‘कल्ड बाइ द हिल्स’ समीक्षा : पहाडको सौन्दर्य र त्यसमाथि आइपरेको संकटको जीवन्त वर्णन

September 20, 2026
Featured image for “‘कल्ड बाइ द हिल्स’ समीक्षा : पहाडको सौन्दर्य र त्यसमाथि आइपरेको संकटको जीवन्त वर्णन”

पहाड रमणीय भूगोल मात्र नभई जीवनको लय, मानसिक शान्ति र आत्मिक जागरणको प्रमुख मुहान हो । पहाडको माटो, स्वच्छ हावा, वनस्पति र चराचुरुंगीको सुमधुर संसारले मानव मनलाई सिर्जनशीलता र आन्तरिक ऊर्जा प्रदान गर्छ । वास्तवमा पहाड पर्यावरणको मेरुदण्ड, विभिन्न जीवजन्तुको आश्रयस्थल र आध्यात्मिक चेतना जगाउने जीवन्त शक्ति हो ।

भारतीय आख्यानकार अनुराधा रोयको संस्मरणात्मक कृति ‘कल्ड बाइ द हिल्सः अ होम इन द हिमालय’ त्यही सुन्दर पहाडी भूगोलप्रति समर्पित शब्दपुष्प हो ।

यो पहाडी जीवन, प्रकृति, मानवनिर्मित संकट र मानवीय सम्बन्धहरूको गहिरो तथा संवेदनशील दस्तावेज हो ।

‘द फोल्डेड अर्थ’ र ‘अल द लाइभ्स वी नेभर लिभ्ड’ जस्ता उम्दा उपन्यास लेखेर आख्यानको क्षेत्रमा आफ्नो बलियो छाप छोडिसकेकी रोयले यस गैरआख्यानात्मक कृतिमा उत्तराखण्डको कुमाउँ क्षेत्रस्थित रानीखेतमा बिताएका साढे दुई दशकभन्दा लामो जीवनका सुखदुःख, भोगाइ र अनुभूतिहरूलाई बडो कलात्मक ढंगले समेटेकी छन् ।

शहरी कोलाहल र व्यावसायिक प्रकाशनको व्यस्त जीवनलाई पन्छाउँदै हिमालको काखमा एउटा भत्किएको गोठजस्तो पुरानो घरलाई आफ्नो वासस्थान बनाउने निर्णयबाट सुरु हुने लेखिकाको यो यात्रा भौतिक स्थानान्तरण मात्र नभएर प्रकृतिको निकटता, आन्तरिक खोज र जीवनको लय फेर्ने गहिरो साधना बन्न पुगेको छ।

यस कृतिले एकातिर पहाडको सम्मोहन, वनस्पतिको विविधता, माटोको सुगन्ध र पशुपन्छीहरूसँगको आत्मिक सम्बन्धलाई उजागर गर्छ भने अर्कातिर हिमालमा मडारिँदै गरेको पर्यावरणीय विनाश, जलवायु परिवर्तन र स्थानीय समुदायका अनगिन्ती पीडाहरूलाई पनि निर्मम रूपमा पाठकसमक्ष प्रस्तुत गर्छ ।

यस कृतिका विभिन्न अध्यायहरूलाई नियाल्दा केही प्रमुख विषयवस्तुहरू सशक्त रूपमा बाहिर आउँछन् । पहिलो र सबैभन्दा बलियो विषयवस्तु मानिस र प्रकृतिको अन्योन्याश्रित सम्बन्ध हो । लेखिकाले बगैंचा निर्माणको आफ्नो व्यग्र चाहना, विभिन्न फूलहरू रोप्ने बालसुलभ जिद्दी र माटोमा हात हाल्दा मिल्ने सन्तुष्टिलाई बडो गम्भीरतापूर्वक केलाएकी छन् । माटोमा पाइने जीवाणुले मानिसको मस्तिष्कमा खुशी दिने रसायन उत्पन्न गराउँछ भन्ने वैज्ञानिक तथ्यलाई उनले आफ्नो दैनिक अनुभव र माटोको कामसँग जोडेर हेरेकी छन् ।

