भारतमा कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकाले हत्या गर्ने प्रयास गरेको भन्दै दाबी गरेका छन् । भारत सरकारले यसको पुष्टि नगरेकाले तथा विश्वसनीय सञ्चारमाध्यममा यस विषयमा कुनै समाचार नआएकाले यसलाई कन्सपिरेसी थ्योरी मात्र मान्न सकिएला ।
गत भदौमा शाङ्हाई कोअपरेशन अर्गनाइजेशनको शिखर सम्मेलनमा सहभागी हुन पुगेका मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पुटिनकै कारमा ४५ मिनेटसम्म बसेर कुराकानी गरेका थिए । त्यसको विस्तृत विवरण मोदी र पुटिन दुवैले सार्वजनिक गरेका छैनन् । तर, पुटिनसँग कुरा गर्दा सधैं केही नयाँ कुरा सिकिने भनी मोदीले त्यतिखेर टिप्पणी गरेका थिए ।
तर, त्यस कुराकानीमा पुटिनले मोदीलाई सीआईए तपाईंको हत्या गर्न चाहन्छ भनेका थिए रे । त्यही समयतिर बंगलादेशको होटलमा अमेरिकी सैनिक टेरेन्स आर्भेल ज्याकसन मृत फेला परेका थिए । ती सैनिकको मृत्युका विषयमा अमेरिकाले कुनै विवरण सार्वजनिक गरेको छैन । ज्याक्सन मोदीको हत्या गर्ने उद्देश्यले बंगलादेश आइपुगेको र त्यहाँबाट भारत पस्न खोजेका थिए रे । त्यो थाहा पाएपछि रुसको गुप्तचर निकाय एफएसबी र भारतीय गुप्तचर निकाय रअले मिलेर ज्याकसनलाई न्युट्रलाइज गरेका हुन् रे ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी तेल किनिरहेको भन्दै भारतीय वस्तुको आयातमा ५० प्रतिशत भन्सार शुल्क लगाए पनि भारतले रुसी तेल किन्न चटक्कै छोडेको छैन, केही घटाएको भने छ । अझ, ट्रम्पलाई चिढ्याउनैका लागि भए पनि मोदीले चीनमा पुटिनसँगको मित्रतापूर्ण सम्बन्धलाई देखाउनका लागि नाटकीय रूपमा हात समातेर हिँडेर पर्फर्मेटिभ डिप्लोमेसी समेत गरेका थिए । रुससँग भारतको सम्बन्ध तोडाउनका लागि अमेरिका मोदी हत्याप्रयास सम्मको ड्रास्टिक स्टेप चाल्न समेत पछि नहटेको हो ?
चीनबाट फर्केर आएपछि मोदीले भारतमा आयोजित एक समारोहमा ‘म गएको भएर ताली बजाएको कि म फर्केको भएर ताली बजाएको’ भनी प्रश्न गर्दा त्यसलाई हत्याप्रयासको संकेतका रूपमा कतिपयले लिएका छन् ।
भविष्यमा यसबारेको सत्य उजागर हुँदै जाला ।
एससीओमा सहभागी भएको, त्यसको पूर्णकालीन सदस्य बनाइदिन अनुरोध गरेको, जापानविरुद्धको विजय परेडमा पनि उपस्थित भएको र चीनको ग्लोबल सिक्योरिटी इनिसिएटिभमा सहमति जनाएकाले केपी ओली पश्चिमको आँखामा बिझाएर (अनि आफ्नै बेहोराले गर्दा पनि) लज्जास्पद रूपमा सत्ताच्युत हुनुपरेको देख्दा मोदीको विषयमा गरिएका अनुमान पनि सही हुन् कि जस्तो लाग्छ ।
