पश्चिम एसियामा भूराजनीतिक उथलपुथल, थप अशान्तिको संकेत

January 2, 2026
Featured image for “पश्चिम एसियामा भूराजनीतिक उथलपुथल, थप अशान्तिको संकेत”

हालैका दिनमा पश्चिम एसियामा विभिन्न भूराजनीतिक घटनाक्रम तीव्र गतिमा भइरहेका छन् ।

अफ्रिकामा इजरायलको साहसी कूटनीतिक कदम, खाडी शक्तिहरूबीचको गहिरिँदो मतभिन्नता, यमनमा देखिएको पृथक्तावादी लहर, इरानमा चर्किएको विरोध प्रदर्शन, सिरियामा इस्लामिक स्टेटले पुनरुत्थानका लागि गरिरहेको प्रयास र लेबननमा शक्तिसञ्चय गर्ने हिज्बोल्लाहको प्रयत्नले उक्त क्षेत्रको भूराजनीतिक परिदृश्य परिवर्तित भइरहेको संकेत दिन्छ ।

गत डिसेम्बर २६ मा इजरायलले ऐतिहासिक निर्णय गर्दै सोमालियाबाट छुट्टिएको क्षेत्र सोमालील्यान्डलाई औपचारिक रूपमा मान्यता दिएको छ । यसो गर्ने विश्वकै पहिलो देश इजरायल बन्यो ।

लामो समयदेखि सोमालील्यान्डसँग राम्रो सम्बन्ध रहेको इजरायलले कृषि, प्रविधि, अर्थतन्त्र र सुरक्षामा समेत साझेदारी गर्ने योजनाहरूमा जोड दिएको छ । यस कदमलाई अब्राहम सम्झौताको भावनाअनुरूप रहेको भनी इजरायलले प्रस्तुत गरेको छ ।

सोमालील्यान्डका राष्ट्रपति अब्दीरहमान मोहम्मद अब्दुल्लाहीले गत अक्टोबर महिनामै इजरायलको गोप्य भ्रमण गरेर प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, गुप्तचर निकाय मोसादका प्रमुख डेभिड बार्निया र रक्षामन्त्री इजरायल काट्जलाई भेटेको च्यानल १२ ले खुलासा गरेको थियो । इरानको समर्थनप्राप्त हूतीहरूको शासन रहेको यमनबाट सोमालील्यान्ड नजिकै पर्ने भएकाले त्यहाँ आफ्नो सुरक्षा व्यवस्थापन गर्नका लागि इजरायलले यो कदम चालेको हो ।

तर, इजरायलको यस कदमले उक्त क्षेत्रका देशका साथै बाहिरी शक्तिबाट तत्काल र कडा प्रतिक्रिया निम्त्यायो । साउदी अरब, इजिप्ट र कुवेत लगायतका अरब राष्ट्रहरूले यस मान्यतालाई अन्तर्राष्ट्रिय कानूनको खतरनाक उल्लंघन र सोमालियाको अखण्डता र सार्वभौमसत्ताका लागि खतरा भन्दै निन्दा गरे ।

इस्लामिक सहयोग संगठन (ओआईसी) र अफ्रिकी संघले पनि यस घोषणालाई अस्वीकार गर्दै यसले हर्न अफ अफ्रिका र लाल सागरमा अस्थिरता ल्याउन सक्ने चेतावनी दिएका छन् । सोमालियाको संसद्ले इजरायलको निर्णयलाई अमान्य घोषणा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ताको सबैभन्दा ठूलो उल्लंघन भनेको छ । तर, सोमालियालाई थप चिन्ता दिने गरी अर्धस्वायत्त भूभाग पन्टल्यान्डलाई पनि शक्तिराष्ट्रहरूले टुक्य्राइदिने सम्भावना रहेको बताइन्छ ।

इजरायलको यस कदमको भूरणनीतिक कारणको बारेमा पंक्तिकारले पहिल्यै विस्तारमा लेखिसकेको छ ।

