
सन् १७९१–१७९२ मा नेपाल र चीनबीच भएको युद्ध नेपाली इतिहासको महत्त्वपूर्ण घटना हो । यस युद्धले नेपाल र चीनबीचको सम्बन्धमा नयाँ मोड ल्याउनुका साथै नेपालको तत्कालीन सैन्य क्षमता, कूटनीतिक रणनीति र क्षेत्रीय शक्ति सन्तुलनलाई समेत प्रभावित पारेको थियो । यस विषयलाई इतिहासका पुस्तकहरूले महत्त्वका साथ समावेश गरेका छन् ।
त्यही सिलसिलामा प्राध्यापक एक्सेल माइकल्स र सु युनहेङको हालै प्रकाशित कृति ‘हु वोन द साइनो–नेपलिज वार अफ १७९१–१७९२ ? अ स्टडी इन ट्रान्सकल्चरल कम्प्लेक्सिटी’ ले ईसाको अठारौं शताब्दीको अन्त्यतिर नेपाल, तिब्बत र छिङ साम्राज्य (चीन) बीच भएको ऐतिहासिक युद्धको बहुआयामिक अध्ययन प्रस्तुत गरेको छ ।
परम्परागत राष्ट्रवादी इतिहासलेखनले कुनै पनि युद्धलाई प्रायः स्पष्ट जीत वा हारको रूपमा व्याख्या गर्ने गर्छ । तर, यस पुस्तकले तत्कालीन राजनीतिक, कूटनीतिक, भाषिक र सांस्कृतिक जटिलताहरूको आलोकमा नेपाल–चीन युद्धलाई पुनर्मूल्यांकन गरेको छ ।
लेखकद्वयले नेपाली, चिनियाँ, मन्चु र तिब्बती मूल ऐतिहासिक दस्तावेजहरूको गहिरो अध्ययन र अनुवाद गर्दै युद्धको परिणाम, त्यसको स्वरूप र यसले निर्माण गरेको अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ सैद्धान्तिक दृष्टिकोणबाट व्याख्या गरेका छन् ।
नेपाल र तिब्बतबीचको तनाव तथा त्यसपछि उत्पन्न नेपाल–चीन युद्ध आकस्मिक रूपमा घटेको घटना थिएन । यसको जरा ऐतिहासिक आर्थिक अन्तःसम्बन्ध, व्यापारिक स्वार्थ र क्षेत्रीय शक्ति सन्तुलनमा जोडिएको थियो ।
मध्यकालदेखि नै काठमाडौं उपत्यकाका मल्ल राजाहरूले तिब्बतका लागि शुद्ध चाँदीका सिक्का (महेन्द्रमल्ली वा टाँका) ढाल्ने एकाधिकार प्राप्त गरेका थिए । तिब्बतबाट कच्चा चाँदी र सुनको धुलो काठमाडौं आउँथ्यो र त्यसबाट मुद्रित सिक्का तिब्बत पठाइन्थ्यो । त्यसबाट नेपाली शासकहरूले ठूलो मात्रामा राजस्व र नाफा आर्जन गर्थे ।
तर, मल्लकालको उत्तरार्धमा जयप्रकाश मल्ल र रणजीत मल्लका पालामा ती सिक्कामा तामा मिसाएर खोटो सिक्का तिब्बत पठाइन थालियो । बडामहाराजाधिराज पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि टक्सारलाई शुद्ध राख्ने नीति अवलम्बन गर्दै शुद्ध महेन्द्रमल्ली निष्काशन गरेका थिए ।
समस्या त्यतिबेला उब्जियो जब नेपालले नयाँ शुद्ध सिक्कालाई पुरानो खोटो सिक्काभन्दा बढी मूल्यमा सटही गर्न माग ग¥यो । तर, तिब्बती पक्षले दुवै सिक्कालाई एउटै दरमा चलाउनुपर्ने अडान राख्यो ।
यो मुद्रा विवाद करिब दुई दशकसम्म नसुल्झिएर व्यापारिक गतिरोधमा परिणत भयो । यसका साथै तिब्बतले नेपाल पठाउने नुनमा धुलो र माटो मिसाएको आरोप तथा व्यापारिक मार्गका करसम्बन्धी विवादहरूले दुई देशबीचको सम्बन्धलाई झनै कटु बनायो ।
