
हर्मुज जलयोजकमा विकसित भइरहेको संकटले एउटा स्थानीय द्वन्द्वभन्दा धेरै ठूलो कुरा प्रकट गरेको छ । यो बदलिँदो विश्वव्यापी शक्तिको एउटा सूक्ष्म रूप हो ।
इरानको आईआरजीसीले विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्गमध्ये एकलाई अवरुद्ध पार्न कम लागतका ड्रोन र मिसाइल झुण्डहरू प्रयोग गर्दा विश्वव्यापी ऊर्जा बजार र भूराजनीतिक गठबन्धनहरू धर्मराइरहेका छन् ।
कुनै समय दबदबा राख्ने अमेरिकाले अहिले आधुनिक युगको स्वेज दुविधा सामना गरिरहेको छ । कि त थप बल प्रयोग गर्ने वा आफ्नो इज्जत जोगाएर बाहिरिने बाटो खोज्ने । लामो समयदेखि अमेरिकी सुरक्षामा भर परेका खाडी देशहरूले आफ्नो भविष्यमाथि प्रश्न उठाइरहेका छन् भने विगतमा सम्झौता गराएका र मध्यस्थता प्रस्ताव गरेका चीन र रुस फाइदाको स्थितिमा देखिन्छन् ।
यस संकटले तत्कालको परिणाम मात्र निर्धारण गर्ने छैन बरु यसले पश्चिम एसिया र त्यसभन्दा बाहिरको शक्तिसन्तुलनलाई नयाँ स्वरूप दिन सक्छ ।
हर्मुज जलयोजक फेरि एकपटक विश्वव्यापी आर्थिक चिन्ताको केन्द्र बनेको छ । इरान समर्थित बलहरू, विशेषगरी आईआरजीसी, ले ढुवानी मार्गहरूलाई धम्की दिन कम लागतका ड्रोन र मिसाइलहरूको प्रयोग गरेका छन् ।
रुस र चीनको मौन समर्थनमा आईआरजीसीले अमेरिकाका लागि प्रभावकारी रूपमा आधुनिक युगको स्वेज संकट खडा गरिदिएको छ । यस अवरोधले दैनिक करिब ६० लाख ब्यारल तेलको आपूर्ति विस्थापित गरेको छ जसले कच्चा तेलको मूल्य प्रति ब्यारल १२० डलर पुर्याएको छ ।
यसको प्रतिक्रियास्वरूप, जी७ ले बजारलाई स्थिर बनाउन रणनीतिक भण्डारबाट ४० लाख ब्यारल तेल निकाल्ने योजना घोषणा गरेको छ । दैनिक झन्डै ६० लाख ब्यारलको अवरोधलाई ४० करोड ब्यारलको मौज्दातले पूर्ति गर्दा यो आपूर्ति करिब ६७ दिनसम्म टिक्नेछ जसले तेल बजारलाई अस्थायी रूपमा स्थिर बनाउनेछ ।
राष्ट्रपति ट्रम्पले ढुवानीको रक्षाका लागि २० अर्ब डलरको बीमा कोष प्रस्ताव गरेर हर्मुज जलयोजकको यो आर्थिक उथलपुथललाई सामना गर्ने प्रयास गरे । तर, पेन्टागनले संकेत गरेअनुसार कुवेतदेखि ओमानसम्मको सम्पूर्ण करिडोर सुरक्षित गर्न वाशिङटनसँग पर्याप्त जलसैनिक स्रोतको अभाव छ र लामो समयसम्म अवरोध हुने जोखिम कायमै छ ।
खाडी संकट अर्को स्तरमा पुगिसकेको छ जहाँ अमेरिकाले बहराइनबाट हिमार रकेटहरू प्रयोग गरी दक्षिणी इरानको केशम टापुमा रहेको डिसेलिनेसन प्लान्ट (नुनिलो पानी शुद्धीकरण केन्द्र) मा आक्रमण गरेको छ जसको बदलामा इरानीहरूले बहराइनको डिसेलिनेसन प्लान्टमा प्रहार गरेका छन् ।
खाडीमा पानीको तनाव उच्च भएका देशहरू जो डिसेलिनेसनमा निर्भर छन् तिनमा बहराइन (३८७८ प्रतिशत), यूएई (१७०८ प्रतिशत), साउदी अरब (८८३ प्रतिशत), कतार (४४८ प्रतिशत), इरान (७२ प्रतिशत) र ओमान (११७ प्रतिशत) रहेका छन् जसको अर्थ यी देशहरूले उपलब्ध ताजा पानीका स्रोतहरू भन्दा धेरै पानी उपभोग गर्छन् र डिसेलिनेसन प्लान्टमा भारी निर्भर छन् ।
खाडी देशहरू ताजा पानीका लागि डिसेलिनेसनमा ठूलो मात्रामा निर्भर छन् जसमा कतार (१०० प्रतिशत), यूएई (९५ प्रतिशत), कुवेत (९० प्रतिशत), बहराइन (९० प्रतिशत), ओमान (८६ प्रतिशत) र साउदी अरब (७० प्रतिशत) रहेका छन् ।
थप रूपमा, जीसीसी देशहरूले आफ्नो कुल खाद्य आपूर्तिको झन्डै ८५ प्रतिशत आयात गर्छन् जसमा यूएई (९० प्रतिशत), बहराइन (९० प्रतिशत), साउदी अरब (८० प्रतिशत), कतार (९८ प्रतिशत), कुवेत (९४ प्रतिशत) र ओमान (७४ प्रतिशत) रहेका छन् ।
