राजतन्त्रपछि गणतन्त्र अनि त्यसपछि निरंकुशतन्त्रको चक्र पश्चिममा दोहोरिएको इतिहासले नेपाललाई राम्रै पाठ पढाउने देखिन्छ ।
ईसापूर्व ७५३ देखि सन् ४७६ सम्ममा आइपुग्दा रोममा यी तीन व्यवस्था चलेका थिए । ईसापूर्व ७५३ देखि ५०९ सम्म राजतन्त्र, ईसापूर्व ५०९ देखि २७ सम्म गणतन्त्र र ईसापूर्व २७ देखि पतनको समय सन् ४७६ सम्म साम्राज्य वा निरंकुशतन्त्र विद्यमान थियो ।
फ्रान्समा सन् १९७९ मा आरम्भ भएको फ्रान्सेली क्रान्तिअघि निरंकुश राजतन्त्र, सन् १९९३ मा आधिकारिक रूपमा गणतन्त्रको घोषणा, सन् १७९९ देखि १८१४ सम्म नेपोलियनको निरंकुशतन्त्र, सन् १८१४ देखि १८३० सम्म संवैधानिक राजतन्त्र, त्यसपछि गणतन्त्र, फेरि केही समयका लागि राजतन्त्र, दोस्रो, तेस्रो, चौथो गरी अहिले चलिरहेको पाँचौं गणतन्त्र पनि देखियो ।
त्यस्तै आधुनिक जर्मनीको कुरा गर्नुपर्दा सन् १८७१ देखि १९१८ सम्म राजतन्त्र, सन् १९१८ देखि १९३३ सम्म वेमार गणतन्त्र र सन् १९३३ देखि १९४५ सम्म हिटलरको निरंकुशतन्त्र चलेको थियो । दोस्रो विश्वयुद्धमा पराजय भोगेर हिटलरको पतन भएपछि जर्मनीमा लोकतान्त्रिक संघीय गणतन्त्र स्थापना भयो र हालसम्म कायम छ ।
नेपालमा राजतन्त्रपछि गणतन्त्र आएको छ तर यसको सर्वस्वीकार्यतामा प्रश्न उठिरहेको छ । रोमनकालमा जस्तो गरी यो गणतन्त्र वस्तुगत रूपमा निरंकुशतन्त्रमा परिणत होस् भनी प्रत्यक्ष निर्वाचित कार्यकारीको माग उठिरहेको छ । अर्काथरी समूह संवैधानिक राजतन्त्रको पुनर्बहालीको माग गरिरहेका छन् । झन् अर्काथरी चाहिँ यही व्यवस्था कायम राख्ने तर यसमा धेरै परिवर्तन गरी दोस्रो गणतन्त्र बनाउने पनि भन्दैछन् ।
राजतन्त्रबाट गणतन्त्र र निरंकुशतन्त्रको यात्रामा रोमन, फ्रान्सेली र जर्मन शासकहरूमा साम्राज्य निर्माणको अभिलाषा थियो । नेपालको त्यसको कुनै सम्भावना छैन । यहाँको अबको बाटो भनेको कि त दोस्रो गणतन्त्र हो कि त संवैधानिक राजतन्त्र । तर, नेपाली जनताको अधीर र अस्थिर चरित्रका साथै जटिल भूराजनीतिका कारण त्यो व्यवस्था फ्रान्सेली इतिहासकै जस्तो गरी एकपछि अर्को, अनि फेरि अर्को भइरहने सम्भावना छ ।