यस आर्थिक द्वन्द्वमा धार्मिक र पारिवारिक राजनीतिको विस्फोटक तत्त्व पनि थपियो । त्यसको केन्द्रमा दसौं श्यामार्पा लामा (छोड्रुप ग्याछो) थिए । छैटौं पञ्चेन लामा (लोब्साङ पाल्देन येशे) को सन् १७८० मा बेइजिङमा बिफरका कारण निधन भएपछि उनका दुई सहोदर भाइहरू द्रुङ्पा हुतुक्तु र श्यामार्पा लामाबीच अथाह सम्पत्तिको उत्तराधिकारलाई लिएर तीव्र विवाद उत्पन्न भयो ।
तासिलहुन्पो गुम्बाका कोषाध्यक्ष रहेका द्रुङ्पाले चिनियाँ सम्राट र मंगोलहरूबाट प्राप्त विपुल धनराशि आफू मातहत राखे र कर्मा कागु परम्पराका रातो टोपी लगाउने श्यामार्पालाई कुनै हिस्सा दिएनन् । उपेक्षित र भयभीत श्यामार्पा आफ्ना अनुयायीहरूसहित शरण लिन काठमाडौं आइपुगे ।
तत्कालीन नायब बहादुर शाहले श्यामार्पालाई शरण दिनुका साथै तिब्बतविरुद्ध रणनीतिक हतियारका रूपमा उपयोग गरे । श्यामार्पाले तिब्बतको आन्तरिक कमजोरी र तासिलहुन्पोको विपुल सम्पदाबारे गोर्खाली भारदारहरूलाई जानकारी दिँदै आक्रमण गर्न उक्साए । फलतः सन् १७८८ मा नेपालले तिब्बतमाथि पहिलो आक्रमण गरी केरुङ र कुती कब्जा गर्यो ।
यस युद्धपछि सन् १७८९ मा केरुङमा एक सम्झौता भयो । त्यसअनुसार तिब्बतले नेपाललाई वार्षिक ५०,००१ रुपैयाँ हर्जना तिर्नुपर्ने भयो । तर, छिङ सम्राट छियानलोङका विशेषदूत बाजुङले युद्ध नै नभई गोर्खालीहरू सम्राटको शरणमा आएको झूटो प्रतिवेदन बेइजिङ पठाएर यस सम्झौतालाई सम्राटबाट पूर्ण रूपमा गोप्य राखे ।
तिब्बतले दोस्रो वर्षदेखि हर्जना रकम भुक्तान गर्न अस्वीकार गर्यो र उल्टै सम्झौता संशोधनका लागि षड्यन्त्र गर्न थाल्यो । त्यसपछि सन् १७९१ मा बहादुर शाहले पुनः तिब्बतमाथि दोस्रो आक्रमणको आदेश दिए । नेपाली फौजले दिगर्चास्थित समृद्ध तासिलहुन्पो गुम्बामा धावा बोल्दै त्यहाँको सुन, चाँदी र बहुमूल्य रत्नहरू लुट्यो भने तिब्बती मन्त्री दोरिङ तेन्जिन पेल्जोरसहितका अधिकारीहरूलाई बन्दी बनाएर काठमाडौं ल्यायो । (गोर्खालीहरूले लुटपाट मच्चाउने क्रममा मूर्तिहरू तोडफोड गर्नुमा बौद्ध धर्मप्रतिको अनास्था कारण थियो भनी पुस्तकका लेखकहरूले तर्क गरेका छन् ।)
यस घटनाले बेइजिङको राजदरबारलाई स्तब्ध बनायो । बाजुङको धोकाको पोल खुलेपछि उनले आत्महत्या गरे । तिब्बतलाई आफ्नो संरक्षण क्षेत्र (प्रोटेक्टरट) मान्ने र पञ्चेन लामालाई गुरु मान्ने छिङ सम्राट छियानलोङले यसलाई आफ्नो राजकीय प्रतिष्ठामाथिको ठूलो प्रहार माने । उनलाई गोर्खाली बर्बरहरूको यो आक्रमण असह्य भयो ।
बौद्ध धर्मको संरक्षकका रूपमा मंगोल र तिब्बती जनतामाझ आफ्नो छवि कायम राख्न सम्राटले आफ्ना सबैभन्दा विश्वासपात्र सेनापति तथा मन्त्री फुकाङगान (तुङ थ्वाङ) र सहायक सेनापति हाइलान्चाको नेतृत्वमा मन्चु, सोलोन, मंगोल र सिचुवानका स्थानीय लडाकुहरू सम्मिलित विशाल बहुजातीय सेना तिब्बततर्फ पठाए । यसरी स्थानीय व्यापार र उत्तराधिकारको विवादले चीन र नेपालबीचको बृहद् युद्धको रूप लियो ।
