चीनसँगको एआई प्रतिस्पर्धा जित्नका लागि अमेरिकाले बनायो रोडम्याप

January 23, 2026
Featured image for “चीनसँगको एआई प्रतिस्पर्धा जित्नका लागि अमेरिकाले बनायो रोडम्याप”

बेलायतमा औद्योगिक क्रान्ति सफल भएपछि सन् १८६५ मा बेलायती अर्थशास्त्री विलियम स्ट्यान्ली जेभन्सले त्यसको विषयमा एउटा रोचक कुरा पत्ता लगाए ।

कोइलाबाट चल्ने इन्जिनहरू थप दक्ष हुँदै जाँदा बेलायतमा कोइलाको खपत नघटेको, उल्टो आकाशिँदै गएको उनको अध्ययनमा देखियो । अझ राम्रो प्रविधि विकसित हुँदै जाँदा कोइलालाई धेरै कामहरूका लागि बढी उपयोगी बनायो । त्यसले पहिलो विशाल विभाजन (ग्रेट डाइभर्जेन्स) लाई प्रेरित गरी औद्योगिक राष्ट्रहरूलाई विश्वको बाँकी भागभन्दा धेरै अगाडि बढायो ।

जनवरी २०२६ मा आइपुग्दा अमेरिकाको द काउन्सिल अफ इकोनोमिक एड्भाइजर्स (सीईए) ले महत्त्वपूर्ण प्रतिवेदन सार्वजनिक गरेको छ ।

‘आर्टिफिसियल इन्टेलिजेन्स एन्ड द ग्रेट डाइभर्जेन्स’ शीर्षकको २७ पृष्ठ लामो प्रतिवेदनले संसार अहिले दोस्रो ठूलो विभाजनको सँघारमा उभिएको संकेत गरेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) अब सिलिकन भ्यालीको लहर मात्र नभई विश्वव्यापी व्यवस्थामा आएको आधारभूत परिवर्तन भएको प्रतिवेदनले तर्क गरेको छ । पुँजी, कम्प्युटिङ र ऊर्जाको ठूलो केन्द्रीकरणबाट निर्देशित यस परिवर्तनको नेतृत्व अमेरिकाले गरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सीईएको प्रतिवेदनले एआईलाई वाष्प इन्जिन वा विद्युत् जस्तै परिवर्तनकारी प्रविधिका रूपमा चित्रण गरेको छ । तर, १९ औं शताब्दीको औद्योगिक क्रान्तिको गति सुस्त थियो भने एआई क्रान्ति तीव्रतम गतिमा अगाडि बढिरहेको छ ।

सन् २०२५ को पहिलो ६ महिनामा मात्रै एआईसँग सम्बन्धित लगानीले अमेरिकाको जीडीपीलाई वार्षिक १.३ प्रतिशतको दरले बढाएको सीईएको प्रतिवेदनले उल्लेख गरेको छ

प्रतिवेदनका अनुसार, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा एआईको प्रभाव आश्चर्यजनक हुन सक्छ । अर्थशास्त्रतर्फका नोबेल पुरस्कार विजेता डेरोन एसेमोग्लुले ‘द सिम्पल म्याक्रोइकोनोमिक्स अफ एआई’ शीर्षकको अनुसन्धानमा एआईले १० वर्षमा ०.९ प्रतिशतदेखि १.६ प्रतिशतसम्मको सामान्य वृद्धि गर्ने अनुमान गरेका छन् । तर, अल्डासोरो तथा अन्य तीन अनुसन्धाताहरूले सन् २०२४ मा गरेको अध्ययन ‘दी इम्प्याक्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन आउटपुट एन्ड इन्फ्लेशन’ मा एआईले जीडीपीलाई ४५ प्रतिशतसम्म बढाउन सक्ने अनुमान गरिएको छ ।

सन् २०२५ को पहिलो ६ महिनामा मात्रै एआईसँग सम्बन्धित लगानीले अमेरिकाको जीडीपीलाई वार्षिक १.३ प्रतिशतको दरले बढाएको सीईएको प्रतिवेदनले उल्लेख गरेको छ । यो सन् १८०० को दशकमा रेलमार्गको विस्तारको समयमा देखिएको लगानीको स्तरसँग मिल्दोजुल्दो छ ।

यो वृद्धि कुल कारक उत्पादकत्व (टोटल फ्याक्टर प्रोडक्टिभिटी – टीएफपी) का कारण सम्भव भएको हो । यो भनेको कुनै एक अर्थतन्त्रले श्रम र पुँजीलाई उत्पादनमा बदल्ने दक्षता हो । अमेरिका जस्तो पुँजी मौज्दात पहिलेदेखि नै उच्च रहेको धनी देशका लागि एआई जीवनस्तर बढाउने प्राथमिक कारण बनेको छ ।

