
मानव सभ्यताको इतिहास वास्तवमा प्रकाशको खोजी र त्यसको रहस्योद्घाटनको यात्रा हो । आदिम युगमा बाह्य प्रकृतिको अन्धकार चिर्न सल्काइएको आगोदेखि आधुनिक विज्ञानले मानव मस्तिष्कको सूक्ष्म तन्तुभित्र किरण पठाएर विचार र संवेगलाई नियन्त्रण गर्नेसम्मको यात्रा प्रकाशकै महिमामा आधारित छ ।
यसै ऐतिहासिक सन्दर्भमा सन् २०२६ का लागि शरीरक्रियाविज्ञान (फिजियोलोजी) वा चिकित्सा (मेडिसिन) तर्फको नोबेल पुरस्कार प्रकाश–आनुवंशिकी अर्थात् ‘अप्टोजेनेटिक्स’ को क्षेत्रमा युगान्तकारी खोज गर्ने तीन वैज्ञानिकहरू कार्ल डाइसेरोथ, पिटर हेगेमान र जर्ज नागेललाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा गरिएको छ ।
यस प्रविधिले जैविक कोषहरू, विशेषगरी मस्तिष्कका स्नायुकोष (न्युरोन) हरू, लाई प्रकाशको सहायताले सक्रिय वा निष्क्रिय बनाउने चमत्कारिक ढोका खोलिदिएको छ । रोचक कुरा के छ भने आधुनिक विज्ञानले आज प्रयोगशालामा प्रकाशको माध्यमबाट मस्तिष्कको चेतना, स्मृति र व्यवहारलाई बुझ्ने जुन विधि विकास गरेको छ त्यसको दार्शनिक र आध्यात्मिक प्रतिध्वनि हजारौं वर्ष पुराना हिन्दू चिन्तन, वैदिक मन्त्र र श्रीमद्भगवद्गीताका श्लोकहरूमा प्रस्ट रूपमा सुनिन्छ ।
अप्टोजेनेटिक्सको विकास आधुनिक जीवविज्ञानको सबैभन्दा क्रान्तिकारी फड्कोहरूमध्ये एक मानिन्छ । बीसौं शताब्दीसम्म वैज्ञानिकहरूका लागि मानव मस्तिष्क अत्यन्त जटिल, रहस्यमयी र अभेद्य अँध्यारो बाकसजस्तै थियो । मस्तिष्कभित्र अर्बौंको संख्यामा रहेका न्युरोनहरू आपसमा कसरी विद्युतीय संकेतहरू आदानप्रदान गर्छन्, कसरी एउटा सानो विचारले पूरै शरीरलाई कम्पित बनाउँछ र मानसिक रोगहरूका पछाडि कुन विशिष्ट स्नायु सञ्जाल जिम्मेवार हुन्छ भन्ने कुरा स्पष्ट रूपमा छुट्ट्याउन सम्भव थिएन ।
पारम्परिक औषधि वा विद्युतीय इलेक्ट्रोडले मस्तिष्कका धेरै भागलाई एकैपटक असर गर्थे । त्यसले गर्दा कुनै खास स्नायुको यकिन भूमिका पहिचान गर्न सकिँदैनथियो । यही जटिलताको अन्त्य गर्न अप्टोजेनेटिक्सले प्रकाशलाई एउटा अति सूक्ष्म शल्यक्रियात्मक औजारका रूपमा प्रस्तुत ग¥यो ।
यस वैज्ञानिक क्रान्तिको जग एउटा सूक्ष्म, एककोषीय लेउबाट सुरु भएको थियो । जर्मन वैज्ञानिक पिटर हेगेमान र जर्ज नागेलले उक्त लेउमा प्रकाशप्रति संवेदनशील हुने विशेष प्रकारको प्रोटिन पत्ता लगाए जसलाई ‘च्यानलरोडोप्सिन’ नाम दिइयो ।
सामान्यतया कोषहरूको बाहिरी झिल्लीमा रहेका आयन च्यानलहरू रासायनिक वा विद्युतीय परिवर्तनबाट खुल्ने गर्छन् तर च्यानलरोडोप्सिन भने नीलो प्रकाश पर्नासाथ तुरुन्तै खुल्थ्यो र कोषभित्र धनात्मक आयनहरूको प्रवाह गराउँथ्यो ।
यसपछि अमेरिकी वैज्ञानिक तथा मनोचिकित्सक कार्ल डाइसेरोथले यस प्रकाश–संवेदनशील प्रोटिनको जीनलाई मुसाको मस्तिष्कका निश्चित न्युरोनहरूमा सफलतापूर्वक प्रत्यारोपण गरे । ती स्नायुकोषहरूमा अप्टिकल फाइबरमार्फत नीलो प्रकाश हालिएपछि ती न्युरोनहरू तत्काल सक्रिय भए ।