खतरनाक कुरा त, इजरायल र अन्य शक्तिराष्ट्रहरूले प्रभाव देखाउन खोजेको बाब अल–मान्देब र हर्मुज जलसंयोजक क्षेत्रमा पानीमा विस्फोट गर्न मिल्ने आईईडी र जलसैनिक बारुदी सुरुङको जोखिम बढ्दै गएको सुरक्षा विश्लेषकहरू बताउँछन् । यसले उच्च बिमा लागतलाई कायम राख्दै विश्वव्यापी ऊर्जा आपूर्ति शृंखलामा बाधा पुर्याउने देखिएको छ ।

यसैबीच यमनमा पनि ठूलै हलचल भइरहेको छ । यमनमा सन् २०१४ मा सुरु भएको विनाशकारी गृहयुद्धले मानवीय संकट निम्त्याएको छ । तर, सन् २०२५ को अन्त्यमा यमन नयाँ मोडमा पुगेको छ । संयुक्त अरब अमिरात (युएई) को समर्थन रहेको पृथक्तावादी आन्दोलन समूह सदर्न ट्रान्जिसनल काउन्सिल (एसटीसी) ले हद्रमौत र अल–माहरा जस्ता प्रमुख प्रान्तहरू सहित दक्षिण र पूर्वी यमनका धेरै भागहरूमा आफ्नो नियन्त्रण तीव्र रूपमा बढाउँदै लगेको छ ।

पृथक्तावादीहरूको यस्तो रणनीतिक प्रगतिले परम्परागत गठबन्धनहरूलाई अस्थिर बनाएको छ । साउदी अरबले लामो समयदेखि इरानको समर्थनप्राप्त हूतीहरू विरुद्धको गठबन्धनको नेतृत्व गरेको थियो र नाम मात्रको एकीकृत यमनी सरकारलाई समर्थन गरेको थियो । कुनै बेलामा हूतीहरूको विरुद्धमा साउदीको तर्फबाट लडिरहेको एसटीसीले यूएईको समर्थनमा विगत तीन वर्षदेखि दक्षिणी भागमा पृथक्तवादी आन्दोलनलाई तीव्रता दिएपछि साउदी अरब सशंकित बन्दै गएको छ । यमनी एकतालाई कमजोर बनाउने र साउदीको सीमा सुरक्षालाई जोखिममा पार्ने पृथक्तावादी आन्दोलनलाई यूएईले समर्थन गरेको आरोप साउदी सरकारले लगाएको छ ।

यमनीहरूका लागि साउदी र यूएईबीचको भूराजनीतिक प्रतिस्पर्धा सार्वभौमसत्तामाथिको जोखिम हो । यमनको दक्षिणी भागमा एसटीसीले स्वायत्तता वा स्वतन्त्रताको प्रयास गर्दा यमन स्थायी रूपमा विभाजित हुने डर बढेको छ

त्यसलाई रोक्ने उद्देश्यका साथ साउदी नेतृत्वको गठबन्धनले यमनको बन्दरगाह शहर मुकाल्लामा मंगलबार (३० डिसेम्बर) हवाई आक्रमण समेत गरेको थियो । त्यहाँ एसटीसीका सैन्य बलहरूका लागि लैजाँदै गरिएको हतियारको ढुवानीलाई निशाना बनाइएको साउदीको दाबी छ । साउदीको यस कदमपछि युएईले प्रतिआतंकवादी कारवाहीका लागि गरिरहेको सहयोग रोकेको छ । लगत्तै युएईले यमनबाट आफ्ना बाँकी सैनिकहरू फिर्ता गर्ने योजनाको घोषणा गरेको छ । यो प्रतीकात्मक तर महत्त्वपूर्ण कदम हो र यसले साउदी अरब तथा यूएई अब एउटै लयमा नरहेको कुरालाई स्पष्ट पारेको छ।