खाद्यान्न अभाव रोक्न यी देशहरूले हर्मुज जलयोजक अवरुद्ध रहेकै अवस्थामा भारत, टर्की र अन्य नजिकका देशहरूबाट खाद्यान्न एयरलिफ्ट गर्ने जस्ता उपायहरू अपनाइरहेका छन् । यूएईको लुलु ग्रुपले अमिराती बजारमा मौज्दात कायम राख्न भारतबाट ८० हजार केजी खाद्यान्न एयरलिफ्ट गरेको छ ।
हर्मुज जलयोजकमा जहाजहरूमाथि आक्रमण गर्ने आईआरजीसीको धम्कीका कारण लन्डनका बिमाकर्ताहरूले ठूलो जोखिम प्रिमियम स्वीकार गर्न अस्वीकार गरिरहेका छन् । मेर्स्क र चीनको कोस्को जस्ता धेरै ढुवानी कम्पनीहरूले हर्मुज जलयोजक भएर जाने खाडी देशका सामान ढुवानी रोकिसकेका छन् ।
खाडी क्षेत्रभरि इरानी आक्रमणहरूले अमेरिकी र इजरायली सैन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएका छन् । कुवेतमा अली अल सालेम एयरबेसमा ४० करोड डलर मूल्यका पेट्रियट रेडार कम्पोनेन्टहरू नष्ट भए । कतारको अल–खोर साइटले १.१ अर्ब डलरको एएन÷एफपीएस–१३२ रेडार गुमायो ।
बहराइनमा रहेको अमेरिकी फिफ्थ फ्लीटको मुख्यालयले उपग्रह सञ्चार टर्मिनलहरू गुमाएको छ । साउदी अरबमा प्रिन्स सुल्तान बेसले ५० करोड डलरको थाड रेडार गुमायो । इजरायलको नेभाटिम एयरबेसले ४० करोड डलरको पेट्रियट कम्पोनेन्टहरू गुमायो जबकि पाल्माचिमले ५० करोड डलरको एरो ३ लन्चर गुमायो ।
हात्जोर एयरबेसले ३० करोड डलरको डेभिड्स स्लिङ ब्याट्री गुमायो । थप रूपमा, थाड रेडारहरू राखिएका उत्तरी र दक्षिणी दुवै तैनाथी स्थलहरूमा क्षति पुग्यो जसको मूल्य थप ५० करोड डलर थियो ।
समग्रमा, रेडार र मिसाइल रक्षा प्रणालीबाट मात्रै इजरायली सैन्य क्षति २.२ अर्ब डलरभन्दा बढी अनुमान गरिएको छ । यी महत्त्वपूर्ण प्रणालीहरूको विनाशले इजरायललाई पनि उसका खाडी समकक्षहरू जस्तै इरानी ब्यालिस्टिक मिसाइल आक्रमणहरूका लागि बढ्दो जोखिममा पारेको छ ।
खाडी देशहरू र अमेरिकाबीचको दरार
अमेरिकाले आफ्नो रक्षाभन्दा इजरायली रक्षालाई प्राथमिकता दिएपछि खाडी देशहरूको असन्तुष्टि नयाँ उचाइमा पुगेको छ । दशकौंको पेट्रो डलर साझेदारी र सुरक्षा सम्झौताका बाबजुद साउदी अरब, यूएई र कतारले मिसाइल रक्षा प्रणालीहरू इजरायलतर्फ स्थानान्तरण गरिएको पाउँदा आफूहरूलाई पाखा लगाइएको महसुस गरे ।
यसैबीच, चीनले पहिले नै साउदी अरब र इरान बीच सन् २०२३ मा ऐतिहासिक मेलमिलाप गराइसकेको थियो । हर्मुज जलयोजक भएर बग्ने तेलमा चिनियाँहरूको ठूलो चासो भएकाले उनीहरूले साउदी अरब र इरान बीच भित्रभित्रै सम्पर्क गराएका छन् । यसकारण हुतीहरूले अरामको–सिनोपेक रिफाइनरीमा आक्रमण गरेका छैनन् ।
चिनियाँहरूले साउदी र इरानीहरूबीच मध्यस्थता गरिरहँदा रुसीहरू यूएई र इरानबीच मध्यस्थता गरिरहेका छन् । रुसका विदेशमन्त्री सर्गेई लाभरोभको भनाइअनुसार, खाडी देशहरूले इरानलाई सम्झाउन मस्कोसँग सम्पर्क गरेका थिए जसले मस्कोको मध्यस्थता प्रयासलाई प्रकट गर्छ ।
यसरी खाडी शक्तिहरूले चीन र रुसलाई विवेकको आवाजका रूपमा देख्छन् जुन सिनेटर लिन्डसे ग्राहम जस्ता अमेरिकीहरूले खाडी राष्ट्रहरूलाई ठूलो युद्धमा सामेल हुन दिएको आह्वानको ठीक विपरीत छ । जेरुसेलम पोस्ट जस्ता इजरायली मिडियाले खाडी राज्यहरूले इरानमा बमबारी गरेको वा गर्ने तयारी गरेको भनी झूटो दाबी गरे । अरब–इरानी द्वन्द्व भड्काउनु त्यसको उद्देश्य थियो ।
यद्यपि, खाडी नेताहरूले यी प्रयासहरूलाई बुझे र आपसी विनाशको खेलमा सामेल हुन अस्वीकार गरे ।
