‘सुसाइडल एम्पथी’ समीक्षा: पश्चिममा चलेको वोक संस्कृतिमाथि कडा प्रहार

August 15, 2026
Featured image for “‘सुसाइडल एम्पथी’ समीक्षा: पश्चिममा चलेको वोक संस्कृतिमाथि कडा प्रहार”

पश्चिममा केही वर्षयता सांस्कृतिक विचलन चरममा पुगेको छ । समानुभूतिशील उदारवादी हुने नाममा सामाजिक विकृतिहरूलाई प्रोत्साहन गरेर पश्चिमले आफ्नै सभ्यतागत आधारमा प्रहार गरिरहेको छ । विशेषगरी वोकहरूको क्रियाकलापले पश्चिमलाई भित्रभित्रै खोक्रो बनाइरहेको छ ।

यसै विषयको निर्मम चिरफार गर्दै ग्याड सादले हालसालै ‘सुसाइडल एम्पथीः डाइङ टु बी काइन्ड’ शीर्षकको पुस्तक प्रकाशन गरेका छन् । यो पुस्तक आधुनिक पश्चिमी समाज, राजनीति र संस्कृतिको कठोर एवम् उत्तेजक विश्लेषण हो ।

लेखक साद प्रसिद्ध विकासवादी व्यवहार वैज्ञानिक (इभोलुसनरी बिहेवियर साइन्टिस्ट) हुन् । उनले यस पुस्तकमा पाठकलाई सोच्न बाध्य बनाउने गम्भीर तर्क अगाडि सारेका छन् । करुणा, सहानुभूति र समानुभूति जस्ता मानवीय गुणहरू कसरी आजको समयमा आफ्नै सभ्यताको विनाशको कारण बनिरहेका छन् भन्ने कुरालाई विभिन्न उदाहरण र वैज्ञानिक आधारहरू सहित सादले प्रस्तुत गरेका छन् ।

पश्चिमी जगतमा व्याप्त ‘विचारका परजीवीहरू’ लाई उजागर गर्नु र तर्कहीन सहानुभूतिले कसरी समाजको जग खलबल्याउँदैछ भन्ने देखाउनु सादको मुख्य उद्देश्य हो । यो पुस्तक उनको अघिल्लो चर्चित कृति ‘द प्यारासाइटिक माइन्ड’ को वैचारिक निरन्तरता जस्तो देखिन्छ । यसमा उनले भावनालाई भन्दा तथ्य र तर्कलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

यस पुस्तकको केन्द्रीय विषयवस्तु ‘सुसाइडल एम्पथी’ वा आत्मघाती समानुभूति हो । सादका अनुसार, समानुभूति उच्च मानवीय गुण हो र यसले समाजलाई जोड्ने काम गर्छ । तर, यो गुण सीमाभन्दा बाहिर गएर र गलत पात्रहरूमाथि केन्द्रित हुँदा यसले आत्मघाती रूप लिन्छ ।

लेखकले विकासवादी जीवविज्ञानको लेन्सबाट यसलाई व्याख्या गरेका छन् । उनका अनुसार, हाम्रा भावनाहरू निश्चित जैविक उद्देश्यका लागि विकसित भएका हुन् तर आधुनिक विचारधाराहरूले ती भावनाहरूलाई विकृत बनाएका छन् ।

मानिसहरूले आफ्नो अस्तित्व र सुरक्षाको मूल्यमा अरूप्रति (विशेषगरी उनीहरूलाई हानि पुर्याउन चाहने अपराधी, अवैध आप्रवासी र उग्रवादी विचारधारा बोक्नेहरू प्रति) अत्यधिक सहानुभूति देखाउँदा त्यसले सभ्यताको पतन निम्त्याउँछ । सादले यसलाई एउटा यस्तो मानसिक विकारको रूपमा प्रस्तुत गरेका छन् जसले मानिसको सही र गलत छुट्याउने क्षमतालाई कुण्ठित बनाइदिन्छ ।

पश्चिमी समाजले विविधता नै बल हो भन्ने नाराको आडमा पश्चिमी लोकतान्त्रिक मूल्यसँग मेल नखाने संस्कृति र विचारधारा भएका मानिसहरूलाई अनियन्त्रित रूपमा स्वागत गरिरहेको छ । सादले विशेषगरी कट्टरपन्थी इस्लामको सन्दर्भ जोड्दै पश्चिमी उदारवादीहरूले त्यस्ता कट्टरपन्थीप्रति सहानुभूति देखाउँदा ती समूहहरूको वास्तविक मनसाय बुझ्न नसकेको भनेका छन् ।