युद्धको परिणाम र ‘यो युद्ध कसले जित्यो’ भन्ने प्रश्न नै पुस्तकको केन्द्रीय विषयवस्तु हो । इतिहासमा दुवै पक्षले आफूलाई विजयी घोषित गरेका छन् । चिनियाँ इतिहासलेखन, विशेषगरी सम्राट छियानलोङको आत्मप्रशंसात्मक ‘पोताला अभिलेख’ र आधिकारिक रणनीतिक विवरण ‘किङदिङ कुओर्खा चिलुए’ का अनुसार, यो युद्ध छिङ साम्राज्यको स्पष्ट र भव्य विजय थियो ।
चिनियाँ विवरणहरूमा फुकाङगानको सेनाले ज्यामु, मागा, केरुङ, रसुवागढी, स्याफ्रु, धुन्चे हुँदै बेत्रावतीसम्म लगातार सातवटा लडाइँ जितेको उल्लेख छ । चिनियाँ दृष्टिकोणले नेपाली सेनालाई पहाडहरूबाट लखेट्दै राजधानी काठमाडौंभन्दा एक दिनको यात्राको दूरीमा पु¥याइएको, गोर्खालीहरू भयभीत भएर शरण माग्न आएको, लुटिएका सामान र श्यामार्पा लामाको हाडखोर फिर्ता गरेको तथा नेपालले चिनियाँ सम्राटसमक्ष आत्मसमर्पण गर्दै पञ्चवार्षिक कर बुझाउने कार्य (ट्राइब्युटरी मिसन) पठाउन स्वीकार गरेको आधारमा चीनको पूर्ण जीत भएको दाबी गरेको थियो । यस अभियानलाई छियानलोङका ‘दस महान् सैनिक अभियानहरू’ को अन्तिम शृंखलाको रूपमा प्रतिष्ठापित गरियो ।
यसको ठीक विपरीत, नेपालका ऐतिहासिक स्रोतहरूले नेपालको विजय वा कम्तीमा पनि सार्वभौमसत्ताको सफल प्रतिरक्षा भएको दाबी गर्छन् । १८४९ साल (सन् १७९२) मा राजा रणबाहदुर शाहले कुमाउँ–गढवाल मोर्चामा रहेका काजी जगजीत पाँडे, अमरसिंह थापा र गोल्या खवासलाई लेखेको पत्र, १८५० सालको आधिकारिक प्रतिवेदन र १९२५ सालको नुवाकोट भैरवी मन्दिरको स्वर्णपत्र अभिलेखमा नेपाली दृष्टिकोण सुरक्षित छ ।
नेपाली विवरणहरूका अनुसार, चिनियाँ सेना बेत्रावती नदी पार गरेर नुवाकोट कब्जा गर्न अघि बढेपछि दामोदर पाँडेको नेतृत्वमा रहेको नेपाली फौजले उच्च पहाडी भूभागको फाइदा उठाउँदै चिनियाँहरूमाथि भीषण प्रत्याक्रमण गरेको थियो । बाढी आएको बेत्रावती नदीको काठेपुल भाँचिदा, भिरबाट लड्दा र नेपाली बन्दुक तथा तोपको प्रहारमा पर्दा सयौं चिनियाँ सिपाही मारिए र नदीमा डुबे । (मंगोलिया जस्तो चिसो ठाउँबाट आएका सैनिकहरूले नेपालको गर्मी सहन नसकेको र बिरामी भएर युद्ध लड्न नसकेको पनि पुस्तकमा उल्लेख गरिएको छ ।)
नेपाली दस्तावेजहरूमा सेनापति फुकाङगानले पराजय भइरहेको देखेर आफ्ना भगौडा सिपाहीहरूको नाक काट्न आदेश दिएको र बाध्य भएर शान्ति सम्झौताको प्रस्ताव अघि सारेको उल्लेख छ । विदेशी शक्तिलाई राजधानी प्रवेश गर्न नदिई आफ्नै शर्तमा मातृभूमिको रक्षा गरियो र नेपाल कुनै पनि रूपमा चिनियाँ साम्राज्यको औपनिवेशिक अधीनतामा नपरेको नेपाली पक्षको तर्क छ ।
लेखकद्वय माइकल्स र सुको गहन विश्लेषण अनुसार, वास्तविकता यी दुई अतिवादी राष्ट्रवादी दाबीहरूको बीचमा विद्यमान छ । उनीहरू इतिहासकार लुडविग स्टिलरको निष्कर्षसँग सहमत हुँदै यस युद्धको अन्तिम नतिजालाई ‘न जीत, न हार’ (स्टेलमेट) का रूपमा व्याख्या गर्छन् । यसमा कुनै पनि पक्ष स्पष्ट रूपमा पूर्ण विजेता थिएन ।
