विश्व व्यापारमा चीनसँग सम्बन्ध विच्छेद गर्ने पश्चिमको चाहना, कस्तो पर्छ अर्थतन्त्रमा असर ?

July 17, 2026
Featured image for “विश्व व्यापारमा चीनसँग सम्बन्ध विच्छेद गर्ने पश्चिमको चाहना, कस्तो पर्छ अर्थतन्त्रमा असर ?”

फाइनान्सियल टाइम्सले यसै साता ईवाई–पार्थेनन नामक परामर्शदाता कम्पनीको तथ्यांकमा आधारित रही विश्व व्यापारमा चीनको अपरिहार्यताका विषयमा विश्लेषण प्रकाशन गरेको छ । उक्त विश्लेषणले वर्तमान विश्व अर्थतन्त्रमा भइरहेको ठूलो भूराजनीतिक र आर्थिक परिवर्तनलाई उजागर गरेको छ ।

तथ्यांकअनुसार, अमेरिका, युरोजोन र बेलायत जस्ता विकसित अर्थतन्त्रहरूले आफ्ना आपूर्ति श्रृंखलाहरूबाट चिनियाँ वित्त र क्षमतालाई पूर्ण रूपमा हटाउन वा प्रतिस्थापन गर्न सन् २०५० सम्ममा अतिरिक्त २३६ खर्ब डलर लगानी गर्नुपर्ने देखिन्छ । यस तथ्यांकले आर्थिक लगानी मात्र नभई विश्वव्यापी व्यापारको नयाँ आयाम र यसले नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरूमा पार्ने प्रभावलाई पनि संकेत गर्छ ।

तथ्यांक अनुसार, यस प्रक्रियाका लागि अमेरिकालाई १३७ खर्ब, युरोजोनलाई ९१ खर्ब र बेलायतलाई ८०० अर्ब डलर अतिरिक्त पुँजी आवश्यक पर्नेछ । अमेरिकाका लागि वार्षिक ५५० अर्ब डलरको यो लगानी त्यहाँका ठूला प्रविधि कम्पनीहरूले डेटा सेन्टरमा गर्ने कुल खर्च बराबर छ भने युरोपेली संघका लागि यो आफ्नो वार्षिक बजेट झण्डै दोब्बर बनाउनु सरह हो । ऊर्जा, रक्षा र पूर्वाधारमा भइरहेको साबिकको लगानीमा यो अतिरिक्त भार थपिँदा सरकार र करदाताहरूमा ठूलो आर्थिक दबाब पर्ने निश्चित छ ।

त्यसैले, विज्ञहरूका अनुसार पूर्ण रूपमा अलग हुनुभन्दा पनि रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रहरूमा मात्र आंशिक डिकपलिङ गर्नु बढी व्यावहारिक र सुरक्षित विकल्प हुन सक्छ । यसका लागि कारखाना निर्माणसँगै कामदारहरूको सीप विकास र स्वचालन (अटोमेसन) मा पनि आक्रामक लगानी आवश्यक पर्नेछ ।

चार्टमा देखाइएको तथ्यांकीय विश्लेषण अनुसार, सन् २००० देखि २०२० को दशकको सुरुसम्मको वास्तविक लगानीको रेखाले के देखाउँछ भने विकसित अर्थतन्त्रहरूले चिनियाँ उत्पादन लागतको दक्षताबाट ठूलो लाभ उठाएका थिए । त्यस समयमा लगानीको प्रवृत्ति तुलनात्मक रूपमा स्थिर र ऐतिहासिक ढाँचामा आधारित थियो ।

तर, पछिल्लो समयमा डिकपलिङ अर्थात् चीनसँगको आर्थिक सम्बन्ध विच्छेदको अवधारणाले यस परिदृश्यलाई पूर्ण रूपमा बदलिदिएको छ । चार्टमा देखाइएको चीन डिकपलिङको परिदृश्यले पुँजीगत खर्चमा ठूलो संरचनात्मक वृद्धिको माग गर्छ । यो अतिरिक्त २३६ खर्ब डलरको खाडल कुनै एकपटकको खर्च मात्र नभई आगामी तीन दशकसम्म निरन्तर गरिरहनुपर्ने उच्च लगानी हो ।