यूएई र इजरायल बीचको अब्राहम सम्झौता गराउन भूमिका खेलेका यूएईका अर्बपति खलफ अहमद अल–हबतुरले ९ मार्चमा सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मैले अमेरिकी सिनेटर लिन्डसे ग्राहमको बयान सुनें जसमा उनले खाडी सहयोग परिषद्का देशहरूलाई यस युद्धमा प्रवेश गर्न आह्वान गर्दै हामी पनि आक्रमणमा छौं र हामीले लडाइँमा सामेल हुनुपर्छ भनेका छन् ।
म उहाँलाई स्पष्ट भन्न चाहन्छु– हामीलाई राम्ररी थाहा छ हामीमाथि किन आक्रमण भइरहेको छ, र हामीलाई यो पनि थाहा छ कि कसले यस क्षेत्रका तथाकथित सहयोगीहरूसँग परामर्श नगरी सम्पूर्ण क्षेत्रलाई यो खतरनाक तनावमा धकेल्यो ।
हामी भगवानलाई धन्यवाद दिन्छौं कि यूएई र खाडी सहयोग परिषद्का देशहरू राम्रो अवस्थामा छन् र हामीलाई यस्तो व्यक्तिको आवश्यकता छैन जसले हामीलाई बचाउन मध्यपूर्व आएको दाबी गर्छ । सत्य के हो भने अमेरिकाले हतारमा गरेका निर्णयहरूले यस क्षेत्रलाई एउटा यस्तो युद्धमा फसायो जसमा यहाँका जनताको कुनै भूमिका थिएन ।
हामी इरानी खतरालाई इन्कार गर्दैनौं जुन हालैका दिनहरूमा स्पष्ट भएको छ । हामी इरानलाई विश्वास गर्दैनौं । तर यो एक फोहोर खेल हो जसमा धेरै शक्तिहरू हाम्रो क्षेत्रको खर्चमा भिडिरहेका छन् जसमा कुनै सम्मान र पारदर्शिता छैन ।
यस दृश्यमा इरान, इजरायल र अमेरिका सबैले आफ्नै स्वार्थ अनुसार काम गर्छन्, मध्यपूर्वका अरब देशका जनताको स्वार्थ अनुसार होइन । त्यसैले हामी स्पष्ट भन्छौं– हामी अरूको स्वार्थ पूरा गर्न यो युद्धमा प्रवेश गर्ने छैनौं, न त हामी कूटनीतिक र राजनीतिक समाधानबाट बच्न सकिने द्वन्द्वमा हाम्रा छोराहरूको बलिदान दिनेछौं ।
हामी हाम्रा छोराहरूको जीवनको मूल्य बुझ्छौं र केहीले गरे जस्तो उनीहरूको आत्मालाई कोल्याटरल ड्यामेजको रूपमा व्यवहार गर्दैनौं । हाम्रा छोराहरूको जीवनभन्दा बहुमूल्य यस संसारमा केही छैन र विश्वको कुनै पनि देशसँगको गठबन्धन यी जीवनहरू जोखिममा पार्न लायक छैन ।
राष्ट्रपति डोनल्ड ट्रम्प र सिनेटर ग्राहम इजरायलको स्वार्थका लागि आफ्नो देश र अमेरिकीहरूको जीवन जोखिममा पार्न तयार छन् भने त्यो उनीहरूको रोजाइ हो । जहाँसम्म हाम्रो कुरा छ, हामी त्यसो गर्ने छैनौं । उनीहरू अरबका सहयोगी हुन् र हामीलाई अमेरिकी सुरक्षाको खाँचो छ, सिनेटर ग्राहम भन्छन् । म उनलाई भन्छु– हामीलाई तपाईंको सुरक्षा चाहिँदैन । हामी तपाईंहरूबाट के चाहन्छौं भने केवल आफ्ना हातहरू हामीबाट टाढा राख्नुहोस् ।
उहाँ यो पनि भन्नुहुन्छ, ‘हामी तपाईंहरूलाई हतियार बेच्छौं ।’ मानौं, यो अमेरिकाले हामीलाई दिएको कुनै सेवा हो । सत्य के हो भने यो कसैको गुन होइन । हामी तपाईंको सुरक्षामा लगानी गर्छौं र यी हतियार प्रणालीका लागि अर्बौं डलर तिर्छौं । यो सम्झौतामा आधारित ठूलो व्यापार र उद्योग हो ।
वास्तवमा अमेरिका आफैं अहिले अन्य युद्धहरूमा आफ्ना सहयोगीहरूलाई आपूर्ति गर्न युक्रेनबाट हतियार किन्न लागिरहेको छ । यो युद्ध र हतियार बिक्रीमा फस्टाउने उद्योग हो, कुनै परोपकारी कार्य होइन । र सबैभन्दा स्पष्ट कुरा त, सिनेटर ग्राहम आफैंले तेलको बारेमा भनेका छन् ।
इरान र भेनेजुएलासँग मिलेर विश्वको ३१ प्रतिशत तेल भण्डार छ र अमेरिकाले विश्वको तेलको यो हिस्सासँग साझेदारी स्थापना गर्न सक्छ र यो चीनका लागि दुःस्वप्न हुने उनले बताए । इरानमा शासन परिवर्तन भयो भने नयाँ मध्यपूर्व हुनेछ र अमेरिकाले धेरै पैसा कमाउनेछ भनी उनले थपे ।