सैन्य दृष्टिकोणबाट हेर्दा छिङ सेनाले नेपालको सिमानाभित्र सयौं किलोमिटर प्रवेश गरेर गोर्खालीहरूलाई रक्षात्मक स्थितिमा पु¥याएको भए तापनि बेत्रावतीमा आइपुग्दा चिनियाँ सेना चरम थकावट, बन्दोबस्तीको अभाव, बर्खे झरी, औलोको प्रकोप र बाटोघाटोको विकटताबाट थलिएको थियो । हिमालयका हिमाली भञ्ज्याङहरू हिउँले ढाकिन लाग्नुअघि चिनियाँ सेना सुरक्षित रूपमा तिब्बत फर्कनुपर्ने बाध्यता थियो ।
अर्कोतर्फ, नेपाल पनि एकैसाथ पश्चिममा गढवाल–कुमाउँ, पूर्वमा सिक्किम र आन्तरिक दरबारिया कलहसँग जुधिरहेकाले लामो समयसम्म विशाल छिङ सेनासँग लड्ने सामर्थ्य राख्दैनथियो । बेत्रावतीको लडाइँले चिनियाँहरूको अगाडि बढ्ने मनोबल तोड्यो भने नेपाली पक्षलाई पनि थप युद्ध विनाशकारी हुने चेत दियो । त्यसैले दुवै पक्षले आ–आफ्नो प्रतिष्ठा जोगाउने गरी युद्ध अन्त्य गरे ।
युद्धपछि भएको ‘बेत्रावती सन्धि’ दुवै पक्षद्वारा औपचारिक रूपमा हस्ताक्षर गरिएको कुनै एकल वा संयुक्त कानुनी दस्तावेज थिएन । यो युद्धभूमिमा आदानप्रदान गरिएका पत्रहरू, मौखिक सहमति र आपसी विवशताबाट निर्मित ‘कूटनीतिक समझदारी’ थियो भनी लेखकद्वयले तर्क गरेका छन् । चिनियाँ सेनापति फुकाङगान बेत्रावतीको लडाइँमा भएको सैन्य क्षति, वर्षा, भोकमरी र जाडोका कारण थप अघि बढ्न नसक्ने अवस्थामा थिए भने नेपाल पनि थप रक्तपात रोक्न र सार्वभौमसत्ता जोगाउन चाहन्थ्यो ।
यस समझदारीका मुख्य बुँदाहरूमा नेपाल र तिब्बतले चीनलाई ‘पिता’ र आपसमा ‘भाइ–भाइ’ को सम्बन्ध मान्ने, दुई देशबीच विवाद भए बेइजिङलाई मध्यस्थताका लागि गुहार्ने र नेपालले प्रत्येक पाँच वर्षमा बेइजिङमा ‘सौगात’ सहितको प्रतिनिधिमण्डल पठाउने उल्लेख थियो । बदलामा छिङ सम्राटले पनि बहुमूल्य उपहार पठाउने र नेपालमाथि विदेशी आक्रमण भए सहायता गर्ने भनिएको थियो (तर, सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अंग्रेज युद्धमा नेपालले सहायता माग्दा चीनले बेवास्ता गरदियो) । साथै, लुटिएका तासिलहुन्पोका सम्पत्ति फिर्ता गर्ने र श्यामार्पा लामाको हाडखोर बुझाउने सहमति भयो ।
लेखकहरूका अनुसार, यस समझदारीलाई दुवै पक्षले आफ्नै अनुकूल अर्थ्याए । चीनले यसलाई गोर्खालीहरूको ‘शरण र आत्मसमर्पण’ मानी नेपाललाई करदाता राज्यका रूपमा दर्ता गर्यो भने नेपालले यसलाई शान्ति, व्यापारिक लाभ र सार्वभौम स्वायत्तता जोगाउने रणनीतिक सम्झौताका रूपमा लियो ।
युद्धपछि नेपालले तिब्बतमाथिको राजनीतिक र मुद्रागत एकाधिकार गुमायो तर आफ्नो भौगोलिक अखण्डता जोगायो । चीनले गोर्खालीहरूलाई तिब्बतबाट धपाएर औपचारिक रूपमा नतमस्तक गरायो तर नेपाललाई आफ्नो प्रत्यक्ष नियन्त्रणमा राख्न सकेन ।
