यी हुन् सन् २०२५ का प्रमुख भूराजनीतिक तथा भूआर्थिक घटनाक्रम

December 31, 2025
Featured image for “यी हुन् सन् २०२५ का प्रमुख भूराजनीतिक तथा भूआर्थिक घटनाक्रम”

सन् २०२५ भूराजनीतिको लागि गहकिलो वर्ष रहेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प सत्तामा फर्केपछि विश्वव्यापी गठबन्धन हल्लेका छन् । विश्वका विभिन्न स्थानमा द्वन्द्वहरू चर्किएका छन् । नयाँ भौतिक र प्राविधिक शक्तिहरूको उदय भएको छ ।

यहाँ प्रमुख भूराजनीतिक तथा भूआर्थिक घटनाको संक्षिप्त चर्चा गरिएको छ ।

ट्रम्पको व्यापारयुद्ध
मुक्ति दिवस (लिबरेशन डे) सम्झनुहुन्छ? गत अप्रिल २ मा ट्रम्पले अफगानिस्तानदेखि जिम्बाब्वेसम्मका देशहरूको आयातमा व्यापक भन्सार शुल्कहरू घोषणा गरेका थिए । त्यसले अमेरिकाको औसत भन्सार शुल्क दरलाई सन् १९३० को दशकपछिकै उच्च स्तरमा पुर्याएको थियो ।

यसले विश्व व्यापारलाई झट्का दियो तर त्यो विनाशकारी साबित भएन। भन्सार शुल्कले विश्व अर्थतन्त्रलाई ध्वस्त पारेन । त्यसक्रममा कूटनीतिक सम्बन्धहरूको परीक्षण भयो, आपूर्ति श्रृंखलाहरू युद्धमैदान बने र चीनसँगको जस्तालाई तस्तै (टिट फर ट्याट) व्यापारयुद्धले विश्व बेइजिङमा कति निर्भर छ भन्ने कुरा उजागर गर्यो ।

ट्रम्पले चिनियाँ उत्पादनहरूमा २५ प्रतिशतदेखि १४५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिए । त्यसले वित्तीय बजारलाई हल्लाइदियो । चीनले महत्त्वपूर्ण दुर्लभ खनिज पदार्थमा कडा निर्यात नियन्त्रण र भटमासको खरिदलाई पूर्ण रूपमा रोकेर ट्रम्पलाई कडा जवाफ दियो । त्यसले अमेरिकी किसानहरूलाई त्रसित बनायो । अक्टोबर महिनाको दुई देशबीचको युद्धविरामले तनाव घटायो तर चीनको औद्योगिक पकडलाई भने कम गरेको छैन ।

ट्रम्पले प्रतिज्ञा गरे जस्तो भन्सार शुल्कले अमेरिकी उत्पादन क्षेत्रमा उछाल ल्याउन सकेन । अर्कोतर्फ, चीनले यस वर्षको पहिलो १० महिनामा उत्पादनमा ७ प्रतिशत वृद्धि भएको रिपोर्ट दियो । उसले कीर्तिमानी १० खर्ब डलरको विश्वव्यापी व्यापार बचत (सरप्लस) गरेको जनायो । यसैबीच भन्सार शुल्क प्रयोग गर्ने ट्रम्पको अधिकारबारे अर्को महिनाको सुरुमा अमेरिकाको सर्वोच्च अदालतको निर्णय आउने अपेक्षा गरिएको छ ।

दुर्लभ खनिज पदार्थमा चीनको दबदबा
भविष्यका इतिहासकारहरूले सन् २०२५ लाई चीनले आफूलाई अमेरिका सरहको महाशक्तिका रूपमा स्थापित गरेको वर्षका रूपमा लिनेछन् । दशकौंदेखि वाशिङटनले आफ्ना विदेशनीतिका उद्देश्यहरू अगाडि बढाउन आफ्नो आर्थिक प्रभुत्व, विशेषगरी अन्तर्राष्ट्रिय वित्त, को प्रयोग गरेको थियो । सन् २०२५ को अप्रिलमा र पुनः अक्टोबरमा बेइजिङले पनि आफ्ना आर्थिक लाभहरूलाई हतियारका रूपमा प्रयोग गर्न सक्ने देखायो ।