तब मात्र चित्र स्पष्ट हुन्छ । र तब मात्र हामीले बुझ्छौं कि उनीहरू यो युद्ध किन चाहन्छन् भनेर । अन्त्यमा म सिनेटर ग्राहमलाई भन्छु– तपाईं अमेरिकी सिनेटमा सिनेटर हुनुहुन्छ होला, तर तपाईंको बयान सुन्ने जो कोहीले पनि तपाईं इजरायली नेसेट (संसद्) को सदस्य हो भन्ने सोच्न सक्छ किनकि तपाईं अमेरिकी जनताको स्वार्थ भन्दा इजरायलको स्वार्थको बढी रक्षा गर्नुहुन्छ ।
हाम्रो क्षेत्रका जनतालाई अरूको युद्धबाट टाढा रहेर सुरक्षा र स्थिरतामा बाँच्ने अधिकार छ । हामीलाई हाम्रो स्वार्थ र सुरक्षा कसरी गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि छ । हामी शान्ति र स्थिरता चाहन्छौं । हामी युद्धको बाटोमा धकेलिएको स्वीकार गर्ने छैनौं, न त हामी अरूको लडाइँको इन्धन बन्न स्वीकार गर्नेछौं ।’
यूएईका अर्बपतिको यो आह्वान मध्यपूर्वभरि फैलियो र ओमान तथा कतारका प्रभावकारी व्यक्तिहरू पनि यसैमा सामेल भए । कतारका एक प्रभावकारी व्यक्तिले एक्समा लेखे, ‘हामीले इरानविरुद्ध युद्ध घोषणा गर्नेबित्तिकै अमेरिका युद्धबाट पछि हट्नेछ र दुवै पक्षलाई हतियार बेच्ने हतियार व्यापारीमा परिणत हुनेछ । यसले दुवै पक्षलाई गिराउन हाम्रा स्रोतहरू सिध्याउनेछ । दुवै पक्ष खसेपछि ग्रेटर इजरायल प्रोजेक्ट’ हासिल गर्न सजिलो हुनेछ । हाम्रो स्वार्थ यसमा सहभागी नहुनु र उनीहरूलाई आपसमा लड्न दिनुमा छ ।’
ओमानका सुल्तानले पनि हालैको द्वन्द्वबारे छलफल गर्न आयोजित अरब लिग सम्मेलनमा इरानमाथि अमेरिकी–इजरायली कारबाहीको निन्दा गरे । बरु ओमान र इराकले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीलाई बधाई दिए । सिनेटर लिन्डसे ग्राहमले यी टिप्पणीहरूलाई सहज रूपमा लिएनन् र साउदी अरबलाई ट्वीट गर्दै साउदीहरूले अमेरिकाको युद्ध प्रयासमा साथ दिन सक्दैनन् भने अमेरिकाले उनीहरूको रक्षा किन गर्ने भनी सोधे । ग्राहमको यो आक्रोशले साउदी अरबसँगको इजरायली निराशालाई झल्काउँछ किनकि साउदीले गाजा युद्धपछि अब्राहम सम्झौतामा सामेल हुन ढिलाइ गरेको छ ।
माथिका घटनाक्रमहरूले स्पष्ट पार्छन् कि गाजा युद्धदेखि लेबनन, सिरिया र अहिले इरानमा भएका आक्रमणहरूका कारण इजरायलको बढ्दो प्रभुत्वलाई लिएर खाडी देशहरू र अमेरिका बीच दरार बढ्दै गएको छ । इजरायलका नेता एहुद बराकले एर्डाेआनको टर्कीलाई अर्को इरान समेत भनेका छन् जसलाई टर्कीले राम्रो मानेको छैन ।
अर्कोतिर टर्कीमा मिसाइल प्रहार गर्ने दोषी पत्ता लगाउन अंकाराले तेहरानसँग संयुक्त कार्यदल गठन गरेको छ । अजरबैजानले हालैको मिसाइल प्रहारबारे इरानी स्पष्टीकरण स्वीकार गरेको छ र इरानका लागि सहायताका लागि आफ्ना सीमाहरू खोलेको छ ।
सिरियाली कुर्दिश समूहहरूले समेत इराकी कुर्दिश समूहहरूलाई अर्को धोका हुने डरले अमेरिकाको योजनामा नपर्न आग्रह गरेका छन् । इरानको दक्षिणपूर्वी बलुची समूहहरूले पनि अमेरिकी योजनाहरूलाई अस्वीकार गरेका छन् र तेहरानमा नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेईलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
इरानमा सत्ता परिवर्तन अपरेशन
अमेरिकी र इजरायलीहरू अहिलेसम्म तेहरानमा सत्ता परिवर्तन गर्न असमर्थ भएका छन् । अमेरिका र इजरायलले इरानमा सैन्य आक्रमण सुरु गर्नुभन्दा केही समयअघि नेशनल इन्टेलिजेन्स काउन्सिलले तयार पारेको एक गोप्य मूल्यांकनले एउटा गम्भीर निष्कर्ष निकालेको छ– ठूलो स्तरको सैन्य आक्रमणले पनि इरानको जरा गाडेको राजनीतिक र सुरक्षा संरचनालाई ढाल्न सक्ने सम्भावना छैन । यो रिपोर्ट तुलसी गाब्बार्डको नेतृत्वमा रहेको डाइरेक्टर अफ नेशनल इन्टेलिजेन्सको कार्यालय अन्तर्गत तयार पारिएको थियो ।