खाडीका दुई शक्तिराष्ट्रबीचको यस दरारले ठूलो अर्थ राख्छ । साउदी अरब र युएईले कुनै समय यमन युद्धदेखि कतारमाथिको प्रतिबन्ध र मध्यपूर्व तथा अफ्रिकाभरिका आर्थिक लगानीसम्मका क्षेत्रीय नीतिमा समन्वय गरेका थिए । तिनीहरूबीच अहिले चलेको विवादले प्रतिस्पर्धी दृष्टिकोणहरूलाई प्रकट गर्दछ । साउदी अरब आफ्नो छिमेकमा विद्यमान राज्य संरचना र आफ्नै सुरक्षाघेरा कायम राख्न चाहन्छ । तर, यूएई स्थानीय प्रतिनिधि र आर्थिक आधारहरूमार्फत यमन, हर्न अफ अफ्रिका र लिबियामा समेत प्रभाव जमाउने क्षेत्रीय रणनीतिलाई अगाडि बढाउन खोज्दैछ ।

यमनीहरूका लागि साउदी र यूएईबीचको भूराजनीतिक प्रतिस्पर्धा सार्वभौमसत्तामाथिको जोखिम हो । यमनको दक्षिणी भागमा एसटीसीले स्वायत्तता वा स्वतन्त्रताको प्रयास गर्दा यमन स्थायी रूपमा विभाजित हुने डर बढेको छ । वर्षौंको गृहयुद्ध र विदेशी हस्तक्षेपले जर्जर भइसकेको यमनले पृथक्तावादी आन्दोलन झेल्न कठिन छ । दक्षिणमा भइरहेको एकतर्फी प्रगतिले कूटनीतिक समाधानलाई अझ कठिन बनाउन सक्ने विश्लेषकहरूले चेतावनी दिएका छन् ।

इजरायल, साउदी अरब र यूएईले अन्य मुलुकहरूमा भूराजनीतिक खेल खेलिरहँदा इरानीहरू सत्ताविरुद्ध संघर्ष गरिरहेका छन् । आर्थिक कठिनाइ र खस्किँदो जीवनस्तरका कारण ठूलो संख्यामा इरानीहरू विभिन्न शहरमा व्यापक विरोध प्रदर्शन गरिरहेका छन् । महँगी आकाशिएको छ, राष्ट्रिय मुद्रा कीर्तिमान स्तरमा झरेको छ र धेरैका लागि खाद्यान्न र अत्यावश्यक वस्तुहरू समेत किन्न कठिन हुन थालेको छ ।

सन् २०२५ मा महँगीदर ५० प्रतिशतभन्दा बढी छ भने इरानी मुद्रा रियालको मूल्य सन् २०२२ को तुलनामा ६० प्रतिशतले घटेको छ । युवा बेरोजगारी करिब २८ प्रतिशत छ । जीवनयापन खर्चको तुलनामा तलब निकै कम छ । खाद्यसामग्री, स्वास्थ्य सेवा, आवास र ऊर्जाको मूल्य आयभन्दा निकै द्रुत गतिमा बढिरहेको छ ।

तेहरानका व्यापारिक क्षेत्रहरूबाट सुरु भएको अशान्ति अन्य प्रमुख शहरहरूमा समेत फैलिएको छ । विरोध प्रदर्शनमा व्यापारी, विद्यार्थी र कामदारहरू सहभागी छन् ।

आर्थिक असन्तुष्टिका कारण सुरु भएको आन्दोलनका सहभागीहरूले सत्ताविरोधी नाराहरू लगाइरहेका छन् । उनीहरू गहिरो राजनीतिक परिवर्तनको माग गरिरहेका छन् । आयातोल्लाहको इस्लामिक गणतन्त्रलाई फालेर फेरि राजतन्त्र ल्याउनुपर्ने मागहरू समेत उठेका छन् । त्यसलाई सन् १९७९ मा सत्ताच्युत भएका राजा मोहम्मद रेजा पहलवीका छोरा रेजा पहलवीले समर्थन गरेका छन् । हडताल, सडकमा भइरहेका प्रदर्शन र सुरक्षाकर्मीहरूसँगको झडप बढ्दै गएका छन् । यो प्रदर्शन सन् २०२२ मा महसा अमिनीको मृत्युपछि भएको प्रदर्शनयताकै सबैभन्दा ठूलो सरकारविरोधी आन्दोलन बनेको छ ।