यस जटिल यथार्थलाई उजागर गर्न लेखकहरूले उपलब्ध ऐतिहासिक दस्तावेजहरूको अत्यन्त सूक्ष्म र समालोचनात्मक व्याख्या गरेका छन् । उनीहरूले नेपाली, चिनियाँ र तिब्बती स्रोतहरूलाई तथ्य संकलनको माध्यम मात्र नबनाई ती दस्तावेजहरू कुन राजनीतिक सन्दर्भ, प्रशासनिक दबाब र सांस्कृतिक संरचनाभित्र तयार गरिएका थिए भन्ने कुराको चिरफार गरेका छन् ।
नेपाली दस्तावेजहरूको विश्लेषण गर्दा लेखकहरूले १८५० सालको २८ पृष्ठ लामो अप्रकाशित प्रतिवेदन (जुन बेलायतका क्याप्टेन विलियम कर्कप्याट्रिकलाई बुझाइएको थियो) लाई विशेष महत्त्व दिएका छन् । यस प्रतिवेदन र रणबहादुर शाहका पत्रहरूले युद्धको समयक्रमलाई नेपाली दृष्टिकोणबाट प्रस्तुत गर्छन् ।
यी दस्तावेजहरूमा गोर्खालीहरूले छिङ सम्राटलाई ‘महान् बादशाह’ का रूपमा स्वीकार गरे पनि आफूलाई पराजित नभई ‘ईश्वरीको कृपा र आफ्नै युक्तिले देश थाम्ने’ स्वाभिमानी शक्तिका रूपमा चित्रण गरेका छन् । त्यस्तै, १९२५ सालमा बनाइएको नुवाकोट अभिलेखले राजा र नायबले चिनियाँ आक्रमणबाट देश जोगिएपछि भैरवीलाई चढाएको सुनको छाना र ढोकाको धार्मिक सन्दर्भ दिँदै विजयको स्थानीय स्मृतिलाई संस्थागत गरेको देखाउँछ ।
नेपाली स्रोतहरूले बेइजिङ पठाइने उपहारहरूलाई ‘मामूली सौगात’ वा ‘कोसेली’ का रूपमा उल्लेख गरेका छन् । यसले सार्वभौम बराबरीको भावना वा कूटनीतिक शिष्टाचार झल्काउँछ ।
चिनियाँ स्रोतहरूको सवालमा लेखकहरूले दरबारिया दस्तावेजहरूमा हुने सेन्सरशिप र यथार्थको तोडमरोडलाई उजागर गरेका छन् । ग्रान्ड काउन्सिलका गोप्य दस्तावेजहरू (कुओर्खा डाङ), आधिकारिक रणनीति संकलन (किङदिङ कुओर्खा चिलुए) र सम्राटको पोताला अभिलेखमा नेपाली राजाहरूका पत्रलाई चिनियाँ अनुवादकहरूले अत्यधिक विनम्र, लज्जास्पद र आत्मसमर्पणकारी भाषामा रूपान्तरण गरेको भेटिन्छ ।
ती पत्रहरूमा रणबहादुर शाहले आफूलाई ‘सानो कमिला’ वा ‘तुच्छ व्यक्ति’ भन्दै सम्राटको दैवी शक्तिको अगाडि घुँडा टेकेको भाषा प्रयोग गरिएको छ । तर, माइकल्स र सुले देखाएअनुसार, यो मन्चु र चिनियाँ अनुवादकहरूको कूटनीतिक चालबाजी थियो । त्यसले युद्धभूमिमा भोग्नुपरेको असफलतालाई ढाकछोप गरेर सम्राटलाई सन्तुष्ट पार्न यस्तो भाषा लेखेका थिए ।
अझ महत्त्वपूर्ण रूपमा लेखकहरूले आधिकारिक विवरणभन्दा बाहिरका निजी चिनियाँ स्रोतहरूको उपयोग गरेका छन् । फुकाङगानका सहयोगी याङ कुइका १२ वटा संस्मरणात्मक कविताहरूले बेत्रावतीको शिविरमा चिनियाँ सेनाले भोगेको चरम भोकमरी, जंगली घाँसपात खाएर बाँच्नुपरेको अवस्था र हिलो–पानीको कष्टको कारुणिक चित्र प्रस्तुत गर्छन् ।
त्यस्तै, उन्नाईसौं शताब्दीका मन्चु राजकुमार चाओ–लियानको कृति ‘स्याओ–तिङ चा–लु’ ले फुकाङगानको अहंकार र बेत्रावतीमा भएको चिनियाँ सेनाको लज्जास्पद पराजयको सत्यतथ्य बाहिर ल्याएको छ । त्यसलाई पछि वेई युआनले पनि आंशिक रूपमा स्वीकार गरेका छन् ।
