इरानविरुद्ध ट्रम्पको ‘आर्थिक डी–डे’ धम्की, अमेरिकाले सैन्य असफलता स्वीकारेको हो ?

August 23, 2026
Featured image for “इरानविरुद्ध ट्रम्पको ‘आर्थिक डी–डे’ धम्की, अमेरिकाले सैन्य असफलता स्वीकारेको हो ?”

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अघिल्लो साता इरानविरुद्ध ‘आर्थिक डी–डे’ (आक्रमण) को घोषणा गरेसँगै विश्व राजनीति र अर्थतन्त्रमा तरंगित भएको छ ।

करिब ६ महिनादेखि चलिरहेको इरान–अमेरिका युद्धमा कुनै ठोस सैन्य नतिजा ननिस्किएपछि ट्रम्पले आफ्नो रणनीति परिवर्तन गर्दै इरानलाई आर्थिक रूपमा पूर्णतः अलग्याउने र धराशायी बनाउने बाटो रोजेका छन् । ‘अपरेसन इकोनोमिक फ्युरी’ अन्तर्गत ल्याइएको यस नयाँ योजनालाई कतिपय विश्लेषकहरूले अमेरिकाको सैन्य सीमितताको स्वीकारोक्तिका रूपमा हेरेका छन् ।

कुनै महाशक्ति राष्ट्रले बम र मिसाइलबाट आफ्नो लक्ष्य प्राप्त गर्न नसकेपछि आर्थिक नाकाबन्दी र वित्तीय दबाबलाई अन्तिम हतियार बनाउँछ । ट्रम्पको यस कदमले इरानलाई मात्र नभई इरानसँग व्यापार गर्ने चीन र अन्य राष्ट्रहरूलाई पनि अप्ठ्यारोमा पार्ने सम्भावना छ ।

दोस्रो विश्वयुद्धमा नाजी जर्मनीविरुद्ध एलाइड शक्तिका सैनिकहरूले फ्रान्सको नर्मान्डीमा चलाएको कारवाहीलाई डी–डे भनेर चिनिन्छ । उक्त कारवाही जर्मनीलाई हराउनका लागि निर्णायक साबित भएको थियो । ट्रम्पले त्यही शब्द सापटी लिएर इरानलाई निर्णायक रूपमा परास्त गर्ने आशा लिएका छन् ।

हुन त यो ‘आर्थिक डी–डे’ को घोषणा हुनुको पछाडि धेरै रणनीतिक र आन्तरिक कारणहरू रहेका छन् । पहिलो र सबैभन्दा महत्वपूर्ण कारण अमेरिकी सैन्य भण्डारमा आएको ह्रास हो । ६ महिना लामो सघन सैन्य कारबाहीले अमेरिकाको परम्परागत हतियार र मिसाइलहरूको भण्डार लगभग रित्याइदिएको संसारका सबै प्रमुख सञ्चारमाध्यमहरूले समाचार लेखेका छन् ।

रक्षा विज्ञहरूका अनुसार, इरान जस्तो भौगोलिक रूपमा जटिल र सैन्य रूपमा सक्षम राष्ट्रसँग लामो समयसम्म प्रत्यक्ष युद्ध लड्नु अमेरिकाका लागि आर्थिक र सैन्य दुवै हिसाबले महँगो साबित भइरहेको छ ।

अर्कोतर्फ, अमेरिकाले इरानका आणविक केन्द्रहरूमा आक्रमण गर्ने र जलसैनिक घेराबन्दी गरेर तेहरानलाई आत्मसमर्पण गराउने जुन प्रयास गरेको थियो, त्यो पनि सफल हुन सकेन । इरानी नेतृत्वले दबाबका सामु झुक्नुको सट्टा आफ्नो प्रतिरोध क्षमतालाई अझ सशक्त बनाएको देखिन्छ । यसले गर्दा वाशिङटनका लागि सैन्य विजय असम्भव जस्तै देखिन थालेपछि ट्रम्पले आर्थिक घाँटी निमोठ्ने रणनीति रोजेका हुन् ।

ट्रम्पको यो रणनीतिमा अमेरिकी आन्तरिक राजनीतिको पनि ठूलो भूमिका छ । अमेरिकामा हुन लागेको मध्यावधि निर्वाचनको मुखमा इरानसँगको युद्ध झन् झन् अलोकप्रिय बन्दै गएको छ । युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकासिएको छ । यसले अमेरिकी उपभोक्ताहरूमा प्रत्यक्ष असर पारेको छ र मुद्रास्फीति बढाएको छ ।