सजिलो गरी बुझ्दा सबै आप्रवासीलाई खुला दिलले स्वागत गर्नुपर्ने उदारवादीहरूको मान्यताका कारण खतरनाक अपराधीहरू पनि पश्चिमी मुलुकमा प्रवेश गरिरहेका छन् । तिनले होस्ट देशहरूमा हत्या र बलात्कार जस्ता जघन्य अपराध गरिरहेका छन् । तर, उनीहरूले गरेको अपराधको विरोध वा प्रतिकार गर्ने व्यक्तिलाई चरम दक्षिणपन्थी, अतिवादी र असहिष्णु इस्लामोफोबको बिल्ला भिराउने गरिएको छ । क्यान्सल कल्चर अपनाउँदै उनीहरूलाई सार्वजनिक बहिष्कार गर्ने गरिएको छ ।

लेखकले ‘सांस्कृतिक अन्धोपन’ को चर्चा गर्दै कुनै संस्कृतिले अर्को संस्कृतिलाई शत्रु ठान्छ र नष्ट गर्न चाहन्छ भने त्यस्तो अवस्थामा देखाइने सहानुभूति आत्मघाती हुन्छ भनेका छन् । विशेषगरी पश्चिमी मुलुकमा पुगेका इस्लामीहरू शरिया कानुन लागू गर्न र पश्चिमी संस्कृतिलाई समूल अन्त्य गर्न चाहन्छन् । सादले बेलायतका ‘ग्रुमिङ ग्याङ्स’ (सामूहिक बलात्कार गर्ने अपराधीहरूको झुण्ड) र युरोपमा बढेका यौन हिंसाका घटनाहरूलाई यसै सन्दर्भमा व्याख्या गरेका छन् (यस विषयमा हालै दुईवटा चलचित्र बनेका छन् : ‘सिटिजन भिजिलान्ते’ र ‘रन, हाइड, फाइट: इन्फिडेल्स’) । अधिकारीहरूले इस्लामोफोबियाको आरोप लाग्ने डरले अपराधीहरूलाई कारबाही गर्न हिचकिचाएको उदाहरण सादले प्रस्तुत गरेका छन् ।

सादले ‘ब्ल्यांक स्लेट फेलोन्स’ को अवधारणा मार्फत आधुनिक न्याय प्रणालीमा देखिएको विकृतिमाथि प्रहार गरेका छन् । प्रगतिशील विचारधाराले अपराधीहरूलाई व्यक्तिगत जिम्मेवारीबाट मुक्त गराएर समाजबाट ‘पीडित’ को रूपमा चित्रण गर्ने प्रवृत्तिको उनले आलोचना गरेका छन् । उनका अनुसार, समाजले अपराधीप्रति बढी सहानुभूति राख्दै वास्तविक पीडितलाई बिर्संदा समाजमा अराजकता फैलिन्छ ।

उनले अमेरिकाका विभिन्न शहरहरूमा देखिएको ‘डिफन्ड द पुलिस’ (प्रहरीको बजेट कटौती गर्ने) अभियान र अपराधप्रति नरम नीति अपनाउने जिल्ला सरकारी वकिलहरूको चर्चा गरेका छन् । मानिसहरू जन्मजात असल वा खराब हुँदैनन् भन्ने ‘ब्ल्यांक स्लेट’ को सिद्धान्त गलत छ र यसले गम्भीर अपराधीहरूलाई समेत उन्मुक्ति दिने बाटो प्रशस्त गरेको छ भन्ने सादको तर्क छ ।

पुस्तकको अर्को महत्त्वपूर्ण विषय ‘तथ्यमाथिको आक्रमण र जैविक वास्तविकताको इन्कार’ हो । सादले आधुनिक लैंगिक सिद्धान्त र ट्रान्सजेन्डरहरूको सक्रियतालाई सुसाइडल एम्पथीको ज्वलन्त उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । उनले जैविक पुरुषहरूलाई महिलाहरूको खेलकुदमा सहभागी गराउनु वा महिलाको शौचालयमा प्रवेश दिनुलाई महिलाहरूको अधिकार र सुरक्षामाथिको घात भनी स्पष्ट लेखेका छन् । कसैको भावनामा ठेस नपुगोस् भन्नका लागि मात्र जैविक सत्यलाई इन्कार गर्नु भनेको सभ्यताको बौद्धिक आत्महत्या हो भनी उनी लेख्छन् ।

उनले यस सन्दर्भमा वैज्ञानिकहरू र विश्वविद्यालयका प्राध्यापकहरू समेत कसरी ‘वैचारिक जालोको कब्जा’ मा परेका छन् र सत्य बोल्न डराइरहेका छन् भन्ने कुरालाई गम्भीरताका साथ उठाएका छन् । यस स्थितिलाई सादले ‘अस्ट्रिच प्यारासाइटिक सिन्ड्रोम’ का रूपमा व्याख्या गरेका छन् । त्यस अवस्थामा मानिसहरू सत्य देख्दादेख्दै पनि आँखा चिम्लेर बस्छन् ।

