‘क्राइसिस अफ ट्रस्ट इन नेपाल–इन्डिया रिलेसन्स’ समीक्षा : भूराजनीतिको मनोवैज्ञानिक चिरफार

August 23, 2026
Featured image for “‘क्राइसिस अफ ट्रस्ट इन नेपाल–इन्डिया रिलेसन्स’ समीक्षा : भूराजनीतिको मनोवैज्ञानिक चिरफार”

नेपाल र भारतबीच शताब्दीयौं पुरानो सभ्यतागत सम्बन्ध रहिआएको छ । जनस्तरीय रूपमा यो सम्बन्ध सुमधुर भए पनि राजनीतिक तहमा भने अविश्वास र आशंका व्याप्त छ । के कारणले गर्दा यस्तो अविश्वास पैदा भएको हो ?

यस प्रश्नको उत्तर प्राडा वीरेन्द्र प्रसाद मिश्रको हालै प्रकाशित अंग्रेजी पुस्तक ‘क्राइसिस अफ ट्रस्ट इन नेपाल–इन्डिया रिलेसन्स’ ले दिने प्रयास गरेको छ । यस कृतिले दुई छिमेकी राष्ट्रबीचको सम्बन्धलाई सन्धि, सम्झौता र औपचारिक दस्तावेजको घेराभन्दा बाहिर निस्केर मानव मनोविज्ञान र नेतृत्वको मानसिकताको कसीमा राखेर हेर्ने प्रयास गरेको छ ।

दर्शनशास्त्रका प्राध्यापक र निर्वाचन आयोगका पूर्व आयुक्तका रूपमा लेखक मिश्रसँग सैद्धान्तिक ज्ञान मात्र नभई नेपालको राजनीतिक र प्रशासनिक वृत्तको भित्री अनुभव पनि छ । यही अनुभवका कारण यो पुस्तक परम्परागत इतिहासका पुस्तकहरूभन्दा भिन्न छ । लेखकले पुस्तकको शीर्षकमा नै ‘विश्वासको संकट’ शब्द राखेर नेपाल र भारतबीचको समस्याको चुरो कहाँ छ भन्ने संकेत गरेका छन् ।

दुवै देशको नेतृत्वको मनोविज्ञान र व्यक्तिगत इगोले कूटनीतिलाई कसरी प्रभावित गर्छ भन्ने यस पुस्तकको आधारभूत विषयवस्तु हो । लेखकले २००७ सालको क्रान्ति, त्यसपछिको दिल्ली सम्झौता र आधुनिक नेपालको राजनीतिक विकासक्रमलाई जवाहरलाल नेहरू, बीपी कोइराला, मातृका प्रसाद कोइराला र राजा त्रिभुवनबीचका व्यक्तिगत सम्बन्धहरूको माध्यमबाट केलाएका छन् ।

कतिपय अवस्थामा राष्ट्रिय स्वार्थ भन्दा पनि नेताहरूको व्यक्तिगत शंका, भय र एक–अर्काप्रतिको अविश्वासले गर्दा दुई देशको सम्बन्धमा चिसोपन आएको लेखकको तर्क छ । विशेषगरी बीपी कोइरालाको ‘जेल जर्नल’ र ‘आत्मवृत्तान्त’ लाई आधार मानेर लेखकले बीपी र नेहरूबीचको सम्बन्धमा रहेको अन्तरविरोधलाई उजागर गरेका छन् ।

एकातिर नेहरूले नेपालमा प्रजातन्त्र बहालीका लागि सहयोग गरेको तर त्यसक्रममा ‘ठूल्दाइ’ को व्यवहार गरेको देखिन्छ । अर्कोतिर बीपीले नेपालको आन्तरिक मामिलामा नेहरूले हस्तक्षेप गरेको र नेपाली नेताहरूलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको भनी गुनासो गरेको देखिन्छ । यस मतभेदलाई पुस्तकले मिहिन ढंगले केलाएको छ ।

नेपालको सत्ता राजनीतिको चरित्र द्विदेशीय विश्वासको संकटको अर्को पाटो हो । लेखकले नेपाललाई ‘जनताको परियोजना’ भन्दा पनि सत्ताप्राप्तिको ‘राजनीतिक परियोजना’ का रूपमा व्याख्या गरेका छन् (भारत चाहिँ नियमित रूपमा आवधिक निर्वाचन हुने भएकाले जनताको परियोजना भएको लेखकको दाबी छ) । नेपालका शासकहरू, चाहे ती राणा हुन्, शाह राजा हुन् वा प्रजातन्त्रपछिका निर्वाचित प्रधानमन्त्रीहरू, ले सत्तामा पुग्न वा सत्ता टिकाइराख्न भारतको सहयोग खोज्ने तर सत्तामा पुगेपछि आफ्नो विफलता लुकाउन र राष्ट्रवादको नाममा भारतविरोधी भावना भड्काउने गरेको लेखकको विश्लेषण छ ।