िविभिन्न औद्योगिक र सैन्य प्रयोगका लागि आवश्यक दुर्लभ खनिज पदार्थहरू चीनको शक्तिका स्रोत हुन् । चीनले दुर्लभ खनिजको आपूर्ति श्रृंखलामा प्रभुत्व जमाउन वर्षौंदेखि काम गरेको छ । उसले अहिले विश्वको खनिज पदार्थ उत्खननको करिब ६० प्रतिशत र यसको प्रशोधन क्षमताको ९० प्रतिशत नियन्त्रण गरेको छ ।

आफ्नो प्रभुत्वलाई हतियार बनाउने चीनको चाहना कुनै गोप्य कुरा थिएन । बेइजिङले सन् २०१० मा सेनकाकु (वा डियाओयु) टापुहरूलाई लिएर भएको क्षेत्रीय विवादको क्रममा जापानतर्फ दुर्लभ खनिज पदार्थ निर्यातमा कटौती गरेको थियो । त्यस चेतावनीका बावजुद अमेरिकाले आफ्नो रक्षाका लागि खासै केही गरेन । ट्रम्पले अप्रिलमा चीनमाथि भन्सार शुल्क बढाउँदा बेइजिङले अमेरिकातर्फ निर्यात हुने चुम्बक र सातवटा दुर्लभ खनिज पदार्थहरूको निर्यात रोकिदियो । त्यसको एक महिनाभित्रै ट्रम्पले भन्सार शुल्क घटाए ।

अक्टोबरमा ट्रम्पले चीनतर्फ उन्नत सेमिकन्डक्टर चिप्स र प्रविधिको निर्यातमा थप प्रतिबन्धहरू लगाएपछि बेइजिङले चिनियाँ दुर्लभ खनिज पदार्थहरू प्रयोग हुने उत्पादनको निर्यातमा नयाँ नियमहरू लागू गर्यो । अमेरिकी अर्थतन्त्रमा पर्न सक्ने सम्भावित ठूलो अवरोधको सामना गर्दै ट्रम्पले आफ्ना निर्यात नियन्त्रणहरूको कार्यान्वयनमा ढिलाइ गरे र चीनतर्फ लक्षित अन्य धेरै उपायहरू त्यागे । बेइजिङले पनि बदलामा अक्टोबर महिनामा नियमहरूको कार्यान्वयनलाई एक वर्षका लागि पछाडि सार्यो । त्यसले दुर्लभ खनिज पदार्थको खतरा अमेरिकामाथि अझै मडारिइरहेको संकेत गर्दछ ।

एआईको ठूलो सफलताको वर्ष
धेरैजसोले च्याटजीपीटी जस्ता जेनेरेटिभ एआई उपकरणहरूको बारेमा पहिलोपटक सुनेको तीन वर्ष पनि पुगेको छैन । तर, अहिले १.२ अर्बभन्दा बढी मानिसले नियमित रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्छन् । यो इतिहासकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको प्रविधि हो । यसले स्मार्टफोन र इन्टरनेटको विस्तारलाई पनि पछाडि पारेको छ ।

तर, यो वृद्धि असमान छ र धनी देशहरूमा मात्र बढी केन्द्रित छ । ग्लोबल साउथका गरिब देशहरूमध्ये १० प्रतिशतभन्दा कम जनसंख्याले मात्र एआई प्रयोग गर्छन् । यसबाहेक, इन्टरनेटमा पहुँच नभएका २.६ अर्ब मानिसले एआईलाई आफ्नो जीवन वा काममा समावेश गर्न असम्भव छ । यसै वर्ष चीनको एक कम्पनीले ल्याएको डीपसीक एआईले सस्तो मूल्यमा सर्वसुलभ एआई टूल ल्याउन सकिने प्रमाणित गरेर प्रविधि क्षेत्रमा तहल्का मच्चायो ।

सन् २०३० सम्ममा एआईले विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १५० खर्ब डलरसम्म योगदान दिन सक्ने भए पनि अत्यन्तै कम देशहरू मात्र यसबाट लाभ लिन सक्ने स्थितिमा छन् । यसले भूराजनीतिक जोखिम सिर्जना गर्छ । राष्ट्रहरूले पूर्वाधार, डेटा भण्डारण र आफ्ना कामदारहरूका लागि पर्याप्त तालिममा लगानीका लागि प्रतिस्पर्धा गरिरहँदा यो २०२६ मा हेर्न लायकको एक प्रमुख विषय हुनेछ ।