प्रकाशको एउटा सानो किरणले जीवित प्राणीको मस्तिष्कभित्रको विद्युतीय धारालाई स्विच अन र अफ गरेझैं नियन्त्रण गर्न सकिने यो अभूतपूर्व उपलब्धि नै अप्टोजेनेटिक्स बन्यो । यसले आज अल्जाइमर्स, पार्किन्सन्स, डिप्रेसन, छारेरोग र दृष्टिहीनता जस्ता गम्भीर स्नायु रोगहरूको उपचारमा नयाँ क्षितिज उघारेको छ ।
विज्ञानले खोपडीको गहिरो अन्धकारभित्र प्रकाश छिराएर जीवनको रहस्य उजागर गरिरहँदा यसले सनातन हिन्दू दर्शनको प्रकाश–केन्द्रित दृष्टिलाई पुनः स्मरण गराएको छ । हिन्दू दर्शनमा प्रकाश फोटोन कण वा भौतिक तरंग मात्र होइन । यो त प्रकाश चेतना, ज्ञान, जीवन र परमात्माको साक्षात् स्वरूप हो ।
उपनिषद्को प्रसिद्ध उद्घोष ‘तमसो मा ज्योतिर्गमय’ अर्थात् मलाई अन्धकारबाट प्रकाशतर्फ डोहो¥याऊ भन्ने प्रार्थना बाह्य अँध्यारो हटाउने कामना मात्र होइन । यो अज्ञानताको आन्तरिक अन्धकारलाई चिरेर बुद्धिको ज्योति जगाउने शाश्वत तृष्णा हो ।
मस्तिष्कको गहिराइमा प्रकाश पुग्दा निष्क्रिय स्नायुहरू ब्युँझिन्छन् र जीवन सञ्चालित हुन्छ भन्ने कुरा मस्तिष्क विज्ञानले आज प्रमाणित गरेको छ । यो खोज प्राचीन ऋषिमनीषीहरूले ध्यानको गहिराइमा महसुस गरेको चेतनाको प्रकाशमय प्रकृतिको भौतिक अभिव्यक्ति जस्तै देखिन्छ ।
हिन्दू परम्परामा प्रकाशको यही सर्वोच्च भूमिकालाई सबैभन्दा गहिरो रूपमा ऋग्वेदमा वर्णित ‘गायत्री मन्त्र’ ले अभिव्यक्त गरेको छ । मन्त्रको मुख्य अंश ‘तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात्’ ले सूर्यको भौतिक तेज मात्र नभई सम्पूर्ण सृष्टिलाई गति दिने सविता देवताको त्यो दिव्य प्रकाशको ध्यान गर्छ जसले हाम्रो बुद्धिलाई सत्कर्म र ज्ञानतर्फ उत्प्रेरित गर्छ ।
यहाँ प्रयोग भएको ‘सविता’ शब्दले उत्पादक, प्रेरक र जीवनदाता शक्तिलाई जनाउँछ भने ‘भर्गः’ शब्दले सम्पूर्ण पाप, अज्ञान र अन्धकारलाई भस्म गर्ने तेजोमय प्रकाशलाई संकेत गर्छ । सबैभन्दा महत्त्वपूर्ण पद ‘धियो यो नः प्रचोदयात्’ हो । हाम्रो बुद्धि, चिन्तन र आन्तरिक प्रज्ञालाई त्यो प्रकाशले सक्रिय बनाओस् भन्ने यसको अर्थ हो ।
गायत्री मन्त्रको यो आध्यात्मिक आकांक्षा र अप्टोजेनेटिक्सको कार्यप्रणालीबीच अनौठो र गहिरो तादात्म्य देखिन्छ । अप्टोजेनेटिक्समा बाह्य प्रकाशको विकिरणले स्नायुकोषको जैविक ढोका खोलेर विचार, स्मृति र कर्मलाई दिशानिर्देश गर्छ । उता, गायत्री साधनाले ब्रह्माण्डीय प्रकाश शक्तिलाई अन्तरमनमा आह्वान गरेर मस्तिष्कका सूक्ष्म केन्द्रहरू, तन्त्रिका र बुद्धिलाई जाग्रत गराउने विश्वास गरिन्छ ।