सिर्जनशीलता, एकान्त र लेखनपछिको मानसिक शून्यता अर्को महत्त्वपूर्ण विषयवस्तु हो । कुनै पुस्तक लेखिसकेपछि आउने रित्तोपनबाट पार पाउन लेखिकाले अपनाउने उपायलाई ‘जेन्ट्ली साइडवेज’ अर्थात् बिस्तारै छेउतिर बरालिने अवस्था भनेकी छन् । यो लेखकको मनोवैज्ञानिक पक्षको रोचक चित्रण हो ।

त्यस्तै बसाइँसराइ, परदेशी हुनुको पीडा र गुमाउनुको छटपटी पनि यस पुस्तकको अन्तर्यमा बगिरहने अर्को मुख्य विषय हो । चाहे त्यो काठमाडौं नजिकैको गाउँबाट भागेर रानीखेत आइपुगेकी महिलाको विगतको स्मृति होस्, क्यान्सरले पत्नी गुमाएर रक्सीको सहारामा जीवन बिताइरहेका अमितको मौन छटपटी होस्, टिहरी बाँधको पानीमुनि आफ्नो घर र पुर्ख्यौली पहिचान डुबेको हेर्न विवश नेगीजीको वेदना होस् वा चितुवाले खोसेर लगेकी जेरी नामकी प्रिय कुकुर्नीको वियोग होस्, पुस्तकका हरेक पानाहरूमा वियोग र स्मृतिको गहिरो छाप भेटिन्छ ।

प्रकृतिको प्रस्तुति यस पुस्तकमा परम्परागत वा रोमान्टिक दृष्टिकोणभन्दा निकै भिन्न र बहुआयामिक छ । धेरैजसो लेखकले हिमाल र प्रकृतिलाई सुन्दर, शान्त र निष्कलंक देवभूमिको रूपमा आदर्शवादी ढंगले चित्रण गर्ने गर्छन् । तर, रोयको दृष्टिमा प्रकृति सौन्दर्यको उपभोग्य वस्तु मात्र होइन । यो त जीवनदायिनी हुनुका साथै क्रूर, अनपेक्षित तथा संघर्षशील शक्ति पनि हो ।

एकातिर सेता हिमचुलीहरूको भव्यता, लालीगुराँस, आरु र आरुबखडाका रंगीचंगी फूलहरू, काफल र ऐंसेलु जस्ता जंगली फलफूल र सुमधुर स्वरमा गाउने चराहरूको रमणीय उपस्थिति छ।

अर्कोतिर वर्षायाममा खस्ने पहिरो, घरको जस्तापातामा बम खसेझैं उफ्रिने लंगुर बाँदरहरू, रगत चुस्ने जुकाहरू, ओछ्यानमुनि लुक्ने बिच्छीहरू र घरपालुवा जनावरलाई आँखाकै अगाडिबाट उठाएर लैजाने चितुवाहरूको भयावह त्रास पनि छ ।

लेखिकाले प्रकृतिको यस निर्मम यथार्थलाई लुकाउने प्रयास गरेकी छैनन् । प्रकृति जति सुन्दर छ, यसको जीवनचक्र उत्तिकै कठोर पनि छ भन्ने सत्यलाई उनले आफ्नो जीवनका भोगाइमार्फत पुष्टि गरेकी छन् । विशेषगरी, अन्तिम अध्याय ‘द वुन्डेड माउन्टेन’ सम्म आइपुग्दा प्रकृति मानिसको अनियन्त्रित दोहन, सडक चौडा गर्ने नाममा भएको डाइनामाइट विस्फोट, जथाभावी बाँध निर्माण र बढ्दो तापक्रमका कारण क्षतविक्षत र घाइते भएको देखाइएको छ।

