रेशममार्गमा कृष्णलीला समेटिएको कार्पेट

December 7, 2025
Featured image for “रेशममार्गमा कृष्णलीला समेटिएको कार्पेट”

इन्टरनेट चहार्दै जाँदा प्राचीन चीनमा कृष्णलीला सम्बन्धी रोचक सामग्री फेला परेको छ ।

चीनको सिन्ज्याङ प्रान्तमा रहेको खोतानमा शानपुला (साम्पुल) भन्ने ठाउँ छ । त्यहाँ निकै प्राचीन कार्पेटहरू भेटिन्छन् । तीमध्ये कतिपय कार्पेटमा हिन्दू कथाबाट अभिप्रेरित चित्रहरू बनाइएका रहेछन् । विशेषगरी भगवान् श्रीकृष्णका दिव्यलीला तिनमा चित्रित भएको रहेछ ।

सिन्ज्याङ प्राचीन रेशममार्गमा पर्ने भएकाले त्यहाँ विभिन्न सभ्यता र संस्कृतिहरूको संगम हुने गर्थ्यो । त्यसैले भारतवर्षमा अभ्यास गरिने सनातन धर्ममा विद्यमान अवतारवादको चर्चा हिन्दू व्यापारीले त्यहाँ पुगेर गर्नु स्वाभाविक हो ।

यी प्राचीन कार्पेटहरू ईसाको चौथोदेखि सातौं शताब्दीका बीचमा बनेको पुरातत्त्वविद्हरूले पुष्टि गरेका छन् । ताक्लामकान मरुभूमिमा ती कार्पेटहरू १५ सय वर्षसम्म रहे । अलिक च्यातिएको भए पनि कार्पेटको रंग खुइलिएको छैन ।

रेशममार्गका जुलाहाहरूले भारतवर्षबाट पुगेका व्यक्तिहरूको मुखबाट सुनेको कृष्णकथाका आधारमा कार्पेटमा चित्रहरू बनाएको देखिन्छ । रोचक कुरा त, ती कार्पेटमा त्यतिखेर प्रचलित ब्राह्मी लिपि पनि भेटिएका छन् ।

तस्वीर हेर्नुस् त । आकृतिहरूको बीचमा केही शब्दहरू छन् । ती ब्राह्मी लिपिका शब्द रहेछन् । कार्पेटमा लगभग ३५ वटा मानवाकृति देखिन्छन् । त्यसका साथै रुखहरू, काठबाट बनेका सामान र ब्राह्मी लिपिका शब्दहरू छन् । रंगहरूको सुन्दर संयोजन छ ।

ती चित्रमा हिन्दू कथाहरू छन्, अझ विशेषगरी कृष्णकथा । नीलो आकृति श्रीकृष्णको हो भने अन्य आकृति गोपी हुन् । त्यहाँ बाँसुरी र वीणा समेत देखिएका छन् । आकृतिमा देखिएका आकृतिले अंगवस्त्रका साथै रंगीचंगी कपडा र शिरवस्त्र पनि लगाएको देखिन्छ । आरती गरेको दृश्य पनि देखिन्छ ।

प्राचीन रेशममार्गमा कृष्णकथा र हिन्दू पूजाविधिको चर्चा भएकाले जुलाहाहरूले त्यसमा आफ्नो कल्पना मिसाएर कार्पेटमा आकृति कुँदेका हुन सक्छन् ।

त्यसको अर्थ हुन्छ, कृष्णलीला र भारतवर्षमा प्रचलित संस्कृतिका अवयवहरू सिन्ज्याङ क्षेत्रमा ईसाको चौथो शताब्दीअघि नै पुगेका हुन सक्छन् ।

विज्ञहरू अनुसार, भगवान् बुद्धका जातक कथाहरूसँगै हिन्दू कथा पनि मध्य एसियामा फैलिएका थिए । तिनको रोचकतालाई कलाकृतिमा कुँद्नका लागि स्थानीय कलाकारहरू लालायित रहेको तथ्य यो कार्पेटले प्रमाणित गर्छ । यस्ता अन्य पनि धेरै कार्पेटहरू रहेको बताइन्छ ।

Qing Duan नामक चिनियाँ अनुसन्धाताले यसमा काम गरेका रहेछन् ।

कतिपयले हिन्दू ग्रन्थमा वर्णित उत्तरकुरु र सिन्ज्याङका वीगरलाई जोडेका छन् । त्यो प्रमाणित हुन बाँकी छ ।


Share:

Leave a Reply