एआई भविष्यमा मानवले गर्ने सबै कार्यहरू गर्न सक्षम हुने गरी आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) को चरणमा पुग्यो भने आर्थिक वृद्धि दर प्रतिवर्ष ४५ प्रतिशतसम्म पुग्न सक्ने प्रतिवेदनले प्रक्षेपण गरेको छ ।

प्रतिवेदनको सबैभन्दा उल्लेखनीय तथ्यांक अमेरिका र विश्वका बाँकी देशहरू, अझ विशेषगरी उसको मुख्य प्रतिद्वन्द्वी चीन, बीच बढ्दो खाडलको बारेमा केन्द्रित छ । पछिल्ला २५ वर्षहरूमा विशाल सम्मिलन (ग्रेट कन्भर्जेन्स) को अवस्था थियो । त्यसअन्तर्गत विकासशील राष्ट्रहरूले पश्चिमलाई पछ्याइरहेका थिए । तर, एआईले त्यस प्रवृत्तिलाई उल्ट्याउँदैछ ।

अमेरिकाका लागि एआई प्रतिस्पर्धा अब राष्ट्रिय सिद्धान्तको विषय बनेको छ । प्रतिवेदनमा राष्ट्रपति डोनल्ड ट्रम्पको घोषणालाई उद्धृत गरिएको छ, ‘अमेरिका त्यो देश हो जसले एआईको दौड सुरु गर्यो … अमेरिकाले नै यो दौड जित्नेछ ।’

अमेरिकाले यो प्रतिस्पर्धा जित्नका लागि के गरिरहेको छ भनी प्रतिवेदनले तथ्यांकहरू प्रस्तुत गरेको छ । त्यसमा तीनवटा कुरालाई ध्यान दिइएको छ।

पहिलो, लगानीको ठूलो अन्तर । सन् २०२४ मा अमेरिकाको निजी क्षेत्रले एआईमा गरेको लगानी ९४ अर्ब डलर पुगेको थियो । यसको विपरीत चीनमा निजी क्षेत्रको लगानी ९ अर्ब डलर मात्र थियो । विश्वव्यापी रूपमा जेनेरेटिभ एआई स्टार्टअपहरूमा हुने सबै भेन्चर फन्डिङको लगभग ७५ प्रतिशत हिस्सा अमेरिकाको छ ।

दोस्रो, कम्प्युटिङ एकाधिकार । सन् २०२५ को मे महिनासम्म विश्वको एआई कम्प्युटिङ क्षमताको लगभग ७४ प्रतिशत अमेरिकामा छ । लगभग सबै चिनियाँ एआई मोडेलहरू अमेरिकी मूलका हार्डवेयरमा प्रशिक्षित छन्।

तेस्रो, कार्यक्षमताको भिन्नता । एआई सेक्टरमा चीन र युरोपेली संघ महत्त्वपूर्ण खेलाडी भए पनि फ्रन्टियर मोडल अर्थात् सबैभन्दा सक्षम एआई प्रणालीहरूमा अमेरिकीको नै बाहुल्य छ । सन् २०२४ मा अमेरिका १५४ वटा ठूला एआई प्रणालीका साथ अग्रपंक्तिमा थियो । त्यो विश्वको कुल संख्याको लगभग आधा हो ।

यस अग्रतालाई अझ बलियो बनाउन प्रतिवेदनले प्याक्स सिलिका अर्थात् एआई आपूर्ति शृंखलामा अन्तर्राष्ट्रिय साझेदारीको विवरण दिएको छ । त्यसले अमेरिकालाई जापान जस्ता सेमीकन्डक्टर क्षेत्रको हस्ती र डेटा सेन्टरमा लगानी गर्ने कतार जस्ता ठूला लगानीकर्ताहरूसँग जोड्छ । यो गठबन्धन बाँकी जी७ देशहरूको तुलनामा दोब्बर छिटो बढिरहेको छ र यसले प्रतिस्पर्धीहरूलाई बाहिर राख्दै भविष्यका निर्माण संरचनाहरू सुरक्षित गरिरहेको छ ।

अमेरिका र अन्य मुलुकहरूबीचको अन्तर किन फराकिलो हुँदैछ ? प्रतिवेदनले यसका लागि स्केलिङ कानुनको प्रभावलाई औंल्याएको छ । एआई विकासकर्ता (डेभलपर) हरूले जति धेरै प्यारामिटर, डेटा र कम्प्युट (प्रशोधन शक्ति) थप्छन्, एआईको कार्यक्षमता त्यही अनुपातमा बढ्छ । सन् २०१२ देखि कम्प्युटर मोडलहरूको प्रशिक्षणमा खर्च हुने कम्प्युटिङको मात्रा १ अर्ब गुणाले बढेको छ ।