वाशिङटन पोस्ट र न्युयोर्क टाइम्सका हालैका रिपोर्टहरूका अनुसार, इस्लामिक गणतन्त्रसँग चार दशकमा निर्मित गहिरो संस्थागत लचिलोपन रहेको गुप्तचर समुदायले मूल्यांकन गरेको छ । अली खामेनेईको लक्षित हत्या भएको अवस्थामा पनि प्रणाली सत्ताको पतन नभई निरन्तरता सुनिश्चित गर्न संरचना गरिएको छ ।
शक्तिशाली सुरक्षा संस्थाहरूद्वारा समर्थित इरानको धार्मिक संयन्त्रभित्रको उत्तराधिकार प्रक्रिया विशेषगरी वाशिङटनले ऐतिहासिक रूपमा आशा गरेको विखण्डन रोक्न डिजाइन गरिएको हो ।
यो रिपोर्ट सीआईएद्वारा पहिले गरिएको कार्यमा आधारित थियो जसले इरानको सर्वोच्च नेतालाई हटाउँदैमा सत्ता ढल्दैन भनी पहिले नै निष्कर्ष निकालिसकेको थियो । बरु, सम्भावित परिणाम विद्यमान शक्ति संरचनाभित्र व्यवस्थित संक्रमण हुनेछ ।
पश्चिमी जगतमा अक्सर गलत बुझिएको इरानको राजनीतिक वास्तुकला केवल एक व्यक्तिमा केन्द्रित नभई धार्मिक निकायहरू, क्रान्तिकारी संस्थाहरू र सुरक्षा बलहरूको नेटवर्कमा आधारित छ जसले सामूहिक रूपमा राज्यको वैचारिक र प्रशासनिक निरन्तरता कायम राख्छन् ।
यस प्रणालीको केन्द्रमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स छ जुन देशकै सबैभन्दा शक्तिशाली संस्था हो । दशकौंदेखि आईआरजीसी एक परम्परागत सैन्य बलभन्दा धेरै माथि विकसित भएको छ । यसले एलिट कम्ब्याट युनिटहरू कमान्ड गर्छ, रणनीतिक मिसाइल कार्यक्रमहरूको निरीक्षण गर्छ, गुप्तचर नेटवर्कहरू नियन्त्रण गर्छ र ऊर्जादेखि निर्माण र दूरसञ्चारसम्मका क्षेत्रहरूमा ठूलो आर्थिक प्रभाव राख्छ ।
सैन्य, आर्थिक र राजनीतिक शक्तिको यस मिश्रणले गार्डलाई सत्ता स्थिरताको मेरुदण्डको रूपमा काम गर्न अनुमति दिएको छ ।
यो गहिरो संरचनाका कारण अमेरिकी गुप्तचर विश्लेषकहरू बाह्य सैन्य दबाब वा आन्तरिक अशान्तिले इरानी प्रणालीलाई छिट्टै ध्वस्त पार्न सक्छ भन्ने कुरामा शंका गर्छन् । इरानभित्र र बाहिर विपक्षी आन्दोलनहरू अस्तित्वमा भए पनि नेतृत्व संकटको समयमा राज्य संयन्त्र कब्जा गर्न आवश्यक संगठनात्मक क्षमता वा एकीकृत नेतृत्वको अभाव उनीहरूमा रहेको गुप्तचर अधिकारीहरूको निष्कर्ष छ ।
यी निष्कर्षहरू वाशिङटनबाट आउने बयानबाजीको विपरीत छन् जहाँ डोनल्ड ट्रम्पले सैन्य दबाबले इरानको नेतृत्वलाई सफाया गर्न सक्ने र पश्चिमी स्वार्थ अनुकूलको नयाँ सरकारको बाटो खोल्न सक्ने सुझाव दिएका छन् । यद्यपि, व्यावसायिक गुप्तचरहरू आफ्नो मूल्यांकनमा धेरै सतर्क देखिएका छन् । इरानको क्रान्तिकारी राज्य विशेषगरी यस प्रकारको नेतृत्व हत्याको परिदृश्यमा पनि बाँच्नका लागि डिजाइन गरिएको उनीहरूको विश्लेषणले सुझाव दिन्छ ।
इरानी नेताहरूले प्रणालीमा विकल्पहरू तयार गर्न दशकौं खर्च गरेका छन् । एसेम्बली अफ एक्सपर्ट्स, गार्डियन काउन्सिल र आईआरजीसी जस्ता संस्थाहरूले सुनिश्चित गर्छन् कि गणतन्त्रको व्यापक वैचारिक ढाँचा नबिगारिकन अधिकार हस्तान्तरण गर्न सकिन्छ । यो तहगत संरचनाले इरानलाई ती शासनहरू भन्दा मौलिक रूपमा फरक बनाउँछ जुन एकजना तानाशाह नेता हट्नेबित्तिकै छिट्टै ढल्छन् ।
रिपोर्टको व्यापक अर्थ महत्त्वपूर्ण छ । अमेरिकी खुफिया समुदाय सही छ भने इरान विरुद्धको सैन्य तनावले पूर्वाधार कमजोर बनाउन सक्छ, रणनीतिक क्षमतामा क्षति पुर्याउन सक्छ वा आर्थिक दबाब बढाउन सक्छ । तर, यसले वाशिङटनको सबैभन्दा महत्त्वाकांक्षी उद्देश्य अर्थात् सत्ता परिवर्तन हासिल गर्ने सम्भावना कम छ । बरु, यस्ता कार्यहरूले राष्ट्रवादी भावना जगाएर र सुरक्षा निकायको अधिकारलाई सुदृढ बनाएर इस्लामिक गणतन्त्रलाई टिकाइराख्ने संस्थाहरूलाई झन् बलियो बनाउन सक्छ ।