सुडानमा विश्वकै सबैभन्दा खराब मानवीय संकट
लगातार तेस्रो वर्ष पनि अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी) ले सुडानको गृहयुद्धलाई विश्वकै सबैभन्दा खराब मानवीय संकट भनेको छ । यस युद्धले अनुमानित ४ लाख मानिसको ज्यान लिएको छ र १ करोड १० लाखलाई विस्थापित गरेको छ । डार्फुरमा नरसंहारका रिपोर्टहरू बारम्बार आइरहेका छन् ।

यो क्रूर द्वन्द्व कम हुने कुनै संकेत देखिएको छैन । अघिल्लो वसन्त ऋतुमा सुडानी सेनाले मुख्य विद्रोही समूह र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बाट राजधानी खार्तुम फिर्ता लिएर केही प्रगति गरेको देखिएको थियो । तर, अहिले परिस्थिति बदलिएको छ र आरएसएफले यसै महिनाको सुरुमा अल–फासेरमाथि कब्जा जमाएको छ । नील नदीको किनारमा प्रतिशोध, मृत्यु र अराजकताको ताण्डव चलिरहँदा यो युद्ध रोक्नका लागि गरिएका बाह्य प्रयासहरू हालसम्म निष्फल भएका छन् ।

इजरायलको शक्ति प्रदर्शन
इजरायल यो वर्ष दुईवटा युद्ध र तीनवटा युद्धविराममा संलग्न भएको छ । त्यसले पश्चिम एसियाको शक्ति सन्तुलनमा ठूलो प्रभाव पारेको छ ।

लडाकु समूह हमाससँग जनवरीमा भएको पहिलो युद्धविराम जम्मा दुई महिना टिक्यो । अक्टोबरमा घोषणा गरिएको दोस्रो युद्धविराम अस्थायी रूपमा टिकिरहेको छ । त्यस युद्धविरामका कारण हमासले बन्दी बनाएका २० जना जीवित बन्दीको उद्धार सम्भव भएको थियो भने नेपालका विपिन जोशीको शव नेपाल ल्याउन सम्भव भएको थियो । युद्धविरामका शर्तहरू इजरायलीहरूको पक्षमा देखिन्छन् । यसले हमासलाई निःशस्त्रीकरण गर्न बाध्य पारेको छ भने पश्चिमी नेतृत्वको समूहले गाजाको ध्वस्त भएको क्षेत्रको अन्तरिम नियन्त्रण लिन खोजिरहेको छ ।

इजरायलले जुन महिनामा अर्को युद्ध गरेको थियो । इरानसँग उसको १२ दिने द्वन्द्व चलेको थियो । अमेरिका समेत सहभागी भएको यही युद्धमा इजरायलले यस क्षेत्रमा आफ्नो सैन्य प्रभुत्व प्रदर्शन गर्यो र आफ्नो सबैभन्दा ठूलो प्रतिस्पर्धी मानिने देशलाई पछाडि धकेल्न सफलता पायो । प्रमुख इरानी आणविक वैज्ञानिकहरूको हत्या गरियो, तेहरान आच्छुआच्छु भयो र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनी लुक्न बाध्य भए । हमास, हिजबुल्लाह र सिरियाको असद शासन जस्ता आफ्ना सहयोगी सञ्जालहरू जर्जर भएपछि इरानको जवाफ निकै कमजोर रह्यो । अमेरिकाले मिडनाइट ह्याम्मर नाम दिएर इरानका तीनवटा आणविक भट्टीहरुमा बंकर बस्टर बम र टोमाहक क्षेप्यास्त्र प्रहार गरेर युद्ध रोक्न भूमिका खेलेको थियो ।

यस युद्धसँगै इजरायली सेना पश्चिम एसियाकै सबैभन्दा शक्तिशाली र डरलाग्दो सेना बनेको छ । विज्ञहरूका अनुसार, पश्चिम एसियाको भूराजनीति मौलिक रूपमा परिवर्तन भएको छ ।