सन् २०२५ को जुलाई महिनामा सार्वजनिक गरिएको ग्रोक ४ जस्तो फ्रन्टियर मोडललाई तालिम दिन अहिले करिब ४९ करोड डलर खर्च हुन्छ । यस बढ्दो लागतले सिर्जना गरेको प्रवेश अवरोधलाई सबैभन्दा धनी राष्ट्र र निगमहरूले मात्र पार गर्न सक्छन्।

यसबाहेक, प्रतिवेदनले राष्ट्रिय सुरक्षाको नयाँ स्तम्भ अर्थात् ऊर्जा प्रभुत्वलाई जोड दिएको छ । जेनेरेटिभ एआई डेटा सेन्टरहरूले अत्यधिक बिजुली खपत गर्छन् । सन् २०२३ मा अमेरिकाको कुल बिजुली माग ४ प्रतिशत थियो भने त्यो सन् २०२८ सम्ममा बढेर १२ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।

ट्रम्प प्रशासनले त्यसलाई विचार गरेर ऊर्जा ग्रिडको व्यापक निर्माण गर्न खोजेको छ । त्यसमा उन्नत आणविक विकासलाई समर्थन गर्ने र जीवाश्म इन्धनका लागि संघीय लिज प्रक्रिया पुनः सुरु गर्ने कुराहरू पर्छन् । यसपछाडिको तर्क सरल छ । जुन देशमा सस्तो र प्रचुर मात्रामा बिजुली हुन्छ, त्यहाँ नै सबैभन्दा शक्तिशाली एआई हुनेछ ।

एआई क्षेत्रमा आफ्नो अग्रता कायम राख्न अमेरिकाको रणनीतिलाई दुईवटा मुख्य कार्यहरूमा संहिताबद्ध गरिएको छ

एआईले ठूलो बेरोजगारी निम्त्याउने डरलाई प्रतिवेदनले सम्बोधन गरेको छ । सीईएले जेभन्सको विरोधाभासलाई आधार मानेर आशावादी दृष्टिकोण प्रस्तुत गरेको छ । जसरी औद्योगिक क्रान्तिको समयमा बढी दक्ष कोइला इन्जिनले धेर कोइलाको प्रयोग निम्त्यायो, त्यसैगरी एआईमार्फत बढी दक्ष श्रमको आवश्यकताले कामदारहरूको धेर माग निम्त्याउन सक्छ ।

प्रतिवेदनले रेडियोलोजिस्टहरूलाई मुख्य उदाहरणको रूपमा प्रस्तुत गरेको छ । कुनै समय एआईले विस्थापित गर्ने भनी भविष्यवाणी गरिएको रेडियोलोजिस्टहरूको रोजगारी दर अहिले ऐतिहासिक रूपमा उच्च छ किनभने एआईले उनीहरूलाई धेरै केसहरूको प्रोसेसिङ गर्नका लागि अनुमति दिन्छ । त्यसले सेवालाई अझ मूल्यवान र व्यापक रूपमा प्रयोग गर्न मिल्ने बनाउँछ।

ग्राहक सेवा र आधारभूत कोडिङ जस्ता कतिपय क्षेत्रमा सुरुवाती रोजगारीमा गिरावट देखिएको भए पनि वर्तमान कामदारहरू ६० प्रतिशत त्यस्ता कामहरूमा खटिएका छन् जुन सन् १९४० मा अस्तित्वमै थिएनन् भनी प्रतिवेदनले तर्क गर्छ । एआईले यस प्रवृत्तिलाई जारी राख्ने अपेक्षा गरिएको छ । यसले एआई प्रम्प्ट इन्जिनियर वा सिन्थेटिक डेटा क्युरेटर जस्ता नयाँ पेशाहरू सिर्जना गर्नेछ ।

एआई क्षेत्रमा आफ्नो अग्रता कायम राख्न अमेरिकाको रणनीतिलाई दुईवटा मुख्य कार्यहरूमा संहिताबद्ध गरिएको छ । ती हुन्, जुलाई २०२५ मा जारी गरिएको वन बिग ब्यूटीफुल बिल (ओबी३) एक्ट र २०२५ एआई एक्सन प्लान ।

ओबी३ एक्टले सूचना प्रविधि पूर्वाधार र डेटा सेन्टरहरूका लागि शतप्रतिशत बोनस मूल्यह्रास (डिप्रिसिएशन) प्रदान गर्छ जसले लगानीमा ७ देखि १० प्रतिशत वृद्धिका लागि प्रोत्साहन दिन्छ । यसैबीच, एआई कार्य योजना विनियमन (डिरेगुलेशन) मा केन्द्रित छ । त्यसले डेटा सेन्टरहरूलाई सरकारी अनुमति दिने समयावधिलाई घटाउँछ ।