प्रकृति अब मौन रहेर सहने अवस्थामा छैन । उसले पहिरो, बाढी र भीषण खडेरीमार्फत आफ्नो प्रतिशोध लिइरहेको छ भन्ने चेतावनीपूर्ण सन्देश लेखिकाको प्रकृति चित्रणमा स्पष्ट रूपमा झल्किन्छ ।

पहाड र हिमालले लेखिकालाई किन आकर्षित गर्छ भन्ने प्रश्न यस पुस्तकको केन्द्रमा रहेको छ । लेखिकाका लागि पहाड घुम्न जाने वा छुट्टी मनाउने रमणीय स्थल मात्र होइन । यसले त जीवनलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्छ । शहरको कृत्रिमता, व्यर्थको दौडधुप र सामाजिक आडम्बरबाट मुक्ति पाउने माध्यमका रूपमा उनले पहाडलाई अँगालेकी छन् ।

पहाडमा समय घडीको सुईमा बाँधिएको हुँदैन । यहाँ समय तन्किन्छ र आफ्नै गतिमा चल्छ । लेखिकालाई पहाडको यही लचिलोपन र विश्रामको संस्कृतिले तानेको छ । यहाँ मानिसहरू चियाको चुस्कीसँगै घाम तापेर बस्न सक्छन् ।

यसका साथै हिमालको असीम उचाइ र मौनताले मानिसलाई आफ्नो क्षुद्र अस्तित्वको बोध गराउँछ । नन्दादेवी र पञ्चचुली जस्ता हिमालका अगाडि उभिएपछि मानिसको अहंकार आफैं पग्लिएर जान्छ भन्ने भाव लेखिकामा देखिन्छ ।

बाल्यकालमा भूगर्भविद् बुवासँगै हिमालका विकट क्षेत्रहरूमा टेन्टमा बसेको अनुभवले गर्दा सुरुमा उनलाई पहाडी जीवन कष्टकर लागे पनि पछि त्यही माटो, ढुंगा र जंगलसँग उनको गहिरो माया बस्यो । माटोको भाँडा बनाउने कला र बगैंचाका बिरुवाहरू स्याहार्ने क्रममा उनले पहाडसँग एउटा प्रेमीले जस्तै सम्बन्ध गाँसेकी छन् ।

पहाडको एकान्तले उनलाई उपन्यास लेख्न आवश्यक पर्ने ध्यान र सिर्जनात्मक ऊर्जा प्रदान गर्छ भने उपन्यास सकिएपछिको मानसिक थकाइ मेटाउन पनि उनलाई पहाडकै शीतल छहारी चाहिन्छ । छोटकरीमा भन्नुपर्दा, पहाडले उनलाई जीवित भएको, प्रकृतिको एउटा सानो अंश भएको र सांसारिक व्यर्थताहरूबाट टाढा रहेको वास्तविक सन्तुष्टि दिएको छ ।

मानवेतर प्राणीहरूप्रतिको संवेदनशीलता यस कृतिको अर्को असाधारण पक्ष हो । बिस्कुट, बरौनी जक्सन, पिकु, सोडा र जेरी नाम राखिएका घरपालुवा कुकुरहरू जनावरका रूपमा मात्र नभई परिवारका अभिन्न सदस्य र लेखिकाको दैनिक दिनचर्याका मार्गदर्शकका रूपमा देखा पर्छन् ।

भारतीय समाजमा सडकका भुस्याहा कुकुरहरूप्रति गरिने भेदभाव, हिंसा र तिरस्कारको लेखिकाले कडा शब्दमा आलोचना गरेकी छन् । गाई र साँढेलाई पवित्र मानेर पुज्ने तर कुकुरहरूलाई छिःछिः दुर्दुरको व्यवहार गर्ने सामाजिक पाखण्डलाई उनले उजागर गरेकी छन् । कोभिड महामारीका बेला लकडाउन हुँदा भोकभोकै परेका सडक कुकुरहरूको रक्षाका लागि काम गर्ने एरम कुरेसीजस्ता अभियन्ताहरूको त्यागको चर्चा गरेर उनले मानव–पशु समबन्धको अर्को पाटो देखाएकी छन् ।