जलवायु नीतिमा दोहोरो धक्का
विश्वकै सबैभन्दा ठूला परोपकारी व्यक्तिले आफ्नो पैसा कहाँ लगाउने भन्ने कुरामा विचार बदल्दा मानिसहरूको ध्यानाकर्षण हुन्छ । जलवायु परिवर्तनसँग लड्न अर्बौं डलर खन्याएका बिल गेट्सले अक्टोबरमा एउटा निबन्ध प्रकाशित गर्दै रोग र गरिबी बढी ध्यान दिनुपर्ने जरुरी चुनौतीहरू रहेको तर्क गरेका छन् ।

उनको यो रणनीतिक परिवर्तनको आह्वान त्यस्तो बेला आयो जब संयुक्त राष्ट्रसंघले १० वर्षको प्रयासपछि पनि विश्व पेरिस सम्झौताको उत्सर्जन लक्ष्यहरू पूरा गर्न असफल भएको बताएको थियो । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रमा जलवायु परिवर्तनप्रति सन्देह राख्ने प्रशासन सत्तामा फर्किएपछि र विश्वकै अग्रणी निजी क्षेत्रका अभियन्ताले आफ्नो प्राथमिकता अन्यत्र सारेपछि सन् २०२५ लाई जलवायु नीतिका लक्ष्य र यसका लेनदेनबारेको विश्वव्यापी बहसमा एक महत्त्वपूर्ण मोडको रूपमा सम्झिइनेछ ।

युक्रेन युद्ध जारी, अमेरिका–युरोप सम्बन्ध कमजोर
ट्रम्पले इजरायल र हमास, थाइल्यान्ड र कम्बोडिया तथा कंगो र रुवान्डाबीच अस्थायी युद्धविराम गराउँदै आफ्नो कार्यकालको पहिलो वर्षमा शान्ति सम्झौताहरूलाई एउटा पहिचान बनाएका छन् । तर, युक्रेनमा युद्ध अन्त्य गर्ने कुरा भने धेरै कठिन साबित भएको छ ।

ह्वाइट हाउसले कहिले रुसका मागहरूलाई समर्थन गर्ने र कहिले युक्रेनले सम्झौता गर्नै नसक्ने कुराहरूलाई स्वीकार गर्ने ढुलमुले नीति अपनाइरहेको छ । मूल रूपमा, दुवै पक्षका उद्देश्यहरू पूर्ण रूपमा नमिल्ने खालका छन् । युक्रेनले डोनबास क्षेत्र छोड्नुपर्ने र कहिल्यै नेटोको सदस्य नबन्ने माग रुसले गरिरहेको छ भने युक्रेन क्षेत्रीय सम्झौता वा सुरक्षा ग्यारेन्टी बिनाको शान्तिको विरुद्धमा छ ।

यसैबीच, नतिजाको परवाह नगरी जस्तोसुकै सम्झौता गर्न हतारिएको अमेरिकाले युक्रेनलाई वार्ताका लागि दबाब दिनु र युरोपलाई आफ्नै सुरक्षाको जिम्मेवारी लिन दबाब दिनुले अमेरिका र युरोपेली संघबीचको सम्बन्धमा दरार पैदा गरेको छ ।
अमेरिकाको राष्ट्रिय सुरक्षा रणनीतिको पछिल्लो संस्करण सार्वजनिक भएपछि ती चिन्ताहरू झनै गहिरिएका छन् । त्यस रणनीतिले युरोपेली संघप्रति थप आक्रामकता देखाएको छ । युरोपका लागि यसको अर्थ प्रस्ट छ । ईयूले अमेरिका अब भरपर्दो सुरक्षा साझेदार नरहेको र ट्रान्सएट्लान्टिक गठबन्धनका पुराना मान्यताहरू अब कायम नरहेको वास्तविकताका लागि तयारी गर्नुपर्ने हुन सक्छ ।

भेनेजुएला र मोनरो सिद्धान्तको पुनरागमन
भेनेजुएला वरिपरि ट्रम्प प्रशासनले सैन्य परिचालन गरेर अमेरिकाको आफ्नै ब्याकयार्डमा सत्ता परिवर्तनको धम्की दिइरहेको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई हटाउनका लागि ट्रम्पले प्रयास बढाएका छन् । तर, त्यस क्षेत्रमा विगतमा अमेरिकाको नेतृत्वमा भएका हस्तक्षेपहरूले स्थिर र लोकतान्त्रिक परिणाम ल्याएका छैनन् । त्यसको सबैभन्दा उल्लेखनीय उदाहरण सन् १९७० मा चिलीमा भएको सीआईएको हस्तक्षेप हो । त्यसले अगस्टो पिनोसेको तानाशाहीका लागि मार्गप्रशस्त गरेको थियो ।