यसले गर्दा भारतमा नेपालका नेताहरू विश्वसनीय छैनन् भन्ने धारणा बलियो बन्दै गएको छ । हुन पनि भारतीयहरूले नेपालको राष्ट्रवाद भारतविरोधी रहने गरेकोमा गुनासो गर्ने गरेका छन् ।

नेपालमा भने भारतले जहिले पनि सूक्ष्म व्यवस्थापन मार्फत हस्तक्षेप गर्न खोज्छ भन्ने त्रास लामो समयदेखि रहिआएको छ । यो दोहोरो अविश्वास नै सम्बन्धको सबैभन्दा ठूलो तगारो बनेको पुस्तकको मुख्य निष्कर्ष हो ।

पुस्तकले सन् १९५० को शान्ति तथा मैत्री सन्धि, खुला सिमाना र पानीको बाँडफाँट जस्ता रणनीतिक मुद्दाहरूलाई पनि गम्भीरतापूर्वक उठाएको छ । सन् १९५० को सन्धिलाई काठमाडौंका शासक वर्ग र बुद्धिजीवीले ‘असमान’ भन्दै विरोध गर्ने तर त्यसबाट प्राप्त हुने सुविधाहरू जस्तै खुला सिमाना र रोजगारीको अवसरलाई उपभोग गरिरहने विरोधाभासलाई लेखकले औंल्याएका छन् । विशेषगरी खुला सिमानाले पहाडी समुदायका मानिसलाई भारतमा रोजगारीका लागि सहज बनाएको र मधेसी समुदायलाई सामाजिक–सांस्कृतिक सम्बन्ध कायम राख्न मद्दत गरेको भए तापनि यसलाई सुरक्षाको दृष्टिले मात्र हेरिनु दुःखद भएको लेखकको ठम्याइ छ ।

कोशी, गण्डक र पञ्चेश्वर जस्ता जलविद्युत् आयोजनाहरूमा भएको ढिलाइ र विवादको पछाडि पनि प्राविधिक कारणभन्दा बढी एक–अर्कालाई विश्वास नगरेको मानसिकता जिम्मेवार रहेको कुरा पुस्तकमा सविस्तार वर्णन गरिएको छ ।

लेखकले नेपालको भूराजनीतिक अवस्थितिलाई नयाँ ढंगले परिभाषित गर्ने प्रयास गरेका छन् । बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ‘दुई ढुंगाबीचको तरुल’ भन्ने उक्ति अब पुरानो भइसकेको र नेपाल अब दुई ठूला ‘वरका रुख’ (अर्थात्, भारत र चीन) बीचको हुर्कंदो बिरुवा जस्तो भएको लेखकको तर्क छ ।

नेपालले भारतसँगको सम्बन्धमा चीन कार्ड प्रयोग गर्ने नीति अख्तियार गर्दै आएको छ र त्यसले दीर्घकालीन रूपमा दुवै छिमेकीको विश्वास जित्न नसक्ने चेतावनी पुस्तकले दिएको छ । पछिल्लो समयमा एमसीसी र बीआरआई जस्ता परियोजनाहरूमा देखिएको राजनीतिक खिचातानीले नेपाल कसरी शक्ति राष्ट्रहरूको रणनीतिक क्रीडास्थल बन्दैछ र यसले छिमेकीसँगको विश्वासलाई कसरी थप कमजोर बनाउँदैछ भन्ने कुरालाई लेखकले समकालीन घटनाक्रमसँग जोडेर व्याख्या गरेका छन् ।

पुस्तकमा विश्वासको संकटको चर्चा गर्दा लेखकले नेपालको आन्तरिक राजनीतिक अस्थिरतालाई मुख्य कारक मानेका छन् । २००७ सालदेखि अहिलेसम्म नेपालमा पटक–पटक भएका सरकार परिवर्तन र ती परिवर्तनमा भारतीय भूमिकाको खोजी गर्ने प्रवृत्तिले सम्बन्धलाई थप जटिल बनाएको छ ।