तिब्बती स्रोतहरूको उपयोगले यस अध्ययनलाई त्रिकोणात्मक सन्तुलन दिएको छ । विशेषगरी, मन्त्री दोरिङ तेन्जिन पेल्जोरको आत्मकथा ‘म्युजिक अफ क्यान्डिड स्पीच’ युद्धको दुर्लभ र प्रत्यक्षदर्शी विवरण हो । पेल्जोरलाई नेपालीहरूले बन्दी बनाएर काठमाडौं लगेका थिए । यहाँ उनले बहादुर शाहसँग प्रत्यक्ष संवाद गरेका थिए र पछि बेत्रावतीको युद्धलाई सल्लाको रुखमा चढेर हेरेका थिए ।
पेल्जोरको विवरणले बेत्रावतीमा चिनियाँ सेना ‘बाख्राको दिसा खसेजस्तै’ नदीमा खसेर मरेको, सेनापति ताइफिङ्गालाई बम शाहले निधारमा गोली हानेर मारेको र फुकाङगान एक महिनासम्म लज्जाले आफ्नो पालबाट बाहिर ननिस्किएको यथार्थ चित्रण गर्छ । त्यस्तै, आठौं दलाई लामाको जीवनी र छैटौं तथा सातौं पञ्चेन लामाका पत्रहरूले युद्धको समयमा तिब्बती जनताले गोर्खाली लुटपाटबाट मात्र नभई चिनियाँ सेनाको ‘उलाग’ (निःशुल्क श्रम) र जबर्जस्ती खाद्यान्न असुलीबाट भोगेको चरम सास्तीलाई उजागर गर्छन् ।
नेपाल–चीन युद्धलाई बेलायती साम्राज्यले कसरी लिएको थियो त ? पुस्तकमा प्रस्तुत गरिएअनुसार, नेपाल–चीन युद्धप्रति बेलायती साम्राज्यको दृष्टिकोण व्यावहारिक, सतर्क र आफ्नै व्यापारिक स्वार्थबाट निर्देशित थियो । कलकत्तास्थित ब्रिटिश ईस्ट इन्डिया कम्पनीलाई दुवै पक्षले सहयोगका लागि गुहारेका थिए । सुरुमा तिब्बतले गोर्खाली आक्रमणविरुद्ध सैनिक सहायता मागेको थियो भने पछि चिनियाँ फौज काठमाडौं नजिक आइपुग्दा बहादुर शाहले पनि ब्रिटिशसँग सहयोगको याचना गरेका थिए ।
तर, गभर्नर–जनरल लर्ड कर्नवालिसले दुवै प्रस्तावलाई रणनीतिक रूपमा पन्छाए । कुनै एक पक्षको समर्थन गर्दा क्यान्टन (चीन) मा चलिरहेको ब्रिटिशहरूको आकर्षक समुद्री व्यापार जोखिममा पर्ने र छिङ सम्राट चिढिने डर उनीहरूलाई थियो ।
तसर्थ, ब्रिटिशहरूले कूटनीतिक मध्यस्थताको रणनीति अपनाउँदै नेपाललाई चिनियाँ सम्राटसँग शत्रुता नमोली शान्ति कायम गर्न सल्लाह दिए । यसै सिलसिलामा मध्यस्थताका लागि क्याप्टेन विलियम कर्कप्याट्रिकलाई काठमाडौं पठाइयो तर उनी आइपुग्नुअघि नै बेत्रावतीमा लडाइँ टुंगिसकेको थियो ।
पछि गएर ब्रिटिश पर्यवेक्षकहरूले यो युद्ध र त्यसपछिका परिणामलाई नजिकबाट नियालेका थिए । ब्रायन हज्सन र थोमस वेडजस्ता बेलायती कूटनीतिज्ञहरूले नेपालले चीन पठाउने पञ्चवार्षिक सौगात मिसनलाई राजनीतिक दासता नभई औपचारिक शिष्टाचार र व्यापारिक नाफा कमाउने माध्यमका रूपमा बुझेका थिए । बेलायती दृष्टिकोणमा नेपालले चिनियाँ सम्राटको नाममात्रको सर्वोच्चता स्वीकार गरेर आफ्नो स्वायत्तता र व्यापारिक लाभ सुरक्षित राखेको थियो ।