पर्सियाली खाडी युद्धको भूराजनीतिक परिणाम
हामी कुरा गर्दै गर्दा इरानले फेरि एकपटक इजरायलमा प्रहार गरिरहेको छ । दुबई, अबु धाबी र बहराइनमा ड्रोनहरू प्रक्षेपण गरिरहेको छ । आईआरजीसीले स्टिभ विट्कफ र जेरेड कुश्नर जस्ता अमेरिकी वार्ताकारहरूसँग वार्ता गर्न स्पष्ट रूपमा इन्कार गरेको छ ।
उनीहरूले दुईपटक वार्ता गर्ने प्रयास गरे, शून्य संवर्धनमा सहमत भए, यहाँसम्म कि सबै आईएईए निरीक्षणका साथ समृद्ध युरेनियम तटस्थ देशमा पठाए, तर हरेकपटक उनीहरूलाई अमेरिकामा रहेको इजरायल–प्रथम लबीले धोका दियो भनी इरानीहरू विश्वास गर्छन् ।
स्टिभ विट्कफले इरानका विदेशमन्त्री अब्बास अराग्चीसँग सम्पर्क गर्ने प्रयास गरे तर उनले अमेरिकासँगको वार्ता अब एजेन्डामा नरहेको भन्दै अस्वीकार गरे भनी रिपोर्ट गरिएको छ । सम्झौता गरे पनि अमेरिकाले धोका दियो र इरानमाथि आक्रमण गर्यो भनी उनले बताए ।
बरु राष्ट्रपति ट्रम्पले हिजो आकस्मिक रूपमा स्टिभ विट्कफ र जेरेड कुश्नरको सल्लाहमा इरानमा आक्रमण गरेको स्वीकार गरे । यसले कथित रूपमा ह्वाइट हाउसलाई इरानी आणविक कार्यक्रमको बारेमा गलत रिपोर्ट दिएको सिद्ध हुन्छ । यी दुई वार्ताकारहरूले इरानसँगको वार्तामा इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्क राख्ने एक्सियोसले रिपोर्ट गरेको थियो ।
हर्मुज संकट र सन् १९५६ को स्वेज संकट बीचको समानता आश्चर्यजनक छ । त्यतिबेला बेलायत अमेरिकी दबाबका कारण पछि हट्न बाध्य भएको थियो । त्यसले उसको साम्राज्यवादी प्रभुत्वको अन्त्यको संकेत गर्यो । आज अमेरिकाले आफ्नै स्वेज क्षण सामना गरिरहेको छ । त्यो चुनौती कुनै प्रतिस्पर्धी महाशक्तिबाट नभई सिटी अफ लन्डनका बिमा दिग्गजहरूबाट आएको हो ।
बिमा कम्पनीहरू रुस र चीनले इरानप्रति गरेको समर्थनका कारण युद्ध जोखिमको बिमा गर्न मानेका छैनन् । जसरी बेलायत आर्थिक रूपमा स्वेजबाट बाहिरिन बाध्य भयो, इरानको सत्ता ढाल्ने र खाडीमा वर्चस्व बढाउने अमेरिकाको एजेन्डा असफल भएको छ । खाडी सहयोगीहरूले अहिले अमेरिकी सुरक्षा ग्यारेन्टीको कुनै अर्थ छ कि छैन भनेर प्रश्न गरिरहेका छन् ।
यसरी एक नयाँ आयाम उदय भएको छ । अमेरिका कमजोर भएको छ, गठबन्धन भत्किएको छ र खाडी देशहरूले आगामी लडाइँमा कसले उनीहरूको रक्षा गर्नेछ भनेर सोच्न थालेका छन् ।
धूलो थामिएसँगै अमेरिका र इजरायलले खाडी द्वन्द्वलाई व्यापक क्षेत्रीय युद्धमा बदल्न नसक्नुले स्थायी प्रभावहरू छोडेको छ । इरानको शासन अक्षुण्ण छ, मोज्तबा खामेनेई नयाँ नेताका रूपमा स्थापित भएका छन् र इरानको असीमित रणनीतिले अमेरिकी सैन्य योजनाका कमजोरीहरू उजागर गरिदिएको छ ।
यसैबीच राष्ट्रपति ट्रम्पले ९ मार्चमा राष्ट्रपति पुटिनसँगको कुराकानीपछि इजरायल र अमेरिकाका लागि सुरक्षित निकासको मोडालिटीबारे छलफल गर्दै रुसी तेलमाथिको प्रतिबन्ध खुकुलो पार्दैछन् । त्यसले भारत जस्ता ठूला आयातकहरूलाई फाइदा गर्नेछ र सम्भावित रूपमा ऊर्जा प्रवाहलाई स्थिर बनाउनेछ ।
यी कूटनीतिक पहलहरू उदय नभएको भए तेल र ग्यासको संयुक्त झट्काले विश्वव्यापी ऊर्जा बजारलाई पतनको संघारमा पुर्याउन सक्थ्यो जसले अमेरिका र इजरायललाई विनाशकारी विश्वव्यापी आर्थिक परिणाम आउनुअघि नै तनाव रोक्न बाध्य पार्ने थियो ।
