
सन् १९५३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा (चोमोलोङमा) को पहिलो सफल आरोहणको कथा संसारभरिका मानिसले रुचिपूर्वक पढ्ने र सुन्ने गरेका छन् । त्यस ऐतिहासिक सफलताको पश्चिमी भाष्यमा न्युजिल्यान्डका आरोही एडमन्ड हिलारी सधैं अगाडि रहे भने तेन्जिङ नोर्गेलाई सहयोगी, भरिया वा बाटो देखाउने सरदारका रूपमा मात्र सीमित राख्ने प्रयास गरियो ।
त्यही पश्चिमा भाष्यको विनिर्माण गर्दै जेनिफर पिडमको निर्देशनमा ‘तेन्जिङ’ फिल्म सार्वजनिक भएको छ । यसले विश्व पर्वतारोहणको इतिहासमा लामो समयदेखि उपेक्षित र छायामा पारिएका महान् पर्वतारोहीको संघर्ष र आत्मसम्मानलाई पर्दामा उतारेको छ ।
सन् २०१५ मा शेर्पाहरूको वास्तविक जीवन र पीडामा आधारित वृत्तचित्र ‘शेर्पा’ बनाएर अन्तर्राष्ट्रिय चर्चा कमाएकी अस्ट्रेलियाली निर्देशक पिडमले यसपटक भने तेन्जिङको आफ्नै दृष्टिकोण, पहिचान र स्वाभिमानको खोजीलाई पूर्ण कथानक चलचित्रको रूप दिएकी छन् ।
यो चलचित्र एड डगलसको चर्चित पुस्तक ‘तेन्जिङः हिरो अफ एभरेस्ट’ बाट प्रेरित भई ल्युक डेभिसको पटकथामा निर्माण गरिएको हो । चलचित्रले सामान्य याक गोठालोबाट सुरु भएको बालकको विश्वविजेता बन्ने जीवनयात्रा र हिमालप्रतिको उसको आध्यात्मिक समर्पणलाई भावपूर्ण र भव्य शैलीमा प्रस्तुत गरेको छ ।
चलचित्रको कथावस्तु असाधारण मानिसको आत्मिक र सामाजिक संघर्षमा केन्द्रित छ । कथाको सुरुआत तिब्बतको दुर्गम पठारमा हुर्कंदै गरेको सानो बालकबाट हुन्छ । उसको आँखामा सधैं आकाश चुम्ने सेतो हिमाल ‘चोमोलोङमा’ को प्रतिबिम्ब नाचिरहन्छ । अभाव र विपन्नता र महमारीका कारण तिब्बतबाट दार्जिलिङ बसाइँ सरेका तेन्जिङले हिमाललाई नै आफ्नो कर्म र पहिचान बनाउँछन् ।
उनले ब्रिटिश तथा स्विस अभियानहरूमा बारम्बार जोखिम मोलेर आफ्नो अद्वितीय पर्वतारोहण क्षमता प्रमाणित गरिसकेका हुन्छन् । सन् १९५३ मा जोन हन्टको नेतृत्वमा सगरमाथा आरोहण गर्नका लागि आएको ब्रिटिश अभियानमा तेन्जिङ भरियाहरूको नाइके भएर भन्दा पनि अभियानको पूर्णकालीन र समान हैसियतको आरोही सदस्यका रूपमा सामेल हुन संघर्ष गर्छन् ।
परिवारको माया, शेर्पा समुदायप्रतिको दायित्व, ब्रिटिश साम्राज्यवादी अहंकारको सामना र आफ्नै अन्तरआत्माको पुकारबीचको द्वन्द्वलाई कथाले निकै संवेदनशील ढंगले उनेको छ ।
ब्रिटिश कुलीन वर्गका लागि पराया बनेका न्युजिल्यान्डका मौरीपालक एडमन्ड हिलारीसँग तेन्जिङको सम्बन्ध र हिमालको अन्तिम चुचुरोसम्मको श्वास रोकिने यात्रा नै यस चलचित्रको मूल कथानक हो । यसले दर्शकलाई सस्ता नाटकीय मोडहरूबिना नै सुरुदेखि अन्त्यसम्म बाँधेर राख्छ ।
शीर्ष भूमिकामा रहेका अभिनेता गेन्देन फुन्त्सोकको दमदार अभिनय चलचित्रको सबैभन्दा बलियो पक्ष हो । फुन्त्सोकले तेन्जिङको उज्यालो मुस्कानको पछाडि लुकेको गहिरो पीडा, आक्रोश र दृढतालाई पर्दामा जीवन्त पारेका छन् । उनको अभिनयमा कुनै आडम्बर वा कृत्रिमता छैन । आँखाको मौन भाषा, हिउँको हुरीमा काँप्दै गर्दा पनि मुहारमा देखिने आत्मविश्वास र हिमालसँग मौन संवाद गर्दाको भक्तिभावले दर्शकको मन छुन्छ ।