त्यस्तै, विभिन्न किसिमका चराहरूलाई आफ्नो बगैंचामा आकर्षित गर्न उनले झुन्ड्याएका माटाका भाँडाहरू, चराहरूलाई मोजार्टको संगीत र पण्डित रविशंकरको सितार धुन सुनाउँदा चराहरूमा आएको परिवर्तनको रोचक परीक्षणले लेखिकाको प्रकृतिका सानाभन्दा साना जीवहरूप्रतिको अगाध प्रेम र कौतूहललाई प्रमाणित गर्छ ।

पुस्तकमा चित्रित स्थानीय पात्रहरूको चरित्र चित्रण निकै जीवन्त र मार्मिक छ । घरकी सहयोगीका रूपमा भित्रिएकी ‘आमा’ (द एन्सिएन्ट) को चरित्र नेपाली पाठकका लागि विशेष चाखलाग्दो छ । काठमाडौंमा बिताएको बाल्यकाल, सौतेनी आमाको व्यवहार, गढवालका युवकसँगको प्रेमविवाह र पछि भारतीय कूटनीतिज्ञको घरमा काम गर्दै फ्रेन्च खाना बनाउन सिकेको उनको विगत निकै रोमाञ्चक छ ।

आमाको स्वाभिमान, घरायसी काममा लेखिकालाई होच्याउने बानी, परम्परागत जडीबुटीको अचुक ज्ञान र बगैंचामा फूलहरू सिधा रेखामा मात्र रोप्नुपर्छ भन्ने अडानले पाठकलाई हसाउँछ र प्रभावित पनि गर्छ । त्यस्तै, पुरानो बंगलामा एक्लै बस्ने, दिनभरि जिन र रम पिएर बस्ने तर गहिरो साहित्य र प्रकृतिको ज्ञान राख्ने वृद्ध अमित, जिम कार्बेटको जीवनी लेख्न पूरै जीवन खर्चिने दुर्गा सी. काला, अनि प्रसिद्ध चिपको आन्दोलनका अगुवाहरू चण्डीप्रसाद भट्ट र शेखर पाठकजस्ता पात्रहरूको उपस्थितिले पुस्तकलाई इतिहास, संस्कृति र स्थानीयताको साझा चौतारी बनाएको छ ।

लेखिकाको जादुमयी र सरल भाषाशैली पाठकको मन जित्न सफल छ । अनुराधा रोयको गद्यमा एक प्रकारको काव्यिक प्रवाह, सूक्ष्म अवलोकन र आत्मव्यंग्यात्मक हास्य छ । उनले ठूलाठूला दार्शनिक कुरा नगरी भाँडो डढाएको, बगैंचा बिगारेको, स्थानीय पसलेसँग कुराकानी गरेको र होटलको काउन्टरमा आफ्नो किताब नबिकेर थन्किएको जस्ता सरल कुराहरूलाई बडो रमाइलो पाराले प्रस्तुत गरेकी छन् ।

‘सोफार–सोगुड’, ‘टाइमपास’, ‘काइन्ड्ली–एड्जस’ जस्ता अंग्रेजी शब्दलाई स्थानीयहरूले मीठो बोलीचालीमा गरेको उपयोगले पहाडी जीवनको मौलिक स्वाद पस्केको छ ।

संस्मरणसँगै वातावरणीय राजनीति, इतिहास, वनस्पति विज्ञान र साहित्यका सन्दर्भहरूलाई एउटै धागोमा उनेर प्रस्तुत गर्नु यस कृतिको ठूलो सामर्थ्य हो । लेखिका आफैंले बनाएका पानीरंगका सुन्दर चित्रहरूले पुस्तकको सौन्दर्यलाई अझै उकासेका छन् ।