सनातन परम्परामा सूर्यलाई सम्पूर्ण जगतको आत्मा (‘सूर्य आत्मा जगतस्तस्थुषश्च’) मानिएको छ र गायत्री मन्त्रमार्फत सूर्यको तेजले मानवीय स्नायु–चेतनालाई जगाउने प्रार्थना गरिन्छ । आज आधुनिक प्रयोगशालामा प्रकाशकै किरणद्वारा मस्तिष्कको स्नायु सञ्जाललाई उत्प्रेरित गरी व्यवहार रूपान्तरण गरिएको छ । डिप्रेसनबाट बच्नका लागि सूर्यको प्रकाशमा केही समयका लागि बस्न आधुनिक विज्ञानले समेत सुझाव दिने गरेको छ ।
यी दुई घटनाक्रमहरूमा भाषा फरक भए पनि यी एउटै सत्यका दुई पाटा जस्ता प्रतीत हुन्छन् । अन्धकारमा रहेको मस्तिष्कलाई क्रियाशील र शुद्ध बनाउन प्रकाश नै सर्वोत्तम प्रेरक माध्यम हो भन्ने कुरा दुवैले अन्ततः स्वीकार गर्छन् ।
प्रकाश र चेतनाको यस सम्बन्धलाई अझ बृहत् र विस्मयकारी रूपमा श्रीमद्भगवद्गीताको एघारौं अध्यायमा वर्णित श्रीकृष्णको ‘विश्वरूप दर्शन’ मा अनुभव गर्न सकिन्छ । कुरुक्षेत्रको युद्धभूमिमा विषादग्रस्त अर्जुनलाई भगवान् श्रीकृष्णले आफ्नो विराट, ब्रह्माण्डीय रूप देखाउनुहुँदा त्यस दृश्यको वर्णन गर्न वेदव्यासले प्रकाशको चरम उपमा प्रयोग गर्नुभएको छ ।
गीताको एघारौं अध्यायको बाह्रौं श्लोकमा भनिएको छः ‘दिवि सूर्यसहस्रस्य भवेद्युगपदुत्थिता, यदि भाः सदृशी सा स्याद्भासस्तस्य महात्मनः’ अर्थात् आकाशमा एकैसाथ हजारौं सूर्यहरूको उदय भएर जुन महाप्रकाश उत्पन्न हुन्छ, त्यो प्रकाश परमात्माको त्यस विराट रूपको तेजसँग तुलनायोग्य हुन सक्छ ।
अर्जुनले त्यो दृश्य सामान्य चर्मचक्षुले देख्न सक्दैनथे । त्यसैले श्रीकृष्णले उनलाई ‘दिव्यचक्षु’ प्रदान गर्नुभएको थियो । त्यो दिव्यचक्षु वास्तवमा चेतनाको उच्च जागरण थियो जसले हजारौं सूर्यको प्रकाशलाई आत्मसात गर्न सक्थ्यो ।
विश्वरूप दर्शनको यो ‘हजारौं सूर्यको प्रकाश’ साहित्यिक अलंकार मात्र होइन । यो सृष्टिको ऊर्जा–संरचना र ज्ञानको पराकाष्ठाको प्रकटीकरण हो । अर्जुनले त्यो महाप्रकाशमा परमात्मालाई मात्र नदेखेर सम्पूर्ण ब्रह्माण्डका भूत, वर्तमान र भविष्यका घटनाहरू, सबै प्राणीहरू र तिनीहरूको उत्पत्ति तथा विनाशको अनन्त जाललाई एकैसाथ देख्छन् । त्यसपछि उनको विषाद (डिप्रेशन) हराएर जान्छ र उनी कुरुक्षेत्रको युद्ध लड्न उद्यत हुन्छन् ।
आधुनिक स्नायुविज्ञानको भाषामा भन्ने हो भने मानव मस्तिष्कभित्र करिब ८६ अर्ब न्युरोनहरू हुन्छन् र तिनीहरूबीच सयौं खर्ब साइन्याप्टिक सम्बन्धहरू हुन्छन् । यो सूक्ष्म मस्तिष्क आफैंमा एउटा सानो ब्रह्माण्ड हो । विगतमा यो ब्रह्माण्ड अन्धकारमा थियो । त्यहाँ कुन विचार कहाँबाट उत्पन्न भयो र कुन संवेग कसरी प्रकट भयो भन्ने जान्न असम्भव थियो ।
तर, अप्टोजेनेटिक्सको विकासपछि वैज्ञानिकहरूले प्रकाशका स्पन्दनहरूद्वारा त्यो मस्तिष्करूपी ब्रह्माण्डका एक–एक स्नायु तन्तुलाई उज्यालो बनाएर हेर्न र नियन्त्रण गर्न थालेका छन् । जसरी हजारौं सूर्यको प्रकाशले अर्जुनको अगाडि ब्रह्माण्डको सम्पूर्ण संरचना छर्लंग पारिदिएको थियो, त्यसरी नै अप्टोजेनेटिक्सको प्रकाशले वैज्ञानिकहरूलाई मस्तिष्कभित्रका अदृश्य सर्किटहरू प्रत्यक्ष अवलोकन गर्ने ‘आधुनिक दिव्यचक्षु’ प्रदान गरेको छ ।