यो खर्च यति विशाल हुनुका पछाडि गम्भीर कारणहरू छन् । चीन सस्तो कारखाना मात्र नभई विभिन्न तहका आपूर्तिकर्ताहरू, कुशल लजिस्टिक केन्द्रहरू र औद्योगिक केन्द्रहरूको सघन सञ्जाल हो । पश्चिममा यस्तै पारिस्थितिक प्रणाली शून्यबाट निर्माण गर्नका लागि भारी उद्योग, ऊर्जा ग्रिड, यातायात र कामदारहरूको पुनः तालिममा एकैसाथ ठूलो लगानी आवश्यक पर्छ ।

यसका साथै पश्चिमी अर्थतन्त्रहरूमा उच्च ज्याला दर, कडा श्रम सुरक्षा र वातावरणीय नियमहरूका कारण त्यहाँ नयाँ उद्योगहरू स्थापना गर्नु चीनको तुलनामा ३० देखि ५० प्रतिशत महँगो पर्न जान्छ । समयको चापले यस लागतलाई अझ बढाउँछ किनकि छोटो समयमा क्षमता विस्तार गर्दा बढी ज्याला, महँगो ढुवानी र इन्जिनियरिङ जनशक्तिको प्रतिस्पर्धाले खर्च ह्वात्तै बढाइदिन्छ ।

यस विशाल लगानीको व्यापक आर्थिक प्रभावहरू निकै गम्भीर हुने देखिन्छन् । आगामी ३० वर्षसम्म वार्षिक रूपमा लगभग ८०० अर्ब डलर अतिरिक्त लगानी गर्दा पश्चिमी अर्थतन्त्रहरूमा मागको अत्यधिक चाप पर्नेछ । यी अर्थतन्त्रहरूमा यसले उपभोक्ता खर्च र सरकारी बजेटसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

यसका कारण ब्याजदरहरू संरचनात्मक रूपमा नै उच्च रहन सक्ने सम्भावना रहन्छ । यसले ‘क्राउडिङ आउट’को स्थिति सिर्जना गर्न सक्छ । त्यसअन्तर्गत महत्त्वपूर्ण पुँजी सेवा क्षेत्र, सफ्टवेयर आविष्कार र जलवायु अनुकूलन जस्ता क्षेत्रहरूबाट मोडिएर औद्योगिक क्षमता निर्माणमा मात्र केन्द्रित हुनेछ ।

चीनले हाल स्वच्छ ऊर्जाका लागि अत्यावश्यक लिथियम, कोबाल्ट, र ग्रेफाइट जस्ता दुर्लभ खनिजहरूको ६० देखि ८० प्रतिशत आपूर्तिमा नियन्त्रण जमाएको छ । चिनियाँ वस्तुहरू पश्चिमी उत्पादनको तुलनामा २० देखि १०० प्रतिशतसम्म सस्तो हुने भएकाले चीनसँगको सम्बन्ध विच्छेदले उपभोक्ता मूल्य र मुद्रास्फीति बढाउने जोखिम छ । ईवाई–पार्थेननको रिपोर्टमा उल्लेख भएको ईसीबीको विश्लेषण अनुसार, यसले महत्त्वपूर्ण क्षेत्रहरूमा मूल्य २.५ प्रतिशतसम्म बढाउन सक्छ ।

विगतमा व्यापारिक द्वन्द्वका क्रममा चीनले खनिज निर्यातमा गरेको कडाइले पश्चिमी अर्थतन्त्रको संवेदनशीलतालाई उजागर गरिसकेको छ । तर, चीनको कच्चा पदार्थ र औषधिजन्य सामग्रीहरूमा रहेको बलियो पकडका कारण छोटो समयमा पूर्ण डिकपलिङ (सम्बन्ध विच्छेद) असम्भव देखिन्छ ।

तर, यसको एउटा सकारात्मक पक्ष पनि हुन सक्छ । चीनसँग आंशिक सम्बन्ध विच्छेदबाट जन्मेको खर्चलाई न्यायोचित बनाउन पश्चिमी कम्पनीहरूले कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स र थ्रीडी प्रिन्टिङ जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोग बढाउनेछन् । त्यसले दीर्घकालमा उत्पादकत्व वृद्धि गर्न मद्दत पुर्याउन सक्छ ।