एडमन्ड हिलारीको भूमिकामा हलिउडका सशक्त अभिनेता टम हिडलस्टनले पनि सन्तुलित काम गरेका छन् । हिडलस्टनले हिलारीलाई कुनै औपनिवेशिक नायकका रूपमा नभई ब्रिटिशहरूमाझ आफूलाई पनि ‘बाहिरी मानिस’ महसुस गर्ने संयमित, व्यावहारिक र तेन्जिङको अद्वितीय क्षमतालाई मनैदेखि सम्मान गर्ने सहयात्रीको रूपमा उतारेका छन् ।
अभियानका कमान्डर कर्नेल जोन हन्टको भूमिकामा विलियम डाफोले ब्रिटिश साम्राज्यको प्रतिष्ठा र आरोहणको कठोर यथार्थबीच पिल्सिएको सैनिक नेतृत्वलाई प्रभावकारी ढंगले प्रस्तुत गरेका छन् । तेन्जिङकी श्रीमती दावाको भूमिकामा थिन्ले ल्हामो र अभियान सचिव जिल हेन्डरसनको भूमिकामा क्याट्रिओना बाल्फले सीमित दृश्यहरूमा पनि गहिरो छाप छोडेका छन् ।
निर्देशक जेनिफर पिडमले वृत्तचित्र निर्माणको आफ्नो लामो अनुभवलाई यस फिचर फिल्ममा निकै कुशलतापूर्वक प्रयोग गरेकी छन् । उनले हिमाललाई जीवित, श्वास फेरिरहेको र आफ्नै नियम भएको सशक्त पात्रको रूपमा स्थापित गरेकी छन् । पिडमको निर्देशनमा शेर्पा संस्कृति, परम्परा र मनोविज्ञानलाई विदेशी चश्माबाट हेरिएको छैन । शेर्पाहरूको आन्तरिक गौरव र मानवीयतालाई चलचित्रमा सम्मानजनक ठाउँ दिइएको छ ।
स्टिफन डुसियोको छायांकनले चलचित्रमा प्राण भरेको छ । हिमालको विराट स्वरूप र त्यसको फेदीमा बस्ने मानिसको क्षुद्र अस्तित्वबीचको विरोधाभासलाई उनले क्यामराको फ्रेममा कैद गरेका छन् । सगरमाथाको आधार शिविरदेखि खुम्बु आइसफल, साउथ कोल र हिलारी स्टेपसम्मको दृश्य खिच्दा प्रयोग गरिएका वाइड शटहरूले दर्शकलाई रोमाञ्चित बनाउँछन् । त्यसैगरी आरोहीहरूको अक्सिजन मास्कमा जमेको वाफ, भारी श्वास र हिउँका मसिना कणहरू देखाउने क्लोज–अप शटहरूले दर्शकमा मनोवैज्ञानिक दबाब सिर्जना गर्छन् ।
चलचित्रको सम्पादन साइमन न्युले गरेका हुन् । उनले कथाको गतिलाई सन्तुलित राखेका छन् । अक्सिजनको कमी, अत्यधिक चिसो र हिमपहिरोको खतराबीच हुने सुस्त र कष्टकर आरोहणलाई दर्शकका लागि पट्यारलाग्दो हुन नदिन सम्पादनले महत्त्वपूर्ण भूमिका खेलेको छ । तेन्जिङको बाल्यकालका स्मृति, विगतका आरोहणका असफलता र सन् १९५३ को अन्तिम आरोहणबीचको अन्तःसम्बन्धलाई न्युले दृश्य संयोजनमार्फत स्वाभाविक लय प्रदान गरेका छन् ।
ध्वनि संयोजन र रेबेका कारियोर्डको संगीतले चलचित्रको भावनात्मक गहिराइलाई थप उचाइमा पुर्याएको छ । उच्च हिमाली क्षेत्रको भयावह शून्यता, हावाको सुसाइ र हिमपहिरो जाँदा आउने भयंकर आवाजसँगै परम्परागत हिमाली बाजा र आध्यात्मिक मन्त्रोच्चारणको मधुर सम्मिश्रणले दृश्यहरूलाई रहस्यमय र भव्य बनाएको छ ।
चलचित्रको प्राविधिक पक्ष परिपक्व भएकाले दर्शकहरू चलचित्रमा डुब्दै हिउँको भयानक आँधीबीच साउथ कोलको टेन्टभित्र थरथर काँपिरहेको महसुस गर्छन् ।
तेन्जिङको अदम्य साहस र चोमोलोङमाप्रतिको अगाध श्रद्धाको चित्रण यस चलचित्रको सबैभन्दा सुन्दर पाटो हो । पश्चिमा संसारका लागि हिमाल विजय प्राप्त गर्ने निर्जीव ढुंगा र हिउँको थुप्रो थियो । त्यसको चुचुरोमा देशको झन्डा गाडेर साम्राज्यवादी श्रेष्ठता प्रमाणित गर्नु पश्चिमाहरूको लक्ष्य थियो । जोन हन्टले सगरमाथाको चुचुरो पुग्नुलाई लडाइँ गर्नु (सिज) का रूपमा गरेको वर्णन त्यही पश्चिमा अहंकारको उद्घोष थियो ।