त्यसका साथै एआई मोडलहरू वस्तुनिष्ठ र माथिल्लो स्तरको वैचारिक पूर्वाग्रहबाट मुक्त रहने कुरालाई सुनिश्चित गर्छ । एआईलाई सफ्टवेयर उद्योग मात्र नभई महत्त्वपूर्ण पूर्वाधार परियोजनाको रूपमा व्यवहार गरेर अमेरिकाले आफूलाई विश्वको डेटा सेन्टरका रूपमा स्थापित गर्दैछ ।

विश्व अब समान नरहेको सीईएको प्रतिवेदनले स्पष्ट पारेको छ । एआईले विभिन्न तहमा विभाजित विश्वव्यापी मर्यादाक्रम सिर्जना गरिरहेको छ । यसको माथिल्लो तहमा अमेरिका छ र उसले आफ्नो विशाल पुँजी, ऊर्जा भण्डार तथा प्याक्स सिलिका गठबन्धनको उपयोग गरेर कुल कारक उत्पादकत्वको नयाँ स्तर हासिल गरिरहेको छ ।

नेपालले द्रुत गतिमा ल्यान्डलाइनलाई छाडेर मोबाइल फोन अपनाए जस्तै केन्द्रीकृत औद्योगिकीकरणलाई छाडेर वितरित एआई अपनाउन सक्छ

यो विशाल विभाजन इतिहासको संयोग मात्र नभई ठोस नीतिको परिणाम हो । जुन मुलुकहरूले एआई क्रान्ति र त्यसका लागि आवश्यक व्यापक पूर्वाधारलाई अँगाल्छन्, तिनीहरूको जीडीपी र वास्तविक ज्याला आकाशिनेछ भनी प्रतिवेदनले निष्कर्ष निकालेको छ । यसमा जो पछि पर्छन्, तिनीहरू सिलिकन र सफ्टवेयरद्वारा शासित संसारमा सानो भूमिकामा मात्र सीमित हुने जोखिममा छन् ।

नेपालले एआई क्रान्तिबाट कसरी फाइदा लिन सक्छ ?

नेपाल जस्तो विकासशील राष्ट्रका लागि दोस्रो विशाल विभाजन चुनौती र अवसर दुवै हो । नेपालले कम्प्युटिङ दौडमा प्रतिस्पर्धा गर्न वा अर्बौं डलरको फ्रन्टियर मोडलहरू निर्माण गर्न नसके पनि विश्वव्यापी एआई अर्थतन्त्रमा सहभागी हुन रणनीतिक रूपमा पहल गर्न सक्छ ।

सीईएको प्रतिवेदनले उल्लेख गरेअनुसार, एआईले रिमोट वर्क अर्थात् टाढाबाट गरिने कामको दक्षता बढाउँछ । नेपालका सफ्टवेयर इन्जिनियर र अंग्रेजी जान्ने युवाहरूले आधारभूत आउटसोर्सिङभन्दा माथि उठेर एआईद्वारा सक्षम बनाइएका सेवाहरूमा ध्यान दिन सक्छन् । यसमा डेटा लेबलिङ, मानव प्रतिक्रियाबाट सिक्ने मशिन लर्निङ र नेपालका विविध भाषाहरूका लागि एआई मोडलहरूलाई परिष्कृत गर्ने कामहरू समावेश छन् । ह्युमन–इन–द–लूप एआई प्रशिक्षणको हब बनेर नेपालले उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्न सक्छ ।

नेपालले द्रुत गतिमा ल्यान्डलाइनलाई छाडेर मोबाइल फोन अपनाए जस्तै केन्द्रीकृत औद्योगिकीकरणलाई छाडेर वितरित एआई अपनाउन सक्छ । खुला स्रोत मोडलहरू (जस्तै, मेटाको लामा) उपयोग गरेर नेपालले कृषिमा बाली रोग पत्ता लगाउन र पर्यटनमा बहुभाषिक पर्यटक अनुभवहरू प्रदान गर्न एआई परिचालन गर्न सक्छ ।

त्यसबाहेक सरकारले शिक्षालाई परिमार्जन गर्दै एआई साक्षरतामा जोड दिनुपर्छ । नेपालले आफ्नो उत्पादकत्व बढाउनका लागि एआई प्रयोग गर्न सक्ने जनशक्ति तयार गरेमा भौगोलिक अवस्थाले दिलाइरहेका कठिनाइहरूबाट पार पाउन सक्छ । एआई–फर्स्ट स्टार्टअपहरूलाई करछुट दिएर तथा प्रचुर जलविद्युतलाई साना र हरित डेटा सेन्टरहरूका लागि उपयोग गरेर नेपालले नयाँ डिजिटल व्यवस्थामा आफ्नो स्थान सुरक्षित एवं दिगो बनाउन सक्छ ।

This article was first published on Clickmandu.


Share:

Leave a Reply