक्रोसफ्ट, एनभिडिया, मेटा र एक्सएआई जस्ता विश्वकै शक्तिशाली अमेरिकी प्रविधि कम्पनीका प्रमुख कार्यकारीहरूलाई आमन्त्रण गरिएको छ । यी कार्यकारीहरू टूम्पसँगै चीन भ्रमणमा पनि गएका थिए ।
ट्रम्प यी प्रविधि कम्पनीहरूको बजार विस्तार गर्न, बौद्धिक सम्पत्तिको रक्षा गर्न र चिनियाँ प्राविधिक विकासलाई निश्चित दायराभित्र राखेर समझदारी निर्माण गर्न चाहन्छन् । प्रविधिमा टकरावभन्दा व्यवस्थित प्रतिस्पर्धाको बाटो खोज्न अमेरिकी कर्पोरेट क्षेत्रले दिएको चर्को दबाब पनि ट्रम्पको यस व्यवहारको मुख्य कारक हो ।
चौथो आयामका रूपमा वैश्विक सुरक्षा सन्तुलन र ताइवानको संवेदनशील मुद्दा रहेको छ । पश्चिम एसियामा इरानसँग चर्किएको तनाव, युक्रेन युद्धका बाछिटा र ताइवान स्ट्रेटको अशान्त परिस्थितिका बीच अमेरिका एकैपटक चीनसँग प्रत्यक्ष सैन्य वा कूटनीतिक द्वन्द्व चर्काउने जोखिम मोल्न चाहँदैन । अमेरिकी संसद्ले स्वीकृत गरेको १४ अर्ब डलर बराबरको ताइवान हतियार बिक्री योजनालाई रोक्न वा ढिलाइ गर्न चीनले तीव्र लबिइङ गरिरहेको छ ।
यस्तो जटिल अवस्थामा सीसँग प्रत्यक्ष वार्ता गरी संवेदनशील विषयहरूमा तत्कालका लागि यथास्थिति कायम राख्नु नै वाशिङटनका लागि सबैभन्दा बुद्धिमानी विकल्प बनेको छ । सी चिनपिङले पनि ट्रम्पको चीन भ्रमणका क्रममा दिएको आफ्नो लिखित वक्तव्यमा चीनको महान् पुनर्जागरण र ट्रम्पको मेक अमेरिका ग्रेट अगेन (मागा) अभियान आपसमा सहअस्तित्वमा रहन सक्ने र एकअर्कालाई सहयोग गर्न सक्ने बताएका थिए । यसले दुवै नेताहरू आफ्ना आन्तरिक राजनीतिक नाराहरूलाई बचाउँदै वैश्विक स्थिरता देखाउन चाहन्छन् भन्ने स्पष्ट पार्छ ।
तर, ट्रम्पको यो व्यवहार अमेरिकी आन्तरिक राजनीतिमा ठूलो विरोधाभासका रूपमा देखा परेको छ । सिकागो काउन्सिल अन ग्लोबल अफेयर्सको पछिल्लो सर्वेक्षण अनुसार, ५७ प्रतिशत अमेरिकी नागरिक चीनसँग टकरावको सट्टा सहकार्य र कूटनीतिक संवादको पक्षमा छन् भने चीनको क्षेत्रीय महत्त्वाकांक्षालाई खतरा मान्नेहरूको संख्या घटेर ४१ प्रतिशतमा झरेको छ ।
मध्यममार्गी रिपब्लिकन र डेमोक्रेटहरू चीनसँगको स्थायित्वको पक्षमा देखिए पनि ट्रम्पको कट्टर मागा समर्थक आधारका ६३ प्रतिशत व्यक्तिहरू अझै पनि चीनसँगको सम्बन्धलाई सीमित गर्नुपर्ने र कडा नीति लिनुपर्ने पक्षमा छन् । आफ्नो चुनावी आधारको चीनविरोधी भावनाका बावजुद ट्रम्पले सीलाई धावनमार्गमै पुगेर स्वागत गर्नुले उनी अब चुनावी भाषणबाजीबाट बाहिर निस्किएर कठोर भूराजनीतिक यथार्थ र राज्य सञ्चालनको व्यावहारिक बाध्यतातर्फ फर्कन थालेको संकेत गर्छ ।
यसरी जोइन्ट बेस एन्ड्रुजको धावनमार्गमा ओछ्याइएको १०० फिट लामो रातो कार्पेट, सुपरसोनिक विमानको सलामी र ट्रम्पको आत्मीय व्यवहारले अमेरिका र चीनबीचका दशकौं पुराना अविश्वास, रणनीतिक प्रतिद्वन्द्विता र वैचारिक मतभेदहरू रातारात समाधान भएका होइनन् । यो केवल दुई महाशक्तिहरूले विनाशकारी टकरावबाट बच्नका लागि रोजेको व्यावहारिक सम्झौताको बाटो हो ।
विगतमा चर्को गाली गरेर राजनीतिक फाइदा उठाएका ट्रम्पले अहिले सीलाई ऐतिहासिक सम्मान दिएर आर्थिक लाभ, प्रविधिगत स्थायित्व र आर्थिक युद्धविराम सुरक्षित गर्न खोजेका छन् । विश्वका दुई ठूला अर्थतन्त्र र सैन्य शक्तिहरू शत्रुताको पराकाष्ठाबाट अस्थायी रूपमै भए पनि कार्यगत साझेदार बन्ने प्रयासमा लाग्नु वर्तमान विश्व व्यवस्थाका लागि महत्त्वपूर्ण र दूरगामी घटनाक्रम हो ।
This article was first published on Clickmandu.