यस विश्वव्यापी आर्थिक पतनले जीसीसी देशहरूको अर्थतन्त्रलाई अपांग बनाउने थियो किनकि कुवेत, कतार, बहराइन जस्ता धेरैले सम्झौता पूरा गर्न नसक्ने (फोर्स मज्योर) घोषणा गरिसकेका छन् । यूएईदेखि साउदी अरबसम्मका अरामको रिफाइनरीहरूले उत्पादन घटाउँदै केही तेल लाल सागर करिडोरमार्फत मोडिरहेका छन् ।
खाडी राष्ट्रहरूले आफूहरू असहाय भएको महसुस गरेपछि अब अमेरिकाभन्दा बाहिर रुस, भारत र चीनतर्फ व्यापार, लगानी र रक्षा साझेदारीका लागि आफ्नो सम्बन्ध विविधीकरण गर्नेछन् । यस द्वन्द्वको एउटा परिणाम त्यो हो ।
यसले भारतलाई एन्टी–ड्रोन सिस्टम, आकाश मिसाइल सिस्टम र सम्भवतः रुसी एस–४०० प्रदान गरेर मध्यपूर्वको सुरक्षा संरचनामा आफूलाई एकीकृत गर्ने अवसर दिनेछ । यसरी तेलको विषयमा सुरु भएको यो टकराव बहुध्रुवीयताको प्रतीक बनेको छ ।
खाडीको भविष्य अब वाशिङटनमा मात्र निर्भर रहने छैन, बरु एक बढी सन्तुलित विश्व व्यवस्थामा आधारित हुनेछ ।
अन्तिम निकास नजिकिँदै गर्दा दुवै पक्ष नाटकीय प्रहारमा संलग्न छन् । इजरायलले तेहरान र नजिकका क्षेत्रहरूलाई निशाना बनाएको छ भने इरानले तेल अभिभतर्फ ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको छ र खाडी देशहरूमा ड्रोनहरू प्रयोग गरेर धेरै ठाउँमा प्रहार गरेको छ ।
राष्ट्रपति ट्रम्प अर्कोतिर बयानबाजीमा आक्रामक देखिन्छन् । इरान पूर्ण रूपमा पराजित भएको उनले घोषणा गरे जबकि इरानी कमान्डरहरूले उनीहरू कहिल्यै लड्न नछाड्ने अडान लिएका छन् । हर्मुज जलयोजकमा ट्रम्पको महत्त्वाकांक्षालाई चुनौती दिँदै आईआरजीसीले अमेरिकी र इजरायली राजदूतहरूलाई निष्काशन गर्ने देशहरूलाई मात्र जलयोजकबाट स्वतन्त्र आवागमनको अनुमति दिइने भनेको छ ।
यसले नियन्त्रण वाशिङटनसँग नभई आईआरजीसीसँग रहेको स्पष्ट पारेको छ । दुवै पक्ष अहिले आफ्नो प्रभुत्व र सार्वभौमसत्ता देखाउन खोजिरहेका छन् । यो उनीहरूका जनता र विश्वका लागि सन्देश बढी थियो किनकि रुसले मध्यस्थता गरेको तनाव न्यूनीकरणको पर्खाइ भइरहेको छ ।
जब इजरायलले तेहरानको तेल रिफाइनरी र डिसेलिनेसन प्लान्टहरूलाई निशाना बनायो, तब रुसीहरूले आफ्नो तटस्थता त्यागेर खुला रूपमा इरानको पक्षमा उभिए । त्यसले तेल अभिभ र वाशिङटनका लागि रेड लाइनको संकेत दियो र निकास प्रक्रिया सुरु भयो जुन इजरायल र अमेरिकाले खोजिरहेका छन् ।
यद्यपि दुवै पक्षबीच गहिरो अविश्वास भएकाले लडाइँ केही समय जारी रहने सम्भावना छ । तर, कच्चा तेलको मूल्य १२० डलरबाट ८५ डलरमा झर्नु र हर्मुज जलयोजकमा कार्गोहरूको पुनः सुरु हुनुले तनाव कम हुने संकेत गर्छ । अमेरिकीहरू ओमानमार्फत मध्यस्थता गरिएको इरानसँगको कुनै पनि आणविक निःशस्त्रीकरण सम्झौताको हिस्साको रूपमा इरानको तेल व्यापारको ठूलो हिस्सा चाहन्छन् तर यो भन्न जति सजिलो छ गर्न त्यति नै गाह्रो छ ।
चीनका लागि, तेहरानमा अहिलेसम्म सत्ता परिवर्तन गर्न अमेरिकाको अक्षमता राहतको विषय हो किनकि यसले बीआरआई र पेट्रो युआनमा उसको लगानी जारी रहने सम्भावना बढाएको छ । अर्कोतिर रुसीहरू सबैभन्दा ठूलो फाइदामा देखिएका छन् जहाँ रुसी तेल र ग्यास विश्व बजारलाई स्थिर बनाउन महत्त्वपूर्ण बनेका छन् । अमेरिकीहरूले यसको बदलामा प्रतिबन्धहरू हटाउने वाचा गरिरहेका छन् ।
पर्सियाली खाडीमा द्वन्द्व जारी रहँदा खाडी सहयोगीहरूले विकल्पहरूको बारेमा सोच्दैछन् । रुसीहरू एक प्रमुख खेलाडीको रूपमा फर्किएका छन् र चिनियाँहरूले यी घटनाक्रमलाई ध्यानपूर्वक हेरिरहेका छन् ।