निर्वाचनमा हार बेहोर्नुपर्ने डरले ट्रम्पले प्रत्यक्ष सैन्य भिडन्तलाई घटाउँदै आर्थिक दबाब बढाएर आफ्ना मतदाताहरूलाई ‘हामीले इरानलाई घुँडा टेकाइरहेका छौं’ भन्ने सन्देश दिन खोजेका छन् । उपराष्ट्रपति जेडी भ्यान्सले यसलाई युद्धको ‘नयाँ चरण’ भनेका छन् । यसमा हतियारभन्दा आर्थिक प्रतिबन्ध बढी प्रभावकारी हुने दाबी गरिएको छ ।

तर, के वास्तवमा आर्थिक प्रतिबन्धले मात्र इरान जस्तो दशकौंदेखि नाकाबन्दी झेलिरहेको देशलाई गलाउन सम्भव छ त भन्ने प्रश्न अहिले विश्वभर उठिरहेको छ ।

इरानका लागि यो ‘आर्थिक डी–डे’ जीवन र मरणको प्रश्न बनेको छ । अमेरिकाले इरानको तेल तस्करी, मुद्रा विनिमय, नगद प्रवाह र वैदेशिक बैंक खाताहरूलाई पूर्ण रूपमा बन्द गर्ने धम्की दिएको छ । यसका साथै, इरानसँग अलिकति पनि व्यापारिक सम्बन्ध राख्ने जुनसुकै देश वा कम्पनीलाई अमेरिकी वित्तीय प्रणालीबाट बाहिर राख्ने ‘दोस्रो तहको प्रतिबन्ध’ (सेकेन्डरी स्यांक्सन्स) को घोषणा गरिएको छ । यसले इरानी अर्थतन्त्रलाई अक्सिजन दिइरहेका साना मार्गहरू पनि बन्द गरिदिनेछ ।

इरानको मुद्रा रियालको मूल्य पहिले नै निकै खस्किसकेको छ र यस नयाँ दबाबले त्यहाँको जनजीवन अझ कष्टकर बनाउने देखिन्छ ।

तर, इरानी अधिकारीहरूले यसलाई अमेरिकाको ‘हतास मानसिकता’ भनेका छन् । इरानका विदेशमन्त्री अब्बास अराक्चीले अमेरिकाले ‘पहिले पनि यस्ता नाटक गरिसकेको र यसले इरानी जनताको मनोबल गिराउन नसक्ने’ दाबी गरेका छन् ।

इरानको रणनीति अब ‘जस्तालाई त्यस्तै’ जवाफ दिने खालको छ । त्यसअन्तर्गत उसले हर्मुज जलयोजक बन्द गरेर विश्वको तेल आपूर्ति नै ठप्प पारिदिने चेतावनी दिएको छ ।

यस आर्थिक युद्धको सबैभन्दा ठूलो मार चीन जस्ता देशहरूमा पर्न सक्ने देखिएको छ । चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो । इरानको करिब ८० देखि ९० प्रतिशत तेल चीनले खरिद गर्दै आएको छ ।

ट्रम्पको नयाँ प्रतिबन्धले चिनियाँ बैंक र कम्पनीहरूलाई लक्षित गर्ने स्पष्ट पारेको छ । अमेरिकाले चिनियाँ वित्तीय संस्थाहरूमाथि प्रतिबन्ध लगायो भने यसले विश्वकै दुई ठूला अर्थतन्त्रबीचको व्यापारिक सम्बन्धलाई ध्वस्त पार्न सक्छ र विश्वव्यापी मन्दी निम्त्याउन सक्छ । चीनले यसको प्रतिक्रियास्वरूप अमेरिकासँगको कूटनीतिक र व्यापारिक सम्बन्धमा थप कडाइ गर्ने संकेत दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयले ट्रम्पको घोषणामा प्रतिक्रिया दिँदै अमेरिकालाई एकपक्षीय प्रतिबन्ध छोडेर कूटनीतिक वार्तामा आउन आग्रह गरेको छ । चीनका लागि इरान रणनीतिक साझेदार मात्र नभई ऊर्जा सुरक्षाको मुख्य स्रोत पनि हो । त्यसैले चीनले सजिलै इरानको साथ छोड्ने देखिँदैन ।