इरान सरकारले विगतमा जस्तै विरोध प्रदर्शनमाथि दमन गरिरहेको छ तर यसपालि प्रदर्शनकारीहरूसँग वार्ता गर्ने लचकता देखाएको छ । देशमा विद्यमान मुद्रा संकट समाधान गर्न केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त गरिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी अशान्ति नियन्त्रण गर्ने प्रयास पनि गरिरहेको छ । तैपनि प्रदर्शनका क्रममा ७ जनाको मृत्यु भइसकेको छ ।

भूराजनीतिक रूपमा यो किन महत्त्वपूर्ण छ ? इरान पश्चिम एसियाको महत्त्वपूर्ण शक्तिराष्ट्र हो । लेबननमा हिजबुल्लाह र इराक तथा सिरियामा मिलिसियाहरूलाई समर्थन गरिरहेको इरानले यमनमा हूतीहरूसँग रणनीतिक गठबन्धन गरेको छ । इरानमा आन्तरिक अस्थिरता बढेमा अन्यत्र शक्तिप्रदर्शन गर्ने उसको क्षमता कमजोर बन्दै जान्छ । उसले समर्थन गरिरहेका शक्तिलाई हातहतियार र अन्य सहयोग दिन नसकेमा विभिन्न स्थानमा भइरहेका द्वन्द्वहरूको सन्तुलन परिवर्तन हुन सक्छ ।

कमजोर हुँदाहुँदै पनि इरानले ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन बढाउन खोजिरहेको छ । इजरायलसँगको युद्ध र अमेरिकाको आक्रमणका कारण इरानका हतियार उत्पादन केन्द्रहरू नष्ट भए पनि इरानले बाह्य साझेदारहरूबाट ठोस–इन्धन प्रोपेलेन्टका लागि नयाँ प्लानेटरी मिक्सरहरू सफलतापूर्वक खरिद गरेको बताइन्छ

हुन त इजरायलसँग गत जुन महिनामा भएको द्वन्द्वका साथै इजरायलले लेबननमा हिज्बोल्लाहका शीर्ष नेताहरूलाई सिध्याएपछि इरान कमजोर बनेको छ ।

यस अवस्थामा इरानको कमजोरीको फाइदा उठाउनका लागि अमेरिका, इजरायल र अन्य शक्तिहरू प्रेरित हुन सक्छन् । तर, त्यसको परिणाम उल्टो हुन सक्छ किनकि बाह्य शक्तिको दबाब युद्धमा परिणत भएको खण्डमा इरानले आफ्ना जनतालाई शत्रुविरुद्ध लड्नका लागि एकताबद्ध गराउने मौका पाउँछ । यसले पश्चिम एसियाको तनावलाई समाधान गर्नुको साटो थप बढाउन सक्छ ।

कमजोर हुँदाहुँदै पनि इरानले ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन बढाउन खोजिरहेको छ । इजरायलसँगको युद्ध र अमेरिकाको आक्रमणका कारण इरानका हतियार उत्पादन केन्द्रहरू नष्ट भए पनि इरानले बाह्य साझेदारहरूबाट ठोस–इन्धन प्रोपेलेन्टका लागि नयाँ प्लानेटरी मिक्सरहरू सफलतापूर्वक खरिद गरेको बताइन्छ ।

इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले क्षेप्यास्त्र उत्पादनमा जोड दिएको देख्दा संख्यात्मक मात्राद्वारा प्रतिरोधको रणनीतिलाई संकेत गर्छ । भविष्यको द्वन्द्वमा इजरायली र अमेरिकी मिसाइल रक्षा प्रणालीहरूलाई परास्त गर्नु यस रणनीतिको उद्देश्य हो । यसले कुनै पनि कूटनीतिक जोखिम न्यूनीकरण प्रयासलाई थप खुम्च्याउने सम्भावना छ ।