तर, त्यसको ठीक विपरीत तेन्जिङका लागि चोमोलोङमा कुनै विजय हासिल गर्नुपर्ने शत्रु थिएन । उनी र उनको समुदायका लागि चोमोलोङमाको शिखर त साक्षात् देवी ‘मियोलाङसाङ्मा’ थिइन् । उनी सम्पूर्ण प्राणी जगतलाई अन्न र संरक्षण प्रदान गर्ने पवित्र आमा हुन् ।
आफू हिमाल जित्नका लागि नभई हिमाललाई अझ नजिकबाट बुझ्न र आमाको काखमा पुगेर उनको आशीर्वाद माग्नका लागि उक्लिँदै गरेको भनी चलचित्रमा तेन्जिङको उद्गार निकै मार्मिक तरिकाले गुञ्जिन्छ । गरिबी, उपेक्षा र अघिल्ला ६ वटा आरोहण असफलताले पनि तेन्जिङको आत्मविश्वास डगमगाउन सकेन । उनी शिखरमा पुगेपछि विजयको गर्विलो गर्जन गर्दैनन् । आफ्नी छोरीले दिएको सानो कोसेली हिउँमा गाडेर हात जोड्छन् । यस दृश्यले मानवीय अहंकारमाथि आध्यात्मिक समर्पणको जीतलाई निकै भावुक रूपमा उजागर गर्छ ।
सिनेमाको पर्दामा वास्तविक जीवनलाई उतार्दा केही नाटकीय र काल्पनिक रङ भर्नु स्वाभाविक मानिन्छ र ‘तेन्जिङ’ फिल्म पनि यसबाट पूर्णतः अछुतो छैन । एड डगलसको गैरआख्यान जीवनीमा आधारित भए तापनि पटकथाकार ल्युक डेभिसले कथालाई हलिउडको लोकप्रिय ‘अन्डरडग’ ढाँचामा ढाल्न केही घटनाहरूलाई काल्पनिक रूप दिएका छन् ।
उदाहरणका लागि, बाल्यकालमै तेन्जिङले प्रसिद्ध पर्वतारोही जर्ज मेलोरीसँग प्रत्यक्ष भेट गरेको र मेलोरीको बुट लगाएर केही पाइला हिँडेको दृश्य काल्पनिक हो । सन् १९२४ मा सगरमाथामा हराएका मेलोरीलाई तेन्जिङले कहिल्यै भेटेका थिएनन् । त्यसैले यो इतिहासभन्दा बढी सिनेम्याटिक आकर्षणका लागि सिर्जना गरिएको प्रसंग हो ।
त्यस्तै ब्रिटिश टिमभित्रको औपनिवेशिक विभेद र वर्गभेद ऐतिहासिक रूपमा सत्य भए पनि अभियान सचिव जिल हेन्डरसनले तेन्जिङको पक्षमा खुलेर लिएको अडान र ब्रिटिश आरोहीहरूबीचको संवादलाई आधुनिक दर्शकको संवेदनालाई छुन केही सरलीकृत र नाटकीय बनाइएको छ । काठमाडौंको लोकेसन स्थापित गर्नका लागि दरबार स्क्वेयरमा शेर्पाहरू गुन्टा बोकेर हिँडेको दृश्य पनि सुहाउँदो लाग्दैन ।
यी केही सिनेम्याटिक स्वतन्त्रताहरूका बाबजुद चलचित्रले तेन्जिङको मूल जीवन, उनको आत्मसम्मानको लडाइँ र हिलारीसँगको सच्चा मित्रताको ऐतिहासिक धरातललाई खासै तोडमरोड गरेको छैन ।
चलचित्रले स्थापित बायोग्राफीको परम्परागत ढाँचालाई पछ्याएको र केही ठाउँमा आवश्यकताभन्दा बढी भावुक बनेको भए तापनि हिमालको यथार्थपरक चित्रण र आध्यात्मिक गहिराइले ती साना कमजोरीहरूलाई छायामा पारिदिएको अनुभव हुन्छ । यो कुनै खोक्रो राष्ट्रवाद वा हिउँको रोमाञ्चमा रमाउने चलचित्र होइन । यो त तेन्जिङ नोर्गेले आफ्नो पहिचान र गरिमाका लागि प्रकृतिको सामीप्यमा गरेको आत्मिक तपस्याको कथा हो ।
हिमाललाई माया गर्ने, संघर्षको मूल्य बुझ्ने र आत्मसम्मानको खोजीमा रहने प्रत्येक दर्शकका लागि यो चलचित्र अविस्मरणीय अनुभव हो । तेन्जिङ नोर्गेको अदम्य साहस र चोमोलोङमाप्रतिको उनको पवित्र समर्पणलाई यस चलचित्रले दिएको यो श्रद्धाञ्जली प्रशंसनीय छ ।
This review was first published on Clickmandu.
