
आजकल स्वास्थ्य क्षेत्रमा एउटा बहस चलिरहेको रहेछ ।
भोजन गरिसकेपछि केही समयका लागि हिँडडुल गर्दा स्वास्थ्य राम्रो हुन्छ कि बिहान बेलुका एक घन्टा जति हिँड्दा राम्रो ?
हेल्थलाइन डट्कम नामक वेबसाइटमा खाना खाएपछि नियमित रूपमा हिँड्दा पाचनप्रणालीलाई सहयोग पुग्ने, रगतमा भएको सुगर सन्तुलनमा बस्ने र मुटुको स्वास्थ्य पनि राम्रो हुने परीक्षणमा देखिएको उल्लेख गरेको छ । यसो गर्दा तन्दुरुस्ती कायम हुने र शारीरिक तौल पनि व्यवस्थापन हुने हेल्थलाइनको भनाइ छ ।
पूर्वीय ग्रन्थहरूमा पनि भोजनपछि छोटो दूरीको हिँडाइलाई राम्रो मानिएको छ ।
आयुर्वेदमा ‘भोजनान्तं विहारं तु, पचनार्थं हितं स्मृतम्’ लेखिएको छ जसको अर्थ हुन्छ, खाना खाइसकेपछि हिँडडुल गर्दा खाना पचाउन सजिलो हुन्छ । ‘भुक्त्वा शतपदं गच्छेत्’ अर्थात् खाना खाएपछि सय कदम हिँड्न पनि भनिएको छ ।
तर, छोटो समय हिँड्ने मानिसको तुलनामा १० मिनेटभन्दा लामो समय हिँड्ने वयस्क मानिसहरूलाई मुटुरोग र असामयिक मृत्युको जोखिमबाट बचाउने भनी केही समयअघि एन्नाल्स अफ इन्टरनल मेडिसिन नामक जर्नलमा प्रकाशित एक अध्ययनमा उल्लेख गरिएको छ । दिनको १० हजार पाइला हिँड्नका लागि मानिसहरूलाई त्यस अध्ययनले उत्प्रेरित गरेको छ ।
आफूलाई अनुकूल हुने गरी खाना खाएपछि छोटो समय हिँड्ने वा बिहान बेलुका लामो समयका लागि हिँड्ने गर्नु ठीक हुने रहेछ ।
यो सबैलाई काम लाग्ने सूचना त हो नै । म जस्तो अल्छीका लागि नोट टु माईसेल्फ पनि हो ।