‘पारसांस्कृतिकता’ (ट्रान्सकल्चरालिटी) को अवधारणा यस पुस्तकको सबैभन्दा मौलिक र महत्त्वपूर्ण सैद्धान्तिक योगदान हो । पारसांस्कृतिकता भनेको संस्कृतिहरू बन्द, स्थिर र छुट्टाछुट्टै राष्ट्रिय एकाइ होइनन्, बरु तिनीहरू निरन्तर अन्तर्क्रिया, आदानप्रदान, सीमाहीनता र पारस्परिक प्रभावको तरल अवस्थामा रहन्छन् भन्ने मान्यता हो । आधुनिक युरोपेली अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्तहरूले सार्वभौमसत्ता, कर दिने राज्य वा पराधीनतालाई कानुनी र कठोर विभाजनका रूपमा हेर्छन् । तर, अठारौं शताब्दीको हिमालय क्षेत्रमा यस्ता अवधारणाहरू अत्यन्तै लचिला, व्यावहारिक र बहुअर्थी थिए भन्ने लेखकद्वयको तर्क छ ।
कसरी भाषा र सांस्कृतिक प्रतीकहरूको भिन्न–भिन्न बुझाइले नै युद्धको शान्तिपूर्ण अवतरण सम्भव बनायो भनी लेखकहरूले देखाएका छन् । उदाहरणका लागि, बेत्रावती सन्धिपछि बेइजिङ पठाइने उपहारहरूलाई प्रत्येक पक्षले आफ्नो अनुकूल व्याख्या गरेका थिए ।
नेपाली दरबारका लागि ती वस्तुहरू ‘सौगात’ वा ‘कोसेली’ थिए जसको अर्थ मित्रवत सम्बन्धमा दिइने सम्मानजनक उपहार हुन्थ्यो र यसले नेपालको सार्वभौमसत्ता गुमेको अर्थ राख्दैनथ्यो । बेइजिङ जाने प्रतिनिधिमण्डल कर बुझाउने बाध्यताले नभई व्यापारिक नाफा र कूटनीतिक सद्भावका लागि पठाइने मिसन थियो भनी १९६३ सालमा प्रधानमन्त्री चन्द्र शमशेरले ब्रिटिस प्रतिनिधिलाई लेखेको पत्रमा स्पष्ट पारेका थिए । (जंगबहादुर राणाले चिनियाँ सम्राटलाई भेट्नुअघि बेलायतकी महारानी भिक्टोरिया र फ्रान्सका सम्राट नेपोलियन तृतीयलाई भेटेकोमा चिनियाँ सम्राट रिसाएकोले जगतसेराको प्रतिनिधिमण्डललाई दुर्व्यवहार गरेको प्रसंग रोचक छ ।)
अर्कोतर्फ, छिङ साम्राज्यको कन्फ्युसियसवादी विश्वदृष्टिकोण अनुसार सम्राट ‘स्वर्गका पुत्र’ (तियानजी) थिए र संसारका सबै राज्यहरू उनीभन्दा मुनि थिए । त्यसैले चिनियाँहरूले ती उपहारलाई ‘गोङ’ (कर वा आदरभेट) र नेपाललाई ‘वाइफान’ (बाहिरी करदाता राज्य) का रूपमा दर्ता गरेका थिए । तिब्बतीहरूले भने यसलाई ‘छाम्स झु’ (कुशलक्षेम वा शिष्टाचार भेट) का रूपमा बुझेका थिए ।
यो भाषिक द्वैधता कुनै अनुवादको कमजोरी वा त्रुटि थिएन । यो एक जानाजानी कायम राखिएको पारसांस्कृतिक रणनीति थियो । नेपालले आफूलाई पूर्ण दास स्वीकार गर्नुपरेको भए वा चीनले नेपाललाई सार्वभौम बराबरीको मान्यता दिनुपरेको भए यो युद्ध कहिल्यै रोकिने थिएन ।
तर, भाषाको बहुअर्थीपनाले गर्दा चीनले आफ्नो आन्तरिक जनता र इतिहासका अगाडि ‘गोर्खाले आत्मसमर्पण गर्यो’ भनेर सम्राटको दैवी प्रतिष्ठा जोगाउन सक्यो भने नेपालले आफ्नो दरबार र जनताका अगाडि ‘हामीले चिनियाँ सेनालाई धपाएर देशको स्वतन्त्रता जोगायौं’ भनेर स्वाभिमान कायम राख्न सक्यो । लेखकहरूले यसलाई ‘साइनो–नेपाल ट्रान्सकल्चरल नेगोसिएसन’ को नमूना मानेका छन् ।
यसका साथै, पुस्तकले धर्म र राजनीतिको पारसांस्कृतिक मिलनलाई पनि स्पष्ट पारेको छ । छिङ सम्राट छियानलोङले आफूलाई मञ्जुश्री बोधिसत्त्व र चक्रवर्ती राजाका रूपमा प्रस्तुत गर्दै तिब्बती बौद्ध धर्मको संरक्षणको नाटक गरे जबकि नेपाली शासकहरूले आफूलाई विष्णुका अवतार र शुद्ध हिन्दु राज्य (‘असल हिन्दुस्तान’) का संरक्षकका रूपमा उभ्याए ।