ट्रम्पको यो ‘आर्थिक डी–डे’ ले संयुक्त अरब अमिरात (यूएई) जस्ता क्षेत्रीय साझेदारहरूलाई पनि समस्यामा पारेको छ । यूएई लामो समयदेखि इरानको मुख्य व्यापारिक मित्र रहँदै आएको थियो । तर, हालैका क्षेप्यास्त्र आक्रमणहरू र अमेरिकी दबाबपछि यूएईले इरानसँगको व्यापारिक सम्बन्ध स्थगित गरेको छ । यसले इरानको अर्थतन्त्रमा थप धक्का पुर्याएको छ किनभने इरानले यूएईमार्फत धेरै सामानहरू आयात–निर्यात गर्ने गर्थ्यो ।

इरानले आफ्ना छिमेकीहरूलाई चेतावनी दिँदै उनीहरूले अमेरिकाको आर्थिक युद्धमा साथ दिए भने त्यसको परिणाम सैन्य रूपमा भोग्नुपर्ने बताएको छ । यसले गर्दा खाडी क्षेत्रमा तनावको अर्को लहर सिर्जना भएको छ । आर्थिक प्रतिबन्धका कारण सैन्य भिडन्तको सम्भावना अझ बढेर गएको छ ।

ट्रम्पको रणनीतिको परिणाम देखिन धेरै समय लाग्छ । इरानले विगत ४५ वर्षदेखि अमेरिकी प्रतिबन्धहरूको बीचमा बाँच्न सिकिसकेको छ । उसलाई यो नयाँ दबाबले कत्तिको गलाउन सक्छ भन्नेमा ठूलै आशंका छ । इरानले आफ्नो आर्थिक व्यवस्थालाई ‘प्रतिरोधी अर्थतन्त्र’ का रूपमा विकास गरेको छ । उसले प्रतिबन्धहरू छल्नका लागि विभिन्न अनौपचारिक मार्गहरू, छाया जहाजी बेडाहरू र डिजिटल मुद्राको प्रयोग गर्दै आएको छ । जति धेरै प्रतिबन्ध लगाइन्छ, इरानले त्यति नै नयाँ र गोप्य व्यापारिक बाटोहरू खोज्ने गरेको इतिहास छ ।

अर्कोतर्फ, अमेरिकाको राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघेको समयमा ट्रम्पले सुरु गरेको यो आर्थिक युद्ध अमेरिकाकै लागि पनि आत्मघाती हुन सक्छ । डलरको शक्तिमा टिकेको अमेरिकाले प्रतिबन्ध प्रणालीलाई घरिघरि सक्रिय गर्दा विश्वका धेरै देशहरू अहिले डलरको विकल्प खोज्न थालेका छन् । चीन, रुस, इरान र भारत जस्ता देशहरूले आफ्नै मुद्रामा व्यापार गर्न थाले भने डलरको विश्वव्यापी प्रभुत्व समाप्त हुन सक्छ ।

ट्रम्पले ‘आर्थिक डी–डे’ मार्फत इरानलाई ध्वस्त पार्न खोज्दा कतै अमेरिकी डलरको भविष्य नै जोखिममा पर्ने त होइन भन्ने चिन्ता अर्थशास्त्रीहरूले व्यक्त गरेका छन् ।

इरानको अर्थतन्त्र आजको भोलि नै ध्वस्त हुने अवस्थामा छैन । इरानको भौगोलिक बनावट, उसको प्राकृतिक स्रोत र सीमावर्ती देशहरूसँगको पहुँचले गर्दा उसलाई पूर्ण रूपमा विश्वबाट अलग्याउन लगभग असम्भव छ ।

आर्थिक डी–डेको घोषणा गरेर अमेरिकासँग अब परम्परागत ठूलो युद्ध लड्ने क्षमता छैन भनी ट्रम्पले अन्जानमा स्वीकार गरेका छन् । हुन पनि भियतनाम, इराक र अफगानिस्तानको असफलतापछि अमेरिकी जनता अर्को लामो युद्धको पक्षमा छैनन् ।