लेखकका अनुसार, नेपाली नेताहरूले आफ्नो सत्ता संकटमा पर्दा भारतको सहारा लिने र सत्ता सुरक्षित हुँदा भारतलाई गाली गरेर राष्ट्रवादी देखिन खोज्ने दोहोरो चरित्र नै विश्वासको खडेरीको जड हो । उता भारतीय कर्मचारीतन्त्रमा रहेको ‘अहंकार’ र नेपाललाई जहिले पनि आफ्नो सुरक्षा चासोको घेराभित्र मात्र राखेर हेर्ने दृष्टिकोणले नेपाली जनताको मन जित्न नसकेको यथार्थलाई पनि मिश्रले केलाएका छन् ।

नेपाल–भारत सम्बन्धमा रहेको मधेस फ्याक्टरलाई लेखकले निकै महत्त्वपूर्ण ढंगले उठाएका छन् । काठमाडौंको शासक वर्गले मधेसीलाई जहिले पनि ‘भारतीय’ का रूपमा शंकाको दृष्टिले हेर्ने र भारतले मधेसी मुद्दालाई केवल आफ्नो स्वार्थका लागि कार्डका रूपमा प्रयोग गर्ने गर्दा मधेसी जनता दुवैतिरबाट पेलिएको लेखकको तर्क छ ।

मधेस र भारतबीचको रोटी–बेटीको सम्बन्धलाई सुरक्षाको जोखिमका रूपमा नभई दुई देशलाई जोड्ने सेतुका रूपमा स्वीकार गर्नुपर्ने सुझाव लेखकले दिएका छन् । तर, यही मधेस मुद्दा नै पछिल्लो समयमा नेपालमा भारतविरोधी भावना फैलाउने मुख्य औजार बनेको कुरालाई पनि पुस्तकले उजागर गरेको छ ।

सीमा विवाद र कालापानीको मुद्दाले पनि दुई देशबीचको विश्वासमा ठूलो दरार पैदा गरेको छ । लेखकले यसलाई ‘नक्साको लडाइँ’ (कार्टोग्राफिक ब्याटल) का रूपमा व्याख्या गर्दै दुवै देशले यसलाई प्रतिष्ठाको विषय बनाउनु साटो प्राविधिक र ऐतिहासिक प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालले आफ्नो नक्सा संशोधन गरेर संविधानमा समावेश गर्नु र भारतले त्यसलाई अस्वीकार गर्नुले दुई देशबीचको संवादहीनतालाई बढाएको छ । यसले गर्दा जनस्तरमा पनि एक–अर्काप्रति अविश्वास बढेको छ । यो भविष्यका लागि शुभ संकेत होइन ।

लेखकले पुस्तकमा २०७२ सालको नाकाबन्दीलाई विश्वासको संकटको चरमोत्कर्षका रूपमा प्रस्तुत गरेका छन् । नेपालले नयाँ संविधान जारी गर्दा भारतले दिएका सुझावहरूलाई बेवास्ता गरेको र त्यसको बदलामा भारतले नाकाबन्दी लगाएको आम नेपाली बुझाइ रहेको छ ।

तर, लेखकले यसलाई दुवै पक्षको असफलताका रूपमा हेरेका छन् । नेपालले आफ्ना छिमेकीका जायज चासोहरूलाई सम्बोधन गर्न नसक्नु र भारतले एउटा सार्वभौम राष्ट्रको आन्तरिक मामिलामा दबाबमूलक हस्तक्षेप गर्नु दुवै गलत भएको उनको ठम्याइ छ । यस घटनाले नेपाली मानसपटलमा भारतप्रतिको विश्वासलाई निकै तोडेकाले त्यसलाई पुनः स्थापना गर्न अझै धेरै समय लाग्ने देखिन्छ ।

पुस्तकको अन्त्यतिर लेखकले भविष्यका लागि केही सकारात्मक सुझावहरू पनि दिएका छन् । सम्बन्धमा सुधार ल्याउन राजनीतिक तहमा मात्र नभई जनस्तरमा र कर्मचारीतन्त्रमा पनि विश्वासको वातावरण निर्माण हुनुपर्छ । नेपालले भारतको सुरक्षा चासोलाई सम्मान गर्ने र भारतले नेपालको सार्वभौमसत्ता र विकासको चाहनालाई बिना हस्तक्षेप सहयोग गर्ने हो भने मात्र यो संकट हट्न सक्छ । नेपाल सानो र शक्तिहीन देश होइन, यो त विश्वको उदाउँदो आर्थिक शक्ति भारतका लागि महत्त्वपूर्ण रणनीतिक साझेदार हुन सक्छ भन्ने कुरा दुवै देशले बुझ्नुपर्छ ।