नेपालले विदेशी ‘फिरंगी’ (ईसाई) र ‘भोटे’ (बौद्ध) हरूको प्रभावबाट बच्न जात व्यवस्था र हिन्दु शुद्धताका नियमहरूलाई कडाइका साथ लागू ग¥यो । विदेश भ्रमण गरेर फर्केका नेपाली दूतहरूले समेत स्वदेश फर्केपछि ‘प्रायश्चित्त’ र शुद्धीकरणको कर्मकाण्ड पूरा गर्नुपर्थ्यो । यी भिन्न–भिन्न धार्मिक–सांस्कृतिक मान्यताहरू एकअर्कासँग ठोक्किए पनि हिमालयको यस विशेष भूगोलमा तिनीहरूले सहअस्तित्वको नयाँ ढाँचा निर्माण गरे ।
बहुभाषिक स्रोतहरूको समृद्ध विश्लेषण हुँदाहुँदै पनि यस पुस्तकमा केही स्पष्ट सीमा र कमजोरीहरू विद्यमान छन् । लेखकहरूले ‘पारसांस्कृतिकता’ को सैद्धान्तिक अवधारणालाई अत्यधिक महत्त्व दिँदा युद्धको ठोस सैन्य यथार्थ र भूराजनीतिक शक्ति सन्तुलन केही ओझेलमा परेको देखिन्छ ।
कूटनीतिक शब्दावलीको बहुअर्थीपनालाई मात्र आधार बनाएर दुवै पक्षलाई सन्तुलित देखाउन खोज्दा युद्धका कारण नेपालले तिब्बतमा गुमाएको ऐतिहासिक आर्थिक–मुद्रागत एकाधिकार र त्यसबाट नेपाली अर्थतन्त्रमा परेको गम्भीर धक्काको पर्याप्त गहिराइमा समीक्षा गरिएको छैन ।
त्यसबाहेक मूल स्रोतहरूको विश्वसनीयता र तुलनामा सन्तुलनको अभाव खट्किन्छ । नेपाली स्रोतहरू मुख्यतया केही पत्र, वंशावली र १८५० सालको प्रतिवेदनमा सीमित छन् जबकि चिनियाँ र तिब्बती स्रोतहरूको बाहुल्य छ ।
त्यस्तै स्थानीय हिमाली समुदाय (जस्तै तामाङ वा शेर्पा) को भोगाइ र युद्धको स्थानीय प्रभावलाई बेवास्ता गर्दै दरबारिया र सैन्य अभिजात वर्गका अभिलेखहरूमा मात्र निर्भर रहनु पुस्तकमा विद्यमान ठूलो ग्याप हो ।
समग्रमा एक्सेल माइकल्स र सु युनहङको यो पुस्तक १७९१–१७९२ को नेपाल–चीन युद्धको परम्परागत ऐतिहासिक बुझाइलाई भत्काउने क्रान्तिकारी बौद्धिक प्रयास हो । यसले कुनै एक पक्षलाई विजेता वा पराजित घोषणा गर्नुको सट्टा युद्धलाई ऐतिहासिक स्टेलमेटको रूपमा प्रमाणित गरेको छ । युद्धको अन्त्य दुवै पक्षको थकान र रणनीतिक सम्झौताबाट भएको थियो ।
लेखकहरूले मूल नेपाली, चिनियाँ र तिब्बती स्रोतहरूको बहुभाषिक तुलनात्मक अध्ययनमार्फत दरबारिया झूट, सैन्य पीडा, अनुवादको राजनीति र कूटनीतिक छलछाम लगायत इतिहासका लुकेका पाटाहरूलाई उजागर गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्धहरू तोप र बन्दुकको बलमा मात्र नभई भाषा, संस्कृति र विश्वदृष्टिकोणहरूको लचिलो समायोजनबाट निर्मित हुने पुस्तकले स्थापित गरेको पारसांस्कृतिकताको सिद्धान्तले स्पष्ट पार्छ । इतिहासलाई एकलकाँटे राष्ट्रिय संकथनबाट मुक्त गरी बहुसांस्कृतिक जटिलताको दर्पणमा हेर्नुपर्छ भन्ने सन्देश दिनु नै यस अनुसन्धानमूलक कृतिको सबैभन्दा ठूलो सार्थकता हो ।
This review was first published on Clickmandu.