बिमा लागत, इरानी ड्रोनको सुरक्षा जोखिम र साँघुरो अन्तर्राष्ट्रिय जलक्षेत्रमा जहाजहरूलाई सुरक्षित मार्ग प्रदान गर्ने जटिलताका कारण हर्मुज जलयोजक सञ्चालन गर्ने अमेरिकाको प्रयास कठिन कार्य हो । यहाँ भारतले जलसैनिक शक्तिको साथ एक तटस्थ साझेदारको रूपमा समुद्री कार्यदलको हिस्सा बनेर हर्मुजदेखि बाब अल मान्डेब र मलाक्कासम्मका प्रमुख ढुवानी मार्गहरू खुला राख्न मद्दत गर्न सक्छ ।
विगत एक हप्ताका घटनाक्रमहरूले अहिलेसम्म केही निष्कर्षहरू दिएका छन् ।
पहिलो, इरानको सैन्य क्षमतामा उल्लेखनीय गिरावट आएको छ यद्यपि उसको ड्रोन र मिसाइल क्षमता अझै अक्षुण्ण छ ।
दोस्रो, इरानको शासन र राज्यको संरचना बाह्य शक्तिले ढाल्न नसक्ने गरी लचिलो छ र आईआरजीसीको नजिकका पात्र मोज्तबा खामेनेई नयाँ सर्वोच्च नेता घोषित भएका छन् ।
तेस्रो, तेहरानमा सत्ता परिवर्तन गर्ने अमेरिकी र इजरायली प्रयास असफल भएको छ किनकि जनता सैन्य र धार्मिक नेतृत्वको पक्षमा उभिएका छन् ।
चौथो, नेतृत्व हत्याका प्रहारहरूले इरानी राज्य वा शासनलाई पतन गराउन सक्दैनन् भनी अमेरिकी खुफिया विभागले स्वीकार गरेको छ ।
पाँचौं, हर्मुज जलयोजकको अवरोधले कच्चा तेलको मूल्य १२० डलर पुर्यायो जसले विश्वव्यापी आर्थिक पतनको डर पैदा गर्यो र ट्रम्प प्रशासनले यसलाई सहन सक्ने अवस्था थिएन ।
छैटौं, खाडी राष्ट्रहरूको अर्थतन्त्रले तेल, ग्यास र मल निर्यातमा अवरोध, पर्यटन र लगानीमा क्षति, घरजग्गा व्यवसायमा मन्दी र खाद्यान्न अभावका कारण ठूलो आर्थिक कठिनाइ सामना गरिरहेको छ ।
सातौं, इरानले खाडी देशहरूमा रहेका अमेरिकी सैन्य आधारहरूलाई निशाना बनाएर अमेरिकाको रक्षात्मक र सैन्य कमजोरीहरू उजागर गरिदिएको छ । आठौं, खाडी देशहरूले अब यो द्वन्द्वपछि नयाँ सुरक्षा ढाँचाको खोजी गर्नेछन् र रक्षा तथा व्यापारका लागि रुस, भारत र चीन जस्ता एसियाली शक्तिहरूतर्फ हेर्नेछन् ।
नवौँ, खाडीमा अमेरिकी प्रारम्भिक चेतावनी प्रणाली, रेडार र मिसाइल रक्षा प्रणालीहरूको विनाशका बीच इरानी ब्यालिस्टिक मिसाइल र क्लस्टर बमका कारण इजरायलले ठूलो क्षति भोगेको छ ।
अन्त्यमा, रुस यस द्वन्द्वमा एक मध्यस्थकर्ता र ऊर्जा आपूर्तिकर्ताको रूपमा सबैभन्दा ठूलो विजेताको रूपमा उभिएको छ ।
समग्रमा, अमेरिकीहरूले इरानको सभ्यतागत संकल्पलाई ठूलो मात्रामा गलत अनुमान गरे । मानौं कि, यो क्युबा वा भेनेजुएला हो जुन वाशिङटनको दबाबले ढल्नेछ । यद्यपि इरानी सेना कमजोर भएको अवस्थामा इजरायलले इरानमाथि हवाई श्रेष्ठता कायम गर्ने प्रयास गर्नेछ । तर, यो भन्नैपर्छ कि इरानसँग इजरायल र अरब देशहरूमा रहेका अमेरिकी सम्पत्तिहरूमा प्रहार गर्ने शक्तिशाली साधनहरू बाँकी नै छन् ।
यसो भन्दै गर्दा, बृहत्तर चित्रले एउटा ठूलो खेल प्रकट गर्दछ जहाँ सिटी अफ लन्डनका मालिकहरूले पर्सियाली खाडीमा वाशिङटन डीसीलाई घाइते तुल्याएर अमेरिकालाई हर्मुजमा स्वेज क्षण उपहार दिएका छन् ।
अमेरिकीहरूसँग दुई विकल्प छन् । या त अगाडि बढ्ने र पर्सियाको दलदलमा फस्ने वा पछि हट्ने जुन एउटा स्वेज क्षण हुनेछ र यसले क्षेत्रभरि उसको प्रभावलाई ठूलो धक्का पुर्याउनेछ ।
यस द्वन्द्वको प्रभाव लामो समयसम्म महसुस गरिनेछ जसले क्षेत्रीय र विश्वव्यापी व्यवस्थालाई नयाँ स्वरूप दिनेछ जहाँ नयाँ शक्तिकेन्द्रहरू उदाउनेछन् र देशहरू पुराना प्रभुत्वशाली शक्तिहरूका विरुद्ध विकल्प खोज्नेछन् । यसले विश्वलाई बहुध्रुवीय व्यवस्थातर्फ लैजानेछ ।