हतियारको अभाव र आर्थिक संकटले गर्दा अमेरिकाले अब आफ्नो शक्ति प्रदर्शन गर्ने शैली परिवर्तन गरेको छ । तर, यो शैलीमा जोखिम पनि उत्तिकै छ । इरानले आफ्नो अस्तित्व रक्षाका लागि जुनसुकै कदम चाल्न सक्ने चेतावनी दिइसकेको छ । उसले साँच्चै हर्मुज जलयोजक बन्द गरिदियो भने विश्वभर तेलको मूल्य प्रति ब्यारल २०० डलर नाघ्न सक्छ । त्यसले गर्दा ट्रम्पको आफ्नै देशमा आर्थिक संकट र विद्रोह निम्त्याउन सक्छ ।

तेलको राजनीति यस्तो खेल हो जहाँ प्रतिबन्ध लगाउने र भोग्ने दुवै उत्तिकै जोखिममा हुन्छन् ।

‘आर्थिक डी–डे’ ले अबको युद्ध मैदानमा नभई बैंक र स्टक मार्केटमा लडिने संकेत दिएको छ । ट्रम्पको यो अन्तिम जुवा सफल हुन्छ कि हुँदैन भन्ने कुरा चीन जस्ता देशहरूको भूमिकामा निर्भर गर्नेछ । यी देशहरूले अमेरिकी प्रतिबन्धलाई चुनौती दिँदै इरानसँग व्यापार जारी राखे भने ट्रम्पको यो रणनीति असफल हुनेछ । तर, उनीहरू पछि हटे भने इरानको सत्ता गम्भीर संकटमा पर्न सक्छ ।

तर, दबाबले मात्रै इरानलाई कहिल्यै परिवर्तन गर्न नसकेको विषयमा इतिहास साक्षी छ । ट्रम्पको यो आर्थिक रूपमा घाँटी निमोठ्ने प्रयासले इरानलाई वार्ताको टेबलमा ल्याउँछ कि अझ ठूलो क्षेत्रीय युद्धको आगो झोस्छ, त्यो आगामी केही हप्ताहरूले प्रस्ट पार्नेछन् ।

यस सम्पूर्ण प्रकरणमा एउटा कुरा स्पष्ट भएको छः अमेरिकाको विश्वव्यापी प्रभाव अब कमजोर हुँदै गएको छ । सैन्य रूपमा इरानलाई हराउन नसक्नु र आर्थिक प्रतिबन्धका लागि पनि आफ्नै मित्र राष्ट्रहरूलाई धम्क्याउनु पर्ने अवस्थाले वाशिङटनको घट्दो प्रभावलाई संकेत गर्छ । विश्व व्यवस्थाका लागि यो एउटा यस्तो भूकम्प हो जसको पराकम्पन दशकौंसम्म महसुस गरिनेछ।

अमेरिका र इरानबीचको बढ्दो आर्थिक युद्ध र ट्रम्पको ‘आर्थिक डी–डे’ को घोषणाले नेपाल जस्तो सानो र आयातमुखी अर्थतन्त्र भएको देशमा गम्भीर असर गर्ने देखिन्छ ।

नेपाल शतप्रतिशत इन्धन आयातमा निर्भर छ । इरानले चेतावनी दिएझैं हर्मुज जलयोजक बन्द भएमा वा तेल आपूर्तिमा अवरोध आएमा विश्व बजारमा इन्धनको मूल्य अत्यधिक बढ्नेछ । यसले नेपालमा यातायात खर्च र उपभोग्य वस्तुको मूल्य आकासिएर सर्वसाधारणको जनजीवन कष्टकर बनाउनेछ ।

त्यस्तै नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको विप्रेषणमा ठूलो धक्का लाग्न सक्छ । खाडी मुलुकहरूमा कार्यरत लाखौं नेपाली श्रमिकहरूको सुरक्षा र रोजगारी जोखिममा पर्न सक्छ । इरानले छिमेकी खाडी राष्ट्रहरूमाथि आर्थिक वा सैन्य प्रहार गरेमा ती देशहरूको अर्थतन्त्र संकुचित हुनेछ । त्यसले नेपाली कामदारको माग र आम्दानी दुवै घटाउनेछ ।

यो भूराजनीतिक तनावले नेपालमा महँगी, बेरोजगारी र आर्थिक मन्दी निम्त्याउन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।

This article was first published on Clickmandu.


Share:

Leave a Reply