आर्थिक सन्दर्भमा सादले ‘प्यारासाइटिक ट्याक्सेसन’ (परजीवी कर प्रणाली) र ‘न्यानी स्टेट’ (अभिभावक जस्तो व्यवहार गर्ने राज्य) को आलोचना गरेका छन् । उनले क्यानडाको स्वास्थ्य प्रणाली (सरकारी अस्पतालबाट सेवा लिनका लागि वर्षौं कुर्नुपर्ने बाध्यता) र कर नीतिको उदाहरण दिँदै सहानुभूति देखाउने नाममा राज्यले नागरिकको व्यक्तिगत स्वतन्त्रता र मेहनतको कमाइमाथि अनावश्यक नियन्त्रण जमाइरहेको तर्क गरेका छन् । विशेषगरी उनले आफ्नो कमाइको ५० प्रतिशत कर तिर्नुपरेकोमा निकै तीतो पोखेका छन् ।

उनले करलाई यस्तो संयन्त्रको रूपमा चित्रण गरेका छन् जसले मेहनती मानिसहरूलाई दण्डित गर्छ र अल्छी वा अनुत्पादक समूहलाई पुरस्कृत गर्छ । मेहनती मानिसबाट कर उठाएर कथित अल्पसंख्यक र आप्रवासीहरू समेतलाई विभिन्न सुविधा उपलब्ध गराउनु गलत भएको सादको भनाइ छ ।

सादले समाजवाद र साम्यवाद जस्ता विचारधाराहरू कसरी मानवीय प्रवृत्तिको विपरीत छन् (उनका अनुसार, ती पशु र कीराहरूमा मात्र सुहाउँदा छन्) र कसरी ती केवल ‘समानता’ को झूटो सहानुभूतिमा आधारित छन् भन्ने कुरालाई स्पष्ट पारेका छन् । मेरिटोक्रेसी (योग्यता) को अन्त्य गरेर इक्विटी (नतिजाको समानता) खोज्नु भनेको समाजलाई अधोगतितर्फ लैजानु हो ।

वैचारिक स्पष्टता, तार्किक दृढता र लेखकको अद्भुत साहस यस पुस्तकको सबल पक्ष हो । ग्याड सादले आजको समयमा ट्याबु वा निषेधित मानिने विषयहरूमा खुलेर बोलेका छन् । यस क्रममा आफूले बेहोरेका हण्डरको पनि उनले वर्णन गरेका छन् । तथ्यांक, ऐतिहासिक घटना र वैज्ञानिक अनुसन्धानहरूलाई मिलाएर उनले आफ्नो तर्क पुष्टि गरेका छन् ।

पुस्तकको भाषा व्यंग्यात्मक र रोचक छ । त्यसले गर्दा पाठकलाई बोर लाग्दैन । उनले जटिल दार्शनिक र वैज्ञानिक कुराहरूलाई पनि सर्वसाधारणले बुझ्ने गरी सरल ढंगमा प्रस्तुत गरेका छन् । विशेषगरी उनले आफ्नो व्यक्तिगत जीवनका अनुभवहरू (जस्तै, यहुदी परिवारकै भएका कारण लेबननबाट विस्थापित हुनु परेको पीडा) लाई जोडेर लेखेका हुनाले पुस्तकमा जीवन्तता महसुस हुन्छ ।

सादले पुस्तकमा समस्या मात्र देखाएका छैनन् । पुस्तकको अन्त्यमा ‘आत्मघाती समानुभूति’ बाट कसरी बच्ने भन्ने ‘इनोकुलेशन’ वा प्रतिरोधात्मक खोपका उपायहरू पनि उनले सुझाएका छन् । उनका अनुसार, मानिसहरू प्रायः आफूलाई राम्रो र दयालु देखाएर तत्कालको सामाजिक प्रशंसा (डोपामाइन हिट) पाउन खोज्छन् । तर, अवैध आप्रवासन वा खुकुलो सीमा नीतिले भविष्यमा पार्ने आर्थिक भार र सुरक्षा जोखिमलाई नदेखी गरिने यस्तो सहानुभूति आत्मघाती हुन्छ । सादले त्यस्तो डोपामाइन हिटबाट बच्न सल्लाह दिएका छन् ।

त्यसबाहेक सबैलाई खुसी पार्नका लागि दोधारे कुरा गर्नु राम्रो होइन भन्ने सादको आह्वान छ । जैविक सत्य (जस्तै, महिला र पुरुषको भिन्नता) लाई लुकाउनु हुँदैन, उनी भन्छन् । सत्यको रक्षाका लागि निडर भएर बोल्नका लागि उनी आग्रह गर्छन् ।