यसबाहेक सिरियामा आतंकवादी सगठन इस्लामिक स्टेट (आईएस) को पुनरुत्थान पश्चिम एसियाको सुरक्षा खतराका रूपमा उदाएको छ । विगतमा सिरिया र इराकका भूभाग समेटेर क्यालिफेट बनाएको आईएसले गतिशील र विकेन्द्रीकृत विद्रोही शक्तिको रूपमा रूपान्तरण गरेको छ । सिरियाको बादियामा सुरक्षा शून्यता र इराकको सीमा क्षेत्रमा भएको विभाजनको फाइदा उठाउँदै आईएसले बशर अल असद शासनको पतनपछि परित्यक्त भारी हतियारहरूको ठूलो भण्डारमा नियन्त्रण कायम गरेको छ ।

सिरियाका बहालवाला शासक अहमद अल–शारा र सिरिया सरकारलाई लक्षित गरी जिहादी कारवाहीको चेतावनी दिएका छन् । आगामी केही दिन वा महिनामा सिरियाका शहरी केन्द्रहरूमा ठूलो स्तरको आक्रमण हुन सक्ने सम्भावना छ ।

उता, लेबननमा कमजोर भए पनि हिजबुल्लाहको उपस्थिति कायमै छ । लेबननी सशस्त्र बल संयुक्त राष्ट्रसंघको समर्थनमा हिज्बुल्लाहको निःशस्त्रीकरणको कार्यादेश कार्यान्वयन गर्न राजनीतिक र सैन्य दुवै रूपमा अक्षम छ । यस्तो स्थितिमा इजरायललाई लेबननमा आक्रमणका लागि वातावरण सिर्जना गरेको छ । हिजबुल्लाहले लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्ने क्षमता पुनः प्राप्त गर्ने प्रयास गरेमा इजरायलले कठोर सैन्य कदम चाल्नेछ । त्यसले गर्दा ‘ब्लु लाइन’ मा निरन्तर ससानो स्तरको सैन्य संघर्षको स्थिति कायम रहनेछ ।

यी घटनाक्रमले पश्चिम एसियामा आगामी महिनाहरू थप अशान्त बन्ने संकेत दिएका छन् । तिनको कूटनीतिक व्यवस्थापन गर्न नसकिएमा अर्को विनाशकारी युद्धको सम्भावनालाई नकार्न सकिन्न

त्यस्तै, गत अक्टोबरमा इजरायल र हमासबीच भएको युद्धविरामपछि गाजापट्टी अझै पनि पूर्ण समाधानको प्रतीक्षामा छ । सुधारिएको प्यालेस्टाइनियन अथोरिटीको निर्माण रोकिँदा जसले सुरक्षा शून्यता उत्पन्न भएको छ । हमासका बाँकी रहेका गुट र स्थानीय समूहहरूले प्यालेस्टाइनीहरूलाई सहायता वितरणमा अधिकारका लागि प्रतिस्पर्धा गरे ।

इजरायलका सुरक्षाबलहरूले स्थापना गरेको येलो लाइन निरन्तर विवादको विषय बनिरहेको छ । विशाल स्तरको पुनर्निर्माण पहलको अभावले निरन्तर विद्रोहलाई बढावा दिइरहेको छ । आगामी केही महिनामा यो तीव्र शहरी युद्धमा परिणत हुन सक्ने सुरक्षा विश्लेषकहरूले चेतावनी दिएका छन् ।

यी घटनाक्रमले पश्चिम एसियामा आगामी महिनाहरू थप अशान्त बन्ने संकेत दिएका छन् । तिनको कूटनीतिक व्यवस्थापन गर्न नसकिएमा अर्को विनाशकारी युद्धको सम्भावनालाई नकार्न सकिन्न ।

This article was first published on Clickmandu.


Share:

Leave a Reply