हिन्दू दर्शनमा सूर्यलाई ताप दिने पिण्डका रूपमा मात्र नभई सम्पूर्ण नाडीमण्डलको नियन्त्रकका रूपमा समेत हेरिन्छ । योगशास्त्रका अनुसार, मानव शरीरमा रहेका हजारौं नाडीहरूमध्ये ‘पिङ्गला’ नाडीलाई सूर्य नाडी भनिन्छ जसले जीवनशक्ति, उत्साह र शारीरिक गतिविधिलाई नियन्त्रण गर्छ ।
अप्टोजेनेटिक्सको सिद्धान्तलाई हेर्दा त्यहाँ पनि जैविक कोषमा प्रकाश पठाएर जीवन–ऊर्जालाई नियन्त्रण गरिन्छ । वनस्पति र लेउहरूले सूर्यको प्रकाश सोसेर खाना बनाउने (प्रकाश–संश्लेषण) क्षमताबाट सुरु भएको जीवनको विकासक्रमले आज मानव मस्तिष्कलाई नै प्रकाशप्रति संवेदनशील बनाउने स्तरसम्मको छलाङ मारेको छ ।
प्रकाशले पदार्थलाई जीवन दिन्छ र त्यही प्रकाशले जीवनभित्र चेतनाको सञ्चार गराउँछ भन्ने वैदिक ऋचाको मर्मलाई अप्टोजेनेटिक्सले प्रयोगशालाको परीक्षण नली र अप्टिकल फाइबरमार्फत भौतिक रूपमै सिद्ध गरिदिएको छ ।
यस दृष्टिले हेर्दा सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना पश्चिमी वैज्ञानिकहरूको व्यक्तिगत सफलता वा प्रयोगशाला प्रविधिको उत्सव मात्र होइन । यो मानव इतिहासको त्यो क्षण हो जहाँ भौतिक विज्ञान र अध्यात्म दर्शनको सीमारेखा धमिलो बन्न पुगेको छ ।
शताब्दियौंदेखि पूर्वीय ऋषिहरूले ध्यानको गहिराइमा अनुभव गरेको ‘अन्तर्ज्योति’ र पश्चिमी वैज्ञानिकहरूले वस्तुगत प्रमाणका आधारमा पुष्टि गरेको ‘अप्टिकल न्युरोमोड्युलेसन’ एउटै गन्तव्यका दुई फरक बाटाहरू हुन् । गायत्री मन्त्रले जुन प्रकाशलाई बुद्धिको प्रेरणा मान्यो र गीताले जुन हजारौं सूर्यको तेजलाई सम्पूर्ण अस्तित्वको उद्गम र लयको आधार देखायो, आज अप्टोजेनेटिक्सले त्यही प्रकाशलाई कोषको स्तरमा लगेर मानव मस्तिष्कको दुःख, भ्रम र रोगहरू निवारण गर्ने साधन बनाएको छ ।
मानव जातिले बाह्य प्रकृतिको प्रकाशलाई बुझ्न हजारौँ वर्ष लगायो तर आफ्नै खोपडीभित्रको अँध्यारोलाई उज्यालो बनाउन उसले भर्खरै मात्र सिकेको छ । हामी वास्तवमा प्रकाशकै सन्तान हौं, हाम्रा आँखाहरू प्रकाश ग्रहण गर्न बनेका हुन्, हाम्रा कोषहरू प्रकाशको तालमा चल्छन् र हाम्रा विचारहरू पनि प्रकाशकै तरंगहरूबाट उत्प्रेरित हुन सक्छन् भन्ने तथ्यलाई अप्टोजेनेटिक्सले हामीलाई स्मरण गराउँछ ।
विज्ञानले जैविक कोषहरूलाई प्रकाशको भाषा बोल्न सिकाएपछि यसले प्राचीन वैदिक दृष्टिलाई नयाँ अर्थ प्रदान गरेको छ । अन्धकारबाट प्रकाशतर्फको यो यात्रा अब केवल आध्यात्मिक संकल्पमा मात्र सीमित रहेन । यो रोगमुक्त, सचेत र प्रदीप्त मानव मस्तिष्क निर्माण गर्ने वैज्ञानिक यथार्थ बनिसकेको छ ।
गायत्रीको सविता, कृष्णको सहस्र सूर्य र अप्टोजेनेटिक्सको लेजर किरण यी सबैले अन्ततः एउटै सार्वभौम सत्यलाई उद्घोष गर्छन्ः प्रकाश नै जीवन हो, प्रकाश नै ज्ञान हो र प्रकाश नै मुक्तिको साधन हो ।