महत्त्वपूर्ण रूपमा, मानिसले सबैलाई उत्तिकै माया गर्न सक्दैन । पहिला आफ्नो परिवार र नजिकका मानिसलाई प्राथमिकता दिनुपर्छ । शत्रु वा हानि पुर्याउनेलाई अन्धो भएर मद्दत गर्नु गलत हो भनी सादले सुझाव दिएका छन् ।

तर, पुस्तकका केही कमजोर पक्षहरू पनि छन् । सादको शैली धेरै नै आक्रामक र कहिलेकाहीँ एकपक्षीय लाग्न सक्छ । उनले प्रगतिशील वा उदारवादी विचारधाराका सबै पक्षलाई एउटै डालोमा राखेर ‘परजीवी’ को संज्ञा दिएका छन् । त्यसले गर्दा कतिपय ठाउँमा उनको विश्लेषण पूर्वाग्रही देखिन्छ ।

उनले जटिल सामाजिक र सांस्कृतिक मुद्दाहरूलाई धेरै सरलीकृत गरेका छन् र हरेक समस्याको जड सहानुभूतिमा मात्र खोज्ने प्रयास गरेका छन् । कतिपय पाठकलाई उनको यो व्यवहार निकै कठोर लाग्न सक्छ । साथै, उनले दिएका धेरैजसो उदाहरणहरू क्यानडा र अमेरिकाको सन्दर्भमा मात्र सीमित छन् । त्यसले गर्दा यसको विश्वव्यापी सान्दर्भिकतामा कतिपयले प्रश्न उठाउन सक्छन् ।

हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा मच्चाएको नरसंहारको कठोर निन्दा जायज छ तर त्यसको प्रतिशोधमा इजरायलले गाजामा गरेको ७३ हजारभन्दा बढी मानिसको नरसंहार गरेकोलाई प्रतिरक्षा गर्ने सादको प्रयासको सराहना गर्न सकिँदैन ।

नेपालले आफ्नो राष्ट्रिय नीति, सुरक्षा र सामाजिक एकताका लागि यस पुस्तकबाट केही गम्भीर पाठहरू सिक्न सक्छ । जस्तै, नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उदार देखिनका लागि वा वैदेशिक सहायता प्राप्त गर्नका लागि आफ्ना मौलिक सांस्कृतिक मूल्य र राष्ट्रिय स्वाधीनतासँग सम्झौता गर्नु हुँदैन । सहायताका नाममा भित्रिने डोनर–निर्देशित एजेन्डाहरूले समाजमा वैचारिक विभाजन ल्याउन सक्छन् । दक्षिण एसियामै सबभन्दा उदार मुलुक भएको हानि नेपालले बेहोरिरहेको छ ।

नेपालको उदारवादिता र खुकुलोपनले गर्दा भविष्यमा शरणार्थी समस्या चर्किने सम्भावना छ । त्यसैले रोहिंग्या लगायतका आप्रवासीहरूलाई मानवतावादी लेन्सबाट मात्र नहेरी दीर्घकालीन सुरक्षा जोखिम र आर्थिक भारलाई पनि महत्त्व दिएर व्यवस्थापन गर्नुपर्छ ।

आफ्ना नागरिकको सुरक्षालाई दाउमा राखेर गरिने सहानुभूति सादको भाषामा ‘आत्मघाती’ हुन सक्छ ।त्यससँगै नेपालले योग्यतालाई जोड दिनुपर्छ । योग्यतालाई भन्दा आरक्षणलाई बढी प्राथमिकता दिँदा संस्थागत दक्षता कमजोर हुन्छ ।

पश्चिमा समाजमा फैलिरहेको विचारका परजीवी (जस्तै, अनावश्यक पहिचानको राजनीति) बाट नेपालले आफूलाई जोगाउनुपर्छ । भावनाभन्दा तथ्य, तर्क र राष्ट्रिय हितमा आधारित नीति निर्माण नै नेपालको स्थिरताको लागि अनिवार्य छ भन्ने कुरा सादको पुस्तकले शिक्षा दिन्छ ।

वर्तमान समयको सांस्कृतिक र वैचारिक परिवर्तनका पछाडिका कारणहरू बुझ्न चाहने व्यक्तिका लागि ‘सुसाइडल एम्पथी’ पढ्नैपर्ने कृति हो । पश्चिमले आफ्नो सभ्यता बचाउने हो भने आफ्ना भावनाहरूलाई तर्कको कसीमा जोख्न सिक्नुपर्छ र अन्धो सहानुभूति त्यागेर कठोर तर आवश्यक सत्यलाई आत्मसात गर्नुपर्छ भन्ने सादको प्रस्ट सन्देश छ । यस पुस्तकले आगामी पुस्तालाई पनि विवेक र भावनाको सन्तुलन मिलाउन प्रेरित गरिरहनेछ ।

This review was first published on Clickmandu.


Share:

Leave a Reply