रोचक कुरा त के छ भने, भेनेजुएलाप्रति ट्रम्पको यो अडान अमेरिकाको विदेशनीतिको व्यापक परिवर्तनसँग मेल खान्छ । वाशिङटन युरोपबाट पछि हट्दै गर्दा उसले पश्चिमी गोलार्धलाई मुख्य रणनीतिक केन्द्रको रूपमा जोड दिइरहेको छ । यसले व्यावहारिक रूपमा मोनरो सिद्धान्तको झल्को दिन्छ । भेनेजुएलादेखि लिएर ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्जोनारोलाई दिइएको सजायका विषयलाई लिएर त्यस देशविरुद्ध लगाइएको कठोर भन्सार शुल्क र होन्डुरसमा हालै भएको चुनावमा दक्षिणपन्थी उम्मेदवारले नजिते सहायता कटौती गर्ने धम्कीसम्ममा ह्वाइट हाउसले पुनः आफ्ना वैचारिक सहयोगीहरूलाई समर्थन गर्न र विपक्षीहरूलाई कमजोर बनाउन अनि आवश्यक ठानिएमा सैन्य हस्तक्षेप गर्न सक्रियता देखाइरहेको छ ।

भारतको सावधान कदम
भारतको विश्वव्यापी प्रभाव बढिरहेदो छ । यो हालै विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । यसको अर्थतन्त्र जापानलाई उछिन्दै विश्वको चौथो ठूलो बनेको छ । एप्पल जस्ता प्रविधि क्षेत्रका दिग्गजहरू सहित अमेरिकी कम्पनीहरूले आफ्ना व्यवसायिक आवश्यकताहरूका लागि भारततर्फ ध्यान केन्द्रित गरिरहेका छन् ।

यस वृद्धिसँगै भूराजनीतिक मामिलामा पनि भारतको ठूलो भूमिका देखिएको छ । उदाहरणका लागि, पछिल्लो तीन वर्षमा भारतले ठूलो परिमाणमा रुसी तेल किन्न थालेको छ जसले युक्रेनसँगको युद्धका बेला क्रेमलिनलाई आफ्नो अर्थ व्यवस्थापन गर्न मद्दत पुर्याएको छ ।

भारत कोसँग मिल्छ त ? आधिकारिक रूपमा नयाँ दिल्लीले असंलग्नताको नीति लिएको छ । तर, उसका व्यवहारमा केही परिवर्तनका संकेतहरू देखिएका छन् । भारत ऐतिहासिक रूपमा रुसको सहयोगी थियो, विशेषगरी सोभियत युगमा । अमेरिकासँग भारतको बढ्दो व्यापारिक सम्बन्धले उसलाई पश्चिमा देशहरूको अलि नजिक ल्याएको छ । दिल्ली र वाशिङटनबीच यस वर्ष भएको भन्सार शुल्कको विवादका बावजुद भारत पश्चिमसँग नजिकिएको हो ।

त्यस पुनर्गठनमा अब रुसी तेलको खरिद रोक्नका लागि महिनौंदेखिको अमेरिकी दबाबलाई स्वीकार गर्ने कुरा पनि समावेश भएको देखिन्छ । भारतको प्रभाव निरन्तर बढ्दै जाँदा र चीनले गम्भीर जनसंख्या ह्रासको सामना गरिरहँदा विश्वले नयाँ दिल्लीको आगामी कदमलाई नजिकबाट नियाल्नेछ । पाकिस्तानसँग चार दिने युद्धमा भारतले प्रभावशाली प्रदर्शन गरेको भए पनि अमेरिकाको दबाबमा युद्धविराम गरेको देख्दा चाहिँ भारतसँग अझै आत्मविश्वासको कमी रहेको देखिएको छ ।