आलोचनात्मक दृष्टिले हेर्दा यस पुस्तकका केही सीमाहरू पनि औंल्याउन सकिन्छ । लेखिका जतिसुकै स्थानीय जीवनमा घुलमिल भए पनि उनी मूलतः बाहिरबाट आएकी विशेषाधिकार प्राप्त, सम्पन्न शहरिया वर्गकी प्रतिनिधि हुन् । स्थानीय महिलाहरू बिहानै उठेर एक बाल्टी पानीका लागि घण्टौं लाइन बस्छन् र डोकोमा पानी बोक्छन् जबकि लेखिकाको चिन्ता बगैंचामा कुन विदेशी फूल रोप्ने र कसरी सजाउने भन्नेमा केन्द्रित देखिन्छ ।

उनले स्थानीय बासिन्दाहरूको गरिबी, पानीको चरम अभाव र बेरोजगारीप्रति सहानुभूति व्यक्त गरेकी छन् तर त्यो सहानुभूति प्रायः एउटा बाहिरी पर्यवेक्षकको जस्तो मात्र लाग्छ । उनीसँग शहर फर्कने वा आर्थिक अभाव झेल्नु नपर्ने सुरक्षाको आधार छ र त्यो सुविधा त्यहाँका रैथानेहरूसँग छैन ।

यसबाहेक पुस्तकमा देखिने वातावरणीय निराशावादले पाठकलाई नमीठो स्वाद दिन्छ । लेखिकाले पहाडको विनाश, रूखहरूको कटान र बाँध निर्माणको तस्बिर निकै भयानक रूपमा खिचेकी छन् । तर, यस विनाशका विरुद्ध कसरी प्रतिरोध गर्ने भन्नेबारे उनको दृष्टिकोण निकै निरीह र भाग्यवादी छ । उनले चण्डीप्रसाद भट्ट र शेखर पाठक जस्ता चिपको आन्दोलनका अगुवाहरूको उल्लेख त गरेकी छन् तर आफ्नै तर्फबाट वातावरणीय न्यायका लागि कुनै आशावादी दृष्टिकोण वा ठोस चेतना अघि सार्न सकेकी छैनन् । प्रकृतिको विनाशलाई उनले अपरिहार्य त्रासदीका रूपमा हेरेर मौन आत्मसमर्पण गरेझैं भान हुन्छ ।

विदेशी बिउहरू अनुमतिविना नै रानीखेतमा ल्याएर रोपेको घटनालाई उनले विज्ञानभन्दा भावना ठूलो भन्दै सामान्यीकरण गर्न खोज्नु वातावरणीय संवेदनशीलताका हिसाबले केही विरोधाभासपूर्ण देखिन्छ किनकि मिचाहा प्रजातिले रैथाने वनस्पतिलाई कसरी मास्छन् भन्ने कुरा उनैले क्रफ्टन झारको उदाहरण दिएर स्पष्ट पारेकी छन् ।

यी केही सीमितताहरूका बाबजुद ‘कल्ड बाइ द हिल्स’ समकालीन पर्यावरण साहित्य र संस्मरणात्मक विधाको उत्कृष्ट र पठनीय कृति हो । अनुराधा रोयले पहाडलाई कुनै बाहिरी पर्यटकको नजरले मात्र नहेरी त्यहाँको माटोमा आफ्ना औंलाहरू गाडेर, त्यहाँको चिसो हावा र असिनापानीलाई आफ्नै छालामा महसुस गरेर यो पुस्तक लेखेकाले पाठकलाई आनन्द आउँछ ।

यस पुस्तकले पाठकलाई कुमाउँको रमणीय प्रकृतिको सयर मात्र गराउँदैन, आजको उपभोक्तावादी युगमा विकासको नाममा हामीले गुमाइरहेका अमूल्य सम्पदाहरू र प्रकृतिको आर्तनाद सुन्न पनि बाध्य बनाउँछ । आफ्नो सरल भाषा, इमानदार अभिव्यक्ति र गहिरो जीवनदृष्टिका कारण यो पुस्तक हिमाल, प्रकृति, चराचुरुंगी र मानवीय संवेदनामा चासो राख्ने हरेक पाठकका लागि अविस्मरणीय उपहार हो ।

This review was first published on Clickmandu.


Share:

Leave a Reply