विश्व अर्थतन्त्रमा भइरहेको यो खिचातानीले नेपालको अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्ने निश्चित छ । नेपालका लागि चीन र पश्चिमी देशहरू दुवै महत्त्वपूर्ण व्यापारिक र विकास साझेदार हुन् । पश्चिमी देशहरूले चीनबाट आफ्नो आपूर्ति श्रृंखला हटाउँदा हुने महँगी र उच्च ब्याजदरको प्रत्यक्ष असर नेपालमा आउने विप्रेषणमा पर्न सक्छ ।

चीनले सस्तो स्टिल उत्पादन गरिरहेको बेला नेपालले आफ्ना पूर्वाधार आयोजनाहरूका लागि आवश्यक कच्चा पदार्थ सस्तोमा पाउन सक्छ तर त्यसका लागि व्यापारिक मार्गहरूको सुगमता आवश्यक हुन्छ

अमेरिका र युरोपमा मुद्रास्फीति बढ्यो र मानिसहरूको क्रयशक्ति घट्यो भने त्यहाँ कार्यरत नेपालीहरूले पठाउने रकममा कमी आउन सक्छ । यसले नेपालको विदेशी मुद्रा सञ्चितिमा दबाब सृजना गर्नेछ जबकि त्यही नेपाली अर्थतन्त्रको मेरुदण्ड हो ।

व्यापारिक दृष्टिकोणबाट हेर्दा नेपालले उपभोग गर्ने अधिकांश इलेक्ट्रोनिक्स, मशिनरी र दैनिक उपभोग्य वस्तुहरू चीनबाट आउँछन् । विकसित देशहरूले चीनमाथि थप प्रतिबन्ध लगाएछन् वा चीनले आफ्नो उत्पादन रणनीति परिवर्तन गरेछ भने भने ती सामानहरूको मूल्य विश्व बजारमा बढ्न सक्छ । यसले नेपालमा आयातित महँगी निम्त्याउनेछ ।

अर्कोतर्फ, डिकपलिङलाई अघि बढाउँदै कतिपय पश्चिमी कम्पनीहरूले ग्लोबल साउथ आर्बिट्रेजको सिद्धान्त अनुसार चीन छोडेर भियतनाम, भारत वा मेक्सिको जस्ता देशहरूमा आफ्ना कारखाना सार्न सक्छन् । नेपालले आफ्नो पूर्वाधार, श्रम नीति र लगानीको वातावरणमा सुधार गर्न सक्यो भने यो डिकपलिङको प्रक्रियाबाट नेपालले केही वैदेशिक लगानी आकर्षित गर्ने अवसर पनि पाउन सक्छ । तर, वर्तमान अवस्थामा नेपालको कमजोर औद्योगिक आधार र भौगोलिक जटिलताका कारण यो अवसरभन्दा चुनौती बढी देखिन्छ ।

भूराजनीतिक रूपमा नेपालले झन् जटिल सन्तुलन कायम गर्नुपर्ने हुन्छ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बीचको प्रतिस्पर्धामा नेपाल पहिले नै अल्झिएको छ । पश्चिमी देशहरूले आपूर्ति श्रृंखलामा आत्मनिर्भरता खोज्दा र चीनले आफ्नो प्रभाव विस्तार गर्न पूर्वाधारमा जोड दिँदा नेपालले दुवै पक्षबाट अधिकतम लाभ लिने गरी कूटनीतिक कौशल देखाउनुपर्छ ।

चीनले सस्तो स्टिल उत्पादन गरिरहेको बेला नेपालले आफ्ना पूर्वाधार आयोजनाहरूका लागि आवश्यक कच्चा पदार्थ सस्तोमा पाउन सक्छ तर त्यसका लागि व्यापारिक मार्गहरूको सुगमता आवश्यक हुन्छ ।

विश्वव्यापी डिकपलिङले ल्याउने अनिश्चितता र महँगीबाट जोगिन नेपालले आफ्नो अर्थतन्त्रलाई अझ बढी लचिलो र विविधतायुक्त बनाउनु आजको आवश्यकता हो । पश्चिमी जगत आफ्नो सुरक्षाका लागि ठूलो मूल्य चुकाउनका लागि तयार बन्दै गर्दा त्यसको प्रभाव नेपालमा पनि आइपुग्नेछ । त्यसका लागि अहिले नै सचेत र तयार रहन जरुरी छ ।

This article was first published on Clickmandu.


Share:

Leave a Reply