थाइल्यान्ड-कम्बोडिया युद्ध
एउटा देश अर्कोभन्दा धेरै ठूलो र उन्नत हातहतियारले सुसज्जित भए पनि देशहरूबीच द्वन्द्व हुन सक्छ । जुलाई महिनामा कम्बोडिया र थाइल्यान्डबीच भड्किएको द्वन्द्व यसको एउटा ज्वलन्त उदाहरण हो । १ करोड ७० लाखभन्दा केही बढी जनसंख्या भएको कम्बोडिया आफ्नो छिमेकी थाइल्यान्डको तुलनामा धेरै सानो र सैन्य रूपमा कमजोर छ । थाइल्यान्डको जनसंख्या कम्बोडियाको भन्दा चार गुणा बढी छ ।

जुलाईको त्यो भिडन्त दशकौंयताकै सबैभन्दा खराब थियो । बाहिरी रूपमा हेर्दा यो एक शताब्दी पुरानो सीमाविवादको बारेमा थियो । विशेषगरी, कम्बोडिया र थाइल्यान्ड दुवैले दुई देशलाई छुट्याउने घना जंगलयुक्त डांगेक पहाडमा अवस्थित प्राचीन मन्दिर प्रासात ता मुएन थोममाथि आफ्नो स्वामित्व दाबी गर्छन् ।

तर, सीमाको दुवैतर्फका जटिल आन्तरिक राजनीतिले ती सुषुप्त तनावहरूलाई खुला द्वन्द्वमा धकेल्यो । सुरुवाती भिडन्तमा दर्जनौं मानिस मारिए र दशौं हजार विस्थापित भए । त्यसमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले हस्तक्षेप गरे र भिडन्त नरोकिएसम्म कम्बोडिया र थाइल्यान्डसँगको व्यापार वार्ता रोक्ने धम्की दिए । त्यसपछि दुवै पक्ष अनिच्छापूर्वक युद्धविरामका लागि सहमत भए । अक्टोबरको अन्त्यतिर क्वालालम्पुरमा भएको वार्षिक आसियान शिखर सम्मेलनको अवसरमा एक औपचारिक सम्झौतामा हस्ताक्षर भयो ।

तर, त्यो सम्झौता टिकेन । नोभेम्बरमा एउटा बारुदी सुरुङ विस्फोटमा परी चारजना थाई सैनिक मारिए जसले बैंककलाई सम्झौताका केही अंशहरू निलम्बन गर्न बाध्य बनायो । यसै महिनाको सुरुमा थाई लडाकु विमानहरूले कम्बोडियाका विभिन्न स्थानमा बम बर्साएपछि भिडन्त झनै चर्कियो । थाइल्यान्डका नयाँ प्रधानमन्त्रीले भिडन्त रोक्ने हो भने कम्बोडियाले थाइल्यान्डबाट तय भएको कार्यदिशा पछ्याउनुपर्ने भनेका छन् । यसले भिडन्त अझै जारी रहने संकेत गर्दछ ।

जेनजी आन्दोलनको लहर
नेपाल र म्याडागास्करमा युवाहरूले भ्रष्टाचार र कुशासनका विरुद्ध भएका विशाल प्रदर्शनहरूले दुवै देशका सरकारलाई सत्ताच्युत गरिदिए । प्रदर्शनको अग्रपंक्तिमा रहेका युवाहरूले अत्याधुनिक हतियारधारी प्रहरीको दमनको सामना गर्नुपरेको थियो । जेनजी आन्दोलनका क्रममा नेपालमा ७३ जनाको मृत्यु भएको छ ।

सन् २०२४ मा बंगलादेशमा भएको आन्दोलनले शेख हसिनालाई सत्ताबाट हटाएको थियो । त्यसले नै नेपाल र अन्य देशका युवालाई सडकमा उत्रन प्रेरित गरेको श्रेय दिइन्छ ।

सन् १९९७ र २०१२ को बीचमा जन्मेका व्यक्तिका रूपमा परिभाषित जेन जीलाई जेनरेशन एन्जाइटी (चिन्तित पुस्ता) पनि भनेर भनी चिनिन्छ । नेपाल जस्ता ग्लोबल साउथका धेरै मुलुकका युवाले भविष्यप्रतिको डरका कारण भ्रष्ट र निरंकुश सरकारविरुद्धका प्रदर्शनहरू गरेका हुन् ।

This article was first published on Clickmandu.


Share:

Leave a Reply