पुस्तक तयार पार्नका लागि गरिएको शोध र प्राथमिक स्रोत सामग्रीको प्रयोग प्रशंसायोग्य छ । जवाहरलाल नेहरूले नेपाली नेताहरूलाई लेखेका चिठी र तत्कालीन समयका कूटनीतिक पत्राचारहरूलाई लेखकले आफ्ना दाबीको प्रमाणका रूपमा प्रस्तुत गरेका छन् । यसले पुस्तकलाई ऐतिहासिक रूपमा प्रामाणिक बनाएको छ । अनुसन्धाताहरूका लागि यो पुस्तक महत्त्वपूर्ण स्रोत सामग्री बन्न सक्छ ।

बीपी कोइराला जस्ता अग्ला कदका नेताको पनि मानवीय कमजोरी र कतिपय सन्दर्भमा भारतप्रति रहेको शंकालु स्वभावलाई निर्धक्कसँग प्रस्तुत गर्नु लेखकको साहस हो । त्यस्तै, पुस्तकले मधेस आन्दोलन, २०७२ सालको नाकाबन्दी र त्यसपछि उत्पन्न भएको परिस्थितिलाई तटस्थ भएर हेर्ने प्रयास गरेको छ । लेखकले मधेसको मुद्दालाई क्षेत्रीय समस्याका रूपमा मात्र नहेरी यसलाई नेपालको राष्ट्रिय पहिचान र भारतसँगको सम्बन्धको कडीका रूपमा प्रस्तुत गरेका छन् ।

यति हुँदाहुँदै पनि यो पुस्तक कमजोरीरहित भने छैन । भाषा र सम्पादनमा पर्याप्त ध्यान नपुग्नु पुस्तकको खड्किएको पक्ष हो । पुस्तकमा वर्णविन्यासका त्रुटि र व्याकरणगत अशुद्धिहरू बग्रेल्ती भेटिन्छन् र त्यसले पाठकलाई पठन प्रवाहमा अल्मल्याउँछ । त्यसबाहेक कतिपय सन्दर्भ र घटनाहरू पटक–पटक दोहोरिएका छन् । त्यसले गर्दा पुस्तक घरिघरि पट्यारलाग्दो महसुस हुन्छ । कुशल सम्पादन भएको भए यो पुस्तक अझ कसिलो र प्रभावकारी हुने थियो ।

विश्लेषणात्मक भन्दा पनि विवरणात्मक हुनु पुस्तकको अर्को कमजोरी हो । पुस्तकमा वर्णित घटनाक्रमले यसलाई राम्रो आर्काइभल मटेरियल बनाएको छ तर त्यससँगै रौंचिरा विश्लेषण भएको भए पुस्तक निकै उत्कृष्ट हुने थियो ।

त्यस्तै लेखकले नेपाल र भारतको सम्बन्ध बिग्रनुमा मनोविज्ञानलाई धेरै जोड दिएकाले कतिपय ठाउँमा ठोस आर्थिक मुद्दाहरू, व्यापार घाटा र संरचनात्मक अवरोधहरू ओझेलमा परेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध नेताको सोचले मात्र नभई विश्वव्यापी अर्थतन्त्र र बदलिँदो सुरक्षा रणनीतिका कारण पनि प्रभावित हुन्छ । यस पक्षलाई लेखकले अलि कम महत्त्व दिएको भान हुन्छ ।

समग्रमा यस पुस्तकले नेपालको परराष्ट्र नीतिलाई नयाँ ढंगले सोच्न बाध्य पार्छ । हामीले जहिले पनि अरूलाई दोष दिएर उम्किने प्रयास गरिरहेका हुन्छौं । तर, यस पुस्तकले हामीलाई आफ्नै नेतृत्वको कमजोरी र मानसिकतालाई पनि नियाल्न सिकाउँछ ।

विश्वास भन्ने कुरा एकतर्फी हुँदैन । यो त दुवै पक्षको इमानदार प्रयासबाट मात्र सम्भव हुन्छ । नेपाल र भारतबीचको यो जटिल र अन्योन्याश्रित सम्बन्धलाई सुमधुर बनाउन दुवै देशका नेतृत्वले आफ्नो अहंकार त्यागेर जनताको हितलाई सर्वोपरि ठान्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सक्नु नै यस पुस्तकको सबैभन्दा ठूलो योगदान हो ।

कूटनीतिको कठोर धरातलमा मानवीय संवेदना र विश्वासको कति ठूलो भूमिका हुन्छ भन्ने कुरा बुझ्न यो पुस्तकले पाठकलाई सहयोग गर्छ । केही सुधार र परिमार्जनसहित यसको अर्को संस्करण आएमा यो अझ बढी प्रभावकारी, पठनीय र संग्रहणीय हुने निश्चित छ ।

This review was first published on Clickmandu.


Share:

Leave a Reply